सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेमले उन्‍नति गराउँछ

प्रेमले उन्‍नति गराउँछ

प्रेमले उन्‍नति गराउँछ

“तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।”–मत्ती २२:३७.

१. (क) मसीहीले खेती गर्ने केही गुण के के हुन्‌? (ख) सबैभन्दा महत्त्वपूर्ण मसीही गुण के हो र किन?

 मसीहीले प्रभावकारी सेवक हुन विभिन्‍न गुणहरू खेती गर्छन्‌। हितोपदेशको पुस्तकले ज्ञान, समझशक्‍ति र बुद्धिको महत्त्व प्रकाश पार्छ। (हितोपदेश २:१-१०) प्रेरित पावलले दृढ विश्‍वास र स्थिर आशाको महत्त्वबारे छलफल गरे। (रोमी १:१६, १७; कलस्सी १:५; हिब्रू १०:३९) धीरज र आत्मसंयम पनि अत्यावश्‍यक छन्‌। (प्रेरित २४:२५; हिब्रू १०:३६) तथापि, त्यस्तो एउटा गुण छ जसको कमी भयो भने अन्य सबै गुणको महत्त्व घट्‌छ वा मूल्यहीन हुन्छ। त्यो गुण हो, प्रेम।—१ कोरिन्थी १३:१-३, १३.

२. येशूले प्रेमको महत्त्व कसरी दर्साउनुभयो र यसले कस्ता प्रश्‍नहरू खडा गर्छ?

येशूले यसो भन्‍नुहुँदै प्रेमको महत्त्व दर्साउनुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) साँचो मसीहीहरूको चिनारी प्रेम भएको कारण हामीले यस्ता प्रश्‍न गर्नुपर्छ, प्रेम भनेको के हो? येशूले, उहाँका चेलाहरूको परिचय दिने प्रमुख गुण नै प्रेम हो भन्‍नुभयो। यो किन त्यतिबिघ्न महत्त्वपूर्ण छ? हामी कसरी प्रेम खेती गर्नसक्छौं? हाम्रो प्रेम कसप्रति केन्द्रित हुनुपर्छ? आउनुहोस्‌, हामी यी प्रश्‍नहरूबारे छलफल गरौं।

प्रेम भनेको के हो ?

३. प्रेमको कसरी व्याख्या गर्न सकिन्छ र यसमा मनमस्तिष्क अनि हृदय दुवै किन समावेश हुन्छ?

प्रेमको एउटा परिभाषा हो, ‘अर्को व्यक्‍तिप्रति मनमा उत्पन्‍न हुने गहिरो आत्मीयता, न्यानोपन वा अनुराग।’ यस गुणले मानिसहरूलाई अरूको भलाइ गर्न र कहिलेकाहीं त अरूको खातिर ठूलो त्यागसमेत गर्न उत्प्रेरित गर्छ। बाइबलमा व्याख्या गरिएको प्रेममा मनमस्तिष्क अनि हृदय दुवै समावेश छ। मनमस्तिष्क अथवा बुद्धिले ठूलो भूमिका निर्वाह गर्छ किनभने प्रेम गर्ने मानिसले आफू र आफूले प्रेम गर्ने मानिसहरू सबैको राम्रा नराम्रा गुणहरू हुन्छन्‌ भनेर प्रस्टै बुझेको हुन्छ। अर्को कारणले गर्दा पनि मनमस्तिष्क मुछिएको हुन्छ किनभने कहिलेकाहीं कुनै व्यक्‍तिलाई प्रेम गर्नु मसीहीको आफ्नो स्वाभाविक झुकाउ विरुद्ध भए तापनि तिनले बाइबल पढेर परमेश्‍वरले त्यसरी प्रेम गरेको चाहनुहुन्छ भनेर सिकेको हुन्छ। (मत्ती ५:४४; १ कोरिन्थी १६:१४) तैपनि, प्रेम मुख्यतः हृदयबाटै आउँछ। साँचो प्रेम बाइबलमा बताएझैं कहिल्यै मनमस्तिष्कमा मात्र सीमित हुँदैन। यसले इमानदारीता र पूर्ण भावनात्मक वचनबद्धताको आशा गर्छ।—१ पत्रुस १:२२.

४. प्रेम कुन तरिकामा शक्‍तिशाली बन्धन हो?

