सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी

बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी

बाइबल पढाइलाभदायी तथा आनन्ददायी

“तैंले . . . दिन-रात [ पढ्‌नू]।”–यहोशू १:८.

१. सामान्य पढाइ र विशेष गरी बाइबल पढाइका केही लाभहरू के हुन्‌?

 उपयोगी विषयवस्तु पढ्‌नु एउटा लाभदायी काम हो। फ्रान्सिसी राजनीतिज्ञ तथा दार्शनिक मन्टेस्क्यूले (चार्ल्स-लुइ डे सेकन्डाट) यस्तो लेखे: “जीवनमा थकान महसुस गर्दा मलाई स्फूर्ति प्रदान गर्ने सर्वोत्तम उपाय नै अध्ययन हो। जस्तोसुकै तनाउलाई पनि एक घण्टाको पढाइले हटाउँछ।” बाइबल पढाइको सन्दर्भमा यो झनै साँचो साबित हुन्छ। प्रेरित भजनरचयिताले यसो भने: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।”—भजन १९:७, ८.

२. यहोवाले शताब्दीयौंदेखि किन बाइबलको जगेर्ना गर्नुभएको छ र उहाँ आफ्ना जनहरूले यसलाई के गरेको चाहनुहुन्छ?

बाइबलका लेखकको हैसियतमा यहोवा परमेश्‍वरले धार्मिक तथा अन्य शत्रुहरूको क्रूर विरोधको बावजूद शताब्दीयौंसम्म यसको जगेर्ना गर्नुभएको छ। “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने इच्छा भएको हुँदा उहाँले मानवजातिलाई आफ्नो वचन उपलब्ध गराउनुभएको छ। (१ तिमोथी २:४) एउटा अनुमानअनुसार पृथ्वीका ८० प्रतिशत बासिन्दाहरूले लगभग १०० वटा भाषा बोल्छन्‌। सम्पूर्ण बाइबल ३७० भाषामा र धर्मशास्त्रको केही अंश थप १,८६० भाषा र उपभाषामा उपलब्ध छ। यहोवा, आफ्ना जनहरूले उहाँको वचन पढेको चाहनुहुन्छ। उहाँको वचनमा ध्यान दिने र दिनहुँ पढ्‌ने सेवकहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ।—भजन १:१, २.

निरीक्षकहरूले बाइबल पढ्‌नुपर्छ

३, ४. यहोवाले इस्राएलका राजाहरूबाट के माग गर्नुभयो अनि यही कुरा आजका मसीही प्राचीनहरूमा पनि लागू हुनुको कारण के हो?

इस्राएल राष्ट्रमा मानव राजा हुने समयको अपेक्षा गर्दै यहोवाले यसो भन्‍नुभयो: “जब उ आफ्नो राज-सिंहासनमा बस्छ, तब लेवी पूजाहारीहरूको जिम्मामा राखेको व्यवस्थाको नकल गरेर एउटा पुस्तकमा उतारोस्‌। त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू पालन गर्नलाई त्यो नकलको पुस्तक उसँगै रहोस्‌। औ उसले आफ्नो जीवनभरि त्यो पढ़ोस्‌, र उसले परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिकोस्‌। त्यो आफ्ना दाज्यु-भाइहरूका बीचमा घमण्डले नफूलोस्‌, र व्यवस्थाको मार्ग त्यागेर दाहिने वा देब्रे नलागोस्‌।”—व्यवस्था १७:१८-२०.

यहोवाले इस्राएलका सबै भावी राजाहरूलाई ईश्‍वरीय व्यवस्था दिनहुँ पढ्‌नुपर्छ भन्‍नुको कारणहरूमाथि ध्यान दिनुहोस्‌: (१) ‘परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिकोस्‌ भनेर त्यस व्यवस्थाका सबै कुरा र विधिहरू पालन गरोस्‌’; (२) “त्यो आफ्ना दाज्यु-भाइहरूका बीचमा घमण्डले नफूलोस्‌”; (३) “व्यवस्थाको मार्ग त्यागेर दाहिने वा देब्रे नलागोस्‌।” के अहिले मसीही निरीक्षकहरू पनि यहोवाको डर मान्‍ने, उहाँको व्यवस्था पालन गर्ने, आफ्ना दाज्यु-भाइहरूका बीचमा घमण्डले नफुल्ने र यहोवाको आज्ञाबाट दायाँबायाँ नतर्किने व्यक्‍तिहरू हुनुपर्दैन र? इस्राएलका राजाहरूको निम्ति दैनिक बाइबल पढाइ जति महत्त्वपूर्ण थियो अहिले पनि निरीक्षकहरूको लागि त्यत्तिकै महत्त्वपूर्ण छ।

