सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मैले पवित्र आत्मालाई आफ्नो व्यक्‍तिगत मदतगार बनाएको छु?

के मैले पवित्र आत्मालाई आफ्नो व्यक्‍तिगत मदतगार बनाएको छु?

के मैले पवित्र आत्मालाई आफ्नो व्यक्‍तिगत मदतगार बनाएको छु?

परमेश्‍वरको पवित्र आत्माबारे धर्मविज्ञानका पण्डितहरूलगायत साधारण मानिसहरूमा समेत भिन्‍नाभिन्‍नै धारणा पाइन्छ। तथापि, त्यसरी अन्यौलमा पर्नु आवश्‍यक छैन। बाइबलले पवित्र आत्मा के हो भनेर प्रस्टै बताउँछ। कसै कसैले सम्झेझैं पवित्र आत्मा व्यक्‍ति नभई परमेश्‍वरले आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्नुहुने शक्‍तिशाली सक्रिय शक्‍ति हो।—भजन १०४:३०; प्रेरित २:३३; ४:३१; २ पत्रुस १:२१.

पवित्र आत्मा र परमेश्‍वरको उद्देश्‍य पूर्तीबीच नजिकको सम्बन्ध भएकोले हामी परमेश्‍वरको आत्माअनुरूप जीउन चाहन्छौं। हामीले यसलाई आफ्नो व्यक्‍तिगत मदतगार बनाउने इच्छा गर्नुपर्छ।

मदतगार—किन चाहियो ?

पृथ्वी छोडेर जान लाग्नुभएको बेला येशूले आफ्ना चेलाहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [मदतगार, NW] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” अनि अझ यसो पनि भन्‍नुभयो: “तापनि म तिमीहरूलाई साँचो भन्दछु, म जानुनै तिमीहरूको निम्ति फाइदा छ। किनभने म गइनँ भने, शान्तिदाता [मदतगार, NW] तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।”—यूहन्‍ना १४:१६, १७; १६:७.

येशूले आफ्ना चेलाहरूलाई निर्देशन दिनुहुँदै यो गम्भीर आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) सतावटहरूको सामना गर्नुपर्ने भएकोले यो काम गर्न त्यति सजिलो हुने थिएन।—मत्ती १०:२२, २३.

बाहिरी विरोधका साथसाथै मण्डलीभित्रै पनि संघर्ष चर्कने थियो। सा.यु. ५६ तिर पावलले रोमका मसीहीहरूलाई यस्तो लेखे, “अब हे भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले पायौ त्यसको विपरीतमा फूट र ठेस लाग्ने कारण तुल्याउनेहरूमाथि नजर राख, र तिनीहरूबाट हट।” (रोमी १६:१७, १८) सबै प्रेरितहरूको मृत्यु भइसकेपछि परिस्थिति झनै बिग्रने थियो। त्यसैकारण, पावलले यस्तो चेताउनी दिए: “मलाई थाह छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खडा हुनुहुनेछन्‌।”—प्रेरित २०:२९, ३०.

यी बाधाहरूको सामना गर्न परमेश्‍वरको मदतको आवश्‍यकता पर्थ्यो। येशूमार्फत उहाँले त्यस्तो मदत उपलब्ध गराउनुभयो। येशूको पुनरुत्थानपछि सा.यु. ३३ मा पेन्तीकोसको दिन उहाँका १२० जना चेलाहरू “सबै पवित्र आत्माले भरिए।”—प्रेरित १:१५; २:४.

यस अवसरमा पवित्र आत्मा खन्याइनु येशूको प्रतिज्ञाअनुरूपनै थियो भनेर ती चेलाहरूले महसुस गरे। येशूले उपलब्ध गराउनुभएको त्यस चिनोलाई तिनीहरूले अहिले राम्रैसित चिने: “शान्तिदाता [मदतगार, NW], अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।” (यूहन्‍ना १४:२६) उहाँले यसलाई ‘शान्तिदाता [मदतगार, NW], अर्थात्‌ सत्यका आत्मा’ पनि भन्‍नुभयो।—यूहन्‍ना १५:२६.

