सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले विश्‍वास गर्नैपर्छ?

के तपाईंले विश्‍वास गर्नैपर्छ?

के तपाईंले विश्‍वास गर्नैपर्छ?

एक जना १२ वर्षीय विद्यार्थी बीज गणितको आधारभूत सिद्धान्तहरू बुझ्न दिमाग खियाइरहेका थिए। हुन त शिक्षकले उनलाई गाह्रो हिसाब दिएको जस्तो पनि देखिंदैन।

“मानौं, x=y छ र तिनीहरू दुवैको मान १ छ” भन्दै तिनले सुरु गरे।

‘ठीक छ यहाँसम्म त बुझ्दै छु’ भनी उक्‍त विद्यार्थीले सोच्दै थिए।

त्यसपछि, चार लहरजति हिसाब गरेपछि त्यस शिक्षकले तर्कसंगत देखिने हिसाबबाट छक्कलाग्दो परिणाम निकाले: “तसर्थ, २=१!”

“यसलाई गलत साबित गर” भन्दै शिक्षकले ती जिल्ल परेका विद्यार्थीहरूलाई चुनौती दिए।

बीज गणितमा त्यति दक्ष नभएका त्यस जवान विद्यार्थीले यसलाई कसरी गलत साबित गर्ने भनेर सोच्नै सकेनन्‌। हिसाबको एक एक लाइन पूर्णतया सही देखिन्थ्यो। त्यसोभए, के २=१ हुन्छ भनेर त्यो अनौठो निष्कर्षलाई विश्‍वास गर्ने त? आखिर, उनको गणित शिक्षक पनि त ऊभन्दा कता हो कता अनुभवी थिए। अवश्‍य उनले विश्‍वास गर्नु खाँचो छैन! ‘मैले यसलाई गलत साबित गर्नु पर्दैन,’ उनले मनमनै विचार गरे। ‘जसलाई पनि २=१ हुँदैन भनेर थाह छ।’ (हितोपदेश १४:१५, १८) उनको शिक्षकले वा उनका साथीहरूले एक रुपियाँ साट्‌दा दुई रुपियाँ फर्काउने छैनन्‌ भनेर पनि तिनलाई थाह छ!

पछि गएर उक्‍त विद्यार्थीले त्यस हिसाबमा त्रुटि भेट्टाउँछन्‌। तर जे होस्‌, उनलाई यस अनुभवले बहुमूल्य पाठ सिकायो। कुनै अत्यन्त विद्वान्‌ व्यक्‍तिले होसियारीसाथ तयार पारेको अथवा कुनै प्रश्‍न उठाउनै नसकिने खालको विवाद प्रस्तुत गऱ्‍यो भन्दैमा आफूले गलत साबित गर्न नसकेको हुनाले त्यस्तो अपत्यारिलो जवाफलाई पत्याउनै पर्छ भन्‍ने छैन। वास्तवमा, त्यस विद्यार्थीले बाइबलको १ यूहन्‍ना ४:१ मा पाइने व्यावहारिक सिद्धान्त अपनाउँदै थिए। त्यहाँ बताएअनुसार चाहे विश्‍वासिलो स्रोतबाट आएको नै किन नहोस्‌, आफूले सुनेका हरेक कुरा तुरुन्तै पत्याइहाल्नु हुँदैन भनेर लेखिएको छ।

यसको अर्थ तपाईंले पहिलादेखि मानिआएको विचारधाराहरूलाई मानिरहनुपर्छ भनेको होइन। गलत दृष्टिकोणलाई सुधार्न सक्ने जानकारीलाई बेवास्ता गर्नु गलत कुरो हो। तर तपाईंभन्दा विद्वान्‌ अथवा अख्तियार सम्पन्‍न व्यक्‍तिको दबाउमा परेर “तुरुन्तै आफूले विश्‍वास गरेको कुरा छोड्‌नु” पनि आवश्‍यक छैन। (२ थिस्सलोनिकी २:२, NW) उक्‍त शिक्षकले पक्कै पनि आफ्ना विद्यार्थीहरूलाई छक्काइरहेका थिए। तथापि, कहिलेकाहीं कुरा त्यति सरल हुँदैन। मानिसहरू अचाक्ली “धूर्त” हुनसक्छन्‌।—एफिसी ४:१४; २ तिमोथी २:१४, २३, २४.

