परीक्षाहरूको बावजूद तनमनले सेवा गर्दै
जीवनी
परीक्षाहरूको बावजूद तनमनले सेवा गर्दै
रोडोल्फो लोसानोको वृत्तान्तमा आधारित
मेरो जन्म सेप्टेम्बर १७, १९१७ मा मेक्सिकोको डुरांगो प्रान्तको गोमेज पालासियो शहरमा भएको थियो। त्यतिबेला मेक्सिको क्रान्ति जोडतोडले चलिरहेको थियो। सन् १९२० मा क्रान्तिको अन्त भए तापनि हाम्रो इलाकामा भने वर्षौंसम्म गोलमाल मच्चिरह्यो जसले गर्दा असाध्यै गाह्रो हुन्थ्यो।
एक चोटि आमाले विद्रोही समूह र सेनाबीच भिडन्त हुन लागेको छ भनेर सुन्नु भएछ। त्यसैले, उहाँले मेरो तीन जना दाइ, एउटी दिदी, बहिनी र मलाई केही दिनसम्म घरमै थुनेर राख्नुभयो। हामीसँग खानेकुरा पनि कम थियो। मेरी बहिनी र म पलङमनि लुकेर बसेको मलाई अझै याद छ। त्यसपछि, आमाले हामी बच्चाहरूलाई संयुक्त राज्य अमेरिका लाने निर्णय गर्नुभयो र बुबाचाहिं पछि आउनुहुनेभयो।
संयुक्त राज्यमा महामन्दी सुरु हुनुभन्दा केही समयअघि अर्थात् सन् १९२६ मा हामी क्यालिफोर्निया पुग्यौं। कामको खोजीमा हामी थुप्रै ठाउँ जस्तै, सान जोक्विन भ्याली, सान्ता क्लारा, सालिनास र किङ सिटी सऱ्यौं। हामीले खेतमा काम गर्न र सबै प्रकारको फलफूल र तरकारी टिप्न सिक्यौं। युवावस्थामा अत्यन्तै कष्टदायी कामहरू गर्नुपरे तापनि त्यो मेरो जीवनको आनन्दमय समयहरूमध्ये थियो।
बाइबल सत्य सुनियो
सन् १९२८ मार्च महिनामा त्यतिबेला बाइबल स्टुडेन्ट्स भनिने यहोवाका साक्षी हाम्रो घरमा आए। उहाँ पाको उमेरको स्पेनी भाषा बोल्ने, आस्टेबान रिभेरा हुनुहुन्थ्यो। उहाँले छोड्नुभएको पुस्तिका, “ह्वेर आर द डेड?”-को शीर्षक र त्यसको विषयवस्तुबाट म साह्रै प्रभावित भएँ। कलिलै उमेरको भए तापनि मैले बाइबल
अध्ययन गरें र बाइबल स्टुडेन्ट्ससँग संगत गर्न थालें। केही वर्षपछि आमा र बहिनी अरोरा पनि यहोवाको जोसिलो प्रशंसक हुनुभयो।सन् १९३० को बीचतिर सान होसेमा अंग्रेजी भाषा बोल्नेहरूको निम्ति राज्यभवन निर्माण गरियो। त्यस इलाकाका खेतहरूमा काम गर्ने धेरैजसो स्पेनी भाषा बोल्ने भएकाले हामीले तिनीहरूलाई प्रचार गर्नुका साथै प्रहरीधरहरा अध्ययन पनि सञ्चालन गर्न थाल्यौं। हामीले यसको लागि झन्डै ८० किलोमिटर टाढा सान फ्रान्सिसकोका स्पेनी भाषा बोल्ने साक्षीहरूको मदत लियौं। केही समयपछि, सान होसे राज्यभवनमा स्पेनी भाषामा सञ्चालन हुने सभामा झन्डै ६० जना उपस्थित हुन्थे।
