सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसरी गाँस्न सकिन्छ होला मित्रता

कसरी गाँस्न सकिन्छ होला मित्रता

कसरी गाँस्न सकिन्छ होला मित्रता

“जीवनमा एउटा साथी पाउनु भनेको ठूलो कुरा हो; दुइटा बढी हो; तर तीन जना, त्यो त असम्भव छ।”— हेन्री ब्रूक्स एडम्स।

यस्तो टिप्पणीले साँचो मित्रता पाउनु गाह्रो छ भन्‍ने बुझाउँछ। “मेरो जाने ठाउँ कतै छैन,” “म कसैलाई पनि भरोसा गर्न सक्दिनँ” वा “मेरो कुकुर नै मेरो सबैभन्दा घनिष्ठ मित्र हो।” यी अक्सर मित्रता खोजिरहेका एकदमै एक्ला व्यक्‍तिहरूले गर्ने टिप्पणीहरू हुन्‌।

तर कहिल्यै नटुट्‌ने मित्रता भेट्टाउनु र त्यसलाई कायम राख्नु सजिलो छैन। एउटा बजार सर्वेक्षणले देखाएअनुसार संयुक्‍त राज्यमा मात्र कुल जनसंख्याको २५ प्रतिशत वयस्कहरू ‘अत्यन्त एक्लोपनले’ पीडित छन्‌ र . . . फ्रान्समा आधा जति एकदमै एक्लो छन्‌।” डेटिङ क्लब तथा कम्प्युटर च्याट रूमको वृद्धि अनि जीवन साथीको खोजीमा पत्रपत्रिकामा दिइएका थुप्रै विज्ञापनहरूले मानिसहरू संगतिको चाह गर्छन्‌ भनेर देखाउँछ।

एक्लोपनले मानिसको मनस्थितिलाई मात्र होइन शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ भन्‍ने दाबी न्युरोसाइकोलोजिस्ट डा. डेभिड वीक्सको छ। “मकहाँ आउने बिरामीहरूमध्ये ज्यादै चिन्तित तथा निराश बिरामीहरूको संख्या एकदम धेरै छ। तिनीहरू एक्लोपनले पीडित बिरामीहरू हुन्‌। चर्को निराशा र अचाक्ली एक्लोपनबीच सम्बन्ध छ।”

पारपाचुके तथा परिवार टुक्रनाले धेरैभन्दा धेरै मानिसहरू एक्लो जीवन बिताउन बाध्य भएका छन्‌। बेलाइतमा गरिएको सर्वेक्षणअनुसार २१ औं शताब्दीको सुरुसम्ममा उक्‍त राष्ट्रको कुल जनसंख्याको झन्डै ३० प्रतिशत जति मानिसहरू परिवारविहीन हुनेभए।

“आखिरी दिनमा” स्वार्थी मनोभाव व्याप्त हुनेछ भनी धर्मशास्त्रले अगमवाणी गरेको थियो। (२ तिमोथी ३:१-५) थुप्रै व्यक्‍ति अरू मानिससित राम्रो सम्बन्ध कायम गर्नुभन्दा पनि घर वा गाडी जस्ता भौतिक सरसम्पत्ति वा आफ्नै जागिरमा व्यस्त भएको देखिन्छ। लेखक एन्थोनी स्टर्रको अवलोकन यस्तो छ: “तिनीहरूको जीवन श्रीमती र छोराछोरीमाथि होइन कि अफिसको जागिरमै केन्द्रित छ।”

सच्चा मित्रहरू अनमोल हुन्छन्‌

तपाईंको जीवनको गुणस्तर मुख्यतः तपाईंको साथीहरू कस्ता छन्‌, त्यसमा आधारित हुन्छ। आफ्नै निम्ति मात्र बाँच्न चाहनेहरू अक्सर आनन्दित हुँदैनन्‌ किनकि आफ्ना भावना तथा अन्य कुराहरू बाँडचुँड गर्न तिनीहरूको कुनै साथी नै हुँदैनन्‌। येशू ख्रीष्टका यी शब्दहरू कत्ति सत्य छन्‌: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) यही तथ्यलाई समर्थन गर्दै अंग्रेज कवि जर्ज बाइरनले यसो लेखे: “खुसी नबाँड्‌ने व्यक्‍ति खुसी हुन सक्‍तैन।”

