सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा आफ्ना जनहरूलाई विश्रामस्थल दिनुहुन्छ

यहोवा आफ्ना जनहरूलाई विश्रामस्थल दिनुहुन्छ

राज्य उद्‌घोषकहरूको रिपोर्ट

यहोवा आफ्ना जनहरूलाई विश्रामस्थल दिनुहुन्छ

डाँडाकाँडाको बाटोमा कुनचाहिं थकित यात्रुलाई छहारीमनिको विश्रामस्थल मन नपर्ला र? नेपालमा त्यस्ता विश्रामस्थलहरूलाई चौतारो भनिन्छ। वास्तवमा, चौतारो झ्याम्म परेको बरपीपलको रूखमनि बस्न र आराम लिन बनाइएका हुन्छन्‌। थकित यात्रुहरूको लागि चौतारो बनाउनु दयालु काम हो। तथापि, यस्ता चौतारो बनाउने उपकारी व्यक्‍तिहरूको नाम प्रायः कसैलाई पनि थाह हुँदैन।

नेपालबाट प्राप्त अनुभवहरूले यस रीतिरिवाजका थुप्रै थकित “यात्रुहरूका लागि” यहोवा परमेश्‍वर कसरी एकमात्र आनन्द र आध्यात्मिक स्फूर्तिको स्रोत हुनुभएको छ भनेर देखाउँछन्‌।—भजन २३:२.

• लिल कुमारी हिउँले ढाकेको भव्य हिमश्रृंखलाको सुन्दर शहर पोखराकी बासिन्दा हुन्‌। तर तिनी यस्तो सुन्दर शहरकी बासिन्दा भए तापनि परिवारको आर्थिक स्थितिले गर्दा लिल कुमारी एकदमै निराश थिइन्‌। एक दिन यहोवाका साक्षीले तिनको घरमा आएर उज्ज्वल भविष्यबारे बताएको बाइबलको आशाले तिनको मनै छोयो। तिनले छिट्टै गृह बाइबल अध्ययन गर्न आग्रह गरिन्‌।

लिल कुमारीलाई बाइबल अध्ययन निकै रमाइलो लागे तापनि पारिवारिक विरोधले गर्दा तिनलाई नियमित तवरमा अध्ययन गर्न गाह्रो भयो तर तिनले हार मानिनन्‌। तिनी मसीही सभाहरू निरन्तर धाइरहिन्‌ र आफूले सिकेका कुराहरू विशेष गरी पत्नीले देखाउनुपर्ने अधीनताबारे बाइबलले दिने सल्लाह व्यवहारमा उतारिन्‌। परिणामस्वरूप, बाइबल अध्ययन गर्दा तिनका श्रीमान्‌ र आमाले पूरै परिवारलाई फाइदा भइरहेको महसुस गरे।

तिनका श्रीमान्‌ र थुप्रै नातेदार अहिले परमेश्‍वरको वचन अध्ययन गरिरहेका छन्‌। हालै पोखरामा भएको सम्मेलनमा लिल कुमारीले आफ्ना १५ जना नातेदारहरूका साथ कार्यक्रमहरूमा भाग लिइन्‌। तिनी यसो भन्छिन्‌: “मेरो घर अहिले विश्रामस्थल भएको छ किनभने अहिले हाम्रो परिवार साँचो उपासनामा एकताबद्ध भएको छ र मैले ठूलो मनोशान्ति पाएकी छु।”

• नेपालमा छुवाछुत गैरकानुनी भए तापनि मानिसहरूको जीवनशैलीमा अहिले पनि यसले ठूलो प्रभाव पारेको पाइन्छ। तसर्थ, बाइबलले समानता र निष्पक्षताबारे के भन्छ त्यसबारे थुप्रै मानिस जान्‍न चाहन्छन्‌। “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” भन्‍ने कुरा सिकेपछि सूर्य माया र तिनको परिवारको जीवनै परिवर्तन भयो।—प्रेरित १०:३४.

सूर्य माया छुवाछुत र भेदभावले गर्दा जन्म लिएको अन्याय अनि पहिलादेखि मान्दै आएको रीतिथिति तथा प्रचलनहरूको बोझले दबिएकी थिइन्‌। भक्‍तालु स्त्री भएकी हुनाले, तिनले आफ्ना देवताहरूको मूर्तिसामु बिन्ती चढाएको वर्षौं भइसकेको थियो। तर तिनले आफ्नो प्रार्थनाको जवाफ पाइनन्‌। एक दिन मदतको लागि मूर्तिसामु कराइरहेको बेला तिनकी छ वर्षीय नातिनी बबिताले आएर भनिन्‌: “केही पनि गर्न नसक्ने मूर्तिहरूलाई गुहारेर के फाइदा?”

त्यतिखेर बबिताकी आमा यहोवाका साक्षीसित बाइबल अध्ययन गरिरहेकीले तिनले पनि त्यो कुरा थाह पाएकी रहेछ। बबिताले आफ्नी हजुरआमालाई मसीही सभाहरूमा आउन निमन्त्रणा दिइन्‌। त्यहाँ विभिन्‍न जातका मानिसहरू कुनै जातीय पूर्वाग्रहविना एक अर्काको संगतिबाट आनन्द उठाइरहेका देखेर सूर्य माया छक्क परिन्‌। चाँडै नै तिनले आफूसित गृह बाइबल अध्ययन गरिदिन आग्रह गरिन्‌। यसो गर्दा तिनका छरछिमेकीहरूबाट बहिष्कृत हुनुपरे तापनि तिनी निरुत्साहित भइनन्‌ न त त्यति पढ्‌न र लेख्न नजान्‍नुले नै तिनको आध्यात्मिक उन्‍नतिमा बाधा पुऱ्‍यायो।

अहिले आठ वर्ष बितिसकेको छ र तिनको श्रीमान्‌ अनि तीन जना छोराछोरीलगायत परिवारका छ जना सदस्य यहोवाका साक्षीहरू भइसकेका छन्‌। सूर्य माया अहिले पूर्णसमय सेवकाई अर्थात्‌ नियमित अग्रगामीको काम गरिरहेकी छिन्‌। यहोवाले मात्र दिनसक्नुहुने साँच्चैको विश्रामस्थलमा आफ्नो गह्रौं भारी बिसाउन अरूलाई मदत गर्न पाएकोमा तिनी खुसी छिन्‌।