के हामीले अरू धर्म छानबिन गर्नुपर्छ?
के हामीले अरू धर्म छानबिन गर्नुपर्छ?
“मैले मसीही सभाहरू धाउन थालेको झन्डै वर्षदिनजति भइसकेको थियो र अरूलाई परमेश्वरको राज्यबारे बताउन पाउँदा मलाई रमाइलो लाग्थ्यो” भनी अहिले यहोवाका साक्षी भइसकेका दक्षिण अमेरिकाका मिगेल भन्छन्। “त्यसपछि मैले रेडियोमा धार्मिक कार्यक्रमहरू सुन्न र टेलिभिजनमा प्रचारकहरूले प्रस्तुत गर्ने धार्मिक कार्यक्रमहरू हेर्न थालें। यस्ता कार्यक्रमहरूले मलाई अरू धर्मका मानिसहरूलाई बुझ्न मदत गर्नेछ जस्तो लागेको थियो। तिनीहरूका शिक्षा बाइबलसित मेल खाँदैनन् भनेर पनि मलाई थाह थियो तर म साह्रै उत्सुक थिए।”
त्यही मुलुकका होर्हे साँचो उपासनाबारे अरूलाई जोसिलो हुँदै सिकाउँथे। यद्यपि, तिनले पनि रेडियो तथा टेलिभिजनमा धार्मिक कार्यक्रमहरू क्रमशः सुन्न तथा हेर्न थाले। “अरूको विचारधारा पनि बुझ्नुपर्छ” भनी तिनी भन्ने गर्थे। झूटो शिक्षाले पुऱ्याउनसक्ने खतराहरूबारे कुरा गर्दा तिनी यस्तो जवाफ दिन्थे: “बाइबल सच्चाइ थाह पाउने व्यक्तिको विश्वासलाई कसैले पनि ढलपल पार्नसक्दैन।” यी अनुभवहरूले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ र त्यो हो, अरू के विश्वास गर्छन् भनी कान थाप्नु बुद्धिमानी हो कि होइन?
साँचो मसीही धर्मलाई चिन्ने
प्रेरितहरूको मृत्युपछि थुप्रै नक्कली मसीहीधर्म बढ्न थालेकाले साँचो उपासना दूषित हुन थाल्यो। त्यस्तै हुनेछ भन्ने कुरा थाह भएकोले येशूले साँचो मसीहीधर्म र झूटो मसीहीधर्म छुट्याउने एउटा तरिका बताउनुभयो। प्रथमतः उहाँले यस्तो चेताउनी दिनुभयो: “झूटा अगमवक्ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्।” त्यसपछि उहाँले अझै यसो भन्नुभयो: “तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१५-२३) येशूका सच्चा अनुयायीहरू उहाँले सिकाउनुभएका कुराहरू व्यवहारमा पनि उतार्छन् र तिनीहरू आफ्नो असल फलबाट सजिलै चिनिन्छन्। येशूले जस्तै तिनीहरूले पनि मानिसहरूलाई धर्मशास्त्रबाट परमेश्वरको राज्यबारे बताउँछन्। येशूकै उदाहरण पछ्याउँदै तिनीहरू यस संसारको राजनीति तथा सामाजिक विवादबाट अलग बस्छन्। तिनीहरू बाइबललाई परमेश्वरको वचनको रूपमा ग्रहण गर्छन् र त्यसलाई सच्चाइ मान्दै आदर गर्छन्। तिनीहरू परमेश्वरको नाउँ बताउँछन्। अनि परमेश्वरले सिकाउनुभएजस्तै गरी तिनीहरू प्रेम व्यवहारमा उतार्ने प्रयास गर्ने भएकाले युद्धमा भाग लिंदैनन्। बरु, एकअर्कालाई दाजुभाइ सरह व्यवहार गर्छन्।—लूका ४:४३; १०:१-९; यूहन्ना १३:३४, ३५; १७:१६, १७, २६.
धर्मशास्त्रअनुसार “धर्मी र दुष्ट, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद . . . छुट्याउन” सम्भव छ। (मलाकी ३:१८) आज साँचो उपासकहरू प्रारम्भिक मसीहीहरूजस्तै विचार तथा काममा एक छन्। (एफिसी ४:४-६) साँचो मसीहीहरूको समूहलाई चिनिसकेपछि पनि अरूको विश्वास किन छानबिन गर्नु पऱ्यो वा खोतलेर हिंड्नु पऱ्यो?
