सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नैतिक स्वच्छताबारे ईश्‍वरीय दृष्टिकोण

नैतिक स्वच्छताबारे ईश्‍वरीय दृष्टिकोण

नैतिक स्वच्छताबारे ईश्‍वरीय दृष्टिकोण

“म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”–यशैया ४८:१७.

१, २. (क) साधारणतया मानिसहरू यौन नैतिकताबारे कस्तो सोचाइ राख्छन्‌? (ख) यौन नैतिकताबारे मसीहीहरूको कस्तो सोचाइ छ?

 आज संसारको थुप्रै भागमा नैतिक आचरणलाई व्यक्‍तिगत मामिलाको रूपमा लिन थालिएको छ। मानिसहरू यौन सम्बन्धलाई मन लागेको बेला स्नेह व्यक्‍त गर्ने प्राकृतिक तरिका सम्झन्छन्‌। तिनीहरू त्यसलाई विवाहभित्र मात्र सीमित हुनुपर्ने कुराको रूपमा लिंदैनन्‌। तिनीहरू भन्छन्‌, कसैलाई हानि हुँदैन भने आफै निर्णय गर्दा कुनै खराबी हुँदैन। तिनीहरूको विचारमा नैतिकता र अझ विशेष गरी यौन आचरणको आधारमा अरूको न्याय गर्न मिल्दैन।

तर यहोवालाई चिन्‍ने मानिसहरूको सोचाइ फरक छ। तिनीहरू खुसीसाथ धर्मशास्त्रीय निर्देशन पालन गर्छन्‌। किनभने तिनीहरू यहोवा परमेश्‍वरलाई प्रेम गर्छन्‌ र उहाँलाई खुसी पार्न चाहन्छन्‌। यहोवाले तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूकै भलाइको निम्ति उहाँ निर्देशन दिनुहुन्छ भनेर तिनीहरूलाई थाह छ। त्यो निर्देशन साँच्चै तिनीहरूको फाइदाको निम्ति हो र त्यसबाट तिनीहरूले आनन्द उठाउनेछन्‌ भनेर पनि तिनीहरूले बुझेका छन्‌। (यशैया ४८:१७) परमेश्‍वर जीवनको स्रोत हुनुभएकोले शरीर र अझ विशेष गरी जीवनको सुरुआतसित अत्यन्त नजिकको सम्बन्ध भएको यो मामिलामा उहाँको निर्देशन खोज्नु व्यावहारिक हो।

मायालु सृष्टिकर्ताले दिनुभएको वरदान

३. यौन सम्बन्धबारे मसीहीजगत्‌मा थुप्रैलाई कस्तो कुरा सिकाएको छ र त्यो शिक्षा बाइबलको शिक्षासित मेल खान्छ कि खाँदैन?

आज संसारको सोचाइ विपरीत मसीहीजगत्‌का कोही कोहीले यौन सम्बन्ध लज्जाजनक, पापपूर्ण छ भनेर सिकाउँछन्‌ भने अदनको बगैंचामा भएको “पहिलो पाप” नै आदम र हव्वाबीचको यौन सम्बन्ध थियो भनेर पनि सिकाउँछन्‌। तर त्यस्तो विचारधारा प्रेरित धर्मशास्त्रमा पाइने कुरासित मेल खाँदैन। बाइबलले प्रथम मानव दम्पतीलाई “मानिस र तिनकी स्वास्नी” भनी सम्बोधन गर्छ। (उत्पत्ति २:२५) परमेश्‍वरले तिनीहरूलाई यसो भन्दै सन्तान जन्माउने आदेश दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२८) परमेश्‍वरले एकातिर आदम र हव्वालाई सन्तान जन्माउने आदेश दिनु र फेरि त्यही निर्देशनहरू पालन गरेकोमा दण्ड दिनु विरोधाभास हुनेथियो।—भजन १९:८.

४. परमेश्‍वरले मानिसलाई किन यौन शक्‍ति दिनुभयो?

