सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बेला आइपुगेको छ!”

“बेला आइपुगेको छ!”

“बेला आइपुगेको छ!”

“[उहाँको] यस संसारबाट पिताकहाँ जाने बेला आयो।”–यूहन्‍ना १३:१.

१. सा.यु. ३३ को निस्तार चाड नजिक आउँदा यरूशलेममा कस्तो हलचल भइरहेको छ र किन?

 येशू सा.यु. २९ मा बप्तिस्मापछि आफ्नो मृत्यु, पुनरुत्थान र महिमाको “बेला[मा]” पुऱ्‍याउने मार्गमा चल्नुभयो। अहिले सा.यु. ३३ को वसन्त ऋतु हो। यहूदी उच्च अदालत अर्थात्‌ महासभाले उहाँलाई मार्ने निधो गरेको केही हप्ता मात्र भएको छ। सम्भवतः उहाँसित मित्रैलो व्यवहार गर्ने महासभाका सदस्य निकोदेमसबाट तिनीहरूको योजना थाह पाएपछि येशू यरूशलेमबाट यर्दन नदीपारि सँगैको गाउँतिर लाग्नुहुन्छ। निस्तार चाड नजिकै आएपछि गाउँका मानिसहरू यरूशलेम जान थाल्छन्‌ र शहरमा चाहिं येशू आउनुहुन्छ कि हुँदैन भनेर हलचल भइरहेको छ। “तिमीहरूलाई कस्तो लाग्छ, के तिनी चाड़मा आउलान्‌?” भनी मानिसहरू एकअर्कालाई सोध्छन्‌। उहाँलाई जसले देखे पनि खबर गरिहाल्नू भन्‍ने आदेश दिएर प्रधान पूजाहारी तथा फरिसीहरूले झनै सनसनी फैलाएका छन्‌।—यूहन्‍ना ११:४७-५७.

२. मरियमको कुन कामले गर्दा विवाद उत्पन्‍न हुन्छ र उनको पक्षमा येशूले दिनुभएको जवाफले उहाँ “बेला[बारे]” सजग हुनुहुन्छ भनेर कसरी संकेत गर्छ?

निस्तार चाडभन्दा छ दिनअघि निसान ८ का दिन येशू यरूशलेमको छेउछाउमै हुनुहुन्छ। उहाँ आफ्ना प्रिय मित्रहरू मार्था, मरियम र लाजरसको शहर बेथानी आइपुग्नुहुन्छ। यो यरूशलेमभन्दा झन्डै तीन किलोमिटर पर छ। यो शुक्रबारको साँझ हो र येशू विश्रामको दिन त्यहीं बिताउनुहुन्छ। भोलिपल्ट साँझ मरियमले किम्मती सुगन्धित तेल प्रयोग गरेर उहाँको सेवा गर्दा चेलाहरूले विरोध गर्छन्‌। येशूले यस्तो उत्तर दिनुहुन्छ: “मलाई गाड़ने दिनको लागि तिनलाई त्यो राखिछोड़न देऊ। किनभने गरीबहरू ता सधैं तिमीहरूसँग हुन्छन्‌, तर म ता सधैं तिमीहरूसँग हुन्‍नँ।” (यूहन्‍ना १२:१-८; मत्ती २६:६-१३) येशूलाई ‘यस संसार छोडेर पिताकहाँ जाने बेला आयो’ भनेर थाह छ। (यूहन्‍ना १३:१) पाँच दिनपछि उहाँले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनु[हुनेछ]।” (मर्कूस १०:४५) तसर्थ, येशूले गर्नुहुने र सिकाउनुहुने हरेक कुरामा अविलम्बी भाव झल्किन्छ। यस रीतिरिवाजको अन्त उत्सुकतासाथ पर्खिरहेको हामी सबैको निम्ति कस्तो उत्कृष्ट उदाहरण! येशूको सन्दर्भमा ठीक अर्को दिन के हुन्छ विचार गर्नुहोस्‌।

येशूको विजयोल्लाससाथ प्रवेश गर्ने दिन

३. (क) आइतबार, नीसान ९ का दिन येशू यरूशलेम कसरी प्रवेश गर्नुहुन्छ र उहाँ वरिपरिका मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌? (ख) भीडबारे गुनासो गर्ने फरिसीहरूलाई येशूले कस्तो जवाफ दिनुहुन्छ?

