सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन–इनामदायी तथा आनन्ददायी

अध्ययन–इनामदायी तथा आनन्ददायी

अध्ययनइनामदायी तथा आनन्ददायी

“यदि तैंले त्यसलाई . . . खोजिस्‌ . . . भने, . . . परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।” –हितोपदेश २:४, ५.

१. फुर्सतको समयमा गरिने पढाइबाट पनि कसरी लाभ उठाउन सकिन्छ?

 धेरै मानिसहरू रमाइलोको लागि मात्र पढ्‌ने गर्छन्‌। विषयवस्तु लाभदायक छ भने, पढ्‌दा आराम हुन्छ। नियमित बाइबल पढाइ तालिकाको अलावा कोही कोही मसीहीहरू क्रमानुसार नभई भजनसंग्रह, हितोपदेश, सुसमाचारका पुस्तक वा बाइबलका अन्य भागहरू पढेर आनन्द उठाउँछन्‌। भाषा शैली अनि त्यसमा व्यक्‍त गरिएका भावनाहरूको सुन्दरताबाट पनि गहिरो आनन्द उठाउँछन्‌। अरू भने फुर्सतको समयमा यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, ब्यूँझनुहोस्‌! पत्रिका, यो पत्रिकामा छापिने जीवनकथा वा इतिहास, भूगोल र प्रकृतिसम्बन्धी विवरणहरू पढ्‌न रुचाउँछन्‌।

२, ३. (क) कुन अर्थमा गहन आध्यात्मिक जानकारीलाई खँदिलो खानेकुरासित तुलना गर्न सकिन्छ? (ख) अध्ययन गर्नुमा के के कुरा समावेश छन्‌?

पढाइले पनि मन बहलाउन मदत गर्छ तर अध्ययन गर्न मानसिक प्रयास गर्नुपर्छ। अंग्रेजी दार्शनिक फ्रान्सिस बेकनले यसप्रकार लेखे: “कुनै पुस्तक चाख्नुपर्छ, कुनै निल्नुपर्छ अनि कति चपाएर पचाउनुपर्छ।” बाइबल, चपाएर पचाउनुपर्ने पुस्तक हो भन्‍ने कुरामा कुनै सन्देह छैन। प्रेरित पावलले यसप्रकार लेखे: “[ख्रीष्ट जसलाई राजा तथा पूजाहारी मल्कीसेदेकले पूर्वचित्रण गर्छ] उहाँको विषयमा हामीले धेरै कुरा भन्‍नुछ, जो तिमीहरूको मन्द कान भएकाले अर्थ लाउनु पनि कठिन छ। . . . खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।” (हिब्रू ५:११, १४) खँदिलो खाना निलेर पचाउनुअघि चपाउनुपर्छ। गहन आध्यात्मिक जानकारी ग्रहण गरेर त्यसलाई मनमा राख्नुअघि मनन गर्नु जरुरी छ।

एउटा शब्दकोषको परिभाषाअनुसार “अध्ययन” भनेको “पढेर, अनुसन्धान गरेर वा अन्य तरिकाले ज्ञान वा समझ प्राप्त गर्न मनलाई काममा लगाउनु” हो। यसकारण, सरसरती पढेर, एक दुइटा शब्दमा धर्सो कोरेर मात्र पुग्दैन। अध्ययन भनेको काम, मानसिक प्रयास हो तथा ज्ञानेन्द्रिय शक्‍तिहरूको अभ्यास गर्नुपर्छ। तथापि, अध्ययन गर्न प्रयास गर्नुपर्छ भन्दैमा यो आनन्ददायी हुँदैन भन्‍ने चाहिं होइन।

अध्ययन आनन्ददायी बनाउने

४. भजनरचयिताका अनुसार परमेश्‍वरको वचनको अध्ययन कसरी स्फूर्तिदायी र आनन्ददायी हुनसक्छ?

