सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“उहाँको समय अझै आइपुगेको थिएन”

“उहाँको समय अझै आइपुगेको थिएन”

“उहाँको समय अझै आइपुगेको थिएन”

“कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझै आइपुगेको थिएन।”–यूहन्‍ना ७:३०.

१. कुन दुई कुराद्वारा येशूको कार्य प्रभावित भयो?

 “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो” भनी येशू ख्रीष्टले आफ्ना प्रेरितहरूलाई बताउनुभयो। (मत्ती २०:२८) रोमी बडाहाकिम पोन्तियस पिलातसलाई उहाँले यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) येशूलाई, आफू किन मर्नुपरेको र आफ्नो मृत्युअघि के कस्ता काम गर्नुपर्छ भनेर राम्ररी थाह थियो। आफ्नो सबै काम पूरा गर्न कति समय बाँकी छ भनेर पनि उहाँलाई थाह थियो। यस पृथ्वीमा मसीहको हैसियतमा उहाँको सेवकाई जम्माजम्मी साढे तीन वर्षको हुने थियो। भविष्यवाणी गरिएको प्रतीकात्मक ७० औं हप्ताको सुरुमा (सा.यु. २९ मा) यर्दन नदीमा बप्तिस्मा लिनुभएपछि उहाँको त्यो सेवकाई सुरु भयो भने, अन्तचाहिं त्यसको प्रतीकात्मक हप्ताको बीचतिर (सा.यु. ३३) उहाँलाई शूलीमा झुन्डाएर मारेपछि भयो। (दानियल ९:२४-२७; मत्ती ३:१६, १७; २०:१७-१९) तसर्थ, यस पृथ्वीमा येशूको सम्पूर्ण कार्य मुख्यतः दुई कुराद्वारा प्रभावित थियो: उहाँ आउनुको उद्देश्‍य र समयको राम्रो ज्ञान।

२. सुसमाचारको पुस्तकमा येशू ख्रीष्टलाई कसरी चित्रण गरिएको छ र उहाँले आफ्नो कार्यप्रति कसरी सजगता देखाउनुभयो?

सुसमाचारका पुस्तकले, येशू ख्रीष्टले परमेश्‍वरको राज्यबारे सुसमाचार घोषणा गर्दै र थुप्रै शक्‍तिशाली कार्य गर्दै प्यालेस्टाइनको कुनाकुनासम्म यात्रा गर्नुभयो भनेर बताउँछ। येशूको सक्रिय सेवकाईको सुरुतिर उहाँबारे यसो भनिएको छ: “उहाँको समय अझै आइपुगेको थिएन।” येशू स्वयम्‌ले यसो भन्‍नुभयो: “मेरो बेला अझ पूरा भएको छैन।” तर उहाँले आफ्नो सेवकाईको अन्ततिर यस्तो अभिव्यक्‍ति चलाउनुभयो, “बेला आइपुगेको छ।” (यूहन्‍ना ७:८, ३०; १२:२३) बेला वा उहाँको बलिदानरूपी मृत्युलगायत उहाँलाई सुम्पिएको कार्यभारको समयबारे सजग हुनुभएकोले, उहाँले भन्‍नुभएका र गर्नुभएका कामकुरामा प्रभाव परेको हुनुपर्छ। यो कुरा बुझ्दा हामीले उहाँको व्यक्‍तित्व र सोचाइबारे अन्तरदृष्टि पाउनसक्छौं र त्यसले हामीलाई “उहाँको पाइलामा टेकेर हिंड़नालाई” मदत गर्नेछ।—१ पत्रुस २:२१.

यहोवाको इच्छा गर्न कटिबद्ध

३, ४. (क) कानामा भएको विवाह भोजमा के हुन्छ? (ख) दाखमद्यको अभाव हुँदा उहाँले केही गर्नुपऱ्‍यो भन्‍ने मरियमको सुझाउको परमेश्‍वरको पुत्रले किन विरोध गर्नुहुन्छ र हामीले यसबाट के सिक्नसक्छौं?