आइतबार, नीसान ९ का दिन येशू विजयोल्लाससाथ यरूशलेम आउनुहुन्छ। जकरिया ९:९ मा गरिएको भविष्यवाणीअनुरूप उहाँ गधैनीको बछेडामा चढेर शहर आउनुहुँदा धेरै मानिसहरू भेला भइसकेका छन्‌ र तिनीहरूले आफ्ना खास्टो र रूखका स्याउलाहरू काटेर बाटोमा ओछ्याउँछन्‌। अनि तिनीहरू कराउँछन्‌: “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्‌।” भीडमा भएका केही फरिसीहरू येशूले आफ्ना चेलाहरूलाई हप्काऊन्‌ भन्‍ने चाहन्छन्‌। तथापि, येशूले यस्तो जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुंगाहरू कराउनेछन्‌।”—लूका १९:३८-४०; मत्ती २१:६-९.

४. येशू शहर प्रवेश गर्नुहुँदा किन हलचल मच्चिन्छ?

अहिले भीडमा भएका थुप्रै मानिसले केही हप्ताअघि मात्र येशूले लाजरसको पुनरुत्थान गर्नुभएको देखेका थिए। अरूलाई चमत्कारबारे बताउने तिनीहरूको क्रम जारी नै छ। त्यसैले, येशू यरूशलेम प्रवेश गर्नुहुँदा पूरा शहरमा हलचल मच्चिन्छ। मानिसहरूले सोध्छन्‌: “यिनी को हुन्‌?” अनि भीडले यसो भन्छ: “यिनी गालीलको नासरतबाट आएका अगमवक्‍ता येशू हुन्‌।” त्यहाँ भइरहेको घटना देखेर फरिसीहरूले यस्तो खेद प्रकट गर्छन्‌: “संसारै त्यसको पछि लागिसक्यो!”—मत्ती २१:१०, ११; यूहन्‍ना १२:१७-१९.

५. येशू मन्दिरमा जानुहुँदा के हुन्छ?

महान्‌ शिक्षक, येशू यरूशलेम जानुहुँदा सदाझैं यस पटक पनि मन्दिरमा सिकाउन जानुहुन्छ। त्यहाँ लंगडा र अन्धाहरू उहाकहाँ आउँछन्‌ र उहाँले तिनीहरूलाई निको पार्नुहुन्छ। प्रधान पूजाहारी र शास्त्रीहरू, उहाँले गर्नुभएका अचम्मका काम र केटाहरू मन्दिरमा “होसन्‍ना दाऊदका पुत्रलाई” भनेर चिच्याएको देखेर क्रोधित हुन्छन्‌। तिनीहरूले आपत्ति जनाउँदै यसो भन्छन्‌, “के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्‌?” येशूले जवाफमा यसो भन्‍नुहुन्छ: “हो, म सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ? दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।” येशूले सिकाउँदै गर्नुहुँदा मन्दिरमा भइरहेको गतिविधिमा पनि राम्रोसित ध्यान दिनुहुन्छ।—मत्ती २१:१५, १६; मर्कूस ११:११.

६. येशू अहिले प्रवेश गर्नुभएको तरिका पहिलाभन्दा कसरी फरक छ र किन?

