सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा अनमोल सम्पदाको आशिष्‌

एउटा अनमोल सम्पदाको आशिष्‌

जीवनी

एउटा अनमोल सम्पदाको आशिष्‌

क्यारोल एलनको वृत्तान्तमा आधारित

म एउटा नयाँ किताब च्यापेर एक्लै उभिरहें। मलाई असाध्यै डर लाग्यो र बरबरी आँसु झर्न थाल्यो। यसो नहोस्‌ पनि किन, म सात वर्षकी केटी हजारौं मानिसहरूको हूलमा अनि त्यसमाथि पराई शहरमा हराएकी थिएँ!

हालै मेरो श्रीमान्‌ पलसित न्यु योर्क, प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरको भ्रमणमा जाँदा झन्डै ६० वर्षअघिको घटना झलझल्ती सम्झें। उहाँलाई यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकहरूको लागि आयोजना गरिएको दोस्रो कक्षामा सामेल हुन बोलाइएको थियो।

उज्यालो प्रतिक्षालयमा आँखा घुमाउँदा मैले तस्बिरहरूको मुन्तिर ठूलठूलो अक्षरमा “अधिवेशन” लेखिएको देखें। त्यसको बीचतिर, किताब हल्लाइरहेका केटाकेटीहरूको जमात भएको श्‍याम-श्‍वेत तस्बिर थियो! मैले हत्त न पत्त त्यसको मुनि के लेखिएको रहेछ भनेर पढें: “१९४१ सेन्ट लुइस, मिसौरीमा बिहानको कार्यक्रम सुरु हुँदा ५ देखि १८ वर्षबीचका १५,००० केटाकेटीहरू, मञ्चको ठ्याक्क अगाडि जम्मा गरियो। . . . भाइ रदरफोर्डले चिल्ड्रेन नाउँको नयाँ पुस्तक विमोचन भएको घोषणा गर्नुभयो।”

ती सबै केटाकेटीलाई एक-एकवटा किताब दिइएको थियो। त्यसपछि केटाकेटीहरू आमाबाबुसँगै बस्न आ-आफ्ना ठाउँमा फर्के तर मचाहिं हूलमा हराएँ! एक जना मित्रैलो परिचारक भाइले मलाई बोकेर अग्लो अनुदान बाकसमाथि उभ्याउनुभयो र मैले चिनेको कोही देखिन्छ कि, हेर्न लगाउनुभयो। कोही देखिहाल्छु कि भनेर मैले खुड्‌किलातिर ओइरिरहेका मानिसहरूको भीडमा खोज्न थालें। त्यो हूलमा मैले चिनेको एक जना मान्छे देखें। “बब अंकल! बब अंकल!” मैले चिनेको कोही भेट्टाएँ! बब रेनरले मलाई बोकेर मेरो आमाबाबुकहाँ पुऱ्‍याइदिनुभयो।

मेरो जीवनलाई मोडेका सुरु सुरुका घटनाहरू

ती तस्बिरहरू देखेपछि मेरो दिमागमा पुराना यादगारहरू झलझली आउन थाले। ती घटनाहरूले मेरो जीवनमा निकै प्रभाव पारेको थियो र ती घटनाक्रमले नै यहाँ सुन्दर प्याटर्सनसम्म आइपुग्यौं। मैले झन्डै एक सय वर्षअघिका घटनाहरू सम्झन थालें अनि यी कुराहरू मैले मेरो बाजेबज्यै र आमाबाबुबाट सुनेको थिएँ।

डिसेम्बर १८९४ मा सं.रा.अ. पेन्सलभेनिया, स्क्रान्टनमा मेरो बाजे, क्लेटन जे. वुडवर्थको घरमा, बाइबल स्टुडेन्ट्‌सको पूर्ण समय प्रचारक आउनुभएको थियो। पहिले पहिले यहोवाका साक्षीहरू त्यही नाउँले चिनिन्थे। त्यतिबेला मेरो हजुरबुबाको भर्खरै मात्र बिहे भएको थियो। उहाँले वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको अध्यक्ष, चार्ल्स टेज रसललाई एउटा पत्र पठाउनुभयो र त्यो जून १५, १८९५ को प्रहरीधरहरा-मा छापिएको थियो। उहाँले यस्तो लेख्नुभएको थियो:

