सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज परमेश्‍वरका सेवकहरू को हुन्‌?

आज परमेश्‍वरका सेवकहरू को हुन्‌?

आज परमेश्‍वरका सेवकहरू को हुन्‌?

“हाम्रो प्रशस्तता परमेश्‍वरतर्फबाट छ। जसले नयाँ करारको सेवकलाई झैं हामीलाई पनि योग्यको बनाउनुभयो।”–२ कोरिन्थी ३:५, ६.

१, २. प्रथम शताब्दीका सबै मसीहीहरूको के जिम्मेवारी थियो तर पछि थुप्रै कुरा कसरी परिवर्तन भए?

 सामान्य युग प्रथम शताब्दीमा सबै मसीहीहरूको एउटा महत्त्वपूर्ण जिम्मेवारी अर्थात्‌ सुसमाचार प्रचार गर्ने दायित्व थियो। तिनीहरू सबै अभिषिक्‍त जन थिए र नयाँ करारका सेवकहरू थिए। कसै कसैको मण्डलीमा सिकाउने जस्ता थप जिम्मेवारी पनि थिए। (१ कोरिन्थी १२:२७-२९; एफिसी ४:११) परिवारमा आमाबाबुको गहन दायित्व थियो। (कलस्सी ३:१८-२१) तर प्रचार कार्यजस्तो प्रमुख तथा अत्यावश्‍यक कार्यमा सबैले भाग लिन्थे। मसीही धर्मशास्त्रको मूल युनानीमा यो जिम्मेवारीलाई डिआकोनिया अर्थात्‌ सेवा वा सेवकाई भनिन्थ्यो।—कलस्सी ४:१७.

समय बित्दै जाँदा थुप्रै कुरा परिवर्तन हुन थाले। पादरी भनिने एउटा वर्ग देखापऱ्‍यो र प्रचार गर्ने सुअवसर तिनीहरूको मात्र हो भन्‍न थाले। (प्रेरित २०:३०) यी पादरीहरू आफूलाई मसीही भन्ठान्‍ने व्यक्‍तिहरूमध्ये सानो समूह मात्र थिए। यसबाहेक, बाँकी रहेका बहुसंख्यक समूह सर्वसाधारणको रूपमा चिनिए। पादरीहरूको जीवन धान्‍न सर्वसाधारणले चन्दा चढाउनुको अलावा तिनीहरूको अन्य केही खास दायित्व पनि छन्‌ भनेर सिकाइयो तर प्रचारकार्यको सम्बन्धमा भने तीमध्ये धेरैजसो त केवल निष्कृय श्रोता भए।

३, ४. (क) मसीहीजगत्‌मा कुनै व्यक्‍ति कसरी सेवक हुन्छन्‌? (ख) मसीहीजगत्‌मा कसलाई सेवक ठानिन्छ र यहोवाका साक्षीहरूबीच यो कुरा किन मेल खाँदैन?

पादरीहरूले सेवकहरू (डिआकोनोस, “सेवकको” ल्याटिन रूपान्तर, मिनिस्टर) हौं भन्‍ने दाबी गर्छन्‌। a सेवक हुन तिनीहरू विश्‍वविद्यालय वा तालिम केन्द्रहरूबाट स्नातक भएर पादरी नियुक्‍त हुन्छन्‌। दी इन्टरनेशनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया यसो भन्छ: “‘पादरी नियुक्‍त गर्नु’ तथा ‘पादरी नियुक्‍त गर्ने कामले’ परमेश्‍वरको वचन उद्‌घोषणा गर्नु वा संस्कार प्रयोग गर्नु वा दुवै गर्ने जोड दिनुका साथै विशेष गरी रीति पुऱ्‍याएर दिइएको विशेष ओहदालाई बुझाउँछ।” त्यसोभए, कसले सेवकहरू नियुक्‍त गर्छ? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “यो ऐतिहासिक ओहदा कायम राखेका चर्चहरूमा सेवक नियुक्‍त गर्ने व्यक्‍ति सधैं विशप नै हुन्छन्‌। प्रेस्बाइटेरियन चर्चमा पादरीहरूको एउटा विशेष निकायले सेवकहरू नियुक्‍त गर्छ।”

अतः मसीहीजगत्‌का चर्चहरूमा सेवक हुने सुअवसरमाथि एकदमै बन्देज लगाइएको हुन्छ। यद्यपि, यहोवाका साक्षीहरूमा भने यस्तो हुँदैन। किन? किनकि प्रथम शताब्दीको मसीही मण्डलीमा त्यस्तो हुँदैनथ्यो।

वास्तवमा परमेश्‍वरका सेवकहरू को हुन्‌?

