सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मेरो आज्ञा पालन गर्‌, र तैंले जीवन पाउनेछस्‌”

“मेरो आज्ञा पालन गर्‌, र तैंले जीवन पाउनेछस्‌”

“मेरो आज्ञा पालन गर्‌, र तैंले जीवन पाउनेछस्‌”

उनी जवान, बुद्धिमान्‌, “सुन्दर र हेर्नमा राम्रा थिए।” उनको मालिककी पत्नी कामुक अनि उत्ताउली थिइन्‌। तिनी त्यस जवान युवकप्रति अत्ति मोहित भएकी हुँदा दिनहुँ उनलाई फसाउने दाउमा थिइन्‌। उनी “एक दिन . . . आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही मानिस थिएन। तिनले उनको लुगा समातेर भनिन्‌, मसित सुत्‌।” तर कुलपिता याकूबको छोरो यूसुफ आफ्नो लुगा तिनकै हातमा छोडेर पोतिफरकी स्वास्नीबाट भागे।—उत्पत्ति ३९:१-१२.

हो, आफू फस्न सक्ने परिस्थितिबाट सबै जना उम्कन सक्दैनन्‌। उदाहरणका लागि, पुरातन इस्राएलका राजा सुलेमानले रातको अँध्यारोमा गल्लीको कुनामा देखेको त्यस जवान युवकलाई विचार गर्नुहोस्‌। पतित स्त्रीको जालमा फसेर ऊ “कसाईखानाको बाटोतिर लागेको गोरुझैं पासोतिर” लम्क्यो।—हितोपदेश ७:२१, २२.

मसीहीहरूलाई “व्यभिचारदेखि अलग रहो” भन्‍ने सल्लाह दिइएको छ। (१ कोरिन्थी ६:१८) जवान मसीही चेला तिमोथीलाई पावलले यस्तो लेखे: “जवानीका अभिलाषाहरूबाट भाग।” (२ तिमोथी २:२२) व्यभिचार, जारी वा अन्य अनैतिक परिस्थितिहरूको सामना गर्नुपर्दा पोतिफरकी स्वास्नीबाट यूसुफ उम्केझैं हामी पनि आनाकानी नगरी भागिहाल्नुपर्छ। यसरी दृढ रहन हामीलाई कुन कुराले मदत गर्नेछ? हितोपदेश ७ औं अध्यायमा सुलेमानले हामीलाई केही अनमोल सल्लाह दिएका छन्‌। अनैतिक मानिसको पन्जाबाट बच्ने शिक्षाको अलावा, उनले त्यस्ता मानिसहरूको चाल एवम्‌ काम गर्ने तरिकालाई एक जवान युवक चरित्रहीन स्त्रीको जालमा फसेको घटनाद्वारा सजीव वर्णन गरेका छन्‌।

‘मेरा आज्ञाहरू तेरो औंलीमा औंठीझैं लगाइराख्‌’

बुबाले छोरालाई अर्ती दिएझैं राजा सुरुमै यसो भन्छन्‌: “हे मेरो छोरो, मेरो वचन पालन गर्‌, मेरा आज्ञा तेरो मनमा राखिछोड। तँ जीवित रहन चाहन्छस्‌ भने मेरा आज्ञा पालन गर्‌, र मेरो अर्तीलाई तेरो आँखाको नानीजस्तै जोगाइराख्‌।”—हितोपदेश ७:१, २.

आफ्ना छोराछोरीलाई असल र खराबबारे परमेश्‍वरको स्तर सिकाउने जिम्मेवारी आमा र बाबु दुवैको भए तापनि विशेष गरी परमेश्‍वरले यो जिम्मेवारी बाबुलाई दिनुभएको छ। मोशाले बाबुहरूलाई यस्तो सल्लाह दिए: “मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंडदा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) अनि प्रेरित पावलले यसरी लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यसर्थ, परमेश्‍वरको वचन बाइबलमा पाइने नियम, आज्ञा र सम्झौटाहरू समावेश भएका आमाबाबुका निर्देशनहरूलाई सम्हालेर राख्नुपर्छ किनकी यी अत्यधिक मूल्यवान्‌ हुन्छन्‌।