५. बाइबल पढाइबारे परिचालक निकायले हालै शाखा समितिहरूलाई कस्तो पत्र पठायो र सबै मसीही प्राचीनहरूले यो सल्लाह पालन गर्नु किन बेस हुनेछ?

अहिले मसीही प्राचीनहरूको व्यस्त तालिका छ र यसले गर्दा दैनिक बाइबल पढाइ एउटा चुनौती हुन जान्छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरू अनि शाखा समितिका सदस्यहरू असाध्यै व्यस्त हुन्छन्‌। यद्यपि, परिचालक निकायले हालै सबै शाखा समितिहरूलाई पठाएको पत्रमा दैनिक बाइबल पढाइ र अध्ययन गर्ने राम्रो बानी बसाल्नुपर्ने खाँचोमाथि जोड दिइएको थियो। त्यो पत्रले भनेअनुसार यसो गर्दा यहोवा र सत्यप्रति हाम्रो प्रेम बढ्‌नेछ। साथै, हामीलाई “महिमित अन्तसम्म विश्‍वास, आनन्द र धैर्य कायम राख्न मदत गर्नेछ।” यहोवाका साक्षीहरूको मण्डलीका सबै प्राचीनहरूले त्यस्तै महसुस गर्छन्‌। दिनहुँ धर्मशास्त्र पढ्‌दा तिनीहरूले “सफलता” पाउनेछन्‌। (यहोशू १:७, ८) तिनीहरूको लागि विशेष गरी बाइबल पढाइ “सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ।”—२ तिमोथी ३:१६, नयाँ संशोधित संस्करण।

जवान तथा वृद्ध दुवैलाई आवश्‍यक

६. इस्राएलका कुलहरू र परदेशीहरूको समूहको सामने यहोशूले परमेश्‍वरको व्यवस्था किन ठूलो स्वरले पढेर सुनाए?

पुरातन समयमा व्यक्‍तिगत प्रयोगको लागि धर्मशास्त्रका छुट्टाछुट्टै प्रतिहरू उपलब्ध नभएको हुँदा जनसमुदायलाई एकसाथ भेला गराएर बाइबल पढाइ गरिन्थ्यो। यहोवाले यहोशूलाई ऐ शहरमाथि विजयी गराउनु भएपछि तिनले एबाल डाँडा र गीरिज्जीम डाँडाको सामने इस्राएलका कुलहरू भेला गराए। विवरण यसो भन्छ: “तिनले आशिष र सराप बिषय व्यवस्थाका वचन जो सबै पढ़ेर सुनाए। व्यवस्थाको पुस्तकमा लेखिएका छन्‌। जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज स्त्रीहरू, केटा-कटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामने नपढ़ेका कुरा कुनै पनि रहेन।” (यहोशू ८:३४, ३५) जवान तथा वृद्ध, स्वदेशी तथा परदेशी, सबैको मन अनि हृदयमा यहोवाको आशिष्‌ पाउने कुरा र उहाँले स्वीकार नगर्नुहुने आचरणहरू के हुन्‌ भनेर ठप्प बसेको हुनुपर्थ्यो। नियमित तवरमा बाइबल पढ्यौं भने हामीले पनि त्यसै गर्ने मदत पाउनेछौं।

७, ८. (क) अहिलेका “परदेशीहरू” कोजस्तै हुन्‌ र तिनीहरूले किन दिनहुँ बाइबल पढ्‌नुपर्छ? (ख) यहोवाका जनहरूको समूहमा भएका “केटा-केटीहरू[ले]” कसरी येशूको उदाहरण पछ्याउन सक्छन्‌?