परमेश्‍वरको वचन पढ्‌ने तथा अध्ययन गर्ने कार्यले स्फूर्ति र जोस प्रदान गर्नसक्छ। भजनरचयिताले यसो भने: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।” (भजन १९:७, ८) यहोवाको व्यवस्था र उहाँले हामीलाई सम्झाउनुहुने बुँदाहरूले स्फूर्ति दिन्छ, हाम्रो आध्यात्मिक अवस्था राम्रो बनाउँछ, आन्तरिक शान्ति दिन्छ अनि यहोवाका अद्‌भुत उद्देश्‍यहरूबारे स्पष्ट दृष्टि दिएर हाम्रो आँखा निर्मल बनाउँछ। कस्तो आनन्ददायी कुरा!

५. कुन कुन तरिकामा अध्ययनले हामीलाई ठूलो आनन्द दिन सक्छ?

आफ्नो कामको असल परिणाम देख्न पाउँदा हामीलाई रमाइलो लाग्छ। तसर्थ, अध्ययन आनन्ददायी बनाउन हामीले प्राप्त गरेको नयाँ जानकारीलाई तुरुन्तै प्रयोग गर्न सक्नुपर्छ। याकूबले यसप्रकार लेखे: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।” (याकूब १:२५) आफूले सिकेका बुँदाहरूलाई तुरुन्तै व्यक्‍तिगत प्रयोगमा ल्याउँदा पनि ठूलो सन्तुष्टि मिल्छ। प्रचार वा शिक्षण कार्यको दौडान कसैले उठाएको कुनै खास प्रश्‍नको जवाफ पाउने उद्देश्‍यले अनुसन्धान गर्दा पनि ठूलो आनन्द प्राप्त हुन्छ।

परमेश्‍वरको वचनप्रति चाह जगाउने

६. भजन ११९ का लेखकले यहोवाको वचनप्रति चाह कसरी देखाए?

भजन ११९ का रचनाकार, हिजकियाहले सायद जवान राजकुमार छँदै यहोवाको वचनप्रति चाह देखाएका थिए। कवितामय शैलीमा तिनले यसो भने: “तपाईंका नियमहरूमा म स्वयं रमाउनेछु। तपाईंका वचन म बिर्सनेछैनँ। तपाईंका साक्षी-वचन पनि मेरो आनन्द . . . हुन्‌। औ मैले प्रेम गरेको तपाईंका आज्ञाहरूमा म आनन्दित हुनेछु। तपाईंका कोमल कृपा ममाथि रहोस्‌, र म जीवित रहूँ। किनकि तपाईंको व्यवस्थामा म प्रसन्‍न छु। हे परमप्रभु, मैले तपाईंबाट उद्धार पाउने इच्छा गरेको छु। र तपाईंको व्यवस्थामा म प्रसन्‍न छु।”—भजन ११९:१६, २४, ४७, ७७, १७४.

७, ८. (क) एउटा सन्दर्भ सामग्रीअनुसार परमेश्‍वरको वचनमा “आनन्दित हुनु” भनेको के हो? (ख) हामीले यहोवाको वचनप्रति कसरी प्रेम देखाउन सक्छौं? (ग) एज्राले यहोवाको व्यवस्था पढ्‌नुअघि कस्तो तयारी गरे?

भजन ११९ मा “आनन्दित हुनेछु” भनी अनुवाद गरिएको शब्दबारे हिब्रू धर्मशास्त्रसम्बन्धी शब्दकोष यसो भन्छ: “पद १६ मा प्रयोग गरिएको शब्द, रमाहट . . . र मनन गर्ने . . . अर्थ बुझाउने क्रियाहरूसित मिल्छ। क्रम यस्तो हो: रमाउनु, मनन गर्नु, आनन्दित हुनु . . . यी शब्दहरूको प्रयोगले के देखाइरहेको हुनसक्छ भने, याहवेको वचनबाट आनन्द उठाउन उद्देश्‍यपूर्ण मनन गर्नु जरुरी छ। . . . यसमा भावनात्मक पक्ष पनि मुछिएको छ।” a

