तपाईं किन परमेश्वरको सेवा गर्नुहुन्छ?
तपाईं किन परमेश्वरको सेवा गर्नुहुन्छ?
ईश्वरभीरु राजाले एक पटक आफ्नो छोरालाई यस्तो सल्लाह दिए: “तिम्रा पिताका परमेश्वरलाई आफ्नै ईश्वर मान, र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर।” (१ इतिहास २८:९) स्पष्टतः यहोवा आफ्ना सेवकहरूले कृतज्ञता तथा मूल्यांकनले भरिएको हृदयले उहाँको सेवा गरून् भन्ने चाहनुहुन्छ।
पहिलो पटक बाइबलका प्रतिज्ञाहरू सुन्दा, हाम्रो हृदय कृतज्ञताले भरिएको कुरालाई अहिले यहोवाको साक्षीको नाताले हामी सहर्ष स्वीकार्छौं। दिनहुँजसो हामीले परमेश्वरका उद्देश्यहरूबारे केही नयाँ कुराहरू सिक्यौं। यहोवाबारे जति धेरै सिक्यौं, उहाँलाई “सारा हृदय र इच्छुक मनले” सेवा गर्ने हाम्रो इच्छा त्यतिनै बलियो भयो।
यहोवाको साक्षी भएपछि धेरैले आफ्नो जीवनभरि असीम आनन्दसहित यहोवाको सेवा लगातार रूपमा गर्छन्। यद्यपि, केही मसीहीहरूको सुरुआत राम्रो हुन्छ तर समयको दौडान हामीलाई यहोवाको सेवा गर्न उत्प्रेरित गराउने सशक्त कारण तिनीहरू बिर्सन्छन्। के तपाईंलाई पनि यस्तै भएको छ? यदि छ भने, हरेस नखानुहोस्। हराएको आनन्द पुनः प्राप्त गर्न सकिन्छ। तर कसरी?
आफूले पाएका आशिष्हरूमा ध्यान दिनुहोस्
सर्वप्रथम, तपाईंले परमेश्वरबाट दिनहुँ पाइरहनुभएका आशिष्हरूमाथि मनन गर्नुहोस्। यहोवाले दिनुभएका असल सौगातहरूलाई विचार गर्नुहोस्: उहाँका विविध सृष्टि कुनै पनि सामाजिक वर्ग वा आर्थिक स्थिति भएका मानिसहरूको लागि सहजै उपलब्ध छ। जस्तै, भोजन तथा पानीको लागि मिलाउनुभएको प्राकृतिक बन्दोबस्त, तपाईंले आनन्द उठाइरहनुभएको स्वस्थ शरीर, बाइबल सच्चाइबारे तपाईंको ज्ञान अनि मुख्यतया उहाँको पुत्रले दिनुभएको अमूल्य उपहार। उहाँको मरणले हाम्रोलागि सफा अन्तस्करणसहित परमेश्वरको सेवा गर्ने बाटो खोल्यो। (यूहन्ना ३:१६; याकूब १:१७) परमेश्वरको भलाइबारे तपाईं जति धेरै मनन गर्नुहुन्छ, उहाँप्रति तपाईंको मूल्यांकन त्यतिनै बढ्नेछ। उहाँले तपाईंको लागि गर्नुभएको भलाइबाट तपाईंको हृदय कृतज्ञताले भरिनेछ अनि त्यसले तपाईंलाई उहाँको सेवा गर्न उत्प्रेरित गर्नेछ। निश्चय नै, तपाईंको मनमा पनि भजनरचयीताको जस्तै यस्तो भावना उर्लनेछ: “हे परमप्रभु मेरा परमेश्वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन।”—भजन ४०:५.
यी शब्दहरू दाऊदले रचेका थिए। उनको जीवन समस्या मुक्त थिएन। जवान छँदा, दुष्ट राजा शाऊल तथा तिनका अंगरक्षकहरूले उनलाई मार्न खोजी हिंड्थे। तसर्थ, दाऊदले धेरैजसो समय भगुवा भएर बिताउनु पऱ्यो। (१ शमूएल २३:७, ८, १९-२३) आफ्नै व्यक्तिगत कमजोरीहरू विरुद्ध पनि दाऊदले संघर्ष गर्नु पऱ्यो। भजन ४० औं अध्यायमा दाऊदले यो कुरा स्वीकारे: “किनकि अनगन्ती खराबीहरूले मलाई घेरेका छन्। मैले मास्तिर पनि हेर्न नसक्ने गरी मेरा अधर्मले पक्रेका छन्। मेरो टाउकोका कपालभन्दा पनि ती बढ़ी छन्, र मेरो आँटै टुटिसकेकोछ।” (भजन ४०:१२) हो, दाऊदका समस्याहरू थिए तर ती समस्याहरूले गर्दा दाऊद पूर्णतया निरुत्साहित भएनन्। आफ्ना समस्याहरू भए तापनि यहोवाले दिनुभएका आशिष्हरूमै दाऊदले आफ्नो ध्यानकेन्द्रित गरे। उनले पाएका आशिष्हरू उनका दुःखहरूको तुलनामा एकदमै अमूल्य थिए।
जब तपाईं व्यक्तिगत समस्याहरूले थिचिएको अथवा आफू अयोग्य भएको महसुस गर्नुहुन्छ, तब यस्ता विचारलाई चटक्कै मनबाट निकालेर दाऊदले जस्तै आफूले पाएका आशिष्हरूलाई ध्यान दिनु राम्रो हुन्छ। निश्चय नै, यस्ता आशिष्प्रतिको मूल्यांकनले तपाईंलाई यहोवाप्रति समर्पित हुन