येशू अहिले प्रवेश गर्नुभएको तरिका छ महिनाअघिभन्दा कस्तो फरक! उहाँ त्यतिबेला डेराबासको चाडको निम्ति यरूशलेममा “प्रकट गरी होइन, तर गुप्तमा” आउनुभयो। (यूहन्‍ना ७:१०) अनि आफ्नो जीवन खतरामा पर्दा उहाँ सधैं त्यसबाट बच्न भाग्नुहुन्थ्यो। तर अहिले उहाँलाई पक्रने आज्ञा भएको शहरमा उहाँ खुलमखुल्ला प्रवेश गर्नुहुन्छ! साथै, येशूले आफू मसीह हुँ भनेर कहिल्यै घोषणा गर्नु हुन्‍नथ्यो। (यशैया ४२:२; मर्कूस १:४०-४४) उहाँ कहिल्यै आफूबारे हल्लाखल्ला गरेको वा टेढो रिपोर्टहरू एक कान दुई कान मैदान भएर फैलिएको चाहनु हुन्‍नथ्यो। अहिले भीडले खुलेआम उहाँ राजा, उद्धारकर्ता र मसीह हुनुहुन्छ भनी घोषणा गर्दैछ र भीडलाई चूप लगाउन धर्मगुरुहरूले आग्रह गर्दा उल्टो तिनीहरूलाई हप्काउनुहुन्छ! किन यस्तो परिवर्तन? किनभने येशूले ठीक भोलिपल्ट भन्‍नुभएझैं “मानिसको पुत्रको महिमा हुने बेला आइपुगेको छ।”—यूहन्‍ना १२:२३.

निडर कार्य अनि जीवन बचाउने शिक्षा

७, ८. सा.यु. ३३ नीसान १० का दिनको येशूको कामले कसरी उहाँले तीन वर्षअघि सा.यु. ३० निस्तार चाडको बेला मन्दिरमा गर्नुभएको कुराको सम्झना दिलाउँछ?

सोमबार, नीसान १० का दिन मन्दिरमा आइपुग्नुहुँदा येशूले अघिल्लो दिनको दिउँसो देख्नुभएको गतिविधि विरुद्ध कदम चाल्नुहुन्छ। “उहाँ मन्दिरभित्र पसेर मन्दिरमा बेच्ने र किन्‍नेहरूलाई बाहिर निकाल्नलाग्नुभयो, र सराफीहरूका टेबलहरू र ढुकुर बेच्नेहरूका आसन उहाँले पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै भाँड़ा-कुँड़ा मन्दिर-भित्रबाट लैजान दिनुभएन।” गल्ती गर्नेहरूको निन्दा गर्नुहुँदै उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ? तर तिमीहरूले ता यसलाई डाँकूहरूको ओड़ार पो तुल्याएका छौ।’ ”—मर्कूस ११:१५-१७.

येशूको यस कार्यले तीन वर्षअघि सा.यु. ३० निस्तार चाडमा मन्दिर जानुहुँदा गर्नुभएको कुराको सम्झना दिलाउँछ। तथापि, यसपालीको निन्दा अझ कडा छ। यसपाली उहाँ मन्दिरका व्यापारीहरूलाई “डाँकूहरू” भनेर सम्बोधन गर्नुहुन्छ। (लूका १९:४५, ४६; यूहन्‍ना २:१३-१६) तिनीहरू डाँकूहरू हुन्‌ किनभने बलिको निम्ति पशु किन्‍नुपर्ने मानिसहरूलाई तिनीहरू चर्को मोल लगाउँछन्‌। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र बूढा प्रधानहरूले येशूले गर्नुभएको कुरा सुनेपछि फेरि उहाँलाई मार्ने उपाय खोज्छन्‌। तैपनि, येशूलाई कसरी मार्ने भनी तिनीहरू जान्दैनन्‌ किनभने उहाँको शिक्षा सुनेर प्रभावित भएर चारैतिरका मानिसहरूले उहाँलाई घेरिरहेका छन्‌।—मर्कूस ११:१८; लूका १९:४७, ४८.

९. येशूले कस्तो पाठ सिकाउनुहुन्छ र उहाँले मन्दिरमा आफ्ना श्रोताहरूलाई कस्तो निमन्त्रणा दिनुहुन्छ?

