सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको प्रेम कत्तिको व्यापक छ?

तपाईंको प्रेम कत्तिको व्यापक छ?

तपाईंको प्रेम कत्तिको व्यापक छ?

“तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”–मत्ती २२:३९.

१. हामीले यहोवालाई प्रेम गर्छौं भने हामीले छिमेकीलाई पनि किन प्रेम गर्नुपर्छ?

 प्रमुख आज्ञा के हो भनी येशूलाई प्रश्‍न गर्दा उहाँले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” त्यसपछि, उहाँले पहिलो आज्ञासित मिल्दो दोस्रो आज्ञा पनि दिनुभयो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३७, ३९) हो, छिमेकीप्रतिको प्रेम मसीहीको चिनारी हो। साँच्चै, हामीले यहोवालाई प्रेम गर्छौं भने छिमेकीलाई पनि प्रेम गर्नैपर्छ। किन? किनभने उहाँको वचन पालन गरेर हामी यहोवाप्रतिको प्रेम देखाउँछौं अनि उहाँको वचनले छिमेकीलाई प्रेम गर्ने आज्ञा दिन्छ। त्यसैले, हामीले आफ्ना भाइबहिनीलाई प्रेम गर्दैनौं भने यहोवाप्रतिको हाम्रो प्रेम साँचो हुन सक्दैन।—रोमी १३:८; १ यूहन्‍ना २:५; ४:२०, २१.

२. आफ्नो छिमेकीप्रति हामीसँग कस्तो प्रकारको प्रेम गर्नुपर्छ?

येशूले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भन्‍नुहुँदा मित्रताबारे मात्र बताइरहनुभएको थिएन। अनि उहाँले स्वाभाविकतः परिवार वा पुरुष र स्त्रीबीच हुने प्रेमभन्दा भिन्‍न प्रकारको प्रेमबारे संकेत गरिरहनुभएको थियो। उहाँले, यहोवाले आफ्ना समर्पित सेवकहरूप्रति देखाउनुहुने र तिनीहरूले उहाँप्रति देखाउने प्रेमबारे बताइरहनुभएको थियो। (यूहन्‍ना १७:२६; १ यूहन्‍ना ४:११, १९) एक यहूदी शास्त्रीले बुद्धिमानीसाथ कुरा गरिरहेको येशूले बुझ्नुभयो र तिनी “सारा मनले, सारा समझले र सारा बलले [परमेश्‍वरलाई] प्रेम गर्नु[पर्छ]” भन्‍ने कुरामा येशूसित सहमत भए। (मर्कूस १२:२८-३४) उहाँले भन्‍नुभएको कुरा सही थियो। मसीहीले परमेश्‍वर र छिमेकीप्रति विकास गर्ने प्रेममा हाम्रो भावना र मनमस्तिष्क दुवै समावेश हुन्छ। यो हृदयले महसुस गर्छ र मनले डोऱ्‍याउँछ।

३. (क) येशूले “व्यवस्थाका एक जना अध्यापकलाई” तिनको छिमेकी को हो भन्‍ने सन्दर्भमा कस्तो विस्तृत दृष्टिकोण हुनुपर्छ भनेर सिकाउनुभयो? (ख) येशूको दृष्टान्त आज मसीहीहरूको निम्ति कसरी लागू हुन्छ?

लूकाले रिपोर्ट गरेअनुसार येशूले हामीले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भन्‍नुहुँदा “व्यवस्थाका एक जना अध्यापकले” यस्तो प्रश्‍न गरे: “मेरो छिमेकी चाहिं को हो त?” येशूले एउटा दृष्टान्त चलाएर जवाफ दिनुभयो। एक जना मानिस लुटिए, पिटिए र अधमरो पारी बाटो छेउ छोडिए। पहिला पूजाहारी अनि त्यसपछि लेवी अर्कोपट्टिबाट तर्केर गए। दुवैले तिनलाई बेवास्ता गरे। अन्तमा एक सामरी आए, घाइते मानिसलाई देखेर ठूलो दया देखाए। अब ती तीनमध्ये त्यस घाइते व्यक्‍तिको असल छिमेकी को भयो? जवाफ स्पष्ट थियो। (लूका १०:२५-३७) पूजाहारी र लेवीभन्दा सामरी असल छिमेकी हुनसक्ने येशूको कुरा सुनेर व्यवस्थाका अध्यापक चकित भए होलान्‌। स्पष्टतः येशूले त्यस मानिसलाई अझ व्यापक रूपमा आफ्नो छिमेकीलाई प्रेम गर्न मदत गरिरहनुभएको थियो। मसीहीहरूले पनि त्यस्तै प्रकारले प्रेम गर्छन्‌। तिनीहरूको प्रेमले अँगालेका सबैलाई विचार गर्नुहोस्‌।

