सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

याकूब ४:८ यसो भन्छ: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” यहोवा परमेश्‍वर मानिसहरूसित घनिष्ठ सम्बन्ध कायम गर्न कत्ति इच्छुक हुनुहुन्छ भनेर देखाउन उहाँले मानिसजातिका लागि आफ्नो एक मात्र प्रिय पुत्र दिनुभयो।

उहाँले हामीलाई माया गर्न देखाउनुभएको यस्तो अग्रसरताको विषयमा प्रेरित यूहन्‍नाले यसो लेखे: “हामी [परमेश्‍वरलाई] प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ यूहन्‍ना ४:१९) तर व्यक्‍तिगत तवरमा परमेश्‍वरसित घनिष्ठ हुन हामीले केही खास कदमहरू चाल्नैपर्छ। ती कदमहरू अघिल्लो लेखमा सँगी मानवसित घनिष्ठ सम्बन्ध कायम गर्न उल्लेख गरिएका चारवटा तरिकाहरू जस्तै छन्‌। आउनुहोस्‌, यी के हुन्‌ जाँचौं।

परमेश्‍वरका अद्‌भुत गुणहरू अवलोकन गर्नुहोस्‌

परमेश्‍वरका थुप्रै अद्‌भुत गुण छन्‌ र तीमध्ये केही उल्लेखनीय गुणहरू हुन्‌: प्रेम, बुद्धि, न्याय र शक्‍ति। उहाँको बुद्धि र शक्‍ति विशाल ब्रह्‍माण्ड तथा हामी वरपरको यस संसारमा, शक्‍तिशाली आकाशगंगादेखि सूक्ष्म परमाणुसम्ममा प्रशस्त देख्न सकिन्छ। भजनरचयिताले लेखे: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।”—भजन १९:१; रोमी १:२०.

सृष्टिले पनि परमेश्‍वरको प्रेम प्रकट गर्छ। उदाहरणका लागि, हाम्रो बनौटले परमेश्‍वर हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ भनेर देखाउँछ। उहाँले हामीलाई रंगहरू हेर्ने, स्वाद तथा सुवास लिने, संगीतको आनन्द उठाउने, हाँस्ने, सुन्दरताको कदर गर्ने अनि जीवनको लागि अपरिहार्य त्यस्तै अन्य थुप्रै क्षमता र विशिष्ट गुण दिनुभएको छ। हो, परमेश्‍वर साँच्चै उदारचित्तको, दयालु अनि मायालु हुनुहुन्छ। निस्सन्देह, यी सब उहाँलाई “आनन्दित परमेश्‍वर” साबित गर्ने गुणहरू हुन्‌।—१ तिमोथी १:११, NW; प्रेरित २०:३५.

आफ्नो सार्वभौमिकताको अभ्यास र त्यसलाई आफ्ना बौद्धिक प्राणीहरूले गरेको समर्थन मुख्यतया प्रेममा आधारित भएकोले यहोवा आनन्द मान्‍नुहुन्छ। (१ यूहन्‍ना ४:८) हो, यहोवा सारा ब्रह्‍माण्डका सार्वभौमसत्ताधारी हुनुहुन्छ तर उहाँ मानिसहरूसित र विशेष गरी आफ्ना वफादार दासहरूसित मायालु बुबाले छोराछोरीसित गरेजस्तै व्यवहार गर्नुहुन्छ। (मत्ती ५:४५) तिनीहरूको भलो हुने कुनै पनि कुराबाट उहाँ तिनीहरूलाई वञ्चित गराउनुहुन्‍न। (रोमी ८:३८, ३९) सुरुमा उल्लेख गरिएझैं उहाँले हाम्रोनिम्ति आफ्नो एक मात्र पुत्रको जीवन दिनुभयो। हो, परमेश्‍वरकै प्रेमको कारण आज हामी जीवित छौं र हामीले अनन्त जीवनको प्रत्याशा पाएका छौं।—यूहन्‍ना ३:१६.

येशूले हुबहु परमेश्‍वरको अनुकरण गर्नुभएकोले उहाँले हामीलाई परमेश्‍वरको व्यक्‍तित्वबारे गहिरो ज्ञान सिकाउनुभयो। (यूहन्‍ना १४:९-११) उहाँ पूर्णतया निःस्वार्थ, अरूको ख्याल गर्ने र विचारशील हुनुहुन्थ्यो। एक पटक येशूसामु एक जना बहिरो अनि भकभके व्यक्‍ति ल्याइयो। त्यो मानिसलाई भीडअघि कति अप्ठेरो लागेको होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। चाखलाग्दो कुरा के छ भने, येशूले त्यो मानिसलाई एकान्तमा लानुभएर निको पार्नुभयो। (मर्कूस ७:३२-३५) के तपाईं आफ्नो भावनाप्रति सजग तथा तपाईंको गरिमाको सम्मान गर्ने मानिसहरूको मूल्यांकन गर्नुहुन्छ? गर्नुहुन्छ भने, यहोवा र येशूबारे अझ धेरै कुरा थाह पाउँदै जानुहुँदा तपाईं पक्कै पनि उहाँहरूसित घनिष्ठ हुनुहुनेछ।

परमेश्‍वरका गुणहरूबारे सोच्नुहोस्‌

कसै कसैसित असल गुणहरू हुनसक्छन्‌ तर उक्‍त व्यक्‍तिसित घनिष्ठ हुन हामीले ती गुणहरूबारे सोच्नु आवश्‍यक छ। यही कुरा यहोवासितको सम्बन्धमा पनि लागू हुन्छ। उहाँका गुणहरू मनन गर्नु उहाँसित घनिष्ठ हुने दोस्रो अत्यावश्‍यक कदम हो। यहोवालाई साँचो माया गर्ने अनि “[यहोवाको] हृदयअनुसारको” व्यक्‍ति, राजा दाऊदले यसो भने: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा क्रियाहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।”—प्रेरित १३:२२; भजन १४३:५.

सृष्टिका अचम्मलाग्दा कुराहरू देख्नुहुँदा वा परमेश्‍वरको वचन, बाइबल पढ्‌नुहुँदा के तपाईं राजा दाऊदले जस्तै आफूले देखेका अनि पढेका कुराहरू मनन गर्नुहुन्छ? आफूले औधी माया गर्ने बुबाबाट भर्खरै चिठी पाउने छोराको कल्पना गर्नुहोस्‌। उसले त्यो चिठीलाई के गर्ला? उसले पक्कै पनि त्यो चिठी खर्रर पढेर थपक्क दराजमा थन्काइ हाल्दैन। बरु, उसले त्यो चिठी राम्ररी पढ्‌छ र त्यसमा भएका एक एक शब्दको अर्थ खोज्छ। हाम्रोनिम्ति परमेश्‍वरको वचन पनि त्यत्तिकै बहुमूल्य हुनुपर्छ, जत्तिको भजनरचयितालाई थियो। तिनले यसो भन्दै गाए: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भजन ११९:९७.

दोहरो कुराकानी कायम राख्नुहोस्‌

राम्रो कुराकानी कुनै पनि सम्बन्धको जीवनरक्‍त हो। यसमा कुरा गर्नु सुन्‍नु बिथोलित छ—मनबाट मात्र होइन तर हृदयबाट पनि। हामी सृष्टिकर्तासित प्रार्थनामार्फत कुरा गर्छौं र परमेश्‍वरलाई गरिने यो सम्बोधन उपासनासहितको सम्बोधन हो। यहोवा उहाँलाई माया गर्ने र उहाँको सेवा गर्ने अनि येशू ख्रीष्टलाई उहाँको प्रमुख प्रतिनिधिको रूपमा स्वीकार्नेहरूको प्रार्थनादेखि प्रसन्‍न हुनुहुन्छ।—भजन ६५:२; यूहन्‍ना १४:६, १४.

बितेका समयमा, परमेश्‍वरले मानिसहरूसित दर्शन, सपना र स्वर्गदूतहरूद्वारा विभिन्‍न तरिकामा कुरा गर्नुहुन्थ्यो। तथापि, अहिले उहाँ आफ्नो लिखित वचन, पवित्र बाइबलमार्फत कुरा गर्नुहुन्छ। (२ तिमोथी ३:१६) यो लिखित वचनका थुप्रै फाइदा छन्‌। परामर्शको लागि जुनसुकै बेला पनि यसमा ध्यान दिन सकिन्छ। चिठीजस्तै यसलाई दोहऱ्‍याइतेहऱ्‍याइ रमाइलो मानीमानी पढ्‌न सकिन्छ। अनि मौखिक तवरमा बताउनुपर्दा कुरा तलमाथि परेजस्तै लिखित वचनमा हुँदैन। त्यसकारण, बाइबललाई स्वर्गमा हुनुहुने आफ्नो मायालु पिताले पठाउनुभएको चिठीहरूको संकलन ठान्‍नुहोस्‌ र यी चिठीहरूमार्फत दिनहुँ उहाँलाई तपाईंसित कुरा गर्न दिनुहोस्‌।—मत्ती ४:४.

