सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी प्रथम मानव जोडीबाट सिक्न सक्छौं

हामी प्रथम मानव जोडीबाट सिक्न सक्छौं

हामी प्रथम मानव जोडीबाट सिक्न सक्छौं

परमेश्‍वरले पृथ्वीलाई नियाल्नुभयो। उहाँले पृथ्वीलाई मानिसहरू बस्न योग्यको बनाउँदै हुनुहुन्थ्यो। आफूले बनाउनुभएको सबै कुरा उहाँले राम्रो देख्नुभयो। साँच्चै भन्‍ने हो भने, यो काम पूरा भएपछि उहाँले “त्यो साह्रै राम्रो थियो” भन्‍नुभयो। (उत्पत्ति १:१२, १८, २१, २५, ३१) तर त्यस सही निश्‍कर्षमा पुग्नुअघि परमेश्‍वरले एउटा कुरा भने “असल छैन” भन्‍नुभयो। निस्सन्देह, परमेश्‍वरले कुनै पनि कुरा त्रुटिपूर्ण बनाउनुभएको थिएन। यति मात्र कि उहाँको सृष्टि अझै पूरा भइसकेको थिएन। यहोवाले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।”—उत्पत्ति २:१८.

मानिसजातिले पार्थिव प्रमोदवनमा स्वस्थ्य, आनन्दित अनि कुनै कुराको अभावविना अनन्त जीवनबाट आनन्द उठाओस्‌ भन्‍ने यहोवाको उद्देश्‍य थियो। सम्पूर्ण मानवजातिको पिता आदम थिए। उनकी पत्नी हव्वा “सबै जीवितहरूकी आमा” भईन्‌। (उत्पत्ति ३:२०) आज तिनीहरूका अरबौं सन्तानहरूले पृथ्वी भरिए तापनि मानिसहरू सिद्ध छैनन्‌।

आदम र हव्वाको कथा एक चिरपरिचित कथा हो। तर यसबाट हामी कस्तो व्यावहारिक लाभ उठाउनसक्छौं? प्रथम मानव जोडीको अनुभवबाट हामी कस्तो शिक्षा सिक्नसक्छौं?

“नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो”

आदमले हरेक प्राणीलाई नाउँ दिंदै जाँदा उनले सबैको जोडी देखे तर आफ्नो भने थिएन। त्यसैले, उनले आफ्नो आँखा खोलेर हेर्दा यहोवाले उनको करङबाट बनाएको सुन्दर प्राणी देखे, उनी खुसी भए। आफूजस्तै प्राणीलाई देखेर आदमको मुखबाट यो उद्‌गार निस्क्यो: “‘यो ता मेरै हाडको हाड र मासुको मासु हो। उसलाई स्त्री भनिनेछ।’ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”—उत्पत्ति २:१८-२३.

मानिसलाई “सहयोगी” चाहिएको थियो। अब भने उनले आफू सुहाँउदो जोडी पाए। हव्वा, बगैंचारूपी घर तथा जनावरहरूको रेखदेख गर्न, बच्चा जन्माउन, बौद्धिक प्रेरणा दिन र साँचो साथीको हैसियतमा सहयोग गर्न आदमको सुहाउँदो परिपूरक थिइन्‌।—उत्पत्ति १:२६-३०.

यहोवाले मानव जोडीका सम्पूर्ण मनासिब चाहनाहरू पूरा गरिदिनुभएको थियो। आदमलाई हव्वा दिनुभयो अनि तिनीहरूको बन्धनलाई आधिकारिक रूपमा स्वीकृति दिनुभएपछि परमेश्‍वरले विवाहको आरम्भ अनि परिवारको स्थापना गर्नुभयो र यसैमा समाजको संरचना बन्‍ने थियो। उत्पत्तिको विवरण यसो भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोडछ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” यहोवाले प्रथम विवाहित जोडीलाई फल्दै-फुल्दै वृद्धि हुँदै जाओ भनेर आशिष्‌ दिनुहुँदा हरेक बच्चा उसलाई रेखदेख गर्ने आमाबाबु भएको परिवारमा जन्मोस्‌ भन्‍ने उहाँको अभिप्राय थियो।—उत्पत्ति १:२८; २:२४.