परिवारभित्र प्रेम

४. मसीहीले सबैभन्दा पहिला प्रेमको अभ्यास कहाँ गर्नुपर्छ?

मसीहीहरूले आफ्ना परिवारका सदस्यहरूलाई प्रेम गर्छन्‌—पत्नीले पतिलाई, पतिले पत्नीलाई र आमाबाबुले छोराछोरीलाई। (उपदेशक ९:९; एफिसी ५:३३; तीतस २:४) हो, अधिकांश परिवारहरूमा स्वाभाविक प्रेमको बलियो बन्धन हुन्छ। तथापि, टुक्रिएको वैवाहिक जीवन, पति वा पत्नीको दुर्व्यवहार, अपहेलित र दुर्व्यवहारको सिकार भएका केटाकेटीको रिपोर्टले आज परिवारहरू तनाउमा छन्‌ र स्वाभाविक पारिवारिक भावनाहरू मात्र परिवारलाई एकतामा राख्न अपर्याप्त हुनसक्छ। (२ तिमोथी ३:१-३) पारिवारिक जीवन साँच्चै सफल बनाउन मसीहीहरूसँग यस्तो प्रकारको प्रेम हुनुपर्छ जुन यहोवा अनि येशूसँग छ।—एफिसी ५:२१-२७.

५. आफ्नो छोराछोरी हुर्काउन आमाबाबुले कसको मदत खोज्छन्‌ र फलस्वरूप थुप्रैले कस्तो नतिजा प्राप्त गरेका छन्‌?

मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई यहोवाले सुम्पनुभएको जिम्मेवारीको रूपमा लिन्छन्‌ र छोराछोरीलाई हुर्काउन उहाँको मदत खोज्छन्‌। (भजन १२७:३-५; हितोपदेश २२:६) यसरी तिनीहरू मसीही प्रेम खेती गर्छन्‌। यसले तिनीहरूलाई आजका जवानहरूलाई पासोमा पार्नसक्ने भ्रष्ट प्रभावहरूबाट आफ्ना छोराछोरीलाई जोगाउन मदत गर्छ। फलस्वरूप, थुप्रै मसीही आमाबाबुले नेदरल्याण्ड्‌सकी आमाले जस्तै आनन्द महसुस गरेका छन्‌। गत वर्ष नेदरल्याण्ड्‌समा ५७५ जनाले बप्तिस्मा लिएका थिए र त्यसमध्ये तिनको छोरो पनि एक थिए। आफ्नो छोरोको बप्तिस्मा हेरेपछि तिनले यस्तो लेखिन्‌: “मैले अहिले २० वर्षसम्म गरेको कठिन परिश्रमको फल पाएकी छु। खर्च गरेको समय, प्रयासका साथसाथै चिन्ता र दुःख सबै बिर्सेकी छु।” छोराले स्वेच्छाले यहोवाको सेवा गर्ने छनौट गरेकोमा तिनी साह्रै खुसी छिन्‌। गत वर्ष नेदरल्याण्ड्‌समा प्रकाशकहरूको शिखर संख्या ३१,०८९ पुगेको थियो, त्यसमा आफ्नो आमाबाबुबाट यहोवालाई प्रेम गर्न सिकेका जवानहरू पनि पर्छन्‌।

६. मसीही प्रेमले वैवाहिक बन्धन बलियो पार्न कसरी मदत गर्नसक्छ?