आमाबाबुले दिने शिक्षामा अन्य नीतिनियम पनि समावेश हुनसक्छन्‌। जस्तै, पारिवारिक नियमहरू। यी नियमहरू परिवारका सदस्यहरूको भलाइका लागि हुन्‌। आफ्नो परिवारको आवश्‍यकताअनुसार यी नियमहरू फरक फरक हुनसक्छन्‌। तर आफ्नो परिवारको लागि के असल छ सो आमाबाबुले नै निर्णय गर्छन्‌। अनि तिनीहरूले बनाउने नियमहरू प्रायजसो साँचो प्रेम अनि चासोका अभिव्यक्‍ति हुन्‌। जवानहरूलाई आमाबाबुले दिने धर्मशास्त्रीय निर्देशनका साथै यी नियमहरू पालन गर्न सल्लाह दिइएको छ। हो, यस्ता निर्देशनहरूलाई “आँखाको नानीजस्तै” ठानेर बडो होसियारीसाथ जोगाइराख्नु आवश्‍यक छ। यसो गरेको खण्डमा हामी यहोवाका स्तरहरूलाई बेवास्ता गर्दैनौं र “जीवित रहन” सक्छौं।

सुलेमान अझै यसो भन्छन्‌, “त्यसलाई [मेरा आज्ञाहरूलाई] तेरो औंलीमा औंठीझैं लगाइराख्‌, मनको पाटीमा ती लेखिराख्‌।” (हितोपदेश ७:३) आफ्ना औंलाहरू हामी सधैं देख्नसक्छौं र हामीले गर्न चाहेका कुराहरू गर्न यी महत्त्वपूर्ण भएकोले यसबाट पाठ सिक्नसक्छौं। त्यो हो, धर्मशास्त्रीय लालनपालनबाट प्राप्त हुने शिक्षा अथवा बाइबलबाट प्राप्त हुने ज्ञानले हाम्रो हर कदमलाई डोऱ्‍याइरहनुपर्छ र हामीलाई सधैं सम्झाइरहनुपर्छ। हामीले ती आज्ञाहरूलाई हाम्रो जीवनको अभिन्‍न भाग बनाउँदै मनको पाटीमा लेख्नुपर्छ।

बुद्धि र समझ-शक्‍तिको महत्त्व सम्झँदै राजा यसरी सल्लाह दिन्छन्‌: “बुद्धिलाई तेरी बहिनी भन्‌, समझ-शक्‍तिलाई तेरो परम मित्रलाईझैं अभिवादन गर्‌।” (हितोपदेश ७:४) बुद्धि भनेको ईश्‍वरप्रदत्त ज्ञानको सदुपयोग गर्ने क्षमता हो। हामीले आफ्नै प्यारी बहिनीलाई जस्तै बुद्धिलाई स्नेह गर्नुपर्छ। समझशक्‍ति भनेको के हो? परिस्थितिलाई राम्ररी नियालेर यसका विभिन्‍न पक्ष तथा सम्पूर्ण परिस्थितिबीचको सम्बन्धलाई बुझ्ने क्षमता हो। समझशक्‍ति हाम्रो घनिष्ठ मित्रजस्तै आत्मीय हुनुपर्छ।

हामीले किन धर्मशास्त्रीय प्रशिक्षण स्वीकारेर बुद्धि र समझशक्‍तिसँग घनिष्ठ सम्बन्ध बढाउनुपर्छ? किनभने यसले [हामीलाई] वेश्‍याबाट (अपरिचित स्त्री, NW) र खराब स्त्रीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछ।” (हितोपदेश ७:५) हो, यसो गऱ्‍यौं भने यसले हामीलाई अपरिचित, परदेशी वा अनैतिक व्यक्‍तिको चिप्लो घसाइ र फुस्लाउने चालबाट बचाउनेछ। a

जवान मानिसले ‘अस्थिर स्त्रीलाई’ भेट्‌छ

यसपछि, इस्राएलका राजा आफैले देखेको यो दृश्‍य वर्णन गर्छन्‌: “मैले मेरो घरको झ्यालबाट चियाएर हेरें, मैले आँखी-झ्यालबाट तल हेरें, औ मैले के देखें भने, सीधा-साधा केटाहरूका बीचमा, ठिटाहरूका बीचमा एउटा मूर्ख केटा रहेछ। गल्लीको कुनाबाट त्यो गइरहेको र त्यस स्त्रीको घरतिर आफ्नो पाइला बढाइरहेको मैले देखें। साँझमा, जब दिन अस्ताउँदै जान्छ, रात अँध्यारो हुँदैजान्छ।”हितोपदेश ७:६-९.

