सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?

अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?

अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?

के तपाईंको आनन्द, तपाईं बस्नुहुने ठाउँमा निर्भर हुने कुरा हो र? प्रायजसो मानिसहरू आनन्द भनेको सुस्वास्थ्य, जीवनमा कुनै उद्देश्‍य अनि अरूसितको सुमधुर सम्बन्धमा निर्भर हुन्छ भन्छन्‌। बाइबलको एउटा हितोपदेश यसो भन्छ: “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको साग-पात असल हो।”—हितोपदेश १५:१७.

तथापि, दुःखको कुरा, पृथ्वीमा घृणा, हिंसा र अन्य प्रकारका दुष्टताको लामो इतिहास छ। तर थुप्रै मानिस मृत्युपछि जाने आशा राख्ने स्वर्ग वा आत्मिक संसार नि? के त्यो सामान्य मानव सोचाइअनुसार शान्ति र आनन्द भएको अनि कुनै किसिमको गञ्जागोल नभएको ठाउँ हो?

बाइबलले सिकाएअनुसार स्वर्गमा परमेश्‍वरसित लाखौं आत्मिक प्राणीहरू छन्‌ र तिनीहरूलाई स्वर्गदूत भनिन्छ। (मत्ती १८:१०; प्रकाश ५:११) यिनीहरूलाई “परमेश्‍वरका” आत्मिक “पुत्रहरू” भनिन्छ। (अय्यूब ३८:४, ७, NW) मानिसहरूजस्तै स्वर्गदूतहरूले पनि असल र खराबको छनौट गर्नसक्छन्‌; तिनीहरू यन्त्रमानवहरू होइनन्‌। तसर्थ, तिनीहरूले असल र खराबको निर्णय गर्न सक्छन्‌। के स्वर्गदूतहरूले गलत कार्य गर्ने छनौट गर्लान्‌? हजारौं वर्षअघि थुप्रै स्वर्गदूतले परमेश्‍वर विरुद्ध पाप अर्थात्‌ उहाँको विद्रोह गरेका थिए भनी थाह पाउँदा कतिपय छक्कै पर्लान्‌!—यहूदा ६.

स्वर्गमा विद्रोहीहरू

एउटा स्वर्गदूतको विद्रोहले गर्दा आत्मिक संसारमा पाप देखा पऱ्‍यो र त्यो स्वर्गदूत शैतान (विरोधी) र दियाबल (निन्दक) हुन पुग्यो। यो, कुनै समय आज्ञाकारी स्वर्गदूतले आफ्नै स्वेच्छाले खराबी गर्न रोज्यो। त्यसपछि, त्यसले अरू आत्मिक प्राणीहरूलाई पनि विरोध गर्न उस्कायो र जलप्रलयअघि नूहको समयसम्म त परमेश्‍वरको विद्रोह गर्न शैतानको साथ दिने एउटा ठूलो जमात नै भइसकेको थियो।—उत्पत्ति ६:२; २ पत्रुस २:४.

यी पतित स्वर्गदूतहरूलाई स्वर्गबाट तुरुन्तै निकालिएन। बरु, केही सीमा तोकेर हजारौं वर्षसम्म स्वर्गमा रहन दिइयो। a तथापि, परमेश्‍वरले यी दुष्कर्मीहरूलाई सहने सीमाको हद नाघेपछि तिनीहरू आखिरमा अनन्त विनाशको लागि स्वर्गबाट “फ्याँकिए”। त्यसपछि स्वर्गमा एउटा यस्तो आवाज सुनियो: “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ।” (प्रकाश १२:७-१२) स्पष्टतः समस्या खडा गर्ने दुष्टहरूलाई स्वर्गबाट बल्ल हटाइयो भनी वफादार स्वर्गदूतहरूले ठूलो रमाहट गरे!

साधारणतया छलफल नगरिने यी बुँदाहरूलाई विचार गर्दा कुन कुरा स्पष्ट हुन्छ भने, बौद्धिक क्षमता भएका प्राणीहरूले परमेश्‍वरको नियम र सिद्धान्तलाई बेवास्ता गरेको खण्डमा साँचो शान्ति पाउन सक्दैन। (यशैया ५७:२०, २१; यर्मिया १४:१९, २०) अर्कोतर्फ, सबैले परमेश्‍वरको व्यवस्था पालन गर्दा शान्ति र सौहार्द हुन्छ। (भजन ११९:१६५; यशैया ४८:१७, १८) अतः सबै मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गरेर एकअर्कालाई प्रेम गरेमा, के पृथ्वी साँच्चै आनन्दमय बासस्थान हुनेछैन र? बाइबलले अवश्‍य हुनेछ भन्छ!

