सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं नैतिक तवरमा स्वच्छ रहन सक्नुहुन्छ

तपाईं नैतिक तवरमा स्वच्छ रहन सक्नुहुन्छ

तपाईं नैतिक तवरमा स्वच्छ रहन सक्नुहुन्छ

“हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो।” –१ यूहन्‍ना ५:३.

१. आज मानिसहरूको आचरणमा कस्तो भिन्‍नता देखिन्छ?

 धेरै समयअघि अगमवक्‍ता मलाकी परमेश्‍वरका जनहरूको आचरण उहाँलाई सेवा नगर्नेहरूको भन्दा असाध्यै फरक हुनेछ भनेर भविष्यवाणी गर्न उत्प्रेरित भएका थिए। अगमवक्‍ताले यसरी लेखे: “तिमीहरू फर्कनेछौ, औ धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउनसक्नेछौ।” (मलाकी ३:१८) त्यो भविष्यवाणी आज पूरा हुँदैछ। परमेश्‍वरका अन्य आज्ञाहरूलगायत नैतिक स्वच्छताको आज्ञा पालन गर्नु नै उचित र बुद्धिमानी मार्ग हो। यद्यपि, त्यसो गर्न सधैं सजिलो हुँदैन। त्यसकारण, असलै कारणका लागि येशूले मसीहीहरूले उद्धार पाउन कडा प्रयत्न गर्नुपर्छ भन्‍नुभयो।—लूका १३:२३, २४.

२. कसै कसैलाई नैतिक तवरमा स्वच्छ रहन कस्ता बाह्‍य दबाउले गर्दा गाह्रो हुन्छ?

आज नैतिक तवरमा स्वच्छ रहन किन गाह्रो छ? एउटा कारण त, बाह्‍य दबाउहरू हुन्‌। मनोरञ्जन जगत्‌ले अवैध यौन सम्बन्धलाई आकर्षक, आनन्ददायी हुनुका साथै वयस्क हुनुको चिह्न हो भनेर देखाउँछ र नकारात्मक नतिजाहरूको पूर्णतया बेवास्ता गर्छ। (एफिसी ४:१७-१९) प्रायजसो देखाइने यौन सम्बन्धहरू अविवाहित मानिसहरूबीच हुन्छन्‌। अक्सर, चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा यौनसम्बन्धलाई आकस्मिक अनि हल्का रूपमा प्रस्तुत गरिन्छ। अक्सर, यसरी प्रस्तुत गरिएको कार्यक्रममा न्यानोपन र आपसी आदरको कमी हुन्छ। थुप्रै मानिसले यस्तो कुरा बाल्यकालदेखि नै सुन्दै र हेर्दै आएका छन्‌। यसबाहेक, आजको स्वतन्त्र नैतिक वातावरणअनुसार चल्न साथीहरूले निकै दबाउ दिन्छन्‌ र त्यस्तो दबाउको प्रतिरोध गर्नेहरू अक्सर गिल्ला वा ठट्टाको पात्र हुन्छन्‌।—१ पत्रुस ४:४.

३. आज संसारमा थुप्रै मानिस अनैतिकतामा फस्ने केही कारण के हुन्‌?

आन्तरिक दबाउले गर्दा पनि नैतिक तवरमा स्वच्छ रहन गाह्रो हुन्छ। यहोवाले मानिसलाई यौन इच्छासहित सृष्टि गर्नुभयो र ती इच्छाहरू प्रबल हुनसक्छन्‌। हामी मनमा के कुरा खेलाउँछौं त्यससित इच्छाको नजिकको सम्बन्ध छ अनि अनैतिकता यहोवाको सोचाइसित मेल खाँदैन। (याकूब १:१४, १५) उदाहरणका लागि, ब्रिटिश मेडिकल जर्नल-मा हालै प्रकाशित सर्वेक्षणअनुसार पहिलो चोटि यौन सम्पर्क राख्नेहरू केवल यौन कस्तो हुन्छ भनेर जान्‍न उत्सुक थिए। अरूचाहिं आफ्नो उमेरका अन्य मानिसहरू यौन गतिविधिमा सक्रिय भएकाले आफू पनि आफ्नो कौमार्य गुमाउन चाहन्थे। कसैले चाहिं आफू भावनामा बगेको वा “त्यतिबेला अलि धेरै मात्तिएको थिएँ” भने। हामी परमेश्‍वरलाई खुसी तुल्याउन चाहन्छौं भने हामीले अर्कै प्रकारको तर्क गर्नुपर्छ। त्यसोभए, कस्तो प्रकारको सोचाइले हामीलाई नैतिक तवरमा स्वच्छ रहन मदत गर्छ त?

