सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?

के तपाईं यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?

के तपाईं यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?

“मेरो मनले तपाईंका साक्षी-वचनहरू [ “सम्झौटोहरू,” NW] पालन गरेको छ। र म तिनीहरूलाई अत्यन्तै प्रेम गर्दछु।”–भजन ११९:१६७.

१. हामी विशेष गरी यहोवाका सम्झौटोहरूबारे बारम्बार कहाँ दोहऱ्‍याइएको पाउँछौं?

 यहोवा आफ्ना जनहरू आनन्दित भएको हेर्न चाहनुहुन्छ। तर साँचो सुखको आनन्द उठाउन हामी परमेश्‍वरको व्यवस्थाअनुसार चल्नैपर्छ र उहाँका आज्ञाहरू पालन गर्नैपर्छ। त्यसैले उहाँ हामीलाई सम्झौटोहरू दिनुहुन्छ। धर्मशास्त्रमा र विशेष गरी भजन ११९ मा यस्ता सम्झौटोहरू बारम्बार दोहऱ्‍याइएका छन्‌। जवान राजकुमार हिजकियाहले रचेका सुन्दर गीत, भजन ११९ यी शब्दहरूद्वारा सुरु हुन्छन्‌: “तिनीहरू धन्यका हुन्‌, जसको चाल निर्दोष छ, जो परमप्रभुका व्यवस्थामा चल्दछन्‌। तिनीहरू धन्यका हुन्‌, जसले उहाँका साक्षी-वचनहरू [ “सम्झौटोहरू,” NW] पालन गर्दछन्‌, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्‌।”—भजन ११९:१, २.

२. परमेश्‍वरका सम्झौटोहरू आनन्दसित कसरी सम्बन्धित छन्‌?

उहाँको वचनको सही ज्ञान लिएर तथा त्यसलाई जीवनमा प्रयोग गरेर हामी ‘परमेश्‍वरको व्यवस्थामा चल्छौं।’ तथापि, हामी असिद्ध भएकाले हामीलाई सम्झौटोहरू चाहिन्छ। “सम्झौटोहरू” भनेर अनुवाद गरिएको हिब्रू शब्दले परमेश्‍वरले हामीलाई आफ्ना व्यवस्थाहरू, आदेशहरू, नियमहरू, आज्ञाहरू तथा विधिहरू सम्झाउनुहुन्छ भन्‍ने अर्थ बुझाउँछ। (मत्ती १०:१८-२०) यी सम्झौटोहरू पालन गऱ्‍यौं भने मात्र हामी आनन्दित रहनेछौं किनकि यिनैले हामीलाई आपत्‌ तथा दुःखमा पार्ने आध्यात्मिक खाडलहरूबाट जोगिन मदत गर्छन्‌।

यहोवाका सम्झौटोहरू पक्रनुहोस्‌

३. भजन ११९:६०, ६१ को आधारमा हामीसित कस्तो आश्‍वासन छ?

“तपाईंका आज्ञाहरू पालन गर्न, मैले आतुरी गरें, ढीलो गरिनँ। दुष्टहरूका डोरीले मलाई जेलेका छन्‌। तर मैले तपाईंका व्यवस्था बिर्सेको छैनँ” भनी प्रार्थना गर्ने भजनरचयिता परमेश्‍वरको सम्झौटोहरूलाई अनमोल ठान्थे। (भजन ११९:६०, ६१) यहोवाका सम्झौटोहरूले हामीलाई सतावट सहन मदत गर्छ किनकि हामीलाई बाँध्ने शत्रुहरूका डोरी स्वर्गमा हुनुहुने हाम्रो पिताले चुँडाइदिनुहुन्छ भनेर हामी आश्‍वस्त छौं। हामीले राज्य प्रचार कार्य गर्न सकोस्‌ भनेर समयमा उहाँले हामीलाई यस्ता अवरोधहरूबाट हटाउनुहुन्छ।—मर्कूस १३:१०.

४. परमेश्‍वरका सम्झौटोहरूप्रति हामीले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुपर्छ?