तर आफ्नै स्वार्थको लागि दुष्ट मार्ग त्याग्न नचाहनेहरू नि? के तिनीहरूले परमेश्‍वरको इच्छा गर्न चाहनेहरूको शान्ति सदा खल्बलाइ रहनेछन्‌? अहँ, छैनन्‌ किनभने परमेश्‍वरले स्वर्गका दुष्ट स्वर्गदूतहरू विरुद्ध गर्नुभएझैं पृथ्वीका दुष्ट मानिसहरू विरुद्ध पनि कदम चाल्नुहुनेछ।

सफा पारिएको पृथ्वी

परमेश्‍वरले यसो भन्‍नुभयो, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी चाहिं मेरो पाउदान हो।” (यशैया ६६:१) पवित्रताको सर्वोत्कृष्ट रूप, परमेश्‍वरले आफ्नो “पाउदान” दुष्टहरूद्वारा सदाको लागि बिटुलो पार्न दिनुहुनेछैन। (यशैया ६:१-३; प्रकाश ४:८) उहाँले स्वर्गबाट दुष्ट आत्मिक प्राणीहरू हटाउनुभएझैं पृथ्वीबाट पनि दुष्ट मानिसहरू हटाउनुहुनेछ भनी बाइबलका निम्न पद्यांशहरूले देखाउँछ:

“कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।”—भजन ३७:९.

“सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

“तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुनै परमेश्‍वरको न्यायसंगत काम हो, र तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा, यिनीहरूले प्रभुको मुखबाट र उहाँको शक्‍तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्‌।”—२ थिस्सलोनिकी १:६-९.

“[दुष्ट मानवजातिको] संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

के पृथ्वी शान्तिमय रहिरहनेछ?

परमेश्‍वरले दुष्टतालाई सधैंभरि सहनुहुन्‍न भनेर धर्मशास्त्रले स्पष्टसित बताए तापनि दुष्टतालाई एक चोटि निर्मूल पारिसकेपछि त्यो फेरि देखा पर्नेछैन भनेर हामी कसरी पक्का हुनसक्छौं? किनभने नूहको समयमा जलप्रलयपछि दुष्टता फेरि देखा पऱ्‍यो र त्यो अचाक्ली बढेको हुँदा परमेश्‍वरले भाषा गोलमाल गर्नुभएर तिनीहरूको दुष्ट षड्यन्त्रलाई बेकाम तुल्याउनुभयो।—उत्पत्ति ११:१-८.

पृथ्वीमा दुष्टहरू फेरि देखा पर्नेछैनन्‌ भनी हामी निर्धक्क हुनसक्ने प्रमुख कारण के हो भने, जलप्रलयपछि जस्तो पृथ्वीमाथि मानिसहरूले फेरि शासन गर्न पाउनेछैनन्‌। तर, परमेश्‍वरको राज्यले शासन गर्नेछ। स्वर्गबाट शासन गर्ने यो राज्य पृथ्वीको एक मात्र सरकार हुनेछ। (दानियल २:४४; ७:१३, १४) दुष्टता ल्याउन चाहने जोसुकै विरुद्ध त्यसले तुरुन्त कदम चालिहाल्नेछ। (यशैया ६५:२०) भनौं भने, यसले दुष्टताको सुरुआतकर्ता, शैतान अर्थात्‌ दियाबल र त्यसको पछि लाग्ने दुष्ट स्वर्गदूतहरूलाई नाश गर्नेछ।—रोमी १६:२०.

साथै, भोजन, लुगाफाटा, आवास र जागिरको अभाव जस्ता कुराहरूको चिन्ताले कसैलाई पनि अपराधजगत्‌मा धकेल्नेछैन। हो, सारा पृथ्वी उत्पादनशील प्रमोदवनमा परिणत हुनेछ र सबैको लागि सब थोक प्रचुर मात्रामा उपलब्ध हुनेछ।—यशैया ६५:२१-२३; लूका २३:४३.

सबैभन्दा महत्त्वपूर्ण कुरा, यो राज्यले आफ्ना प्रजाहरूलाई शान्तिपूर्ण जीवन बिताउन सिकाउनेछ र यसको साथसाथै तिनीहरूलाई मानव सिद्धतामा पुऱ्‍याउनेछ। (यूहन्‍ना १७:३; रोमी ८:२१) त्यसपछि, मानवजातिले कमजोरी र असिद्ध झुकाउको सामना गर्नुपर्नेछैन अनि सिद्ध मानिस येशूले देखाउनुभएझैं परमेश्‍वरप्रति पूर्ण आज्ञाकारिता सम्भव हुनुका साथै रमाइलो पनि हुनेछ। (यशैया ११:३) भनौं भने, भीषण प्रलोभन र सतावटको बेला पनि येशू परमेश्‍वरप्रति वफादार रहनुभयो र प्रमोदवनमा त्यस्ता प्रलोभनहरूको नामोनिसान रहनेछैन।—हिब्रू ७:२६.

कोही कोही किन स्वर्ग जान्छन्‌

तथापि, बाइबलका थुप्रै पाठकहरूलाई येशूका यी शब्दहरू राम्ररी थाह छ: “मेरो पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌। . . . म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु।” (यूहन्‍ना १४:२, ३) के यसले पार्थिव प्रमोदवनमा अनन्त जीवनको कुरालाई विरोध गर्दैन र?