वर्ष थियो, सा.यु. २९। येशू आफैले चेलाहरू छान्‍नुभएको केही दिन मात्र भएको छ। उहाँहरू सबै विवाह भोजमा सरिक हुन गालील जिल्लाको कानामा आउनुभएको छ। येशूकी आमा मरियम पनि त्यहीं छिन्‌। दाखमद्य सिद्धिन्छ। उहाँले अब केही गर्नुपऱ्‍यो भनेर मरियमले आफ्नो छोरालाई भन्छिन्‌: “तिनीहरूसित दाखमद्य छैन।” तर येशूले यस्तो जवाफ दिनुहुन्छ: “नारि, मैले के गर्नु पर्छ मलाई नभन, मेरो बेला अझसम्म आएको छैन।”—यूहन्‍ना १:३५-५१; २:१-४.

“नारि, मैले के गर्नु पर्छ मलाई नभन” भन्‍ने येशूको उत्तर, पुरातन समयमा सुझाउ वा प्रस्तावको विरोध जनाउन गरिने प्रश्‍नको प्रकार थियो। येशूले किन मरियमको कुरामा असहमति जनाउनुभयो? उहाँ ३० वर्षको भइसक्नुभयो। केही हप्ताअघि मात्र बप्तिस्मा लिनुभएपछि उहाँ पवित्र आत्माद्वारा नियुक्‍त हुनुभएको थियो र बप्तिस्मा दिने यूहन्‍नाले “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” भनी उहाँलाई परिचित गराएका थिए। (यूहन्‍ना १:२९-३४; लूका ३:२१-२३) अब निर्देशनहरू, उहाँलाई पठाउनुहुने सर्वोच्च अख्तियारवालाबाटै आउनुपर्छ। (१ कोरिन्थी ११:३) परिवारका सदस्यलगायत कसैले पनि उहाँले यस पृथ्वीमा गर्न आउनुभएको काममा हस्तक्षेप गर्न पाउनेथिएन। मरियमलाई दिनुभएको उत्तरमा येशूले आफ्नो पिताको इच्छा पूरा गर्ने कस्तो कटिबद्धता देखाउनुभयो! परमेश्‍वप्रति “गर्नुपर्ने” काम पूरा गर्न हामी पनि त्यस्तै कटिबद्ध होऔं।—उपदेशक १२:१३.

५. येशू ख्रीष्टले कानामा के चमत्कार गर्नुहुन्छ र यसले अरूमा कस्तो प्रभाव पार्छ?

आफ्नो छोराको कुरा बुझेर मरियम तुरुन्तै पछि हट्‌छिन्‌ र चाकरहरूलाई भन्छिन्‌: “उहाँले भने बमोजिम तिमीहरूले गर।” अनि येशूले समस्या समाधान गरिदिनुभयो। उहाँले चाकरहरूलाई घ्याम्पाहरूमा पानी भर्न लाउनुहुन्छ अनि उहाँले त्यो पानी सबैभन्दा असल दाखमद्यमा परिणत गर्नुहुन्छ। यो घटना येशूको चमत्कार गर्ने शक्‍तिको परिचय हुन्छ र परमेश्‍वरको आत्मा उहाँमाथि भएको प्रमाणित गर्छ। नयाँ चेलाहरूले यो चमत्कार देखेपछि तिनीहरूको विश्‍वास बलियो हुन्छ।—यूहन्‍ना २:५-११.

यहोवाको घरको निम्ति जोस

६. यरूशलेमको मन्दिरको गतिविधि देखेर येशू किन आक्रोशित हुनुहुन्छ र उहाँले के गर्नुहुन्छ?

केही समय नबित्दै सा.यु. ३० को वसन्त ऋतु सुरु हुन्छ र येशू अनि उहाँका साथीहरू निस्तार चाडको निम्ति यरूशलेमतिर लाग्नुहुन्छ। त्यहीं हुँदा उहाँका चेलाहरूले आफ्नो गुरुले पहिला कहिल्यै नगर्नुभएको कुरा देख्छन्‌। लोभी यहूदी व्यापारीहरू मन्दिरमै पशुपक्षीहरू बलिदानको निम्ति बेचिरहेका छन्‌। अनि तिनीहरूले विश्‍वासी यहूदी उपासकहरूलाई धेरै दाम लिएर ठगिरहेका छन्‌। आक्रोशित हुँदै येशू केही गर्नुहुन्छ। उहाँले डोरीको कोर्रा बनाएर व्यापारीहरूलाई लघार्नुहुन्छ। पैसा साट्‌नेहरूको रेजगी घोप्टाएर टेबल पनि पल्टाइदिनुहुन्छ। परेवा बेच्नेहरूलाई यस्तो आज्ञा गर्नुहुन्छ: “यहाँबाट यी लैजाओ।” येशूको त्यस्तो जोस देखेपछि चेलाहरूले परमेश्‍वरको पुत्रबारे गरिएको यो भविष्यवाणी सम्झन्छन्‌: “तपाईंको घरको जोशले मलाई खाइहाल्नेछ।” (यूहन्‍ना २:१३-१७; भजन ६९:९) हामी पनि आफ्नो उपासनालाई सांसारिक झुकाउहरूबाट दूषित पार्नदेखि होसियार हुनुपर्छ।