पावलले प्रेम “सिद्धताको गाँठो हो” भने र यसले वैवाहिक बन्धनलाई कठिन समस्याको बेलामा पनि जोगाउनसक्छ। (कलस्सी ३:१४, १८, १९; १ पत्रुस ३:१-७) ताहिटीबाट झन्डै ७०० किलोमिटर टाढा रुरुटु भन्‍ने सानो टापुमा एक जना मानिसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्दा तिनकी पत्नीले असाध्यै विरोध गरिन्‌। पछि, उनी पतिलाई छोडेर छोराछोरीसहित ताहिटीमा बस्न गइन्‌। तैपनि, पतिले नियमित तवरमा पैसा पठाउँथे र उनी र छोराछोरीलाई केही चाहिन्छ कि भनी बारम्बार फोन गरेर उनीहरूप्रति आफ्नो प्रेम देखाइरहे। यसरी तिनले आफ्नो मसीही दायित्व पूरा गर्न यथासक्दो गरे। (१ तिमोथी ५:८) तिनले आफ्नो परिवार पुनः एक हुन सकोस्‌ भनेर निरन्तर प्रार्थना गरे र बल्लतल्ल तिनकी पत्नी घर फर्किन्‌। उनी फर्केपछि पनि तिनले उनीसित “प्रेम, धीरज, नम्रता[साथ]” व्यवहार गरे। (१ तिमोथी ६:११) सन्‌ १९९८ मा तिनले बप्तिस्मा लिए र पछि आफ्नी पत्नी पनि बाइबल अध्ययन गर्न राजी हुँदा तिनी अत्यन्तै हर्षित भए। गत वर्ष ताहिटी शाखा कार्यालयको निगरानीमा पर्ने त्यस इलाकामा सञ्चालन गरिएको १,३५१ अध्ययनहरूमध्ये त्यो पनि एउटा थियो।

७. जर्मनीका एक व्यक्‍तिअनुसार कुन कुराले गर्दा तिनको वैवाहिक जीवन झन्‌ बलियो भयो?

जर्मनीमा एक जना मानिसले आफ्नी पत्नीले बाइबल सत्यमा चासो लिएको देखेर त्यसको विरोध गरे। यहोवाका साक्षीहरूले तिनको पत्नीलाई ठग्न खोज्दैछन्‌ भनेर तिनी सम्झन्थे। तथापि, पछि तिनले आफ्नो पत्नीलाई सुरुमा भेट्‌न आउने साक्षीलाई यस्तो पत्र लेखे: “मेरी श्रीमतीलाई यहोवाका साक्षीहरूसित परिचित गराइदिनुभएकोमा धन्यवाद। पहिला त मलाई चिन्ता लागेको थियो किनभने मैले तिनीहरूबारे थुप्रै नराम्रो कुरा सुनेको थिएँ। तर मेरी श्रीमतीसँग सभाहरू धाएपछि म गलत रहेछु भनेर थाह पाएँ। अबचाहिं सत्य कुरा सुनिरहेको रहेछु भनेर म विश्‍वस्त छु र यसले हाम्रो वैवाहिक जीवनलाई झन्‌ बलियो बनाएको छ।” जर्मनीमा भएका १,६२,९३२ जना र ताहिटी शाखा कार्यालयको निगरानीमा पर्ने टापुका १,७७३ जना यहोवाका साक्षीहरूमाझ ईश्‍वरीय प्रेममा एकताबद्ध भएका थुप्रै परिवारहरू छन्‌।

हाम्रा मसीही भाइहरूको निम्ति प्रेम

८, ९. (क) हाम्रा भाइहरूलाई प्रेम गर्न हामीलाई कसले सिकाउँछ र प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ? (ख) एक आपसमा सहयोगी हुन प्रेमले कसरी मदत गर्नसक्छ, उदाहरण दिनुहोस्‌?