हो, यहोवाको वचनप्रति हाम्रो प्रेम, भावनाहरूको केन्द्रबिन्दु अर्थात्‌ हृदयबाट आउनुपर्छ। हामीले पढेका कुनै कुनै पद्यांश लामो समयसम्म सम्झिरहेर आनन्द उठाउन सक्नुपर्छ। गहन आध्यात्मिक सोचाइहरूमा गहिरिएर ध्यान दिनुपर्छ, त्यसमा मग्न भएर मनन गर्नुपर्छ। यसो गर्न मनमनै सोच्ने तथा प्रार्थना गर्ने गर्नुपर्छ। एज्राले जस्तै हामीले पनि परमेश्‍वरको वचन पढ्‌न र अध्ययन गर्न आफ्नो हृदय तयार पार्नुपर्छ। तिनीबारे यस्तो लेखिएको पाइन्छ: “एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) एज्राले आफ्नो हृदय तयार पार्नुको त्रिपक्षीय उद्देश्‍यलाई ध्यान दिनुहोस्‌: अध्ययन गर्नु, व्यक्‍तिगत प्रयोग गर्नु अनि सिकाउनु। हामीले पनि तिनको उदाहरण पछ्याउनुपर्छ।

अध्ययन —उपासनाको एउटा भाग

९, १०. (क) भजनरचयिताले यहोवाको वचनप्रति कसरी ध्यान दिए? (ख) “ध्यान दिनु” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ के हो? (ग) बाइबल अध्ययनलाई “उपासनाको भाग” ठान्‍नु किन महत्त्वपूर्ण छ?

भजनरचयिता आफूले यहोवाको व्यवस्था, आज्ञा तथा साक्षी-वचनप्रति चासो देखाएको कुरा उल्लेख गर्छन्‌। तिनी यस्तो भजन गाउँछन्‌: “तपाईंका आदेशहरूमा म ध्यान दिनेछु, र तपाईंका मार्गहरूलाई म आदर गर्नेछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पनि उचाल्नेछु, र तपाईंका नियममा ध्यान दिनेछु। आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। मेरा सबै गुरुभन्दा मेरो समझ ज्यादा छ। किनकि मेरो ध्यान तपाईंका साक्षी-वचनमा छ।” (भजन ११९:१५, ४८, ९७, ९९) यहोवाको वचनमा ‘ध्यान दिनु’ भनेको के हो?

१० “ध्यान दिने” भनी अनुवाद गरिएको हिब्रू क्रियाले “मनन गर्नु, गहिरिएर सोच्नु,” “कुनै विषयवस्तुबारे मनमा विचार गर्नु” भन्‍ने अर्थ पनि बुझाउँछ। “यो, परमेश्‍वरका कार्यहरू . . . र उहाँको वचन मनन गर्ने सन्दर्भमा प्रयोग गरिन्छ।” (थियोलोजिकल वर्डबूक अफ दी ओल्ड टेस्टामेन्ट) “ध्यान” भन्‍ने नाम पदले “उपासनाको रूपमा” परमेश्‍वरको व्यवस्थामा “भजनरचयिताको मनन,”-लाई “प्रेमद्वारा उत्प्रेरित अध्ययन” भनी बुझाउँछ। परमेश्‍वरको वचनको अध्ययनलाई उपासनाको एउटा भाग ठान्दा यसको गम्भीरता अझ बढ्‌छ। त्यसकारण, लगनशील भएर प्रार्थनापूर्वक अध्ययन गर्नुपर्छ। अध्ययन, हाम्रो उपासनाको भाग हो र यसले हाम्रो उपासनाको गुणस्तर बढाउँछ।

परमेश्‍वरको वचनमा गहिरिएर खोतल्ने

११. यहोवाले आफ्ना जनहरूलाई गहिरा गहिरा कुरा कसरी प्रकट गर्नुहुन्छ?

११ श्रद्धेय प्रशंसा गर्दै भजनरचयिताले यस्तो उद्‌गार व्यक्‍त गरे: “हे परमप्रभु, तपाईंका कार्यहरू कति महान्‌ छन्‌! तपाईंका विचारहरू अति गम्भीर छन्‌।” (भजन ९२:५) अनि प्रेरित पावलले “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” अर्थात्‌ यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई “आत्माद्वारा” प्रकट गर्नुहुने गहन विचारहरूबारे बताए। (१ कोरिन्थी २:१०; मत्ती २४:४५) “अर्थ लाउनु कठिन” कुरा बुझाउँदै दास वर्गले लगनशील भएर सबैलाई आध्यात्मिक पोषण अर्थात्‌ नयाँहरूको लागि “दूध” तर “पूरा बढेका मानिसहरूका निम्ति” “खँदिलो खानेकुरा” प्रदान गर्छ।—हिब्रू ५:११-१४.