झूटा शिक्षकहरूदेखि होसियार रहनुहोस्
बाइबल सच्चाइ सिकिसकेपछि पनि झूटा धर्महरूदेखि दूषित हुनसक्ने खतरा छ भनेर बाइबलले स्वीकारेको छ। प्रेरित पावलले यस्तो चेताउनी दिए: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८) यो पदले कस्तो सजीव वर्णन गर्छ! तपाईंलाई क्वाप्पै निल्न चाहने जनावरजस्तै यी झूटा शिक्षकहरू साँच्चै खतरनाक हुनसक्छन्।
हो, पावलले अरू व्यक्तिहरूले के विश्वास गर्छन्, त्यो विचार गरे। एक पटक तिनले आफ्नो कुराकानी यसरी सुरु गरेका थिए: “हे एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु, किनकि घुमफिर गर्दा, र तपाईंहरूका भक्ति गर्ने ठाउँहरू हेर्न जाँदा, मैले एउटा यस्तो स्थान पनि भेट्टाएँ जसमा ‘नजानिएका देवताका निम्ति’ भन्ने खोपिएको रहेछ।” (प्रेरित १७:२२, २३) तर त्यसो भन्दैमा पावलले युनानी वक्ताहरूको दर्शनशास्त्रले लगातार आफ्नो मनमस्तिष्क भरेनन्।
झूटा धर्महरूको सुरुआत तथा विश्वासबारे जानकारी लिनु एउटा कुरा हो तर ती कुराहरूले आफ्नो मन अनि हृदय भर्नु बेग्ला बेग्लै कुरा हो। a यहोवाले आफ्नो वचनमा आधारित शिक्षा दिन “विश्वासी र बुद्धिमान दास” नियुक्त गर्नुभएको छ। (मत्ती ४:४; २४:४५) पावल आफैले यसो लेखे: “तिमीहरूले प्रभुको टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्तैनौ। अथवा के हामी प्रभुलाई रीस उठाऔं?”—१ कोरिन्थी १०:२०-२२.
केही झूटा शिक्षकहरू पहिले साँचो मसीहीहरू नै थिए होलान् तर पछि तिनीहरू सच्चाइबाट तर्केर गलत मार्गतिर हिंडे। (यहूदा ४, ११) यसले हामीलाई छक्क नपार्नुपर्ने हो। अभिषिक्त मसीहीहरूको समूहको प्रतिनिधित्व गर्ने “विश्वासी र बुद्धिमान दास[बारे]” बताइसक्नुभएपछि येशूले “मेरा मालिक बियाँलो गर्छन्” भनी गनगनाउने र आफ्ना सँगी नोकरहरूलाई पिट्ने “दुष्ट नोकर” वर्गबारे बताउनुभयो। (मत्ती २४:४८, ४९) यी व्यक्तिहरूलगायत तिनीहरूका साथीहरूको अक्सर सुस्पष्ट शिक्षाहरू हुँदैनन् तर अर्काको विश्वास खतम गर्न भने तिनीहरू खप्पिस हुन्छन्। यिनीहरूबारे प्रेरित यूहन्नाले यसो लेखे: “यदि कोही तिमीकहाँ आएर यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।”—२ यूहन्ना १०; २ कोरिन्थी ११:३, ४, १३-१५.
सच्चाइ खोजिरहेका निष्कपट मानिसहरूले विभिन्न धर्महरूले भनेको कुरामा होसियारीसाथ सोचविचार गर्दा असलै गरिरहेका हुन्छन्। समयमा परमेश्वरले यी सच्चाइ खोज्ने इमानदार हृदय भएकाहरूलाई आशिष् दिनुहुनेछ। ईश्वरीय बुद्धिबारे बाइबल यसो भन्छ: “यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़-धनझैं त्यो खनिस् भने, तैंले . . . परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।” (हितोपदेश २:४, ५) तर बाइबल र मसीही सभाहरूमार्फत परमेश्वरको यो ज्ञान प्राप्त गरिसकेपछि अनि त्यस ज्ञानद्वारा डोऱ्याइनेहरूले यहोवाको आशिष् कसरी पाउँछन् त्यो देखिसकेपछि साँचो मसीहीहरू झूटा धार्मिक शिक्षाहरू फेरि फेरि सुनिरहँदैनन्।—२ तिमोथी ३:१४.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित म्यानकाइन्डस सर्च फर गड पुस्तकले संसारका थुप्रै धर्मको पृष्ठभूमि तथा शिक्षाबारे आधारभूत जानकारी दिन्छ।