“हामी जवान दम्पती हौं र प्रोटेस्टेन्ट चर्चको सदस्य भएको दस वर्ष भइसक्यो; तर अब भने सर्वोच्च परमेश्‍वरका पवित्र केटाकेटीहरूको हैसियतमा नयाँ बिहानीको ज्योतिमा प्रवेश गरेका छौं जस्तो लाग्छ। . . . हाम्रो भेटघाट हुनुअघि नै हामी दुवैको उत्कट इच्छा, सम्भव भए विदेशी भूमिमा प्रभुको सेवा गर्ने थियो।”

पछि १९०३ मा आमापट्टिका जिज्यू-बाजेबज्यै, सेबास्टियन र क्याथरीन क्रेज्गेले वाच टावरका दुई जना प्रतिनिधिहरूले सुनाएको बाइबल सन्देश खुसीसाथ स्वीकार्नुभयो। त्यतिबेला उहाँहरू पेन्सलभेनियाको सुन्दर पोकोनो पर्वत इलाकामा ठूलो खेतबारी भएको घरमा बस्नुहुन्थ्यो। उहाँहरूका छोरीहरू, कोरा र मेरी अनि श्रीमानहरू वशिङटन र एड्‌मन्ड हावल पनि त्यहीं बस्नुहुन्थ्यो। वाच टावरका प्रतिनिधिहरू, कार्ल हामर्ले र रे राक्लिफ, उहाँहरूसितै हप्ता दिन बसेर धेरै कुरा सिकाउनुभयो। यसरी हाम्रो परिवारका छ जनाले नै सुन्‍नुभयो, अध्ययन गर्नुभयो अनि जोसिला बाइबल स्टुडेन्ट हुनुभयो।

त्यही वर्ष, १९०३ मा कोरा र वशिङटन हावलको छोरी क्याथरीन जन्मिन्‌। उहाँले मेरो बुबा, क्लेटन जे. वुडवर्थ जुनियरसित विवाह गर्नुभएको कथा रोचक हुनुका साथै अर्थपूर्ण छ। यसले मेरो हजुरबुबा क्लेटन जे. वुडवर्थ सिनियरले बुबाको हैसियतमा देखाउनुभएको मायालु अन्तर्दृष्टि र चासो झल्काउँछ।

मेरो बुबाले मायालु मदत पाउनुहुन्छ

मेरो बुबा क्लेटन, हावलको घरबाट लगभग ८० किलोमिटर टाढा स्क्रान्टनमा १९०६ मा जन्मनुभयो। ती दिनहरूमा हजुरबुबा वुडवर्थको हावल परिवारसित राम्रो चिनजान थियो र त्यो घरमा पाहुना भएर निकै आनन्द उठाउनुभयो। उहाँ त्यहाँका बाइबल स्टुडेन्ट्‌सको मण्डलीको लागि ठूलो मदत हुनुहुन्थ्यो। समयमा तीनै जना हावल पुत्रहरूको विवाह गराउन हजुरबुबालाई बोलाइयो र उहाँले आफ्नो छोराको हित पनि मनमा राख्दै मेरो बुबालाई सँगै लैजानुभयो।

त्यतिबेला बुबा, बाइबल स्टुडेन्ट्‌सको सेवकाईमा सक्रिय भाग लिनुहुन्‍नथियो। उहाँले हजुरबुबा सेवकाईमा जानुहुँदा गाडीमा पुऱ्‍याइदिनुहुन्थ्यो तर हजुरबुबाको प्रोत्साहनको बावजूद उहाँले सेवकाईमा सक्रिय भागचाहिं लिनुभएन। त्यतिबेला मेरो बुबाको प्रमुख चासो, संगीत क्षेत्रमा थियो र उहाँ त्यसैलाई आफ्नो पेसा बनाउने सुरमा हुनुहुन्थ्यो।