के विशेषज्ञहरू सधैं सही हुन्छन्‌ ?

जतिसुकै विद्वान्‌ भए तापनि विशेषज्ञहरूबीच पनि कुनै न कुनै धारणा र दृष्टिकोणहरू बाझिने गर्छन्‌। उदाहरणका लागि, रोगबिमारको कारणजस्ता आधारभूत कुराबारे चिकित्सा विज्ञानसम्बन्धी चलिरहेको वादविवादलाई नै लिनुहोस्‌। “हामीलाई जन्मजात कारणले गर्दा रोग लाग्छ वा वातावरण र सामाजिक तत्त्वहरूले गर्दा भन्‍ने कुरा पनि वैज्ञानिकहरूबीच चर्काचर्की बहसको विषय बनेको छ” भनी हार्वड विश्‍वविद्यालयका चिकित्सासम्बन्धी प्राध्यापकले लेखे। कुनै पनि रोग हाम्रो शक्‍ति बाहिरका कुराहरूले गर्दा लाग्छ भनेर विश्‍वास गर्नेहरू हाम्रो जीनले यसमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर दृढ विश्‍वास गर्छन्‌। तथापि, अरूचाहिं वातावरण र जीवनशैली दुवै मानव रोगशास्त्रका प्रमुख तत्त्वहरू हुन्‌ भनेर प्रतिवाद गर्छन्‌। यी दुवै पक्ष आफ्नो कुरा सही प्रमाणित गर्न आफ्नो अनुसन्धान र तथ्यांक उल्लेख गर्न पछि पर्दैनन्‌। यद्यपि, विवाद चलिनै रहन्छ।

प्रायजसो प्रख्यात विद्वान्‌हरूले भनेका कुराहरू कुनै समय सहीजस्तो देखिए तापनि बारम्बार गलत साबित भएका छन्‌। दर्शनशास्त्री बट्रान्ड रसलले अरस्तुलाई “प्रभावशाली दार्शनिक” भनेर व्याख्या गरे। तथापि, रसलले अरस्तुका थुप्रै शिक्षाहरू “पूर्णतया गलत” थिए भनेर पनि देखाए। तिनले यस्तो लेखे, “आधुनिक समयमा विज्ञान, तर्कशास्त्र अथवा दर्शन क्षेत्रमा भएका प्रायजसो प्रगति अरस्तुका अनुयायीहरूको विरोधको सामना गर्दै गर्नुपरेको छ।”—हिस्ट्री अफ वेस्टर्न फिलोसफी।

“झूटो ‘ज्ञान’ ”

प्रारम्भिक मसीहीहरूले सुकरात, प्लेटो र अरस्तुजस्ता नामुद युनानी दार्शनिकहरूका थुप्रै अनुयायीहरूलाई अवश्‍य पनि भेटे होलान्‌। त्यसबेलाका शिक्षित मानिसहरू आफैलाई अरू मसीहीहरू भन्दा बुद्धिजीवी ठान्थे। येशूका केही चेलाहरूलाई मात्र “शरीरअनुसार . . . बुद्धिमान” ठानिन्थ्यो। (१ कोरिन्थी १:२६) वास्तवमा, तत्कालीन दर्शनशास्त्रमा पोख्त मानिसहरू मसीहीहरूले विश्‍वास गरेका कुराहरूलाई “मूर्खता” अथवा “पूर्णतया वाहियात” सम्झन्थे।—१ कोरिन्थी १:२३, फिलिप्स।

ती प्रारम्भिक मसीहीहरूमाझ हुनुभएको भए के तपाईं पनि ती दिनका विशिष्ट बुद्धिजीवी भनौंदाहरूको सशक्‍त तर्कद्वारा प्रभावित अथवा तिनीहरूको बुद्धिको प्रदर्शन देखेर रनभुल्लमा पर्नुहुने थियो? (कलस्सी २:४) प्रेरित पावलअनुसार त्यसो हुनुपर्ने कुनै कारणै थिएन। “ज्ञानीहरूका ज्ञान” र “बुद्धिमानहरूका बुद्धिलाई” परमेश्‍वरले मूर्खता ठान्‍नुहुन्छ भनेर तिनले मसीहीहरूलाई सम्झाए। (१ कोरिन्थी १:१९) तिनले सोधे, “यस संसारका दार्शनिक, लेखक र समालोचकहरूसित आफ्नो बुद्धि प्रदर्शन गर्न के नै छ र?” (१ कोरिन्थी १:२०, फिलिप्स) आफ्नो असीम बुद्धिका बावजूद दार्शनिक, लेखक तथा समालोचकहरूले पावलको दिनमा मानवजातिका समस्याहरूको कुनै सही समाधान दिन सकेनन्‌।