अन्ततः फेब्रुअरी २८, १९४० का दिन मैले सान होसेमा आयोजित सम्मेलनमा पानीको बप्तिस्माद्वारा यहोवालाई आफ्नो जीवन समर्पण गरें। त्यसको अर्को वर्ष अग्रगामी वा यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकको रूपमा नियुक्त भएँ। त्यसपछि, अप्रिल १९४३ मा मलाई झन्डै १३० किलोमिटर टाढा स्टकटन शहरमा स्पेनी भाषी मण्डली खडा गर्न आमन्त्रित गरियो। त्यतिबेला म सान होसेको अंग्रेजी मण्डलीमा अध्यक्षको रूपमा सेवा गर्नुका साथै त्यहीं स्पेनी भाषा बोल्ने साक्षीहरूको देखभाल पनि गर्दैथें। यी जिम्मेवारीहरूको देखभाल गर्ने अर्को प्रबन्ध मिलाएपछि म स्टकटन गएँ।
निष्ठाको परीक्षा
सन् १९४० को सुरुदेखि मलाई बारम्बार सैन्य जवान भर्ना गर्ने समितिले बोलाउँथ्यो तर प्रत्येक चोटि मेरो धार्मिक अडानको आदर गरियो। त्यसको केही समयपछि डिसेम्बर १९४१ मा संयुक्त राज्य पनि दोस्रो विश्वयुद्धमा मुछियो र सैन्य जवान भर्ना गर्ने समितिबाट दबाउ आउन थाल्यो। अन्ततः म १९४४ मा थुनामा परें। सजाय नपाउञ्जेल मलाई अपराधीहरूसँगै छिंडीमा राखियो। म यहोवाको साक्षी भएको थाह पाएपछि तिनीहरूमध्ये धेरैले तिनीहरूले गरेको अपराधको कारण परमेश्वरसामु तिनीहरूको कस्तो स्थान हुनेछ भनेर प्रश्न गरे।
मेरो मुद्दाको टुंगो नलागेसम्म बाहिर निस्कनको लागि सान होसेका साक्षीहरूले मेरो जमानत तिरिदिए। नागरिक अधिकारको प्रतिनिधित्व गर्ने लस एन्जलसका वकिल निश्शुल्क मेरो मुद्दा लडीदिन राजी भए। न्यायाधीशले मैले अग्रगामी छोडेर जागिर खाने र संघीय अधिकारीहरूकहाँ हरेक महिना रिपोर्ट गर्न जाने शर्तमा छोड्ने निर्णय गरे। त्यो निर्णय मैले स्वीकार्न इन्कार गरें, त्यसैले मलाई वाशिंगटन स्टेटस्थित म्याकनिल आइल्याण्डको झ्यालखानामा दुई वर्षको कैद सजाय दिइयो। त्यहाँ मैले आफ्नो समय विस्तृत बाइबल अध्ययन गर्नमा चलाएँ। टाइप गर्न पनि
सिकें। अनि दुई वर्ष पूरा नहुँदै मलाई असल आचरणको कारण छोडिदिए। मैले तुरुन्तै अग्रगामीको सेवामा लाग्न आवश्यक प्रबन्धहरू मिलाएँ।विस्तृत गतिविधि
सन् १९४७ को जाडो याममा टेक्ससको कोलोराडो शहरमा एक अग्रगामी साथीसँगै मलाई स्पेनी भाषा बोल्ने व्यक्तिहरूमाझ काम गर्न खटाइयो। तर त्यहाँ एकदमै जाडो भएको कारण हामी न्यानो ठाउँ सान आन्टोनियो गयौं। तथापि, त्यहाँ अत्यन्तै धेरै वर्षा भएको कारण घरघर सेवकाईमा भाग लिन सकेनौं। चाँडै हाम्रो पैसा पनि सिध्यो। हप्तौंसम्म हामीसित खानेकुराको नाउँमा बन्दा हालेर बनाएको स्यान्डवीच र अल्फाल्फा चिया मात्र थियो। मेरो साथी त घर फर्कियो तर मचाहिं यहीं बसें। अंग्रेजी भाषा बोल्ने साक्षीहरूले मेरो अवस्था थाह पाएपछि मलाई मदत गर्न थाले।
