सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“त्यसरीनै दगुर”

“त्यसरीनै दगुर”

“त्यसरीनै दगुर”

तपाईं आफू रोमाञ्चित मानिसहरूले टन्‍न भरिएको रंगशालामा उपस्थित भएको कल्पना गर्नुहोस्‌। खेलाडीहरू लहरै मैदानमा आउँछन्‌। दर्शकहरू आफ्नो मन पर्ने खेलाडी आउँदा जोडले कराउँछन्‌। नियमहरू पालन गरेका छन्‌ कि छैनन्‌ हेर्न, रेफरीहरू छन्‌। खेल सुरु भएपछि विजय र निराशाका मिश्रित आवाज सुनिन्छन्‌। करतलध्वनि सहित विजेताहरूलाई स्वागत गरिन्छ!

तपाईं कुनै आधुनिक खेलमा उपस्थित भइरहनुभएको छैन तर झन्डै २,००० वर्षअघि कोरिन्थको इस्थमसमा आयोजना भएको खेलमा उपस्थित हुनुभएको छ। सा.यु.पू. छैठौं शताब्दीदेखि सा.यु. चौथो शताब्दीसम्म त्यहाँ हरेक दुई वर्षमा प्रख्यात इस्मीयन खेल आयोजना गरिन्थ्यो। त्यस खेल कार्यक्रमले थुप्रै दिनसम्म सम्पूर्ण ग्रीसवासीको ध्यानाकर्षित गर्थ्यो। ती खेलहरू सामान्य प्रतियोगिता मात्र थिएनन्‌। सहभागीहरूले आफ्नो देशको सेना युद्धको निम्ति कत्तिको तयार छ भनेर देखाउँथे। वीर पुरुषको रूपमा लिइने विजेताहरूलाई रूखको पातले बुनेको मुकुट लगाइदिइन्थ्यो। साथै शहरले तिनीहरूलाई प्रशस्त उपहारहरू र जीवनभरलाई पुग्ने भत्ता दिन्थ्यो।

प्रेरित पावललाई कोरिन्थ नजिकै आयोजना हुने इस्मीयन खेलबारे थाह थियो। त्यसैले, तिनले खेलमा हुने प्रतिस्पर्धालाई मसीही जीवनको दौडसित तुलना गरे। धावक, कुस्तीबाज र मुक्केबाजहरूलाई संकेत गर्दै तिनले राम्रो प्रशिक्षण, राम्ररी डोऱ्‍याइएको प्रयास र धीरजका इनामहरूबारे प्रस्ट पारे। निस्सन्देह, तिनको पत्रका पाठक मसीहीहरू पनि ती खेलहरूसित परिचित थिए। कोही कोही अवश्‍य पनि रंगशालामा कराउने भीडहरूमध्ये थिए होलान्‌। त्यसैले, तिनीहरूलाई पावलको दृष्टान्त बुझ्न गाह्रो भएन। आज हाम्रोबारे चाहिं के भन्‍न सकिन्छ नि? हामी पनि अनन्त जीवनको दौडमा भाग लिइरहेका छौं। पावलले उल्लेख गरेका ती प्रतियोगिताहरूको उदाहरणबाट हामीले कसरी फाइदा उठाउनसक्छौं?

‘नियमबमोजिम खेलमा भाग लिने’

पुरातन खेलहरूमा भाग लिन नियमहरू साह्रै कडा थिए। उद्‌घोषकले प्रत्येक खेलाडीलाई दर्शकहरूसामु परिचित गराएर यसो भन्थे: ‘के कोहीले यस मानिसमाथि कुनै अपराधको दोष लगाउनसक्छ? के तिनी चोर वा दुष्ट मानिस हुन्‌? के तिनको जीवन र आचरण भ्रष्ट छ?’ आर्कोलोजिया ग्रेक्का-अनुसार “कुख्यात अपराधी वा तिनीसँग सम्बन्ध भएका कसैले पनि त्यस खेलमा भाग लिन पाउँदैनथ्यो।” अनि खेलका नियमहरू भंग गरेमा खेलमा भाग लिन नदिएर दण्ड दिइन्थ्यो।

यी तथ्यहरूले हामीलाई पावलको कुरा बुझ्न मदत गर्छ: “खेलमा भाग लिने मानिसले पनि नियमबमोजिम नखेलीकन इनाम पाउँदैन।” (२ तिमोथी २:५) त्यसै गरी, जीवनको दौडमा दौड्‌न पनि यहोवाले चाहनुभएका कुराहरू हामीले बाइबलमा देखाइएबमोजिम उहाँका उच्च नैतिक स्तरहरू पालन गरेर पूरा गर्नुपर्छ। तथापि, बाइबलले हामीलाई यस्तो चेताउनी दिन्छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।” (उत्पत्ति ८:२१) तसर्थ, दौडमा भाग लिइसकेपछि पनि यहोवाको अनुमोदन तथा अनन्त जीवन प्राप्त गर्न होसियारीसाथ नियमबमोजिम चलिरहने प्रयास गरिरहनुपर्छ।