विश्‍वास बलियो बनाउनुहोस्‌

४. नैतिक तवरमा स्वच्छ रहन हामीले के गर्नैपर्छ?

नैतिक तवरमा स्वच्छ रहन हामीले त्यस्तो जीवनशैलीअनुसार चल्नु फाइदाजनक छ भनेर स्वीकार्नुपर्छ। यो प्रेरित पावलले रोमका मसीहीहरूलाई लेखेका कुराअनुरूप छ: “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) नैतिक तवरमा स्वच्छ रहनु लाभदायी छ भनेर स्वीकार्नुमा परमेश्‍वरको वचनले अनैतिकताको विरोध गर्छ भनेर थाह पाउनु मात्र समावेश छैन। यसमा किन अनैतिकता गलत हो र यसबाट अलग रहँदा के फाइदा हुन्छ भनेर थाह पाउनु पनि समावेश छ। यीमध्ये केही कारण अघिल्लो लेखमा छलफल गरिएको थियो।

५. मसीहीहरू नैतिक तवरमा स्वच्छ रहन चाहनुको मुख्य कारण के हुनुपर्छ?

तर यौन अनैतिकताबाट साँच्चै अलग रहन मसीहीहरूको निम्ति सबैभन्दा सशक्‍त कारण परमेश्‍वरसितको हाम्रो सम्बन्ध हो। हाम्रोलागि सबैभन्दा राम्रो के हुन्छ उहाँलाई थाह छ भनेर हामीले सिकेका छौं। हामीलाई उहाँप्रतिको प्रेमले खराब कुरालाई घृणा गर्न मदत गर्छ। (भजन ९७:१०) परमेश्‍वर “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दाता हुनुहुन्छ। (याकूब १:१७) उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँप्रति आज्ञाकारी हुँदा उहाँलाई प्रेम गर्नुका साथै उहाँले हाम्रोनिम्ति गर्नुभएका सबै कुराको मूल्यांकन गर्छौं भनेर हामीले देखाइरहेका हुनेछौं। (१ यूहन्‍ना ५:३) हामी यहोवालाई उहाँका आज्ञाहरू उल्लंघन गरेर कहिल्यै निराश र दुःखित तुल्याउन चाहँदैनौं। (भजन ७८:४१) उहाँको पवित्र तथा धार्मिक उपासनाको निन्दा हुने चालचलनमा हामी चल्न चाहँदैनौं। (तीतस २:५; २ पत्रुस २:२) नैतिक तवरमा स्वच्छ रहेर हामी सर्वोच्च परमेश्‍वरलाई आनन्दित तुल्याउँछौं।—हितोपदेश २७:११.

६. हाम्रो नैतिक स्तरबारे अरूलाई थाह दिंदा कसरी फाइदा हुन्छ?

