सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पढ्‌न र अध्ययन गर्न समय निकाल्ने

पढ्‌न र अध्ययन गर्न समय निकाल्ने

पढ्‌न र अध्ययन गर्न समय निकाल्ने

“समयको अवसर विचार गरेर सम्झ [ समय निकाल, Nw], किनभने समय खराब छ।”–एफिसी ५:१६.

१. हाम्रो समय राम्ररी छुट्याउनु किन बुद्धिमानी हो र हामी कसरी समय छुट्याउँछौं, त्यसले हामीबारे के देखाउँछ?

 भनिन्छ, “समय निकाल्नु भनेको समयको बचत गर्नु हो।” आफूले गर्नुपर्ने कामको लागि समय छुट्याउने व्यक्‍तिले आफ्नो समयको पूर्ण सदुपयोग गरिरहेको हुन्छ। बुद्धिमान्‌ राजा सुलेमानले यसप्रकार लेखे: “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” (उपदेशक ३:१) हामी सबैसित बराबर समय छ; तर कसरी प्रयोग गर्छौं, हाम्रै हातमा छ। हामी कुन कुरालाई प्राथमिकता दिन्छौं अनि कुन कुरामा कति समय छुट्याउँछौं, त्यसले हामीलाई सबैभन्दा मनपर्ने कुरा के हो भनेर देखाउँछ।—मत्ती ६:२१.

२. (क) डाँडाको उपदेशमा येशूले हाम्रो आध्यात्मिक आवश्‍यकताबारे के भन्‍नुभयो? (ख) हामीले कस्तो आत्म-परीक्षण गर्नुपर्छ?

हामी खाने र सुत्ने जस्ता कामहरूका लागि समय खर्च गर्न बाध्य छौं किनकि ती हाम्रा शारीरिक आवश्‍यकताहरू हुन्‌। हाम्रा आध्यात्मिक आवश्‍यकताहरू नि? यी आवश्‍यकताहरू पनि पूरा गर्नैपर्छ भनेर हामीलाई थाह छ। डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) त्यसैकारण, “विश्‍वासी र बुद्धिमान दास” हामीलाई बाइबल पढ्‌न र अध्ययन गर्नको लागि नियमित तवरमा समय छुट्याउन सम्झाइरहन्छ। (मत्ती २४:४५) यसको महत्त्व तपाईंले बुझ्नुभएको होला, तर बाइबल पढाइ र अध्ययनको लागि समय छैन जस्तो लाग्नसक्छ। त्यसो हो भने, परमेश्‍वरको वचन पढ्‌न, व्यक्‍तिगत अध्ययन अनि मनन गर्न अझ बढी समय निकाल्ने तरिका र माध्यमहरू केलाऔं।

बाइबल पढाइ तथा अध्ययनको लागि समय निकाल्ने

३, ४. (क) प्रेरित पावलले हाम्रो समयको प्रयोगबारे कस्तो सल्लाह दिए अनि यसमा के के समावेश छ? (ख) पावलले हामीलाई ‘समय निकाल’ भन्‍ने सल्लाह दिनुको अर्थ के हो?

अहिले हामी बाँचिरहेको समयलाई विचार गर्दा सबैले प्रेरित पावलका यी शब्दहरू पालन गर्नुपर्छ: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।” (एफिसी ५:१५-१७) निस्सन्देह, यो सल्लाहले हाम्रो समर्पित मसीही जीवनको हरेक पक्षलाई समेट्‌छ। जस्तै, प्रार्थना, अध्ययन, सभाको लागि समय निकाल्ने अनि “राज्यको सुसमाचार” प्रचार गर्ने कार्यमा आफूले सकेजति भाग लिने।—मत्ती २४:१४; २८:१९, २०.