१२. दासवर्गले “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” वर्णन गरेको उदाहरण दिनुहोस्‌।

१२ “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” बुझ्न प्रार्थनापूर्वक उहाँको वचन अध्ययन गरेर त्यसमा मनन गर्नु जरुरी छ। उदाहरणका लागि, यहोवा न्यायी र दयालु दुवै हुनुहुन्छ भनेर देखाउन राम्रो विषयवस्तु प्रकाशित भएको छ। उहाँले दया देखाउनुहुँदा न्यायलाई फितलो बनाउनुहुन्‍न; बरु, ईश्‍वरीय दया, परमेश्‍वरको न्याय र उहाँको प्रेमको अभिव्यक्‍ति हो। पापीको न्याय गर्नुहुँदा यहोवाले सर्वप्रथम, आफ्नो पुत्रको छुडौतीको बलिदानको आधारमा दया देखाउन सम्भव छ कि छैन भनेर हेर्नुहुन्छ। अपश्‍चात्तापी वा विद्रोही पापी छ भने, परमेश्‍वरले दया नगरी न्याय गर्नुहुन्छ। अवस्था जस्तोसुकै होस्‌, उहाँले आफ्नो उच्च स्तर बंग्याउनुहुन्‍न। b (रोमी ३:२१-२६) “अहा! परमेश्‍वरका बुद्धि . . . कस्तो गहीरो छ!”—रोमी ११:३३.

१३. अहिलेसम्म प्रकट भएका आध्यात्मिक सत्यको “ठूलो भण्डार[प्रति]” हामी कसरी मूल्यांकन देखाउन सक्छौं?

१३ यहोवाले आफ्ना विचारहरू बताउनुभएकोमा हामी भजनरचयिताजस्तै रमाउँछौं। दाऊदले यसप्रकार लेखे: “हे परमेश्‍वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्‌। तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गने भने, ती बालुवाका संख्याभन्दा बढ़ी छन्‌।” (भजन १३९:१७, १८) अहिले हामीसित भएको ज्ञान, यहोवाले अनन्तसम्म प्रकट गर्नुहुने विचारहरूको सानो अंश मात्र हो। तापनि, उहाँले अहिलेसम्म प्रकट गर्नुभएको अनमोल आध्यात्मिक सत्यको “ठूलो भण्डार[को]” हामी मूल्यांकन गर्छौं र परमेश्‍वरको वचनमा अझ गहिरिएर खोतल्न चाहन्छौं।—भजन ११९:१६०, NW, पादटिप्पणी।

प्रयास र प्रभावकारी साधनहरूको खाँचो

१४. हितोपदेश २:१-६ ले परमेश्‍वरको वचन अध्ययन गर्न प्रयास गर्नुपर्ने खाँचो कसरी देखाउँछ?

१४ गहन बाइबल अध्ययन गर्न प्रयास गर्नुपर्छ। यो तथ्य, हितोपदेश २:१-६ ध्यान दिएर पढ्‌दा स्पष्ट हुन्छ। राजा सुलेमानले ईश्‍वरीय ज्ञान, बुद्धि र विवेक प्राप्त गर्न प्रयास गर्नुपर्छ भनी बुझाउन प्रयोग गरेका क्रियाहरूमा ध्यान दिनुहोस्‌। तिनले यसप्रकार लेखे: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटनै आउँछन्‌।” हो, अध्ययनलाई इनामदायी बनाउन गाडधनलाई खोजेझैं अनुसन्धान अनि खानतलास गर्नुपर्छ।

१५. अध्ययन गर्ने राम्रो तरिका हुनुपर्छ भन्‍ने कुरालाई बाइबलको कुन उदाहरणले प्रस्ट पार्छ?