पावलले थिस्सलोनिकीका मसीहीहरूलाई यसो भने: “आपसमा प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ।” (१ थिस्सलोनिकी ४:९) हो, “परमेश्‍वरबाट शिक्षा पाएका[हरूले]” आपसमा प्रेम गर्छन्‌। (यशैया ५४:१३) तिनीहरूको प्रेम कामबाटै देखिन्छ जुन कुरा पावलले पनि यसो भनेर देखाए: “प्रेमबाट एक अर्कोको दास बन।” (गलाती ५:१३; १ यूहन्‍ना ३:१८) उदाहरणका लागि, बिरामी भाइबहिनीलाई भेट्‌न गएर, हरेस खाएकाहरूलाई दिलाशा र कमजोरहरूलाई मदत दिएर तिनीहरू यसो गर्छन्‌। (१ थिस्सलोनिकी ५:१४) हाम्रो साँचो मसीही प्रेमले हाम्रो आध्यात्मिक प्रमोदवनको वृद्धिमा योगदान पुऱ्‍याउँछ।

इक्वेडरको ५४४ वटा मण्डलीमध्ये एउटा आन्कोन मण्डलीका भाइहरूले आफ्नो प्रेम व्यावहारिक ढंगमा प्रदर्शित गरे। आर्थिक संकटले गर्दा तिनीहरू बेरोजगार भए र पैसा आउने कुनै स्रोत भएन। त्यसैले, प्रकाशकहरूले राती माछा मारेर घर फर्कने स्थानीय जालहारीहरूलाई खाना बेचेर पैसा कमाउने निर्णय गरे। केटाकेटीलगायत सबैले सहयोग गरे। जालहारी फर्कने समय बिहान ४:०० बजेसम्ममा खाना तयार गर्न राती १:०० बजे नै काम थाल्नुपर्थ्यो। भाइहरूले कमाएको पैसा तिनीहरूको खाँचोअनुसार बाँडचुँड गरिन्थ्यो। त्यस्तो आपसी मदतले साँचो मसीही प्रेम प्रदर्शित गऱ्‍यो।

१०, ११. हामीले व्यक्‍तिगत तवरमा नचिनेका भाइहरूप्रति कसरी प्रेम देखाउनसक्छौं?

१० तथापि, हाम्रो प्रेम हामीले व्यक्‍तिगत रूपमा चिनेका मसीहीहरूमा मात्र सीमित छैन। प्रेरित पत्रुसले यसो भने: “भाइ-बन्धुहरूलाई प्रेम गर।” (१ पत्रुस २:१७) हामी आफ्ना सबै भाइबहिनीलाई प्रेम गर्छौं किनभने तिनीहरू सबै यहोवा परमेश्‍वरका सँगी उपासकहरू हुन्‌। संकष्टको बेला हामीले आफ्नो प्रेम प्रदर्शित गर्ने मौका पाउनसक्छौं। उदाहरणका लागि, सन्‌ २००० सेवा वर्षको दौडान मोजाम्बिकमा भयंकर बाढी आयो र अंगोलामा भइरहेको गृहयुद्धले थुप्रैलाई घरबारविहीन बनायो। मोजाम्बिकका ३१,७२५ जना र अंगोलाका ४१,२२२ जना भाइहरूमध्ये धेरै यी घटनाहरूबाट प्रभावित भए। तसर्थ, छिमेकी राष्ट्र दक्षिण अफ्रिकाका भाइहरूले ती राष्ट्रका भाइहरूको दुःख कम गर्न ठूलो परिणाममा राहत सामग्री पठाइदिए। खाँचोमा परेका भाइहरूलाई मदत गर्न आफ्नो “बढ़ती” राजीखुसीले दिंदा तिनीहरूको प्रेम प्रदर्शित भयो।—२ कोरिन्थी ८:८, १३-१५, २४.