मन्दिरमा सिकाउँदै येशू यस्तो घोषणा गर्नुहुन्छ: “मानिसको पुत्रको महिमा हुने बेला आइपुगेको छ।” हो, उहाँलाई आफ्नो मानव जीवन अन्त हुन अब केही दिन मात्र बाँकी छ भनेर थाह छ। गहुँको दाना फल फलाउन मर्नै पर्ने कुरा बताउनु भएपछि येशूले आफ्नो मृत्यु र त्यसले अरूको निम्ति अनन्त जीवनको बाटो खोल्ने कुरासित तुलना गर्नुहुन्छ र आफ्ना श्रोताहरूलाई यस्तो निमन्त्रणा दिनुहुन्छ: “कसैले मेरो सेवा गर्छ भने मेरोपछि लागोस्‌, र म जहाँ छु, त्यहाँ मेरा सेवक पनि हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।”—यूहन्‍ना १२:२३-२६.

१०. येशू आफ्नो हुन लागेको पीडादायी मृत्युबारे कस्तो सोचाइ राख्नुहुन्छ?

१० चार दिनपछि हुने आफ्नो पीडादायी मृत्युबारे सोच्दै उहाँ यसो भन्‍नुहुन्छ: “अब मेरो प्राण दुःखित भएको छ, औ म के भनुँ? हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌?” तर येशूमाथि जे बित्न लागेको छ, त्यसलाई टार्न सकिन्‍न। “तर म यसैकारण यस घड़ीसम्म आइपुगें” भनी उहाँ भन्‍नुहुन्छ। निस्सन्देह, परमेश्‍वरले गर्नुभएका सम्पूर्ण प्रबन्धहरूसित येशू सहमत हुनुहुन्छ। उहाँ आफ्नो बलिदानरूपी मृत्युसम्मै ईश्‍वरीय इच्छाअनुसार गर्न कटिबद्ध हुनुहुन्छ। (यूहन्‍ना १२:२७) ईश्‍वरीय इच्छाको पूर्ण अधीनमा बसेर उहाँले हाम्रोनिम्ति कत्ति उत्तम नमुना बसाल्नुभयो!

११. भर्खरै स्वर्गबाट आएको आवाज सुन्‍ने भीडलाई येशू के शिक्षा दिनुहुन्छ?

११ उहाँको मृत्युले पिताको मर्यादामा पुऱ्‍याउनसक्ने धक्काबारे अत्यन्तै चिन्तित हुनुभएकोले येशू यस्तो प्रार्थना गर्नुहुन्छ: “हे पिता, आफ्नो नाउँको महिमा गर्नुहोस्‌।” मन्दिरमा भेला भएका भीड छक्क पर्ने गरी स्वर्गबाट एउटा यस्तो आवाज आउँछ: “मैले महिमा गरेको छु, र फेरि महिमा गर्ने पनि छु।” महान्‌ शिक्षकले यस अवसरको फाइदा उठाउँदै भीडलाई आवाज आउनुको कारण, उहाँको मृत्युको परिणाम र तिनीहरूले किन विश्‍वास गर्नुपर्छ भनेर बताउनुहुन्छ। (यूहन्‍ना १२:२८-३६) येशूको जीवनको अन्तिम दुई दिन पक्कै पनि रोमाञ्कारी गतिविधिहरूले भरिएको छ। तर महत्त्वपूर्ण दिन भने आउन बाँकी नै छ।

भर्त्सना गर्ने दिन

१२. मंगलबार, नीसान ११ का दिन धर्मगुरुहरूले कसरी येशूलाई फसाउन खोज्छन्‌ तर नतिजा के हुन्छ?