यस तरिकामा चल्न हामीलाई परमेश्‍वरप्रतिको प्रेमले सबैभन्दा ठूलो मदत दिनसक्छ। (मर्कूस १२:२९-३१) त्यस्तो प्रेमले हामीलाई यहोवालाई खुसी तुल्याउन र उहाँको इच्छाअनुरूप गर्न उत्प्रेरित गर्छ।—१ यूहन्‍ना ५:३.

‘हर किसिमको बोझ पन्छाऊ’

पुरातन खेलहरूमा धावकहरूको शरीर लुगा वा अन्य सामनाहरूले बोझिलो बनाइँदैन्थ्यो। “दौडमा . . . प्रतियोगीहरूले लुगा नै लगाउँदैनथे भने पनि हुन्छ” भनी द लाइफ अफ द ग्रीक्स एण्ड रोमनस पुस्तक बताउँछ। लुगा नलगाई दौड्‌दा धावकहरूलाई चलहल गर्न सजिलो हुन्थ्यो भने फूर्ति र तेज आउँथ्यो। अनावश्‍यक बोझ नभएको कारण शक्‍ति खेर जाँदैनथ्यो। पावलले हिब्रू मसीहीहरूलाई निम्न कुरा लेख्दा तिनको मनमा यही कुरा हुनसक्छ: “हरकिसिमका बोझा . . . पन्छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड़ धैर्यसाथ दौड़ौं।”—हिब्रू १२:१, नयाँ संशोधित संस्करण।

कस्ता किसिमको बोझले हाम्रो जीवनको दौडमा बाधा पुऱ्‍याउनसक्छ? एउटा त, अनावश्‍यक भौतिक कुराहरू प्राप्त गर्ने वा सुखविलासको जीवनशैली बिताउने चाहना हो। कसै कसैले धनसम्पत्तिलाई सुरक्षा वा आनन्दको स्रोतको रूपमा हेर्ने गर्लान्‌। त्यस्तो अनावश्‍यक ‘बोझले’ धावकलाई समय बित्दै जाँदा परमेश्‍वर नै महत्त्वपूर्ण नलाग्ने हदसम्म सुस्त बनाउनसक्छ। (लूका १२:१६-२१) अनन्त जीवन, पछि कहिले हो कहिले हुने कुरा जस्तो लाग्नसक्छ। ‘नयाँ संसार कुनै दिन आउन त आउँछ नि तर त्यतिञ्जेल यस संसारले प्रदान गर्ने कुराहरूको फाइदा लिए पनि हुन्छ’ भन्‍ने तर्क कोही कोहीले गर्लान्‌। (१ तिमोथी ६:१७-१९) त्यस्तो भौतिकवादी दृष्टिकोणले सजिलै जीवनको दौडबाट हाम्रो ध्यान विकर्षण गर्नसक्छ वा दौड सुरु गर्नबाट समेतै वञ्चित गर्नसक्छ।

डाँडाको उपदेशमा येशूले यस्तो कुरा उल्लेख गर्नुभयो: “कसैले दुइ मालिकको चाकरी गर्नसक्‍तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गर्नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” यहोवाले पशुपक्षीहरूको त देखभाल गर्नुहुन्छ भने मानिसहरूको त तिनीहरूको भन्दा धेरै महत्त्व छ भनेर भन्‍नुभएपछि यस्तो सल्लाह दिनुभयो: “यसकारण ‘के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:२४-३३.

‘धीरजसँग दौड’

पुरातन समयमा सबै दौड छोटो दूरीको हुँदैनथ्यो। डोलिखोस भन्‍ने एउटा दौड त झन्डै चार किलोमिटर लामो हुन्थ्यो। यस दौडमा शक्‍ति र धैर्यको ठूलो जाँच हुन्थ्यो। चलनअनुसार सा.यु.पू. ३२८ मा अयिस नाउँ गरेका एक धावकले दौड जितेपछि आफ्नो विजयको घोषणा गर्न गृहनगर आर्गोससम्मै दौडेर गए। त्यस दिन तिनले झन्डै ११० किलोमिटर दूरी पूरा गरे!

