मदतको निम्ति पुकार
मदतको निम्ति पुकार
“परमेश्वरले मलाई बिर्सनुभएको छ!” भन्दै ब्राजिलकी एक महिलाले आफ्नो दुःख पोखिन्। अकस्मात् श्रीमान्को मृत्यु भएपछि उनलाई जीवनको अब केही अर्थै नरहेजस्तो लाग्यो। के तपाईंले अत्यन्तै निराश वा मदतको निम्ति पुकारिरहेका व्यक्तिहरूलाई कहिलेकाहीं सान्त्वना दिने प्रयास गर्नुभएको छ?
कतिपय मानिसहरू आफ्नो ज्यानै लिने हदसम्म निराश हुन्छन्। यस्ता ज्यान लिनेहरूमध्ये प्रायः युवाहरू छन्। फोल्या डे सा. पाऊलो नामक अखबारअनुसार ब्राजिलमा गरिएको अध्ययनमा “त्यहाँका युवा जनहरूमा आत्महत्या गर्नेहरूको संख्या २६ प्रतिशतले वृद्धि भएको” देखिएको छ। उदाहरणका लागि, साऊ पाउलोका वल्टर a नाउँ गरेका युवकलाई विचार गर्नुहोस्। तिनका आमाबाबु, घर केही थिएन र विश्वासीलो मित्र पनि थिएन। आफ्नो यस्तो दुरावस्थाको अन्त गर्न वल्टरले पुलबाट हामफाल्ने निर्णय गरे।
एड्ना एक्ली आमा हुन् र तिनी अर्को मान्छेको माया जालमा पर्दा तिनको दुइटा बच्चा थिए। भेट भएको एक महिना नबित्दै तिनीहरू त्यस मान्छेको आमाको घरमा सँगै बस्न थाले र त्यस मान्छेको आमा प्रेतवादमा लागेकी मतवाला आइमाई थिइन्। एड्नाको अर्को बच्चा भयो र तिनी आफै पनि साह्रै पिउने भइन्। एकदमै निराश भएर तिनले पछि आत्महत्या गर्नसमेत खोजिन्। अन्ततः तिनले आफ्ना छोराछोरीको लालनपालन गर्ने अधिकार नै गुमाइन्।
अनि वृद्ध व्यक्तिहरूबारे के भन्न सकिन्छ नि? मारिया रमाइलो र कुरा गर्नुपर्ने खालकी व्यक्ति थिइन्। तथापि, तिनी हुर्केपछि परिचारिकाको रूपमा आफ्नो जागिरमा केही गल्ती होला भनेर अत्यन्तै डराउन थालिन्। यसले गर्दा तिनी निराश भइन्। आफै उपचार गर्ने प्रयास गरेको केही समयपछि तिनले चिकित्साहरूको मदत लिइन् र उपचारले राम्रै काम गरेजस्तो देखियो। तर ५७ वर्षको उमेरमा आफ्नो जागिर गुमाउनुपर्दा तिनी फेरि अत्यन्तै निराश भइन् र आफ्नो समस्याको कुनै उपाय नै देखिनन्। मारियाले आत्महत्या गर्ने विचार गर्न थालिन्।
साऊ पाउलो विश्वविद्यालयका प्राध्यापक जुझे अल्बर्टु डेल पोर्टो भन्छन्, “निराशाले पीडित झन्डै १० प्रतिशत मानिसहरूले आत्महत्या गर्ने प्रयास गर्छन्।” सं.रा.-का शल्यचिकित्सकहरूका प्रमुख डा. डेबिड स्याच्चर बताउँछन्, “विश्वास गर्न गाह्रो छ तर यो कुरा तथ्य हो कि, नरहत्याबाट भन्दा आत्महत्याबाट धेरै मानिसहरूको मृत्यु हुन्छ।”
कहिलेकाहीं आत्महत्या गर्ने प्रयास गर्नु भनेकै मदतको निम्ति पुकार हो। निश्चय पनि परिवारका सदस्य तथा साथीभाइहरू आशाहीन भएकाहरूलाई उचित मदत गर्न चाहन्छन्।
निस्सन्देह, यस्ता अभिव्यक्तिहरू प्रयोग गर्दा मदत हुँदैन: “किन आफूलाई बेकारमा नराम्रो ठान्छौ,” “धेरै मानिसहरूको अवस्था तपाईंको भन्दा नराम्रो छ” वा “तितोमीठो भनेको कसको जीवनमा पो हुँदैन र।” त्यसको साटो, तपाईं किन असल मित्र र राम्रोसित सुन्ने व्यक्ति नहुने? हो, निराश व्यक्तिहरूलाई जीवन बाँच्न योग्यको छ भनेर बुझ्न मदत गर्नुहोस्।फ्रान्सिसी लेखक भोल्टेरले यस्तो लेखे: “विरक्तिको कारण आवेगमा आएर आफ्नो ज्यान लिने मानिसले एक हप्ता कुरेको भए बाँच्ने चाहना गर्ने थियो।” त्यसोभए, निराशाले पीडित मानिसहरूले जीवन बाँच्न योग्यको छ भनेर कसरी पत्ता लगाउनसक्छन्?
[फुटनोट]
a केही नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ ३-मा भएको चित्र]
आत्महत्या गर्ने जवान तथा वयस्कहरूको संख्या बढ्दो छ
[पृष्ठ ४-मा भएको चित्र]
आशा विहीन व्यक्तिलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?