सुलेमानले आँखीझ्यालबाट चियाएर हेरिरहेका थिए। सम्भवतः त्यो झ्याल काठमा भव्य बुट्टाहरू कुँदिएर बनाइएको हुनुपर्छ। साँझमा जब दिन ढल्कँदै जान्छ, गल्लीहरूमा रातको अँध्यारो छाउन थाल्छ। उनले बिलकुलै असुरक्षित युवक देख्छन्‌। त्यस युवक विवेकहीन वा बेहोसी र अपरिपक्व थियो। आफू कस्तो टोलछिमेकमा आइपुगें र त्यहाँ गएको खण्डमा के हुनसक्छ भनेर उसलाई थाह छजस्तो देखिन्छ। यो जवान केटो “गल्लीको कुनाबाट” त्यस स्त्रीको घरतिर जान्छ। त्यस स्त्री को हो? ऊ के गर्ने सुरमा छे?

प्रत्यक्षदर्शी राजा अझ यसो भन्छन्‌: “चंचली र अस्थिर एउटी स्त्री, जो कहिल्यै आफ्नो घरमा बस्न चाहँदिन। कुना-काप्चा हुँदो, कहिले सडकहरूमा औ कहिले चोकहरूमा ढुकिबस्ने स्त्री।”हितोपदेश ७:१०-१२.

स्त्रीको पहिरनले नै स्पष्टसँग तिनको आचरण झल्काउँछ। (उत्पत्ति ३८:१४, १५) उसको पहिरन वेश्‍याको जस्तो निर्लज्ज छ। अझ, ऊ धूर्त छे—उसको मन “छली” र उसको नियत “जाली” छ। (एन अमेरिकन ट्रान्सलेशन; न्यु इन्टरनेशनल भर्सन) ऊ उत्ताउली अनि जिद्दी, कुरौटे अनि हठी, भड्‌किलो अनि मनमानी गर्ने, निर्लज्ज र अहंकारी छे। ऊ घरमा बस्नुभन्दा सडकको कुनाकाप्चा र चोकहरूमा डुलेर आफ्नो सिकार खोज्न ढुकिरहन्छे। ऊ त्यस जवान ठिटोजस्तो व्यक्‍तिको प्रतीक्षामा छे।

‘फकाइ-फुस्लाइकन’

यसरी, जवान मानिसले धूर्त योजना बनाइरहेकी चरित्रहीन स्त्रीलाई भेट्‌छ। यो दृश्‍य पक्कै पनि सुलेमानको आँखाबाट छलेन होला। उनी यसरी वर्णन गर्छन्‌: “त्यसलेनै उसलाई समाती र चुम्बन गरी, लाजै नमानी त्यसले उसलाई अनुरोध गरी, ‘मैले एउटा बलिदान, एउटा भेटी, चढाउनुपर्ने थियो, औ मैले आज आफ्नो भाकल पूरा गरें। यसैकारण म तपाईंलाई भेट्‌न तपाईंलाई खोजेर भेट्टाउनलाई बाहिर निस्केकी छु।’”हितोपदेश ७:१३-१५.

उसका चिप्लो घस्ने ओठहरू छन्‌। सूरो भई अनि कुनै धक नमानी ऊ आफ्ना शब्दजाल फिजाउँछे। त्यस जवान मानिसलाई फसाउन ऊ निकै चनाखो भएर बोल्छे। आफू निकै धर्मी छु र आध्यात्मिकतामा कुनै कमी छैन भनेर देखाउन उसले मेल बलि चढाएको र आफ्नो भाकल पूरा गरेको ढोंग रच्छे। यरूशलेममा चढाइने मेलबलिमा मासु, पीठो, तेल र दाखमद्य हुन्थ्यो। (लेवी १९:५, ६; २२:२१; गन्ती १५:८-१०) मेल बलि चढाउने व्यक्‍ति र तिनको परिवारले बलिदान चढाएको भाग पाउने भएकोले उसको घरमा खाने र पिउने कुराको कुनै कमी छैन भनी ऊ भन्छे। आशय स्पष्ट छ: घरमा जवान मानिसलाई रमाइलो हुने थियो। उसलाई नै भेट्‌न भनेर ऊ घरबाट बाहिर निस्केकी छे। साँच्चै उसलाई नै खोज्न भनी ऊ आएकी हो भनेर पत्याउनेहरूका लागि यो विवरण कत्ति मनछुने खालको छ। एक बाइबलविद्‌ यसो भन्छन्‌, “ऊ साँच्चै कसैलाई खोजिरहेकी थिई। तर के ऊ यही केटोलाई नै खोज्न आएकी हो त? योजस्तै मूर्ख केटाले मात्र उसको कुरा पत्याउँथ्यो।”