आज, यहोवाका लाखौं सेवकहरू आध्यात्मिक अर्थमा ती “परदेशीहरू[जस्तै]” छन्‌। पहिले तिनीहरू संसारको तौरतरिकाअनुसार जिउँथे तर अहिले आफ्नो जीवनशैली परिवर्तन गरेका छन्‌। (एफिसी ४:२२-२४; कलस्सी ३:७, ८) तिनीहरूले असल र खराबसम्बन्धी यहोवाको स्तरबारे आफूलाई निरन्तर सम्झाइरहनुपर्छ। (आमोस ५:१४, १५) दिनहुँ परमेश्‍वरको वचन पढ्‌दा तिनीहरूले यसो गर्ने मदत पाउँछन्‌।—हिब्रू ४:१२; याकूब १:२५.

यहोवाका जनहरूको समूहमा थुप्रै “केटा-केटीहरू” पनि छन्‌ र तिनीहरूलाई आमाबाबुले यहोवाको स्तरबारे सिकाएका छन्‌ तर यहोवाको इच्छा सही हो भनेर तिनीहरू स्वयम्‌लाई पक्का हुनुपर्छ। (रोमी १२:१, २) तिनीहरूले यो कसरी गर्न सक्छन्‌? इस्राएलमा पूजाहारी तथा बूढा-प्रधानहरूलाई यस्तो निर्देशन दिइएको थियो: “उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामने जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्‌ त्यसबेला सारा इस्राएलका सामने तिनीहरूले सुन्‍नेगरी तिमीहरूले यो व्यवस्था पढ़नू। स्त्री, बालक र तिमीहरूका शाहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर—र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरका भय मान्‍न सिकून्‌ औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌। यर्दन पारि तिमीहरूले अधिकार गर्ने मुलुकमा जति काल तिमीहरू बस्नेछौ त्यहाँ यो व्यवस्था नजान्‍ने तिमीहरूका छोरा छोरीहरूले पनि सुनेर परमप्रभु परमेश्‍वरको भय मान्‍न सिक्नेछन्‌।” (व्यवस्था ३१:११-१३) व्यवस्थाको अधीनमा रहेर येशूले १२ वर्षको कलिलो उमेरमै पिताको व्यवस्था बुझ्न गहिरो चासो देखाउनुभयो। (लूका २:४१-४९) पछि, महासभामा गएर धर्मशास्त्रको पढाइ सुन्‍ने र त्यसमा भाग लिने उहाँको बानी नै भयो। (लूका ४:१६; प्रेरित १५:२१) अहिलेका केटाकेटीहरूले पनि परमेश्‍वरको वचन दिनहुँ पढ्‌ने अनि बाइबल पढाइ र अध्ययन हुने सभाहरूमा नियमित भएर येशूको उदाहरण पछ्याउनु बेस हुनेछ।

बाइबल पढाइ–-प्राथमिकता

९. (क) हामीले पढ्‌ने सामग्री छनौट गर्दा किन होसियार हुनुपर्छ? (ख) यस पत्रिकाका संस्थापक सम्पादकले बाइबल अध्ययन सहायकहरूबारे के भने?

बुद्धिमान्‌ राजा सुलेमानले यसप्रकार लेखे: “अझै एउटा चेताउनी सुनिराख्‌—पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) कसैले भन्ला, आजकाल प्रकाशित हुने थुप्रै पुस्तकहरू पढ्‌नु थकाइलाग्दो मात्र होइन, खतरनाकसमेत छ। त्यसकारण, पुस्तक छनौट गर्दा होसियार हुनुपर्छ। बाइबल अध्ययन प्रकाशनहरूको अलावा हामीले बाइबलै पढ्‌नुपर्छ। यस पत्रिकाका संस्थापक सम्पादकले आफ्ना पाठकहरूलाई यस्तो लेखे: “एउटा कुरा कहिल्यै नबिर्सनुहोस्‌, बाइबल हाम्रो मुख्य किताब हो अनि हामीले प्रकाशित गर्ने किताबहरू ईश्‍वरप्रदत्त भए तापनि ती अध्ययन ‘सहायक’ मात्र हुन्‌ र बाइबलकै विकल्पचाहिं होइनन्‌।” a यसर्थ, बाइबल आधारित प्रकाशनहरूलाई पनि विचार गर्दै बाइबल पढ्‌नैपर्छ।

१०. “विश्‍वासी र बुद्धिमान दास[ले]” बाइबल पढाइको महत्त्वलाई कसरी जोड दिएको छ?

