सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्रिसमसका प्रचलनहरू—के यी मसीही प्रचलनहरू हुन्‌?

क्रिसमसका प्रचलनहरू—के यी मसीही प्रचलनहरू हुन्‌?

क्रिसमसका प्रचलनहरू—के यी मसीही प्रचलनहरू हुन्‌?

अहिले क्रिसमसको बिदा छ। तपाईं, तपाईंको परिवार अनि तपाईंको साथीहरूका लागि यस बिदाले के अर्थ राख्छ? के यो आध्यात्मिक अवसर हो वा केवल भोज अनि रमझमको समय? के यो येशू ख्रीष्टको जन्मलाई विचार गर्ने समय हो वा मसीही सिद्धान्तलाई वास्तै नगर्ने समय?

यी प्रश्‍नहरूमा ध्यान दिंदै तपाईं बस्ने ठाउँअनुसार क्रिसमसको रीतिथिति फरक फरक हुनसक्छन्‌ भन्‍ने कुरा नबिर्सिनुहोस्‌। उदाहरणका लागि, मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशहरूमा त क्रिसमसको नाउँसमेत अर्कै छ। क्रिसमस भन्‍ने अंग्रेजी नाम “मध्ययुगीन अंग्रेजी भाषा क्रिस्टस मास-बाट लिइएको हो” भनी एक इन्साक्लोपीडिया औंल्याउँछ। यद्यपि, ख्रीष्टको जन्मोत्सव मनाउने प्रचलनलाई ल्याटिन अमेरिकी भूभागमा ला नाभिडाड भनिन्छ। आउनुहोस्‌, मेक्सिकोका केही प्रचलनहरूलाई ध्यान देऔं। यसले यस बिदाबारे तपाईंको सोचाइ छाँटकाँट गर्न मदत दिनेछ।

पोसाडस, “तीन बुद्धिमान्‌ पुरुष” र नसिमेन्टो

डिसेम्बर १६ को पोसाडस पर्वबाट उत्सवहरूको थालनी हुन्छ। मेक्सिकोज फिस्ट्‌स अफ लाइफ पुस्तकले यसरी टिप्पणी गर्छ: “क्रिसमस सुरु हुनुभन्दा नौं दिनअघिदेखि क्रिसमसको पूर्वसन्ध्यासम्म मनाइने मोहक दिनहरू नै पोसाडसको समय हो र यस समयले बासको लागि भौंतारिरहेका यूसुफ र मरियमले अन्तमा दया अनि आश्रय पाएका दिनहरूलाई स्मरण गराउँछ। येशू जन्मनुअगाडिका दिनहरूमा घटेका घटनाहरू झल्काउने अभिनय गर्न परिवार अनि साथीहरू राती एकै ठाउँमा भेला हुने गर्छन्‌।”

मानिसहरू सामूहिक रूपमा मरियम अनि यूसुफको मूर्ति लिएर घरमा गई गीत गाउँदै आश्रय वा बास माग्ने परम्परागत चलन छ। घरभित्र भएकाहरूले पनि आएका आगन्तुकहरूलाई भित्र पस्न नदिएसम्म गीत गाएरै जवाफ दिन्छन्‌। त्यसपछि भोज सुरु हुन्छ। सजिसजाउ गरिएको ठूलो माटोको भाँडोलाई डोरीले झुन्डाइएको हुन्छ र आँखामा पट्टी बाँधेर त्यस भाँडोलाई लौरोले हिर्काएर फुटाउनुपर्ने हुन्छ। यसलाई फुटाइसकेपछि भाँडो भित्रका खानेकुराहरू (चकलेट, फलफूल तथा त्यस्तै अन्य बस्तुहरू) उत्सवमा भाग लिने सबैले जम्मा गर्ने गर्छन्‌ र सँगसँगै खानपिन, संगीत तथा नाँचगानहरू गरिन्छन्‌। डिसेम्बर १६ देखि डिसेम्बर २३ सम्म आठ पटक पोसाडा भोजको आयोजना गरिन्छ। डिसेम्बर २४ को दिनमा, नोचेबुयना-को (क्रिसमसको पूर्वसन्ध्या) उत्सव मनाइन्छ र सकेसम्म सम्पूर्ण परिवार यस विशेष भोजको लागि एकै ठाउँमा भेला हुने प्रयास गर्छन्‌।