आफ्नो भड्‌किलो पहिरन, चापलुसी बोलीवचन, अँगालोको स्पर्श अनि चुम्बनद्वारा त्यस व्यभिचारी स्त्रीले सुगन्धको उपयोग गर्छे। ऊ यसो भन्छे: “मैले मेरो ओछ्यानमा चादर लगाएकी छु, मिश्र देशको रंग-विरंगी मलमल ओछ्याएकी छु। मैले मेरो ओछ्यानमा मूर्र छर्केकी छु, मेरा लुगाहरूमा सुगन्धित अत्तर र सिन्कौलीको अत्तर छर्केकी छु।” (हितोपदेश ७:१६, १७) उसले एकदमै सुन्दर ढंगले आफ्नो ओछ्यान मिश्र देशबाट ल्याएको रंग-विरंगी मलमल कपडाले सजाएकी छे अनि किसिमकिसिमका सुगन्धित मूर्र, घिउकुमारी र सिन्कौलीको अत्तर छर्केकी छे।

“आऊ! हामी विलासमा मन बहलाऔं, औ हामी रातभरि प्रेममा डुबौं।” यो निम्तो केवल दुई जनाको प्रीतिभोज नभएर अझ विशेष थियो। उसले यौन आनन्द दिने वचन दिइरहेकी थिई। जवान मानिसको लागि यो नयाँ अनुभव अनि रोमाञ्चकारी तथा उत्तेजक आह्वान हो! अझै बढ्‌ता प्रलोभन देखाउँदै उसले यसो भन्छे: “मेरा पति घरमा हुनुहुन्‍न, उहाँ त टाढा यात्रामा जानुभएको छ। उहाँले आफूसित रूपियाँको थैली लानुभएको छ। पूर्णिमासम्म उहाँ घरमा आउनुहुन्‍न।” (हितोपदेश ७:१८-२०) आफ्नो पति व्यापारको लागि लामो यात्रामा गएको र केही समयपछि मात्र फर्कने हुँदा पीर लिनुपर्ने कुरै छैन भनी उसले ढुक्क गराउँछे। जवान मानिसलाई फुस्ल्याउन कस्तो खप्पीस स्त्री! “फकाई-फुस्लाईकन त्यसले उसलाई डोराएर लगी, लोभ्याउने कुराहरू गरेर त्यसले उसलाई फँसाई।” (हितोपदेश ७:२१) यस्तो प्रलोभनको इन्कार यूसुफजस्तो मानसिक तथा नैतिक क्षमता भएको व्यक्‍तिले मात्र गर्नसक्छ। (उत्पत्ति ३९:९, १२) तर के यो जवान मानिसले यस्तो प्रलोभनलाई तिरस्कार गर्नसक्छ?

‘कसाईखानाको बाटोतिर लागेको गोरुझैं’

सुलेमान यसो भन्छन्‌, “लाटो मूर्खझैं उ त्यसको पछि लाग्यो, कसाईखानाको बाटोतिर लागेको गोरुझैं पासोतिर लागेको मृगझैं, जालतिर वेग हानेर गएको चराझैं। काँडले त्यसको मर्ममा (कलेजो, NW) नछेंडुञ्जेल आफ्नो ज्यान खतरामा हालेको उसले जान्दैन।”हितोपदेश ७:२२, २३.

यो निम्तो त्यस जवान मानिसले इन्कारै गर्न सक्दैन। सारा सुबुद्धिहरूलाई लात हान्दै ‘कसाईखानाको बाटोतिर लागेको गोरुझैं’ ऊ त्यसको पछि लाग्छ। नेलको बन्धनमा परेको मानिस दण्ड नपाई उम्कन नसकेझैं त्यो जवान मानिस पापमा फस्छ। ‘काँडले त्यसको कलेजो नछेंडुञ्जेल’ अर्थात्‌ मृत्युको चोट नपाएसम्म उसलाई खतराको आभासै हुँदैन। उसको मृत्यु शारीरिक अर्थमा पनि हुनसक्छ किनभने ऊ मृत्युदायी यौनजन्य रोगहरूको पासोमा पऱ्‍यो। b यो चोटले आध्यात्मिक मृत्यु पनि गर्नसक्छ किनभने उसको “ज्यान खतरामा” थियो। उसको सम्पूर्ण जीवनमै घातक प्रभाव पऱ्‍यो र उसले परमेश्‍वर विरुद्ध गम्भीर पाप गरेको छ। यसरी ऊ मृत्युको मुखमा पर्न जालतिर वेग हानेर गएको चराझैं भयो!