७. (क) निकोदेमस किन मसीहलाई भेट्‌न प्रेरित हुन्छन्‌? (ख) सामरी आइमाईलाई येशूले दिनुभएको साक्षीबाट हामी के सिक्नसक्छौं?

यरूशलेममै हुँदा येशूले उल्लेखनीय काम गर्नुहुन्छ र थुप्रैले उहाँमाथि विश्‍वास गर्छन्‌। सभाघर वा यहूदी उच्च अदालतका सदस्य निकोदेमससमेत येशूसित प्रभावित हुन्छन्‌ र रात येशूकहाँ अझ बढी सिक्न आउँछन्‌। त्यसपछि, येशू र उहाँका चेलाहरूले “यहूदिया देशमा” प्रचार र चेला बनाउने काम गरेर झन्डै आठ महिना बिताउनुहुन्छ। तथापि, बप्तिस्मा दिने यूहन्‍ना पक्राउ परेपछि उहाँहरू यहूदियाबाट गालील जानुहुन्छ। सामरिया हुँदै यात्रा गर्दा येशूले सामरी आइमाईलाई विस्तृत साक्षी दिने सुअवसरको फाइदा उठाउनुहुन्छ। यस घटनाले गर्दा थुप्रै सामरी विश्‍वासी हुन्छन्‌। परमेश्‍वरको राज्यबारे अरूलाई बताउने सुअवसरहरूप्रति हामी पनि चनाखो होऔं।—यूहन्‍ना २:२३; ३:१-२२; ४:१-४२; मर्कूस १:१४.

गालीलमा विस्तृत शिक्षण गतिविधि

८. येशूले गालीलमा कुन काम सुरु गर्नुहुन्छ?

येशूको मृत्युको “बेला” हुनुभन्दा अघि स्वर्गमा हुनुहुने पिताको सेवामा उहाँले थुप्रै काम गर्नुपरेको छ। गालीलमा येशूले यहूदिया र यरूशलेममा भन्दा महान्‌ सेवकाई सुरु गर्नुहुन्छ। उहाँ “तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्दै, सारा गालीलभरि” घुम्नुहुन्छ। (मत्ती ४:२३) उहाँका यी जोडदार शब्दहरू जिल्लाभरि फैलिन्छ: “पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।” (मत्ती ४:१७) केही महिनापछि बप्तिस्मा दिने यूहन्‍नाका दुई चेलाहरू आफै येशूबारे बुझ्न आउँदा उहाँले तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “आफ्नो बाटो लाग, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर सो यूहन्‍नालाई भन, अर्थात्‌ अन्धाहरूले दृष्टि पाउँछन्‌, लंगड़ाहरू हिंड़छन्‌, कोरीहरू शुद्ध हुन्छन्‌, बहिराहरू सुन्छन्‌, मुर्दाहरू बिउँतन्छन्‌, गरीबहरूलाई सुसमाचार सुनाइन्छन्‌, औ त्यो धन्य हो, जसले मसँग चित्त दुखाउँदैन।”—लूका ७:२२, २३.

९. ख्रीष्ट येशूकहाँ किन भीड ओइरो लाग्छ र हामी यसबाट के पाठ सिक्नसक्छौं?

‘उहाँको कीर्ति वरिपरिका सबै ठाउँमा फिंजिन्छ’ र गालील, डिकापोलिस, यरूशलेम, यहूदिया र यर्दन नदीपारिका मानिसहरूको ठूलो भीड उहाँकहाँ ओइरो लाग्छ। (लूका ४:१४, १५; मत्ती ४:२४, २५) तिनीहरू उहाँको चमत्कारपूर्ण निको पार्ने शक्‍तिको कारण मात्र होइन तर अद्‌भुत शिक्षण शैलीको कारण पनि आउँछन्‌। उहाँको सन्देश आकर्षक र प्रोत्साहनजनक छ। (मत्ती ५:१–७:२७) येशूका शब्दहरू मनमोहक छन्‌। (लूका ४:२२) भीड ‘उहाँको शिक्षाले छक्क पर्छ’ किनभने उहाँ अख्तियारसाथ धर्मशास्त्रबाट बोल्नुहुन्छ। (मत्ती ७:२८, २९; लूका ४:३२) त्यस्तो मानिसप्रति को पो आकर्षित नहोला र? निष्कपट हृदय भएका मानिसहरूलाई सत्यतिर आकर्षित गर्न हामी पनि त्यस्तै शिक्षण कला विकास गरौं।

