सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के बाइबलको नैतिक सिद्धान्त नै सर्वोत्तम हो?

के बाइबलको नैतिक सिद्धान्त नै सर्वोत्तम हो?

के बाइबलको नैतिक सिद्धान्त नै सर्वोत्तम हो?

“समाजका मानिसहरूलाई सुरक्षा र निर्देशन दिन आधारभूत मूल्य तथा मान्यताहरूको रूपरेखा चाहिन्छ।” उक्‍त टिप्पणी एक अनुभवी जर्मन लेखक तथा टेलिभिजन प्रसारकको हो। निश्‍चय पनि तिनको कुरामा सत्यता छ। स्थायी र समृद्ध मानव समाजका लागि मानिसहरूसित सही र गलत, असल र खराब छुट्याउन आम ठोस स्तरहरू हुनुपर्छ। तर प्रश्‍न उठ्‌छ: कस्ता स्तरहरू समाज र यसका सदस्यहरू दुवैका निम्ति सर्वोत्तम छन्‌?

बाइबलका नैतिक मूल्य तथा मान्यतालाई स्तरको रूपमा स्वीकारेका छन्‌ भने मानिसहरूले स्थायी, सुखमय जीवन बिताउन मदत पाउनुपर्ने हो। अनि फलस्वरूप यी मूल्य तथा मान्यताहरू पालन गर्ने समाजका मानिसहरू सुखी र अझ स्थायी हुनेछन्‌। यो कुरा पक्कै हो त? आउनुहोस्‌, दुइटा महत्त्वपूर्ण विषयमा बाइबलले के भन्छ, हामी हेरौं: पति पत्नीसित वफादारी हुनु र दैनिक जीवनमा इमानदारी।

आफ्नो जीवनसाथीप्रति वफादार हुनुहोस्‌

हाम्रो सृष्टिकर्ताले पहिला आदमको अनि तिनको सहयोगी हव्वाको सृष्टि गर्नुभयो। इतिहासमा तिनीहरूको बन्धन नै सबैभन्दा पहिलो विवाह थियो र यो सम्बन्ध चिरस्थायी हुनुपर्ने थियो। परमेश्‍वरले यसो भन्‍नुभयो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ।” झन्डै ४,००० वर्षपछि येशू ख्रीष्टले यही वैवाहिक स्तर आफ्ना सबै अनुयायीहरूलाई पनि बताउनुभयो। यसबाहेक, उहाँले पति वा पत्नीसित बाहेक अन्य व्यक्‍तिसित राखिने यौन सम्बन्धको पनि विरोध गर्नुभयो।—उत्पत्ति १:२७, २८; २:२४; मत्ती ५:२७-३०; १९:५.

बाइबलअनुसार सुखी वैवाहिक जीवनको निम्ति दुइटा महत्त्वपूर्ण कुरा दुवै जीवनसाथीले एकअर्काप्रति प्रेम र आदर गर्नु हो। परिवारको शिर पतिले आफ्नो पत्नीको भलो चिताउँदै निःस्वार्थ प्रेम देखाउनुपर्छ। तिनी “बुद्धिमानीसाथ” आफ्नी पत्नीसित बस्नुपर्छ र उनीसित “कठोर” हुनुहुँदैन। पत्नीले पनि आफ्नो पतिलाई गहिरो “आदर” गर्नुपर्छ। वैवाहिक जोडीले यी सिद्धान्तहरू पालन गरेको खण्डमा प्रायजसो वैवाहिक समस्याहरूबाट बच्न वा तीमाथि विजय हासिल गर्न सकिन्छ। फलस्वरूप, पति आफ्नो पत्नीसित र पत्नी आफ्नो पतिसित मिलेर बसिरहन चाहनेछन्‌।—१ पत्रुस ३:१-७; कलस्सी ३:१८, १९; एफिसी ५:२२-३३, नयाँ संशोधित संस्करण।

परपुरुष वा परस्त्रीसित सम्बन्ध नगाँस्ने बाइबलको स्तर पालन गर्दा के वैवाहिक जीवन सुखमय हुन्छ? जर्मनमा गरिएको एउटा सर्वेक्षणको नतिजा विचार गर्नुहोस्‌। मानिसहरूलाई असल वैवाहिक जीवनको निम्ति कुन कुराहरू महत्त्वपूर्ण छन्‌ भनेर प्रश्‍न सोधिएको थियो। सबैभन्दा धेरै उल्लेख गरिएको बुँदा थियो, एकअर्कासित वफादार हुनु। आफ्नो जोडी वफादार छ भन्‍ने थाह पाउँदा विवाहित मानिसहरू बढी खुसी हुन्छन्‌ भनेर के तपाईं सहमत हुनुहुन्‍न र?