स्वार्थी हृदय भएकाहरू विरलै साँचो मायालु सम्बन्धको योग्य हुन्छन्‌ किनभने प्रेम गर्ने मानिस आफ्नोभन्दा अरूको चासोलाई प्राथमिकता दिन तयार हुन्छ। (फिलिप्पी २:२-४) दिनुमा प्रेमको कार्य पनि समावेश हुँदा “लिनुभन्दा दिनु अझ असल हो” भन्‍ने येशूको शब्द झनै साँचो साबित हुन्छ। (प्रेरित २०:३५) प्रेम शक्‍तिशाली बन्धन हो। (कलस्सी ३:१४) यसमा अक्सर मित्रता पनि समावेश हुन्छ तर मित्रताको बन्धनभन्दा प्रेमको बन्धन बलियो हुन्छ। कहिलेकाहीं पतिपत्नीबीचको रोमान्टिक सम्बन्धलाई पनि प्रेम नै भनेर व्याख्या गरिएको छ। तथापि, बाइबलले हामीलाई खेती गर्न प्रोत्साहन दिएको प्रेम शारीरिक आकर्षणभन्दा चिरस्थायी हुन्छ। दम्पतीहरूले एकअर्कालाई साँचो प्रेम गर्छन्‌ भने बुढ्यौलीको कारण वा पतिपत्नीमध्ये एक अन्य कुनै कारणले गर्दा शारीरिक सम्बन्ध राख्न असक्षम भए तापनि सँगै मिलेर बसिरहन्छन्‌।

प्रेम—अत्यावश्‍यक गुण

५. मसीहीको निम्ति प्रेम किन अत्यावश्‍यक गुण हो?

मसीहीहरूको निम्ति प्रेम किन अत्यावश्‍यक गुण हो? पहिलो कारण त, येशूले आफ्ना अनुयायीहरूलाई आपसमा प्रेम गर्ने आज्ञा दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्‍यौ भने, तिमीहरू मेरा मित्र हौ। यी कुरा म तिमीहरूलाई आज्ञा गर्दछु, कि तिमीहरू आपसमा प्रेम गर।” (यूहन्‍ना १५:१४, १७) दोस्रो कारण, यहोवा प्रेमको अमूर्त रूप हुनुहुन्छ र उहाँको उपासकको हैसियतमा हामीले उहाँको अनुकरण गर्नैपर्छ। (एफिसी ५:१; १ यूहन्‍ना ४:१६) बाइबलले यहोवा अनि येशूको ज्ञान लिनुको अर्थ अनन्त जीवन हो भनेर बताउँछ। हामी परमेश्‍वर जस्तो हुने प्रयासै गर्दैनौं भने उहाँलाई चिन्छौं भनेर कसरी भन्‍नसक्छौं र? प्रेरित यूहन्‍नाले यस्तो तर्क गरे: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८.

६. प्रेमले हाम्रो जीवनका विभिन्‍न पक्षहरूलाई कसरी सन्तुलनमा राख्छ?

प्रेम महत्त्वपूर्ण हुनुको तेस्रो कारण पनि छ। त्यो हो, यसले हामीलाई जीवनको विभिन्‍न पक्षहरू सन्तुलनमा राख्न र हर काम असल मनसायले गर्न मदत गर्छ। उदाहरणका लागि, अनवरत रूपमा परमेश्‍वरको वचनको ज्ञान लिइरहनु अत्यावश्‍यक छ। मसीहीको निम्ति त्यस्तो ज्ञान भोजन सरह हो। यसले तिनलाई परिपक्व हुन र परमेश्‍वरको इच्छाअनुरूप चल्न मदत गर्छ। (भजन ११९:१०५; मत्ती ४:४; २ तिमोथी ३:१५, १६) तथापि, पावलले यस्तो चेताउनी दिए: “ज्ञानले घमण्ड बढ़ाउँछ, तर प्रेमले उन्‍नति गराउँछ।” (१ कोरिन्थी ८:१) तर सही ज्ञानमा कुनै खराबी छैन। समस्या हामी आफै हौं किनभने हामीमा पापी झुकाउहरू छन्‌। (उत्पत्ति ८:२१) हामीलाई सन्तुलित बनाउने प्रेम छैन भने ज्ञानले घमण्ड बढाउँछ र श्रेष्ठताको भावना बढ्‌छ। तर प्रेमबाट साँच्चै उत्प्रेरित छौं भने त्यस्तो हुनेछैन। किनकि “प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन।” (१ कोरिन्थी १३:४) प्रेमबाट उत्प्रेरित भएका मसीहीले जस्तै गहिरो ज्ञान हासिल गरे तापनि घमण्डले फुल्दैन। प्रेमले तिनलाई नम्र बनाउँछ र तिनले आफ्नो नाउँ कमाउने चाहना राख्दैन।—भजन १३८:६; याकूब ४:६.

