सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए

नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए

नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए

यहूदाका पाँच वर्षीय राजकुमार योशियाह डराइरहेका होलान्‌। तिनका आमा यदीदा शोक गरिरहेकी छिन्‌। यदीदा रूनु उचितै छ किनभने योशियाहको हजुरबुबा राजा मनश्‍शेको मृत्यु भएको छ।—२ राजा २१:१८.

अब योशियाहका बुबा आमोन यहूदाका राजा हुनेछन्‌। (२ इतिहास ३३:२०) दुई वर्षपछि (सा.यु.पू. ६५९) आमोनलाई तिनकै सेवकहरूले हत्या गर्छन्‌। मानिसहरूले षड्यन्त्रकारीहरूलाई मार्छन्‌ र ठीटो योशियाहलाई राजा बनाउँछन्‌। (२ राजा २१:२४; २ इतिहास ३३:२५) आमोनको शासनकालमा मानिसहरूले आफ्ना कौसीहरूमा खडा गरेको झूटो देवीदेउताका वेदीहरूलाई दण्डवत्‌ गरेर सम्पूर्ण यरूशलेम धूपको बासले भरिएको योशियाहले देखिरहेका थिए। मूर्तिपूजक धर्मगुरुहरू डुलिरहेको र यहोवाको उपासक हुँ भनी दाबी गर्नेहरूसमेत कोही कोही मल्कामको नाउँमा शपथ लिन्थे।—सपन्याह १:१, ५.

झूटा देवीदेउतालाई उपासना गर्ने आमोनले दुष्ट कार्य गरेका थिए भनेर योशियाहलाई थाह थियो। यहूदाका किशोर राजाले पनि परमेश्‍वरका अगमवक्‍ता सपन्याहको उद्‌घोषणा राम्रोसित बुझे। योशियाह १५ वर्षको छँदा (सा.यु.पू. ६५२) तिनी आफ्नो शासनको आठौं वर्षमा थिए र सपन्याहका शब्दहरू पालन गर्न कटिबद्ध थिए। सानै उमेरदेखि योशियाहले यहोवाको खोजी गर्न थाले।—२ इतिहास ३३:२१, २२; ३४:३.

योशियाह काममा जुट्‌छन्‌!

चार वर्ष बितेपछि योशियाहले सारा यहूदा र यरूशलेमबाट झूटो धर्म हटाउन सुरु गर्छन्‌ (सा.यु.पू. ६४८)। तिनले बाल उपासनामा प्रयोग गर्ने मूर्तिहरू, पवित्र खामा र धूप बाल्ने वेदीहरू नाश गर्छन्‌। झूटा देवहरूको मूर्तिहरू चकनाचूर गरेर ती उपासना गर्ने मानिसहरूको चिहानमा छरियो। अशुद्ध उपासनाका निम्ति चलाइने वेदीहरू अपवित्र तुल्याएर भत्काइयो।—२ राजा २३:८-१४.

योशियाहको शुद्धीकरण जोडतोडका साथ भइरहेको बेला लेवी पूजाहारीका छोरा यर्मिया यरूशलेममा आउँछन्‌ (सा.यु.पू. ६४७)। यहोवाले जवान यर्मियालाई आफ्नो अगमवक्‍ताको रूपमा नियुक्‍त गर्नुभएको छ र तिनले एकदमै जोडदार ढंगमा झूटो धर्म विरुद्ध यहोवाको सन्देश घोषणा गर्छन्‌! जवान राजा योशियाह र यर्मियाको उमेर झन्डैझन्डै बराबरी थियो। योशियाहको साहसिक शुद्ध पार्ने काम र यर्मियाको निडर उद्‌घोषणाको बावजूद मानिसहरू चाँडै फेरि झूटो उपासनातिर नै फर्के।—यर्मिया १:१-१०.

बहुमूल्य कुरा फेला पर्छ!

