सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

विश्‍वासी मसीही पत्नीले आफ्नो पतिले गर्न खोजेको सम्बन्ध विच्छेद प्रक्रियालाई कुन हदसम्म रोक्ने प्रयास गर्नुपर्छ?

मानव विवाहको थालनी गर्दा परमेश्‍वरले पति र पत्नी ‘मिलिरहनुपर्छ’ भन्‍नुभएको थियो। (उत्पत्ति २:१८-२४) मानिस असिद्ध भयो र फलतः वैवाहिक जीवनमा थुप्रै समस्या उत्पन्‍न हुनथाल्यो तर दम्पतीहरू अझै मिलिरहून्‌ भन्‍ने परमेश्‍वरको इच्छा थियो। प्रेरित पावलले यस्तो लेखे: “विवाह गरेकाहरूलाई म कड़ा आज्ञा दिन्छु, मैले होइन प्रभु दिनुहुन्छ, कि पत्नी पतिबाट छुट्टेर नबसोस्‌, तर छुट्टेर बसी भने त्यसले विवाह नगरी बसोस्‌, अथवा पतिसित मिलापमा बसोस्‌, औ पतिले पत्नीलाई नत्यागोस्‌।”—१ कोरिन्थी ७:१०, ११.

उक्‍त शब्दहरूले असिद्ध मानिसहरूले कहिलेकाहीं आफ्नो पति वा पत्नीलाई त्याग्ने निर्णय गर्नसक्छ भनी मानि लिन्छ। उदाहरणका लागि, पति या पत्नी छुट्यो भने दुवै जना “विवाह नगरी बसोस्‌” भनेर पावलले बताए। किन? तिनीहरू छुट्टे तापनि परमेश्‍वरको नजरमा तिनीहरू अझै एक छन्‌। पावलले यस्तो भन्‍न सके किनभने येशूले मसीही विवाहको निम्ति एउटा स्तर तोक्नुभएको थियो: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार [युनानी, पोरनिया ] गर्दछ।” (मत्ती १९:९) हो, सम्बन्ध विच्छेद गर्ने एउटै मात्र धर्मशास्त्रीय आधार “व्यभिचार” अर्थात्‌ यौन अनैतिकता हो। स्पष्टतः पावलले संकेत गरिरहेका अवस्थामा पति या पत्नी दुवै अनैतिकतामा फसेका थिएनन्‌। त्यसैले, तिनीहरू छुट्टे तापनि परमेश्‍वरको नजरमा तिनीहरूको विवाह अन्त भएको थिएन।

त्यसपछि, पावलले बेग्लै धर्म मान्‍ने पति या पत्नी भएका साँचो मसीहीको अवस्थाबारे उल्लेख गरे। पावलको निर्देशनलाई विचार गर्नुहोस्‌: “विश्‍वास नगर्ने चाहिं छुट्टिन्छ भने छुट्टिओस्‌, यस्तो अवस्थामा त्यो ख्रीष्टियान पति अथवा पत्नी कुनै बन्धनमा रहनेछैन। तर परमेश्‍वरले हामीलाई मेल मिलापमा बोलाउनुभएको छ।” (१ कोरिन्थी ७:१२-१६) बेग्लै धर्म मान्‍ने पतिले विश्‍वासी पत्नीलाई त्याग्छ र कानुनी तवरमै तिनीसँग सम्बन्ध विच्छेद गर्ने प्रयाससमेत गर्छ भने नि?