कहिलेकाहीं हामीलाई यहोवाका सम्झौटोहरूले सुधार्छन्‌। भजनरचयिताले जस्तै हामीले पनि यस्ता सुधारहरूको मूल्यांकन गरौं। तिनले प्रार्थनापूर्वक परमेश्‍वरलाई यसो भने: “तपाईंका साक्षी-वचन [“सम्झौटो,“ NW] पनि मेरो आनन्द . . . हुन्‌ . . . तपाईंका सम्झौटोहरूलाई म प्रेम गर्दछु।” (भजन ११९:२४, ११९) हामीसित भजनरचयितासित भन्दा पनि धेरै सम्झौटोहरू छन्‌। युनानी धर्मशास्त्रमा हिब्रू धर्मशास्त्रबाट लिइएका सयौं उद्धरणहरूले हामीलाई यहोवाले व्यवस्थाअन्तर्गत आफ्ना जनहरूलाई दिनुभएका निर्देशनहरूका साथै मसीही मण्डलीसम्बन्धी उहाँका उद्देश्‍यहरू पनि स्मरण गराउँछन्‌। आफ्ना व्यवस्थाहरूसित सम्बन्धित केही कुरा हामीलाई सम्झाउन परमेश्‍वरले आवश्‍यक देख्नुभएमा हामी त्यस्ता निर्देशनहरू कृतज्ञ भई स्वीकार्छौं। अनि यहोवाका ‘सम्झौटोहरूमा लागिरह्‍यौं’ भने हामी हाम्रा सृष्टिकर्तालाई अप्रसन्‍न तुल्याउने र हाम्रो आनन्द हरण गर्ने पापी प्रलोभनहरूबाट जोगिन्छौं।—भजन ११९:३१.

५. यहोवाका सम्झौटोहरूलाई हामी कसरी असाध्यै माया गर्न पुग्छौं?

यहोवाका सम्झौटोहरूलाई हामीले कत्तिको माया गर्नुपर्छ? भजनरचयिताले यसप्रकार गाए, “मेरो मनले तपाईंका साक्षी-वचनहरू [“सम्झौटोहरू,” NW] पालन गरेको छ। र म तिनीहरूलाई अत्यन्तै प्रेम गर्दछु।” (भजन ११९:१६७) यहोवाका सम्झौटोहरूलाई साँच्चै माया गर्ने पिताले दिनुभएको सल्लाह सम्झ्यौं र त्यसलाई स्वीकाऱ्‍यौं भने हामी यहोवाका सम्झौटोहरूलाई असाध्यै माया गरिरहेका हुनेछौं। (१ पत्रुस ५:६, ७) हामीलाई उहाँका सम्झौटोहरू चाहिन्छ र तिनीहरूले हामीलाई कसरी मदत गर्छन्‌, त्यो बुझ्यौं भने त्यसप्रतिको हाम्रो माया बढ्‌नेछ।

हामीलाई परमेश्‍वरका सम्झौटोहरू किन चाहिन्छ

६. हामीलाई परमेश्‍वरका सम्झौटोहरू चाहिनुको एउटा कारण के हो र ती सम्झन हामीलाई केले मदत गर्नेछ?

हामीलाई परमेश्‍वरका सम्झौटोहरू चाहिनुको एउटा कारण हामी भुलक्कड भएकाले पनि हो। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “साधारणतया, समय बित्दै जाँदा मानिसहरू झन्‌ झन्‌ भुलक्कड हुँदै जान्छन्‌। . . . पहिले पहिले झट्टै सम्झिहाल्ने व्यक्‍तिको नाउँ वा कुनै जानकारी अहिले आएर सम्झनै नसक्ने भएको सायद तपाईं आफैले पनि अनुभव गर्नुभएको होला। . . . यसरी अक्सर अस्थायी रूपमा स्मरण शक्‍ति कमजोर हुनु, फेरि सुधार्न सकिने कमजोरी हो। वैज्ञानिकहरू यसरी स्मरण गर्ने प्रयत्न गर्नुलाई अस्तव्यस्त कोठामा कुनै सामान खोज्ने प्रयास गर्नुसित तुलना गर्छन्‌। . . . कुनै जानकारी राम्ररी सम्झेको हो कि होइन पक्का गर्ने राम्रो तरिका, उक्‍त जानकारी मनमा ठप्प नबसुञ्जेल मनमा खेलाइरहनु हो।” लगनशील भई अध्ययन गर्दा र दोहऱ्‍याउँदा परमेश्‍वरका सम्झौटोहरू सम्झन र हाम्रै फाइदाका लागि ती प्रयोगमा ल्याउन सक्नेछौं।

७. आज हामीलाई परमेश्‍वरका सम्झौटोहरू पहिलेभन्दा झन्‌ धेरै किन चाहिएको छ?