“त्यसको बाटोतिर बरालिएर नजा”

आफूले जे देखे, त्यसबाट शिक्षा लिंदै बुद्धिमान राजा यसरी आग्रह गर्छन्‌: “अब हे मेरो छोरो, मेरो कुरा सुन्‌, मैले भनेको कुरालाई ध्यानसित सुन्‌। तेरो मन त्यसको चालतिर फँस्न नदे, त्यसको बाटोतिर बरालिएर नजा। धेरै जनालाई त्यसले घाइते बनाएकी छ, त्यसको पञ्जामा पर्नेहरू असंख्य छन्‌। त्यसको घर पातालको ढोका हो, जसले मृत्युका कोठाहरूतिर पुऱ्‍याउँछ।”हितोपदेश ७:२४-२७.

स्पष्टतः सुलेमानको यस सल्लाहले अनैतिक व्यक्‍तिको मृत्युदायी बाटोबाट अलग बसेर ‘जीवित रह’ भन्छ। (हितोपदेश ७:२) हाम्रो समयको लागि कत्ति समसामयिक सल्लाह! आफ्नो सिकार समात्न ढुकेर बस्ने प्रायजसो अखडाहरूबाट टाढा रहनु अत्यावश्‍यक छ। त्यस्ता ठाउँहरूमा गएर तपाईं किन त्यसको चालमा फस्ने? तपाईं किन “परदेशी” हिंड्‌ने बाटोमा भौतारिरहने त्यो “विवेकहीन मूर्ख” बन्‍नुहुन्छ?

राजाले देखेको त्यो “अपरिचित स्त्रीले” त्यस जवान मानिसलाई “विलासमा मन बहलाऔं” भनी निम्तो दिएकी थिई। के आज धेरै जवानहरू अझ विशेष गरेर केटीहरू यसरी नै बहकाउमा परेका छैनन्‌ र? कसैले तपाईंलाई यौन दुराचार गर्न फकाउँछ भने, यो कुरा विचार गर्नुहोस्‌, के यो साँचो प्रेम हो या केवल स्वार्थी कामवासना? स्त्रीलाई साँचो माया गर्ने पुरुषले उनको मसीही प्रशिक्षण अनि अन्तस्करण नै भताभुंग हुने काम गर्न दबाउ दिन्छ होला र? सुलेमान यसरी सल्लाह दिन्छन्‌, “तेरो मन त्यसको चालतिर फँस्न नदे।”

प्रलोभकहरूको बोली प्रायः चापलुसी अनि छलकपटले भरिएको हुन्छ। बुद्धि र समझशक्‍तिलाई आफ्नो परम मित्र बनायौं भने तिनीहरूको चाल ठम्याउन सक्नेछौं। यहोवाका आज्ञाहरू हाम्रै सुरक्षाको लागि हो भनेर कहिल्यै बिर्सेनौं भने यसले हाम्रो सुरक्षा गर्नेछ। यसकारण, हामी ‘परमेश्‍वरको इच्छाबमोजिम गर्दै सधैंभरि’ बाँचिरहौं।—१ यूहन्‍ना २:१७.

[फुटनोटहरू]

a “अपरिचित” भन्‍ने शब्दले यहोवाबाट तर्केर उहाँको नियमलाई इन्कार गर्ने व्यक्‍तिहरूलाई बुझाउँथ्यो। त्यसकारण, व्यभिचारी स्त्री जस्तै वेश्‍यालाई “अपरिचित स्त्री” भनी संकेत गरिएको छ।

b केही यौनजन्य रोगहरूले कलेजो नै बिगार्नसक्छ। उदाहरणका लागि, भिरिंगीजस्ता रोगहरूको अन्तिम अवस्थामा जीवाणुहरूले कलेजोलाई कामै नलाग्ने गरी खत्तम पार्छ। अनि धातुमेह रोगका जीवाणुहरूले गर्दा कलेजो सुन्‍निन सक्छ।

[पृष्ठ २९-मा भएका चित्रहरू]

आमाबाबुका नियमहरूलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ?

[पृष्ठ ३१-मा भएको चित्र]

परमेश्‍वरका वचनहरू पालन गर्नुको अर्थ जीवन हो