यी शिक्षाहरू विरोधाभासपूर्ण छैनन्‌। भनौं भने, एउटाले अर्कोको समर्थन गर्छ। सर्वप्रथम, बाइबलले विश्‍वासी मसीहीहरूको सीमित संख्या अर्थात्‌ १,४४,००० मात्र स्वर्ग जान्छन्‌ र तिनीहरू स्वर्गमा बस्न आत्मिक प्राणीको रूपमा बिउँताइन्छन्‌ भनी बताउँछ। तिनीहरूलाई यस्तो अद्‌भुत इनाम किन दिइन्छ? किनभने यहून्‍नाले दर्शनमा देखेको समूह यही हो, जो “ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” (प्रकाश १४:१, ३; २०:४-६) पृथ्वीमा भएका अरबौंको तुलनामा १,४४,००० साँच्चै एउटा “सानो बगाल” हो। (लूका १२:३२) यसबाहेक, तिनीहरूले मानवजातिले भोग्ने सामान्य समस्याहरू अनुभव गरिसकेको हुँदा येशूजस्तै “हाम्रा निर्बलतामा दुःखी हुन” सक्छन्‌ अनि तिनीहरूले मानवजाति र पृथ्वीको पुनर्स्थापन कार्यमा डोऱ्‍याउनेछन्‌।—हिब्रू ४:१५.

पृथ्वी–-मानिसजातिको अनन्त घर

मानिसजातिलाई येशू ख्रीष्टको छुडौतीको बलिदान प्रदान गर्नुभएर परमेश्‍वरले झन्डै २,००० वर्षअघि १,४४,००० जनालाई जम्मा गर्न थाल्नुभयो र अहिले यो संख्या पूरा भएको संकेत पाइन्छ। (प्रेरित २:१-४; गलाती ४:४-७) तथापि, येशूको बलिदान १,४४,००० को लागि मात्र नभई “सबै संसारका निम्ति” हो। (१ यूहन्‍ना २:२) यसर्थ, येशूमाथि विश्‍वास राख्ने सबैले अनन्त जीवनको आशा राख्न सक्छन्‌। (यूहन्‍ना ३:१६) चिहानको मस्त निद्रामा परे तापनि परमेश्‍वरको स्मरणमा भएकाहरूको स्वर्गमा होइन तर सफा पारिएको यही संसारमा पुनरुत्थान हुनेछन्‌। (उपदेशक ९:५; यूहन्‍ना ११:११-१३, २५; प्रेरित २४:१५) तिनीहरू कस्तो अवस्थाको प्रतीक्षा गर्छन्‌?

प्रकाश २१:१-४ यस्तो जवाफ दिन्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” कल्पना गर्नुहोस्‌—मानिसहरू मृत्युको बन्धनबाट मुक्‍त हुनेछन्‌ र त्यसले गर्दा हुने पीडा अनि रुवाइ सदाको लागि नामेट हुनेछ! बल्ल, यहोवाले पृथ्वी र मानवजातिको लागि सुरुमा राख्नुभएको उद्देश्‍यको गौरवमय पूर्ति हुनेछ।—उत्पत्ति १:२७, २८.

हाम्रो छनौट–-जीवन वा मृत्यु

आदम र हव्वालाई स्वर्गमा जाने विकल्प कहिल्यै दिइएको थिएन। तिनीहरू परमेश्‍वरप्रति आज्ञाकारी भएर पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न सक्थे वा उहाँको अनाज्ञाकारी भएर मर्नसक्थे। दुःखको कुरा, तिनीहरू अनाज्ञाकारी हुन रोजे र “माटैमा” फर्के। (उत्पत्ति २:१६, १७; ३:२-५, १९) परमेश्‍वरले मानिसहरू मरुन्‌ अनि चिहानबाट बिउँतेर स्वर्गलाई आबाद गरुन्‌ भन्‍ने उद्देश्‍य कहिल्यै राख्नुभएको थिएन। परमेश्‍वरले स्वर्गमा बस्न करोडौं स्वर्गदूतहरू सृजनुभयो; यी आत्मिक प्राणीहरू, स्वर्गमा बस्नको लागि मरेपछि पुनरुत्थान भएका मानिसहरू होइनन्‌।—भजन १०४:१, ४; दानियल ७:१०.

पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशिष्‌ पाउन हामीले के गर्नुपर्छ? पहिलो कदम हो, परमेश्‍वरको वचन, पवित्र बाइबल अध्ययन गर्नुपर्छ। येशूले यसरी प्रार्थना गर्नुभयो, “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [ज्ञान लिऊन्‌, NW ]।”—यूहन्‍ना १७:३.

त्यो ज्ञानलाई व्यवहारमा उतार्नु, प्रमोदवनमा अनन्त आनन्द उठाउने अर्को कदम हो। (याकूब १:२२-२४) परमेश्‍वरको वचनअनुसार जीवन बिताउनेहरूले यशैया ११:९ मा लिपिबद्ध यो भविष्यवाणी पूरा भएको आफ्नै आँखाले देख्न पाउनेछन्‌: “तिनीहरू [मानिसजातिले] मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”

[फुटनोट]

a परमेश्‍वरले स्वर्ग र पृथ्वीमा किन दुष्टता रहिरहन दिनुभएको छ, त्यसबारे छलफलको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ७०-९ हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएका चित्रहरू]

“धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” —भजन ३७:२९