आत्मा कसरी मदतगार साबित हुन्छ ?

आत्माले विभिन्‍न तरिकामा मदतगारको काम गर्ने थियो। प्रथमतः येशूले भन्‍नुभएका कुराहरू चेलाहरूलाई फेरि सम्झन मदत गर्नेछ भनेर उहाँले भन्‍नुभयो। यसो भन्‍नुहुँदा उहाँले शब्द शब्द सम्झन मदत गर्नेछ भनिरहनुभएको थिएन। बरु, आत्माले तिनीहरूलाई उहाँले सिकाउनुभएका कुराहरूको गहिरो अर्थ र त्यसको महत्त्व बुझ्न मदत गर्ने थियो। (यूहन्‍ना १६:१२-१४) छोटकरीमा भन्‍नुपर्दा, आत्माले चेलाहरूलाई सत्य अझ राम्ररी बुझ्न डोऱ्‍याउने थियो। प्रेरित पावलले पछि यस्तो लेखे: “तर परमेश्‍वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ। किनभने आत्माले सबै कुरा परमेश्‍वरका गहीरा गहीरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” (१ कोरिन्थी २:१०) येशूका अभिषिक्‍त चेलाहरूले सत्य अरूसित बाँड्‌न आफूले पनि सत्यलाई राम्ररी बुझेको हुनुपर्ने थियो।

दोस्रो, येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्ने तरिका सिकाउनुका साथै बारम्बार प्रार्थना गरिरहने आज्ञा दिनुभयो। कहिलेकाहीं तिनीहरूले प्रार्थनामा के माग्ने भनेर थाह नपाउँदा आत्माले नै बिन्ती गर्ने थियो अथवा तिनीहरूलाई मदत गर्ने थियो। “त्यसै गरी आत्माले पनि हाम्रा दुर्बलतामा मदत गर्नुहुन्छ। किनभने जसरी प्रार्थना गर्नुपर्ने हो, हामी त्यसरी गर्न जान्दैनौं, तर बयान गर्न नसक्ने सोरले आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती गर्नुहुन्छ।”—रोमी ८:२६.

तेस्रो, सार्वजनिक रूपमा सच्चाइको वकालत गर्नुपर्दा येशूका चेलाहरूलाई आत्माले मदत गर्ने थियो। उहाँले तिनीहरूलाई यस्तो चेताउनी दिनुभयो: “तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन्‌, र तिनीहरूका सभाघरहरूमा कोर्रा लाउनेछन्‌। तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्‍ने तिमीहरूलाई खडा गराउनेछन्‌। तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिन्छन्‌, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही बेला तिमीहरूलाई बताइनेछ। किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूमा भएर बोल्नुहुनेछ।”—मत्ती १०:१७-२०.

पवित्र आत्माले मसीही मण्डली चिनाउन र यसका सदस्यहरूलाई बुद्धिमानी भई व्यक्‍तिगत निर्णय गर्न पनि उत्प्रेरित गर्ने थियो। आउनुहोस्‌, हामी यस विषयमा यी दुई पक्षहरूबारे विस्तृत जानकारी लेऔं र आज हाम्रोलागि यसले के अर्थ राख्छ, हेरौं।

चिह्नको रूपमा काम

शताब्दीयौंदेखि यहूदीहरूले परमेश्‍वरका छानिएका जनहरूको हैसियतमा मोशाको व्यवस्था अन्तर्गत सेवा गरे। तर येशूलाई मसीहको रूपमा अस्वीकार गरेका हुनाले तिनीहरूलाई पनि चाँडै नै इन्कार गरिनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो: “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? ‘जुन ढुंगालाई डकर्मीहरूले रद्दी गरे, त्यही चाहिं कुनाको शिर भयो, यो परमप्रभुबाट भएको हो, र यो हाम्रो दृष्टिमा अचम्मको छ’। यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४२, ४३) सा.यु. ३३ पेन्तीकोसमा मसीही मण्डलीको स्थापना भएपछि ख्रीष्टका चेलाहरू त्यो ‘फल फलाउने जाति’ बन्यो। त्यसबेलादेखि यो मण्डली परमेश्‍वरको सञ्चार माध्यम बन्यो। मानिसहरूले परमेश्‍वरको ईश्‍वरीय निगाह कसमाथि रहेछ भनी चिन्‍न सकोस्‌ भनेर उहाँले अकाट्य चिह्न उपलब्ध गराउनुभयो।