झन्डै पाँच वर्ष बित्छ! पच्चीस वर्षीय योशियाहले शासन गरेको झन्डै १८ वर्ष भइसक्यो। तिनले सेनाका सचिव शापान, राज्यपाल मासेयाह र राज्यका मुख्य सचिव योआहलाई बोलाउँछन्‌। राजाले शापानलाई यस्तो आज्ञा दिन्छन्‌: ‘प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र प्रवेशढोकामा काममा खटिएकाहरूले मानिसहरूबाट ग्रहण गरेका परमप्रभुको भवनमा ल्याएका चाँदी गन्‍नू र मुख्य कर्मचारीको हातमा दिनू ताकि तिनीहरूले यहोवाको भवन मर्मत गर्न सकून्‌।’—२ राजा २२:३-६; २ इतिहास ३४:८.

मन्दिरमा काम गर्नेहरूले बिहान सबेरै देखि साह्रै मेहनत गर्छन्‌। तिनका केही दुष्ट पुर्खाहरूले परमेश्‍वरको भवनमा गरेको क्षतिलाई कामदारहरूले पुनर्निर्माण गरिरहेको कारण योशियाह यहोवाप्रति निश्‍चय पनि कृतज्ञ छन्‌। काममा प्रगति हुँदै जाँदा शापान कामको विवरण दिन आउँछन्‌। तर तिनको हातमा के हो? तिनले एउटा मुठा बोकिरहेका छन्‌! प्रधान पूजाहारी हिल्कियाहले “मोशाद्वारा दिएको परमप्रभुको व्यवस्थाको पुस्तक” भेट्टाएको तिनले बताउँछन्‌। (२ इतिहास ३४:१२-१८) कस्तो राम्रो कुरा भेट्टिएको—परमेश्‍वरको व्यवस्थाको सकल प्रति!

योशियाह, पुस्तकमा लेखिएका सबै कुरा सुन्‍न उत्सुक छन्‌। शापानले पढ्‌दै जाँदा राजाले चाहिं त्यहाँ लेखिएका प्रत्येक आज्ञा कसरी तिनी र तिनको प्रजालाई लागू हुन्छ भनी बुझ्ने कोसिस गर्छन्‌। तिनी विशेष गरी पुस्तकले साँचो उपासनाबारे जोड दिएका कुराका साथै मानिसहरूले झूटो धर्ममा भाग लिएमा माहामारी र निर्वासन हुनेबारे गरिएको भविष्यवाणीबाट प्रभावित हुन्छन्‌। परमेश्‍वरका सबै आज्ञा पालन नगरिएको थाह पाएपछि योशियाहले आफ्नो लुगा च्यात्छन्‌ अनि हिल्कियाह, शापान र अरूलाई यस्तो हुकूम दिन्छन्‌: ‘पुस्तकका आज्ञाहरू यहोवासित सोधपूछ गर्नू किनभने हाम्रा विरुद्धमा परमप्रभुको भयानक क्रोध उठेको छ, किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका आज्ञाहरू पालन गरेनन्‌।’—२ राजा २२:११-१३; २ इतिहास ३४:१९-२१.

यहोवाको वचन बताइन्छ

योशियाहका सन्देशवाहकहरू अगमवादिनी हुल्दाकहाँ जान्छन्‌ र रिपोर्टसहित फर्कन्छन्‌। हुल्दाले यहोवाको वचनको सन्देश बताउँछिन्‌ र भर्खरै पाएको पुस्तकमा लिपिबद्ध विपत्तिहरू धर्मत्यागी राष्ट्रमाथि आइपर्नेछन्‌ भनेर संकेत गर्छिन्‌। तथापि, योशियाह यहोवासामु नम्र भएको कारण तिनले त्यो विपत्ति भोग्नुपर्ने छैन। तिनी शान्तिसित मर्नेछन्‌ र आफ्नो पित्रहरूकै चिहानमा गाडिनेछन्‌।—२ राजा २२:१४-२०; २ इतिहास ३४:२२-२८.