आज हामीलाई परमेश्‍वरका सम्झौटोहरू पहिलेभन्दा झन्‌ धेरै चाहिएको छ किनकि दुष्टता निकै माथिसम्म चुल्लिसकेको छ। परमेश्‍वरका सम्झौटोहरूमा ध्यान दियौं भने संसारको दुष्ट रीतिहरूको पासोमा पर्नदेखि जोगिन हामीले आवश्‍यक अन्तर्दृष्टि पाउनेछौं। भजनरचयिताले यसो भने: “मेरा सबै गुरुभन्दा मेरो समझ ज्यादा छ। किनकि मेरो ध्यान तपाईंका साक्षी-वचनमा [“सम्झौटोमा,” NW] छ। बूढ़ापाकाहरूले भन्दा म ज्यादै बुझ्दछु, किनभने मैले तपाईंका आदेशहरू पालन गरेको छु। तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्ना खुट्टालाई हरेक खराब चालबाट रोकेको छु।” (भजन ११९:९९-१०१) परमेश्‍वरका सम्झौटोहरू पालन गरेर हामी “हरेक खराब चालबाट” अलग रहनेछौं र “अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना” हुने थुप्रै मानिसहरूजस्तो हुनबाट जोगिनेछौं।—एफिसी ४:१७-१९.

८. विश्‍वासका परीक्षाहरूको सफलतासाथ सामना गर्न हामी कसरी सुसज्जित हुनसक्छौं?

परमेश्‍वरका सम्झौटोहरूले हामीलाई यस ‘अन्तको समयमा’ थुप्रै परीक्षा सहन बलियो पार्ने भएकोले पनि ती सम्झौटोहरू चाहिन्छ। (दानिएल १२:४) यस्ता सम्झौटोहरूबिना हामी ‘सुनेर बिर्सनेहरू’ जस्ता हुनेछौं। (याकूब १:२५) ‘विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत’ प्राप्त प्रकाशनहरूको व्यक्‍तिगत तथा मण्डलीको रूपमा लगनशील भई अध्ययन गर्दा पनि त्यसले हामीलाई सफलतासाथ परीक्षाको सामना गर्न मदत गर्नेछ। (मत्ती २४:४५-४७) कठिन परिस्थितिमा पर्दा पनि यहोवालाई प्रसन्‍न तुल्याउन हामीले गर्नै पर्ने कुरा बुझ्न यस्ता आध्यात्मिक प्रबन्धहरूले हामीलाई मदत गर्छन्‌।

हाम्रा सभाहरूको महत्त्वपूर्ण भूमिका

९. “पुरुषहरूमध्ये वरदान” को हुन्‌ र सँगी विश्‍वासीहरूलाई तिनीहरू कसरी मदत गर्छन्‌?

हामीलाई चाहिने परमेश्‍वरका सम्झौटोहरू प्राप्त गर्ने अर्को तरिका मसीही सभाहरू हुन्‌, त्यहाँ नियुक्‍त भाइहरूले हामीलाई निर्देशन दिन्छन्‌। येशू “माथि उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूलाई वरदान [“पुरुषहरूमध्ये वरदान,” NW] दिनुभयो” भनी प्रेरित पावलले लेखे। पावलले यसो पनि लेखे: “[ख्रीष्टले] कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापन्‍नमा पवित्र जनहरूको सिद्धता हुनाको निम्ति नियुक्‍त गर्नुभयो।” (एफिसी ४:८, ११, १२) उपासनाको निम्ति एकसाथ भेला हुँदा यी “पुरुषहरूमध्ये वरदान” अर्थात्‌ नियुक्‍त प्राचीनहरूले हाम्रो ध्यान यहोवाका सम्झौटोहरूतर्फ आकर्षित गरिदिएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं!