५. बाइबलअनुसार सेवकहरूको हैसियतमा सेवा गर्नेहरू को हुन्‌?

बाइबलअनुसार स्वर्गीय आशा भएकाहरू हुन्‌ वा पार्थिव, यहोवाका सम्पूर्ण उपासकहरू सेवकहरू नै हुन्‌। स्वर्गदूतहरूले येशूको सेवा गरे। (मत्ती ४:११; २६:५३; लूका २२:४३) स्वर्गदूतहरू “मुक्‍तिका हकदार हुनेहरूका खातिर” पनि “सेवा” गर्छन्‌। (हिब्रू १:१४; मत्ती १८:१०) येशू सेवक हुनुहुन्थ्यो। उहाँले भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८; रोमी १५:८) त्यसकारण, येशूका अनुयायीहरूले “उहाँको पाइलामा टेकेर” हिंड्‌नुपर्ने भएकोले तिनीहरू पनि सेवकहरू हुनैपर्नु अचम्मलाग्दो कुरा होइन।—१ पत्रुस २:२१.

६. चेलाहरू सेवक हुनुपर्छ भनेर येशूले कसरी संकेत गर्नुभयो?

स्वर्ग जानुअघि येशूले चेलाहरूलाई भन्‍नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) येशूका चेलाहरूले सेवक अर्थात्‌ चेला बनाउनुपर्थ्यो। तिनीहरूले बनाउने नयाँ चेलाहरूले येशूले आज्ञा गर्नुभएबमोजिम गएर चेला बनाउनुलगायत सबै कुरा पालन गर्न सिक्ने थिए। पुरुष होस्‌ वा महिला, वयस्क होस्‌ वा बच्चा, येशू ख्रीष्टको साँचो चेला सेवक हुनेछ।—योएल २:२८, २९.

७, ८. (क) सबै साँचो मसीहीहरू सेवक हुन्‌ भनेर कुन कुन शास्त्रपदले देखाउँछ? (ख) नियुक्‍तिको सम्बन्धमा कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

यसैअनुरूप सा.यु. ३३ पेन्तिकोसको दिन येशूका चेलाहरूमध्ये उपस्थित पुरुष तथा महिला, सबै चेलाहरूले “परमेश्‍वरका महाकार्यहरू” बताउन थाले। (प्रेरित २:१-११) यसबाहेक, प्रेरित पावलले यस्तो लेखे: “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरीन्छ।” (रोमी १०:१०) पावलले यी शब्दहरू पादरीवर्गको सीमित संख्यालाई होइन तर “सबै रोममा भएका परमेश्‍वरका प्रियहरू[लाई]” लेखेका थिए। (रोमी १:१, ७) त्यसै गरी, ‘एफिससमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्‍वास गर्नेहरूले’ ‘खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाउनुपर्थ्यो।’ (एफिसी १:१; ६:१५) हिब्रूहरूलाई लेखेको पत्र सुन्‍ने जति सबैले ‘यो नडग्मगाओस्‌ भनेर आफ्नो आशाको स्वीकारलाई दृढसँग थामिराख्नुपर्थ्यो।’—हिब्रू १०:२३.

त्यसोभए, मानिस कहिले सेवक हुन्छ? अर्को शब्दमा भनौं भने, उसलाई कहिले नियुक्‍त गरिन्छ? अनि उसलाई कसले नियुक्‍त गर्छ?

सेवकको रूपमा नियुक्‍ति—कहिले?

९. येशूको नियुक्‍ति कहिले र कोद्वारा भएको थियो?