नयाँ साल आउने बित्तिकै होहल्लापूर्ण भोजहरू मनाइन्छन्‌। जनवरी ५ को साँझमा ट्रेस रेस मगोस (“तीन बुद्धिमान्‌ पुरुष”)-ले बच्चाहरूको लागि खेलौनाहरू ल्याउँछन्‌ भन्‍ने विश्‍वास गरिन्छ। भोजको अन्तिम दिन जनवरी ६ मा रोस्का दि रेस (औंठी आकारको केक) बाँडिन्छ। यो केक खाँदा, खानेहरूमध्ये एक जनाले आफ्नो भागमा बालक येशूलाई प्रतिनिधित्व गर्ने सानो पुतली पाउनेछ। पुतली पाउने व्यक्‍तिले फेब्रुअरी २ मा आखिरी भोज आयोजना गर्ने जिम्मा लिनुपर्छ। (कुनै कुनै ठाउँमा “तीन बुद्धिमान्‌ पुरुष”-लाई प्रतिनिधित्व गर्ने स-साना तीनवटा पुतलीहरू राख्ने गरिन्छ।) यसरी तपाईंले देख्नुभयो होला कि क्रिसमससँग जोडिएका भोजहरू चलिनै रहन्छन्‌।

यस अवधिमा नासिमिन्टो (येशूको जन्मसम्बन्धी दृश्‍य) निकै प्रचलित हुन्छ। यसमा के के समावेश हुन्छन्‌? विभिन्‍न सार्वजनिक स्थान, चर्च अनि घरहरूमा माटो, काठ वा कमेरोबाट बनाइएका (ठूलो वा सानो) आकृतिहरूका दृश्‍यहरू सजाइन्छन्‌। यी आकृतिहरूले यूसुफ र मरियम भर्खरै जन्मेको बालक राखिएको डुँडअगाडि घुँडा टेकेर बसिरहेको दृश्‍यलाई चित्रित गर्छ। प्रायः यस्ता दृश्‍यहरूमा गोठालाहरू र लस रेस मगोस (“बुद्धिमान्‌ मानिसहरू”) पनि राख्ने गरिन्छ। गोठको पृष्ठभूमि भएको दृश्‍यलाई पूरा गर्न केही जनावरहरूको आकृतिहरू पनि राख्ने गरिन्छ। बीच भागको भर्खरै जन्मेको बालकको आकृतिलाई स्पेनिस भाषामा एल निनो दि डायोस (बालक परमेश्‍वर) भनिन्छ। नयाँ जन्मेको बालकको आकृतिलाई क्रिसमसको पूर्वसन्ध्यामा मात्र सजाउने चलन पनि छ।

ख्रीष्टको जन्मोत्सवसम्बन्धी परम्परालाई नजिकबाट नियाल्दा

सामान्यतः क्रिसमस उत्सवबारे संसारका प्रायः धेरैलाई थाह छ। दी इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: ‘अहिले जति पनि क्रिसमससँग सम्बन्धित प्रचलनहरू छन्‌, वास्तवमा यी प्रचलनहरू मसीही प्रचलनहरू होइनन्‌। तर मसीही चर्चहरूले ग्रहण गरेका मसीहीपूर्व तथा गैरमसीही प्रचलनहरू हुन्‌। क्रिसमसका धेरैजसो मोजमज्जापूर्ण प्रचलनहरू मध्यडिसेम्बरमा मनाइने रोमी चाड साटर्निलियाबाट अनुकरण गरिएका हुन्‌। जस्तै, भड्‌किलो भोजभेतर, उपहारहरू दिने र मैनबत्ती बाल्ने प्रचलनहरू यही चाडबाट लिइएका हुन्‌।”