एक चोटि नैतिक तवरमा स्वच्छ रहन संकल्प गरेपछि आफ्नो विश्‍वासबारे अरूलाई थाह दिनु थप सुरक्षा हुनेछ। मानिसहरूले तपाईं यहोवा परमेश्‍वरको सेवक हुनुहुन्छ र तपाईं उहाँको उच्च नैतिक स्तर कायम राख्न कटिबद्ध हुनुहुन्छ भनेर थाह पाऊन्‌। यो तपाईंको जीवन, तपाईंको शरीर र तपाईंको छनौट हो। यौन अनैतिकतामा फसेर तपाईंले कुन कुरा दाऊमा लगाइरहनुभएको हुनेछ? स्वर्गमा हुनुहुने पितासित तपाईंको अनमोल सम्बन्ध। त्यसैले तपाईंको नैतिक निष्ठामा सम्झौता गर्न मिल्दैन भनेर स्पष्ट पार्नुहोस्‌। परमेश्‍वरका सिद्धान्तहरू दृढतासाथ पक्रेर परमेश्‍वरको प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्नुहोस्‌। (भजन ६४:१०) तपाईंको नैतिक विश्‍वासबारे अरूसित छलफल गर्न कहिल्यै शर्म नमान्‍नुहोस्‌। साहसी भएर बोल्दा त्यसले तपाईंलाई बलियो बनाउनेछ र सुरक्षा प्रदान गर्नेछ अनि तपाईंको नमुना पछ्याउन अरू व्यक्‍तिहरू पनि प्रोत्साहित हुनेछन्‌।—१ तिमोथी ४:१२.

७. नैतिक तवरमा स्वच्छ रहने हाम्रो संकल्प कसरी कायमै राख्नसक्छौं?

उच्च नैतिक स्तर कायम राख्ने संकल्प गरेर अरूलाई आफ्नो अडान थाह दिएपछि आफ्नो संकल्पअनुसार चलिरहन हामीले केही कदम चाल्नुपर्छ। एउटा कदम हो, होसियारीसाथ साथीहरू छान्‍ने। बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ।” आफ्नोजस्तै नैतिक स्तर भएकाहरूसित संगत गर्नुहोस्‌। किनकि तिनीहरूले तपाईंलाई बलियो बनाउने छन्‌। सोही शास्त्रपदले अझ यसो पनि भन्छ: “मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) सम्भव भएसम्म हाम्रो संकल्पलाई कमजोर तुल्याउनसक्ने मानिसहरूसित संगत नगर्नुहोस्‌।—१ कोरिन्थी १५:३३.

८. (क) हामीले आफ्नो मन किन स्वास्थ्यवर्धक कुराले भर्नुपर्छ? (ख) हामी कस्ता कुराबाट बच्नुपर्छ?

यसबाहेक, हामीले आफ्नो मन सच्चा, आदरणीय, चोखा, असल, मनपर्दा, सद्‌गुण र प्रशंसाका कुराहरूले भर्नुपर्छ। (फिलिप्पी ४:८) यो हामी आफूले हेर्ने र पढ्‌ने कुरामा अनि सुन्‍ने संगीतमा होसियार भएर गर्नसक्छौं। अनैतिक साहित्यहरूले भ्रष्ट पार्दैन भन्‍नु नैतिक साहित्यहरूले कुनै सकारात्मक प्रभाव पार्दैन भन्‍नु बराबर हो। असिद्ध मानिसहरू सजिलै अनैतिकतामा फस्नसक्छन्‌ भनेर नबिर्सनुहोस्‌। त्यसैले, यौन भावनाहरू प्रबल पार्ने पुस्तक, पत्रिका, चलचित्र र संगीतले कुइच्छातर्फ डोऱ्‍याउँछ र यसले अन्ततः पापतर्फ धकेल्नसक्छ। नैतिक स्वच्छता कायम राख्न हामीले आफ्नो मनमा ईश्‍वरीय बुद्धि भर्नुपर्छ।—याकूब ३:१७.

अनैतिकतातर्फ डोऱ्‍याउने कदमहरू

९-११. सुलेमानको विवरणअनुसार कस्ता कदमहरूले एउटा ठीटोलाई बिस्तारै अनैतिकतातर्फ डोऱ्‍यायो?

अक्सर, अनैतिकतातर्फ डोऱ्‍याउने कदमहरू चिन्‍न सकिन्छ। त्यसतर्फ चालिएको प्रत्येक कदमले फर्कन गाह्रो बनाउँछ। यसबारे हितोपदेश ७:६-२३ मा (नयाँ संशोधित संस्करण) कसरी वर्णन गरिएको छ, ध्यान दिनुहोस्‌। सुलेमानले “बेसमझ[को]” वा असल समझ वा मनसाय नभएका एउटा ठीटो देख्छन्‌। त्यस ठीटो “त्यो स्त्री बस्ने गल्लीमा . . . हिंड़िरहेको र त्यसकै [वेश्‍याको] घरतिर पाइला बढ़ाइरहेको मैले देखें। साँझमा, जब दिन अस्ताउँदै जाँदा, रात अँध्यारो हुँदैजान्छ।” यो उसको पहिलो गल्ती हो। दिन अस्ताउँदै जाँदा तिनको “बेसमझ” मनले उसलाई गल्लीतिर मात्र होइन तर अक्सर वेश्‍याहरू भेटिने ठाउँतर्फ डोऱ्‍याएको छ।