उत्प्रेरित गर्छ। यस्तो सोचाइले तपाईंलाई हराएको आनन्द पुनः प्राप्त गर्न मदत गर्नुका साथै मूल्यांकन हृदयले परमेश्वरको सेवा गर्न मदत गर्छ।मण्डलीका सभाहरूले मदत गर्नसक्छ
व्यक्तिगत तवरमा यहोवाको भलाइबारे मनन गर्नुको अलावा हामीले सँगी मसीहीहरूसँग संगत गर्नु पनि नितान्त आवश्यक छ। परमेश्वरलाई प्रेम गर्ने अनि उहाँको सेवा गर्न कटिबद्ध पुरुष, महिला तथा जवान मानिसहरूलाई लगातार भेट्नु प्रोत्साहनदायी हुन्छ। तिनीहरूको असल उदाहरणले हामीलाई यहोवाको सेवामा सम्पूर्ण मन लगाउन उत्प्रेरित गर्छ। राज्यभवनमा हाम्रो उपस्थितिले तिनीहरूलाई पनि त्यसरी नै प्रोत्साहित गर्नसक्छ।
हो, दिनभरि कडा काम गरेर घर फर्कंदा वा केही समस्या वा कमजोरीहरूले निरुत्साहित हुँदा, राज्यभवनमा हुने सभाहरूमा धाउन सजिलो नहुनसक्छ। यस्तो परिस्थितिमा हामीले आफैलाई कडा गर्नुपर्ने हुनसक्छ। बाइबलमा बताएझैं ‘आफ्नो शरीरलाई कुट्नु’ पर्ने हुनसक्छ ताकि हामीले सँगी मसीहीहरूसँग एक ठाउँमा भेला हुने आज्ञालाई पालन गर्नसकौं।—१ कोरिन्थी ९:२६, २७; हिब्रू १०:२३-२५.
यसो गर्न आवश्यक पऱ्यो भन्दैमा, के हामी यहोवालाई साँच्चै प्रेम गर्दैनौं भन्ने हो र? अहँ! होइन। बितेका समयका परिपक्व मसीहीहरू परमेश्वरलाई निर्विवाद प्रेम गर्थे। तिनीहरूले परमेश्वरको इच्छा गर्न कडा परिश्रम गर्नुपरेको थियो। (लूका १३:२४) यी मसीहीहरूमध्ये पावल पनि एक थिए। उनले खुलेरै आफ्ना विचारहरू यसरी व्यक्त गरे: “किनकि मलाई थाह छ, कि ममा, अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु।” (रोमी ७:१८, १९) अनि उनले कोरिन्थीहरूलाई यसो भने: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ। . . . राजीखुशीले म यो काम गर्दछु भने, मलाई इनाम छ, तर मेरो राजीखुशीले होइन भनेता, एउटा ठूलो उत्तरदायित्व मलाई सुम्पिएको छ।”—१ कोरिन्थी ९:१६, १७.
हामीमा जस्तै पावलमा पनि पापी झुकाउहरू थिए र उनको यो झुकाउ असल काम गर्ने इच्छामा बाधा भएर खडा हुन्थ्यो। यद्यपि, उनले यस्ता झुकाउहरू विरुद्ध कडा लडन्त लडें र उनी धेरै जसो समय सफल पनि भए। साँच्चै भन्ने हो भने, पावलले आफ्नै बलमा यो सफलता हासिल गरेका होइनन्। उनले यसरी लेखे: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) यहोवाले पावललाई शक्ति दिनुभएझैं, यदि तपाईंले पनि उहाँलाई मदतको लागि पुकार्नुभयो भने उहाँले तपाईंलाई असल काम गर्न शक्ति दिनुहुनेछ। (फिलिप्पी ४:६, ७) तसर्थ, “विश्वासको निम्ति” कडा लडन्त लड्नुहोस् अनि यहोवाले आशिष् दिनुहुनेछ।—यहूदा ३.
तपाईंले यो लडन्त एक्लै लड्नु पर्दैन। यहोवाका साक्षीहरूको मसीही मण्डलीमा “विश्वासको निम्ति” लडन्त लड्न प्रयत्नशील परिपक्व प्राचीनहरू तपाईंलाई मदत गर्न इच्छुक छन्। यदि तपाईं मदतको लागि प्राचीनकहाँ जानुभयो भने, तपाईंलाई उनले “दिलाशा” दिन प्रयत्न गर्नेछन्। (१ थिस्सलोनिकी ५:१४) “बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ” जस्तै भई काम गर्ने उनको लक्ष्य हुनेछ।—यशैया ३२:२.
“परमेश्वर प्रेम हुनुहुन्छ” र उहाँका सेवकहरूले पनि प्रेमले उत्प्रेरित भई सेवा गरेको उहाँ चाहनुहुन्छ। (१ यूहन्ना ४:८) यदि परमेश्वरप्रति तपाईंको प्रेम पुनः जगाउन आवश्यक छ भने, माथि उल्लेख गरिएझैं आवश्यक कदम चालिहाल्नुहोस्। यसो गरेकोमा तपाईं हर्षित हुनुहुनेछ।