ल्याटिन अमेरीकामा ख्रीष्टको जन्मोत्सवसम्बन्धी प्रचलनहरूमा थप प्रचलनहरू पनि थपिनसक्छन्‌। तपाईं सोध्नु होला, यी थप प्रचलनहरू ‘कहाँबाट आए?’ नलुकाई भन्‍नुपर्दा, बाइबलसँग राम्ररी परिचित हुन चाहने धेरैलाई यी प्रचलनहरू एजटेक संस्कारबाट आएका हुन्‌ भनेर थाह छ। मेक्सिको शहरबाट प्रकाशित हुने एल युनिभर्सल नामक अखबारले यस्तो टिप्पणी गरे: “एजटेकहरूका पर्वहरू र क्याथोलिक पर्वहरू एकै समयमा मनाइने भएकाले विभिन्‍न धार्मिक समुदायका भिक्षुहरूले त्यसको फाइदा उठाउँदै आफ्नो धर्मप्रचार तथा मिसनरी कार्यलाई समर्थन गर्न चलाए। तिनीहरूले पूर्व ल्याटिन अमेरीकी देवहरूको सम्झनामा गरिने उत्सवहरूको ठाउँमा मसीही देवहरूका पर्वहरू मनाउन थाले। तिनीहरूले युरोपियन पर्व तथा क्रियाकलापहरू प्रयोगमा ल्याए र अमेरिकी आदिवासीहरूका पर्वहरूलाई पनि समावेश गरे। फलस्वरूप बेग्ला बेग्लै संस्कृतिहरू एकै ठाउँमा मिसिए र यसरी मेक्सिकन रितिथितिको प्रादुर्भाव भयो।”

दी इन्साक्लोपीडिया अमेरिकाना यसरी वर्णन गर्छ: “भनिन्छ, पहिले येशू ख्रीष्टको जन्मलीला देखाउनु क्रिसमस उत्सवको एउटा भाग भयो . . . चर्चमा ख्रीष्टको जन्म दृश्‍य [डुँडको दृश्‍य] प्रदर्शन गर्ने प्रचलन सेन्ट फ्रान्सीसले सुरु गरेका हुन्‌।” मेक्सिकोमा उपनिवेशवाद सुरु भइरहेको समयमा चर्चमा येशू ख्रीष्टको जन्मलाई झल्काउने यस्ता नाटकहरू प्रदर्शन गरिन्थे। त्यहाँका आदिवासीहरूलाई ख्रीष्टको जन्मबारे सिकाउन भिक्षुहरूद्वारा यस्ता नाटकहरूको आयोजना गरिन्थ्यो। पछि गएर पोसाडस झनै लोकप्रिय हुन पुग्यो। यो पर्वको मौलिक आशय जेभए तापनि, आज पोसाडस मनाइने तरिकाले नै यसको आशयलाई स्पष्ट पार्छ। तपाईं यो समयमा मेक्सिकोमा हुनुभएको भए, एल युनिभर्सल अखबारका लेखकले गरेको यस टिप्पणीलाई आफ्नै आँखाले देख्न सक्नुहुन्थ्यो: “येशूका आमाबाबुहरू बालक प्रभुको जन्मको लागि बासको खोजीमा यात्रा गरिरहेको समयलाई स्मरण गराउने पोसाडस पर्व अहिले केवल मतवालापन, ज्यादती, घिचुवापन, आडम्बर अनि धेरै भन्दा धेरै अपराधिक गतिविधिहरूका दिन भएका छन्‌।”

मेक्सिको उपनिवेश छँदा चर्चमा प्रदर्शन गरिने नाटकहरूबाट नसिमेन्टो प्रचलनको सुरुआत भएको थियो। कसै कसैलाई यो पर्व आकर्षक लागे तापनि, के यसले बाइबलको विवरणलाई सही ढंगमा उतारेको छ? यो एउटा मनासिब प्रश्‍न हो। तीन बुद्धिमान्‌ पुरुष भनिएका व्यक्‍तिहरू वास्तवमा ज्योतिषीहरू थिए। ती ज्योतिषीहरूले येशू र उहाँका आमाबाबुलाई भेट्‌न जाँदा तिनीहरू गोठमा थिएनन्‌। तिनीहरू घरमा बस्न थालिसकेका थिए। तपाईंले यसबारे मत्ती २:१, ११ मा रोचक प्रेरित विवरण पाउनुहुनेछ। बाइबलले ज्योतिषीहरूको संख्या किटान गरेर बताएको रहेनछ भनेर पनि तपाईंले देख्न सक्नुहुन्छ। a