कोरा र वशिङटन हावलकी छोरी क्याथरीन पनि निपुण संगीतकार भइसकेकी थिइन्‌ र उनी पियानो बजाउने तथा सिकाउने गर्थिन्‌। उहाँले संगीतलाई आफ्नो पेसा बनाउने मौका पाउनुभएको बेलामै यसलाई पन्छाएर पूर्ण समय सेवकाईमा भाग लिन थाल्नुभयो। हजुरबुबाको विचारमा मेरो बुबाको लागि मेरी आमा सबैभन्दा अत्युत्तम जीवन साथी हुनेछ भन्‍ने लागेको हुनुपर्छ! बुबाले बप्तिस्मा लिनुभयो अनि छ महिनापछि, जून १९३१ मा आमासित विवाह गर्नुभयो।

हजुरबुबाले सधैं आफ्नो छोराको संगीत क्षमताको गर्व गर्नुहुन्थ्यो। क्लिभल्याण्ड, ओहायोमा आयोजना हुन लागेको अन्तरराष्ट्रिय अधिवेशनको संगीत टोलीलाई सिकाउन बुबालाई बोलाइँदा हजुरबुबा असाध्यै खुसी हुनुभयो। त्यसपछि बुबाले यहोवाका साक्षीहरूको थुप्रै अधिवेशनको संगीत टोलीको नेतृत्व गर्नुभयो।

हजुरबुबाको परीक्षा र जेल जीवन

प्याटर्सनको प्रतिक्षालयमा पल र मैले, यसपछिको पृष्ठमा देखाइएका तस्बिरहरू पनि देख्यौं। मैले त्यो तस्बिर चिनिहालें किनभने ५० वर्षअघि हजुरबुबाले मलाई त्यो तस्बिर पठाउनुभएको थियो। सबैभन्दा दाहिनेपट्टि उभिरहनुभएको व्यक्‍ति मेरो हजुरबुबा हो।

प्रथम विश्‍वयुद्धमा देशभक्‍ति लहर चलेको बेला, वाच टावर सोसाइटीको अध्यक्ष, जोसेफ एफ. रदरफोर्डलगायत (बीचमा बसेको) यी आठ जना बाइबल स्टुडेन्ट्‌सलाई गलत अभियोगमा पक्रेर जमानतमा जेलमुक्‍त हुन नमिल्ने गरी थुनियो। उहाँहरूलाई स्टडीज इन द स्क्रिप्चर्स-को सातौं खण्ड, द फिनिश्‍ड मिस्ट्री-मा प्रकाशित कुराहरू विरुद्ध अभियोग लगाइएको थियो। त्यसले प्रथम विश्‍वयुद्धमा भाग लिनदेखि संयुक्‍त राज्य अमेरिकालाई निरुत्साहित गर्छ भन्‍ने गलत आरोप लगाइएको थियो।

निकै वर्ष लगाएर चार्ल्स टेज रसलले स्टडीज इन द स्क्रिप्चर्स-को सुरुका छवटा खण्डहरू लेख्नुभएको थियो तर सातौं खण्ड लेख्न नपाउँदै उहाँको मृत्यु भयो। त्यसकारण, उहाँका टिपोटहरू हजुरबुबा र अर्को एक जना बाइबल विद्यार्थीलाई दिइयो र उहाँहरू दुई जना मिलेर यो सातौं खण्ड लेख्नुभयो। यो, युद्ध सिद्धिनुअघि १९१७ मा विमोचन भयो। मुद्दाको पुर्पक्ष हुँदा हजुरबुबा र अरू थुप्रैलाई २०/२० वर्षको चारवटा जेल सजाय सुनाइयो।

