सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल कदर अनि शोषणको पात्र

बाइबल कदर अनि शोषणको पात्र

बाइबल कदर अनि शोषणको पात्र

“सबै भाषामा पवित्र धर्मशास्त्र अनुवाद गरियोस्‌, यही मेरो चाहना हो” भनी १६ औं शताब्दीका सम्मानित डच विद्वान्‌ डेसीडर्युस इरास्मसले लेखे।

धर्मशास्त्र सबै मानिसले पढेर बुझून्‌ भन्‍ने इरास्मसको एक मात्र आशा थियो। तथापि, बाइबलका विरोधीहरूले त्यस्तो विचारधाराको घोर विरोध गरे। वास्तवमा, त्यसबेलाको युरोप, बाइबलमा अलिकता मात्र चासो लिनेहरूका लागि समेत अति खतरनाक ठाउँ थियो। बेलाइतमा एउटा सांसदीय ऐन जारी गरिएको थियो। त्यसले यस्तो आदेश दिएको थियो, “अंग्रेजी धर्मशास्त्र पढ्‌ने जोसुकैलाई पनि त्यसको सर्वस्व हरण गर्नुका साथै मृत्युदण्ड पनि दिनुपर्छ। . . . अनि एक चोटि माफी दिइसकेपछि पनि बारम्बार अटेरी भएर पढिरहेको भेटियो भने अथवा आफ्नो पुरानो काम छाडेन भने त्यसलाई राजद्रोह गरेको आरोपमा झुन्ड्याइनुका साथै परमेश्‍वर विरुद्ध पाप गरेको मानेर जलाइनुपर्छ।”

युरोपेली मातृभूमीमा क्याथोलिक इनक्विजिशनले निर्दयतासाथ फ्रेन्च वाल्डेन्सेसजस्ता “धर्मका विरोधी” कहलिएकाहरूको खोजी गरेर तिनीहरूमाथि अत्याचार गऱ्‍यो। किनभने तिनीहरूले “प्रचार गर्ने र पवित्र शास्त्रहरू साधारण मानिसहरूले हेर्न नपाउने नियमको बावजूद सुसमाचारका पुस्तक तथा पत्रहरू अनि अन्य पवित्र शास्त्रहरूबाट . . .” प्रचार गर्थे। असंख्य पुरुष तथा स्त्रीहरूले बाइबललाई प्रेम गरेको हुनाले असह्‍य पीडा र मृत्युदण्ड समेत पाए। प्रभुको प्रार्थना दोहोऱ्‍याउँदा अथवा दस आज्ञा आफ्ना छोराछोरीलाई कण्ठस्थ गराउँदा मात्र पनि तिनीहरूको ज्यान जोखिममा हुन्थ्यो।

परमेश्‍वरको वचनप्रतिको त्यस्तो भक्‍ति उत्तर अमेरिकालाई उपनिवेश बनाउन यात्रा गर्ने मानिसहरूको हृदयमा पनि थियो। प्राचीन अमेरिकामा “पढाइ र धर्मबीच घनिष्ठ सम्बन्ध थियो। त्यतिबेलाको समाज नै बाइबलसित चिरपरिचित हुनुमा आधारित थियो” भनी अ हिस्ट्री अफ प्राइभेट लाइफ—पासन्स अफ द रेनसाँस नामक पुस्तक बताउँछ। वास्तवमा, सन्‌ १७६७ मा बोस्टोनमा प्रकाशित उपदेशमा यस्तो सुझाउ दिइएको थियो: “पवित्र धर्मशास्त्रको पढाइमा जेहनदार हुनुहोस्‌। हरेक बिहान र बेलुकी बाइबलबाट एक अध्याय अवश्‍य पढ्‌नुहोस्‌।”

क्यालिफोर्नियास्थित भेनच्युराको बार्ना रिसर्च ग्रुपका अनुसार ९० प्रतिशत अमेरिकीहरूसित औसतन तीनवटा बाइबल छ। बाइबलप्रतिको कदर अझै यथावतै भए तापनि वर्तमान अध्ययनले देखाएअनुसार, “यसलाई पढ्‌नु, अध्ययन गर्नु र त्यसैअनुसार चल्नुचाहिं . . . पुरानो चलन भइसक्यो।” थुप्रै मानिससित बाइबलको सतही ज्ञान मात्र छ। एउटा अखबारका स्तम्भकारले यसो लेखे: “थोरैले मात्र वर्तमान समस्या तथा चिन्ताहरू सुल्झाउन [बाइबलले] अहिले पनि मदत दिनसक्छ भन्‍ने सोचाइ राख्छन्‌।”

धर्म निरपेक्ष विचारधाराको लहर

आज मानिसहरूमा आफ्नै तर्कशक्‍ति र मानव सहयोगद्वारा जीवनमा सफलता हासिल गर्नसकिन्छ भन्‍ने सोचाइ व्याप्त छ। बाइबललाई तथ्य र सत्यको स्रोतको रूपमा भन्दा पनि धार्मिक विचारधारा र व्यक्‍तिगत अनुभवहरूको पुस्तकको रूपमा लिइन्छ।

उसोभए, मानिसहरूले जीवनका जटिल अनि दुःखलाग्दा समस्याहरूको सामना कसरी गर्छन्‌ त? तिनीहरू आध्यात्मिक तवरमा खोक्रा भएकाले कुनै ठोस नैतिक तथा धार्मिक नीति निर्देशनविना नै त्यसको सामना गर्न तम्सन्छन्‌। तिनीहरू पतवार नभएका डुंगाहरू जस्तै भएका छन्‌, अर्थात्‌ “भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्‌याङ पारिएर यताउता हुर्रि[रहेका]” छन्‌।—एफिसी ४:१४.

त्यसोभए, हामीले यस्तो प्रश्‍न सोध्नैपर्छ, के बाइबल धार्मिक पुस्तक मात्रै हो वा व्यावहारिक अनि अत्यावश्‍यक जानकारीहरू भएको परमेश्‍वरको वचन पनि? (२ तिमोथी ३:१६, १७) के बाइबल जाँच्न योग्य पुस्तक हो? अर्को लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

[पृष्ठ ३-मा भएको चित्र]

डेसीडर्युस इरास्मस

[स्रोत]

From the book Deutsche Kulturgeschichte

[पृष्ठ ४-मा भएको चित्र]

धर्मशास्त्रबाट प्रचार गरेकाले वाल्डेनहरूलाई सताइयो

[स्रोत]

Stichting Atlas van Stolk, Rotterdam