१२ मंगलबार, नीसान ११ का दिन येशू फेरि मन्दिरमा सिकाउन जानुहुन्छ। त्यहाँ मनमा दुश्‍मनी लिएर बसेका श्रोताहरू पनि छन्‌। येशूले हिजो गर्नुभएको कामलाई संकेत गर्दै मुख्य पूजाहारीहरू र जनसाधारणका बूढा प्रधानहरू उहाँलाई सोध्छन्‌: “के अख्तियारले तिमी यस्ता कुराहरू गर्छौ? औ कसले तिमीलाई यो अख्तियार दियो?” तर महान्‌ शिक्षकले तिनीहरूलाई यस्तो जवाफ दिनुहुन्छ कि तिनीहरू अकमक्क पर्छन्‌ र तीनवटा सजीव दृष्टान्तहरू—दुईवटा दाखबारीबारे र एउटा विवाह भोजबारे बताउनुहुन्छ र यी दृष्टान्तहरूले उहाँका विरोधीहरू कत्ति दुष्ट छन्‌ भनेर उदांग पार्छ। उहाँको कुरा सुनेर क्रोधित ती धर्मगुरुहरू उहाँलाई पक्रन चाहन्छन्‌। तर तिनीहरूलाई भीडको डर छ किनभने तिनीहरू येशूलाई अगमवक्‍ता भन्ठान्छन्‌। त्यसैले, उहाँलाई कुनै आपत्तिजनक कुरा भन्‍न लगाएर फसाउने दुष्प्रयास गर्छन्‌। तर येशूले तिनीहरूलाई नाजवाफ पार्नुहुन्छ।—मत्ती २१:२३–२२:४६.

१३. शास्त्री तथा फरिसीहरूबारे येशू आफ्ना श्रोताहरूलाई के सल्लाह दिनुहुन्छ?

१३ शास्त्री तथा फरिसीहरूले परमेश्‍वरको व्यवस्था सिकाउने दाबी गर्ने भएकाले येशू आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “जे तिनीहरूले भन्दछन्‌ ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्‌, तर गर्दैनन्‌।” (मत्ती २३:१-३) कस्तो सशक्‍त सार्वजनिक निन्दा! तर येशू अझै तिनीहरूको पर्दाफास गर्नुहुन्छ। मन्दिरमा यो उहाँको अन्तिम दिन हो र उहाँ एकपछि अर्को मेघको गर्जनजस्तै निडरतासाथ तिनीहरूको पर्दाफास गर्नुहुन्छ।

१४, १५. येशूले शास्त्री र फरिसीहरूको कस्तो कडा निन्दा गर्नुहुन्छ?

१४ “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, कपटीहरू!” भनी येशूले छ चोटि भन्‍नुहुन्छ। तिनीहरू त्यस्तै छन्‌ किनभने उहाँले भन्‍नुभएझैं तिनीहरूले मानिसहरूका विरुद्ध स्वर्गका राज्य बन्द गरेका छन्‌। यी कपटीहरू एक जनालाई आफ्नो मतमा ल्याउन समुद्र र पाखा चहार्दछन्‌। तर ल्याएपछि तिनलाई अनन्त विनाशतर्फ धकेल्छन्‌। तिनीहरू “व्यवस्थाका . . . गहकिला कुराहरू, अर्थात्‌ न्याय, दया र विश्‍वास[लाई]” बेवास्ता गरेर दशांश दिने कुरामा चाहिं धेरै ध्यान दिन्छन्‌। यसरी तिनीहरू ‘कचौरा र थालको बाहिरपट्टि ता माझ्दछ, तर भित्रपट्टि भने ती झूट र असंयमले भरिएका हुन्छन्‌’ अर्थात्‌ तिनीहरू बाहिर मानिसहरूसामु धर्मी देखिए तापनि भित्र सडेका र दुर्गन्धले भरिएका छन्‌। यसबाहेक, तिनीहरू “अगमवक्‍ताहरू मार्नेका सन्तान” भए तापनि अगमवक्‍ताहरूको निम्ति चिहान निर्माण गरेर आफ्नो दानपुण्यतिर मानिसहरूको ध्यान आकर्षित गर्न चाहन्छन्‌।—मत्ती २३:१३-१५, २३-३१.