१० त्यसपछि हामी यस्तो पढ्‌छौं: “एउटी स्त्री उसलाई भेट्‌न निस्केर आई, वेश्‍याझैं पहिरेकी र धूर्त नियत भएकी।” ठिटोले त्यस वेश्‍यालाई देख्छ! ऊ त्यहींबाट फनक्क फर्केर घर जानसक्थ्यो तर यसो गर्नु पहिलाभन्दा गाह्रो छ किनभने ऊ नैतिक तवरमा कमजोर छ। वेश्‍याले त्यस ठिटोलाई समातेर चुम्बन गर्छे। चुम्बन स्वीकारेपछि वेश्‍याले फकाउन थाल्छे र त्यो ठिटो सुनिरहन्छ। “मैले एउटा मेलबलि चढ़ाउनु परेको छ,” उसले भन्छे। “मैले आज आफ्नो भाकल पूरा गरें।” मेलबलिमा मासु, पिठो, तेल र दाखमद्य समावेश हुन्थ्यो। (लेवी १९:५, ६; २२:२१; गन्ती १५:८-१०) ती कुराहरू उल्लेख गरेर तिनले आफू आध्यात्मिक तवरमा कमजोर छैन भनेर संकेत गर्नुका साथसाथै तिनको घरमा प्रशस्त मीठामीठा खानेकुरा छन्‌ भनेर थाह दिइरहेको पनि हुनसक्छ। ऊ यसो भन्दै जिद्दी गर्छे: “आउनुहोस्‌! बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त होऔं।”

११ यसको नतिजाको पूर्वानुमान लगाउनु गाह्रो छैन। “मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई।” ऊ “कसाईखानातिर लागेको गोरुझैं” र “जालतिर वेगले उड़ेको चराझैं” उसको पछि लाग्छ। सुलेमान अन्तमा यस्तो विचारणीय कुरा भन्छन्‌: “आफ्नो ज्यानै गुमाउँछु भन्‍ने उसलाई ज्ञानै छैन।” उसको प्राण वा जीवन विथोलित छ किनभने “व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) पुरुष तथा स्त्री दुवैको निम्ति कस्तो सशक्‍त पाठ! परमेश्‍वरको अनुग्रह गुमाउने मार्गतर्फ हामी अलिकति पनि अघि बढ्‌नु हुँदैन।

१२. (क) “बेसमझ” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (ख) हामी कसरी नैतिक बल बढाउनसक्छौं?

१२ नबिर्सनुहोस्‌, यस विवरणको ठीटो “बेसमझ” थियो। यो पदावलीले उसको सोचाइ, इच्छा, स्नेह, भावना र लक्ष्यहरू परमेश्‍वरलाई मन पर्ने खालको थिएन भनेर बुझाउँछ। उसको नैतिक कमजोरीको नतिजा दुःखलाग्दो भयो। यी “आखिरी दिनमा” नैतिक तवरमा बलियो हुन प्रयत्न गर्नुपर्छ। (२ तिमोथी ३:१) हामीलाई मदत गर्न परमेश्‍वरले प्रबन्धहरू मिलाउनुभएको छ। हामीलाई सही मार्गमा डोऱ्‍याउन र हाम्रोजस्तै लक्ष्यहरू भएका मानिसहरूसित सम्पर्कमा ल्याउन उहाँले मसीही मण्डलीको प्रबन्ध गर्नुभएको छ। (हिब्रू १०:२४, २५) हाम्रो गोठालो गर्न र धार्मिकताका मार्गहरू सिकाउन मण्डलीमा प्राचीनहरू छन्‌। (एफिसी ४:११, १२) हामीलाई डोऱ्‍याउन र निर्देशन दिन परमेश्‍वरको वचन, बाइबल छ। (२ तिमोथी ३:१६) अनि हामी हर समय परमेश्‍वरको आत्माको मदत माग्न प्रार्थना गर्नसक्छौं।—मत्ती २६:४१.