पेन्तीकोसमा ती चेलाहरूलाई कहिल्यै नसिकेका भाषाहरूमा पवित्र आत्माले बोल्न लगायो र यो हेरिरहनेहरूले आश्‍चर्य मान्दै सोध्न थाले: “कसरी तिनीहरू हरेकले हाम्रा मातृ-भाषामा बोलेको हामी सुन्छौं?” (प्रेरित २:७, ८) नौलो भाषाहरू बोल्ने क्षमतालगायत “धेरै अचम्मका काम र चिह्नहरू प्रेरितहरूद्वारा” भएको देखेर तीन हजार मानिसहरूले परमेश्‍वरको आत्मा साँच्चै सक्रिय रहेछ भनेर थाह पाए।—प्रेरित २:४१, ४३.

साथै, “आत्माको फल”—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयमजस्ता गुनहरू देखाएर ख्रीष्टका चेलाहरू परमेश्‍वरका सेवकहरू हुन्‌ भनेर स्पष्टै चिनिए। (गलाती ५:२२, २३) वास्तवमा, प्रेमले उल्लेखनीय ढंगमा त्यस साँचो मसीही मण्डलीको चिनारी दियो। येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३४, ३५.

प्रारम्भिक मसीही मण्डलीका सदस्यहरूले परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ स्वीकारे र यसको मदतबाट लाभ उठाए। परमेश्‍वरले अहिले प्रथम शताब्दीमा जस्तो मरेकाहरूलाई बिउँताउने र चमत्कारहरू गर्ने गर्नुहुन्‍न भन्‍ने बुझे तापनि मसीहीहरू आफूलाई येशू मसीहका साँचो चेलाहरू भनेर चिनाउन परमेश्‍वरको आत्माको फल फलाउँछन्‌।—१ कोरिन्थी १३:८.

व्यक्‍तिगत निर्णय गर्न मदतगार

बाइबल पवित्र आत्माको उपज हो। तसर्थ, हामीले बाइबलअनुरूप जीउने प्रयास गर्नु पवित्र आत्माको निर्देशनअनुरूप चले सरह हो। (२ तिमोथी ३:१६, १७) यसले हामीलाई बुद्धिमानीपूर्ण निर्णय गर्न मदत गर्नसक्छ। तर के हामीले यसो गर्न दिइरहेका छौं?

हाम्रो काम अथवा जागिरको छनौटमा नि? हामीले रोजेको कामलाई यहोवाको दृष्टिकोणबाट हेर्न पवित्र आत्माले हामीलाई मदत गर्नेछ। हाम्रो जागिर बाइबलको सिद्धान्तसित मेल खानुका साथै हुनसक्छ भने, ईश्‍वरतान्त्रिक लक्ष्यहरू प्राप्त गर्न हामीलाई मदत गर्ने किसिमको हुनुपर्छ। जागिरसित सम्बन्धित तलब अथवा भत्ता र प्रतिष्ठा महत्त्वपूर्ण विषयहरू होइनन्‌। तर हामीलाई जीवनका आवश्‍यकताहरूका साथै मसीही दायित्वहरू पूरा गर्न प्रशस्त समय र मौका दिन्छ कि दिंदैन ती बढी महत्त्वका विषय हुन्‌।

जीवनमा आनन्द उठाउने चाहना हुनु स्वाभाविक अनि उचित हो। (उपदेशक २:२४; ११:९) त्यसैले, सन्तुलित मसीहीले स्फूर्ती र आनन्द प्राप्त गर्न मनोरञ्जन गर्नसक्छन्‌। तर तिनले “शरीरका कामहरू” प्रदर्शित गर्ने नभई आत्माको फल प्रदर्शित गर्ने मनोरञ्जनको छनौट गर्नुपर्छ। पावल यस्तो वर्णन गर्छन्‌: “शरीरका कामहरू प्रत्यक्ष छन्‌, जो यिनै हुन्‌—व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू।” त्यस्तै “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी” पनि हुनुहुँदैन।—गलाती ५:१६-२६.