समस्या आउँदा नि?

पति र पत्नीबीच गम्भीर असहमति भयो भने नि? तिनीहरूबीच प्रेम सेलाउँदै गयो भने नि? के त्यस्तो अवस्थामा विवाहको अन्त गर्नु नै बेस होइन र? वा आफ्नो जोडीसँग वफादार भएर मिलेर बसिरहनु भन्‍ने बाइबलको स्तर नै तार्किक छ?

मानव असिद्धताको कारण सबै वैवाहिक जोडीका समस्याहरू हुन्छन्‌ भनेर बाइबल लेखकहरूले स्वीकारे। (१ कोरिन्थी ७:२८) तैपनि, बाइबलका नैतिक स्तर पालन गर्ने दम्पतीहरू माफी दिने र मिलेर समस्या समाधान गर्ने कोसिस गर्छन्‌। निस्सन्देह, व्यभिचार वा शारीरिक दुर्व्यवहार भएको खण्डमा मसीहीले छुटेर बस्ने वा सम्बन्ध विच्छेद गर्नेबारे विचार गर्नसक्छन्‌। (मत्ती ५:३२; १९:९) तर कुनै गम्भीर कारणैविना वा अर्कोसित विवाह गर्ने उद्देश्‍यले विवाह अन्त गर्नु स्वार्थ हो। यसले निश्‍चय पनि जीवनलाई स्थायी वा आनन्दित बनाउँदैन। आउनुहोस्‌, हामी यस सम्बन्धमा केही उदाहरण हेरौं।

पिटरले आफ्नो विवाहमा एकताक भएको चमक नै हराएको महसुस गरे। a तसर्थ, तिनले आफ्नी पत्नीलाई छोडे र मोनिकासित बस्न थाले। मोनिकाले पनि आफ्नो पतिलाई छोडेकी थिइन्‌। नतिजा के भयो? केही महिनामै पिटरले मोनिकासित बस्नु “सोचेजस्तो सजिलो रहेनछ” भनेर स्वीकारे। किन? पहिलाको सम्बन्धमा जसरी मानव गल्तीहरू स्पष्ट थिए त्यसरी नै अहिलेको नयाँ सम्बन्धमा पनि स्पष्ट थिए। अझ त्यसमाथि हतारमा गरेको स्वार्थी निर्णयको कारण तिनी गम्भीर आर्थिक समस्यामा परे। यसबाहेक, मोनिकाका छोराछोरी आफ्नो पारिवारिक जीवनमा आएको आमूल परिवर्तनको कारण भावनात्मक तवरमा अस्तव्यस्त भएका थिए।

यस अनुभवले देखाएझैं वैवाहिक जीवनलाई समस्याको तुफानले घेर्ने बित्तिकै, जहाज त्याग्नु समस्याको हल होइन। अर्कोतर्फ, आँधीको बेला परमेश्‍वरको वचन बाइबलका नैतिक स्तरअनुरूप जीवन बिताउँदा विवाह बचाउन सकिन्छ। थोमस र डोरिसको कथा पनि त्यस्तै छ।

थोमस र डोरिसको विवाह भएको ३० वर्ष भइसकेको थियो जब थोमस एकदमै रक्सी पिउने भए। डोरिसचाहिं अत्यन्तै निराश भइन्‌ र दुई जनाले सम्बन्ध विच्छेद गर्ने कुरा गरे। डोरिसले आफ्नो समस्या एक यहोवाको साक्षीलाई बताइन्‌। उक्‍त साक्षीले डोरिसलाई बाइबलले विवाहबारे भनेका कुरा देखाइन्‌ र छुट्टिन हतार नगरी आफ्नो पतिसित समस्या समाधान गर्न प्रोत्साहन दिइन्‌। डोरिसले त्यसै गरिन्‌। फलतः केही महिनामै सम्बन्ध विच्छेदको कुरा हराएर गयो। थोमस र डोरिसले मिलेर आफ्ना समस्याहरू समाधान गर्न कोसिस गरे। बाइबलको सल्लाह पालन गर्दा तिनीहरूको विवाह बलियो भयो र समस्याहरू हल गर्नसके।