१०. हिब्रू १०:२४, २५ को मूल आशय के हो?

१० ईश्‍वरीय प्रबन्धहरूप्रतिको कृतज्ञताले हामीलाई प्रत्येक हप्ता मण्डलीका पाँचैवटा सभाहरूमा उपस्थित हुन उत्प्रेरित गर्नेछ। नियमित तवरमा एकसाथ भेला हुनुपर्ने आवश्‍यकतालाई पावलले जोड दिए। तिनले यसरी लेखे: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।”—हिब्रू १०:२४, २५.

११. हाम्रा प्रत्येक साप्ताहिक सभाहरूले हामीलाई कसरी फाइदा पुऱ्‍याउँछन्‌?

११ हाम्रा सभाहरूले हाम्रोनिम्ति गर्ने कुराहरूका लागि के तपाईं मूल्यांकन गर्नुहुन्छ? साप्ताहिक प्रहरीधरहरा अध्ययनले हाम्रो विश्‍वासलाई बलियो पार्छ, यहोवाका सम्झौटोहरूअनुरूप चल्न मदत गर्छ र “संसारको आत्मा” विरुद्ध खडा हुन बलियो बनाउँछ। (१ कोरिन्थी २:१२; प्रेरित १५:३१) जन सभामा वक्‍ताले परमेश्‍वरको वचनबाट निर्देशन दिनुका साथै यहोवाका सम्झौटोहरू र येशूले भन्‍नुभएका “अनन्त जीवनका” अद्‌भुत “कुरा” प्रस्तुत गर्छन्‌। (यूहन्‍ना ६:६८; ७:४६; मत्ती ५:१–७:२९) ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा हाम्रो शिक्षण कला खारिन्छ। घरघरमा, पुनःभेटमा, गृह बाइबल अध्ययन तथा हाम्रो सेवकाईका अन्य पक्षमा सुसमाचार प्रस्तुत गर्ने हाम्रो तरिकालाई अझ तिखार्न सेवा सभा अत्यन्तै मदतकारी छ। मण्डली पुस्तक अध्ययनको सानो समूहमा हामीलाई अक्सर परमेश्‍वरका सम्झौटोहरू समावेश भएका विचारहरू व्यक्‍त गर्ने निकै मौका मिल्छ।

१२, १३. एक एसियाली मुलुकमा परमेश्‍वरका जनहरूले मसीही सभाहरूका लागि कसरी मूल्यांकन व्यक्‍त गरे?

१२ मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित हुँदा हामीले परमेश्‍वरका आज्ञाहरू सम्झने मौका पाउनुका साथै सभाहरूले हामीलाई युद्ध, आर्थिक कठिनाइ तथा विश्‍वासका अन्य परीक्षाहरूको बेला आध्यात्मिक तवरमा बलियो हुन मदत गर्छ। आफ्नो घरबाट निकालिएर घना जंगलमा जीवन बिताउन बाध्य एउटा एसियाली मुलुकमा ७० जना जति मसीहीहरूले सभाहरूको महत्त्व राम्ररी बुझे। नियमित तवरमा सभामा भेला हुने अठोट गर्दै तिनीहरू युद्धग्रस्त गाउँमा फर्किए, राज्यभवनको बाँकी रहेका सरसामानहरू खोलखाल गरेर त्यसलाई जंगलमा लगेर जोडजाड गरी राज्यभवन पुनर्निर्माण गरे।

१३ त्यही मुलुकको अर्को ठाउँमा वर्षौं युद्धको चपेटामा परिसकेका यहोवाका जनहरू अझै जोसिलो भई सेवा गरिरहेका छन्‌। उक्‍त इलाकाको एक जना प्राचीनलाई “भाइहरूलाई एकतामा राख्न कुन कुरा सबैभन्दा मदतकारी साबित भयो?” भनेर सोध्दा तिनले यस्तो जवाफ दिए: “बितेको १९ वर्षमा हामीले एक पटक पनि सभाहरू धाउन छोडेनौं। कहिलेकाहीं बमवर्षा र अन्य कठिनाइहरूले गर्दा केही भाइहरू सभा हुने स्थानसम्म आइपुग्न सक्दैनथे, तैपनि, हामीले एउटै सभा रद्द गरेनौं।” यी प्रिय भाइ तथा बहिनीहरूले ‘एक ठाउँमा भेला हुनालाई छोड्‌न नहुने’ महत्त्वको पक्कै पनि मूल्यांकन गरे।

१४. वृद्ध हन्‍नाको बानीबाट हामी के सिक्नसक्छौं?