११ विपन्‍न देशहरूमा राज्यभवन तथा सम्मेलन भवनहरू निर्माण गर्न भाइहरूले गरेको मदतमा पनि प्रेम प्रदर्शित हुन्छ। त्यस्तै एउटा उदाहरण सोलोमन टापुको हो। त्यहाँ एकदमै गोलमाल भए तापनि गत वर्ष प्रकाशकहरूको संख्यामा ६ प्रतिशतले वृद्धि भयो र शिखर संख्या १,६९७ पुग्यो। तिनीहरूले एउटा सम्मेलन भवन निर्माण गर्ने योजना बनाएका थिए। त्यस टापुका थुप्रै मानिसहरू त्यहाँबाट अन्यत्र भागिरहेका भए तापनि अस्ट्रेलियाबाट स्वयम्‌सेवकहरू निर्माण कार्यमा मदत गर्न आए। अन्ततः स्वयम्‌सेवकहरू फर्कनुपऱ्‍यो तर त्यतिञ्जेल तिनीहरूले स्थानीय भाइहरूलाई जग हाल्न सिकाइसकेका थिए। भवनको निम्ति स्टिलका तयारी सामग्रीहरू अस्ट्रेलियाबाटै पठाइयो र अन्य थुप्रै निर्माण कार्यहरू बन्द भइरहेको बेला त्यस सुन्दर भवनको निर्माण समापन हुनु यहोवाको नाउँको र हाम्रा भाइहरूको प्रेमको असल साक्षी हुनेछ।

हामी परमेश्‍वरले जस्तै संसारलाई प्रेम गर्छौं

१२. अन्य धर्मका मानिसहरूप्रतिको हाम्रो मनोवृत्तिमा हामी कसरी यहोवाको मनोवृत्ति अनुकरण गर्नसक्छौं?

१२ के हाम्रो प्रेम आफ्नो परिवार र भाइहरूको निम्ति मात्र सीमित छ? यदि हामी “परमेश्‍वरका देखा-सिकी गर्नेहरू” हौं भने हाम्रो प्रेम यत्तिमै सीमित हुनुहुँदैन। येशूले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (एफिसी ५:१; यूहन्‍ना ३:१६) यहोवा परमेश्‍वरले जस्तै हामी आफ्नो विश्‍वासमा नभएकाहरूलगायत सबैसँग मायालु व्यवहार गर्छौं। (लूका ६:३५, ३६; गलाती ६:१०) यस सन्दर्भमा विशेष गरी हामी परमेश्‍वरको राज्य सुसमाचार प्रचार गर्छौं र परमेश्‍वरले देखाउनुभएको अपार प्रेमबारे तिनीहरूलाई बताउँछौं। फलतः सुन्‍ने जो कोहीको निम्ति यो सुसमाचार उद्धार साबित हुनसक्छ।—मर्कूस १३:१०; १ तिमोथी ४:१६.

१३, १४. व्यक्‍तिगत असुविधाको बावजूद गैर साक्षीहरूलाई भाइहरूले प्रेम देखाउँदा कस्ता अनुभवहरू प्राप्त भएका छन्‌?

१३ उदाहरणका लागि, नेपालका चार जना विशेष अग्रगामीहरूलाई लिनुहोस्‌। यी अग्रगामीहरू त्यस देशको दक्षिणपश्‍चिमी भागमा खटाइएका थिए। विगत पाँच वर्षदेखि तिनीहरूले त्यस शहर र नजिकैका गाउँहरूमा धैर्य धारण गर्दै प्रचार गरेर आफ्नो प्रेम प्रदर्शित गरेका छन्‌। आफ्नो इलाकाका मानिसहरूलाई प्रचार गर्न तिनीहरू अक्सर ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौं साइकलमा यात्रा गर्छन्‌। एउटा गाउँमा पुस्तक अध्ययन समूह स्थापित हुँदा तिनीहरूले प्रेम र “धीरजसँग [गरेको] असल काम[को]” राम्रो फल पाइयो। (रोमी २:७) मार्च २००० मा क्षेत्रीय निरीक्षकको भ्रमणको बेला ३२ जना मानिस जनभाषण सुन्‍न आए। गत वर्ष नेपालमा प्रकाशकहरूको शिखर संख्या ४३० पुग्यो र यो ९ प्रतिशतले वृद्धि हो। त्यस देशका भाइहरूको जोस र प्रेमलाई यहोवाले स्पष्टतः आशिष्‌ दिइरहनुभएको छ।