अहिले यहोवाका थुप्रै सेवकलाई बाइबल पढ्‌न र त्यसको गहन अध्ययन गर्न समय निकाल्न गाह्रो भइरहेको देखिन्छ। हुन त हो, हामी दिन लम्ब्याउन सक्दैनौं, त्यसकारण पावलको सल्लाहको अर्थ अर्कै हुनुपर्छ। “समय निकाल” भन्‍ने अर्थ बुझाउने युनानी पद्यांशले कुनै कुरा त्यागेर त्यो रकम अर्को काममा खर्च गर्नु भन्‍ने संकेत गर्छ। डब्ल्यु. इ. भाइनको एक्स्पोजिटरी डिक्सनरी-अनुसार यसको अर्थ “हरेक अवसरको सदुपयोग गर्नु, हरेकबाट यथासम्भव फाइदा उठाउनु हो किनभने मौका गुम्यो भने फेरि फर्केर आउँदैन।” हामी बाइबल पढ्‌ने र अध्ययन गर्ने समय कसरी र कहाँबाट निकाल्न सक्छौं?

हामीले प्राथमिकता छुट्याउनैपर्छ

५. हामीले किन अनि कसरी ‘उत्तम कुराहरू खुट्याउनुपर्छ?’

हाम्रा भौतिक दायित्वहरूको अलावा आध्यात्मिक जिम्मेवारीहरू पनि थुप्रै छन्‌। यहोवाका समर्पित सेवकहरूको हैसियतमा हामीसित “प्रभुको काम . . . प्रशस्त” छ। (१ कोरिन्थी १५:५८) यसैकारण, पावलले फिलिप्पीका मसीहीहरूलाई “जे उत्तम छ सो तिमीहरू खुट्‌याउन सक” भन्‍ने निर्देशन दिए। (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) यसको मतलब हो, हामीले प्राथमिकता छुट्याउनुपर्छ। भौतिक कुराहरूभन्दा आध्यात्मिक कुराहरूलाई सधैं प्राथमिकता दिनुपर्छ। (मत्ती ६:३१-३३) यद्यपि, हाम्रो आध्यात्मिक दायित्व पूरा गर्न सन्तुलन पनि चाहिन्छ। हामीले मसीही जीवनका विभिन्‍न पक्षहरूको लागि कसरी समय छुट्याइरहेका छौं? परिभ्रमण निरीक्षकहरूको रिपोर्टअनुसार मसीहीहरूले व्यक्‍तिगत अध्ययन र बाइबल पढाइजस्ता “उत्तम” कुराहरूमा ध्यान दिनुपर्छ तर ती भने बेवास्ता भएको पाइयो।

६. जागिर वा घरधन्दाको सन्दर्भमा समय निकाल्नुको अर्थ के हुनसक्छ?

हामीले यहाँ थाह पाएअनुसार समय निकाल्न “हरेक मौकाको सदुपयोग गर्नुपर्छ” र “हरेक मौकाबाट पूरा फाइदा उठाउनुपर्छ।” अतः बाइबल पढाइ र अध्ययन गर्ने बानी राम्रो छैन भने हाम्रो समय कसरी खर्च भइरहेको छ भनेर व्यक्‍तिगत परिस्थिति केलाउनु बेस हुनेछ। जागिरमा बढ्‌तै समय बिताउनुपर्छ र हामी लखतरान हुन्छौं भने, यसबारे यहोवालाई प्रार्थना गर्नुपर्छ। (भजन ५५:२२) हुनसक्छ, त्यसो गर्दा हामीले काँटछाँट गरेर बाइबल पढाइ र अध्ययनजस्ता यहोवाको उपासनासित सम्बन्धित बढी महत्त्वपूर्ण कुराहरूमा समय खर्च गर्न सक्नेछौं कि। महिलाहरूको काम कहिल्यै सिद्धिंदैन भन्‍ने भनाइ सोह्रै आना सही हो। त्यसकारण, मसीही बहिनीहरूले पनि प्राथमिकता छुट्याउनुपर्छ अनि बाइबल पढाइ तथा गहन अध्ययनको लागि समय तोक्नुपर्छ।

७, ८. (क) पढ्‌न र अध्ययन गर्न कुन गतिविधिहरूबाट समय निकाल्न सकिन्छ? (ख) मनोरञ्जनको उद्देश्‍य के हो र यसलाई मनमा राखेमा त्यसले हामीलाई कसरी प्राथमिकताहरू छुट्याउन मदत गर्नसक्छ?