१० यो आवश्‍यकताप्रति सजग हुँदै “विश्‍वासी र बुद्धिमान दास[ले]” सबै मण्डलीको लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा बाइबल पढाइको तालिका समावेश गर्न थालेको वर्षौं भइसक्यो। (मत्ती २४:४५) अहिलेको बाइबल पढाइ तालिकाअनुसार पूरै बाइबल पढ्‌न सात वर्ष लाग्छ। यो तालिका सबैको लागि लाभदायक छ तर विशेष गरी पूरै बाइबल नपढेका नयाँहरूको लागि एकदम बेस हो। मिसनरीहरूको लागि वाचटावर बाइबल स्कूल अफ गिलियड र मिनिस्टेरियल ट्रेनिङ स्कूलमा सामेल हुनेहरू र बेथेल परिवारका नयाँ सदस्यहरूले एक वर्षमा पूरै बाइबल पढिसक्नुपर्छ। तपाईंले व्यक्‍तिगत वा पारिवारिक तवरमा जुनसुकै पढाइ तालिकाअनुसार पढ्‌नुहोस्‌, सबैभन्दा महत्त्वपूर्ण कुरा बाइबल पढाइलाई प्राथमिकता दिनु हो।

तपाईंको पढ्‌ने बानीले के देखाउँछ?

११. हामीले किन दिनहुँ यहोवाको वचन लिनुपर्छ र त्यो कसरी गर्न सक्छौं?

११ तपाईंलाई बाइबल तालिकाअनुसार पढ्‌न गाह्रो भइरहेको छ भने आफैलाई यो प्रश्‍न सोध्नु उचित हुनेछ: ‘मैले पढ्‌ने विषयवस्तु र टिभी हेर्ने बानीले यहोवाको वचन पढ्‌ने क्षमतामा कस्तो असर पारिरहेको छ?’ मोशाले लेखेका र फेरि येशूले दोहऱ्‍याउनुभएका यी शब्दहरू नबिर्सनुहोस्‌, “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४; व्यवस्था ८:३) हामीले आफ्नो जीवन धान्‍न दिनहुँ भोजन खानु परेझैं हाम्रो आध्यात्मिकता कायम राख्न दिनहुँ यहोवाका विचारहरू लिनुपर्छ। हामी धर्मशास्त्र पढेर हरेक दिन परमेश्‍वरको विचार जान्‍नसक्छौं।

१२, १३. (क) प्रेरित पत्रुस परमेश्‍वरको वचनप्रति तृष्णा जगाउने सन्दर्भमा कस्तो उदाहरण दिन्छन्‌? (ख) पावलले कसरी दूधको उदाहरण पत्रुसले भन्दा बेग्लै किसिमले प्रयोग गरेका  छन्‌?

१२ हामीले ‘मानिसको वचन गरी जस्तो होइन, तर साँच्चिनै परमेश्‍वरको वचन जस्तैगरी’ बाइबललाई स्वीकाऱ्‍यौं भने सानो बालकले आमाको दूधको तृष्णा गरेझैं हामी त्यसतिर आकर्षित हुनेछौं। (१ थिस्सलोनिकी २:१३) प्रेरित पत्रुसले त्यही तुलना गर्दै यस्तो लेखे: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्‍तिको निम्ति बढ़दै जाओ। प्रभु कृपालु हुनुहुन्छ भनी स्वाद पाएका छौ भने।” (१ पत्रुस २:२, ३) हामीले व्यक्‍तिगत अनुभवद्वारा “प्रभु कृपालु हुनुहुन्छ” भनेर साँच्चै स्वाद पाएका छौं भने हामीमा बाइबल पढ्‌ने तृष्णा जाग्नेछ।