साथी भनेको के हो? एउटा शब्दकोशअनुसार साथी भनेको “प्रेम र श्रद्धाले एकआपसमा बाँधिएको व्यक्‍ति” हो। सच्चा साथीले तपाईंलाई आफ्ना सोचाइहरू लाभप्रद कुरातर्फ केन्द्रित गर्न मदत गर्नसक्छन्‌। आवश्‍यक परेको बेला तिनले तपाईंलाई प्रोत्साहन दिनसक्छन्‌ र तपाईंको उत्थान गर्नसक्छन्‌। तिनले तपाईंलाई शोकको बेलासमेत साथ दिनसक्छन्‌। राजा सुलेमानले भने: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइसरह हुन्छ।” (हितोपदेश १७:१७, NW) समयको क्रममा भौतिक कुराहरूले आफ्नो मूल्य गुमाए तापनि साँचो मित्रता भने समयसँगसँगै फल्छफुल्छ अनि बढ्‌छ।

धर्मशास्त्रले मसीहीहरूलाई माया व्यक्‍त गर्ने सम्बन्धमा “ठूला मनका” हुन आग्रह गर्छ। (२ कोरिन्थी ६:१३) मित्रताको हात बढाउनुमा बुद्धिमानी छ। उपदेशक ११:१, २ मा हामी यस्तो लेखिएको पढ्‌छौं: “आफ्नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ।” ( नयाँ संशोधित संस्करण) मित्रताको सम्बन्धमा यो सिद्धान्त कसरी लागू हुन्छ? थुप्रै व्यक्‍तिसित मित्रता गाँस्नुभएको छ भने तपाईं आपत्‌मा पर्नुभएको बेला तिनीहरूमध्ये कुनै कुनैले तपाईंलाई पक्कै सघाउनेछन्‌।

साँचो मित्रताले तपाईंलाई अर्को तरिकामा पनि सुरक्षा दिनसक्छ। हितोपदेश २७:६ यसो भन्छ, “मित्रले दिएको चोट सुधारको निम्ति हुन्छ।” प्रशंसा गर्ने मानिस थुप्रै होलान्‌ तैपनि साँचो मित्रहरूले मात्र तपाईंको कदर गर्दै तपाईंका गम्भीर कमजोरी औंल्याउँछन्‌ र तपाईंलाई सुधार्न मायालु सल्लाह दिन्छन्‌।—हितोपदेश २८:२३.

असल, घनिष्ठ मित्रहरू दुर्लभ उपहार जस्तै हुन्‌ जसले तपाईंमा सकारात्मक प्रभाव पार्नसक्छन्‌। प्रेरित अध्याय १० मा हामी रोमी सेनाका अफिसर कर्नीलियसको जीवनमा भएको एउटा घटनाबारे पढ्‌छौं। तिनलाई एक स्वर्गदूतले तिनको प्रार्थनाको सुनुवाइ भयो भनेर बताएका थिए। प्रेरित पत्रुसको भ्रमणको प्रतीक्षा गरिरहेका कर्नीलियसले आफ्ना “कुटुम्बहरू र हितका मित्रहरूलाई बोलाएर जम्मा” गरेका थिए। कर्नीलियसका यी घनिष्ठ मित्रहरू खतना नगरिएका अन्यजाति थिए। यिनीहरू नै प्रथम शताब्दीमा सुसमाचार स्वीकार्ने अनि पवित्र आत्माले अभिषिक्‍त हुने प्रथम अन्यजातिहरू भए। अन्यजातिहरूबाट परमेश्‍वरको राज्यमा ख्रीष्टसँगै राज्य गर्ने प्रत्याशा पाउने यिनीहरू नै थिए। कर्नीलियसका मित्रहरूले कति ठूलो आशिष्‌ पाए!—प्रेरित १०:२४, ४४.