मानिस कहिले र कोद्वारा सेवक नियुक्‍त हुन्छ भन्‍ने सम्बन्धमा येशू ख्रीष्टको उदाहरण विचार गर्नुहोस्‌। उहाँसित नियुक्‍तिको प्रमाणपत्र अथवा उहाँ सेवक हो भनेर प्रमाणित गर्ने कुनै तालिम लिएको डिग्री थिएन न त उहाँले मानिसबाटै नै नियुक्‍ति पाउनुभएको हो। त्यसोभए, उहाँ सेवक हुनुहुन्थ्यो भनेर हामी कसरी भन्‍नसक्छौं? किनकि यशैयाका प्रेरित शब्दहरू उहाँमा पूरा भए: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनाको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो।” (लूका ४:१७-१९; यशैया ६१:१) येशूलाई सुसमाचार सुनाउने आदेश दिइएको थियो भनेर यी शब्दहरूले प्रमाणित गर्छ। तर कोद्वारा? यस कार्यका लागि यहोवाको आत्माबाट अभिषिक्‍त हुनुभएको कारण येशूले यहोवा परमेश्‍वरबाट नियुक्‍ति पाउनुभएको स्पष्ट हुन्छ। यो कहिले भयो? येशूले बप्तिस्मा लिनुहुँदा उहाँमाथि यहोवाको आत्मा आयो। (लूका ३:२१, २२) त्यसकारण, बप्तिस्मा लिनुहुँदा उहाँको नियुक्‍ति भएको थियो।

१०. मसीही सेवक कोद्वारा ‘प्रशस्ततामा योग्य’ बन्छन्‌?

१० येशूको प्रथम शताब्दीका अनुयायीहरू नि? सेवकको हैसियतमा तिनीहरूले पाएको पद पनि यहोवाबाट आएको थियो। पावलले भने: “हाम्रो प्रशस्तता परमेश्‍वरतर्फबाट छ। जसले नयाँ करारको सेवकलाई झैं हामीलाई पनि योग्यको बनाउनुभयो।” (२ कोरिन्थी ३:५, ६) यहोवाले आफ्ना उपासकहरूलाई सेवक हुन कसरी योग्य बनाउनुहुन्छ? ‘ख्रीष्टको सुसमाचारमा परमेश्‍वरको सेवक’ भनेर पावलले सम्बोधन गरेका तिमोथीको उदाहरणलाई विचार गर्नुहोस्‌।—१ थिस्सलोनिकी ३:२.

११, १२. सेवक हुन तिमोथीले कसरी प्रगति गरे?

११ तिमोथीलाई सम्बोधन गरिएका निम्न शब्दहरूले तिनी कसरी सेवक भए भनी बुझ्न मदत गर्छ: “तिमी चाहिं, यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि नै पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ।” (२ तिमोथी ३:१४, १५) जनसमक्ष घोषणा गर्न तिमोथीलाई प्रेरित गर्ने तिनको विश्‍वासको जग, धर्मशास्त्रको ज्ञान थियो। के यसको लागि चाहिने व्यक्‍तिगत पढाइ मात्र हो? होइन। आफूले पढिरहेको कुराको सही ज्ञान तथा आध्यात्मिक समझ प्राप्त गर्न तिमोथीलाई मदत चाहिएको थियो। (कलस्सी १:९) यसरी, तिमोथी “निश्‍चय भएका” थिए। तिनको बुबाको बेग्लै विश्‍वास थियो तर तिनलाई “बाल्यकालदेखि” धर्मशास्त्रबारे थाह भएकोले तिनकी आमा तथा हजुरआमा नै तिनका प्रथम प्रशिक्षकहरू हुनुपर्छ।—२ तिमोथी १:५.

१२ तथापि, तिमोथी सेवक हुनुमा अरू कुरा पनि बिथोलित थियो। एउटा त, नजिकैका मण्डलीहरूका सँगी मसीहीहरूले गर्दा तिनको विश्‍वास बलियो भएको थियो। हामी यो कुरा कसरी थाह पाउनसक्छौं? किनकि पावलले पहिलो पटक जवान तिमोथीलाई भेट्‌दा “लिस्त्रा र आइकोनियमका भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको थियो।” (प्रेरित १६:२) यसबाहेक, मण्डलीलाई बलियो पार्न त्यस जमानामा कोही कोही खास भाइहरूले पत्र लेख्ने गर्थे। अनि तिनीहरूलाई सुदृढ पार्न निरीक्षकहरू भेट्‌न जाने गर्थे। यस्ता प्रबन्धहरूले तिमोथीजस्ता मसीहीहरूलाई आध्यात्मिकतामा उन्‍नति गर्न मदत गऱ्‍यो।—प्रेरित १५:२२-३२; १ पत्रुस १:१.