७, ८. उत्तम कुराहरूमा ध्यानकेन्द्रित गर्न प्रेमले कसरी मदत गर्छ?

पावलले फिलिप्पीका मसीहीहरूलाई यस्तो लेखे: “मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तरदृष्टिमा तिमीहरूको प्रेम झन्‌ झन्‌ प्रशस्त हुँदैजाओस्‌, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्टयाउन सक।” (फिलिप्पी १:९, १०; नयाँ संशोधित संस्करण) यस प्रोत्साहनलाई पालन गर्दै जे उत्तम छ सो खुट्टयाउन हामीलाई मसीही प्रेमले मदत गर्नेछ। उदाहरणका लागि, पावलले तिमोथीलाई लेखेका शब्दहरू विचार गर्नुहोस्‌: “यदि कुनै मानिसले विशपको काम गर्न खोज्छन्‌ भने, तिनले असलै कामको इच्छा गर्छन्‌।” (१ तिमोथी ३:१) सन्‌ २००० सेवा वर्षको दौडान विश्‍वभरि थप १,५०२ मण्डलीहरू स्थापित भए र अब मण्डलीहरूको जम्मा संख्या ९१,४८७ पुगेको छ। तसर्थ, थप प्राचीनहरूको ठूलो खाँचो छ र त्यो सुअवसरको निम्ति अघि बढ्‌नेहरू सराहनाको योग्य छन्‌।

तथापि, निरीक्षकका सुअवसरको निम्ति अघि बढ्‌नेहरूले त्यस सुअवसरको उद्देश्‍य मनमा राखे भने राम्रो सन्तुलन कायम राख्न सक्नेछन्‌। अख्तियार पाउनु वा चर्चित हुनु महत्त्वपूर्ण कुरा होइनन्‌। यहोवालाई प्रसन्‍न तुल्याउने प्राचीनहरू उहाँप्रति र आफ्ना भाइहरूप्रतिको प्रेमले उत्प्रेरित भएका हुन्छन्‌। तिनीहरू प्रतिष्ठा वा ख्यातिको पछि लाग्दैनन्‌। प्रेरित पावलले मण्डलीका प्राचीनहरूलाई असल मनसाय राख्ने सल्लाह दिएपछि “नम्रताको व्यवहार[माथि]” जोड दिए। मण्डलीका सबैलाई तिनले यस्तो सल्लाह दिए: “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ।” (१ पत्रुस ५:१-६) जिम्मेवारीहरूको निम्ति अघि बढिरहेकाहरूले विश्‍वभरिका मेहनती र नम्र अनि मण्डलीको निम्ति आशिष्‌ साबित भएका थुप्रै प्राचीनहरूको उदाहरणलाई विचार गर्नसक्छन्‌।—हिब्रू १३:७.

असल मनसायले हामीलाई सहन मदत गर्छ

९. मसीहीहरू किन यहोवाले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू मनमा राख्छन्‌?

प्रेमद्वारा उत्प्रेरित हुनुको महत्त्व अर्को तरिकाबाट पनि हेर्न सकिन्छ। प्रेमद्वारा उत्प्रेरित भई ईश्‍वरभक्‍ति खेती गर्ने व्यक्‍तिहरूले अहिले र भविष्यमा सोच्दै नसोचेका अद्‌भुत आशिष्‌ पाउनेछन्‌ भनेर बाइबल बताउँछ। (१ तिमोथी ४:८) यी प्रतिज्ञाहरूमा पक्का विश्‍वास राख्ने र “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ” भनी ढुक्क हुनेहरूले विश्‍वासमा दृढ रहन मदत पाउँछन्‌। (हिब्रू ११:६) हामीमध्ये धेरैजसो परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको हेर्न चाहन्छौं र प्रेरित यूहन्‍नाका भावनाहरूसित सहमत हुन्छौं: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।” (प्रकाश २२:२०) हो, येशूलाई “उहाँको सामने राखिदिएको आनन्द[ले]” सहन मदत गरेझैं हामी पनि विश्‍वासी भएर भविष्यमा पाउने आशिष्‌हरूबारे मनन गऱ्‍यौं भने सहन बल पाउँनेछौं।—हिब्रू १२:१, २.