ल्याटिन अमेरिकामा सान्ता क्लजको ठाउँ तीन बुद्धिमान्‌ पुरुषले लिएका छन्‌। अहिले पनि अन्य भूभागमा झैं धेरैजसो आमाबाबुले घरमा खेलौनाहरू लुकाउने गर्छन्‌। त्यसपछि, जनवरी ६ को बिहानै बच्चाहरूले ती खेलौनाहरू खोज्ने गर्छन्‌ र तीन बुद्धिमान्‌ पुरुषले ती ल्याएका हुन्‌ भनी ठान्छन्‌। खेलौना बेच्नेहरूको लागि यो पैसा कमाउने समय हो। निष्कपट मानिसहरूले केवल मनोरञ्जनको रूपमा लिइरहेको यस अवसरको फाइदा उठाउँदै कोही कोही मालामाल पनि हुन्छन्‌। तीन बुद्धिमान्‌ पुरुषको कथाप्रति धेरै मानिसहरूको विश्‍वास घट्‌दैछ अब त बच्चाहरूले समेत यसलाई पत्याउन छोडिसके। यस कथाप्रति मानिसहरूको विश्‍वास घट्‌दै छ भनेर कोही दुःखी भए तापनि केवल मनोरञ्जन र व्यापारिक फाइदाका लागि गरिने यस्ता कपोकल्पित कुराबाट के पो आशा गर्न सकिन्छ र?

क्रिसमस वा ख्रीष्टको जन्मोत्सव प्रारम्भिक मसीहीहरूले मनाउँदैनथे। एउटा इन्साक्लोपीडियाले यस विषयमा यसो भन्छ: “प्रथम शताब्दीका मसीही चर्चहरूमा जन्म उत्सवको पर्व मनाइँदैन्थ्यो, मसीहीहरूको विश्‍वासअनुसार कुनै पनि विशिष्ट व्यक्‍तिको जन्मदिनलाई भन्दा मरण दिनको उत्सवलाई महत्त्व दिएर मनाइन्थ्यो।” बाइबलले जन्मदिनको उत्सवलाई परमेश्‍वरका साँचो उपासकहरूसँग नभई गैरमसीही व्यक्‍तित्वहरूसँग जोडेको छ।—मत्ती १४:६-१०.

यसको मतलब, परमेश्‍वरको पुत्रको जन्मसँग सम्बन्धित तथ्य घटनाहरू सिक्नु अनि स्मरण गर्नु केही फाइदा छैन भन्‍न खोजेको होइन। बाइबलको तथ्य विवरणले परमेश्‍वरको इच्छा गर्न चाहने सबैलाई महत्त्वपूर्ण अन्तरदृष्टि तथा शिक्षा प्रदान गर्छ।

बाइबलअनुसार येशूको जन्म

मत्ती तथा लूकारचित सुसमाचारका पुस्तकहरूमा तपाईंले येशूको जन्मबारे भरपर्दा जानकारी पाउन सक्नुहुनेछ। नासरतको गालील शहरमा बस्ने मरियम नाउँ गरेकी एक कन्यालाई भेट गर्न गब्रिएल स्वर्गदूत आए भनी यी विवरणहरूले बताउँछन्‌। उनले कस्तो सन्देश सुनाए? “हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।”—लूका १:३१-३३.

यो सन्देश सुनेर मरियम छक्कै परिन्‌। आफू अविवाहित भएको कारण तिनले यसो भनिन्‌: “यो कसरी होला? किनकि मेरो विवाह भएको छैन।” त्यसको जवाफ स्वर्गदूतले यसरी दिए: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, औ परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ, यसैकारण जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।” यो परमेश्‍वरको इच्छा हो भनेर मरियमले थाह पाएपछि तिनले यसो भनिन्‌: “हेर्नुहोस्‌, म परमप्रभुकी दासी, मलाई तपाईंको वचन अनुसार होस्‌।”—लूका १:३४-३८.

मरियम गर्भवती भएको थाह पाएर यूसुफले तिनलाई त्याग्ने विचार गर्दै थिए तर स्वर्गदूतले यूसुफलाई चमत्कारी जन्मबारे बताएपछि उनले तिनलाई त्याग्दैनन्‌। त्यसपछि, यूसुफले परमेश्‍वरको पुत्रको रेखदेख गर्ने जिम्मा स्वीकार्छन्‌।—मत्ती १:१८-२५.

त्यसपछि, सिजर अगस्टसको उर्दीअनुसार यूसुफ र मरियम नासरतको गालीलबाट आफ्नो पितापुर्खाको शहर यहूदियाको बेतलेहेममा आफ्नो नाउँ लेखाउन जानुपऱ्‍यो। अनि “उनीहरू त्यहाँ भएकै बेला तिनको सुत्केरी हुने दिन आयो। तिनले आफ्नो जेठा छोरा जन्माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्‌, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन।”—लूका २:१-७.