१५ अध्ययनबाट आध्यात्मिक पोषण पाउन अध्ययन गर्ने राम्रो तरिका पनि हुनुपर्छ। सुलेमानले यसो पनि लेखे: “बञ्चरो बोधे छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ।” (उपदेशक १०:१०) कामदारले बोधो हतियार चलाउँछ वा त्यसलाई निपुणतापूर्वक चलाउँदैन भने उसले आफ्नो शक्‍ति खेर फालिरहेको हुन्छ र काम पनि राम्रो हुँदैन। त्यसरी नै, अध्ययन गर्न लगाएको समयबाट पाउने लाभ पनि हाम्रो अध्ययन गर्ने तरिकामा निर्भर हुन्छ। हाम्रो अध्ययन गर्ने तरिकामा प्रगति गर्ने उत्तम व्यावहारिक सुझाउहरू थियोक्राटिक मिनिस्ट्री स्कूल गाइडबूक पुस्तकको पाठ ७ मा पाइन्छ। c

१६. गहिरो अध्ययन गर्न कस्ता व्यावहारिक सुझाउहरू दिइएका छन्‌?

१६ कारिन्दाले काम सुरु गर्नुअघि आफूलाई चाहिने सबै औजार आफ्नोअगाडि राख्छ। त्यसरी नै, अध्ययन थाल्नुअघि हामीलाई चाहिने अध्ययन सामग्रीहरू आफ्नो निजी पुस्तकालयबाट छान्‍नुपर्छ। अध्ययन भनेको काम हो र मानसिक प्रयास गर्नुपर्छ भन्‍ने कुरालाई सम्झँदै सही ढंगले बस्नु बेस हो। मानसिक तवरमा टाठो रहन चाहन्छौं भने, ओछ्यानमा लमतन्‍न पर्नु वा आरामदायी मेचमा बस्नुभन्दा टेबलमा किताब राखेर मेचमा बसेर पढ्‌नु बेस हो। केही छिन ध्यान दिएर अध्ययन गरिसकेपछि जीउ तन्काउनु वा ताजा हावा खान बाहिर निस्कनु पनि मदतकारी हुनसक्छ।

१७, १८. आफूसित उपलब्ध अध्ययन सहायक सामग्रीहरू कसरी प्रयोग गर्न सकिन्छ, उदाहरणसहित बताउनुहोस्‌।

१७ हाम्रोलागि थुप्रै अतुलनीय अध्ययन सामग्रीहरू उपलब्ध छन्‌। यसमध्ये सबैभन्दा प्रमुख, बाइबलको न्यु वर्ल्ड ट्रान्सलेशन हो र यो अहिले पूरै वा आंशिक रूपमा ३७ वटा भाषामा उपलब्ध छ। न्यु वर्ल्ड ट्रान्सलेशन-को स्टाण्डर्ड संस्करणमा थप सन्दर्भ र “बाइबलको विषयसूची” छ। यसबाट लेखकको नाउँ, ठाउँ र समयावधि थाह लाग्छ। यसमा बाइबलका शब्दहरूको अनुक्रमणिका, परिशिष्ट र नक्साहरू पनि छन्‌। कुनै कुनै भाषामा यो बाइबल ठूलो संस्करणमा छापिएको छ र त्यसलाई रेफरेन्स बाइबल भनिन्छ। यसमा माथि उल्लिखित अनेकन्‌ पक्षहरूलगायत थुप्रै पादटिप्पणी छन्‌ र यो पनि क्रमबद्ध छ। परमेश्‍वरको वचन अझ गहिरिएर अध्ययन गर्न के तपाईं आफ्नो भाषामा उपलब्ध सामग्रीको पूर्ण सदुपयोग गर्नुहुन्छ?