त्यसपछिको वसन्तऋतुमा मलाई खटाइएको शहर अर्थात् कोलोराडो गएँ र अन्ततः त्यहाँ स्पेनी भाषाको सानो मण्डली खडा भयो। त्यसपछि म स्वीटवटर, टेक्सस गएँ र त्यहाँ पनि अर्को स्पेनी भाषा मण्डली खडा गर्न मदत गरें। स्वीटवटरमै छँदा मैले वाचटावर बाइबल स्कूल अफ गिलियडको १५ औं कक्षामा भाग लिने निमन्त्रणा पाएँ। यो मिसनरी प्रशिक्षण फेब्रुअरी २२, १९५० मा सुरु भयो। गर्मी याममा न्यु योर्क शहरको यान्की स्टेडियममा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा भएको स्नातक समारोहपछि म यहोवाका साक्षीहरूको ब्रूकलिनस्थित मुख्यालयमा तीन महिना बसें। त्यहाँ मैले मेक्सिको शाखा कार्यालय जाने प्रशिक्षण पाएँ।
मेक्सिकोमा काम
म अक्टोबर २०, १९५० मा मेक्सिको पुगें। त्यहाँ पुगेको झन्डै दुई हप्तापछि म शाखा कार्यालयको निरीक्षकको रूपमा नियुक्त भएँ र यो कार्यभार झन्डै साढे चार वर्ष सम्हालें। मैले अग्रगामी सेवा, झ्यालखाना, गिलियड र ब्रूकलिनमा हासिल गरेको अनुभव अत्यन्तै लाभकारी साबित भयो। मेक्सिको पुग्नासाथ मैले मेक्सिकोका भाइबहिनीहरूको आध्यात्मिकतालाई बढाउनुपर्ने खाँचो देखें। विशेष गरी, त्यहाँका भाइहरूलाई परमेश्वरको वचनको उच्च नैतिक स्तर पालन गर्नुपर्ने महत्त्व बुझ्ने मदत दिनु आवश्यक थियो।
मेक्सिकोलगायत अन्य ल्याटिन अमेरिकी देशहरूमा कानुनी तवरमा विवाहित नभए तापनि केटा र केटीसँगै बस्ने चलन थियो। मसीहीजगत्का धर्म र अझ विशेष गरी रोमन क्याथोलिक चर्चले यो गैरशास्त्रीय चलनलाई अनुमति दिइरहेको थियो। (हिब्रू १३:४) अतः कानुनी तवरमा विवाहित नभएका व्यक्तिहरूसमेत यहोवाका साक्षीहरूको मण्डलीको सदस्य भएका थिए। अब त्यस्ता व्यक्तिहरूलाई आफ्नो विवाहलाई कानुनी मान्यता दिन छ महिना समय दिने प्रबन्ध मिलाइयो। अन्यथा तिनीहरू यहोवाको साक्षी हुन सक्दैनथे।
थुप्रैको निम्ति काँटछाँट गर्न सजिलै भयो। तिनीहरूले आफ्नो सम्बन्धलाई कानुनी मान्यता दिन विवाह मात्र गरे पुग्थ्यो। अन्य कतिको चाहिं परिस्थिति जटिल थियो। उदाहरणका लागि, कसै कसैले दुई र अझ कोहीले त तीन चोटिसम्म कानुनी तवरमा सम्बन्ध विच्छेद नगरी विवाह गरेका थिए। यहोवाका जनहरूको वैवाहिक अवस्था परमेश्वरको वचनको शिक्षाअनुरूप भएपछि मण्डलीहरूले आध्यात्मिक आशिष्हरूको आनन्द उठाउन थाले।—१ कोरिन्थी ६:९-११.