साधारणतया, हामी सबैले अनावश्‍यक क्रियाकलापहरूमा समय खर्च नगरेर अध्ययन गर्न समय निकाल्न सक्छौं। हामी आफैलाई सोध्न सक्छौं, ‘म पत्रपत्रिका, अखबार पढ्‌न, टेलिभिजन कार्यक्रमहरू हेर्न, संगीत सुन्‍न वा भिडियो गेम खेल्न कति समय बिताउँछु? के म बाइबल पढ्‌नभन्दा कम्प्युटरमा बढी समय बिताउँछु?’ पावल भन्छन्‌: “मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।” (एफिसी ५:१७) थुप्रै साक्षीले व्यक्‍तिगत अध्ययन र बाइबल पढाइको लागि पर्याप्त समय छुट्याउन नसक्नुको एउटा प्रमुख कारण, टेलिभिजनको अनुचित प्रयोग हो।—भजन १०१:३; ११९:३७, ४७, ४८.

कसै कसैले भन्लान्‌, म हरबखत पढिरहन सक्दिनँ, रमाइलो पनि गर्नुपर्छ नि। यो कुरा सही हो तर हामीले बाइबल पढ्‌न र अध्ययन गर्न बिताउने समयसित हामीले आराम गर्न बिताउने समय तुलना गर्नु बेस होला। यसबाट पत्ता लागेको कुराले तपाईंलाई छक्कै पार्नसक्छ। मनोरञ्जन र आराम हामीलाई चाहिन्छ तर त्यसको आफ्नै उचित ठाउँ छ। त्यसको उद्देश्‍य नयाँ जोसका साथ आध्यात्मिक क्रियाकलापहरूमा भाग लिन स्फूर्ति प्रदान गर्नु हो। प्रायजसो टेलिभिजन कार्यक्रम र भिडियो गेमले लखतरान बनाउँछ तर परमेश्‍वरको वचनको पढाइ र अध्ययनले स्फूर्ति अनि जोस प्रदान गर्छ।—भजन १९:७, ८.

कसै कसैले अध्ययन गर्न कसरी समय निकाल्छन्‌

९. दिनहुँ धर्मशास्त्र जाँच्ने१९९९ पुस्तिकामा दिइएको सल्लाह पालन गर्दा हुने लाभहरू के हुन्‌?

सन्‌ १९९९ को दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाको प्राक्कथनमा यसो भनिएको छ: “यस पुस्तिकाबाट दैनिक पद र टिप्पणी छलफल गर्न बिहानको समय सबैभन्दा लाभकारी हो। महान्‌ निर्देशक यहोवा स्वयम्‌ले नै निर्देशनहरू दिएर उठाउनुभएको जस्तो महसुस गर्नुहुनेछ। भविष्यसूचक ढंगमा येशू ख्रीष्ट हरेक बिहान यहोवा परमेश्‍वरबाट प्राप्त निर्देशनबाट लाभान्वित हुनुभएको बताइएको छ: ‘उहाँले [यहोवाले] मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्छ।’ त्यस्तो निर्देशनबाट येशूले ‘थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो’ भनी जान्‍न ‘सिक्नेहरूको बोली दिनुभएको छ।’ (यशै. ३०:२०; ५०:४; मत्ती ११:२८-३०) हरेक बिहान परमेश्‍वरको वचनको सामयिक सल्लाह छलफल गर्दा तपाईंले आफ्ना समस्याहरू सामना गर्न मदत मात्र पाउनुहुने होइन तर अरूलाई मदत गर्न “सिक्नेहरूका बोली” पनि प्राप्त गर्नुहुनेछ।” a

१०. कसै कसैले बाइबल पढाइ र अध्ययनको लागि कसरी समय निकाल्छन्‌ अनि कस्ता लाभ उठाएका छन्‌?