यसपछिका घटनाहरूलाई लूका २:८-१४ मा यसरी वर्णन गरिएको छ: “अब त्यस देशमा चौरमा रहेर राती आफ्नो बगालको हेरचाह गरेर बस्ने गोठालाहरू थिए। औ प्रभुका एउटा दूत तिनीहरूकहाँ खड़ा भए, र प्रभुको तेज वरिपरि चम्क्यो, औ तिनीहरू साह्रै डराए। तब दूतले तिनीहरूलाई भने, ‘नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ, किनभने दाऊदको शहरमा आज तिमीहरूका निम्ति एउटा मुक्‍तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। औ तिमीहरूलाई चिह्न चाहिं यो हुन्छ, ‘तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ’।’ तब एक्कासि ती दूतसँग यसो भनेर परमेश्‍वरको स्तुति गर्ने स्वर्गीय सेनाको एक दल देखा पऱ्‍यो। ‘परमधाममा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूलाई शान्ति।’ ”

ज्योतिषीहरू

पूर्वबाट आएका ज्योतिषीहरू यहूदीहरूका राजा जन्मेको ठाउँ पत्ता लगाउन यरूशलेम आए भनी मत्तीको विवरणले उल्लेख गर्छ। ख्रीष्टको जन्ममा राजा हेरोदले निकै चासो लिए तर उनको मनसाय राम्रो थिएन। “उनले तिनीहरूलाई बेतलेहेममा यसो भनेर पठाए, ‘जाओ र साना बालकको विषयमा खोजेर ठीकसित पत्ता लगाओ। र जब भेट्टाउनेछौ तब मलाई खबर गर, र म पनि गएर दर्शन गर्नेछु।” ज्योतिषीहरूले बालकलाई भेटे पछि “आफ्नो कन्तुर खोलेर उहाँलाई सुन, धूप, मूर्रका भेटी चढ़ाए।’ तर तिनीहरू हेरोदकहाँ फर्केर गएनन्‌। “ ‘हेरोदकहाँ फर्की नजाओ’ भन्‍ने सपनामा ईश्‍वरवाणी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्ना निज देशमा गए।” परमेश्‍वरले स्वर्गदूतद्वारा यूसुफलाई हेरोदको मनसायबारे सावधान गराउनुभयो। त्यसपछि, यूसुफ र मरियम आफ्नो पुत्र लिएर मिश्र देशमा भाग्छन्‌। त्यसपछि, नयाँ राजालाई नाश गर्ने प्रयासमा क्रूर राजा हेरोदले बेतलेहम शहरका सम्पूर्ण बालकहरूलाई मार्ने हुकुम दिन्छन्‌। कुन बालकहरू? दुई वर्ष र त्यसदेखि मनिका सबै बालकहरू।—मत्ती २:१-१६.

यस विवरणबाट हामी के सिक्न सक्छौं?

भेट्‌न आउने धेरैजसो ज्योतिषीहरू साँचो परमेश्‍वरका उपासक थिएनन्‌। ला नुएभा बिबलिया ल्याटिनोमेरिका (१९८९ संस्करण) बाइबल संस्करणले पादटिप्पणीमा यसरी लेखेको छ: “ज्योतिषीहरू राजाहरू थिएनन्‌, तर मूर्तिपूजक धर्मका जोखना हेर्नेहरू तथा पुरोहितहरू थिए।” तिनीहरू केवल ताराबारे आफ्नो विद्याको जाँच गर्न आएका थिए। परमेश्‍वरले तिनीहरूलाई साँच्चै बालक भएतिर डोऱ्‍याउन चाहनुभएको भए तिनीहरूलाई सीधै बालक जन्मेको ठीक ठाउँमा डोऱ्‍याउन सक्नुहुन्थ्यो, तिनीहरू पहिले यरूशलेम पछि हेरोदकहाँ जानुपर्ने थिएन। पछि मात्र, परमेश्‍वरले बालकलाई बचाउनको लागि तिनीहरूलाई अर्कै बाटो जान अह्राउनुहुन्छ।

क्रिसमसको समयमा यस विवरणलाई काल्पनिक एवम्‌ रोमाञ्चक तरिकाले मनाइन्छ। फलतः यो बालक मरियम र गोठालाहरूलाई घोषणा गरिएझैं एक महिमित राजा बन्‍नको लागि जन्मिएको थियो भन्‍ने सर्वमहत्त्वपूर्ण पक्षतर्फ कसैको ध्यान जाँदैन। अहिले येशू ख्रीष्ट न बालक हुनुहुन्छ न त ठिटो नै हुनुहुन्छ। उहाँ परमेश्‍वरको राज्यको शासनारूढ राजा हुनुहुन्छ। यो राज्यले अब छिट्टै परमेश्‍वरको इच्छा विपरीत गर्ने शासनहरूलाई हटाउनेछ र उहाँले मानिसजातिका सम्पूर्ण समस्याहरूको समाधान गर्नुहुनेछ। यो त्यही राज्य हो जसको निम्ति हामी प्रार्थना गर्ने गर्छौं।—दानिएल २:४४; मत्ती ६:९, १०.