ती दिनहरूमा साधारणतया मेक्सिकोको शैक्षिक स्तर राम्रो थिएन। म मेक्सिको पुगेको वर्ष सन् १९५० भन्दा अगाडि शाखा कार्यालयले मण्डलीहरूमा साक्षरता कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाएको थियो। अब यी कक्षाहरूलाई पुनःव्यवस्थित गरियो र सरकारी दर्ता गर्ने प्रबन्ध मिलाइयो। सन् १९४६ देखि राखिएका रेकर्डहरूअनुसार अहिलेसम्म साक्षीहरूले सञ्चालन गरेको साक्षरता कक्षाबाट १,४३,००० जना भन्दा बढीले लेखपढ गर्न जानेका छन्!
धर्मको सन्दर्भमा मेक्सिकोको कानुन कडा थियो। तथापि, हालका वर्षहरूमा यस क्षेत्रमा महत्त्वपूर्ण परिवर्तनहरू भएका छन्। सन् १९९२ मा धर्मसम्बन्धी नयाँ कानुन पारित गरियो र त्यसैले सन् १९९३ मा मेक्सिकोमा यहोवाका साक्षीहरू धार्मिक संगठनको रूपमा दर्ता गरियो।
मेरोलागि यी परिवर्तनहरू ठूलो आनन्दको स्रोत भएको
छ। यी कुराहरू केही वर्षसम्म मलाई असम्भव लाग्थ्यो। वर्षौंको दौडान मैले बारम्बार सरकारी कार्यालयहरू धाउनुपऱ्यो र अविश्वासको मनोवृत्ति सामना गर्नुपऱ्यो। तथापि, अहिले हाम्रो शाखा कार्यालयको कानुन विभागले यी मामिलाहरू सम्हालेको देख्दा खुसी लाग्छ र अहिले तुलनात्मक ढंगमा प्रचार कार्यमा पनि कम अवरोध सामना गर्छौं।मिसनरी जीवनसाथीसँग सेवा गर्दै
म मेक्सिको आइपुग्दा त्यहाँ मभन्दा पहिलेका कक्षाहरूका थुप्रै गिलियड स्नातकहरू थिए। तिनीहरूमध्ये एक एस्तर भारतानयियन थिइन्। तिनी सन् १९४२ देखि भालेजो, क्यालिफोर्नियामा अग्रगामी गर्दै आएकी आर्मेनियाली साक्षी थिइन्। हामीले जुलाई ३०, १९५५ मा बिहे गऱ्यौं र मेक्सिकोमै आफ्नो जिम्मेवारी पूरा गरिरह्यौं। एस्तरले मेक्सिको शहरमै मिसनरी कार्य गरिरहिन् भने मैले शाखा कार्यालयमै काम गरिरहें तर बस्नुचाहिं शाखा कार्यालयमै बस्थ्यौं।
सन् १९४७ मा एस्तर आफ्नो पहिलो मिसनरी असाइनमेन्ट, मेक्सिकोको मोन्टटेरी, न्युभो लियोनमा पुगेकी थिइन्। उनी मोन्टटेरीमा पुग्दा त्यहाँ ४० जना साक्षीहरू भएको एउटा सानो मण्डली थियो तर उनलाई १९५० मा मेक्सिको सिटीमा खटाउँदासम्म त्यहाँ चारवटा मण्डली स्थापित भइसकेको थियो। मेक्सिको सिटीसँगैको हाम्रो शाखा कार्यालयमा एस्तरले मोन्टटेरीमा सेवा गर्दा बाइबल अध्ययन गरेका परिवारका दुई छोराछोरी काम गरिरहेका छन्।