१३. सेवकको रूपमा तिमोथी कहिले नियुक्‍त भए र तिनको आध्यात्मिक उन्‍नतिको अन्त त्यहीं भएन भनी तपाईं किन भन्‍न सक्नुहुन्छ?

१३ मत्ती २८:१९, २० मा लिपिबद्ध येशूको आज्ञालाई विचार गर्दा केही समयपछि तिमोथीलाई तिनको विश्‍वासले येशूको अनुकरण गर्न र बप्तिस्मा लिन उत्प्रेरित गरेको हुनुपर्छ भनेर हामी पक्का गरी भन्‍नसक्छौं। (मत्ती ३:१५-१७; हिब्रू १०:५-९) यो तिमोथीले परमेश्‍वरलाई आफ्नो सारा प्राणले समर्पण गरेको चिह्न थियो। बप्तिस्मा लिंदा तिमोथी सेवक भए। त्यसपछि, तिनको जीवन, तिनको शक्‍ति अनि सबथोक परमेश्‍वरको भयो। यो तिनको उपासना, “पवित्र सेवाको” अभिन्‍न भाग थियो। तथापि, सेवक भएको उपाधि पाएपछि तिमोथीले त्यतिमै चित्त बुझाएर बसेनन्‌। तिनी आध्यात्मिक तवरमा बढ्‌दै गए र अझ परिपक्व मसीही सेवक बने। पावलजस्ता परिपक्व मसीहीसितको सरसंगति, तिनको व्यक्‍तिगत अध्ययन अनि जोसिलो प्रचारकार्यले गर्दा तिमोथी यस्तो व्यक्‍ति बन्‍न सके।—१ तिमोथी ४:१४; २ तिमोथी २:२; हिब्रू ६:१.

१४. आज “अनन्त जीवनका लागि नियुक्‍त भएका” व्यक्‍तिले सेवक हुन कसरी उन्‍नति गर्छ?

१४ आज पनि मसीही सेवक त्यसरी नै नियुक्‍त हुन्छन्‌। “अनन्त जीवनका लागि नियुक्‍त भएका” व्यक्‍तिले बाइबल अध्ययनद्वारा परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे थाह पाउन मदत पाउँछन्‌। (प्रेरित १३:४८) ती व्यक्‍तिहरूले आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू प्रयोग गर्न अनि अर्थपूर्ण प्रार्थना गर्न सिक्छन्‌। (भजन १:१-३; हितोपदेश २:१-९; १ थिस्सलोनिकी ५:१७, १८) उसले अरू विश्‍वासीहरूसित पनि संगत गर्छ र “विश्‍वासी र बुद्धिमान दास[ले]” गरेको प्रबन्ध तथा बन्दोबस्तको पूर्ण सदुपयोग गर्छ। (मत्ती २४:४५-४७; हितोपदेश १३:२०; हिब्रू १०:२३-२५) यसरी, उसले व्यवस्थित शिक्षण प्रणालीमा प्रगति गर्छ।

१५. कुनै व्यक्‍तिले बप्तिस्मा लिएपछि के हुन्छ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