प्याटर्सनको प्रतिक्षालयमा राखिएको त्यो तस्बिरको मुनि यस्तो लेखिएको छ: “रदरफोर्ड र तिनका सहयोगीहरूलाई जेल सजाय सुनाएको नौ महिनापछि १९१९, मार्च २१ का दिन युद्ध अन्त भइसकेपछि पुनरावेदन अदालतले मार्च २६ का दिन ब्रुक्लिनमा प्रति व्यक्‍ति १०,००० डलरको जमानीमा आठै जनालाई जेलमुक्‍त गऱ्‍यो। सन्‌ १९२०, मे ५ का दिन जे. एफ. रदरफोर्ड र बाँकी सबैलाई दोषमुक्‍त ठहराइयो।”

जेल सजाय सुनाइसकेपछि तर एटलान्टा, जर्जियाको संघीय अदालत पठाइनुअघि यी आठ जना सुरुको केही दिन ब्रुक्लिन, न्यु योर्कको रेमण्ड स्ट्रीटस्थित जेलमा बस्नुपऱ्‍यो। त्यहाँ छँदा हजुरबुबाले “वर्णन गरेर साध्यै नभएको फोहर र भद्रगोलमा” लम्बाइ छ फुट र चौडाइ आठ फुटको कालकोठरीमा बसेको कुरा लेख्नुभएको थियो। उहाँले लेख्नुभएको थियो: “सफा सुग्घर बस्नको निम्ति केही छ भने त्यो हो अखबारहरूको थाक। यसलाई घीन नमानी टोइलेट पेपरको रुपमा प्रयोग गर्नुपर्छ अनि यहींकै साबुन अनि झुत्रो कपडा चलाउनुपर्छ।”

यस्तो अवस्थामा पनि हजुरबुबाले आफ्नो हँसी मिजास कायमै राख्नुभयो अनि त्यो जेललाई “होटेल डे रेमन्डी” भन्‍नुका साथै “यहाँको बसाइ सिद्धिने बित्तिकै आउनेछु” भन्‍नुहुन्थ्यो। उहाँले त्यहाँका चोकहरूमा गरेको टहलबारे पनि लेख्नुभएको थियो। एक चोटि उहाँ कपाल कोर्न लाग्नुहुँदा चोरले खल्ती घडी थुत्न खोजेको घटनाबारे लेख्नुभयो, “चोरले घडी तान्दा सिक्री चुँडियो र त्यसले चोर्न पाएन।” सन्‌ १९५८ मा ब्रुक्लिन बेथल गएको बेला, वाच टावर सोसाइटीको तात्कालीन सचिव-कोषाध्यक्ष, ग्रान्ट सुटरले मलाई उहाँको अफिसमा बोलाएर हजुरबुबाको त्यो घडी दिनुभएको थियो। मैले अहिलेसम्म त्यो घडी जतन गरेर राखेकी छु।

बुबालाई परेको प्रभाव

गलत आरोपमा हजुरबुबालाई १९१८ मा थुनामा हाल्दा बुबा १२ वर्षको मात्र हुनुहुन्थ्यो। हजुरआमाले घरमा ताला लगाएर बुबालाई लिएर जिजुमुमा र उहाँकी तीन जना बहिनीहरूको घरमा बस्न जानुभयो। हजुरआमाको विवाह हुनुअघिको थर, आर्थर थियो र संयुक्‍त राज्य अमेरिकाको २१ औं राष्ट्रपति उहाँहरूकै नातेदार पर्छ भनेर घमण्ड गर्नुहुन्थ्यो।

हजुरबुबा वुडवर्थलाई संयुक्‍त राज्य अमेरिका विरुद्ध अपराध गरेको आरोपमा लामो जेल सजाय सुनाएपछि, आर्थर परिवारले आफ्नो बदनाम भएको ठान्यो। यो मेरो बुबाको लागि भावनात्मक तवरमा एकदमै पीडादायी क्षण थियो। हुनसक्छ, यसले गर्दा पनि बुबा जन सेवकाईमा भाग लिन हच्किनुभएको।