के हुल्दाको भविष्यवाणी सही थियो किनभने योशियाहको मृत्यु त युद्धमा भएको थियो? (२ राजा २३:२८-३०) हो, यहूदामाथि आउन लागेको विपत्तिको तुलनामा, त्यसरी युद्धमा मारिनु “शान्तिसित” मर्नु सरह थियो। (२ राजा २२:२०; २ इतिहास ३४:२८) सा.यु.पू. ६०९-६०७ मा बेबिलोनीहरूले यरूशलेम कब्जा गरेर नाश गर्नुअघि नै योशियाहको मृत्यु भयो। अनि ‘तिनको पित्रहरूसित मिलाउनेछु’ भन्‍नुको अर्थ हिंस्रक मृत्यु हुनेछैन भनेको होइन। हिंस्रक र अहिंस्रक मृत्यु दुवैलाई संकेत गर्न त्यस्ता अभिव्यक्‍तिहरू प्रयोग गरिएका छन्‌।—व्यवस्था ३१:१६; १ राजा २:१०; २२:३४, ४०.

साँचो उपासना अघि बढ्‌छ

योशियाहले यरूशलेमका मानिसहरूलाई मन्दिरमा भेला गर्छन्‌ र यहोवाको भवनमा पाएको “करारको सम्पूर्ण पुस्तक त्यहाँ पढ़ेर” सुनाउँछन्‌। त्यसपछि, तिनले “परमप्रभुको कुरा सुन्‍न, उहाँका आज्ञाहरू, नियमहरू, धर्म-विधिहरू आफ्नो पूरा मन र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका शर्त्तहरू पूरा गर्नलाई परमप्रभुको सामने बाचा” बाँध्छन्‌। अनि सबै मानिसहरूले, त्यस करारअनुसार गर्न बाचा बाँधे।—२ राजा २३:१-३.

अब राजा योशियाहले मूर्तिपूजा विरुद्ध अर्को र अझ तीव्र अभियान चलाउँछन्‌। यहूदाका अन्य विदेशी देउदेउताका पूजाहारीहरूलाई कामबाट निकालिन्छन्‌। अशुद्ध उपासनामा संलग्न लेवी पूजाहारीहरूले यहोवाको वेदीमा सेवा गर्ने सुअवसर पाउँदैनन्‌। राजा सुलेमानको शासनकालमा बनाइएका उच्च स्थानहरू उपासनाको निम्ति अयोग्य घोषणा गरिन्छ। यो शुद्धीकरणको काम पहिला अश्‍शूरीहरूले विजय हासिल गरेको पहिलेको इस्राएलको दस कुल इलाकामा पनि गरिन्छ (सा.यु.पू. ७४०)।

नाउँ नदिएको “परमेश्‍वरको एक जन[ले]” ३०० वर्षअघि भविष्यवाणी गरेअनुसार योशियाहले राजा यारोबाम प्रथमले बेतेलमा बनाएको वेदीमा बालका पूजाहारीहरूको हड्डीहरू जलाउँछन्‌। तिनले त्यहाँ र अन्य शहरका पूजा गर्ने थानहरू भत्काइदिन्छन्‌ र मूर्तिपूजक पूजाहारीहरूलाई त्यहीं वेदीमै मारिदिन्छन्‌।—१ राजा १३:१-४; २ राजा २३:४-२०.

भव्य निस्तार चाड मनाइन्छ

शुद्ध उपासना प्रवर्धन गर्ने योशियाहको प्रयासमा ईश्‍वरीय समर्थन छ। आफू बाँचुञ्जेल मानिसहरू ‘परमेश्‍वरको भक्‍ति गर्नदेखि नतर्केकोमा’ राजा यहोवालाई धन्यवाद चढाइरहन्छन्‌। (२ इतिहास ३४:३३) अनि योशियाहले आफ्नो शासनको १८ औं वर्षमा भएको अविस्मरणीय घटना कसरी बिर्सनसक्छन्‌ र?