१४ कोलम्बियामा अस्थायी विशेष अग्रगामीहरू वियू आदिवासीहरूलाई प्रचार गर्न गए। यसको लागि तिनीहरूले नयाँ भाषा सिक्नुपऱ्‍यो तर भीषण वर्षाको बावजूद २७ जना जनभाषणको निम्ति भेला हुँदा तिनीहरूले देखाएको मायालु चासोको इनाम पाए। यी अग्रगामीहरूले देखाएको जस्तो मायालु जोसको कारण कोलम्बियामा ५ प्रतिशत वृद्धि भएको छ र प्रकाशकहरूको शिखर संख्या १,०७,६१३ पुगेको छ। डेनमार्कमा एउटी वृद्ध बहिनी अरूसित सुसमाचार बाँड्‌न चाहन्थिन्‌ तर तिनी शारीरिक तवरमा अशक्‍त थिइन्‌। तैपनि, निरुत्साहित नभई तिनले जिज्ञासु व्यक्‍तिहरूलाई पत्र लेखेर सम्पर्क राखिन्‌। हाल तिनी ४२ जना मानिसहरूसँग पत्राचार र ११ जनासँग बाइबल अध्ययन गर्छिन्‌। गत वर्ष डेनमार्कमा प्रकाशकहरूको शिखर संख्या १४,८८५ पुगेको थियो र त्यसमध्ये तिनी पनि एक थिइन्‌।

शत्रुहरूलाई प्रेम गर्नुहोस्‌

१५, १६. (क) येशूले हाम्रो प्रेम कत्तिको व्यापक हुनुपर्छ भन्‍नुभयो? (ख) यहोवाका साक्षीहरू विरुद्ध झूटो आरोप लगाउने एक जना व्यक्‍तिसित जिम्मेवार भाइहरूले कस्तो व्यवहार गरे?

१५ व्यवस्थाका एक जना अध्यापकलाई येशूले सामरीलाई पनि आफ्नो छिमेकीको रूपमा लिन सकिन्छ भन्‍नुभयो। डाँडाको उपदेशमा येशूले अझ यसो भन्‍नुभयो: “तिमीहरूले सुनेको छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ।” (मत्ती ५:४३-४५) अरूले हाम्रो विरोध गर्दासमेत हामी “खराबीलाई भलाइले जि[त्ने]” प्रयास गर्छौं। (रोमी १२:१९-२१) सम्भव भएसम्म हामी उनीहरूसित हाम्रो सबैभन्दा अनमोल सम्पत्ति अर्थात्‌ सत्य बाँड्‌छौं।

१६ युक्रेनमा क्रेमेनचुक हेराल्ड नामक एउटा अखबारमा यहोवाका साक्षीहरू डरलाग्दो गुट हो भनी बताइएको थियो। यो कुरा गम्भीर थियो किनभने युरोपमा साक्षीहरूको गतिविधिमा रोक लगाउन वा निषेधित गराउन कसै कसैले त्यस्तै कुरा गर्छन्‌। तसर्थ, त्यस अखबारको सम्पादकलाई भेटेर त्यस लेख सच्याइएको प्रेस विज्ञप्ति प्रकाशित गर्न आग्रह गरियो। सम्पादक यसो गर्न सहमत भए तर विज्ञप्तिसँगसँगै सुरुको लेख तथ्यमा आधारित थियो भनेर लेखियो। त्यसैले, जिम्मेवार भाइहरूले फेरि तिनलाई भेटे र अझ थप जानकारी दिए। बल्ल सम्पादकले सुरुको लेख गलत थियो भनेर बुझे र आफ्नो लेख वापस लिएको कुरा प्रकाशित गरे। तिनीसित स्पष्ट र मायालु ढंगमा व्यवहार गर्नु नै त्यस परिस्थितिलाई सम्हाल्ने उत्तम मार्ग थियो र यसको असल नतिजा भयो।

हामी कसरी प्रेम खेती गर्नसक्छौं ?

१७. अरूलाई सधैं मायालु व्यवहार गर्नु सजिलो नहुनसक्छ भनेर कुन कुराले संकेत गर्छ?