स्वर्गदूतले गोठालाहरूलाई गरेको घोषणाबाट हामीले थाह पाएको कुरा के हो भने, सुसमाचारको सन्देश सुन्‍न इच्छुक सबैलाई मुक्‍तिको अवसर छ। परमेश्‍वरको निगाह प्राप्त गर्ने “प्रसन्‍न . . . मानिसहरू” हुन्छन्‌। येशू ख्रीष्टको अधीनमा रहेको राज्यले विश्‍वलाई नै शान्तिको अद्‌भुत आशा दिएको छ। तर मानिसहरू परमेश्‍वरको इच्छाअनुसार हिड्‌न इच्छुक हुनैपर्छ। के क्रिसमसले यस कुरालाई बुझ्न मदत दिएको छ अनि यस आशा प्रकट गरेको छ? बाइबलअनुसार हिड्‌न इच्छुक धेरै निष्कपट मानिसहरूले यसको स्पष्ट जवाफ पाएका छन्‌।—लूका २:१०, ११, १४.

[फुटनोट]

a अर्को तथ्यलाई पनि नकार्न सकिंदैन। त्यो हो, मेक्सिकन नसिमेन्टो-मा शिशुलाई “बालक परमेश्‍वर” भनी सम्बोधन गरिएको छ। परमेश्‍वर आफै बालकको रूपमा पृथ्वीमा आउनुभयो भनी यसले संकेत गर्छ। यद्यपि, बाइबलले येशू ख्रीष्टलाई परमेश्‍वरको पुत्र जसले पृथ्वीमा जन्म लिनुभयो र उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको समान वा बराबर हुनुहुन्‍न भनी बताउँछ। यस तथ्यलाई पुष्टि गर्न दिइएका पदहरू लूका १:३५; यूहन्‍ना ३:१६; ५:३७; १४:१; ६, ९, २८; १७:१, ३; २०:१७ लाई ध्यान दिनुहोस्‌।

[पृष्ठ ४-मा भएको पेटी]

कोही कोही चकित पर्ने थिए

क्रिसमसबारे धेरै समय अनुसन्धान गरेपछि, आफ्नो पुस्तक द ट्रबल विथ क्रिसमस-मा लेखक टम फ्लीनले यस्तो निष्कर्ष निकाले:

“आज क्रिसमससँग जोडिएका असंख्य संस्कारहरू मसीही पूर्व गैरशास्त्रीय संस्कारहरूबाट लिइएका हुन्‌। यी संस्कारहरूमध्ये केही सामाजिक, यौनिक अथवा ब्रह्‍माण्ड विज्ञानसित सम्बन्धित कुराहरूसित मुछिएको हुनाले शिक्षित तथा नैतिक तवरमा संवेदनशील आधुनिक विचारधारा भएका मानिसहरूले यसको मूल जरा थाह पाएपछि यस्ता कुसंस्कारहरू त्याग्नेछन्‌।”—पृष्ठ १९.

यस तथ्यलाई समर्थन गर्ने थुप्रै जानकारी प्रस्तुत गरेपछि फ्लीन पुनः मुख्य बुँदामै फर्कन्छन्‌: “क्रिसमसको सबैभन्दा विडम्बनापूर्ण पक्षचाहिं के हो भने, यससँग जोडिएका संस्कारहरू अलिकता पनि साँचो मसीही धर्मसँग मेल खाँदैनन्‌। यसबाट मसीहीधर्मका पूर्वतत्त्वहरू निकाल्यो भने मसीही धर्मसित सम्बन्धित सही कुरा त होइन बरु मसीहीपश्‍चात्‌का तत्त्वहरू बाँकी हुनेछन्‌।”—पृष्ठ १५५.

[पृष्ठ ७-मा भएको चित्र]

येशूको जन्मको घोषणाले उहाँलाई भविष्यमा परमेश्‍वरले चुन्‍नुभएको राजाको रूपमा खडा गऱ्‍यो