१०. नासरतका मानिसहरू किन येशूलाई मार्न खोज्छन्‌ र तिनीहरू किन असफल हुन्छन्‌?

१० तथापि, येशूको कुरा सुन्‍नेजति सबैले उहाँको कुरा ग्रहण गर्दैनन्‌। उहाँको सेवकाईको सुरुसुरुतिर समेत आफ्नो गृह नगर नासरतको सभाघरमा सिकाउनुहुँदा उहाँलाई मार्ने प्रयास गरिन्छ। नगरबासीहरू उहाँको मुखबाट निस्केको “अनुग्रहका वचन” सुनेर छक्क परे तापनि तिनीहरू चमत्कार हेर्न चाहन्छन्‌। तथापि, येशूले त्यहाँ थुप्रै शक्‍तिशाली कार्यहरू गर्नुको साटो तिनीहरूको स्वार्थ र विश्‍वासको कमी उदांग पार्नुहुन्छ। रिसले चूर हुँदै सभाघरमा हुनेहरूजति सबै उठछन्‌ र येशूलाई समातेर भीरबाट उधोमुन्टो गरेर खसाल्ने प्रयास गर्छन्‌। तर उहाँ तिनीहरूको हातबाट उम्केर बच्नुहुन्छ। किनकि उहाँको मर्ने “बेला” आइपुगेको छैन।—लूका ४:१६-३०.

११. (क) केही धर्मगुरुहरू किन येशूको कुरा सुन्‍न आउँछन्‌? (ख) येशूलाई किन विश्राम दिन भंग गरेको आरोप लगाइन्छ?

११ येशूले प्रचार गर्नुहुँदा धर्मगुरुहरू अर्थात्‌ शास्त्री, फरिसी, सदुकी र अरूहरू पनि अक्सर उपस्थित हुन्छन्‌। तिनीहरूमध्ये थुप्रै उहाँको कुरा सुन्‍न र सिक्न आएका नभई उहाँको गल्ती भेट्टाएर फसाउने कोसिस गर्न आएका हुन्छन्‌। (मत्ती १२:३८; १६:१; लूका ५:१७; ६:१, २) उदाहरणका लागि, सा.यु. ३१ निस्तार चाडको निम्ति यरूशलेम जानुहुँदा येशूले ३८ वर्षदेखि बिरामी भइरहेको मानिसलाई निको पार्नुहुन्छ। यहूदी धर्मगुरुहरू येशूलाई विश्राम दिन भंग गरेको दोष लाउँछन्‌। तर उहाँले यस्तो जवाफ दिनुहुन्छ: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।” यो सुनेपछि यहूदीहरूले परमेश्‍वरको पुत्र हुँ भनी दाबी गरेर येशूले ईश्‍वर निन्दा गर्नुभयो भनेर दोष लाउँछन्‌। तिनीहरू येशूको हत्या गर्ने प्रयास गर्छन्‌ तर उहाँ र उहाँका चेलाहरू यरूशलेम छोडेर गालील जानुहुन्छ। त्यसै गरी, राज्य प्रचार गर्दा र चेला बनाउने काममा लाग्दा अनावश्‍यक मुठभेडहरूबाट बच्नु बुद्धिमानी हुनेछ।—यूहन्‍ना ५:१-१८; ६:१.

१२. येशूले गालीलको इलाका कतिको विस्तृत तवरमा ढाक्नुहुन्छ?