त्यसैले, मसीहीहरूले प्रेरित पावलले बताएझैं ती “खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग” गर्नुपर्ने रहेछ भन्‍ने सिके। (१ तिमोथी ६:२०, नयाँ संशोधित संस्करण) पावलले त्यस्तो ज्ञानलाई ‘झूटो’ भन्‍नुको पछाडि त्यसमा एउटा अति महत्त्वपूर्ण तथ्य नहुनु हो। त्यो तथ्य हो, परमेश्‍वरको तर्फबाट त्यस्तो ज्ञानको समर्थन गर्ने कुनै स्रोत अथवा कुराहरू नहुनु जससित तिनीहरूको सिद्धान्त जाँच्न सकिन्थ्यो। (अय्यूब २८:१२; हितोपदेश १:७) त्यस्तो स्रोतको कमी साथै महाठगाहा शैतानले तिनीहरूलाई अन्धा तुल्याएको हुनाले त्यस्तो ज्ञानसित टाँसिनेहरूले सत्य पाउलान्‌ भनेर कहिल्यै आशा गर्न सकिंदैन।—१ कोरिन्थी २:६-८, १४; ३:१८-२०; २ कोरिन्थी ४:४; ११:१४; प्रकाश १२:९.

बाइबल—प्रेरित निर्देशक

परमेश्‍वरले आफ्नो इच्छा, उद्देश्‍य र निर्देशनहरू यस धर्मशास्त्रमा प्रकाश पार्नुभएको छ भन्‍ने कुरामा प्रारम्भिक मसीहीहरूले कहिल्यै शंका गरेनन्‌। (२ तिमोथी ३:१६, १७) यसले तिनीहरूलाई ‘मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलको शिकार हुनदेखि’ जोगायो। (कलस्सी २:८) आज पनि परिस्थिति त्यस्तै छ। मानिसहरूको भ्रमपूर्ण अनि एक अर्कासित मेल नखाने दृष्टिकोणको ठीक विपरीत हामी परमेश्‍वरको प्रेरित वचनको ठोस आधारमा भर पर्नसक्छौं। (यूहन्‍ना १७:१७; १ थिस्सलोनिकी २:१३; २ पत्रुस १:२१) परमेश्‍वरको वचन नभएको भए हामीले मानव सिद्धान्त तथा दर्शनहरूको फुस्रो बालुवामाथि बलियो घर निर्माण गर्ने असम्भव प्रयास गरिरहका हुने थियौं।—मत्ती ७:२४-२७.

तर कसैले भन्लान्‌, ‘एकछिन। के विज्ञानका तथ्यहरूले बाइबलमा त्रुटिहरू छन्‌ अनि परिवर्तनशील मानव दर्शनहरूजस्तै बाइबल पनि भरोसा गर्न योग्यको छैन भनेर प्रमाणित गरेको छैन र?’ उदाहरणका लागि, बट्रान्ड रसलले यस्तो दाबी गरे, “कपर्निकस, केप्लर र ग्यालिलियोले पृथ्वी ब्रह्‍माण्डको केन्द्र होइन भनेर प्रमाणित गर्न अरस्तुका साथै बाइबलसित संघर्ष गर्नुपऱ्‍यो।” (छड्‌के अक्षर हाम्रो।) उदाहरणका लागि, बाइबलले पृथ्वी र अन्य कुराहरू २४ घण्टे छ दिनमा सृष्टि गरियो भनेर सिकाएको कुरा सृष्टिमा विश्‍वास गर्नेहरू दाबी गर्छन्‌ जबकि पृथ्वी अरबौं वर्ष पुरानो छ भनेर सम्पूर्ण तथ्यहरूले देखाएको छ नि होइन र?