साथीहरू छनौट गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। तिनीहरूको छनौट गर्दा बाहिरी भेषभूषा अथवा सम्पत्ति नभई आध्यात्मिकतालाई हेर्नुपर्छ। दाऊद परमेश्‍वरका मित्र थिए भन्‍ने कुरामा कुनै शंका छैन किनभने परमेश्‍वरले तिनी “मेरो हृदयअनुसारको एउटा मानिस” थिए भनी वर्णन गर्नुभयो। (प्रेरित १३:२२) बाहिरी रूपरंगलाई बेवास्ता गर्दै परमेश्‍वरले यस सिद्धान्तअनुरूप दाऊदलाई इस्राएलका राजा छान्‍नुभयो: “परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।”—१ शमूएल १६:७.

बाहिरी रूप अथवा सम्पत्तिमा आधारित हजारौं मित्रताहरू टुटेका छन्‌। अनिश्‍चित सम्पत्तिमा निर्भर मित्रता अचानक टुट्‌नसक्छ। (हितोपदेश १४:२०) परमेश्‍वरको आत्माद्वारा प्रेरित वचनले साथीहरू छनौट गर्दा यहोवाको सेवामा हामीलाई सहयोग गर्न सक्नेहरूलाई मात्र छनौट गर्ने सल्लाह दिन्छ। यसले हामीलाई लिनेभन्दा दिनेकुरामा बढी ध्यान दिनु भन्छ किनभने दिंदा धेरै आनन्द प्राप्त हुन्छ। (प्रेरित २०:३५) हामीले हाम्रा साथीहरूलाई दिनसक्ने बहुमूल्य चीजहरू समय र स्नेह हुन्‌।

विवाह गर्न खोजिरहेको मसीहीलाई बाइबलले आत्माद्वारा प्रेरित सल्लाह दिन्छ। अर्को अर्थमा यसले यसो भन्छ: ‘मुख र शरीरमात्र नहेर्नु। खुट्टा हेर्नु।’ खुट्टा हेर्नु? हो, के ती खुट्टाहरू यहोवाको सुसमाचार प्रचार गर्ने काममा लगाइएका अनि उहाँको दृष्टिमा सुन्दर ठहरिएका खुट्टाहरू हुन्‌? के ती सत्यको सन्देश र शान्तिको सुसमाचारद्वारा सजिएका छन्‌? जस्तो हामी पढ्‌छौं: “शुभ समाचार ल्याउनेको खुट्टा डाँडाहरू हुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभ समाचार ल्याउँछ, जसले मुक्‍तिको प्रचार गर्दछ, जसले सियोनलाई भन्दछ, ‘तेरा परमेश्‍वर राज्य गर्नुहुन्छ।’ ”—यशैया ५२:७; एफिसी ६:१५.

हामी यस “डरलाग्दो समय[मा]” बाँचिरहेको हुनाले परमेश्‍वरको इच्छा गर्न हामीलाई मदत चाहिन्छ। (२ तिमोथी ३:१) मदतगार अर्थात्‌ परमेश्‍वरको पवित्र आत्माले प्रथम शताब्दीमा मसीहीहरूको कामलाई बलियो आड दिनुका साथै तिनीहरूका लागि व्यक्‍तिगत मदतगार पनि साबित भए। पवित्र आत्माको उपज अर्थात्‌ परमेश्‍वरको वचनको गहिरो अध्ययन गरेर हामी पवित्र आत्मालाई आफ्नो व्यक्‍तिगत मदतगार बनाउनसक्छौं। के हामीले यसै गरिरहेका छौं?

[पृष्ठ २३-मा भएको पृष्ठभरिको चित्र]