१०, ११. प्रेमद्वारा उत्प्रेरित हुँदा हामीलाई कसरी सहन बल दिन्छ?

१० तर यहोवालाई सेवा गर्नुको हाम्रो खास मनसाय नयाँ संसारमा बस्ने हाम्रो चाहना हो भने नि? त्यसो हो भने, परिस्थिति गाह्रो हुँदा वा हामीले भने वा आशा गरेअनुसार नहुँदा हामी सजिलै अधीर वा असन्तुष्ट हुनसक्छौं। अनि मण्डलीबाट टाढिएर जाने ठूलो खतरा हुनसक्छ। (हिब्रू २:१; ३:१२) पावलले आफूलाई त्याग्ने भूतपूर्व सँगी डेमसबारे बताए। किन? किनभने तिनले “वर्त्तमान संसारलाई प्रेम गरे।” (२ तिमोथी ४:१०) पूर्णतया स्वार्थी मनोभावले सेवा गर्ने हरेकले पनि त्यस्तै गर्ने खतरा हुन्छ। तिनीहरू संसारले तुरुन्तै प्रदान गर्ने सुअवसरहरूप्रति आकर्षित हुनसक्छन्‌ र पछि पाउने आशिष्‌हरूको निम्ति त्यागहरू गर्न इच्छुक नहुनसक्छन्‌।

११ भविष्यमा पाउने आशिष्‌ र परीक्षाहरूबाट मुक्‍त हुने इच्छा स्वाभाविकै भए तापनि प्रेमले हाम्रो जीवनमा सर्वमहत्त्वपूर्ण हुनुपर्ने कुराप्रति मूल्यांकन बढाउन मदत गर्छ। हाम्रो जीवनमा आफ्नो नभई यहोवाको इच्छा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुनुपर्छ। (लूका २२:४१, ४२) हो, प्रेमले हाम्रो उन्‍नति गराउँछ। प्रेमले परमेश्‍वरमाथि धैर्यसाथ भर गर्न, उहाँले जस्तोसुकै आशिष्‌ दिनुभए तापनि सन्तुष्ट हुन र उहाँले उचित समयमा आफूले प्रतिज्ञा गर्नुभएका सबै कुरालगायत अझ त्योभन्दा पनि धेरै दिनुहुनेछ भनेर हामीलाई विश्‍वस्त हुन मदत गर्छ। (भजन १४५:१६; २ कोरिन्थी १२:८, ९) त्यतिञ्जेल, प्रेमले हामीलाई यहोवाको निःस्वार्थ सेवा गर्न मदत गर्नेछ किनभने “प्रेमले . . . आफ्नै भलाइ खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

मसीहीहरूले कसलाई प्रेम गर्नुपर्छ ?

१२. येशूले भन्‍नुभएअनुसार हामीले क-कसलाई प्रेम गर्नुपर्छ?

१२ मोशालाई दिइएको व्यवस्थाबाट दुइटा भनाइ उद्धरण गर्दै येशूले कसलाई प्रेम गर्नुपर्छ भन्‍ने सन्दर्भमा सामान्य नियम दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू” अनि “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३७-३९.

१३. यहोवालाई नदेखे तापनि हामीले उहाँलाई कसरी प्रेम गर्न सिक्नसक्छौं?

१३ येशूका शब्दहरूबाट हामीले सबैभन्दा पहिला यहोवालाई प्रेम गर्नुपर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। तथापि, यहोवाप्रतिको प्रेम हामीसित जन्मजात हुँदैन। यो हामीले खेती गर्नैपर्ने कुरा हो। हामीले सुरुमा उहाँबारे सुन्दा आफूले सुनेका कुराहरूको भरमा हामी उहाँप्रति आकर्षित भयौं। उहाँले मानिसजातिको निम्ति पृथ्वी कसरी तयार गर्नुभयो बिस्तार बिस्तारै सिक्यौं। (उत्पत्ति २:५-२३) उहाँले मानिसजातिसँग कसरी व्यवहार गर्नुभयो भनेर पनि हामीले सिक्यौं। मानव परिवारमाथि पापले आक्रमण गर्दा उहाँले तिनीहरूलाई त्याग्नु भएन तर त्यसको निवारण गर्न कदम चाल्नुभयो भनेर पनि थाह पायौं। (उत्पत्ति ३:१-५, १५) वफादारहरूसँग उहाँले मायालु व्यवहार गर्नुभयो र अन्ततः उहाँले आफ्नो एक मात्र प्रिय पुत्र हाम्रो पापको क्षमाको निम्ति दिनुभयो। (यूहन्‍ना ३:१६, ३६) यस थप ज्ञानले यहोवाप्रति हाम्रो मूल्यांकन बढायो। (यशैया २५:१) राजा दाऊदले यहोवाले गर्नुभएको मायालु हेरचाहकै कारण उहाँलाई प्रेम गरेको हुँ भनी बताए। (भजन ११६:१-९) आज, यहोवाले हाम्रो हेरचाह गर्नुहुन्छ, ख्याल राख्नुहुन्छ र हामीलाई प्रोत्साहन दिनुहुन्छ। हामी उहाँबारे जति बढी सिक्छौं उहाँप्रतिको हाम्रो प्रेम त्यति नै गहिरो हुँदै जान्छ।—भजन ३१:२३; सपन्याह ३:१७; रोमी ८:२८.