१४ चौरासी वर्षीया हन्‍ना “मन्दिर छोड़दैन थिइन्‌।” फलतः जन्मनुभएको केही दिन मात्र हुनुभएको येशूलाई शिशु अवस्थामा मन्दिरमा ल्याइँदा तिनी त्यहाँ उपस्थित थिइन्‌। (लूका २:३६-३८) के तपाईंले सभाहरू नछुटाउने दृढ निश्‍चय गर्नुभएको छ? के तपाईंले हाम्रा सम्मेलन तथा अधिवेशनहरूका सम्पूर्ण कार्यक्रममा उपस्थित हुन यथासक्य प्रयत्न गरिरहनुभएको छ? यी जमघटहरूबाट प्राप्त हुने लाभप्रद आध्यात्मिक निर्देशनहरूले हामीलाई स्वर्गमा हुनुहुने हाम्रो पिता आफ्ना जनहरूको साँच्चै ख्याल गर्नुहुन्छ भन्‍ने प्रमाण दिन्छन्‌। (यशैया ४०:११) यस्ता अवसरहरूले आनन्द पनि बढाउँछन्‌ र हाम्रो उपस्थितिले यहोवाका सम्झौटोहरूप्रतिको हाम्रो मूल्यांकन व्यक्‍त गर्छ।—नहेम्याह ८:५-८, १२.

यहोवाका सम्झौटोहरूद्वारा अलग पारिएका

१५, १६. परमेश्‍वरका सम्झौटोहरू पालन गर्दा यसले हाम्रो आचरणलाई कसरी असर पार्छ?

१५ परमेश्‍वरका सम्झौटोहरूले हामीलाई यस दुष्ट रीतिरिवाजबाट अलग रहन मदत गर्छ। उदाहरणका लागि, परमेश्‍वरका सम्झौटोहरू पालन गर्दा त्यसले हामीलाई यौन अनैतिकताबाट जोगाउँछ। (व्यवस्था ५:१८; हितोपदेश ६:२९-३५; हिब्रू १३:४) झूटो बोल्ने वा बेइमान हुने अथवा चोर्ने प्रलोभनलाई ईश्‍वरीय सम्झौटोहरू पालन गरेर सफलतासाथ दबाउन सकिन्छ। (प्रस्थान २०:१५, १६; लेवी १९:११; हितोपदेश ३०:७-९; एफिसी ४:२५, २८; हिब्रू १३:१८) यहोवाका सम्झौटोहरू पालन गर्दा त्यसले हामीलाई बदला लिन, द्वेष भाव कायम राख्न वा अरूको कुरा काट्‌नदेखि पनि रोक्छ।—लेवी १९:१६, १८; भजन १५:१, ३.

१६ परमेश्‍वरका सम्झौटोहरू पालन गरेर हामी उहाँको सेवाको निम्ति पवित्र हुन्छौं वा अलग पारिन्छौं। अनि यस संसारबाट अलग हुनु एकदमै महत्त्वपूर्ण छ! पार्थिव जीवनको अन्तिम रात यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहुँदा येशूले आफ्ना अनुयायीहरूको सम्बन्धमा यस्तो बिन्ती गर्नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्‍यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌! सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्‌, तपाईंको वचन सत्य हो।” (यूहन्‍ना १७:१४-१७) आउनुहोस्‌, हामी परमेश्‍वरको पवित्र सेवाको निम्ति हामीलाई अलग पार्ने उहाँको वचनको कदर गरिरहौं।

१७. परमेश्‍वरका सम्झौटोहरू तिरस्कार गऱ्‍यौं भने के हुनसक्छ र हामीले के गर्नुपर्ने हो?