१५ आफ्ना विरोधीहरूको न्यून आध्यात्मिकताबारे भर्त्सना गर्दै येशू भन्‍नुहुन्छ: “धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवा हो।” तिनीहरू नैतिक तवरमा अन्धा छन्‌ किनभने उपासनाको केन्द्रको आध्यात्मिक मूल्यलाई महत्त्व दिनुको सट्टा तिनीहरू मन्दिरको सुनलाई बढी महत्त्व दिन्छन्‌। अझै त्योभन्दा कडा शब्द चलाउनुहुँदै येशू तिनीहरूको निन्दा गर्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “ए सर्पहरू, साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?” हो, तिनीहरू दुष्ट मार्गमा चलेको हुँदा तिनीहरूको अनन्त विनाश हुनेछ भनी येशू भन्दै हुनुहुन्छ। (मत्ती २३:१६-२२, ३३) झूटो धर्मको पर्दाफास गर्नुपर्दासमेत हामी राज्य सन्देश घोषणा गर्न साहसी होऔं।

१६. जैतून डाँडामा येशूले आफ्ना चेलाहरूसामु कुन महत्त्वपूर्ण भविष्यवाणी गर्नुहुन्छ?

१६ येशू अब मन्दिरबाट निस्कनुहुन्छ। सूर्य अस्ताउन लाग्दा उहाँ र उहाँका प्रेरितहरू जैतून डाँडा चढ्‌नुहुन्छ। जैतूनको डाँडामा येशूले मन्दिरको विनाश, उहाँको उपस्थिति र जगत्‌को अन्तबारे भविष्यवाणी गर्नुहुन्छ। यी भविष्यसूचक शब्दहरू आज हाम्रो समयसम्मै महत्त्वपूर्ण छन्‌। त्यस साँझ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुहुन्छ: “तिमीहरूलाई थाहै छ, अबको दुइ दिनपछि निस्तार-चाड़ आउँछ, औ मानिसको पुत्र क्रूसमा टाँगिनालाई सुम्पिनेछ।”—मत्ती २४:१-१४; २६:१, २.

येशूले ‘आफ्ना जतिलाई अन्त्यसम्मनै प्रेम गर्नुहुन्छ’

१७. (क) नीसान १४ को निस्तार चाडको दौडान येशूले १२ जना चेलाहरूलाई के पाठ सिकाउनुहुन्छ? (ख) यहूदा इस्करयोतीलाई पठाउनुभएपछि येशूले कुन उत्सव स्थापित गर्नुहुन्छ?

१७ अर्को दुई दिन नीसान १२ र १३ का दिन येशू खुलेआम मन्दिरमा देखापर्नु हुन्‍न। धर्मगुरुहरू उहाँलाई मार्न खोज्दै छन्‌ र उहाँ आफ्ना प्रेरितहरूसित निस्तार चाड मनाउँदा केही कुराले पनि बाधा पुऱ्‍याएको चाहनुहुन्‍न। बिहीबारको सूर्यास्तपछि नीसान १४ सुरु हुन्छ र यो मानवरूपी येशूको यस पृथ्वीमा अन्तिम दिन हो। त्यस साँझ येशू अनि उहाँका प्रेरितहरू यरूशलेममा एउटा घरमा सँगै भेला हुनुभएको छ र त्यहाँ निस्तार चाड मनाउन तयारी गरिएको छ। निस्तार चाड सँगै मनाइरहनुभएको बेला उहाँले १२ जना चेलाहरूको खुट्टा धुनुभएर तिनीहरूलाई नम्रताको राम्रो पाठ सिकाउनुहुन्छ। मोशालाई दिइएको व्यवस्थाअनुसार दासको मोल अर्थात्‌ ३० टुक्रा चाँदीमा आफ्नो मालिकलाई धोका दिन सहमत भएका यहूदा इस्करयोतीलाई बाहिर पठाउनुभएपछि येशू आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुहुन्छ।—प्रस्थान २१:३२; मत्ती २६:१४, १५, २६-२९; यूहन्‍ना १३:२-३०.

१८. येशू आफ्ना ११ जना विश्‍वासी प्रेरितहरूलाई के थप कुरा सिकाउनुहुन्छ र आफ्नो हुनै लागेको मृत्युको निम्ति तिनीहरूलाई कसरी तयार पार्नुहुन्छ?