जस्तै उदाहरणका लागि, बाइबलमा असल र खराबसम्बन्धी परमेश्‍वरको दृष्टिकोण दिइएको छ। यसले मानिसजाति तथा पृथ्वीसम्बन्धी उहाँको उद्देश्‍यबारे बताउँछ। अनि यसले विभिन्‍न मानिस तथा राष्ट्र, वफादार उपासकदेखि कट्‌टर शत्रुसितसम्मको उहाँको व्यवहार पनि प्रकट गर्छ। मानिसहरूसित उहाँको अन्तरक्रिया यसरी लिपिबद्ध गर्नुभएर यहोवाले आफ्नो व्यक्‍तित्वको एक एक गरी विस्तृत विवरण दिनुभयो। उहाँले आफ्नो प्रेम, आनन्द, दुःख, निराशा, क्रोध, दया, चासो—हो, थरीथरीका भावना तथा अनुभूतिहरू र यी सबै गर्नुको मुख्य कारण प्रकट गर्नुभएको छ—त्यो पनि मानिसहरूले बुझ्न सक्ने किसिमले।—भजन ७८:३-७.

परमेश्‍वरको वचनको कुनै एउटा अंश पढिसक्नुभएपछि आफूले पढ्‌नुभएको कुराबाट तपाईं कसरी फाइदा उठाउन सक्नुहुन्छ? अनि विशेष गरी, तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुनसक्नुहुन्छ? प्रथमतः परमेश्‍वरलाई व्यक्‍तिको रूपमा, उहाँबारे पढ्‌नुभएका र सिक्नुभएका कुराहरू सोच्नुहोस्‌ र ती कुराहरू तपाईंको मनभित्र गड्‌न दिनुहोस्‌। त्यसपछि, तपाईंले विचार गर्नुभएका कुराहरू र त्यसबाट तपाईंले कसरी फाइदा उठाउने विचार गर्नुभएको छ, त्यससम्बन्धी आफ्ना विचार तथा भित्री भावनाहरू प्रार्थनामा यहोवालाई पोख्नुहोस्‌। कुराकानी गर्नु भनेको यही हो। हो, तपाईंलाई अरू कुराले पनि पिरोली रहेको छ भने, ती पनि तपाईंले आफ्नो प्रार्थनामा समावेश गर्न सक्नुहुन्छ।

परमेश्‍वरसित मिलेर काम गर्नुहोस्‌

बाइबलले साँचो परमेश्‍वरसित वा उहाँ सामने हिंड्‌ने केही खास मानिसहरूबारे बताउँछ। (उत्पत्ति ६:९; १ राजा ८:२५) यसरी हिंड्‌नुको अर्थ के हो? मुख्यतः तिनीहरू हरेक दिन परमेश्‍वर आफूसँगै हुनुहुन्छ जस्तो गरी जीवन बिताउँथे। हो, तिनीहरू पापी थिए। तैपनि, तिनीहरू परमेश्‍वरको व्यवस्था तथा सिद्धान्तलाई प्रेम गर्थे र तिनीहरू परमेश्‍वरको उद्देश्‍यअनुरूप जीवन बिताउँथे। यहोवा यस्ता मानिसहरूतर्फ खिचिनुहुन्छ र तिनीहरूको ख्याल गर्नुहुन्छ। यसबारे भजन ३२:८ यसो भन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”

तपाईं पनि यहोवालाई तपाईंसँगसँगै हिंड्‌ने, तपाईंको ख्याल गर्ने र तपाईंलाई बुबाले जस्तै सल्लाह दिने एकदम घनिष्ठ मित्र बनाउन सक्नुहुन्छ। अगमवक्‍ता यशैयाले यहोवाबारे यसो भने, “जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) यी वचनमा भनेजस्तै फाइदाहरू प्राप्त गरेपछि दाऊदले जस्तै हामीले पनि यहोवाको उपस्थिति “[हाम्रो] दाहिने हाततर्फ” भएको हामीले महसुस गर्नेछौं।—भजन १६:८.