हजुरबुबा जेलमुक्‍त हुनुभएपछि सपरिवार स्क्रान्टनको क्वीन्सी स्ट्रीटको ठूलो घरमा बसाइँ सर्नुभयो। सानैदेखि मलाई बाजेबज्यैको घर र हजुरआमाको राम्रा राम्रा काँचका भाँडाहरूबारे थाह थियो। हामी ती भाँडाहरूलाई उहाँका पवित्र भाँडाहरू भन्थ्यौं किनभने हजुरआमाले त्यो कसैलाई माझ्न दिनु हुन्‍नथ्यो। सन्‌ १९४३ मा हजुरआमाको मृत्युपछि आमाले ती राम्रा भाँडाहरू निकै जतन गरेर चलाउनुभयो।

परमेश्‍वरको राज्यसम्बन्धी सेवामा व्यस्त

प्याटर्सनमा छँदै एक दिन मैले १९१९ मा सिडार प्वाइन्ट, ओहायोको अधिवेशनमा भाइ रदरफोर्डले भाषण दिइरहनुभएको तस्बिर देखें। त्यो भाषणमा उहाँले भर्खरै अधिवेशनमा विमोचन भएको नयाँ पत्रिका द गोल्डन ऐज प्रयोग गरेर परमेश्‍वरको राज्यबारे जोसका साथ भाग लिन आग्रह गर्नुभएको थियो। हजुरबुबालाई यो पत्रिकाको सम्पादक नियुक्‍त गरियो र उहाँले आफ्नो मृत्यु हुनुभन्दा अघिसम्म अर्थात्‌ १९४० दशकको अन्तसम्मै लेखहरू तयार पार्नुभयो। यो पत्रिकाको नाउँ १९३७ मा कन्सोलेशन र पछि १९४६ मा ब्यूँझनुहोस्‌! राखियो।

हजुरबुबाले स्क्रान्टनको घर र २४० किलोमिटर टाढा ब्रुक्लिनमा वाच टावरको मुख्यालयमा बसेर धेरै लेखहरू लेख्नुभयो, उहाँ दुवै ठाउँमा पालै पालो दुई दुई हप्ता बस्ने गर्नुहुन्थ्यो। बिहान सबेरै पाँच बजे नै हजुरबुबाको टाइपराइटरको आवाज सुनिन थाल्थ्यो भनी बुबा भन्‍नुहुन्छ। यद्यपि, जन सेवकाईमा भाग लिनुपर्ने जिम्मेवारीलाई पनि हजुरबुबाले गम्भीरतापूर्वक लिनुहुन्थ्यो। भनौं भने, थुप्रै बाइबल साहित्य हाल्नको लागि उहाँले ठूलठूला भित्री पाकेटहरू भएको इस्टकोट डिजाइन गर्नुभएको थियो। मेरो ९४ वर्षीया माइजु, नओमी हावलसित त्यस्तो इस्टकोट अझै पनि छ। हजुरबुबाले आइमाईहरूको लागि किताब राख्ने झोलाको पनि डिजाइन गर्नुभयो।

एक चोटिको कुरा हो, एकदमै रमाइलो बाइबल छलफलपछि हजुरबुबासित सँगै सेवकाईमा जानुभएको साथीले यसो भने: “सि. जे., तिमीले एउटा गल्ती गऱ्‍यौ।”

“कस्तो गल्ती?” हजुरबुबाले सोध्नुभयो। अनि आफ्नो इस्टकोटको खल्ती छाम्नुभयो। दुवै रित्तै थिए।

“तिमीले उसलाई द गोल्डन ऐज-को ग्राहक बनाउन बिर्स्यौ नि।” सम्पादकले नै पत्रिका ल्याउन बिर्सेकोमा दुवै जना मरी मरी हाँस्नुभयो।