१७ नवजात शिशुको जन्मपछि आमाबाबुको तुरुन्तै ऊप्रति माया बस्छ। वयस्कहरूसित सधैं यसरी सहजै मायालु व्यवहार गर्न सकिंदैन। त्यसैकारण बाइबलले हामीलाई बारम्बार आपसमा प्रेम गर्नु भनेर बताउँछ र यसको लागि हामीले प्रयत्न गर्नुपर्छ। (१ पत्रुस १:२२; ४:८; १ यूहन्‍ना ३:११) हामीले आफ्नो भाइलाई “सात गुणा सत्तरीपल्टसम्म” क्षमा दिनुपर्छ भन्‍नुहुँदा हाम्रो विश्‍वास जाँचिनेछ भनेर येशूलाई थाह थियो। (मत्ती १८:२१, २२) पावलले पनि हामीलाई ‘एउटाले अर्कोलाई सहन’ आग्रह गरे। (कलस्सी ३:१२, १३) त्यसैकारण त हामीलाई यसो भनिएको छ: “प्रेमको पछि लाग”! (१ कोरिन्थी १४:१) हामी कसरी त्यसो गर्नसक्छौं?

१८. कुन कुराले हामीलाई अरूप्रति प्रेम खेती गर्न मदत गर्छ?

१८ प्रथमतः हामीले सधैं यहोवा परमेश्‍वरप्रतिको प्रेम मनमा राख्नुपर्छ। आफ्नो छिमेकीलाई प्रेम गर्न यो बलियो उत्प्रेरणा हो। किन? किनभने हामीले त्यसो गर्दा हाम्रो स्वर्गमा हुनुहुने पिताको राम्रो प्रतिबिम्ब हुन्छ अनि उहाँको महिमा र प्रशंसा हुन्छ। (यूहन्‍ना १५:८-१०; फिलिप्पी १:९-११) दोस्रो, हामी यहोवाले जस्तै कामकुराहरूलाई हेर्ने प्रयास गर्नसक्छौं। हामीले हरेक चोटि पाप गर्दा यहोवा विरुद्ध पाप गर्छौं, तैपनि उहाँले हामीलाई बारम्बार क्षमा दिनुहुन्छ र हामीलाई माया गरिरहनुहुन्छ। (भजन ८६:५; १०३:२, ३; १ यूहन्‍ना १:९; ४:१८) हामीले यहोवाको जस्तै दृष्टिकोण विकास गऱ्‍यौं भने अरूलाई प्रेम गर्न र कसैले हामी विरुद्ध गरेका गल्तीहरूको माफी दिन सक्षम हुनेछौं। (मत्ती ६:१२) तेस्रो, अरूले हामीसँग जस्तो व्यवहार गरेको चाहन्छौं त्यस्तै अरूसँग व्यवहार गर्नसक्छौं। (मत्ती ७:१२) हामी असिद्ध भएको कारण क्षमाको बारम्बार आवश्‍यकता परिरहन्छ। उदाहरणका लागि, हामीले चित्त दुख्ने कुरा गर्दा समय समयमा सबैको जिब्रोले पाप गर्छ भनी अरूले सम्झनेछ भन्‍ने आशा गर्छौं। (याकूब ३:२) अरूले हामीसित यसरी मायालु व्यवहार गरेको चाहन्छौं भने हामीले पनि अरूसित त्यस्तै मायालु व्यवहार गर्नुपर्छ।

१९. प्रेम खेती गर्न हामीले कसरी पवित्र आत्माको मदत लिनसक्छौं?