हाम्रो प्रथम आमाबाबु र पछि नूह अनि तिनका छोराहरूलाई दोहोऱ्‍याइएको उक्‍त आज्ञामा यौन सम्बन्धको प्रमुख उद्देश्‍य सन्तान जन्माउनु रहेछ भनेर हामी देख्छौं। (उत्पत्ति ९:१) तथापि, परमेश्‍वरको वचनले उहाँका विवाहित सेवकहरूले यौन सम्बन्धलाई केवल सन्तान जन्माउने दायराभित्र मात्र सीमित राख्नु आवश्‍यक छैन भनेर बताउँछ। त्यस्तो सम्बन्धले भावनात्मक तथा शारीरिक आवश्‍यकताहरू पूरा गर्नसक्छ र विवाहित दम्पतीहरूको निम्ति आनन्दको स्रोत हुनसक्छ। यो आपसमा गहिरो स्नेह व्यक्‍त गर्ने तरिका हो।—उत्पत्ति २६:८, ९; हितोपदेश ५:१८, १९; १ कोरिन्थी ७:३-५.

ईश्‍वरीय प्रतिबन्ध

५. मानिसहरूको यौन गतिविधिमा परमेश्‍वरले कस्तो प्रतिबन्ध लगाउनुभएको छ?

यौन, परमेश्‍वरले दिनुभएको वरदान भए तापनि त्यसलाई जथाभावी अनियन्त्रित ढंगमा व्यक्‍त गर्नु हुँदैन। यो सिद्धान्त विवाहभित्र पनि लागू हुन्छ। (एफिसी ५:२८-३०; १ पत्रुस ३:१, ७) विवाहबाहिर यौन सम्बन्ध राख्नु निषेध गरिएको छ। यस विषयमा बाइबल स्पष्ट छ। परमेश्‍वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा यसो भनिएको थियो: “तैंले व्यभिचार नगर्नू।” (प्रस्थान २०:१४) पछि, येशूले मानिसलाई अपवित्र तुल्याउने हृदयबाट निस्कने “खराब विचार[मा] . . . व्यभिचार, . . . वेश्‍यागमन” पनि समावेश गर्नुभयो। (मर्कूस ७:२१, २२) प्रेरित पावल कोरिन्थका मसीहीहरूलाई यस्तो लेख्न उत्प्रेरित भए: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१८) अनि पावलले हिब्रूहरूलाई लेखेको पत्रमा यसो भने: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।”—हिब्रू १३:४.

६. बाइबलमा “व्यभिचार” शब्दमा के के समावेश छ?

“व्यभिचार” शब्दको अर्थ के हो? यो युनानी शब्द पोरनिया-बाट आएको हो र यो कहिलेकाहीं अविवाहित मानिसहरूबीचको यौन सम्बन्ध बुझाउन प्रयोग गरिन्छ। (१ कोरिन्थी ६:९) मत्ती ५:३२ र मत्ती १९:९ जस्ता शास्त्रपदहरूमा यस शब्दको अझ विस्तृत अर्थ खुलाइएको छ। यसमा जारी, हाडनाताकरनी तथा पशुसम्भोगलाई पनि समावेश गरिएको छ। अनि विवाह नभएकाहरूबीच मुख र मलद्वार मैथुन तथा अर्को व्यक्‍तिको जननेन्द्रिय सुमसुम्याउने जस्ता यौन क्रियालाई पनि पोरनिया अन्तर्गत समावेश गर्न सकिन्छ। परमेश्‍वरको वचनमा त्यस्ता सबै कार्यको स्पष्टसित वा संकेत गरेर निन्दा गरिएको छ।—लेवी २०:१०, १३, १५, १६; रोमी १:२४, २६, २७, ३२. a

परमेश्‍वरको नैतिक व्यवस्थाबाट फाइदा उठाउने

७. नैतिक तवरमा स्वच्छ हुँदा हामीले कसरी फाइदा उठाउँछौं?