१० थुप्रै मसीहीले दैनिक पद र टिप्पणीको साथसाथै बिहान सबेरै बाइबल पढेर वा अध्ययन गरेर यो सल्लाह पालन गर्छन्‌। फ्रान्सकी वफादार अग्रगामी बहिनी बिहान सबेरै उठेर ३० मिनेट बाइबल पढ्‌ने गर्छिन्‌। वर्षौंसम्म यसो गर्न उनलाई कुन कुराले मदत गरेको छ? उनी भन्छिन्‌: “मैले निकै उत्प्रेरणा पाएकी छु र जे सुकै आइ परे तापनि तालिकाअनुसार पढ्‌न छुटाउँदिनँ!” दिनको जुनसुकै समयमा पढे तापनि, मुख्य कुरा तालिका नटुटाउनु हो। युरोप र उत्तर अमेरिकामा ४० वर्षभन्दा लामो समयसम्म अग्रगामीको काम गरिसकेकी रेने मीका यसो भन्छिन्‌: “सन्‌ १९५० देखि मैले हरेक वर्ष पूरै बाइबल पढ्‌ने लक्ष्य बनाएकी छु र मैले ४९ चोटि पढिसकें। सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध कायम गर्न मलाई यसरी बाइबल पढ्‌नु महत्त्वपूर्ण लाग्छ। परमेश्‍वरको वचनमा मनन गर्दा यहोवाको न्याय र उहाँका अरू गुणहरू राम्ररी बुझ्न सकेकी छु अनि यसले मलाई अत्यन्तै बल प्रदान गरेको छ।” b

“समय समयमा . . . भोजन”

११, १२. (क) “बुद्धिमान भण्डारे” मार्फत कस्तो आध्यात्मिक “भोजन” प्रबन्ध गरिएको छ? (ख) कसरी समय समयमा “भोजन” प्रबन्ध गरिएको छ?

११ भोजन गर्ने नियमित बानीले स्वास्थ्य राम्रो बनाएझैं बाइबल पढाइ र अध्ययन गर्ने नियमित तालिकाले आध्यात्मिक स्वास्थ्यलाई राम्रो बनाउँछ। लुकाले लेखेको सुसमाचारका पुस्तकमा हामी येशूका यी शब्दहरू पाउँछौं: “त्यो विश्‍वासी र बुद्धिमान भण्डारे को हो? जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय समयमा तिनीहरूका भोजन दिनालाई खटाएका छन्‌।” (लूका १२:४२) प्रहरीधरहरा तथा बाइबल आधारित पुस्तक तथा प्रकाशनहरूद्वारा “समय समयमा” आध्यात्मिक “भोजन” दिंदै आएको अहिले १२० वर्षभन्दा बढी भइसक्यो।

१२ “समय समयमा” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। ठ्याक्क चाहिएको बेलामै हाम्रो “महान्‌ शिक्षक” यहोवाले आफ्नो पुत्र र दासवर्गमार्फत सिद्धान्त र आचरणको मामिलामा आफ्ना जनहरूलाई डोऱ्‍याउनुभएको छ। मानौं हामीले सामूहिक तवरमा यो आवाज सुनेझैं छ: “तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२०, २१) यसबाहेक, व्यक्‍तिविशेषले ध्यान दिएर बाइबल र बाइबल आधारित प्रकाशनहरू पढ्‌दा तिनीहरूलाई त्यहाँ व्यक्‍त गरिएका भावना तथा सोचाइहरू आफूलाई नै भनेको जस्तो लाग्न थाल्छ। हो, हामी ईश्‍वरीय सल्लाह र निर्देशन ठीक समयमा पाउँछौं र त्यसले हामीलाई प्रलोभनको विरोध गर्न वा बुद्धिमान्‌ निर्णय गर्न मदत गर्छ।

भोजन गर्ने राम्रो बानी बसाल्नुहोस्‌

१३. आध्यात्मिक भोजन गर्ने अस्वस्थकर बानीहरू के हुन्‌?