आफ्नो पतिले नत्यागोस्‌ भन्‍ने तिनको इच्छा हुनसक्छ। तिनको पतिप्रति अझै माया छ होला, दुईको भावनात्मक तथा यौन आवश्‍यकताहरूबारे तिनी सचेत होलिन्‌ र आफू तथा आफ्ना नाबालिग छोराछोरीलाई भौतिक सहयोग चाहिन्छ भनेर पनि थाह छ होला। समयको अन्तरालमा आफ्नो पति विश्‍वासी भएर उद्धार पाउने आशा पनि तिनले गर्लिन्‌। यद्यपि, पतिले (कुनै गैरशास्त्रीय आधारमा) विवाह अन्त गर्न कदम चाल्छ भने पत्नी पावलले भनेझैं ‘छुट्टिन’ सक्छे। विश्‍वासी पतिले विवाहबारे परमेश्‍वरको दृष्टिकोणलाई बेवास्ता गरेर छुट्टिने निर्णय गर्छ भने पनि सोही कुरा लागू हुन्छ।

तर, तिनले आफू र आफ्नो बालबच्चालाई कानुनी तवरमा बचाउनुपर्ने खाँचो देख्न सक्छिन्‌। कसरी? तिनी आफ्नो छोराछोरीको लालनपालन गर्ने अधिकारबाट वञ्चित हुन चाहँदिनन्‌ होला। आफ्ना बच्चाहरूलाई आमाको माया, नैतिक प्रशिक्षण दिनुका साथै बाइबल शिक्षामा आधारित विश्‍वास सिकाउने तिनको इच्छा होला। (२ तिमोथी ३:१५) सम्बन्ध विच्छेदले तिनका ती अधिकारहरू खोस्नसक्छ। तसर्थ, आफ्ना छोराछोरीको देखभाल गर्ने अधिकार नगुमाउन र पतिलाई माना-चामल भर्न लगाउन अख्तियारवालाहरूसामु आफ्नो राम्रो प्रतिनिधित्व गरेको तिनी चाहन्छिन्‌। कुनै कुनै ठाउँमा पतिले सम्बन्ध विच्छेद गर्न खोजे तापनि पत्नीले पतिलाई सम्बन्ध विच्छेद गर्ने अधिकार नदिई छोराछोरीको हेरचाह र आर्थिक सहयोग गर्ने कानुनी कागजातमा हस्ताक्षर गर्न सक्छन्‌। अरू ठाउँमा भने त्यस्तो कागजातका शब्दहरूले सम्बन्ध विच्छेदलाई समर्थन गरिरहेको हुन्छ। त्यसकारण, पति व्यभिचारको दोषी छ भने यस्तो कागजातमा हस्ताक्षर गर्दा पत्नीले पतिलाई तिरस्कार गरिरहेको हुन्छ।

समाज र मण्डलीका प्रायजसोलाई धर्मशास्त्रअनुसार सम्बन्ध विच्छेद गरेको हो या होइन जस्ता सबै विवरण थाह हुँदैन। तर कुरा त्यहाँसम्म बढ्‌न दिनुअघि पत्नीले मण्डलीको अध्यक्ष र अर्को एक जना प्राचीनलाई यसबारे जानकारी दिनु (लिखित भए बेस) राम्रो हुन्छ। यसो गरेको खण्डमा त्यति नै बेला वा पछि केही गरेर कुनै प्रश्‍न खडा भयो भने प्रमाण हुनेछ।

अब फेरि येशूको टिप्पणीलाई ध्यान देऔं: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ।” पति यौन अनैतिकताको दोषी छन्‌ र तिनी पत्नीसँगै बस्न चाहन्छन्‌ भने पत्नीले (येशूको उदाहरणमा निर्दोष पक्ष) तिनलाई क्षमा दिएर तिनीसँगै बस्ने वा नबस्ने निर्णय गर्नुपर्छ। पत्नी पतिलाई माफ गर्न र पतिसँगै बस्न इच्छुक छन्‌ भने तिनी अनैतिक ठहर्नेछैनन्‌।—होशे १:१-३; ३:१-३.