१९ चौथो, हामीले पवित्र आत्माको मदत लिनसक्छौं किनभने आत्माको एउटा फल प्रेम हो। (गलाती ५:२२, २३) मित्रता, परिवारका सदस्यहरूबीचको भावना र रोमान्टिक प्रेम अक्सर स्वतः पलाउँछन्‌। तर यहोवासँग भएको प्रेम विकास गर्न हामीलाई यहोवाको आत्माको मदत चाहिन्छ। किनकि यहोवासँग भएको प्रेम सिद्धताको गाँठो हो। प्रेरित वचन बाइबल पढेर हामी पवित्र आत्माको फलको मदत लिनसक्छौं। उदाहरणका लागि, हामीले येशूको जीवनी अध्ययन गऱ्‍यौं भने उहाँले मानिसहरूसित गर्नुभएको व्यवहार बुझ्नसक्छौं र उहाँको अनुकरण गर्न सिक्नसक्छौं। (यूहन्‍ना १३:३४, ३५; १५:१२) यसबाहेक, विशेष गरी कठिन अवस्थामा मायालु ढंगमा व्यवहार गर्न पवित्र आत्माको मदतको निम्ति यहोवालाई बिन्ती गर्नसक्छौं। (लूका ११:१३) अन्तमा, हामी मसीही मण्डलीसँगसँगै हिंडेर प्रेम खेती गर्नसक्छौं। किनकि मायालु भाइबहिनीहरूको साथमा हुँदा त्यसले हामीलाई प्रेम खेती गर्न मदत गर्छ।—हितोपदेश १३:२०.

२०, २१. यहोवाका साक्षीहरूले सन्‌ २००० सेवा वर्षको दौडान प्रेमको कस्तो उल्लेखनीय प्रदर्शन गरे?

२० गत वर्ष विश्‍वभरि सुसमाचारका प्रकाशकहरूको शिखर संख्या ६०,३५,५६४ पुगेको थियो। यहोवाका साक्षीहरूले व्यक्‍तिविशेषलाई सुसमाचार सुनाउन जम्मा १,१७,१२,७०,४२५ घण्टा बिताए। प्रेमले गर्दा नै तिनीहरू गर्मी, वर्षा र जाडो सहँदै काममा लागिरहन सके। प्रेमले गर्दा नै तिनीहरू सहपाठी, सहकर्मी र बटुवा तथा अन्य अपरिचित व्यक्‍तिहरूलाई भेटेर कुरा गर्न उत्प्रेरित भए। साक्षीहरूले भेटेका थुप्रै व्यक्‍ति भावशून्य थिए र कोही विरोधी पनि थिए। तथापि, कोहीले चासो देखाए र त्यसैकारण ४३,३४,५४,०४९ पुनःभेट गरियो र ४७,६६,६३१ बाइबल अध्ययन सञ्चालन गरियो। a

२१ यहोवाका साक्षीहरूको आफ्नो परमेश्‍वर र छिमेकीप्रतिको प्रेमबारे कत्ति यथेष्ट प्रमाण! त्यो प्रेम कहिल्यै सेलाउने छैन। सन्‌ २००१ सेवा वर्षमा मानिसजातिलाई योभन्दा अझ बृहत्‌ साक्षी दिइनेछ भनेर हामी विश्‍वस्त छौं। ‘यी सबै प्रेममा गरिएका’ कुराहरूमा यहोवाले आफ्ना वफादार तथा जोसिला उपासकहरूलाई आशिष्‌ दिइरहून्‌!—१ कोरिन्थी १६:१४.

[फुटनोट]

a सन्‌ २००० सेवा वर्ष रिपोर्टको विस्तृत विवरणको निम्ति पृष्ठ १८-२१ को चार्ट हेर्नुहोस्‌।

के तपाईं बताउन सक्नुहुन्छ ?

• छिमेकीलाई प्रेम गर्दा हामीले कसको अनुकरण गरिरहेका हुन्छौं?

• हाम्रो प्रेम कत्तिको व्यापक हुनुपर्छ?

• मसीही प्रेमको कस्ता अनुभवहरू छन्‌?

• हामी कसरी मसीही प्रेम विकास गर्नसक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १८-२१-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको २००० सेवा वर्ष रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ १५-मा भएका चित्रहरू]

मसीही प्रेमले परिवारमा एकता ल्याउनसक्छ

[पृष्ठ १७-मा भएका चित्रहरू]

प्रेमले हामीलाई अरूसित आफ्नो आशा बाँड्‌न प्रेरित गर्छ