मसीही दौड पनि लामो दूरीको दौड जस्तै हो र यसमा हाम्रो धीरजको जाँच हुन्छ। यहोवाको अनुमोदनका साथै हामीले अनन्त जीवनको इनाम पाउन यस दौडमा अन्तसम्मै स्थिर रहनुपर्छ। पावल त्यसरी नै दौडे। आफ्नो जीवनको अन्ततिर पावलले यसो भन्‍न सके: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ।” (२ तिमोथी ४:७, ८) पावलले जस्तै हामीले पनि दौड ‘सिध्याउनुपर्छ।’ हामीले आशा गरेभन्दा दौड लामो भएजस्तो लागेको कारण हाम्रो धीरज कम भयो भने हामीले इनाम पाउने छैनौं। (हिब्रू ११:६) लक्ष्यमा पुग्नै लाग्दा हामी तर्कियौं भने कस्तो दुःखलाग्दो हुनेछ!

इनाम

पुरातन ग्रीसमा विजयी खेलाडीहरूलाई रूखका पात र फूलहरू उनेर सजाइएको माला लगाइदिइन्थ्यो। पायथन खेलमा विजेतालाई पातबाट बनाइएको मुकुट लगाइदिइन्थ्यो। ओलम्पियन खेलमा विजेतालाई जंगली जैतुनको पातको मुकुट लगाइदिइन्थ्यो भने इस्मीयन खेलमा देवदारको पातको मुकुट लगाइदिइन्थ्यो। “प्रतियोगीहरूको जोस बढाउन मुकुट, विजेताहरूको लागि इनाम, खजूरका हाँगाहरू खेलको दौडान रंगशालामा देख्ने गरी टेबलमा राखिएका हुन्थे” भनी एक बाइबलविद्‌ उल्लेख गर्छन्‌। विजेताको निम्ति मुकुट ठूलो सम्मानको चिह्न थियो। विजेता घर फर्कंदा विजयोल्लासका साथ रथमा चढेर आफ्नो शहर पस्थे।

यस कुरालाई मनमा राख्दै पावलले आफ्ना कोरिन्थका पाठकहरूलाई यस्तो प्रश्‍न गरे: “के तिमीहरूलाई थाह छैन दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरीनै दगुर, र पुरस्कार पाओ। . . . अब तिनीहरूचाहिं नाश हुने मुकुट पाउनालाई तर हामीचाहिं नाश नहुने मुकुट पाउनालाई यसो गर्दछौं।” (१ कोरिन्थी ९:२४, २५; १ पत्रुस १:३, ४) कस्तो भिन्‍नता! पुरातन खेलहरूमा जितेपछि पाइने ओइलाएर जाने मुकुट जस्तो नभई जीवनको दौडमा अन्तसम्मै स्थिर रह्‍यौं भने कहिल्यै नओइलाउने इनाम पाउनेछौं।

यस उत्तम मुकुटको सन्दर्भमा प्रेरित पत्रुसले यस्तो लेखे: “जब मूल-गोठाला प्रकट हुनुहुन्छ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।” (१ पत्रुस ५:४) के संसारले दिने कुनै पनि इनामलाई ख्रीष्टसँग स्वर्गीय महिमामा पाउने अविनाशी इनाम अर्थात्‌ अमर जीवनसित तुलना गर्न सकिन्छ र?

आज, अधिकांश मसीही धावकहरू परमेश्‍वरद्वारा स्वर्गमा उहाँको आत्मिक छोराहरू हुन नियुक्‍त भएका होइनन्‌ र तिनीहरूको स्वर्गीय आशा छैन। तसर्थ, तिनीहरू अमर जीवनको इनामको निम्ति दौडिरहेका छैनन्‌। तथापि, परमेश्‍वरले तिनीहरूसामु पनि अनमोल इनाम राखिदिनुभएको छ। त्यो हो, परमेश्‍वरको स्वर्गीय राज्यअन्तर्गत सिद्धतामा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन। मसीही धावकको अगाडि जुनसुकै इनाम भए तापनि तिनी कुनै पनि खेलाडीभन्दा धेरै कटिबद्ध भई जोसका साथ दौड्‌नुपर्छ। किन? किनभने त्यो इनाम कहिल्यै ओइलाउने छैन: “उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, अर्थात्‌ अनन्त जीवन।”—१ यूहन्‍ना २:२५.

मसीही धावकसामु त्यस्तो अतुलनीय इनाम राखिएको कारण यस संसारले प्रदान गर्ने प्रलोभनहरूप्रति तिनको कस्तो दृष्टिकोण हुनुपर्छ? तिनको दृष्टिकोण पावलको जस्तै हुनुपर्छ जसले यसो भने: “साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ।” यस कुरालाई विचार गर्दा पावलले कस्तो कडा मेहनत गरे! “ए भाइ हो, मैले पक्रिसकेको छु भनी म अझै सम्झन्‍नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, . . . निशानातिर म अगाड़ि बढ़दछु।” (फिलिप्पी ३:८, १३, १४) इनाममा आफ्नो ध्यानकेन्द्रित गर्दै पावल दौडे। हामीले पनि त्यसै गर्नुपर्छ।