हुर्कंदाका सम्झनाहरू

सानी छँदा हजुरबुबाको काखमा बसेर उहाँको हत्केलामा मेरो हत्केला राख्दै उहाँले सुनाउनुहुने “औंला कथा” मैले अझै बिर्सेकी छैनँ। उहाँले “बूढी औंला[बाट]” सुरु गरेर “चोर औंला” गर्दै सबै औंलाको विशेषता भन्‍नुहुन्थ्यो। त्यसपछि उहाँले सबै औंलाहरू पोका पारेर मुठी बनाउँदै यो पाठ सिकाउनुहुन्थ्यो: “सबै मिले बन्छ काम, सबैले दिन्छ एकअर्कालाई साथ।”

मेरा आमाबाबुको विवाहपछि उहाँहरू क्लिभल्याण्ड, ओहायोमा बसाइँ सर्नुभयो अनि एड र मेरी हुपरका घनिष्ठ मित्रहरू हुनुभयो। उहाँहरूको परिवार, गत शताब्दीको सुरुदेखि नै बाइबल स्टुडेन्ट्‌स हुनुभएको थियो। मेरा आमाबाबु अनि एड अंकल र मेरी आन्टी, नङमासुजस्तै घनिष्ठ हुनुभयो। हुपर परिवारको एक्ली छोरी, सानैमा मरेकी हुँदा १९३४ मा मेरो जन्म हुँदा म उहाँहरूको विशेष “छोरी” भएँ। यस्तो राम्रो आध्यात्मिक वातावरणमा हुर्किएकी हुँदा आठ वर्ष नपुग्दै मैले परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा लिएँ।

सानै छँदादेखि बाइबल पढाइ, मेरो जीवनको अभिन्‍न भाग बन्यो। यशैया ११:६-९ मा वर्णन गरिएको परमेश्‍वरको नयाँ संसारमा जीवन, मलाई मनपर्ने शास्त्रपदहरूमध्ये थियो। बफलो, न्यु योर्कमा १९४४ मा सम्पन्‍न अधिवेशनमा विशेष संस्करणको रूपमा विमोचन गरिएको अमेरिकन स्टाण्डर्ड भर्सन पाउँदा मैले त्यही वर्ष पूरै बाइबल पढ्‌ने प्रथम प्रयास गरें। यो बाइबल अनुवादको “पुरानो नियम[मा]” ७,००० पटकभन्दा बढी परमेश्‍वरको नाउँ, यहोवा प्रयोग गरिएको पढ्‌न पाउँदा म अत्यन्तै प्रफुल्लित भएँ!

सप्ताहन्तमा रमाइलो हुन्थ्यो। मेरा आमाबाबु र हुपर दम्पतीले मलाई ग्रामीण इलाकामा प्रचार गर्न लैजानुहुन्थ्यो। हामीले घरैमा खाजा बनाएर लैजान्थ्यौं अनि खोला छेउमा बसेर खान्थ्यौं। त्यसपछि हामी बाहिरै बसेर बाइबल भाषण सुनाउन कुनै एउटा घरमा जान्थ्यौं र त्यहाँ सबै छिमेकीहरूलाई बोलाउँथ्यौं। सरल जीवन थियो। हाम्रो सुखी परिवार थियो। हाम्रो परिवारको सुरु सुरुतिरका थुप्रै साथीहरू पछि परिभ्रमण निरीक्षकहरू भए। जस्तै: एड हुपर, बब रेनर र उहाँका छोराहरू। रिचर्ड रेनर र उहाँकी पत्नी लिन्डाले अझै यो परिभ्रमण कार्य गरिरहनुभएका छन्‌।

गर्मी महिनाहरू विशेष गरी रमाइलो हुन्थ्यो। म ठूलीआमाका छोरीहरूसित हावल परिवारसित बस्थें। सन्‌ १९४९ मा ठूलीआमाकी छोरी ग्रेसले माल्कोम एलेनसित विवाह गरिन्‌। पछि, मेरो विवाह पनि उसैको भाइसित हुनेरहेछ भनेर मलाई के थाह। मेरो मामाकी छोरी, मारियन उरुग्वेमा मिसनरी भइन्‌। उसले १९६६ मा हावर्ड हिल्बर्नसित विवाह गरिन्‌। यी दुवैले आफ्ना श्रीमान्‌सित निकै वर्ष ब्रुक्लिन मुख्यालयमा सेवा गरे।