१३ ठीक समयमा प्रदान गरिएको त्यस्तो “भोजन[बाट]” पूर्ण लाभ उठाउन हाम्रो भोजन गर्ने राम्रो बानी हुनुपर्छ। बाइबल पढाइ र व्यक्‍तिगत अध्ययन गर्ने नियमित तालिका हुनु र त्यसलाई नटुटाउनु जरुरी छ। के तपाईंको आध्यात्मिक भोजन गर्ने राम्रो बानी छ? के तपाईं नियमित तवरमा गहन अध्ययन गर्नुहुन्छ? अथवा हाम्रो लागि विचार पुऱ्‍याएर तयार पारिएको विषयवस्तु सरसरती हेर्ने मात्र गर्नुहुन्छ? भनौं भने, हतार हतार खाने वा कहिलेकाहीं भोजनै नगर्ने गर्नुहुन्छ कि? आध्यात्मिक भोजन गर्ने अस्वस्थकर बानीले गर्दा कोही कोही विश्‍वासमा कमजोर हुनुका साथै तर्किएर समेत गएका छन्‌।—१ तिमोथी १:१९; ४:१५, १६.

१४. पहिल्यै थाह भइसकेको जस्तो लाग्ने विषयमा पनि ध्यान दिनु किन लाभकारी हुन्छ?

१४ आधारभूत धर्म सिद्धान्तहरू थाह छँदैछ अनि प्रत्येक लेखले पूर्णतया नयाँ जानकारी प्रस्तुत गरेको हुँदैन नि भन्‍ने कसै कसैलाई लागेको हुनसक्छ। यसकारण, तिनीहरूलाई व्यवस्थित ढंगमा अध्ययन गर्नु तथा सभामा उपस्थित हुनु अनावश्‍यक लाग्नसक्छ। तथापि, पहिले सिकिसकेका कुराहरू हामीले आफूलाई पटक पटक सम्झाइरहनुपर्छ भनेर बाइबलले देखाउँछ। (भजन ११९:९५, ९९; २ पत्रुस ३:१; यहूदा ५) राम्रो भान्छेले एउटै कुराको विभिन्‍न प्रकारको स्वादिलो परिकार बनाएझैं दास वर्गले विभिन्‍न तरिकामा पोषिलो आध्यात्मिक भोजन प्रस्तुत गर्छ। पहिल्यै छलफल गरिसकेका लेखहरूमा समेत हामीले छुटाउन नहुने राम्रा बुँदाहरू हुन्छन्‌। पढेको कुराबाट के कति सिक्छौं, मुख्यतः हामीले अध्ययन गर्न लगाएको समय र प्रयासमा धेरै निर्भर हुन्छ।

पढाइ र अध्ययनबाट आध्यात्मिक लाभ

१५. बाइबल पढाइ र अध्ययनले परमेश्‍वरको वचनका उत्तम सेवकहरू हुन कसरी मदत गर्छन्‌?

१५ हामीले बाइबल पढाइ र अध्ययनबाट पाउने लाभहरू अनगिन्ती छन्‌। यसले हामीलाई एउटा आधारभूत मसीही जिम्मेवारी पूरा गर्न मदत गर्छ। त्यो हो, “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुने। (२ तिमोथी २:१५) हामी बाइबल जति धेरै पढेर अध्ययन गर्छौं, त्यति नै धेरै हाम्रो दिमाग परमेश्‍वरको विचारले भरिनेछ। तब, पावलजस्तै हामी यहोवाका उद्देश्‍यको अद्‌भुत सत्यबारे ‘कुराको अर्थ खोलीकन धर्मशास्त्रबाट बहस’ गर्न सक्ने हुनेछौं। (प्रेरित १७:२, ३) हाम्रो सिकाउने क्षमता विकास हुनेछ अनि हाम्रो कुराकानी, भाषण र सल्लाह पनि आध्यात्मिक तवरमा अझ उत्थानदायी हुनेछ।—हितोपदेश १:५.

१६. परमेश्‍वरको वचनको पढाइ र अध्ययनबाट हामी कस्ता व्यक्‍तिगत लाभहरू उठाउँछौं?

१६ साथै, परमेश्‍वरको वचन जाँच्न बिताएको समयले हामीलाई आफ्नो जीवन यहोवाको तौरतरिकाअनुसार ढाल्न मदत गर्नेछ। (भजन २५:४; ११९:९, १०; हितोपदेश ६:२०-२३) यसले नम्रता, वफादारी र आनन्दजस्ता आध्यात्मिक गुणहरूलाई अझ चम्काउनेछ। (व्यवस्था १७:१९, २०; प्रकाश १:३) बाइबल पढाइ र अध्ययनबाट पाएको ज्ञान व्यवहारमा उतार्दा हाम्रो जीवनमा परमेश्‍वरको आत्मा अझ सक्रिय हुन्छ र हाम्रो सम्पूर्ण क्रियाकलापमा आत्माको फल प्रशस्त हुँदै जान्छ।—गलाती ५:२२, २३.