१७ यहोवाका सेवकहरूको हैसियतमा हामी उहाँको सेवा गर्न योग्यको भइरहन चाहन्छौं। तथापि, परमेश्‍वरका सम्झौटोहरू तिरस्कार गऱ्‍यौं भने हामीलाई बोलीवचन, साहित्य, मनोरञ्जन तथा आचरणमा व्याप्त यस संसारको आत्माले पराजित गर्नेछ। अनि हामी धनसम्पत्तिको प्रेमी, अहंकारी, हठी, कृतघ्न, अवफादार, जंगली, जिद्दी, घमण्डी, परमेश्‍वरभन्दा सुखविलास निको मान्‍ने आदि जस्ता परमेश्‍वरबाट बिराना भएका मानिसहरूले प्रकट गर्ने गुणहरूमध्ये कुनै पनि गुण प्रकट गर्न चाहँदैनौं। (२ तिमोथी ३:१-५) हामी यस दुष्ट रीतिरिवाजको आखिरी दिनको पनि आखिरी दिनमा बाँचिरहेको हुनाले यहोवाका सम्झौटोहरू पालन गरिरहन सकौं भनेर ईश्‍वरीय मदतका लागि यहोवालाई प्रार्थना गरिरहौं र ‘उहाँको वचनमा ध्यान दिइरहौं।’—भजन ११९:९.

१८. परमेश्‍वरका सम्झौटोहरू पालन गर्दा यसले हामीलाई कस्ता सकारात्मक कदमहरू चाल्न उत्प्रेरित गर्छ?

१८ यहोवाका सम्झौटोहरूले हामीलाई हामीले गर्नै नहुने कामकुराहरूबाट मात्र सतर्क गराउँदैन। उहाँका सम्झौटोहरू पालन गर्दा त्यसले हामीलाई सकारात्मक कदमहरू चाल्न अनि यहोवामाथि पूर्ण भरोसा राख्न प्रेरित गर्नुका साथै उहाँलाई हाम्रो सम्पूर्ण हृदय, प्राण, मन र शक्‍तिले प्रेम गर्न उत्प्रेरित गर्छ। (व्यवस्था ६:५; भजन ४:५; हितोपदेश ३:५, ६; मत्ती २२:३७; मर्कूस १२:३०) परमेश्‍वरका सम्झौटोहरूले हामीलाई आफ्ना छिमेकीलाई प्रेम गर्न पनि उत्प्रेरित गर्छ। (लेवी १९:१८; मत्ती २२:३९) विशेष गरी, ईश्‍वरीय इच्छा पूरा गरेर तथा अरूसित “परमेश्‍वरको” जीवनदायी “ज्ञान” बाँडेर हामी परमेश्‍वर र छिमेकीहरूप्रतिको आफ्नो प्रेम जाहेर गर्छौं।—हितोपदेश २:१-५.

यहोवाका सम्झौटोहरू

पालन गर्नुको अर्थ जीवन हो !

१९. यहोवाका सम्झौटोहरू पालन गर्नु व्यावहारिक तथा लाभदायी छ भनेर हामी अरूलाई कसरी देखाउन सक्छौं?

१९ यहोवाका सम्झौटोहरू पालन गऱ्‍यौं र अरूलाई पनि त्यसै गर्न मदत गऱ्‍यौं भने हामीले आफूलाई र आफूलाई सुन्‍नेलाई समेत बचाउनेछौं। (१ तिमोथी ४:१६) यहोवाका सम्झौटोहरू पालन गर्नु साँच्चै व्यावहारिक तथा लाभदायी छ भनेर हामी कसरी देखाउनसक्छौं? आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू प्रयोग गरेर। यसरी, “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्तिले” वास्तवमा परमेश्‍वरको वचनमा बताइएको मार्गमा चल्नु सर्वोत्तम छ भन्‍ने प्रमाण पाउनेछन्‌। (प्रेरित १३:४८) ‘परमेश्‍वर हामीहरूका बीचमा हुनुहुन्छ’ भनेर पनि तिनीहरूले देख्नेछन्‌ र सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको उपासनामा हामीलाई साथ दिन अघि बढ्‌नेछन्‌।—१ कोरिन्थी १४:२४, २५.