१८ स्मरणार्थको स्थापनापछि प्रेरितहरू सबैभन्दा को ठूलो भनेर आपसमा चर्को विवाद गर्छन्‌। तिनीहरूलाई हप्काउनुको साटो येशू तिनीहरूलाई धीरजसाथ अरूलाई सेवा गर्नुको महत्त्व बुझाउनुहुन्छ। परीक्षाको बेला आफूलाई छोडेर नजाने ती चेलाहरूको मूल्याकंन गर्नुहुँदै येशू तिनीहरूलाई आफूसँगै राज्य गर्ने अधिकार दिने व्यक्‍तिगत वाचा गर्नुहुन्छ। (लूका २२:२४-३०) येशूले तिनीहरूलाई जस्तो प्रेम गर्नुभयो, आपसमा पनि त्यस्तै प्रेम गर्नू भनेर उहाँले आज्ञा गर्नुहुन्छ। (यूहन्‍ना १३:३४) त्यस कोठाबाट तुरुन्तै नगई येशू मायालुपूर्वक चेलाहरूलाई आफ्नो हुनै लागेको मृत्युको निम्ति तयार पार्नुहुन्छ। उहाँ आफ्नो मित्रताको आश्‍वासन दिनुहुन्छ, विश्‍वास गर्न प्रोत्साहन दिनुहुन्छ र पवित्र आत्माद्वारा तिनीहरूलाई मदत गर्ने प्रतिज्ञा गर्नुहुन्छ। (यूहन्‍ना १४:१-१७; १५:१५) घर छोड्‌नुअघि येशू आफ्नो पितासित यस्तो बिन्ती गर्नुहुन्छ: “हे पिता, बेला आइपुगेको छ, पुत्रको महिमा गर्नुहोस्‌, र पुत्रले तपाईंको महिमा गरोस्‌।” हो, येशूले प्रेरितहरूलाई आफ्नो प्रस्थानको निम्ति तयार गर्नुभएको छ र उहाँले पक्कै पनि ‘आफ्ना जतिलाई अन्त्यसम्मनै प्रेम गर्नुहुन्छ।’—यूहन्‍ना १३:१; १७:१.

१९. गेतसमनीको बगैंचामा येशू किन वेदनामा हुनुहुन्छ?

१९ येशू र उहाँका ११ जना विश्‍वासी प्रेरितहरू गेतसमनीको बगैंचामा आइपुग्दा मध्यरात भइसकेको हुनसक्छ। त्यहाँ, उहाँ आफ्ना प्रेरितहरूसित अक्सर जानुहुन्थ्यो। (यूहन्‍ना १८:१, २) अब केही घण्टामै उहाँको एक निन्दनीय अपराधीको रूपमा मृत्यु हुनलागेको छ। आफूले अनुभव गर्न लाग्नुभएको मृत्यु र आफ्नो पिताको नाउँमा लाग्ने कलंकको वेदना तीव्र भएकोले येशूले प्रार्थना गर्नुहुँदा उहाँको पसिना रगतका ठूला ठूला थोपाजस्तै भुइँमा खस्छ। (लूका २२:४१-४४) येशू आफ्ना प्रेरितहरूलाई भन्‍नुहुन्छ: “भइसक्यो, बेला आइसक्यो, हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ हुनलागेको छ।” उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा इस्करयोती राँको, चिराग र हतियारहरूसमेत लिएका ठूलो भीडका साथ आइपुग्छन्‌। तिनीहरू येशूलाई पक्रन आएका छन्‌। उहाँ प्रतिरोध गर्नु हुन्‍न। उहाँ भन्‍नुहुन्छ: “हुनुपर्छ भनी लेखिएको शास्त्रको कुरा कसरी पूरा नभै रहनसक्छ?”—मर्कूस १४:४१-४३; मत्ती २६:४८-५४.