अनैतिक पतिले सम्बन्ध विच्छेद गर्न खोजे तापनि पत्नी अझै पतिलाई माफ दिन र तिनी फर्कने आशा गर्नसक्छिन्‌। तिनले सुरु गरेको सम्बन्ध विच्छेद प्रक्रिया रोक्न खोज्ने कि नखोज्ने तिनले आफ्नो अन्तस्करण र अवस्थाअनुसार निर्णय गर्नुपर्ने कुरा हो। कुनै कुनै ठाउँमा सम्बन्ध विच्छेदको पक्षमा नभएका पत्नीले सम्बन्ध विच्छेद गर्न आफू राजी नभएको उल्लेख गरेर छोराछोरीको देखभाल गर्ने अधिकार र माना-चामलको निम्ति कागजात गर्न पाइन्छ। तिनले त्यस्तो कागजातमा हस्ताक्षर गर्दा तिनले पतिलाई त्यागेको हुँदैन। तथापि, अन्य कतिपय ठाउँमा सम्बन्ध विच्छेदको पक्षमा नभएका पत्नीलाई यस्तो कागजातमा हस्ताक्षर गर भनिएला जसमा तिनी सम्बन्ध विच्छेद गर्न राजी छिन्‌ भनिएको हुन्छ। त्यस्तो कागजातमा हस्ताक्षर गर्दा तिनले दोषी पतिलाई त्याग्न लागेको स्पष्ट बुझिन्छ।

जेहोस्‌, कुरा स्पष्ट राख्न पत्नीले मण्डलीका प्राचीनहरूलाई कस्ता कदमहरू चालिंदैछन्‌ र यसमा समावेश मनोभावहरूबारे उल्लेख गर्दै एउटा पत्र लेख्न सक्छिन्‌। तिनी आफ्नो पतिलाई क्षमा दिएर तिनीसँगै बस्न राजी भएको कुरा पनि उल्लेख गर्नसक्छिन्‌। त्यसबाट सम्बन्ध विच्छेद तिनको इच्छा विपरीत गरिएको हो र आफ्नो पतिलाई त्याग्नुको सट्टा तिनलाई माफी दिन तयार भएको प्रमाणित हुन्छ। यसप्रकार, तिनी माफी दिन तयार छिन्‌ र विवाहितै रहन चाहन्छिन्‌ भनेर स्पष्ट पारेपछि आर्थिक मामिलाहरू र/वा छोराछोरीको देखभालसम्बन्धी कुराहरू सुल्झाउन हस्ताक्षर गरे तापनि तिनले पतिलाई त्यागेको प्रमाणित हुँदैन। a

सम्बन्द विच्छेदपछि पनि तिनी माफी दिन तयार छन्‌ भनेर स्पष्ट पारेपछि पति र पत्नी दुवै अर्को विवाह गर्न स्वतन्त्र हुँदैनन्‌। निर्दोष पत्नीको माफी दिने प्रस्तावलाई अस्वीकार गरियो र पछि तिनले नै पतिलाई तिनको अनैतिकताको कारण त्याग्ने निर्णय गर्छिन्‌ भने मात्र दुवै स्वतन्त्र हुन्छन्‌। निर्दोष पति या पत्नीसित त्यस्तो निर्णय गर्ने अधिकार छ भनेर येशूले देखाउनुभयो।—मत्ती ५:३२; १९:९; लूका १६:१८.

[फुटनोट]

a कानुनी प्रक्रिया र कागजातहरू ठाउँअनुसार फरक फरक हुन्छन्‌। हस्ताक्षर गर्नुअघि कानुनी कागजातमा सम्बन्ध विच्छेदका के-कस्ता प्रावधान छन्‌, राम्ररी पढ्‌नुहोस्‌। निर्दोष पति या पत्नीले सम्बन्ध विच्छेदसित आफ्नो कुनै आपत्ति छैन भनी संकेत गर्ने कागजातमा हस्ताक्षर गर्छन्‌ भने त्यो आफ्नो जीवन साथीलाई त्याग्नु बराबर हो।—मत्ती ५:३७.