सबै कुरामा इमानदार

वैवाहिक जोडीप्रति वफादार हुन नैतिक तवरमा बलियो हुनुका साथै सिद्धान्तहरूप्रति प्रेम पनि हुनुपर्छ। यस बेइमान संसारमा इमानदार रहन यस्ता गुणहरूको खाँचो पर्छ। बाइबलले इमानदारीबारे थुप्रै कुरा बताउँछ। प्रेरित पावलले यहूदियास्थित प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो लेखे: “[हामी] सबै कुरामा इमान्दारीसाथ रहने इच्छा . . . गर्दछौं।” (हिब्रू १३:१८) यसको अर्थ के हो?

इमानदार मानिस सत्यवादी हुन्छ र उसमा कुनै छलछाम हुँदैन। ऊ अरूसित छली वा टेढो होइन, इमानदार र आदरणीय व्यवहार गर्छ। यसबाहेक, इमानदार मानिस निष्ठावान्‌ हुन्छ। यसले सहमानवलाई ठग्दैन। इमानदार मानिसहरू वरपर विश्‍वास र भरोसाको वातावरण हुन्छ। फलस्वरूप, सकारात्मक मनोवृत्ति फस्टाउनुका साथै मानिसहरूबीच बलियो सम्बन्ध विकास हुन्छ।

के इमानदार मानिसहरू खुसी हुन्छन्‌? तिनीहरूसित खुसी हुने कारण छ। व्याप्त भ्रष्टाचार र ठगीको बावजूद वा यसकै कारण साधारणतया इमानदार मानिसहरूको सराहना गरिन्छ। एक सर्वेक्षणमा जवानहरूमाझ ७० प्रतिशतले इमानदारीलाई असाध्यै महत्त्व दिएको पाइयो। यसबाहेक, हामी जुनसुकै उमेरको भए तापनि हामीले आफ्ना मित्रहरूमा खोज्ने प्रमुख गुण इमानदारी नै हो।

क्रिष्टिनलाई १२ वर्षको उमेरदेखि चोर्न सिकाइएको थियो। वर्षौंको दौडान उनी खप्पीस पाकेटमार भइन्‌। उनी भन्छिन्‌, “कहिलेकाहीं त मैले एकै दिनमा ५,००० जर्मन मार्कसम्म [२,२०० अमेरिकी डलर] चोरेकी छु।” तर क्रिष्टिन निकै चोटि पक्राउमा परिन्‌ र उनलाई सधैं झ्यालखाना जाने खतरा थियो। उनलाई यहोवाका साक्षीहरूले बाइबलले इमानदारीताबारे के भन्छ भनेर बताउँदा बाइबलका नैतिक स्तरहरूप्रति उनी आकर्षित भइन्‌। उनले यो सल्लाह पालन गर्न सिकिन्‌: “चोर्नेले अब उसो नचोरोस्‌।”—एफिसी ४:२८, नयाँ संशोधित संस्करण।

क्रिष्टिनले यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिउञ्जेल चोर्ने काम छोडिसकेकी थिइन्‌। साक्षीहरूले इमानदारी र अन्य मसीही गुणहरूमा निकै महत्त्व दिने भएकाले पनि उनी सबै काममा इमानदार हुन कोसिस गरिरहेकी थिइन्‌। लाउजिट्‌सर रुन्टशाउ नामक पत्रिकाको रिपोर्टअनुसार: “इमानदारी, भद्रता र छिमेकीप्रतिको प्रेम जस्ता नैतिक कुराहरूलाई साक्षीहरू महत्त्वपूर्ण सम्झन्छन्‌।” आफ्नो जीवनमा आएको परिवर्तन देखेर क्रिष्टिनलाई कस्तो लाग्यो? “चोर्न बन्द गरेदेखि म आनन्दित छु। मलाई अहिले आफू समाजको एक आदरणीय सदस्य हो जस्तो लाग्छ।”

