सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं अदृश्‍य परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ?

के तपाईं अदृश्‍य परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ?

के तपाईं अदृश्‍य परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ?

तपाईं सोध्नु होला, ‘देख्दै नदेखेको व्यक्‍तिसित म कसरी घनिष्ठ सम्बन्ध गाँस्न सकूँला र?’ यो प्रश्‍न गर्नु मनासिबै देखिन्छ। तर विचार गर्नुहोस्‌:

मायालु अनि स्थायी सम्बन्ध गाँस्न दृष्टि कत्तिको महत्त्वपूर्ण छ? अत्यन्तै महत्त्वपूर्ण नभए तापनि के अदृश्‍य तत्त्वहरू पनि महत्त्वपूर्ण छैनन्‌ र? पक्कै छन्‌! त्यसैकारण त केही व्यक्‍तिहरूले नियमित पत्राचारबाट अर्को व्यक्‍तिसित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छन्‌। तिनीहरू आफ्नो पत्रमा आफूलाई मन पर्ने कुरा, मन नपर्ने कुरा, लक्ष्य, सिद्धान्त, ठट्टा र अन्य व्यक्‍तिगत विशिष्ट गुणहरू वा चासो निष्कपटतासाथ खुलाउँछन्‌।

अर्को व्यक्‍तिसित घनिष्ठ सम्बन्ध गाँस्न दृष्टि अत्यावश्‍यक छैन भनेर नेत्रविहीनहरूलाई हेरेर पनि बुझ्न सकिन्छ। उदाहरणका लागि, अन्धा दम्पती एडवार्ड र ग्वेनलाई नै लिनुहोस्‌। a एडवार्डले ग्वेनलाई अन्धाहरूको प्रौढ कक्षामा भेटेका थिए। तिनीहरू त्यहाँ सँगै पढ्‌थे। एडवार्डलाई ग्वेनका गुणहरू मन पऱ्‍यो। विशेष गरी, तिनको बोली र आनीबानीमा झल्किएको तिनको इमानदारी तथा कामप्रतिको तिनको मनोवृत्ति। ग्वेनलाई चाहिं एडवार्ड मन परेको कारण तिनको आफ्नै शब्दमा यसप्रकार छ, “मानिसमा हुनैपर्छ भनेर मलाई बताइएका सम्पूर्ण गुण मैले उहाँमा पाएँ।” मायाको कोपिला फक्रियो र तीन वर्षपछि तिनीहरू वैवाहिक बन्धनमा बाँधिए।

एडवार्ड भन्छन्‌, “सँगै हुनुहुन्छ भने अर्को व्यक्‍तिसित सम्बन्ध गाँस्न अन्धोपनले खासै असर गर्दैन। हो, एकअर्कालाई देख्न सकिन्‍न तर भावनाहरू त अन्धा हुँदैनन्‌।” अहिले, ५७ वर्षपछि पनि तिनीहरू अझै एकअर्काको मायामा डुबेका छन्‌। आफ्नो सुमधुर सम्बन्धको रहस्यमा जम्मा चार कुराहरू बिथोलित छन्‌ भनेर तिनीहरू बताउँछन्‌: (१) अर्को व्यक्‍तिका गुणहरू याद गर्नु, (२) ती गुणहरूबारे सोच्नु र ती गुणहरूबाट खिचिनु, (३) राम्रो कुराकानी कायम राख्नु र (४) कामकुरा एकसाथ गर्नु।

साथीहरू, लोग्नेस्वास्नी वा अझै भनौं भने, मानिस र परमेश्‍वरबीच कुनै पनि सुमधुर सम्बन्ध गाँस्न यी चार बुँदाहरू अत्यावश्‍यक छन्‌। यी बुँदाहरू प्रयोग गर्दा परमेश्‍वरलाई नदेखे तापनि उहाँसित कसरी घनिष्ठ सम्बन्ध गाँस्न सकिन्छ, यसपछिको लेखमा बुझ्न मदत पाउनेछौं। b

[फुटनोटहरू]

a नाउँ परिवर्तन गरिएका छन्‌।

b मानिसहरूबीच जस्तो नभई परमेश्‍वरसितको सम्बन्ध त उहाँ अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वासमा आधारित हुन्छ। (हिब्रू ११:६) परमेश्‍वरमाथि बलियो विश्‍वास विकास गर्ने सम्बन्धमा विस्तृत जानकारीको लागि कृपया, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इज देर अ क्रिएटर हु क्येर्स अबाउट यु? हेर्नुहोस्‌।