१२ अर्को त्यस्तै एक-डेढ वर्षसम्म येशू गालीलमै प्रचार गर्नुहुन्छ र वर्षको तीन चोटि यहूदीहरूको वार्षिक चाड मनाउन मात्र यरूशलेम जानुहुन्छ। उहाँले जम्माजम्मी गालीलमा तीन चोटि प्रचार गरिसक्नुभएको छ: पहिलो चोटि ४ जना नयाँ चेलाहरूसित, दोस्रो चोटि १२ प्रेरितहरूसित र पछि, विस्तृत प्रचारकार्यमा आफ्ना प्रशिक्षित प्रेरितहरू पनि लैजानुभयो। यसरी गालीलमा कत्ति विस्तृत तवरमा सत्यको गवाही दिइन्छ!—मत्ती ४:१८-२५; लूका ८:१-३; ९:१-६.

यहूदिया र पेरियामा निडरतासाथ साक्षी दिइन्छ

१३, १४. (क) कुन अवसरको फाइदा उठाएर यहूदीहरू येशूलाई पक्रन खोजिरहेका हुन्छन्‌? (ख) अफिसरहरू किन येशूलाई पक्रन असफल हुन्छन्‌?

१३ यो सा.यु. ३२ को शरद्‌ ऋतु हो र येशूको “बेला” अझै आइपुगेको छैन। डेराबासको चाड नजिकै छ। येशूका सौतेनी भाइहरू उहाँलाई यस्तो आग्रह गर्छन्‌: “यहाँबाट यहूदियामा गइहाल।” तिनीहरू चाडको निम्ति यरूशलेममा भेला भएका सबैलाई येशूले चमत्कारी शक्‍तिहरूको प्रदर्शन गरेको चाहन्छन्‌। तर येशूलाई खतराको आभास हुन्छ। त्यसैले, उहाँ आफ्ना भाइहरूलाई भन्‍नुहुन्छ: “म यस चाड़मा जान्‍नँ, किनभने मेरो बेला अझ पूरा भएको छैन।”—यूहन्‍ना ७:१-८.

१४ केही समय गालीलमै रहनुभएर येशू यरूशलेम ‘प्रकट गरी होइन, तर गुप्तमा जानुहुन्छ।’ निस्सन्देह, यहूदीहरू चाडको बेला येशूलाई खोजिरहेका हुन्छन्‌ र भन्छन्‌: “उनी कहाँ छन्‌?” चाड आधी सिध्यिएपछि येशू मन्दिरमा जानुहुन्छ र निडरतासाथ शिक्षा दिन थाल्नुहुन्छ। तिनीहरू उहाँलाई झ्यालखानामा हाल्न वा मार्नको निम्ति उहाँलाई पक्रन खोज्छन्‌। तर तिनीहरू सफल हुँदैनन्‌ किनभने ‘उहाँको बेला अझ आएको छैन।’ अब थुप्रैले येशूमा विश्‍वास गर्न थाल्छन्‌। फरिसीहरूले उहाँलाई पक्रन पठाएका अफिसरहरूसमेत खाली हात फर्कन्छन्‌ र भन्छन्‌: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।”—यूहन्‍ना ७:९-१४, ३०-४६.

१५. यहूदीहरू येशूलाई हिर्काउन किन ढुंगा उठाउँछन्‌ र उहाँले अर्को कुन प्रचार अभियान सुरु गर्नुहुन्छ?

१५ चाडको बेला मन्दिरमा आफ्नो पिताबारे सिकाउनुहुँदा येशू र उहाँका यहूदी विरोधीहरूबीच अझ टक्कर भइरहन्छ। चाडको अन्तिम दिन येशूले आफ्नो मानवपूर्व अस्तित्वबारे भन्‍नुभएको कुराले गर्दा क्रोधित यहूदीहरू उहाँलाई हिर्काउन ढुंगा उठाउँछन्‌। तर उहाँ लुक्नुहुन्छ र सकुशल मन्दिरबाट निस्कनुहुन्छ। (यूहन्‍ना ८:१२-५९) यरूशलेमबाहिर बसेर येशूले यहूदियामा व्यापक प्रचार गर्नुहुन्छ। उहाँले ७० जना चेला छान्‍नुहुन्छ र तिनीहरूलाई निर्देशन दिनुभएर दुई दुई जना गरी पठाउनुहुन्छ। येशूले आफ्ना प्रेरितहरूसित जाने योजना बनाइरहनुभएको प्रत्येक ठाउँ र शहरमा ती चेलाहरू पहिल्यै जान्छन्‌।—लूका १०:१-२४.

१६. समर्पणको चाडको बेला येशू कस्तो खतराबाट भाग्नुहुन्छ र फेरि कुन काममा व्यस्त हुनुहुन्छ?