मानिसको पुत्र महिमित हुनुहुन्छ !

२०. (क) पक्राउ पर्नुभएपछि येशूले कस्ता अत्याचारहरू भोग्नुहुन्छ? (ख) मर्नुभन्दा एकछिनअघि येशू किन “अब सिद्धियो” भनेर कराउनुहुन्छ?

२० उहाँलाई पक्रेपछि झूटा साक्षीहरूले गवाही दिन्छन्‌, पक्षपाती न्यायाधीशहरूले अभियोग लगाउँछन्‌, पोन्तियस पिलातसले सजाय सुनाउँछन्‌ र पूजाहारी तथा हूलले उहाँको अपमान गर्छन्‌ र सिपाहीहरूले खिसी गर्दै सास्ती दिन्छन्‌। (मर्कूस १४:५३-६५; १५:१, १५; यूहन्‍ना १९:१-३) शुक्रबार दिउँसोसम्ममा उहाँलाई शूलीमा झुन्ड्याइ सकिएको छ र शरीरको भारले गर्दा उहाँको हात र खुट्टामा ठोकेको किलाले मासु च्यात्दा उहाँलाई असह्‍य पीडा हुन्छ। (यूहन्‍ना १९:१७, १८) दिउँसो तीन बजेतिर येशू यसरी कराउनुहुन्छ: “अब सिद्धियो।” हो, उहाँले यस पृथ्वीमा गर्नुपर्ने सबै काम पूरा गर्नुभएको छ। अनि उहाँले शिर निहुराएर आफ्नो आत्मा परमेश्‍वरलाई सुम्पनुहुन्छ। (यूहन्‍ना १९:२८, ३०; मत्ती २७:४५, ४६; लूका २३:४६) त्यसको ठीक तीन दिनपछि यहोवाले आफ्नो पुत्रको पुनरुत्थान गर्नुहुन्छ। (मर्कूस १६:१-६) पुनरुत्थानको ४० दिनपछि येशू स्वर्गमा उचालिनुहुन्छ र महिमित हुनुहुन्छ।—यूहन्‍ना १७:५; प्रेरित १:३, ९-१२; फिलिप्पी २:८-११.

२१. हामी कसरी येशूको अनुकरण गर्नसक्छौं?

२१ हामीले कसरी ‘येशूको पाइला’ पछ्याउनसक्छौं? (१ पत्रुस २:२१) उहाँजस्तै हामी पनि तनमनले राज्य प्रचार तथा चेला बनाउने कार्यमा लागौं र निडरतासाथ परमेश्‍वरको वचन घोषणा गरौं। (मत्ती २४:१४; २८:१९, २०; प्रेरित ४:२९-३१; फिलिप्पी १:१४) हामी समयको गतिमा कहाँ छौं भनेर कहिल्यै नभुलौं वा सधैं एकअर्कालाई प्रेम र सुकर्ममा उत्तेजित गर्नदेखि कहिल्यै नचुकौं। (मर्कूस १३:२८-३३; हिब्रू १०:२४, २५) हाम्रो सम्पूर्ण जीवनपद्धति सधैं यहोवा परमेश्‍वरको इच्छाद्वारा निर्देशित होस्‌ र हामी “अन्तको समय[मा]” बाँचिरहेका छौं भनेर सधैं सजग होऔं।—दानियल १२:४.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आफ्नो मृत्यु चाँडै हुँदैछ भन्‍ने चेतनाले येशूलाई यरूशलेमको मन्दिरमा उहाँको अन्तिम सेवकाईको बेला कस्तो प्रभाव पाऱ्‍यो?

• येशूले ‘आफ्ना जतिलाई अन्त्यसम्मनै प्रेम गर्नुहुन्छ’ भनेर कुन कुराले देखाउँछ?

• येशूको जीवनको अन्तिम केही घण्टाहरूले उहाँबारे के बताउँछन्‌?

• हामी आफ्नो सेवकाईमा कसरी ख्रीष्ट येशूको अनुकरण गर्नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

येशूले “तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो”