सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ

यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ

यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ

“[ यहोवाले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ।”–यशैया ४०:२९.

१. परमेश्‍वरले सृजनुभएका कुराहरूमा भएको शक्‍तिको उदाहरण दिनुहोस्‌।

 यहोवासित असीम शक्‍ति छ। अनि उहाँले सृजनु भएका कुराहरू हेर्नुहोस्‌, ती कत्ति सशक्‍त छन्‌! एउटा सूक्ष्म परमाणु अर्थात्‌ सम्पूर्ण थोकको आधारशिला यत्ति सानो छ कि एक थोपा पानीमा एक अरब खरब परमाणुहरू हुन्छन्‌। a सूर्यमा भएको परमाणविक प्रतिक्रियाबाट उत्पन्‍न उर्जामा नै हाम्रो जीवन निर्भर छ। तर पृथ्वीमा जीवन धान्‍न कति सौर्य उर्जा चाहिन्छ? सूर्यले उत्पन्‍न गर्ने सम्पूर्ण उर्जाको सबैभन्दा सानो भाग मात्र पृथ्वीले पाउँछ। तथापि, पृथ्वीमा आइपुग्ने सौर्य उर्जाको सानो कण पनि विश्‍वका सबै कलकारखानाहरूमा प्रयोग हुने सम्पूर्ण उर्जाभन्दा असीम छ।

२. निचोडमा यशैया ४०:२६ ले यहोवाको शक्‍तिबारे के भन्छ?

परमाणुको विषयमा सोचौं अथवा विशाल ब्रह्‍माण्डलाई हेरौं, यहोवाको विस्मयकारी शक्‍तिबाट प्रभावित नभई सुखै छैन। त्यसैकारण त उहाँले यसो भन्‍नुभएको रहेछ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउने छैन”! (यशैया ४०:२६) हो, यहोवा “सामर्थ्यमा बलियो” हुनु भएकोले र उहाँको “शक्‍तिको बड़प्पनले गर्दा” सम्पूर्ण ब्रह्‍माण्ड अस्तित्वमा आयो।

सर्वश्रेष्ठ शक्‍ति आवश्‍यक छ

३, ४. (क) हामीलाई थकाउन सक्ने केही तत्त्व के हुन्‌? (ख) कुन प्रश्‍न विचारणीय छ?

परमेश्‍वरको शक्‍ति असीमित छ भने मानिसहरूको चाहिं सीमित। हामी जतासुकै जाऔं, थकित मानिसहरू देख्छौं। तिनीहरू ब्यूँझँदा थाकेकै हुन्छन्‌ भने काममा जाँदा वा स्कूल जाँदा पनि थाकेकै हुन्छन्‌, घर फर्कंदा थाकेरै फर्कन्छन्‌ र सुत्दा त थाकेका मात्र होइन, थाकेर लखतरानसमेत भएका हुन्छन्‌। कतै गएर धीत मरुञ्जेल थकाइ मार्न पाए पनि हुन्थ्यो जस्तो कसै कसैलाई लाग्छ। हामी यहोवाका सेवकहरू पनि थाक्छौं किनकि ईश्‍वरभक्‍तिको जीवन बिताउन अथक प्रयास गर्नुपर्छ। (मर्कूस ६:३०, ३१; लूका १३:२४; १ तिमोथी ४:८) अनि हाम्रो शक्‍ति लिने अन्य थुप्रै कुरा छन्‌।

मसीहीहरू भए तापनि साधारणतया मानिसहरूले भोग्ने समस्याहरूबाट हामी मुक्‍त छैनौं। (अय्यूब १४:१) रोगबिमार, आर्थिक कठिनाइ वा जीवनमा आइपर्ने कठिन परिस्थितिले हामीलाई निरुत्साहित बनाउनसक्छन्‌। यी चुनौतीहरूको अतिरिक्‍त धार्मिकताको खातिर सतावट भोग्नु त छँदैछ। (२ तिमोथी ३:१२; १ पत्रुस ३:१४) यस संसारले दिनहुँ दिने दबाउ अनि हाम्रो राज्यको सुसमाचारप्रतिको विरोधले गर्दा हामीमध्ये कोही कोही यति थाक्छौं कि, यहोवाको सेवामा नै सुस्ताउन मनलाग्छ। यसबाहेक, शैतान अर्थात्‌ दियाबलले परमेश्‍वरप्रतिको हाम्रो निष्ठालाई तोड्‌न सक्दो प्रयास गरिरहेको छ। त्यसोभए, थकाइ लागेर लत्तो छोड्‌नदेखि सतर्क रहन हामी आवश्‍यक आध्यात्मिक बल कहाँबाट पाउनसक्छौं?

५. मसीही सेवकाई पूरा गर्न मानव शक्‍तिभन्दा धेरै शक्‍ति किन चाहिन्छ?

आध्यात्मिक शक्‍तिका लागि हामी सर्वशक्‍तिशाली सृष्टिकर्ता, यहोवामा नै भर पर्नुपर्छ। मसीही सेवकाईमा असिद्ध मानवको सामान्य शक्‍तिभन्दा बढ्‌ता शक्‍तिको आवश्‍यक छ भन्‍ने कुरा प्रेरित पावलले औंल्याए। तिनले लेखे: “सर्वश्रेष्ठ शक्‍ति हाम्रो होइन, तर परमेश्‍वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।” (२ कोरिन्थी ४:७, नया संशोधित संस्करण) अभिषिक्‍त मसीहीहरू पार्थिव आशा भएका आफ्ना साथीहरूको समर्थन पाएर “मिलापको सेवा” पूरा गर्दैछन्‌। (२ कोरिन्थी ५:१८; यूहन्‍ना १०:१६; प्रकाश ७:९) हामी असिद्ध मानिसहरूले सतावटको बावजूद परमेश्‍वरको काम गरिरहेको हुनाले यो काम आफ्नै शक्‍तिमा भर परेर मात्र गर्न सक्दैनौं। यहोवाले हामीलाई आफ्नो पवित्र आत्माद्वारा मदत गर्नुहुन्छ र यसरी हाम्रो कमजोरीले उहाँको शक्‍तिको महिमा गर्छ। अनि “परमप्रभुले धर्मात्माहरूलाई थाम्नुहुन्छ” भन्‍ने आश्‍वासनबाट हामीले एकदमै सान्त्वना पाएका छौं!—भजन ३७:१७.

‘यहोवा हाम्रो शक्‍तिको स्रोत हुनुहुन्छ’

६. यहोवा हाम्रो शक्‍तिको स्रोत हुनुहुन्छ भनेर धर्मशास्त्रले हामीलाई कसरी आश्‍वासन दिन्छ?

स्वर्गमा हुनुहुने हाम्रो पिता “सामर्थ्यमा बलियो” हुनुहुन्छ र हामीलाई सजिलै बलियो बनाउन सक्नुहुन्छ। वास्तवमा, हामीलाई यसो भनिएको छ: “[यहोवाले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन्‌, र जवान मानिसहरू थाकेर ढल्नेछन्‌। तर परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभो उभो उड़नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंड़ेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।” (यशैया ४०:२९-३१) बढ्‌दो दबाउका कारण हामी कहिलेकाहीं आफूलाई एक कदम पनि अघि बढाउन नसक्ने गरी थाकेर लखतरान भएको धावकजस्तै महसुस गर्नसक्छौं। तर जीवनको दौड सकिनै लागेको छ, हामीले हरेस खानु हुँदैन। (२ इतिहास २९:११) हाम्रो विरोधी दियाबल “गर्जने सिंहझैं” हामीलाई खोजेर हिंड्‌दैछ र त्यो हामीलाई रोक्न चाहन्छ। (१ पत्रुस ५:८) अतः ‘यहोवा हाम्रो शक्‍ति र हाम्रो ढाल हुनुहुन्छ’ र उहाँले ‘दुर्बलहरूलाई बल दिन’ प्रशस्त प्रबन्ध मिलाउनुभएको छ भनेर कहिल्यै नबिर्सौं।—भजन २८:७.

७, ८. यहोवाले दाऊद, हबकूक र पावललाई बल दिनुभयो भन्‍ने के प्रमाण छ?

यहोवाले दाऊदलाई कठिन परीक्षाको सामु पनि खडा रहिरहन आवश्‍यक बल दिनुभयो। त्यसकारण, पूर्ण भरोसा र विश्‍वस्ततासाथ दाऊदले लेखे: “परमेश्‍वरद्वारानै हामी बहादुरी गर्नेछौं। किनकि हाम्रा विरोधीहरूलाई कुल्चने उहाँनै हुनुहुन्छ।” (भजन ६०:१२) हबकूक अगमवक्‍ताले उनको कार्यभार पूरा गर्न सकून्‌ भनेर यहोवाले तिनलाई पनि शक्‍ति दिनुभयो। हबकूक ३:१९ यसो भन्छ: “परमप्रभु, मेरा परमेश्‍वर, मेरा बल हुनुहुन्छ, उहाँले मेरो खुट्टा हरिणका खुट्टाझैं पार्नुहुनेछ, उहाँलेनै मलाई मेरा अल्गा अल्गा स्थानहरूमा हिंड़ाउनुहुनेछ।” पावलको उदाहरण पनि उल्लेखनीय छ। तिनले लेखे: “[परमेश्‍वरले] मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

दाऊद, हबकूक र पावलले जस्तै हामीले पनि हामीलाई बलियो बनाउनसक्ने परमेश्‍वरको क्षमतामाथि तथा हामीलाई बचाउनसक्ने उहाँको शक्‍तिमाथि विश्‍वास गर्नुपर्छ। सर्वशक्‍तिमान्‌ प्रभु यहोवा हाम्रो ‘बलको’ स्रोत हुनुहुन्छ भन्‍ने कुरा बुझिसकेपछि आउनुहोस्‌, परमेश्‍वरले प्रशस्त मात्रामा गर्नुभएका प्रबन्धहरूमार्फत आध्यात्मिक शक्‍ति प्राप्त गर्नसकिने केही तरिकाहरू विचार गरौं।

हामीलाई बलियो बनाउने आध्यात्मिक बन्ध

९. हामीलाई आध्यात्मिक पोषण दिन मसीही प्रकाशनहरूले कस्तो भूमिका खेल्छ?

मसीही प्रकाशनहरूको मदतद्वारा लगनशील भएर धर्मशास्त्रको अध्ययन गर्दा त्यसले हामीलाई बलियो बनाउनुका साथै थाम्छ। भजनरचयिताले यसरी गाए: “त्यो मानिस धन्य हो, . . . [जो] परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:१-३) शारीरिक बलको लागि भोजन खानु परेझैं आध्यात्मिक सुस्वास्थ्य कायम राख्न परमेश्‍वरले आफ्नो वचन तथा मसीही प्रकाशनहरूमार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक आहार लिनु आवश्‍यक छ। त्यसकारण, अर्थपूर्ण अध्ययन तथा मनन अत्यावश्‍यक छन्‌।

१०. अध्ययन र मनन गर्न हामी कहिले समय पाउन सकौंला?

१० “परमेश्‍वरका गहीरा गहीरा कुराहरू[मा]” मनन गर्नु वास्तवमा इनामदायी छ। (१ कोरिन्थी २:१०) तर मनन गर्ने समय कहाँबाट निकाल्ने? अब्राहामका छोरा इसहाक ‘साँझपख ध्यान गर्न खेतमा निस्कन्थे।’ (उत्पत्ति २४:६३-६७) भजनरचयिता दाऊद ‘रातको पहर पहरमा परमेश्‍वरको ध्यान गर्थे।’ (भजन ६३:६) हामी परमेश्‍वरको वचन बिहान, साँझ, रातमा, हर समय पढ्‌न अनि मनन गर्नसक्छौं। यस्तो अध्ययन र मननले आध्यात्मिक तवरमा बलियो बनाउने यहोवाको अर्को प्रबन्धतिर हाम्रो ध्यान खिच्छ। त्यो हो, प्रार्थना।

११. हामीले नियमित प्रार्थनालाई किन धेरै महत्त्व दिनुपर्छ?

११ परमेश्‍वरलाई नियमित तवरमा प्रार्थना गर्दा त्यसले हामीलाई बलियो बनाउँछ। त्यसकारण, “प्रार्थनामा अटूटसँग लागि[रहौं]”। (रोमी १२:१२) कहिलेकाहीं, हामीले परीक्षा सामना गर्न बुद्धि अनि बलको निम्ति विशेष आग्रह गर्नु आवश्‍यक पर्नसक्छ। (याकूब १:५-८) तर यसको साथसाथै उहाँको उद्देश्‍य पूरा भएको देख्दा वा उहाँको सेवामा लागिरहन बल दिनुभएको देख्दा परमेश्‍वरलाई धन्यवाद र स्तुति चढाउन कहिल्यै नबिर्सौं। (फिलिप्पी ४:६, ७) प्रार्थनामार्फत यहोवासित घनिष्ठ भइरह्‍यौं भने उहाँले हामीलाई कहिल्यै त्याग्नु हुनेछैन। दाऊदले यसप्रकार गाए, “हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ।”—भजन ५४:४.

१२. हामीले परमेश्‍वरसित उहाँको पवित्र आत्मा किन माग्नुपर्छ?

१२ हाम्रो स्वर्गमा हुनुहुने पिताले आफ्नो पवित्र आत्मा वा सक्रिय शक्‍तिद्वारा हामीलाई बलियो बनाउनुहुन्छ। पावलले लेखे: “म आफ्ना घुँड़ा पिताको सामने टेक्‍तछु, . . . तिमीहरूलाई भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा उहाँको महिमाको सम्पत्तिअनुसार शक्‍तिले बलिया तुल्याउना तिमीहरूलाई उहाँले मञ्जूर गरून्‌।” (एफिसी ३:१४-१६) यहोवाले हामीलाई पवित्र आत्मा दिनुहुन्छ भनी ढुक्क हुँदै यसको निम्ति प्रार्थना गर्नुपर्छ। येशूले यस्तो तर्क गर्नुभयो: छोराछोरीले माछा माग्यो भने के एउटा मायालु बुबाले उसलाई सर्प दिन्छ? पक्कै दिंदैन। अतः उहाँले अन्तमा यसो भन्‍नुभयो: “तिमीहरू [पापी र धेरथोर] दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:११-१३) त्यसकारण आउनुहोस्‌, यस्तो भरोसासहित प्रार्थना गरौं र परमेश्‍वरको आत्माले उहाँका विश्‍वासी सेवकहरूलाई “बलिया बनाउँछ” भनेर कहिल्यै नबिर्सौं।

मण्डली—बल पाउने माध्यम

१३. हामीले मसीही सभाहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?

१३ यहोवा हामीलाई मसीही मण्डलीका सभाहरूद्वारा बलियो बनाउनुहुन्छ। येशूले भन्‍नुभयो: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” (मत्ती १८:२०) येशूले उक्‍त वचन दिनुहुँदा मण्डलीमा नेतृत्व लिनेहरूले ध्यान दिनुपर्ने कुराहरू छलफल गरिरहनुभएको थियो। (मत्ती १८:१५-१९) तथापि, उहाँका यी शब्दहरू प्रार्थनाद्वारा सुरु हुने र प्रार्थनाद्वारा नै अन्त हुने हाम्रा सबै सभाहरू, सम्मेलनहरू तथा अधिवेशनहरूमा पनि लागू हुन्छ। (यूहन्‍ना १४:१४) अतः उपस्थिति थोरै होऊन्‌ वा हजारौं, यस्ता मसीही जमघटहरूमा उपस्थित हुन पाउनु एउटा विशेषाधिकार हो। त्यसकारण, हामीलाई आध्यात्मिक तवरमा बलियो पार्ने र प्रेम र सुकर्ममा उत्तेजित गराउने यी अवसरहरूका लागि कृतज्ञता जाहेर गरौं।—हिब्रू १०:२४, २५.

१४. मसीही प्राचीनहरूको प्रयासबाट हामी कस्तो फाइदा उठाउन सक्छौं?

१४ मसीही प्राचीनहरू आध्यात्मिक मदत तथा प्रोत्साहन दिन्छन्‌। (१ पत्रुस ५:२, ३) आज, परिभ्रमण निरीक्षकहरूले गरेझैं पावलले पनि आफूले सेवा गरेका मण्डलीलाई मदत गरे अनि प्रोत्साहन दिए। वास्तवमा, आपसमा प्रोत्साहनको आदानप्रदान होस्‌ भनेर तिनी सँगी विश्‍वासीहरूसितै रहने इच्छा गर्थे। (प्रेरित १४:१९-२२; रोमी १:११, १२) हामीलाई आध्यात्मिक तवरमा बलियो पार्न ठूलो भूमिका निर्वाह गर्ने हाम्रा स्थानीय प्राचीनहरू तथा अन्य मसीही निरीक्षकहरूको हामी सधैं मूल्यांकन गरौं।

१५. मण्डलीका सँगी विश्‍वासीहरू “सान्त्वना दिने मानिसहरू” कसरी साबित हुन्छन्‌?

१५ हाम्रो मण्डलीका सँगी विश्‍वासीहरू “सान्त्वना दिने मानिसहरू” हुनसक्छन्‌। (कलस्सी ४:१०, ११) ‘असल मित्रलेझैं’ तिनीहरूले दुःखको समयमा मदत गर्नसक्छन्‌। (हितोपदेश १७:१७) उदाहरणका लागि, १९४५ मा साक्सेनहाउसेन यातना शिविरबाट परमेश्‍वरका २२० सेवकहरूले छुटकारा पाउँदा तिनीहरूले २०० किलोमिटर लामो यात्रा गर्नुपरेको थियो। तिनीहरूले एकजुट भएर यात्रा गरे र बलियाहरूले कमजोरहरूलाई गाडामा राखेर ताने। अनि यसको परिणाम? यो मृत्यु यात्रामा यातना शिविरका १०,००० भन्दा बढी कैदीहरूले आफ्नो ज्यान गुमाउनु परे तापनि यहोवाका साक्षीहरूमध्ये एक जना पनि मरेनन्‌। यरबूक अफ जेहोभाज विट्‌नेसेजजेहोभाज विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम-लगायत वाच टावर प्रकाशनहरूमा छापिएका यस्ता घटनाहरूले आफ्ना जनहरूले हार नमानून्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई शक्‍ति दिनुहुँदो रहेछ भन्‍ने प्रमाण दिन्छ।—गलाती ६:९. b

क्षेत्र सेवकाईद्वारा सुदृढ पारिएका

१६. सेवकाईमा नियमित तवरले भाग लिंदा त्यसले हामीलाई आध्यात्मिक तवरमा कसरी सुदृढ पार्छ?

१६ राज्य प्रचार कार्यमा नियमित तवरले भाग लिंदा हामी आध्यात्मिक तवरमा सुदृढ हुन्छौं। यस्ता क्रियाकलापले हामीलाई परमेश्‍वरको राज्यमा ध्यानकेन्द्रित गर्नुका साथै त्यसका आशिष्‌हरूलाई ध्यानमा राख्न मदत गर्छ। (यहूदा २०, २१) हामीले सेवकाईमा कुरा गर्ने धर्मशास्त्रीय प्रतिज्ञाहरूले हामीलाई आशा दिन्छ र अगमवक्‍ता मीकालाई जस्तै दृढ निश्‍चयी बनाउँछ। तिनले यसो भने: “हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड़नेछौं।”—मीका ४:५.

१७. गृह बाइबल अध्ययनको सम्बन्धमा कस्ता सुझाउहरू दिइएका छन्‌?

१७ अरूलाई सिकाउँदा प्रशस्त मात्रामा धर्मशास्त्रको प्रयोग गर्दा पनि यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। उदाहरणका लागि, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकद्वारा बाइबल अध्ययन सञ्चालन गर्दा उल्लिखित शास्त्रपदहरू पढ्‌नु र छलफल गर्नु बुद्धिमानी हुन्छ। यसले विद्यार्थीहरूलाई मदत गर्छ भने हाम्रो आध्यात्मिक ज्ञान बढाउँछ। विद्यार्थीलाई बाइबलको धारणा वा कुनै उदाहरण बुझ्न गाह्रो भएको छ भने ज्ञान पुस्तकको एउटा अध्याय एकै पटकमा सिध्याउने नगर्दा पनि हुन्छ। राम्रो तयारी गर्न र अरूलाई परमेश्‍वरको नजिक हुन मदत गर्ने प्रयास गर्न हामी कत्ति खुसी छौं!

१८. ज्ञान पुस्तकको कसरी प्रभावकारी प्रयोग भइरहेको छ, उदाहरण दिनुहोस्‌।

१८ वर्षेनी हजारौंलाई यहोवाको समर्पित सेवक हुन ज्ञान पुस्तकको प्रभावकारी तवरमा प्रयोग हुँदै आएको छ। यसरी वर्षेनी सेवक बन्‍नेहरूमा ती थुप्रै व्यक्‍तिहरू पनि पर्छन्‌ जससित बाइबलसम्बन्धी पहिले केही ज्ञान थिएन। उदाहरणका लागि, श्रीलंकाका एक हिन्दू पुरुषले सानो छँदा यहोवाको साक्षीले प्रमोदवनबारे कुरा गरेको सुनेका रहेछन्‌। केही वर्षपछि तिनले उक्‍त साक्षीलाई भेटे र छिटै उनका श्रीमान्‌ले तिनीसित बाइबल अध्ययन सुरु गरे। वास्तवमा, त्यस नौजवान अध्ययनको लागि दिनदिनै आउँथे र तुलनात्मक हिसाबले ज्ञान पुस्तक छोटो समयमै अध्ययन गर्न सिद्धियो। तिनी सम्पूर्ण सभाहरूमा उपस्थित हुन थाले, पहिलेको धर्म छोडे र राज्य उद्‌घोषक भए। बप्तिस्मा लिउञ्जेल त तिनले एक परिचित व्यक्‍तिसित बाइबल अध्ययनसमेत सुरु गरिसकेका थिए।

१९. पहिले परमेश्‍वरको राज्य खोजी गर्दा हामी के कुरामा ढुक्क हुनसक्छौं?

१९ पहिले राज्यलाई खोज्दा हाम्रो आनन्द बढ्‌छ। (मत्ती ६:३३) थुप्रै परीक्षा सामना गर्नुपरे तापनि हामी आनन्दित तथा जोसिलो हुँदै निरन्तर सुसमाचार उद्‌घोषणा गरिरहन्छौं। (तीतस २:१४) हामीमध्ये थुप्रैले पूर्ण-समय अग्रगामी सेवाको निम्ति चाहिने आवश्‍यकताहरू पूरा गरिरहेका छौं र कोहीचाहिं सुसमाचारकको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गरिरहेका छौं। यी तरिकाहरूमा होस्‌ वा अरू जुनसुकै तरिकामा, आनन्दित हुँदै राज्यसम्बन्धी कामकुरालाई अघि बढाइरहेको हुनाले, यहोवाले हाम्रो काम र हामीले उहाँको नाउँको खातिर देखाएको प्रेम उहाँले बिर्सनुहुन्‍न भनेर हामी ढुक्क छौं।—हिब्रू ६:१०-१२.

यहोवाको बल पाएर अघि बढिरहनुहोस्‌

२०. बलको निम्ति हामी यहोवामा भरोसा राख्छौं भनेर कसरी देखाउन सक्छौं?

२० आउनुहोस्‌, राजीखुसी र तनमनले यहोवामा आशा गर्छौं र बलको निम्ति उहाँमा भरोसा राख्छौं। ‘विश्‍वासी दासमार्फत’ उहाँले गर्नुभएका आध्यात्मिक प्रबन्धको पूर्णतया लाभ उठाएर हामी त्यसो गर्नसक्छौं। (मत्ती २४:४५) मसीही प्रकाशनहरूको मदतद्वारा परमेश्‍वरको वचनको व्यक्‍तिगत तथा मण्डलीको रूपमा अध्ययन, हार्दिक प्रार्थना, प्राचीनहरूको आध्यात्मिक मदत, विश्‍वासी सँगी उपासकहरूको असल उदाहरण तथा क्षेत्र सेवकाईमा नियमित हुनु आदिले यहोवासितको हाम्रो सम्बन्ध बलियो बनाउँछ र उहाँको पवित्र सेवा पूरा गर्ने शक्‍ति दिन्छ।

२१. प्रेरित पत्रुस र प्रेरित पावलले परमेश्‍वरले दिनुहुने शक्‍तिको आवश्‍यकता कसरी प्रकट गरे?

२१ यहोवामाथि भर पऱ्‍यौं भने मानव कमजोरीको बावजूद उहाँको इच्छा पूरा गर्न उहाँले हामीलाई बलियो बनाउनुहुनेछ। यस्तो मदतको आवश्‍यकतालाई बुझ्नकै लागि प्रेरित पत्रुसले लेखे: “कसैले सेवा गर्छ भने, परमेश्‍वरले दिनुभएको बलले” गरोस्‌। (१ पत्रुस ४:११) अनि पावलले यसो भनेर परमेश्‍वरले दिनुभएको बलमाथि आफ्नो भरोसा जाहेर गरे: “ख्रीष्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, दरकारहरूमा, खेदोहरूमा, आपत्‌हरूमा म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरिन्थी १२:१०) हामी पनि त्यस्तै दृढ निश्‍चय व्यक्‍त गर्नसकौं र दुर्बलहरूलाई शक्‍ति दिनुहुने सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको प्रशंसा गरौं।—यशैया १२:२.

[फुटनोटहरू]

a संख्यासम्बन्धी सं.रा. प्रणालीअनुसार उक्‍त संख्यामा १ अंकपछि २० वटा शून्य हुन्छन्‌।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाका मानिसहरूलाई सर्वश्रेष्ठ शक्‍ति किन चाहिन्छ?

• परमेश्‍वरले आफ्ना दासहरूलाई शक्‍ति दिनुहुन्छ भन्‍ने धर्मशास्त्रीय प्रमाण के छ?

• हामीलाई बलियो बनाउन यहोवाले गर्नुभएका केही प्रबन्धहरू के हुन्‌?

• बलको निम्ति हामी यहोवामा भरोसा राख्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

अरूलाई सिकाउन बाइबल प्रयोग गर्दा यहोवासित हाम्रो सम्बन्ध बलियो हुन्छ