दाऊदको पापबाट पाठ सिक्ने

१३, १४. राजा दाऊद कसरी गम्भीर पापमा फसे?

१३ दुःखको कुरा, परमेश्‍वरका उल्लेखनीय सेवकहरूसमेत यौन अनैतिकतामा फसेका छन्‌। त्यस्तो एक जना व्यक्‍ति राजा दाऊद हुन्‌। तिनले दशकौंदेखि यहोवाको विश्‍वासी भई सेवा गर्दै आएका थिए। तिनले परमेश्‍वरलाई असाध्यै प्रेम गर्थे भन्‍ने कुरामा कुनै शंका छैन। तैपनि, तिनी पापमा फसे। सुलेमानले भनेका ठीटोले जस्तै दाऊदले पनि पापतर्फ कदम चाले र पछि कुरा झनै बिग्रियो।

१४ त्यतिबेला दाऊद अधबैंसे अर्थात्‌ ५० वर्ष नाघिसकेका थिए। तिनले आफ्नो कौसीबाट सुन्दरी बेतशेबालाई नुहाइरहेकी देखे। तिनले उनीबारे सोधपुछ गरे र उनी को रहेछिन्‌ भनेर थाह पाए। तिनले उनको पति उरियाह अम्मोनी शहर, रब्बालाई कब्जा गर्न गएको कुरा पनि थाह पाए। दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन मानिसहरू पठाए र उनीसित अनैतिक सम्बन्ध राखे। पछि, कुरा झन्‌ गोलमाल भयो किनभने उनी गर्भवती भइन्‌। उरियाहले आफ्नी पत्नीसित रात बिताउनेछ भन्‍ने आशामा दाऊदले तिनलाई रणभूमिबाट फिर्ता बोलाए। त्यसो गर्दा उरियाह नै बेतशेबाको बच्चाको बुबा जस्तो देखिने थियो। तर, उरियाह आफ्नो घर जाँदैनन्‌। आफ्नो पाप ढाक्न व्याकुल भएर दाऊदले उरियाहको हातमा प्रधान सेनापतिका लागि चिठी पठाउँछन्‌ र त्यो चिठीमा उरियाहलाई लडाइँ खूब मच्चिएको ठाउँमा शत्रुकै मुखमा पठाएर त्यो त्यहाँ मरोस्‌ भनिएको थियो। यसरी उरियाहले आफ्नो ज्यान गुमाए र दाऊदले तिनको विधवालाई उनी गर्भवती छिन्‌ भनेर सबैले थाह पाउनुअघि नै विवाह गरे।—२ शमूएल ११:१-२७.

१५. (क) दाऊदको पाप कसरी उदांग पारियो? (ख) नातानले कुशलतासाथ दिएको ताडनाप्रति दाऊदले कस्तो प्रतिक्रिया देखाए?

१५ यसो हेर्दा, दाऊद आफ्नो पाप ढाक्न सफल भएजस्तो देखिन्छ। महिनौं बित्यो। बच्चा अर्थात्‌ छोरा पनि जन्मियो। भजन ३२ रचना गर्दा दाऊदको मनमा यही कुरा थियो भने स्पष्टतः तिनको अन्तस्करणले तिनलाई घोचिरहेको थियो। (भजन ३२:३-५) तथापि, यो पाप परमेश्‍वरबाट लुकेको थिएन। बाइबल यसो भन्छ: “जे दाऊदले गरेका थिए त्यो परमप्रभुको दृष्टिमा खराब थियो।” (२ शमूएल ११:२७) यहोवाले नातान अगमवक्‍ता पठाउनुभयो र तिनले कुशलतासाथ दाऊदलाई तिनको गल्ती अवगत गराए। दाऊदले पनि आफ्नो गल्ती तुरुन्तै स्वीकारे र यहोवासित क्षमायाचना गरे। तिनले साँचो पश्‍चात्ताप गरेको हुनाले परमेश्‍वरसित तिनको पुनर्मिलाप भयो। (२ शमूएल १२:१-१३) दाऊदले ताडनाको विरोध गरेनन्‌। बरु, तिनले भजन १४१:५ मा वर्णन गरिएको मनोवृत्ति देखाए: “धर्मात्माले मलाई पिटोस्‌, त्यो मेरो निम्ति दयाझैं हुनेछ, तिनले मलाई चेताउनी दिऊन्‌, त्यो मेरो शिरमा तेलझैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्‌।”