तर तपाईं कसरी मित्रहरू बनाउन सक्नुहुन्छ? मित्रताको सम्बन्धमा निकै कुरा बताउनसक्ने बाइबलले व्यावहारिक सुझाउसहित यसको जवाफ दिन्छ। (तल पेटी हेर्नुहोस्‌।)

तपाईं कहाँ साँचो मित्र बनाउन सक्नुहुन्छ

साँचो मित्र बनाउने ठाउँ मसीही मण्डली हो। सर्वप्रथम, सृष्टिकर्ता अनि स्वर्गमा हुनुहुने पिता, यहोवासित र आफ्नो उद्धारक येशू ख्रीष्टसित मित्रता कायम राख्न अग्रसर हुनुहोस्‌। तपाईंलाई आफ्नो मित्र हुन निम्त्याउनुहुने येशूले यसो भन्‍नुभयो, “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१३, १५) यहोवा र येशू ख्रीष्टसित मित्रता गाँस्नुभयो भने उहाँहरूले तपाईंलाई “अनन्त बासस्थानहरूमा स्वागत” गर्नुहुनेछ भनेर ढुक्क हुन सक्नुहुन्छ। हो, यहोवा र येशूसितको मित्रताको अर्थ अनन्त जीवन हो।—लूका १६:९; यूहन्‍ना १७:३.

तपाईं उहाँहरूको न्यानो माया कसरी प्राप्त गर्न सक्नुहुन्छ? यहोवाको बासस्थानमा पाहुना हुनका लागि पूरा गर्नुपर्ने आवश्‍यकताहरू भजन १५ अध्यायमा उल्लेख गरिएका छन्‌। बाइबल पल्टाएर उक्‍त अध्यायका प्रथम पाँच पदहरू पढ्‌नुहोस्‌। यसको अतिरिक्‍त येशू ख्रीष्टले भन्‍नुभयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।”—यूहन्‍ना १५:१४.

हो, होसियारीसाथ परमेश्‍वरको वचन, बाइबल अध्ययन गरेर तथा त्यहाँ दिइएका निर्देशनहरू प्रयोगमा ल्याएर तपाईंले आफू यहोवा र येशूको मित्र हुन चाहेको कुरा देखाउनुहुन्छ। यसका लागि तपाईंले यहोवा परमेश्‍वरको ज्ञान पाइने मसीही सभाहरूमा नियमित तवरले उपस्थित हुनैपर्छ। यहोवाको कुरा विश्‍वासी भई सुन्‍ने गर्नुहोस्‌ र यसरी तपाईं उहाँ र उहाँका पुत्र येशूसित घनिष्ठ हुन सक्नुहुनेछ।

सभाहरूमा तपाईंले यहोवालाई माया गर्ने अनि “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम”-जस्ता आत्माका फलहरू प्रकट गर्ने व्यक्‍तिहरूसित पनि चिनजान बढाउन सक्नुहुन्छ। (गलाती ५:२२, २३) साथी बनाउने र एक्लोपन हटाउने उत्कट प्रयास गरिरहनुभएको छ भने हरेक हप्ता मसीही सभाहरूमा उपस्थित हुनुहोस्‌। यसो गर्नाले तपाईंले आफैलाई परमेश्‍वरका आशिषित व्यक्‍तिहरूसित चिरकालीन मित्रता गाँस्न सही स्थान र सही समयमा पाउनुहुनेछ।

सधैंभरिका लागि मित्र

साँचो मित्रता यहोवा परमेश्‍वरले दिनुभएको अद्‌भुत उपहार हो। यो उहाँको व्यक्‍तित्व र बनोटबाट पलाउँछ। मायालु तथा उदार मनोभावको कारण उहाँले यस पृथ्वी तपाईंले मित्रता गाँस्न सक्नुहुने बुद्धिमानी प्राणीहरूले भरिदिनुभएको छ। सँगी मसीहीहरूसित मित्रता गाँस्नुहोस्‌। तिनीहरूलाई प्रोत्साहन दिनुहोस्‌। सेवकाईमा तिनीहरूसँगै काम गर्नुहोस्‌। तिनीहरूसित र तिनीहरूका लागि नियमित तवरमा प्रार्थना गर्नुहोस्‌। तब तपाईंले यहोवा, उहाँका पुत्र येशू ख्रीष्टको अनुकरण गरिरहनुभएको हुनेछ।