१५ अन्ततः बाइबल विद्यार्थीले यहोवा परमेश्‍वरप्रति प्रेम विकास गर्नुका साथै छुटकाराको बलिदानमा बलियो विश्‍वास राखेपछि स्वर्गमा हुनुहुने आफ्नो पिताप्रति पूर्णतया समर्पित हुने इच्छा गर्नसक्छ। (यूहन्‍ना १४:१) उसले आफ्नो व्यक्‍तिगत प्रार्थनामा समर्पण जाहेर गर्छ र त्यसपछि आफ्नो यो व्यक्‍तिगत इच्छा जनसमक्ष प्रकट गर्न बप्तिस्मा लिन्छ। उसको बप्तिस्मा नै नियुक्‍तिको समारोह हो किनकि ऊ परमेश्‍वरको समर्पित सेवक, डिआकोनोस-को रूपमा त्यतिखेरै चिनिन्छ। ऊ संसारबाट अलग हुनैपर्छ। (यूहन्‍ना १७:१६; याकूब ४:४) उसले आफैलाई कुनै सम्झौता वा शर्तबिना “पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान” चढाइसकेको छ। (रोमी १२:१) b ख्रीष्टको अनुकरण गर्दै ऊ परमेश्‍वरको सेवक बनेको छ।

मसीही सेवकाई भनेको के हो?

१६. सेवकको हैसियतमा तिमोथीका केही जिम्मावारीहरू के थिए?

१६ तिमोथीको सेवकाईमा के समावेश थियो? तिनले पावलसँगै यात्रा गरेकोले तिनको कार्यभार विशेष थियो। अनि प्राचीन भएपछि तिमोथीले शिक्षा दिने तथा सँगी विश्‍वासीहरूलाई बलियो पार्ने काममा मेहनत गरे। तर तिनको सेवकाईको प्रमुख उद्देश्‍य, येशू अनि पावलले जस्तै सुसमाचार प्रचार गर्नु र चेला बनाउनु थियो। (मत्ती ४:२३; १ कोरिन्थी ३:५) पावलले तिमोथीलाई यसो भने: “तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।”—२ तिमोथी ४:५.

१७, १८. (क) मसीहीहरू कुन सेवामा भाग लिन्छन्‌? (ख) मसीही सेवकको लागि प्रचार कार्य कत्तिको महत्त्वपूर्ण छ?

१७ आज मसीही सेवकहरूमा पनि त्यही कुरा लागू हुन्छ। येशूको बलिदानको आधारमा पाइने छुटकारातर्फ ध्यानकेन्द्रित गरेर तथा नम्र जनहरूलाई यहोवाको नाउँ पुकार्न सिकाएर तिनीहरू जन सेवकाई अर्थात्‌ प्रचारकको काममा व्यस्त रहन्छन्‌। (प्रेरित २:२१; ४:१०-१२; रोमी १०:१३) दुःखकष्टमा परेका मानिसजातिको लागि एक मात्र आशा परमेश्‍वरको राज्य हो र ईश्‍वरीय सिद्धान्त पालन गर्दा अहिले पनि कामकुरा राम्रो हुन्छ भनेर तिनीहरू बाइबलबाटै प्रमाणित गर्छन्‌। (भजन १५:१-५; मर्कूस १३:१०) तर मसीही सेवकले सामाजिक समस्याहरूको समाधान मसीही सिद्धान्त हो भनेर प्रचार गर्दैनन्‌। बरु, ‘ईश्‍वरीय भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा’ हो भनेर सिकाउँछ।—१ तिमोथी ४:८.

१८ हो, प्रायजसो सेवकहरूले अन्य तरिकामा पनि सेवा गर्छन्‌ र त्यो मसीही मसीहीबीच फरक फरक हुनसक्छन्‌। थुप्रैको पारिवारिक दायित्वहरू छन्‌। (एफिसी ५:२१–६:४) प्राचीन तथा सेवकाई सेवकहरूको मण्डलीमा कार्यभारहरू हुन्छन्‌। (१ तिमोथी ३:१, १२, १३, तीतस १:५; हिब्रू १३:७) थुप्रै मसीहीले राज्यभवनहरू निर्माण गर्न मदत गर्छन्‌। कसै कसैले वाच टावर सोसाइटीका बेथेल गृहहरूमा स्वयम्‌सेवकको रूपमा सेवा गर्ने अनमोल सुअवसर पाएका छन्‌। तथापि, सबै मसीही सेवकहरूले सुसमाचार प्रचारकार्यमा भाग लिन्छन्‌। यसमा कुनै अपवाद छैन। यस कार्यमा भाग लिनु नै जनसमक्ष साँचो मसीही सेवकको चिनारी हो।

मसीही सेवकको मनोवृत्ति

१९, २०. मसीही सेवकहरूले कस्तो मनोवृत्ति खेती गर्नैपर्छ?