वास्तवमा, बाइबलले पृथ्वीलाई ब्रह्‍माण्डको केन्द्रबिन्दु हो भनेको छैन। यो त चर्चका नेताहरूको शिक्षा हो जसले परमेश्‍वरको वचनलाई अपनाएका छैनन्‌। उत्पत्तिको विवरणले पृथ्वी सृष्टि गर्दा अरबौं वर्ष लागेको कुरा देखाउँछ। हरेक सृष्टिका दिनहरू २४ घण्टे दिन मात्र थिएनन्‌। (उत्पत्ति १:१, ५, ८, १३, १९, २३, ३१; २:३, ४) बाइबललाई इमानदारीपूर्वक जाँच्ने हो भने यो विज्ञानको पाठ्यपुस्तक नभए तापनि “वाहियात” कुराहरू भएको पुस्तक पनि होइन भन्‍ने देखिन्छ। यो वास्तवमा प्रमाणित भएका वैज्ञानिक तथ्यहरूसित पूर्णतया मेल खान्छ। a

“तर्कशक्‍ति”

येशूका थुप्रै चेलाहरू साधारण पुरुष तथा स्त्री अनि सम्भवतः राम्ररी पढेलेखेका नभए तापनि तिनीहरूसित परमेश्‍वरले दिनुभएको अर्को सम्पत्ति थियो। तिनीहरू जस्तोसुकै पृष्ठभूमिबाट आएका भए तापनि सबै जनाले तर्कशक्‍ति र विचार गर्ने क्षमता पाएका थिए। प्रेरित पावलले सँगी मसीहीहरूलाई आ-आफ्नो “तर्कशक्‍ति पूर्णतया” प्रयोग गर्न र ‘परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ जाँचेर पत्ता लगाउन तिनीहरूलाई प्रोत्साहन दिए।’—रोमी १२:१, २, NW.

परमेश्‍वरबाट पाएको “तर्कशक्‍ति” चलाएर प्रारम्भिक मसीहीहरूले परमेश्‍वरको वचनसित मेल नखाने कुनै पनि दर्शन अथवा शिक्षा उपयोगी छैन भनी स्पष्टै देखे। कुनै कुनै अवसरमा तिनीहरूको समयका बुद्धिमान्‌ मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने आफू वरपरको प्रमाण बेवास्ता गर्दै “सत्यतालाई . . . दबाइराख्ने” प्रयास गरेका थिए। “बुद्धिमान छु भनेर तिनीहरू मूर्ख भए” भनी पावलले लेखे। परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सही कुरा इन्कार गरेका हुनाले “तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूका बेहोशी हृदय अँध्यारो भयो।”—रोमी १:१८-२२; यर्मिया ८:८, ९.

आफूलाई बुद्धिमान्‌ सम्झनेहरू प्रायजसो आफ्नो मनमा “ईश्‍वर छैन” अथवा “बाइबल भरोसा योग्य छैन” वा “यी ‘अन्तिम दिन’ होइनन्‌” भन्‍ने निष्कर्ष निकाल्छन्‌। त्यस्ता विचारहरू “२=१” हुन्छ भनेर मानिलिनुझैं परमेश्‍वरको दृष्टिकोणमा मूर्खता हो। (१ कोरिन्थी ३:१९) मानिसहरूले जस्तोसुकै ओहोदाका धाक लगाऊन्‌, तपाईंले परमेश्‍वरसित मेल नखाने, उहाँको वचन बेवास्ता गर्न लगाउने वा आफ्नो सामान्य तर्कलाई नै गलत मान्‍ने तिनीहरूको निष्कर्ष स्वीकार्नु आवश्‍यक छैन। अन्ततः बुद्धिमत्तापूर्ण मार्ग यही हो कि, “परमेश्‍वर सत्य र हरेक मानिस झूटो ठहरिओस्‌।”—रोमी ३:४.

[फुटनोट]

a विस्तृत जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित द बाइबल—गड्‌स वर्ड अर म्यान्स?इज देर अ क्रिएटर हु क्येर्स? पुस्तकहरू हेर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

मानिसहरूको परिवर्तनशील विचारधाराहरूको ठीक विपरीत बाइबलले विश्‍वासको लागि ठोस आधार दिन्छ

[स्रोत]

Left, Epicurus: Photograph taken by courtesy of the British Museum; upper middle, Plato: National Archaeological Museum, Athens, Greece; right, Socrates: Roma, Musei Capitolini