हजुरबुबा र मेरो स्कूलको स्नातक समारोह

उच्च माध्यमिक विद्यालयमा पढ्‌दै गर्दा हजुरबुबा मेरो पत्र-मित्र हुनुहुन्थ्यो। उहाँले चिठीहरूमा हाम्रो परिवारका पुराना पुराना तस्बिर अनि त्यसको पछाडि परिवारको इतिहासबारे विस्तृत विवरण लेखेर पठाउनुहुन्थ्यो। गलत अभियोगमा झ्यालखाना पठाइनुभएका मेरो हजुरबुबा र अरूको तस्बिर मसित हुनुको कारण यही हो।

सन्‌ १९५१ को अन्ततिर क्यान्सरले गर्दा हजुरबुबाको स्वर बस्न थाल्यो। तैपनि, उहाँको टाठो स्वभाव भने यथावतै थियो तर आफूले भन्‍न चाहनुभएका कुराहरू लेख्नुपर्ने हुँदा एउटा सानो नोटपुस्तिका चाहिं साथैमा लिएर हिंड्‌नुपर्थ्यो। मेरो उच्च माध्यमिक विद्यालयको पढाइ १९५२ जनवरीमा सिद्धिनेवाला थियो। म सो अवसरमा विद्यार्थीहरूको तर्फबाट भाषण दिन छानिएकी हुँदा त्यो भाषणको खेस्रो डिसेम्बर महिनाको सुरुतिरै हजुरबुबालाई पठाएँ। उहाँले केही सम्पादकीय चिह्नहरू लगाउनुभएर अन्तिम पानामा लेख्नुभएका यी दुई शब्दहरू मेरो हृदयमा ठप्प बस्यो: “हजुरबुबा खुसी।” उहाँले ८१ वर्षको उमेरमा १९५१, डिसेम्बर १८ का दिन आफ्नो पार्थिव जीवन पूरा गर्नुभयो। a मेरो भाषणको खेस्रो धमिलो हुन थालिसक्यो तर त्यसको पछाडि हजुरबुबाले अन्तिम पानामा लेख्नुभएका ती शब्दहरू मैले अझै साँचेर राखेकी छु।

स्कूलको पढाइ सिद्धिनेबित्तिकै मैले अग्रगामीको सेवा थालें, यहोवाका साक्षीहरू पूर्ण-समय प्रचारकार्यलाई अग्रगामीको सेवा भन्‍ने गर्छन्‌। सन्‌ १९५८ मा न्यु योर्क शहरमा सम्पन्‍न विशाल अधिवेशनमा म उपस्थित भएकी थिएँ र त्यहाँ १२३ देशबाट भेला भएका २,५३,९२२ जनाको शिखर संख्याले यांकी स्टेडियम र पोलो ग्राउण्ड्‌स टन्‍नै भरिएको थियो। त्यहाँ मैले अफ्रिकाबाट आएको एक जना प्रतिनिधि भेटें र उहाँको बिल्लामा “वुडवर्थ मिल्स” लेखिएको थियो। लगभग ३० वर्षअघि हजुरबुबाकै नाउँ राखिएको रहेछ!

मेरो सम्पदाको लागि आनन्दित

म १४ वर्षकी हुँदा आमाले फेरि अग्रगामी गर्न थाल्नुभयो। उहाँको ४० वर्षपछि १९८८ मा मृत्यु हुँदा पनि अग्रगामी नै हुनुहुन्थ्यो! बुबाले सकेको बेला अग्रगामी गर्नुहुन्थ्यो। उहाँ आमाभन्दा नौ महिनाअघि बित्नुभयो। हामीले अध्ययन गरेका व्यक्‍तिहरू हाम्रा आजीवन प्रिय मित्रहरू भए। तिनीहरूमध्ये कसै कसैका छोराहरूले ब्रुक्लिन मुख्यालयमा सेवा गरे भने अरू कतिपयले अग्रगामीको काम गरे।