१८ अर्को अनमोल अध्ययन सामग्री दुई खण्डे बाइबल शब्दकोष, इन्साइट अन द स्क्रिप्चर्स हो। तपाईंले बुझ्नुहुने भाषामा यो उपलब्ध छ भने अध्ययन गर्दा यसको सधैं प्रयोग गर्नुपर्छ। यसबाट तपाईंले प्रायजसो बाइबल विषयहरूमा थप जानकारी पाउन सक्नुहुन्छ। त्यस्तै मदतकारी सामग्री “अल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनिफिसियल” हो। बाइबलको नयाँ पुस्तक पढ्‌न थाल्नुअघि “अल स्क्रिप्चर” पुस्तकमा त्योसित सम्बन्धित अध्याय पढेर भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमि र बाइबल पुस्तकको विषयवस्तु तथा त्यसको महत्त्वबारे छोटो जानकारी लिनु राम्रो हो। मुद्रित प्रकाशनको अलावा कम्प्युटरमा प्रयोग गर्नको लागि वाचटावर लाइब्ररी हालै नौवटा भाषामा उपलब्ध भएको छ।

१९. (क) यहोवाले हामीलाई बाइबल अध्ययन गर्न किन राम्रा सामग्रीहरू प्रदान गर्नुभएको छ? (ख) सही तरिकामा बाइबल पढाइ र अध्ययन गर्न के चाहिन्छ?

१९ आफ्ना सेवकहरूले ‘परमेश्‍वरको ज्ञान खोजेर भेट्‌टाउन’ सकोस्‌ भनेर यहोवाले यी सबै सामग्रीहरू “विश्‍वासी र बुद्धिमान दास [मार्फत]” प्रदान गर्नुभएको छ। (हितोपदेश २:४, ५) अध्ययन गर्ने राम्रो बानीले यहोवालाई अझ राम्ररी चिन्‍न अनि उहाँसित घनिष्ठ सम्बन्ध राख्न मदत गर्छ। (भजन ६३:१-८) हो, अध्ययन भनेको काम हो तर यो आनन्ददायी तथा इनामदायी हुन्छ। तथापि, यसो गर्न समय लाग्छ। सायद तपाईंले सोचिरहनुभएको होला, ‘बाइबल पढ्‌न र व्यक्‍तिगत अध्ययन गर्न म कसरी समय निकाल्न सक्छु?’ यसपछिको लेखमा यो बुँदा छलफल गरिनेछ।

[फुटनोटहरू]

a न्यु इन्टरनेशनल डिक्सनरी अफ ओल्ड टेस्टामेन्ट थियोलजी एण्ड एक्सेजिस, खण्ड ४, पृष्ठ २०५-७.

b प्रहरीधरहरा, अगस्त १, १९९८, पृष्ठ १३, अनुच्छेद ७ हेर्नुहोस्‌। बाइबल अध्ययन कार्यक्रमको रूपमा त्यो अंकको दुवै अध्ययन लेख र वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, बाइबल विश्‍वकोषमा “न्याय,” “दया” र “धार्मिकता” विषयसित सम्बन्धित लेखहरू पुनरावलोकन गर्न सक्नुहुन्छ।

c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित। तपाईंको भाषामा यो पुस्तक उपलब्ध छैन भने प्रहरीधरहरा अगस्त १, १९९३, पृष्ठ २१-२५;वाचटावर मे १५, १९८६, पृष्ठ १९-२० मा राम्रो सल्लाह पाइन्छ।

पुनरावलोकन प्रश्‍नहरू

• हामी आफ्नो व्यक्‍तिगत अध्ययनलाई कसरी स्फूर्तिदायी र इनामदायी बनाउनसक्छौं?

• भजनरचयिताले जस्तै हामी कसरी यहोवाको वचनमा “आनन्दित” हुन र “ध्यान” दिनसक्छौं?

हितोपदेश २:१-६ ले परमेश्‍वरको वचन अध्ययन गर्न प्रयास गर्नुपर्छ भनेर कसरी देखाउँछ?

• यहोवाले कस्ता राम्रा अध्ययन सामग्रीहरू प्रदान गर्नुभएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

मनमनै मनन र प्रार्थना गर्नाले हामीलाई परमेश्‍वरको वचनप्रति प्रेम विकास गर्न मदत गर्छ

[पृष्ठ १७-मा भएका चित्रहरू]

के तपाईं परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्न उपलब्ध अध्ययन सामग्रीहरूको पूर्ण सदुपयोग गर्नुहुन्छ?