असिद्ध मानिसहरूको निम्ति यहोवाको यौन आचरणसम्बन्धी निर्देशन पालन गर्नु चुनौतीपूर्ण हुनसक्छ। बाह्रौं शताब्दीका प्रख्यात यहूदी दर्शनशास्त्री माइमोनाइड्‌सले यस्तो लेखे: “[मोशालाई दिइएको व्यवस्था] तोरहमा निषेधित गरिएका कुराहरूमध्ये नैतिक नियम र अनुचित यौनसम्बन्धी आज्ञा जस्तो पालन गर्न गाह्रो आज्ञा अरू कुनै छैन।” तर परमेश्‍वरको निर्देशन पालन गरेको खण्डमा हामीले निकै फाइदा उठाउनसक्छौं। (यशैया ४८:१८) उदाहरणका लागि, यस विषयमा हामी आज्ञाकारी भयौं भने त्यसले हामीलाई यौनजन्य रोगहरूबाट बचाउँछ, जसमध्ये कुनै कुनैको त उपचार नै छैन र ज्यानसमेत लिनसक्छ। b विवाह नगरी गर्भवती हुनबाट बच्नेछौं। ईश्‍वरीय बुद्धि पालन गर्दा सफा अन्तस्करणको पनि आनन्द उठाउनेछौं। त्यसो गर्दा हाम्रो आत्मसम्मान बढ्‌नेछ र हाम्रा नातेदार, आफ्नै पति वा पत्नी, छोराछोरी र मसीही भाइबहिनीहरूका साथै अरू मानिसहरूबाट पनि आदर पाउनेछौं। त्यस्तै गरी, हामीलाई यौनप्रति स्वास्थ्यकर अनि सकारात्मक मनोवृत्ति राख्न मदत गर्नेछ। फलतः हाम्रो वैवाहिक जीवन सुखमय हुनेछ। एउटी मसीही बहिनीले यस्तो लेखिन्‌: “परमेश्‍वरको वचनको सत्यता सबैभन्दा उत्तम सुरक्षा हो। म विवाह गर्न चाहन्छु र विवाह गरेपछि, त्यस मसीही भाइलाई गर्वसित म बिटुलिएको छैन भन्‍न सक्नेछु।”

८. हाम्रो शुद्ध आचरणले कसरी साँचो उपासना प्रवर्धन गर्नसक्छ?

स्वच्छ आचरण कायम गरेर हामी अरूको साँचो उपासनाप्रतिको गलत धारणा पनि हटाउनसक्छौं र मानिसहरूलाई हामीले उपासना गर्ने परमेश्‍वरतर्फ आकर्षित गर्नसक्छौं। प्रेरित पत्रुसले यस्तो लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रुस २:१२) परमेश्‍वरको सेवा नगर्ने मानिसहरूले हाम्रो शुद्ध आचरण याद नगरे तापनि वा त्यससित सहमत नभए तापनि हाम्रा स्वर्गमा हुनुहुने पिताले देख्नुहुन्छ र अनुमोदन दिनुहुन्छ। साथै, उहाँको निर्देशन पालन गर्ने हाम्रो प्रयाससित उहाँ आनन्दितसमेत हुनुहुन्छ भनेर हामी निर्धक्क हुनसक्छौं।—हितोपदेश २७:११; हिब्रू ४:१३.

९. परमेश्‍वरका तर्कहरू पूर्णतया नबुझे तापनि हामी किन उहाँका निर्देशनहरूमा विश्‍वस्त हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

परमेश्‍वरमाथि विश्‍वास गर्नुमा उहाँले दिनुभएका निर्देशनहरू पूर्णतया नबुझे तापनि हाम्रो सर्वोत्तम भलाइ उहाँलाई थाह छ भनेर विश्‍वस्त हुनु पनि समावेश छ। उदाहरणका लागि, मोशालाई दिइएको व्यवस्थाको एउटा बुँदालाई विचार गर्नुहोस्‌। सेनाहरूका छाउनीसम्बन्धी एउटा नियमअनुसार छाउनी बाहिर दिसा बसिसकेपछि खनेर दिसा पुर्नुपर्थ्यो। (व्यवस्था २३:१३, १४) सायद, त्यस्तो निर्देशन किन दिनुभएको होला भनेर इस्राएलीहरूले विचार गरे होलान्‌ र कसै कसैले त त्यसलाई अनावश्‍यक पनि ठाने होलान्‌। तथापि, यस व्यवस्थाले पानीका मूलहरू दूषित हुनदेखि बचाउनुका साथै जीवाणुहरूले ओसार्ने थुप्रै रोगबाट जोगाउँथ्यो भनेर त्यसबेलादेखि यता चिकित्सा विज्ञानले पत्ता लगाएको छ। यसबाहेक, परमेश्‍वरले यौन सम्बन्धलाई विवाहित दम्पतीबीच मात्र सीमित राख्नुपर्छ भन्‍नुमा आध्यात्मिक, सामाजिक, भावनात्मक, शारीरिक र मनोवैज्ञानिक कारणहरू छन्‌। अब हामी नैतिक स्वच्छता कायम राख्ने बाइबलमा उल्लिखित केही व्यक्‍तिहरूको उदाहरण हेरौं।

यूसुफ—तिनको नैतिक आचरणको

कारण आशिषित्‌

१०. यूसुफलाई कसले यौन अनैतिकतामा फसाउने कोसिस गऱ्‍यो र तिनले कस्तो जवाफ दिए?

१० सायद, तपाईंलाई याकूबका छोरा यूसुफको बाइबल उदाहरणबारे थाह छ होला। तिनी १७ वर्षको उमेरमा फिरऊनका अंगरक्षकका कप्तान पोतीफरका दास भएका थिए। यहोवाले यूसुफलाई आशिष्‌ दिनुभयो र रहँदाबस्दा तिनी पोतीफरको घरको सबै कुरा रेखदेख गर्ने काममा नियुक्‍त भए। तिनी २० वर्षको होउञ्जेल “सुन्दर र हेर्नमा राम्रा” भइसकेका थिए। तिनीसँग पोतीफरकी पत्नी आकर्षित भइन्‌ र तिनलाई फसाउने कोसिस गरिन्‌। तर यूसुफले आफ्नो स्थान स्पष्ट पार्दै उनीसित सुत्न राजी हुनु तिनको मालिकलाई धोका दिइरहेको मात्र हुनेछैन तर “परमेश्‍वरको विरुद्धमा . . . पाप” गरेको पनि हुनेछ भनेर बताए। यूसुफले किन त्यस्तो तर्क गरे?—उत्पत्ति ३९:१-९.

११, १२. व्यभिचार अनि जारी निषेधित गरिएको लिखित व्यवस्था नभए तापनि यूसुफले किन त्यस्तो तर्क गरे होलान्‌?

११ स्पष्टतः यूसुफको निर्णय मानिसहरूले थाह पाउलान्‌ भन्‍ने डरमा आधारित थिएन। यूसुफको परिवार टाढा बस्थे र तिनको पिताले तिनी मरिसके भन्ठानेका थिए। यूसुफ यौन अनैतिकतामा फसेको भए तिनको परिवारले कहिल्यै थाह पाउने थिएन। त्यस्तो पाप सम्भवतः पोतीफर र तिनको पुरुष चाकरहरूबाट पनि लुकाएर राख्न सकिन्थ्यो किनभने कहिलेकाहीं घरमा कोही हुँदैनथ्यो। (उत्पत्ति ३९:११) तर, यूसुफलाई त्यस्तो आचरण परमेश्‍वरको नजरबाट लुक्न सक्दैन भनेर थाह थियो।

१२ यूसुफले आफूलाई यहोवाबारे जति थाह थियो, त्यसकै आधारमा तर्क गरेको हुनसक्छ। निस्सन्देह, यहोवाले अदनको बगैंचामा गर्नुभएको उद्‌घोषणा तिनलाई थाह थियो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्पत्ति २:२४) यसबाहेक, यूसुफको जिज्यूबज्यै सारालाई फसाउन कोसिस गरिरहेको पलिश्‍ती राजालाई यहोवाले भन्‍नुभएको कुरा यूसुफलाई थाह थियो होला। यहोवाले त्यस राजालाई यसो भन्‍नुभएको थियो: “हेर्‌, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मर्नेछस्‌, किनभने त्यो अर्काकी स्वास्नी हो। . . . हो, मलाई यो कुरो थाह छ कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्‌ र मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि मनै हुँ। यसैले ता त्यसलाई छुन मैले तँलाई दिइनँ।” (उत्पत्ति २०:३, ६) तसर्थ, यहोवाले त्यतिबेलासम्म लिखित व्यवस्था दिइसक्नु भएको थिएन तैपनि विवाहको सन्दर्भमा भने उहाँको विचार स्पष्ट थियो। यूसुफले आफ्नो नैतिक चेतना र यहोवालाई खुसी तुल्याउने चाहनाको कारण अनैतिकतामा फस्न इन्कार गरे।

१३. सम्भवतः यूसुफले किन पोतीफरकी पत्नीलाई छल्न सकेनन्‌?

१३ तथापि, पोतीफरकी पत्नीले तिनलाई “दिनदिनै” तिनीसँग सुत्न कर गरिरहिन्‌। यूसुफले किन उनलाई छल्न नसकेको त? एक दासको हैसियतमा तिनले पूरा गर्नुपर्ने जिम्मेवारीहरू थिए र तिनले आफ्नो परिस्थिति परिवर्तन गर्न सक्दैनथे। पुरातात्त्विक प्रमाणहरूअनुसार मिश्रीहरूको घरको भण्डार कोठाहरूमा जान घरको मुख्य भाग भएर नै जानुपर्थ्यो। तसर्थ, यूसुफलाई पोतीफरकी पत्नीलाई छल्न असम्भव भएको हुनसक्छ।—उत्पत्ति ३९:१०.

१४. (क) यूसुफ पोतीफरकी पत्नीबाट भागेपछि के भयो? (ख) यूसुफ विश्‍वासी रहेको कारण यहोवाले तिनलाई कसरी आशिष्‌ दिनुभयो?

१४ एक दिनको कुरा हो, तिनीहरू दुई जना मात्र घरमा थिए। पोतीफरकी पत्नीले यूसुफलाई समातिन्‌ र भनिन्‌: “मसित सुत्‌।” तर यूसुफ भागे। यूसुफले अस्वीकार गरेको कारण अपमान महसुस गरेर उनले तिनीमाथि बलात्कार गर्न खोजेको अरोप लगाउँछिन्‌। नतिजा के भयो? के यहोवाले तुरुन्तै तिनको निष्ठाको इनाम दिनुभयो? अहँ, दिनुभएन। यूसुफलाई नेल ठोकेर झ्यालखानामा हालियो। (उत्पत्ति ३९:१२-२०; भजन १०५:१८) तर यहोवाले तिनीप्रति गरिएको अन्याय देख्नुभयो र अन्ततः यूसुफलाई झ्यालखानाबाट निकालेर दरबारमा पुऱ्‍याउनुभयो। तिनी मिश्रमा दोस्रो सबैभन्दा शक्‍तिशाली मानिस भए र तिनको पत्नी र छोराछोरी भए। (उत्पत्ति ४१:१४, १५, ३९-४५, ५०-५२) यसबाहेक, यूसुफको निष्ठाको विवरण ३,५०० वर्षअघि यहोवाका सेवकहरूको निम्ति लिपिबद्ध गरियो। परमेश्‍वरको धार्मिक व्यवस्था पालन गरेको कारण तिनले कत्ति ठूलो आशिष्‌ पाए! त्यस्तै गरी, आज हामीले नैतिक तवरमा निष्ठा कायम गर्दा तुरुन्तै केही फाइदा भएको त नदेखौंला तर यहोवाले हामीलाई पछि आशिष्‌ दिनुहुनेछ भनेर हामी विश्‍वस्त हुनसक्छौं।—२ इतिहास १६:९.

अय्यूबको ‘आफ्नो आँखासित वाचा’

१५. अय्यूबले ‘आफ्नो आँखासित’ के ‘वाचा’ बाँधे?

१५ अर्का एक जना निष्ठा पालक अय्यूब थिए। दियाबलले तिनीमाथि परीक्षा ल्याउँदा अय्यूबले आफ्नो जीवनलाई पुनः केलाएर हेरे र यहोवाको यौन नैतिकतासम्बन्धी सिद्धान्तलगायत अन्य कुनै नियमहरू उल्लंघन गरेको भए कठोर सजाय भोग्न तयार छु भनेर घोषणा गरे। अय्यूबले यसो भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।” (अय्यूब ३१:१, नयाँ संशोधित संस्करण) यसको अर्थ यहोवासित निष्ठावान्‌ भएर बस्न अय्यूबले कुनै स्त्रीलाई कुदृष्टिले समेत नहेर्ने संकल्प गरे। निस्सन्देह, तिनले आफ्नो दैनिक जीवनमा स्त्रीहरू भेट्‌थे र सम्भवतः तिनीहरूलाई मदत चाहिएको खण्डमा मदत पनि गर्ने गर्थे। तर नाजायज सम्बन्ध राख्ने हेतुले तिनी अगाडि बढ्‌दैनथे। तिनको परीक्षा सुरु हुनुभन्दा अघि “अय्यूब पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा महान्‌ थिए।” (अय्यूब १:३) तथापि, तिनले थुप्रै स्त्रीलाई आकर्षित गर्न आफ्नो पैसाको शक्‍ति प्रयोग गरेनन्‌। स्पष्टतः तिनले युवतीहरूसित नाजायज यौन सम्बन्ध राख्ने विचार कहिल्यै गरेनन्‌।

१६. (क) आज विवाहित मसीहीहरूका निम्ति अय्यूब किन असल उदाहरण हो? (ख) मलाकीको दिनका मानिसहरूको आचरण अय्यूबको आचरणभन्दा कसरी भिन्‍न थियो? अहिले नि?

१६ यसप्रकार, असल र खराब दुवै समयमा अय्यूबले नैतिक निष्ठा कायम गरे। यहोवाले यो कुरा याद गर्नुभयो र तिनलाई प्रचुर मात्रमा आशिष्‌ दिनुभयो। (अय्यूब १:१०; ४२:१२) आज विवाहित मसीही पुरुष तथा स्त्रीहरूको निम्ति कस्तो राम्रो उदाहरण! त्यसैकारण त यहोवा तिनलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो! यसको विपरीत आज थुप्रैको आचरण मलाकीको दिनको समयसित मिल्दोजुल्दो छ। थुप्रै पुरुषले तरुनीहरूलाई विवाह गर्न आफ्ना पत्नीहरू त्यागे भनी अगमवक्‍ताले बिलौना गरे। यहोवाको वेदी त्यागिएका पत्नीहरूको आँसुले भिजिए। स्वास्नीलाई ‘धोका दिनेहरूलाई’ उहाँले निन्दा गर्नुभयो।—मलाकी २:१३-१६.

नबिटुलिएकी युवती

१७. शूलम्मेनी कसरी “ढोका लाएको बगैंचाजस्तै” थिइन्‌?

१७ तेस्रो निष्ठा पालक शूलम्मेनी कुमारी थिइन्‌। जवान र सुन्दरी शूलम्मेनी केटीले गोठालोको मात्र होइन तर इस्राएलका धनी राजा सुलेमानको समेत ध्यान खिचिन्‌। श्रेष्ठगीतमा बताइएको सम्पूर्ण मीठो कथामा शूलम्मेनी चोखो रहिन्‌ र आफू वरपरका मानिसहरूको आदर कमाइन्‌। शूलम्मेनीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरे तापनि सुलेमान उनको यो कथा लिपिबद्ध गर्न प्रेरित भए। उनको प्रेमी गोठालोले पनि उनको स्वच्छ आचरणको आदर गर्थे। एक समय तिनले शूलम्मेनी “ढोका लाएको बगैंचाजस्तै छिन्‌” भने। (श्रेष्ठगीत ४:१२) पुरातन इस्राएलमा सुन्दर बगैंचाहरूमा तरकारी, सुगन्धित फूल र भव्य रूखहरूको विविधता हुन्थ्यो। त्यस्ता बगैंचाहरू साधारणतया बाक्लो झाङ वा पर्खालले घेरिएका हुन्थे र बन्द गरिएको ढोकाबाट मात्र भित्र जान सकिन्थ्यो। (यशैया ५:५) गोठालोको निम्ति शूलम्मेनीको नैतिक शुद्धता र सुन्दरता त्यस्तो दुलर्भ सुन्दर बगैंचाजस्तै थियो। उनी पूर्णतया चोखी थिइन्‌। उनको कोमल स्नेह केवल उनको भावी पतिको लागि मात्र थियो।

१८. यूसुफ, अय्यूब र शूलम्मेनी केटीको विवरणले हामीलाई के सम्झना दिलाउँछ?

१८ नैतिक निष्ठाको सन्दर्भमा शूलम्मेनीले आजका मसीही स्त्रीहरूको निम्ति उत्कृष्ट नमुना बसाले। यहोवाले शूलम्मेनी केटीको सद्‌गुण देख्नुभयो र त्यसको मूल्यांकन गर्नुभयो अनि यूसुफ र अय्यूबलाई जस्तै तिनलाई पनि आशिष्‌ दिनुभयो। हाम्रो डोऱ्‍याइको निम्ति तिनीहरूको निष्ठा परमेश्‍वरको वचनमा लिपिबद्ध गरिएको छ। निष्ठा कायम राख्ने हाम्रो प्रयास आज बाइबलमा लिपिबद्ध नगरिने भए तापनि उहाँको इच्छा गर्न खोज्नेहरूको निम्ति यहोवाको “सम्झनाको पुस्तक” छ। यहोवाले “ध्यान” दिनुहुन्छ र वफादार भएर नैतिक तवरमा स्वच्छ रहने हाम्रो प्रयाससित हर्षित हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌।—मलाकी ३:१६.

१९. (क) हामीले नैतिक स्वच्छतालाई कुन दृष्टिकोणले हेर्नुपर्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

१९ विश्‍वास नभएका मानिसहरूले गिल्ला गरे तापनि हामी आफ्नो सृष्टिकर्ताप्रतिको आज्ञा पालन गर्न खुसी छौं। हामीसित उच्च र ईश्‍वरीय नैतिकता छ। यो गर्व र कदर गर्ने कुरा हो। स्वच्छ नैतिक स्तर कायम गर्दा परमेश्‍वरको आशिष्‌ पाउनसक्छौं र चिरकालीन आशिष्‌हरूसहितको उज्ज्वल भविष्यको आशा गर्नसक्छौं। तर व्यावहारिक भएर विचार गर्दा हामी नैतिक तवरमा स्वच्छ रहन के गर्नसक्छौं? यस महत्त्वपूर्ण प्रश्‍नको छलफल अर्को लेखमा गरिनेछ।

[फुटनोटहरू]

a प्रहरीधरहरा-को अंग्रेजी अंकको मार्च १५, १९८३, पृष्ठ २९-३१ हेर्नुहोस्‌।

b दुःखको कुरा, परमेश्‍वरको निर्देशन पालन नगर्ने गैरमसीही पति वा पत्नीले गर्दा कोही कोही निर्दोष मसीहीहरूलाई यौनजन्य रोग लागेको छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यौन सम्बन्धबारे बाइबलले के सिकाउँछ?

• बाइबलमा “व्यभिचार” शब्दले के के कुरा समेटेको छ?

• नैतिक तवरमा स्वच्छ रहँदा हामीलाई कसरी फाइदा हुन्छ?

• आज मसीहीहरूको निम्ति यूसुफ, अय्यूब र शूलम्मेनी केटी किन असल उदाहरण हुन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

युसूफ अनैतिकताबाट भागे

[पृष्ठ १०-मा भएको चित्र]

शूलम्मेनी केटी “ढोका लाएको बगैंचाजस्तै” थिइन्‌

[पृष्ठ ११-मा भएको चित्र]

अय्यूबले ‘आफ्नो आँखासित वाचा बाँधे’