मित्रता जोकसैले दिन अनि लिनसक्ने उपहार हो। निकट भविष्यमा तपाईंले आफ्ना मित्रहरूको घेरालाई बढाउनसक्ने मौका पाउनुहुनेछ। अहिले बाँचिरहेका लाखौं मानिसहरूलगायत ‘फेरि मृत्यु नहुने’ समयमा पुनरुत्थान हुन मृत्युको चिरनिद्रामा पर्खंदै बसेका विगतका थुप्रैलाई मित्र बनाउन सक्नुहुन्छ। (प्रकाश २१:४; यूहन्‍ना ५:२८, २९) अहिल्यै मित्रैलो हुने प्रयास गर्नुहोस्‌ र यहोवालाई माया गर्नेहरूलाई मित्र बनाउनुहोस्‌। परमेश्‍वरको प्रेरित वचन सुन्दै यहोवा परमेश्‍वर र येशू ख्रीष्टसित मित्रता कायम राख्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईं कहिल्यै फेरि एक्लो हुनुपर्ने छैन।

[पृष्ठ २२ र २३-मा भएका पेटी र चित्रहरू]

चिरकालीन मित्रताका छ कदम

१. मित्र हुनुहोस्‌। आफ्नो स्थिर विश्‍वासको कारण अब्राहाम “परमेश्‍वरका मित्र” कहलिए। (याकूब २:२३) तर अन्य कारणहरू पनि थिए। अब्राहामले परमेश्‍वरप्रतिको आफ्नो स्नेह प्रकट गरे भनेर बाइबल भन्छ। (२ इतिहास २०:७) तिनी आफै अघि सरे र यहोवालाई आफ्ना अनुभूतिहरू व्यक्‍त गरे। (उत्पत्ति १८:२०-३३) हो, आफ्नो मित्रताको प्रणाम दिन आफै अघि सर्नुपर्छ। येशूले भन्‍नुभयो: “देओ, र तिमीहरूलाई दिइनेछ।” (लूका ६:३८) प्रोत्साहनको शब्द अथवा मदत गर्न अघि सरेका हातहरू नै मित्रताको बीउ हुन्‌। अमेरिकी निबन्धकार राल्फ वाल्डो इमर्सनले एक पटक यसो भने: “साथी बनाउने एक मात्र तरिका आफै साथी हुनु हो।”

२. मित्रता बढाउन समय दिनुहोस्‌। थुप्रै मानिस मित्रताको आनन्द उठाउन चाहन्छन्‌। यद्यपि, तिनीहरू समय निकाल्न भने कन्जुस्याइँ गर्छन्‌। रोमी १२:१५, १६ हामीलाई आनन्द तथा सफलता अनि दुःख तथा निराशा आपसमा बाड्‌न प्रोत्साहन दिन्छ। त्यहाँ यसो लेखिएको छ: “आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रोओ। एक दोस्रोप्रति एकै मनका होओ।” येशू ख्रीष्ट एकदमै व्यस्त हुनुहुन्थ्यो तैपनि आफ्ना साथीहरूका लागि उहाँ सधैं समय निकाल्नुहुन्थ्यो। (मर्कूस ६:३१-३४) नबिर्सनुहोस्‌, मित्रता फूलजस्तै हो। त्यसलाई मलजल अनि फक्रन समय चाहिन्छ।