१९ मसीहीजगत्‌का अधिकांश सेवकहरूले विशेष आदर खोज्छन्‌ र तिनीहरू “रेभरेन्ड” (श्रद्धेय) र “फादर” (पिता) जस्ता पदवीहरू ग्रहण गर्छन्‌। तथापि, श्रद्धा पाउने योग्यको त यहोवा मात्र हुनुहुन्छ भनेर मसीही सेवकलाई थाह छ। (१ तिमोथी २:९, १०) कुनै पनि मसीही सेवकले यस्तो उच्च आदर खोज्दैन न त विशेष पदवीहरूको इच्छा नै गर्छन्‌। (मत्ती २३:८-१२) डिआकोनिया-को मूल अर्थ “सेवा” हो भनेर उसलाई थाह छ। यससित सम्बन्धित क्रियालाई बाइबलमा कहिलेकाहीं कसैको सेवामा हाजिर परिचारकजस्तो व्यक्‍तिगत सेवालाई जनाउन पनि प्रयोग गरिएको छ। (लूका ४:३९; १७:८; यूहन्‍ना २:५) मसीही सेवामा यसको अर्थ अझ उच्च भए तापनि डिआकोनोस-को अर्थ सेवक नै हो।

२० त्यसकारण, कुनै पनि मसीही सेवकले आफूलाई अत्यन्तै महत्त्वपूर्ण ठान्‍नुपर्ने कारणै छैन। साँचो मसीही सेवकहरू र मण्डलीमा विशेष जिम्मेवारी पाउनेहरूसमेत विनम्र सेवक हुन्‌। येशूले यस्तो भन्‍नुभयो: “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ।” (मत्ती २०:२६, २७) चेलाहरूले खेती गर्नुपर्ने सही मनोवृत्ति देखाउनुहुँदा येशूले तिनीहरूको पाउ धुनु भएर निम्न दर्जाको सेवकले गर्ने काम गर्नुभयो। (यूहन्‍ना १३:१-१५) कस्तो विनम्र सेवा! अतः मसीही सेवकहरू विनम्र भई यहोवा परमेश्‍वर र येशू ख्रीष्टको सेवा गर्छन्‌। (२ कोरिन्थी ६:४; ११:२३) एकअर्काको सेवा गर्दा तिनीहरू नम्रता प्रकट गर्छन्‌। अनि सुसमाचार प्रचार गर्दा तिनीहरूले बेग्लै विश्‍वास भएका आफ्ना छिमेकीहरूको निःस्वार्थ सेवा गर्छन्‌।—रोमी १:१४, १५; एफिसी ३:१-७.

सेवामा धैर्य धारण गर्नुहोस्‌

२१. सेवामा धैर्य धारण गरेको हुँदा पावलले कस्तो इनाम पाए?

२१ पावलले सेवकाईमा धैर्य धारण गर्नु पऱ्‍यो। सुसमाचार प्रचार गर्दा आफूले निकै कष्ट भोग्नु परेको कुरा तिनले कलस्सीहरूलाई बताए। (कलस्सी १:२४, २५) तथापि, तिनले धैर्य धारण गरेको कारण थुप्रैले सुसमाचार ग्रहण गरे र सेवक भए। तिनीहरू परमेश्‍वरको पुत्र तथा येशूका भाइहरू हुनुका साथै तिनीहरूले स्वर्गमा उहाँसँगै आत्मिक प्राणी हुने प्रत्याशा पनि पाए। धैर्य धारण गर्दाको कस्तो गौरवमय इनाम!

२२, २३. (क) आज मसीही सेवकहरूलाई धीरजको आवश्‍यकता किन छ? (ख) मसीही धीरजले कस्ता अद्‌भुत फल फलाउँछन्‌?