१३ ध्यान दिनुपर्ने बुँदा के हो भने, पत्रुसले यो पद्यांशमा प्रेरित पावलले भन्दा बेग्लै किसिमले दूधको प्रयोग गरेका छन्‌। भर्खरै जन्मेको बालकलाई चाहिने सबै पोषण दूधमा हुन्छ। पत्रुसको उदाहरणले देखाएअनुसार हामीलाई “मुक्‍तिको निम्ति बढ्‌दै” जान चाहिने सबै पोषण परमेश्‍वरको वचनमा पाउँछौं। अर्कोतर्फ, आध्यात्मिक तवरमा वयस्क हौं भन्‍ने तर पढ्‌ने राम्रो बानी नभएकाहरूलाई संकेत गर्न पावलले दूधको प्रयोग गरेका छन्‌। हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यसप्रकार लेखे: “यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो, तर अझै तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको शुरूका शिक्षाहरू सिकाइदिनु परेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन, तर अझै दूधैको दरकार पर्नेजस्ता तिमीहरू भएका छौ। किनभने दूधको सह-भागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्नेहुन्छ, किनकि त्यो बालकै हो। तर खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।” (हिब्रू ५:१२-१४) ध्यान दिएर बाइबल पढ्‌दा हाम्रो ज्ञानेन्द्रिय शक्‍तिको विकास हुनुका साथै आध्यात्मिक कुराहरूप्रति हाम्रो भोक जाग्छ।

बाइबल कसरी पढ्‌ने

१४, १५. (क) बाइबल लेखकले हाम्रोअगाडि कस्तो सुअवसर राखिदिनुभएको छ? (ख) हामी ईश्‍वरीय बुद्धिबाट कसरी लाभ उठाउनसक्छौं? (उदाहरण दिनुहोस्‌।)

१४ बाइबल पढाइबाट लाभ उठाउने हो भने पढेर मात्र पुग्दैन तर पढ्‌न थाल्नुअघि प्रार्थना पनि गर्नुपर्छ। प्रार्थना एउटा अनमोल सुअवसर हो। पढ्‌नुअघि प्रार्थना गर्नु भनेको कुनै गहन विषयको किताब पढ्‌नुअघि त्यसको लेखकलाई बोलाएर आफूलाई चित्त नबुझेको कुरा सोध्नु बराबर हो। कल्पना गर्नुहोस्‌, त्यसले तपाईंलाई कत्ति धेरै फाइदा गर्नसक्छ! बाइबल लेखक, यहोवाले पनि तपाईंलाई त्यस्तै सुअवसर दिइरहनुभएको छ। प्रथम शताब्दीको परिचालक निकायका सदस्यले आफ्ना भाइहरूलाई यस्तो पत्र लेखे: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌।” (याकूब १:५, ६) आधुनिक परिचालक निकायले हामीलाई प्रार्थनापूर्वक बाइबल पढाइ गर्न सधैं प्रोत्साहन दिइरहेको छ।

१५ बुद्धि भनेको ज्ञानको व्यावहारिक उपयोग हो। त्यसकारण, बाइबल पल्टाउनुअघि यहोवालाई प्रार्थना गरेर आफ्नो व्यक्‍तिगत जीवनमा लागू गर्नुपर्ने पढाइको मुख्य बुँदा बुझ्न मदत माग्नुहोस्‌। आफूलाई थाह भएका कुराहरूसित नयाँ बुँदाहरूको सम्बन्ध बुझ्ने प्रयास गर्नुहोस्‌। तपाईंले बुझ्नुभएका “पक्का कुराहरूको नमुना[सित]” ती कुराहरू दाँज्नुहोस्‌। (२ तिमोथी १:१३) विगतका यहोवाका सेवकहरूको जीवनी विचार गर्नुहोस्‌ अनि आफू त्यो अवस्थामा पर्नुभएको भए के गर्नुहुन्थ्यो, आफैलाई सोध्नुहोस्‌।—उत्पत्ति ३९:७-९; दानियल ३:३-६, १६-१८; प्रेरित ४:१८-२०.

१६. हाम्रो बाइबल पढाइ लाभदायक तथा उपयोगी बनाउन कस्ता व्यावहारिक सुझाउहरू दिइएका छन्‌?