३. अरूले बोल्दा ध्यान दिनुहोस्‌। ध्यान दिएर सुन्‍ने असल श्रोताहरूले सजिलै साथी बनाउन सक्छन्‌। चेला याकूबले यसो भने: “हरेक मानिस सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” (याकूब १:१९) अरूसित कुरा गर्दा तिनीहरूका भावनाप्रति व्यक्‍तिगत चासो देखाउनुहोस्‌। उनीहरूलाई आफ्नो कुरा बताउन प्रोत्साहन दिनुहोस्‌। उनीहरूको आदर गर्न पनि अघि सर्नुहोस्‌। (रोमी १२:१०) त्यसपछि, तिनीहरू तपाईंसित हुन चाहनेछन्‌। अर्कोतिर, आफू मात्र फतफताइरहनुहुन्छ अथवा आफ्नै कुरा मात्र अघि सारिरहनुहुन्छ भने तपाईंको कुरा सुन्‍ने वा तपाईंका भावना तथा आवश्‍यकताहरूको ख्याल गर्ने व्यक्‍ति भेट्टाउन तपाईंलाई मुस्किल पर्नसक्छ।

४. माफी दिने गर्नुहोस्‌। येशूले एक पटक पत्रुसलाई “सात गुणा सत्तरीपल्टसम्म” माफ गर्न तयार हुनुपर्छ भनेर बताउनुभएको थियो। (मत्ती १८:२१, २२) साँचो मित्रले सानोतिनो गल्तीलाई बेवास्ता गर्छ। उदाहरणका लागि: कसै कसैलाई थुप्रै लाम्चा बियाँ भएकोले सरिफा खान त्यति मनपर्दैन। तर सरिफा मनपर्ने व्यक्‍तिलाई यी बियाँहरूले दिक्क पार्दैन। असल गुणहरूका कारण साँचो मित्रहरू प्रिय हुन्छन्‌ र तिनीहरूका स-साना गल्तीहरूलाई बेवास्ता गरिन्छ। पावलले यस्तो आग्रह गरे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” (कलस्सी ३:१३) माफी दिन जान्‍नेहरूले मित्रता कायम राख्न जानेका हुन्छन्‌।

५. अरूको एकान्तपनको कदर गर्नुहोस्‌। तपाईंका साथीहरूलगायत सबैलाई केही मात्रामा भए पनि एकान्तपन चाहिन्छ। त्यसकारण, हितोपदेश २५:१७ ले बुद्धिमानीसाथ यो कुरा उल्लेख गरेको छ: “तेरो छिमेकीको घरमा घरिघरि नजा, तँलाई ज्यादै देख्ता त्यसले तँलाई घृणा गर्नलाग्छ।” अतः साथीहरूलाई कुन बेला कति पटक भेट्‌न जाने हो, त्यसबारे व्यावहारिक हुनुहोस्‌। एकदमै हक जमाउने बानी नगर्नुहोस्‌ अन्यथा ईर्ष्या पलाउन थाल्छ। कुनै कुराको सम्बन्धमा व्यक्‍तिगत इच्छा र धारणा व्यक्‍त गर्दा बुद्धिमान्‌ हुनुहोस्‌। यसो गर्दा मित्रता स्फूर्तिदायी तथा रमाइलो हुन्छ।

६. उदारचित्तको हुनुहोस्‌। उदारचित्तको हुँदा मित्रता बढ्‌छ। प्रेरित पावलले ‘उदारचित्तको अनि बाँडचुड गर्न तत्पर’ हुने सल्लाह दिएका थिए। (१ तिमोथी ६:१८) उदाहरणका लागि, अरूसित प्रोत्साहनदायी शब्दहरू बाँडचुँड गर्नुहोस्‌। (हितोपदेश ११:२५) साँच्चै सराहना गर्न तथा उत्थानदायी बोली बोल्न कन्जुस्याइँ नगर्नुहोस्‌। अरूको भलाइमा साँचो चासो देखाउँदा तिनीहरू तपाईंप्रति खिचिन्छन्‌। तिनीहरूले तपाईंको लागि के गर्नसक्छन्‌ त्यसमा होइन तर तपाईंले तिनीहरूका लागि के गर्न सक्नुहुन्छ त्यसमा ध्यानकेन्द्रित गर्नुहोस्‌।