२२ परमेश्‍वरका साँचो सेवकहरूले पनि आज धैर्य धारण गर्नु आवश्‍यक छ। थुप्रैले दिनदिनै रोगबिमारी वा वृद्धावस्थाका पीडा भोगिरहेका छन्‌। प्रायजसो थुप्रै आमाबाबुले लोग्ने वा स्वास्नीबिना छोराछोरी हुर्काउन निकै मेहनत गर्नुपर्छ। बच्चाहरू स्कूलमा गलत प्रभावहरूको प्रतिरोध गर्न साहसी हुनुपर्छ। थुप्रै मसीहीले कठिन आर्थिक अवस्थाको सामना गर्नुपर्छ। अनि अहिले “डरलाग्दो समय” भएकोले कतिपयले त भीषण सतावट वा कठिनाइ भोगिरहेका छन्‌! (२ तिमोथी ३:१) हो, आज यहोवाका झन्डै ६० लाख सेवकहरूले प्रेरित पावलसँगसँगै यसो भन्‍न सक्छन्‌: “हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं, ज्यादै धीरजमा।” (२ कोरिन्थी ६:४) मसीही सेवकहरू हार खाँदैनन्‌। तिनीहरूले देखाउने धीरजको लागि तिनीहरू प्रशंसाका योग्य छन्‌।

२३ यसबाहेक, धैर्य धारण गर्दा पावलले पाएजस्तै राम्रा परिणामहरू पाइन्छ। धैर्य धारण गरेर हामी यहोवासित घनिष्ठ सम्बन्ध कायम गर्छौं अनि उहाँको हृदयलाई आनन्दित तुल्याउँछौं। (हितोपदेश २७:११) हामी आफ्नो विश्‍वासलाई बलियो पार्छौं र चेला बनाउँछौं अनि तिनीहरू हाम्रो मसीही भ्रातृत्वमा थपिन्छन्‌। (१ तिमोथी ४:१६) यहोवाले आफ्ना सेवकहरूलाई सम्हाल्नुभएको छ र यस आखिरी दिनमा तिनीहरूको सेवकाईमा आशिष्‌ दिनुभएको छ। फलतः १,४४,००० का शेष जनहरू जम्मा गरिएका छन्‌ र अरू लाखौंले पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने पक्का आशा पाएका छन्‌। (लूका २३:४३; प्रकाश १४:१) साँच्चै, मसीही सेवकाई यहोवाको दयाको अभिव्यक्‍ति हो। (२ कोरिन्थी ४:१) हामी सबैले यसको कदर गर्नसकौं र यसको फल सदासर्वदा रहिरहने भएकोले कृतज्ञ हुनसकौं।—१ यूहन्‍ना २:१७.

[फुटनोटहरू]

a चर्चका अधिकृत, “डिकन” शब्दको स्रोत युनानी शब्द डिआकोनोस हो। महिलाहरू पनि डिकन हुनसक्ने चर्चहरूमा तिनीहरूलाई डिकननी भनिन सक्छन्‌।

b रोमी १२:१ विशेष गरी अभिषिक्‍त मसीहीहरूमा लागू हुने भए तापनि यसमा उल्लिखित सिद्धान्त ‘अरू भेडालाई’ पनि लागू हुन्छ। (यूहन्‍ना १०:१६) यिनीहरू ‘यहोवाको सेवा गर्ने र उहाँको नाउँलाई प्रेम गर्ने, उहाँको दास हुनलाई उहाँमा मिल्छन्‌।’—यशैया ५६:६.

के तपाईं बताउन सक्नुहुन्छ?

• प्रथम शताब्दीका सबै मसीहीहरूको के जिम्मेवारी थियो?

• मसीही सेवकको नियुक्‍ति कहिले र कोद्वारा हुन्छ?

• मसीही सेवकले कस्तो मनोवृत्ति खेती गर्नुपर्छ?

• मसीही सेवकले सतावटको समयमा किन धैर्य धारण गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

तिमोथीलाई बाल्यकालदेखि नै परमेश्‍वरको वचन सिकाइएको थियो। बप्तिस्मा लिंदा तिनी सेवक नियुक्‍त भए

[पृष्ठ १८-मा भएको चित्र]

बप्तिस्मा, परमेश्‍वरप्रतिको समर्पणको चिह्न हो र यसले कुनै व्यक्‍तिलाई सेवकको रूपमा नियुक्‍त गर्छ

[पृष्ठ २०-मा भएको चित्र]

मसीही सेवकहरू सेवा गर्न इच्छुक छन्‌