हाम्रो सर्वोत्कृष्ट नमुना

पुरातन खेलहरूमा विजेताहरूको व्यापक रूपमा प्रशंसा गरिन्थ्यो। कविहरूले तिनीहरूबारे कविता रच्थे र मूर्तिकारहरूले तिनीहरूको प्रतिमा बनाउँथे। इतिहासकार भेरा ओलिभोभाका अनुसार तिनीहरूको “अत्यन्तै महिमा गरिन्थ्यो र तिनीहरू असाध्यै लोकप्रिय हुन्थे।” विजेताहरू अर्को पुस्ता निम्ति पनि आदर्श नमुना हुन्थे।

मसीहीहरूको निम्ति सबैभन्दा उत्तम नमुना बसाल्ने “विजेता” को हो? पावल यस्तो जवाफ दिन्छन्‌: “हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:१, २) हो, हामी अनन्त जीवनको दौडमा विजयी हुन चाहन्छौं भने हाम्रो आदर्श येशू ख्रीष्टलाई गौरसित हेर्नुपर्छ। यो हामी नियमित तवरमा सुसमाचारका पुस्तक पढेर र हामीले अनुकरण गर्नसक्ने तरिकाहरूमाथि मनन गरेर गर्नसक्छौं। त्यस्तो अध्ययनले हामीलाई येशू ख्रीष्ट परमेश्‍वरप्रति आज्ञाकारी हुनुहुन्थ्यो र उहाँले धीरजद्वारा आफ्नो विश्‍वासको प्रमाण दिनुभयो भनी मूल्यांकन गर्न मदत गर्छ। धीरजको इनामस्वरूप उहाँले यहोवा परमेश्‍वरको अनुमोदनलगायत अन्य थुप्रै अनुपम सुअवसरहरू पाउनुभयो।—फिलिप्पी २:९-११.

निस्सन्देह, येशूको सबैभन्दा उल्लेखनीय गुण उहाँको प्रेम थियो। “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१३) आफ्ना शत्रुलाई पनि प्रेम गर्नु भनी हामीलाई भन्‍नुभएर उहाँले “प्रेम[को]” अझ गहिरो अर्थ सिकाउनुभयो। (मत्ती ५:४३-४८) स्वर्गमा हुनुहुने आफ्नो पितालाई प्रेम गर्नुभएको कारणले नै पिताको इच्छा गर्न पाउँदा उहाँ आनन्दित हुनुभयो। (भजन ४०:९, १०; हितोपदेश २७:११) येशूलाई हाम्रो आदर्श र कष्टदायी जीवनको दौडमा गति दिने व्यक्‍तिको रूपमा हेऱ्‍यौं र उहाँको गतिअनुसार हिड्यौं भने, यसले हामीलाई परमेश्‍वर अनि छिमेकीलाई प्रेम गर्न उत्प्रेरित गर्नुका साथै पवित्र सेवामा साँचो आनन्द प्राप्त गर्न मदत दिनसक्छ। (मत्ती २२:३७-३९; यूहन्‍ना १३:३४; १ पत्रुस २:२१) येशूले हामीले गर्न नसक्ने कुरा माग गर्नुहुन्‍न भनेर मनमा राख्नुहोस्‌। उहाँ हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “म [विनम्र र कोमल] हृदयको छ। अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.

येशूले जस्तै हामीले आफ्नो ध्यान इनाममा केन्द्रित गर्नुपर्छ र त्यो इनाम, अन्तसम्म स्थिर रहने जति सबैले पाउनेछन्‌। (मत्ती २४:१३) नियमबमोजिम गऱ्‍यौं र बोझ पन्छाएर धीरजसँग दौडिरह्‍यौं भने हामी विजयी हुनेछौं भनेर निर्धक्क हुनसक्छौं। हामीसामु भएको लक्ष्यले हामीलाई अघि बढ्‌न प्रोत्साहित गर्छ! यसले हाम्रो बललाई अझ सुदृढ बनाउँछ र हामीले यसबाट प्राप्त गर्ने आनन्दको कारण हामी अघिको बाटो झन्‌ सुगम तुल्याउँछ।

[पृष्ठ २९-मा भएको चित्र]

मसीही दौड लामो दूरीको दौड हो—यसको लागि धीरज चाहिन्छ

[पृष्ठ ३०-मा भएको चित्र]

खेलाडीहरूले पाउने मुकुटजस्तो नभई मसीहीहरूले कहिल्यै नाश नहुने इनामको प्रत्याशा गर्नसक्छन्‌

[पृष्ठ ३१-मा भएको चित्र]

अन्तसम्म स्थिर रहने जति सबैले इनाम पाउनेछन्‌

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

Copyright British Museum