१६. पापबारे सुलेमानले कस्तो चेताउनी र सल्लाह दिए?

१६ दाऊद र बेतशेबाका माहिलो छोरा सुलेमानले आफ्नो पिताको जीवनको यस अन्धकारमय समयबारे विचार गरेका हुनसक्छन्‌। तिनले पछि यसरी लेखे: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड़यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) हामी गम्भीर पापमा फस्यौं भने यस प्रेरित सल्लाह सुन्‍नुपर्छ जुन सल्लाह र चेताउनी दुवै हो। हामीले यहोवासामु आफ्नो पाप स्वीकार्नुपर्छ र मदतको निम्ति मण्डलीका प्राचीनहरूकहाँ जानुपर्छ। प्राचीनहरूको एउटा महत्त्वपूर्ण जिम्मेवारी गम्भीर पापमा फसेकाहरूलाई पुनः सच्याउन मदत गर्नु हो।—याकूब ५:१४, १५.

पापका नतिजाहरू भोग्ने

१७. यहोवाले पापहरू क्षमा गर्नुभए तापनि कस्ता कुराहरूबाट बचाउनुहुन्‍न?

१७ यहोवाले दाऊदलाई क्षमा दिनुभयो? किन? किनभने दाऊद निष्ठावान्‌ मानिस थिए। तिनले अरू व्यक्‍तिहरूमाथि दया देखाएका थिए र साँचो पश्‍चात्ताप पनि गरेका थिए। यद्यपि, दाऊदलाई त्यसपछि भएका विनाशकारी नतिजाहरूबाट बचाइएन। (२ शमूएल १२:९-१४) आज पनि त्यही कुरा लागू हुन्छ। यहोवाले पश्‍चात्तापीहरूको खराबी नचिताउनु भए तापनि तिनीहरूको गलत कामको स्वाभाविक नतिजाहरूबाट भने बचाउनुहुन्‍न। (गलाती ६:७) यौन अनैतिकताका केही नतिजाहरू, सम्बन्ध विच्छेद, नचाहिंदो गर्भाधारण, यौनजन्य रोगहरू र विश्‍वास तथा आदर गुमाउनु हो।

१८. (क) पावलले कोरिन्थी मण्डलीलाई घोर यौन अनैतिकता कसरी हटाउने सल्लाह दिए? (ख) यहोवा पापीहरूप्रति कसरी प्रेम र अनुकम्पा देखाउनुहुन्छ?

१८ हामी आफैले व्यक्‍तिगत तवरमा गम्भीर पाप गरेका छौं र त्यसको नतिजा भोगिरहेका छौं भने सजिलै निराश हुनसक्छौं। यद्यपि, हामीलाई पश्‍चात्ताप गर्न र परमेश्‍वरसित पुनर्मिलाप हुनबाट कुनै कुराले रोक्नु हुँदैन। प्रथम शताब्दीको दौडान पावलले कोरिन्थीहरूलाई आफ्नो बीचबाट हाडनाताकरनी गर्नेलाई हटाउनुपर्छ भनेर लेखे। (१ कोरिन्थी ५:१, १३) त्यस मानिसले साँच्चै पश्‍चात्ताप गरेपछि पावलले मण्डलीलाई यस्तो निर्देशन दिए: “तिमीहरूले अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना [दिएर] प्रेमको प्रमाण देओ।” (२ कोरिन्थी २:५-८) यस प्रेरित सल्लाहमा हामी यहोवाले पश्‍चात्तापी पापीहरूप्रति देखाउनु हुने प्रेम र अनुकम्पा देख्नसक्छौं। पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा स्वर्गदूतहरूले रमाहट गर्छन्‌।—लूका १५:१०.