“परमेश्‍वरकै स्वरूपमा”

आदम उहाँको सिद्ध पुत्र थिए उनलाई परमेश्‍वरले “आफ्नै स्वरूप . . . प्रतिरूप[मा]” सृष्टि गर्नुभयो। तर “परमेश्‍वर आत्मा हुनुहुन्छ” त्यसैले यो समानता शारीरिक रूपमा हुन सक्दैन। (उत्पत्ति १:२६; यूहन्‍ना ४:२४) प्रतिरूप भन्‍नाले मानिसलाई जनावरहरूभन्दा उच्च बनाउने गुणहरू हुन्‌। हो, सुरुदेखि नै परमेश्‍वरले मानिसमा प्रेम, बुद्धि, शक्‍ति र न्यायजस्ता गुणहरू हालिदिनुभयो। उहाँले मानिसमा स्वेच्छा अनि आध्यात्मिकताप्रति सजगता पनि हालिदिनुभयो। अन्तर्निहित नैतिक चेतना अथवा अन्तस्करणले उसलाई असल र खराब छुट्ट्याउन मदत गर्थ्यो। मानिसमा भएको बौद्धिक क्षमताले उसलाई मानिसको अस्तित्वको कारणबारे चिन्तन गर्न, आफ्नो सृष्टिकर्ताको ज्ञान लिन र उहाँसँग घनिष्ठ सम्बन्ध विकास गर्न सक्षम बनाउँथ्यो। यी सबै गुणले भरिपूर्ण भएकोले परमेश्‍वरको पार्थिव प्रशासकको भूमिका निभाउन आदमलाई चाहिने सबै थोक थियो।

हव्वाले पाप गरिन्‌

असल र खराबको ज्ञान दिने रूखको फल नखान यहोवाले दिनुभएको निषेधाज्ञाबारे पक्कै पनि आदमले हव्वालाई बताएको हुनुपर्छ। तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फलबाहेक बगैंचाका सबै रूखका फल खान सक्थे। तिनीहरूले त्यसको फल खानु हुँदैनथ्यो। खाएको खण्डमा तिनीहरू त्यही दिन मर्ने थिए।—उत्पत्ति २:१६, १७.

धेरै समय नबित्दै निषेधित रूखको सन्दर्भमा विवाद उठ्यो। सर्पले बोलेकोजस्तो गरी एउटा अदृश्‍य आत्मा हव्वासित कुरा गर्न आयो। आफूलाई थाहै नभएकोजस्तो गरेर सर्पले सोध्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” एउटा रूखको फलबाहेक बगैंचाको अरू सबै रूखको फल खान सक्छौं भनी हव्वाले जवाफ दिइन्‌। तर साँपले परमेश्‍वरको सरासर विरोध गर्दै स्त्रीलाई भन्यो: “तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमश्‍वरजस्तै हुनेछौ।” स्त्रीले त्यस निषेधित रूखलाई बेग्लै दृष्टिकोणले हेर्न थालिन्‌। “स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलादो . . . देखिन्‌।” हव्वा पूर्णतया भ्रममा परिन्‌ र परमेश्‍वरको व्यवस्था भंग गरिन्‌।—उत्पत्ति ३:१-६; १ तिमोथी २:१४.

के हव्वाले हर हालतमा पाप गर्नै पर्ने अवस्था थियो? कदापि थिएन! एकछिन आफैलाई तिनको ठाउँमा राखेर सोच्नुहोस्‌ त? शैतानको दाबीले परमेश्‍वर र आदमको कुरालाई पूरै बंग्यायो। यदि कुनै अपरिचित व्यक्‍ति आएर तपाईंले माया अनि विश्‍वास गरेको व्यक्‍तिलाई बेइमान भन्यो भने तपाईंलाई कस्तो लाग्छ? हव्वाले आपत्ति जनाउँदै रिसाउने र अझ भनौं कुरा सुन्‍नै इन्कार गर्नुपर्थ्यो। आखिर, परमेश्‍वरको धार्मिकता र आफ्नो पतिको वचनमाथि प्रश्‍न उठाउने त्यो शैतान को हो र? शिरत्वको सिद्धान्त पालन गर्दै हव्वाले कुनै पनि निर्णय गर्नुअघि सल्लाह लिनुपर्थ्यो। परमेश्‍वरको निर्देशन विपरीत गलत जानकारी प्रस्तुत गरिंदा हामीले पनि यस्तै गर्नुपर्छ। यद्यपि, असल र खराब आफै फैसला गर्न रुचाएर हव्वाले उक्‍त प्रलोभकलाई पत्याइन्‌। तिनले यो कुरा मनमा जति बढी खेलाइन्‌, त्यत्तिनै मोहक लाग्न थाल्यो। खराब इच्छालाई मनबाट हटाउनु वा आफ्नो परिवारको शिरसँग छलफल गर्नुको सट्टा तिनले त्यसलाई आफ्नो मनमा खेलाइरहेर साह्रै ठूलो गल्ती गरिन्‌!—१ कोरिन्थी ११:३; याकूब १:१४, १५.