राजाले आफ्ना मानिसहरूलाई “परमप्रभु आफ्ना परमेश्‍वरको निस्तार चाड़ पालन गर्ने हुकूम” दिन्छन्‌ (२ राजा २३:२१)। र यसको सकारात्मक प्रतिक्रिया देखेर योशियाह हर्षित हुन्छन्‌। यस चाडको निम्ति तिनी आफैले ३०,००० पशु र ३,००० हल गोरु दिन्छन्‌। कस्तो रमाइलो निस्तार चाड! त्यतिबेला चढाइएको बलि, व्यवस्थित प्रबन्ध र उपासकहरूको संख्याको कारण उक्‍त चाड अगमवक्‍ता शमूएलको समयदेखि यता मनाइएको सबैभन्दा भव्य निस्तार चाड हुन्छ।—२ राजा २३:२२, २३; २ इतिहास ३५:१-१९.

मृत्यु हुँदा अत्यन्तै विलाप

तिनको ३१ वर्षीय (सा.यु.पू. ६५९-६२९) शासनकालको बाँकी समय योशियाहले असल राजाको रूपमा शासन गर्छन्‌। शासनकालको अन्ततिर फिरऊन नेको बेबिलोनी सेनालाई रोकेर यूफ्रेटिस नदीको किनार कर्कमीशमा अश्‍शूरी राजालाई मदत गर्न यहूदा भएर जान लागेको योजनाबारे तिनले थाह पाउँछन्‌। कारण थाह छैन तर योशियाह मिश्रीहरूसित युद्ध गर्न जान्छन्‌। नेकोले यस्तो सन्देशसहित सन्देशवाहक पठाउँछ: “परमेश्‍वर मतर्फ हुनुहुन्छ। मेरो विरूद्धमा खड़ा नहुनुहोस्‌, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।” तर योशियाह आफ्नो भेष बद्‌लेर मगिद्दोमा मिश्रीहरूसित युद्ध गर्न जान्छन्‌।—२ इतिहास ३५:२०-२२.

यहूदाका राजाको निम्ति कस्तो नराम्रो क्षण! शत्रुहरूले तिनीहरूको धनुले तिनलाई हाने र “शक्‍त चोट” लागेकोले तिनले आफ्ना अंगरक्षकहरूलाई “रण-भूमिबाट बाहिर लान हुकूम” गर्छन्‌। तिनीहरूले योशियाहलाई युद्ध रथबाट उठाएर अर्कोमा राख्छन्‌ र यरूशलेम लग्छन्‌। त्यहाँ वा बाटोमा योशियाहले आफ्नो अन्तिम सास फेर्छन्‌। प्रेरित विवरण यसो भन्छ: “औ तिनी त्यहीनै मरे, र तिनका पित्रहरूका चिहानमा तिनलाई गाड़े। औ सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए।” यर्मियाले तिनको निम्ति विलाप गीत गाए र त्यसपछि त्यस्तै विशेष अवसरहरूमा राजा, विलापको गीतका विषय भए।—२ इतिहास ३५:२३-२५.

हो, राजा योशियाहले मिश्रीहरूसित युद्ध गरेर नराम्रो गल्ती गरे। (भजन १३०:३) यद्यपि, तिनको नम्रता र साँचो उपासनाको निम्ति देखाएको दृढ अडानले गर्दा तिनले परमेश्‍वरको अनुग्रह प्राप्त गरे। नम्र हृदय भएका आफ्ना समर्पित सेवकहरूलाई यहोवाले अनुग्रह देखाउनुहुन्छ भन्‍ने कुरा योशियाहको जीवनीबाट राम्ररी प्रमाणित हुन्छ!—हितोपदेश ३:३४; याकूब ४:६.

[पृष्ठ २९-मा भएको चित्र]

किशोर राजा योशियाहले साँचो हृदयले यहोवाको खोजी गरे

[पृष्ठ ३१-मा भएको चित्र]

योशियाहले पूजा गर्ने थानहरू भत्काए र साँचो उपासना प्रवर्धन गरे