मेरो लागि १९५९ एउटा विशेष वर्ष थियो। त्यही वर्ष पल एलेनसित मेरो चिनजान भयो। तिनी यहोवाका साक्षीहरूको मिसनरीहरूलाई तालिम दिने गिलियड स्कूलको सातौं कक्षाबाट १९४६ मा स्नातक भएपछि परिभ्रमण निरीक्षक नियुक्‍त भएका रहेछन्‌। यतिबेला हाम्रो भेटघाट हुँदा हामी दुवैलाई पलको अर्को असाइनमेन्ट मैले अग्रगामी गरिरहेको ठाउँ, क्लिभल्याण्ड, ओहायो हुनेछ भनेर थाहै थिएन। बुबालाई ऊ मन पर्थ्यो र आमालाई पनि। हामीले जुलाई १९६३ मा हावल घरमा विवाह गऱ्‍यौं र हाम्रो परिवारहरू त्यहाँ थिए भने विवाह भाषणचाहिं एड हुपरले दिनुभयो। यतिबेला मेरो सपना साकार भएको महसुस गरें।

पलको गाडी थिएन। हामी क्लिभल्याण्ड छोडेर अर्को असाइनमेन्टमा जाने तयारीमा मेरो १९६१ मोडेलको भोक्सवागेन बगमा सबै मालताल कोच्यौं। सोमबारको दिन प्रायजसो साथीहरू हामीलाई भेट्‌न आउँथे किनभने त्यो दिन हामी अर्को मण्डलीमा जान सामान गाडीमा लोड गर्थ्यौं। त्यो फुच्चे गाडीमा सुटकेस, ब्रिफकेस, फाइल, टाइपराइटर इत्यादि कोच्दा सर्कसमा चटक देखाएझैं हुन्थ्यो।

पल र मैले हजारौं किलोमिटर यात्रा गऱ्‍यौ, जीवनको उतारचढाउ देख्यौं तर सबै कुरा यहोवाले दिनुहुने शक्‍तिले गर्दा सहन सक्यौं। यहोवा, एकअर्काप्रतिको प्रेम अनि नयाँ पुराना साथीहरूको प्रेमले भरिएको हुँदा हामीले बिताएका वर्षहरू आनन्दमय भएका छन्‌। पलको तालिमको लागि प्याटर्सनमा बिताएको दुई हप्ता हाम्रो जीवनको सबैभन्दा अविस्मरणीय क्षण हो। यहोवाको पार्थिव संगठनलाई नजिकसित नियाल्न पाउँदा मैले मेरो अनमोल आध्यात्मिक सम्पदास्वरूप पाएकी यो कटिबद्धता अझ सुदृढ भयो: यो साँच्चै परमेश्‍वरको संगठन हो। यसको एउटा सानो भाग हुन पाएकोमा म निकै खुसी छु!

[पादटिपप्णी]

a प्रहरीधरहरा, फेब्रुअरी १५, १९५२, पृष्ठ १२८ हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९४१ मा सेन्ट लुइसमा सम्पन्‍न अधिवेशनअघि एड हुपरसित र यहीं मैले “चिल्ड्रेन ” पुस्तक पाएकी थिएँ

[पृष्ठ २६-मा भएको चित्र]

हजुरबुबा १९४८

[पृष्ठ २६-मा भएको चित्र]

मेरो आमाबाबुको (घेरा लगाएको) विवाह भएको हावेल घर

[पृष्ठ २७-मा भएको चित्र]

सन्‌ १९१८ मा (हजुरबुबा सबैभन्दा दाहिनेपट्टि उभिरहनुभएको ) गलत अभियोग लगाएर थुनिएका आठ जना बाइबल स्टुडेन्ट्‌स

[पृष्ठ २९-मा भएको चित्र]

हाम्रो सबै सरसामान भोक्सवागेनमा अटाउँथ्यो

[पृष्ठ २९-मा भएको चित्र]

मेरो श्रीमान्‌ पलसित