१६ सा.यु. ३२ को हिउँद ऋतु सुरु हुँदा येशूको “बेला” नजिकै आइपुग्छ। उहाँ समर्पणको चाडको निम्ति यरूशलेम पुग्नुहुन्छ। यहूदीहरू अझै उहाँलाई मार्न खोज्दै छन्‌। मन्दिरको दलानमा हिंडिरहनुहुँदा तिनीहरूले उहाँलाई घेर्छन्‌। फेरि ईश्‍वर निन्दाको दोष लगाएर तिनीहरू उहाँलाई ढुंगाले हान्‍न खोज्छन्‌। तर पहिला जस्तै येशू भाग्नुहुन्छ। यसपालि चाहिं उहाँ यर्दन नदीपारि यहूदियाको पेरिया जिल्लामा गाउँ गाउँ, शहर शहर, शिक्षा दिंदै हिंड्‌नुहुन्छ। अनि थुप्रैले उहाँमाथि विश्‍वास गर्छन्‌। तर उहाँको प्रिय मित्र लाजरससित सम्बन्धित सन्देशको कारण उहाँ यहूदिया जानुहुन्छ।—लूका १३:३३; यूहन्‍ना १०:२०-४२.

१७. (क) पेरियामा प्रचार गर्दै गर्दा येशूले कस्तो जरुरी सन्देश पाउनुहुन्छ? (ख) येशू आफूले गर्नुपर्ने कामहरूको उद्देश्‍य र ती घटनाहरूको समय तालिकाबारे सजग हुनुहुन्छ भनेर कुन कुराले प्रमाणित गर्छ?

१७ त्यो जरुरी सन्देश लाजरसका दिदीहरू मार्था र मरियमले पठाएका हुन्छ। तिनीहरू यहूदियाको बेथानीमा बस्छन्‌। सन्देशवाहकले भन्छन्‌, “हे प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी छन्‌।” तर येशू यस्तो जवाफ दिनुहुन्छ: “यो बिरामी मर्ने किसिमको होइन, तर त्यसबाट परमेश्‍वरको पुत्रको महिमा होस्‌ भनी परमेश्‍वरको महिमाको निम्ति हो।” यो उद्देश्‍य हासिल गर्न येशू जानाजानी दुई दिनसम्म जहाँ हुनुहुन्थ्यो त्यहीं रहनुहुन्छ। त्यसपछि, उहाँ चेलाहरूलाई भन्‍नुहुन्छ: “लौ, अब हामी फेरि यहूदियामा जाऔं।” येशूको यो कुरा चेलाहरूलाई चित्त बुझ्दैन्‌ र तिनीहरू एकै चोटि भन्छन्‌: “हे रब्बी, भर्खरै यहूदीहरूले तपाईंलाई ढुंगाले हान्‍न खोजेथे, औ के फेरि तपाईं त्यतै जानुहुन्छ?” तर येशू बाँकी रहेका “दिन” वा परमेश्‍वरले पार्थिव सेवाको निम्ति दिनुभएको समय सिद्धिनै लागेको छ भनेर सजग हुनुहुन्छ। उहाँलाई के गर्नुपर्छ र किन भनेर राम्ररी थाह छ।—यूहन्‍ना ११:१-१०.

कसैले पनि बेवास्ता गर्न नसक्ने चमत्कार

१८. येशू बेथानीमा आइपुग्नुहुँदा त्यहाँको अवस्था कस्तो छ र उहाँ त्यहाँ पुगेपछि के हुन्छ?

१८ बेथानीमा येशूले सर्वप्रथम मार्थालाई भेट्‌नुहुन्छ र तिनले भन्छिन्‌: “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाइ मर्ने थिएन।” मरियम तथा तिनीहरूको घरमा भएका अन्य मानिसहरू पनि उहाँको पछि पछि लाग्छन्‌। सबै रोइरहेका छन्‌। येशू सोध्नुहुन्छ: “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले यसो भन्छन्‌: “प्रभु, आएर हेर्नुहोस्‌।” चिहानमा पुग्नुहुँदा, ओढारको मुखमा ढुंगा लगाइसकेको भेट्‌नुहुन्छ र येशूले भन्‍नुहुन्छ, “ढुंगो हटाओ।” येशूले के गर्न लाग्नुभएको हो, नबुझेर मार्था आपत्ति जनाउँदै भन्छिन्‌: “हे प्रभु, यस बेलासम्म ता त्यो गह्नाउन लागिसक्यो होला, किनकि चार दिन भइसक्यो।” तर येशूले यस्तो प्रश्‍न गर्नुहुन्छ: “के मैले तिमीलाई भनिनँ, ‘विश्‍वास गऱ्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ?’ ”—यूहन्‍ना ११:१७-४०.