आदमले आफ्नी पत्नीको कुरा सुने

तुरुन्तै हव्वाले आफ्नो पापमा आदमलाई पनि सहभागी बनाइन्‌। आदम यसरी जोइटिंग्रे भएकोमा हामी के भन्‍न सक्छौं? (उत्पत्ति ३:६, १७) आदमसामु अब कसप्रति वफादार रहने भन्‍ने प्रश्‍न उठ्यो। के उनले आफ्नी मायालु पत्नीलगायत सबै थोक दिनुहुने सृष्टिकर्ताको आज्ञा पालन गरे? अब के गर्ने भनी परमेश्‍वरको निर्देशन खोजे? वा आफ्नी श्रीमतीको पछि लागे? निषेधित फलबारे हव्वाले आशा गरेको कुरा सब व्यर्थ हो भनेर आदमलाई राम्रोसँग थहा थियो। प्रेरित पावल यसरी लेख्न प्रेरित भए: “आदम बहकिएका होइनन्‌, तर स्त्रीचाहिं बहकिएर अपराधमा फँसेकी हुन्‌।” (१ तिमोथी २:१४) त्यसैले, आदमले जानाजानी यहोवाको विरोध गरे। उनलाई परमेश्‍वरको क्षमता अर्थात परमेश्‍वरले यो अवस्था सुल्झाउन सक्नुहुन्छ भन्‍ने विश्‍वासमा भन्दा आफ्नी पत्नीसँग छुट्टिनुपर्ला भन्‍ने बढी डर थियो।

आदमको यो काम आत्मघाती थियो। यति मात्र होइन, यहोवाले दया गरी उनलाई जन्माउन दिनुभएका सबै सन्तान पनि पापैमा जन्मिने भएकाले आदम ती सबै सन्तानको हत्याको दोषी भए। (रोमी ५:१२) स्वार्थी अनाज्ञाकारीताले निम्त्याएको कस्तो ठूलो बरबादी!

पापको नतिजा

पाप गर्ने बित्तिकै तिनीहरूले लाज महसुस गरे। खुसी भएर परमेश्‍वरसित बोल्न जानुको सट्टा तिनीहरू लुके। (उत्पत्ति ३:८) परमेश्‍वरसँग तिनीहरूको मित्रता चकनाचूर भयो। परमेश्‍वरको आज्ञा उल्लंघन गरेका छौं भनी दुवैलाई राम्ररी थाह भए तापनि तिनीहरूले गरेको कर्तुतबारे सोध्दा कुनै पश्‍चात्तापी भाव देखाएनन्‌। निषेधित फल खाएर तिनीहरूले ईश्‍वरीय भलाइलाई तिरस्कार गरे।

फलस्वरूप, परमेश्‍वरले सुत्केरी-वेदना बढ्‌नेछ भन्‍नुभयो। हव्वाको इच्छा पतितर्फनै हुने थियो र पतिले तिनलाई अधीनमा राख्ने थिए। यसरी तिनले स्वतन्त्रता खोज्दा परिणाम ठीक उल्टो हुन गयो। अब आदमले दुःखसँग भूमिको उब्जनी खानुपर्थ्यो। कुनै कठिन परिश्रमविना अदनको बगैचामा आफ्नो भोक मेटाउनुको सट्टा माटोमा नफर्केसम्म आफ्नो जीवन धान्‍न संघर्ष गर्नुपर्ने भयो।—उत्पत्ति ३:१६-१९.

अन्तमा, आदम र हव्वा अदनको बगैंचाबाट निकालिए। यहोवाले भन्‍नुभयो, ‘मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खाला र सधैंभरि जीवित रहला . . .।’ यस सम्बन्धमा प्राध्यापक गर्डन विनाम यस्तो टिप्पणी गर्छन्‌, “वाक्य अपुरो छ” र परमेश्‍वरले के भन्‍न खोज्नुभएको होला भनेर हामीले नै अड्‌कल काट्‌नुपर्छ। सम्भवतः यसको अर्थ यस्तो थियो: “म तिनीहरूलाई बगैंचाबाट निकाल्नेछु।” सामन्यत: बाइबल लेखकहरूले परमेश्‍वरको पूरै विचार लेख्छन्‌। तर विनाम फेरि भन्छन्‌, “यो अपुरोजस्तो देखिने वाक्यले परमेश्‍वरले एकदम छिटो कदम चाल्नुभयो भनेर देखाउँछ। उहाँले आफ्नो वाक्य पूरा गर्न नपाउँदै तिनीहरूलाई बगैंचाबाट निकालिसक्नुभएको थियो।” (उत्पत्ति ३:२२, २३) यसपछि, यहोवा र प्रथम मानव जोडीबीच सबै कुराकानी ठप्प भयो।

आदम र हव्वाको मृत्यु २४ घण्टाभित्र भएन। तथापि, तिनीहरू आध्यात्मिक अर्थमा मरे। जीवनको स्रोतबाट सधैंको लागि अलग्गिएपछि तिनीहरू मृत्युको मुखमा धकेलिए। तिनीहरूको जेठो छोरा कयिनले अर्को छोरा हाबिलको हत्या गऱ्‍यो। कल्पना गर्नुहोस्‌, यसरी पहिलो पटक मृत्युको सामना गर्नुपर्दा तिनीहरूलाई कस्तो पीडा भयो होला!—उत्पत्ति ४:१-१६.