१९. आफ्नो गलत मार्गको निम्ति साँच्चै दुःखी हुँदा कस्ता फाइदाहरू हुनसक्छन्‌?

१९ आफ्नो गलत मार्गको कारण दुःखी भए तापनि पश्‍चात्ताप गऱ्‍यौं भने ‘दुष्ट कामतिर नफर्कन’ त्यसले हामीलाई मदत गर्नसक्छ। (अय्यूब ३६:२१) साँच्चै, पापको कारण भोग्नुपरेको तीतो नतिजाले हामीलाई गल्ती दोहोऱ्‍याउनबाट रोक्नुपर्ने हो। यसबाहेक, दाऊदले आफ्नो यौन अनैतिकताको कारण भोगेको दुःखद्‌ घटना अरूलाई सल्लाह दिन प्रयोग गरे। तिनले यसो भने: “अपराधीहरूलाई म तपाईंको मार्ग सिकाउनेछु। र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।”—भजन ५१:१३.

यहोवाको सेवा गर्दा आनन्दित हुनेछौं

२०. परमेश्‍वरका धार्मिक आवश्‍यकताहरू आज्ञाकारी भएर पूरा गर्दा के कस्ता फाइदा हुन्छन्‌?

२० “तिनीहरू पो धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌” भनी येशूले भन्‍नुभयो। (लूका ११:२८) परमेश्‍वरका धार्मिक आवश्‍यकताहरू आज्ञाकारी भएर पूरा गर्दा हामी अहिले र अनन्त भविष्यसम्म आनन्दित हुनेछौं। हामी नैतिक तवरमा स्वच्छ रहेका छौं भने यहोवाले हाम्रो मदतको निम्ति प्रबन्ध गर्नुभएका सबै कुराहरूको फाइदा उठाउँदै हामी त्यही मार्गमा चलिरहौं। हामी अनैतिकतामा फसेका छौं भने साँच्चै पश्‍चात्ताप गर्नेहरूलाई क्षमा गर्न यहोवा तयार हुनुहुन्छ भन्‍ने कुरामा प्रोत्साहित हुनुहोस्‌ र आफ्नो पाप फेरि कहिल्यै नदोहोऱ्‍याउने निर्णय गर्नुहोस्‌।—यशैया ५५:७.

२१. प्रेरित पावलको कस्तो सल्लाह लागू गर्दा हामी नैतिक तवरमा स्वच्छ रहन मदत पाउँछौं?

२१ चाँडै यो अधार्मिक संसार यसका अनैतिक मनोवृत्ति र बानीहरूसँगसँगै बितेर जानेछ। नैतिक शुद्धता कायम राखेको खण्डमा हामीले अहिले र भविष्यमा फाइदा उठाउनेछौं। प्रेरित पत्रुसले यस्तो लेखे: “हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर। . . . यी कुराहरू अघिबाटै थाह पाएका भएर होशियार रहो, नत्रता दुष्टहरूका भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्ना दृढ़ताबाट पतित हुनेछौ।”—२ पत्रुस ३:१४, १७.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• नैतिक तवरमा स्वच्छ रहनु किन गाह्रो हुनसक्छ?

• उच्च नैतिक स्तरअनुसार चल्ने हाम्रो संकल्प कायम राख्ने केही तरिकाहरू के हुन्‌?

• सुलेमानले उल्लेख गरेका जवान मानिसको पापबाट हामीले कस्तो पाठ सिक्नसक्छौं?

• पश्‍चात्तापबारे दाऊदको उदाहरणले हामीलाई कस्तो पाठ सिकाउँछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

नैतिकताको सन्दर्भमा तपाईंको स्थान अरूलाई थाह दिनु सुरक्षा हो

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

दाऊदले साँच्चै पश्‍चात्ताप गरेको कारण यहोवाले तिनलाई क्षमा गर्नुभयो