सन् १९५० तिर मिसनरीहरूले मेक्सिको सिटीको अधिकांश शहरी इलाकामा पनि प्रचार गर्नुपर्थ्यो। आफ्नो कार्यभार पूरा गर्न तिनीहरूले अक्सर हिंडेरै या मानिसहरूले खचाखच भरिएको पुराना बसहरूमा यात्रा गर्नुपर्थ्यो। सन् १९५० को अन्ततिर म त्यस शहरमा पुग्दा जम्मा सातवटा मण्डली स्थापित भइसकेको थियो। अहिले बढेर मण्डलीहरूको संख्या झन्डै १,६०० पुगेको छ र मेक्सिको सिटीमा राज्य प्रकाशकहरूको संख्या ९०,०००
भन्दा बढी भएको छ अनि गत वर्ष त्यहाँ येशूको मृत्युको स्मणार्थ उत्सवमा २,५०,००० भन्दा बढी मानिसहरू उपस्थित भएका थिए! वर्षौंको दौडान एस्तर र मैले यी थुप्रै मण्डलीहरूमा सेवा गर्ने सुअवसर पायौं।सपरिवार अध्ययनमा सामेल होस् भन्ने हेतुले एस्तर र म बाइबल अध्ययन सुरु गर्दा हामी सधैं परिवारको शिरको चासो जगाउने प्रयास गर्छौं। यसप्रकार, हामीले ठूलठूलो परिवारका सम्पूर्ण सदस्यहरू यहोवाको सेवामा लागेको देखका छौं। मेरो विचारमा मेक्सिकोमा तीव्र गतिले वृद्धि हुनुको एउटा मुख्य कारण, त्यहाँ अक्सर सम्पूर्ण परिवार नै एकताबद्ध भई साँचो उपासनामा लागेकोले हो।
यहोवाले काममा आशिष् दिनुभएको छ
सन् १९५० देखि मेक्सिकोको संख्यामा भएको वृद्धि र संगठनमा भएका परिवर्तनहरू दुवै उल्लेखनीय छन्। त्यस्तो पाहुना सत्कार गर्ने र आनन्दित व्यक्तिहरूसित काम गर्दै आफूले जे-जति सकिन्छ त्यति योगदान पुऱ्याउन सकेकोमा म साह्रै खुसी छु।
यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने भाइ कार्ल क्लाइन र उहाँकी पत्नी मार्गारेट केही वर्षअघि बिदामा हुँदा हामीकहाँ आउनुभएको थियो। भाइ क्लाइन हाम्रो मेक्सिकोको इलाकामा काम कस्तो हुन्छ, अनुभव गर्न चाहनुहुन्थ्यो। त्यसैले, उहाँहरू मेक्सिको सिटीसँगै त्यतिबेला हामीले सेवा गरिरहेको सान वान टेसोनट्ला मण्डलीमा आउनुभयो। हाम्रो भवन सानो थियो। जम्मा ४.५ मिटर चौडा र ५.५ मिटर लामो थियो। हामी त्यहाँ पुग्दा लगभग ७० जना जम्मा भइसकेका थिए र त्यहाँ अरू बस्ने ठाउँ नै थिएन। पाकोहरू मेचमा, जवानहरू बेन्चमा र साना केटाकेटीहरू भुइँमा बसिरहेका थिए।
भाइ क्लाइन असाध्यै प्रभावित हुनुभयो किनभने सबै केटाकेटीसित बाइबल थियो र वक्तासँगसँगै तिनीहरूले बाइबल पदहरू पल्टाउँथे। जनभाषणपछि भाइ क्लाइनले मत्ती १३:१९-२३ बाट कुरा गर्नुभयो र येशूले भन्नुभएको “असल जमीन” मेक्सिकोमा धेरै छ भन्नुभयो। त्यतिबेला उपस्थित भएका केटाकेटीहरूमध्ये सात जना अहिले मेक्सिको सिटीसँगै शाखा कार्यालय बिस्तार गर्ने ठूलो प्रोजेक्टमा संलग्न छन्। अर्को एक जना बेथेलमा छ र अन्य कतिपय अग्रगामी भएका छन्!