त्यसपछि, यस प्रथम मानव जोडीबारे त्यति धेरै कुरा बताइएको पाइँदैन। आदम १३० वर्षको हुँदा तिनीहरूको तेस्रो छोरा सेत जन्मियो। त्यसको ८०० वर्षपछि ९३० वर्षको उमेरमा आदमको मृत्यु भयो र तिनका अरू “छोरा-छोरीहरू” पनि भए।—उत्पत्ति ४:२५; ५:३-५.

हाम्रोनिम्ति पाठ

प्रथम विवाहित जोडीको विवरणले आज मानव समाज पतन हुनुको कारण खुलाउनुको अलावा हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। यहोवा परमेश्‍वरबाट स्वतन्त्रता खोजेर आफूखुसी गर्नु सरासर मूर्खता हो। यहोवा र उहाँको वचनमा साँचो विश्‍वास गरेर आफ्नो ज्ञानमा मात्र निर्भर नहुनेहरू साँच्चै बुद्धिमान्‌ व्यक्‍ति हुन्‌। असल र खराब यहोवाले निर्णय गर्नुहुन्छ अनि हामीले गर्नुपर्ने असल कुरा भनेको उहाँको आज्ञा पालन हो। खराब गर्नु भनेको उहाँको नियम उल्लंघन गर्नु र उहाँका सिद्धान्तहरू बेवास्ता गर्नु हो।

मानिसजातिले चाहने उचित कुराहरू परमेश्‍वरले दिनुभएको थियो र अझै दिनुहुन्छ—अनन्त जीवन, स्वतन्त्रता, सन्तुष्टि, खुसी, स्वास्थ्य, शान्ति, संवृद्धि र नयाँ आविष्कारहरू। तथापि, यी सबै आनन्द पाउन स्वर्गमा बस्नुहुने पिता यहोवाप्रति हामी पूर्णतया निर्भर हुनुपर्छ।—उपदेशक ३:१०-१३; यशैया ५५:६-१३.

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

आदम र हव्वा–केवल मिथ्या हुन्‌?

सुरुको प्रमोदवन पापको कारण गुमाउनु परेको हो भन्‍ने विश्‍वास पुरातन बेबिलोनी, अश्‍शूरी, मिश्री र अरूहरू माझ व्याप्त थियो। धेरै विवरणहरूमा समान रहेको कुराचाहिं जीवनको रूख हो जसको फल अनन्त जीवनसँग सम्बन्धित छ। तसर्थ, अदनको बगैंचामा कुनै दुःखद्‌ घटना भएको हुनुपर्छ भनेर मानिसहरूले बिर्सेका छैनन्‌।

आज, धेरैले आदम र हव्वाका विवरण केवल मिथ्या हो भनेर त्यसको वास्ता गर्दैनन्‌। मानवजाति एउटै परिवारबाट सुरु भएको हो र स्रोत एउटै छ भनेर धेरैजसो वैज्ञानिकहरूले मानिलिन्छन्‌। एउटै पूर्खाले गरेको पापको असर मानवजातिमा सरेको हो भन्‍ने तथ्यलाई नकार्न सकिंदैन भनी धेरै धर्मविज्ञानीहरू भन्छन्‌। मानिसहरूको उत्पत्ति एउटा नभई धेरै स्रोतबाट भएको हो भन्‍ने विश्‍वासले सुरुको पाप पनि थुप्रै पूर्खाले गरेका हुन्‌ भन्‍न तिनीहरू बाध्य हुनेछन्‌। यसले तिनीहरूलाई “पछिल्लो आदम” अर्थात ख्रीष्टले मानवजातिलाई पापको बन्धनबाट मुक्‍ति दिनुभयो भन्‍ने तथ्यलाई नकार्न बाध्य तुल्याउनेछ। तर येशूका चेलाहरू त्यस्तो द्विविधामा परेनन्‌। उत्पत्तिको विवरण तथ्य हो भनेर तिनीहरूले बुझे।—१ कोरिन्थी १५:२२, ४५; उत्पत्ति १:२७; २:२४; मत्ती १९:४, ५; रोमी ५:१२-१९.