समाजले लाभ उठाउँछ

आफ्नो पति पत्नीसित वफादार भएर बस्ने अनि सबै काममा इमानदार रहने मानिसहरू आफूसँग खुसी हुने मात्र नभई सामान्यतया समाजको लागि पनि असल हो। मानिसहरू इमानदार व्यक्‍तिलाई नै काममा लिन रुचाउँछन्‌। हामी सबैलाई भरोसायोग्य छिमेकी मनपर्छ र इमानदार मानिसले चलाएको पसलमा जान मनलाग्छ। के हामी भ्रष्टाचारबाट टाढै रहने राजनीतिज्ञ, प्रहरी र न्यायाधीशहरूको आदर गर्दैनौं र? आफूलाई सुविधा पर्ने बेला मात्र होइन तर सिद्धान्तको रूपमै इमानदार व्यवहार गर्ने मानिस हुँदा समाजले धेरै फाइदा उठाउँछ।

यसबाहेक, वफादार वैवाहिक जोडीहरू स्थायी परिवारका आधार हुन्‌। अनि अधिकांश मानिसहरू युरोपेली राजनीतिज्ञको यस घोषणासित सहमत हुनेछन्‌: “मानव सुरक्षा र उद्देश्‍यको निम्ति [परम्परागत] परिवार आजसम्म पनि सबैभन्दा महत्त्वपूर्ण आधार हो।” शान्तमय वातावरण भएको परिवारमै वयस्क तथा केटाकेटीले भावनात्मक तवरमा सुरक्षित महसुस गर्ने सुअवसर पाउँछन्‌। अतः वफादार पतिपत्नीले स्थायी समाज निर्माण गर्न मदत गरिरहेका हुन्छन्‌।

त्यागिएको जोडी, सम्बन्ध विच्छेद अदालत वा बच्चाको जिम्मा आमा या बुबा कसले लिने भन्‍ने मुद्दाहरू नभएको भए सबैले कत्ति फाइदा उठाउँथे होला, कल्पना गर्नुहोस्‌ त। अनि पाकेटमार, पसल चोर, पैसा हिनामिना गर्नेहरू, भ्रष्ट अधिकारीहरू वा फटाहा वैज्ञानिकहरू हुँदै नभएको भए नि? के यो केवल सपनाजस्तो लाग्छ? बाइबल र यसले भविष्यबारे बताउने कुरामा गहिरो चासो लिने मानिसहरूलाई यो सपनाजस्तो लाग्दैन। यहोवाको मसीही राज्यले पृथ्वीमा भएका सबै मानव समाजमाथि राज्य गर्नेछ भनी परमेश्‍वरको वचनले प्रतिज्ञा गर्छ। त्यस राज्यअन्तर्गत सबै प्रजाहरूलाई बाइबलका नैतिक स्तरहरूअनुरूप जीवन बिताउन सिकाइनेछ। त्यतिबेला, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

बाइबलको नैतिकता नै सर्वोत्तम नैतिकता हो

पवित्र धर्मशास्त्र राम्ररी जाँच्ने लाखौं मानिसहरूले बाइबलको सल्लाह ईश्‍वरीय बुद्धिमा आधारित छ भनेर बुझेका छन्‌ र यो बुद्धि कुनै पनि मानव सोचाइभन्दा सर्वोत्तम छ। त्यस्ता मानिसहरू बाइबललाई भरपर्दो सम्झनुका साथै हाम्रो आधुनिक संसारका लागि व्यावहारिक ठान्छन्‌। परमेश्‍वरको वचनको सल्लाह पालन गर्नु नै सबैभन्दा उत्तम कुरा हो भनेर तिनीहरूलाई थाह छ।

तसर्थ, त्यस्ता मानिसहरू हाम्रो सृष्टिकर्ताले भन्‍नुभएका कुरा हृदयंगम गर्छन्‌: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यस वचनअनुसार चलेर तिनीहरूले आफ्नो जीवनमा निकै प्रगति गर्नुका साथै तिनीहरू वरपरका मानिसहरूलाई पनि फाइदा हुन्छ। अनि तिनीहरूले ‘पछि हुने जीवनमाथि’ बलियो भरोसा गर्न थाल्छन्‌। किनकि त्यतिखेर सबै मानिसजातिले बाइबलको नैतिक नियम पालन गर्नेछन्‌।—१ तिमोथी ४:८.

[फुटनोट]

a यस लेखमा केही नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

वैवाहिक आँधीको बेला परमेश्‍वरको वचन बाइबलका नैतिक स्तरअनुरूप जीवन बिताउँदा विवाह बचाउन सकिन्छ

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

व्याप्त भ्रष्टाचार र ठगीको बावजूद वा यसकै कारण साधारणतया इमानदार मानिसहरूको सराहना गरिन्छ