म मेक्सिको सिटीमा आउँदा शाखा कार्यालयमा जम्मा ११ जना सदस्य थिए। अहिले झन्डै १,३५० जना छन् र त्यसमध्ये २५० जना नयाँ भवन निर्माण कार्यमा लागिरहेका छन्। यी थप भवनहरूको निर्माण सम्भवतः २००२ सम्ममा पूरा हुँदा झन्डै १,३०० व्यक्तिहरूलाई राख्न सकिन्छ भन्ने आशा गरेका छौं। सन् १९५० मा देशभरि ७,००० भन्दा कम राज्य प्रकाशकहरू थिए तर अहिले ५,००,००० भन्दा बढी छन्! यहोवाले मेक्सिकोका हाम्रा नम्र भाइहरूले उहाँको प्रशंसा गर्न गरेका कडा प्रयासलाई आशिष् दिनुभएको देख्दा मेरो हृदय खुसीले गद्गद हुन्छ।
ठूलो चुनौती सामना गर्दै
अहिले आएर मेरो सबैभन्दा ठूलो चुनौती बिमारी भएको छ। सामान्यतया म स्वस्थ नै थिएँ। तर नोभेम्बर १९८८ मा मलाई मस्तिष्कघात भयो र यसले मेरो शरीरको कार्यक्षमतालाई नराम्रो असर गऱ्यो। यहोवालाई धन्यवाद दिन्छु किनकि शारीरिक व्यायाम र थेरापिहरूद्वारा केही हदसम्म भए पनि शरीरका कतिपय भागहरू मैले चाहेजस्तो चल्दैनन्। असाध्यै टाउको नदुखाउन र अन्य असरहरू कम गर्न म अझै उपचार गराउँदै औषधीहरू लिइरहेको छु।
अहिले, आफूले चाहे जति गर्न नसके तापनि पहिला थुप्रैलाई यहोवाको उद्देश्य सिक्न र उहाँको समर्पित सेवकहरू हुन मदत गर्न सकेकोमा सन्तुष्ट छु। हाम्रो शाखामा घुम्न आउने हाम्रा मसीही भाइबहिनीहरूसित कुरा गर्न पाउँदा पनि मलाई रमाइलो लाग्छ। कुरा गर्दा हामी दुवै पक्ष प्रोत्साहित हुन्छौं जस्तो मलाई लाग्छ।
यहोवाले हाम्रो सेवाको मूल्यांकन गर्नुहुन्छ र हामीले गरेको परिश्रम व्यर्थमा जाँदैन भन्ने प्रोत्साहनबाट म धेरै बल प्राप्त गर्छु। (१ कोरिन्थी १५:५८) मेरो सीमितता र बिमारीको बावजूद मैले कलस्सी ३:२३, २४ का शब्दहरू हृदयंगम गरेको छु: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर। यो जानेर कि प्रभुबाट तिमीहरूले अधिकारको क्षतिपूर्ति पाउनेछौ।” यस सल्लाहलाई मनमा राख्दै मैले परीक्षाहरूको बावजूद तनमनले यहोवाको सेवा गर्न सिकेको छु।
[पृष्ठ २४-मा भएको चित्र]
सन् १९४२ मा अग्रगामीको काम गर्दा
[पृष्ठ २४-मा भएको चित्र]
मेरी पत्नीले १९४७ मा मेक्सिकोमा मिसनरी कार्य थालिन्
[पृष्ठ २४-मा भएको चित्र]
आज एस्तरसँग
[पृष्ठ २६-मा भएका चित्रहरू]
माथि बायाँ: सन् १९५२ मा मेक्सिको बेथेल परिवारसँग, म अगाडि छु
माथि: सन् १९९९ मा यस मेक्सिको सिटी रंगशालामा आयोजित जिल्ला अधिवेशनमा १,०९,००० भन्दा धेरै उपस्थित भए
तल बायाँ: अहिले सकिनै लागेको हाम्रो शाखा कार्यालयका नयाँ भवनहरू