१९. लाजरसको पुनरुत्थान गर्नुअघि येशूले किन सार्वजनिक रूपमा प्रार्थना गर्नुहुन्छ?

१९ लाजरसको चिहानको ढुंगा हटाइन्छ र उहाँले गर्न लाग्नुभएको काम परमेश्‍वरको शक्‍तिद्वारा भएको हो भनेर मानिसहरूले बुझाउन येशू ठूलो स्वरले खुलेआम प्रार्थना गर्नुहुन्छ। अनि उहाँ ठूलो स्वरले कराउनुहुन्छ: “लाजरस, बाहिर निस्की आऊ”! लाजरस हातखुट्टा बाँधिएको कात्रोसहित निस्की आउँछन्‌ र तिनको अनुहार रुमालले बेह्रिएको हुन्छ। येशूले भन्‍नुहुन्छ: “तिनलाई फुकाइदेऊ, र जानदेऊ।”—यूहन्‍ना ११:४१-४४.

२०. येशूले लाजरसको पुनरुत्थान गर्नुभएको देख्ने मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

२० यो चमत्कार देखेपछि मार्था र मरियमलाई सान्त्वना दिन आएका थुप्रै यहूदीहरूले उहाँमाथि विश्‍वास गर्न थाल्छन्‌। अरूचाहिं त्यहाँ भएको घटना फरिसीहरूलाई भन्‍न जान्छन्‌। तिनीहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌? तुरुन्तै तिनीहरू र मुख्य पूजाहारीहरूले महासभामा आकस्मिक सभा बोलाउँछन्‌। अतालिंदै तिनीहरू यस्तो आपत्ति जनाउँछन्‌: “अब हामी के गरौं? किनभने यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ। यसलाई यसै छोड़िदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछ, र रोमीहरूले आएर हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछ।” तर प्रधान पूजाहारी कयाफा तिनीहरूलाई यसो भन्छन्‌: “तिमीहरू केही पनि जान्दैनौ, औ नता तिमीहरू विचारै गर्दछौ, कि लोकका निम्ति एक जना मानिस मर्नु र सारा जाति नष्ट नहुनु तिमीहरूका निम्ति फाइदा छ।” अतः त्यस दिनदेखि तिनीहरू येशूलाई मार्न मतो बाँध्छन्‌।—यूहन्‍ना ११:४५-५३.

२१. लाजरसको पुनरुत्थानको चमत्कारले के संकेत गर्छ?

२१ यसरी बेथानीमा ढिला आइपुग्नुभएर येशूले कसैले बेवास्ता गर्न नसक्ने चमत्कार गर्नुहुन्छ। परमेश्‍वरबाट शक्‍ति पाएर येशूले चार दिनअघि मरिसकेका मानिसको पुनरुत्थान गर्नुहुन्छ। प्रतिष्ठित महासभाले समेत त्यसलाई बेवास्ता गर्न सक्दैन र यस चमत्कार गर्ने मानिसलाई मृत्युदण्ड दिने निर्णय गर्छ! यसप्रकार, यस चमत्कारले येशूको सेवकाईमा हुने महत्त्वपूर्ण मोडको भूमिका तयार पार्छ अर्थात्‌ “बेला अझ पूरा भएको छैन[बाट]” अब “बेला आइपुगेको छ” भन्‍ने समयको थालनी हुन्छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूले आफू परमेश्‍वरले सुम्पनुभएको कार्यभारप्रति सजग हुनुहुन्छ भनेर कसरी देखाउनुभयो?

• दाखमद्यबारे येशूको आमाले केही गर्नुपऱ्‍यो भन्दा उहाँले किन विरोध गर्नुहुन्छ?

• येशूले अक्सर विरोधीहरूसित व्यवहार गर्नुभएको तरिकाबाट हामी के सिक्नसक्छौं?

• लाजरस बिरामी भएको थाह पाउँदा पाउँदै पनि येशूले किन ढिलाइ गर्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएका चित्रहरू]

येशूले आफ्नो समय परमेश्‍वरले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न चलाउनुभयो