१६ पढ्‌न सिध्याउने ध्याउन्‍ना मात्र नगर्नुहोस्‌। समय लगाएर पढ्‌नुहोस्‌। आफूले पढेको कुरामा मनन गर्नुहोस्‌। कुनै बुँदामा चासो जाग्यो भने तपाईंको बाइबलमा थप टीकाटिप्पणी छन्‌ कि, हेर्नुहोस्‌। त्यो बुँदा अझै स्पष्ट भएन भने, पछि अनुसन्धान गर्नको लागि टिपिराख्नुहोस्‌। पढ्‌दै जाँदा आफूले सम्झन वा सार्न चाहेको पदहरूमा चिह्न लगाउनुहोस्‌। साथै, छेउमा आफ्नो टिप्पणी र थप बुँदा लेखेर राख्न सक्नुहुन्छ। कुनै दिन प्रचारकार्य वा अरूलाई सिकाउन उपयोगी होला जस्तो लागेमा त्यो पदको मुख्य शब्द टिप्नुहोस्‌ अनि बाइबलको पछाडिपट्टि अनुक्रमणिका हेर्नुहोस्‌। b

बाइबल पढाइलाई

आनन्ददायी बनाउनुहोस्‌

१७. हामी बाइबल पढ्‌न किन आनन्दित हुनुपर्छ?

१७ भजनरचयिताले ‘परमप्रभुको व्यवस्थामानै प्रसन्‍न रहने, र दिनरात उहाँकै व्यवस्थामा ध्यान दिने’ मानिसलाई धन्यको भने। (भजन १:२) हाम्रो दैनिक बाइबल पढाइ दैनिक कामधन्दा जस्तो हुनुहुँदैन तर साँच्चै आनन्ददायी हुनुपर्छ। यसलाई आनन्ददायी बनाउने एउटा तरिका, आफूले सिकेका कुराहरूको महत्त्वबारे सजग हुनु हो। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “बुद्धि पाउने . . . मानिस सुखी रहन्छ। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्‌, र त्यसका सबै बाटोहरू उन्‍नतितिर लान्छन्‌। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्‌।” (हितोपदेश ३:१३, १७, १८) बुद्धि प्राप्त गर्न चाहिने प्रयास साँच्चै सार्थक छ किनभने यसका मार्गहरू मनोहर, शान्ति, सुख र अन्ततः जीवन हो।

१८. बाइबल पढ्‌नुको अलावा के आवश्‍यक छ र यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१८ हो, बाइबल पढाइ लाभदायक र आनन्ददायी दुवै छ। तर के बाइबल पढेर मात्र पुग्छ? मसीहीजगत्‌को चर्चका सदस्यहरूले बाइबल पढेको शताब्दीयौं भइसक्यो। तिनीहरू “सिक्न ता सधैं सिक्छन्‌, तर त्यसको ज्ञानमा कहिल्यै आउनसक्‍तैनन्‌।” (२ तिमोथी ३:७) बाइबल पढाइलाई फलदायी बनाउन आफूले हासिल गर्ने ज्ञान व्यक्‍तिगत जीवनमा र प्रचार तथा शिक्षणकार्यमा प्रयोग गर्ने मनसाय हुनुपर्छ। (मत्ती २४:१४; २८:१९, २०) यसो गर्न प्रयास गर्नुपर्छ र अध्ययन गर्ने राम्रो बानी बसाल्नुपर्छ। तब मात्र बाइबल पढाइ आनन्ददायी तथा इनामदायी हुनेछ भनेर यसपछिको लेखमा पढ्‌नेछौं।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम, पृष्ठ २४१ हेर्नुहोस्‌।

b मे १, १९९५ प्रहरीधरहरा-को पृष्ठ १६-१७ मा “तपाईंको बाइबल पढाइ उन्‍नति गर्ने सुझाउहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

पुनरावलोकन प्रश्‍नहरू

• इस्राएलका राजाहरूलाई दिइएको कुन सल्लाह अहिलेका निरीक्षकहरूलाई पनि लागू हुन्छ र किन?

• अहिलेका “परदेशी” र “केटा-केटीहरू” को हुन्‌ र तिनीहरूले किन दिनहुँ बाइबल पढ्‌नुपर्छ?

• “विश्‍वासी र बुद्धिमान दास[ले]” कस्तो व्यावहारिक ढंगमा हामीलाई नियमित तवरमा बाइबल अध्ययन गर्न मदत गरेको छ?

• हामी बाइबल पढाइबाट साँचो आनन्द र लाभ कसरी उठाउनसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

विशेष गरी प्राचीनहरूले दिनहुँ बाइबल पढ्‌नुपर्छ

[पृष्ठ १०-मा भएको चित्र]

महासभामा हुने धर्मशास्त्रको पढाइमा भाग लिने येशूको बानी भइसकेको थियो