परमेश्‍वरको नाउँ—उहाँका गुणहरूको केन्द्रबिन्दु

थुप्रै धर्मले र बढ्‌दो बाइबल अनुवादहरूले परमेश्‍वरको व्यक्‍तिगत नाउँ प्रयोग गर्न र उल्लेख गर्न छाडेका छन्‌। (भजन ८३:१८) यद्यपि, मूल हिब्रू ग्रन्थमा यहोवा भन्‍ने नाउँ झन्डै ७,००० पटक प्रयोग गरिएको छ! (नमिल्दो कुरा के छ भने, एकातिर ईश्‍वरीय नाउँलाई हटाइएको छ भने अर्कोतिर थुप्रै बाइबल अनुवादकले मूल ग्रन्थमा उल्लेख गरिएका थुप्रै झूटा देवताहरू जस्तै, बाल, बाल-देव, मरोदक र शैतानको समेत नाउँ जस्ताको तस्तै राखेका छन्‌!)

केही मानिसहरूलाई परमेश्‍वरको नाउँ हटाउनु ठूलो कुरा लाग्दैन। तर यसो सोच्नुहोस्‌ त: नाउँरहित व्यक्‍तिसित घनिष्ठ सम्बन्ध गाँस्नु सजिलो होला कि गाह्रो? परमेश्‍वर र प्रभुजस्ता पदवीहरूले (झूटा देवताहरूलाई सम्बोधन गर्न पनि यी पदहरू प्रयोग गरिन्छन्‌) यहोवाको शक्‍ति, अख्तियार वा ओहदातर्फ त ध्यान खिच्ला तर उहाँको व्यक्‍तिगत नाउँले मात्र उहाँको सुस्पष्ट परिचय दिन्छ। (प्रस्थान ३:१५; १ कोरिन्थी ८:५, ६) साँचो परमेश्‍वरको व्यक्‍तिगत नाउँले उहाँका गुणहरूतर्फ ध्यानाकर्षण गर्छ। धर्मविद्‌ वर्ल्टर लोउरीले ठीकै भनेका थिए: “परमेश्‍वरको नाउँ थाह नपाउने मानिसले वास्तवमा उहाँलाई व्यक्‍तिको रूपमा चिनेकै हुँदैन।”

अस्ट्रेलियामा बस्ने निष्कपट क्याथोलिक मारियालाई विचार गर्नुहोस्‌। यहोवाका साक्षीहरूसित मारियाको पहिलो चोटि भेटघाट हुँदा ती साक्षीहरूले तिनलाई बाइबलमा परमेश्‍वरको नाउँ देखाउन खोजे र तिनले स्वीकृति दिइन्‌। तिनको प्रतिक्रिया? “पहिलो पटक बाइबलमा परमेश्‍वरको नाउँ देख्दा म रोएँ। वास्तवमा, परमेश्‍वरको व्यक्‍तिगत नाउँ थाह पाउने र उक्‍त नाउँ पुकार्न प्रयोग गर्न पाउने ज्ञानले मलाई निकै प्रभाव पाऱ्‍यो।” मारियाले निरन्तर बाइबल अध्ययन गरिन्‌ र जीवनमा पहिलो पटक तिनले यहोवालाई व्यक्‍तिको रूपमा चिनेर उहाँसित घनिष्ठ सम्बन्ध गाँसिन्‌।

हो, परमेश्‍वरलाई आफ्नै आँखाले नदेखे तापनि हामी “परमेश्‍वरको नजीक आ[उनसक्छौं]।” हामी आफ्नो मन अनि हृदयले उहाँको अत्यन्त आकर्षक व्यक्‍तित्व “हेर्नसक्छौं” र यसरी उहाँप्रतिको हाम्रो प्रेम अझ गहिरो पार्नसक्छौं। यही प्रेम नै “सिद्धताको गाँठो हो।”—कलस्सी ३:१४.

[पृष्ठ ७-मा भएका चित्रहरू]

यहोवाको सृष्टिलाई नियाल्नु उहाँसित घनिष्ठ हुने एउटा तरिका हो