२०, २१. परमेश्‍वरका सम्झौटोहरू र उहाँको आत्माले हामीलाई के गर्न मदत गर्नेछ?

२० धर्मशास्त्र अध्ययन गरिरहेर, सिकेको कुरा प्रयोगमा ल्याएर अनि यहोवाको आध्यात्मिक प्रबन्धको पूरापूर फाइदा उठाएर हामी उहाँका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्न थाल्नेछौं। यी सम्झौटोहरू पालन गरेको खण्डमा त्यसले हामीलाई “परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको” “नयाँ मानिसलाई धारण” गर्न मदत गर्नेछ। (एफिसी ४:२०-२४) यहोवाका सम्झौटोहरू र उहाँको पवित्र आत्माले हामीलाई प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, आत्मसंयम जस्ता गुणहरू प्रकट गर्न मदत गर्नेछ जुन शैतानको शक्‍तिमा परेको यस संसारका गुणहरू भन्दा धेरै गुणा फरक छन्‌! (गलाती ५:२२, २३; १ यूहन्‍ना ५:१९) त्यसकारण, व्यक्‍तिगत बाइबल अध्ययन, नियुक्‍त प्राचीन अथवा सभा, सम्मेलन तथा अधिवेशनहरूमार्फत यहोवाका सम्झौटोहरू हामीलाई दिइएकोमा हामी कृतज्ञ हुनसक्छौं।

२१ यहोवाका सम्झौटोहरू पालन गरेको हुनाले धार्मिकताको कारण सताइँदासमेत हामी रमाउन सकेका छौं। (लूका ६:२२, २३) अत्यन्तै खतरनाक परिस्थितिबाट पनि हामीलाई परमेश्‍वरले जोगाउनु हुनेछ भनी हामी उहाँको बाटो हेर्छौं। सम्पूर्ण जाति “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँको निम्ति” आरमागेडोनमा जम्मा गरिंदै गरेको यो अहिले विशेष गरी महत्त्वपूर्ण छ।—प्रकाश १६:१४-१६.

२२. यहोवाका सम्झौटोहरूको सम्बन्धमा हाम्रो के अठोट हुनुपर्छ?

२२ अनन्त जीवनको अनुग्रहले भरिपूर्ण उपहारको हकदार हुन चाहन्छौं भने हामीले यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुका साथै सारा हृदयले पालन गर्नैपर्छ। त्यसकारण, हामीसित पनि भजनरचयिताको जस्तै मनोवृत्ति होस्‌। तिनले यसरी गाए: “तपाईंका सम्झौटोहरू सदा धर्ममय छन्‌, मलाई समझ दिनुहोस्‌, र म जीवित रहनेछु।” (भजन ११९:१४४) “मैले तपाईंलाई [यहोवालाई] पुकारा गरेको छु, मेरो उद्धार गर्नुहोस्‌, अनि म तपाईंका सम्झौटोहरू पालन गर्नेछु” भन्दै भजनरचयिताले व्यक्‍त गरेका यी दृढ अठोट हामीले पनि व्यक्‍त गर्न सकौं। (भजन ११९:१४६) हो, वचन तथा कामद्वारा हामी साँच्चै यहोवाका सम्झौटोहरूलाई प्रेम गर्छौं भनेर प्रमाणित गरौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाका सम्झौटोहरूप्रति भजनरचयिताको कस्तो दृष्टिकोण थियो?

• हामीलाई परमेश्‍वरका सम्झौटोहरू किन चाहिन्छ?

• ईश्‍वरीय सम्झौटोहरूको सम्बन्धमा हाम्रा सभाहरूले कस्तो भूमिका निर्वाह गर्छन्‌?

• यहोवाका सम्झौटोहरूले हामीलाई यस संसारबाट कसरी अलग पार्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

भजनरचयिताले यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गरे

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

हन्‍नाको अनुकरण गर्दै के तपाईंले एउटै पनि सभा नछुटाउने निर्णय गर्नुभएको छ?

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाका सम्झौटोहरूले हामीलाई सफा र ग्रहणयोग्य सेवा चढाउन अलग पारेको छ