१७. व्यक्‍तिगत बाइबल पढाइ र अध्ययनको मात्रा अनि गुणस्तरले यहोवासितको हाम्रो सम्बन्धलाई कसरी असर गर्छ?

१७ सबैभन्दा महत्त्वपूर्ण कुरा, अरू क्रियाकलापमा समय कटौती गरेर परमेश्‍वरको वचन पढ्‌न र अध्ययन गर्न समय निकाल्दा परमेश्‍वरसित हाम्रो सम्बन्ध अझ मजबुत हुन्छ। आफ्ना सँगी मसीहीहरू ‘सारा आत्मिक बुद्धि र समझमा [परमेश्‍वरको] इच्छाको ज्ञानले . . . पूर्ण होऊन्‌, . . . हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न’ सकून्‌ भनेर पावलले प्रार्थना गरे। (कलस्सी १:९, १०) त्यसरी नै, “योग्य चालमा चल्न” हामी “सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले . . . पूर्ण” हुनुपर्छ। स्पष्टतः हामीले यहोवाको आशिष्‌ र अनुमोदन पाउने कुरा निकै हदसम्म हाम्रो व्यक्‍तिगत बाइबल पढाइ र अध्ययनको मात्रा अनि गुणस्तरमा निर्भर हुन्छ।

१८. हामीले यूहन्‍ना १७:३ मा लिपिबद्ध येशूका शब्दहरू पालन गऱ्‍यौं भने कस्ता आशिष्‌हरू पाउनेछौं?

१८ “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) परमेश्‍वरको वचन अध्ययन गर्नुपर्ने महत्त्वको मूल्यांकन गर्न यहोवाका साक्षीहरूले यो शास्त्रपद निकै प्रयोग गर्ने गर्छन्‌। हामी प्रत्येकले पनि व्यक्‍तिगत तवरमा यो कुरा मूल्यांकन गर्नु उत्तिकै महत्त्वपूर्ण छ। सधैंभरि बाँच्ने हाम्रो आशा, यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको ज्ञान लिइरहनुमा निर्भर छ। त्यसको मतलब के हो, यसो विचार गर्नुहोस्‌ त। यहोवाबारे सिक्नुपर्ने कुराको कहिल्यै अन्त हुनेछैन अर्थात्‌ अनन्तसम्म उहाँबारे सिकिरहन सक्नेछौं!—उपदेशक ३:११; रोमी ११:३३.

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

b प्रहरीधरहरा, मे १, १९९५ पृष्ठ २०-१ मा प्रकाशित “तिनीहरू कहिले पढ्‌छन्‌ र कसरी लाभ उठाउँछन्‌” लेख हेर्नुहोस्‌।

पुनरावलोकन प्रश्‍नहरू

• हामी आफ्नो समय कसरी प्रयोग गर्छौं, त्यसबाट के प्रकट हुन्छ?

• बाइबल पढ्‌न र अध्ययन गर्न कस्ता गतिविधिहरूबाट समय निकाल्न सकिन्छ?

• आध्यात्मिक भोजन गर्ने बानीबारे हामी किन सजग हुनुपर्छ?

• धर्मशास्त्र पढ्‌दा र अध्ययन गर्दा हुने लाभहरू के हुन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०, २१-मा भएका चित्रहरू]

नियमित तवरमा बाइबल पढ्‌ने र अध्ययन गर्ने बानीले ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ मदत गर्नेछ

[पृष्ठ २३-मा भएका चित्रहरू]

हाम्रो व्यस्त जीवनमा आध्यात्मिक लक्ष्यहरू र अरू कामकुरालाई सन्तुलनमा राखेर प्रशस्त लाभ उठाउन सकिन्छ