हामी आफ्नो प्रेम कसरी देखाउनसक्छौं ?

१४. यहोवाप्रतिको हाम्रो प्रेम साँचो छ भनेर हामी कुन कुन तरिकामा देखाउनसक्छौं?

१४ निस्सन्देह, संसारका थुप्रै मानिसहरू परमेश्‍वरलाई प्रेम गर्छौं भन्‍नु त भन्छन्‌ तर तिनीहरूको कामले भने तिनीहरूको भनाइलाई समर्थन गर्दैन। यहोवालाई हामी साँच्चै प्रेम गर्छौं भनेर कसरी थाह पाउनसक्छौं? हामी उहाँसँग प्रार्थनाद्वारा कुरा गर्नसक्छौं र मनका भावनाहरू उहाँलाई बताउनसक्छौं। अनि हामीले आफ्नो व्यवहारमा प्रेम प्रदर्शित गर्नसक्छौं। प्रेरित यूहन्‍नाले यसो भने: “जसले [परमेश्‍वरको] वचन पालन गर्छ, त्यसमा परमेश्‍वरको प्रेम साँच्चिनै सिद्ध भएको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनी हामी थाह पाउँछौं।” (१ यूहन्‍ना २:५; ५:३) अन्य कुराहरूका अलावा परमेश्‍वरको वचनले हामीलाई एकआपसमा सरसंगति गर्न र स्वच्छ, नैतिक जीवन बिताउन सल्लाह दिन्छ। हामी कपटबाट टाढा रहन्छौं, सत्य बोल्छौं र स्वच्छ विचार राख्छौं। (२ कोरिन्थी ७:१; एफिसी ४:१५; १ तिमोथी १:५; हिब्रू १०:२३-२५) खाँचोमा परेकाहरूलाई भौतिक तवरमा मदत गरेर अरूप्रति प्रेम देखाउँछौं। (१ यूहन्‍ना ३:१७, १८) अनि हामी अरूलाई यहोवाबारे बताउन पनि पछि हट्‌दैनौं। यसमा विश्‍वभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिनु पनि समावेश छ। (मत्ती २४:१४; रोमी १०:१०) यस्ता कुराहरूमा परमेश्‍वरको वचन पालन गर्नु यहोवाप्रतिको हाम्रो साँचो प्रेमको प्रमाण हो।

१५, १६. गत वर्ष यहोवाप्रतिको प्रेमले कसरी थुप्रैको जीवनलाई प्रभावित गऱ्‍यो?

१५ यहोवाप्रतिको प्रेमले मानिसहरूलाई असल निर्णय गर्न मदत गर्छ। गत वर्ष त्यस्तो प्रेमले २,८८,९०७ जना व्यक्‍तिहरूलाई आफ्नो जीवन यहोवामा समर्पण गरेको कुरा पानीको बप्तिस्माद्वारा देखाउन उत्प्रेरित गऱ्‍यो। (मत्ती २८:१९, २०) तिनीहरूको समर्पण अर्थपूर्ण थियो। यसले तिनीहरूको जीवनमा परिवर्तन ल्यायो। उदाहरणका लागि, अल्बेनियाका गाज्मेन्ड एक उत्कृष्ट बास्केटबल खेलाडी थिए। केही वर्षसम्म तिनी र तिनकी पत्नीले बाइबल अध्ययन गरे अनि बाधाहरूको बावजूद अन्ततः राज्य प्रकाशक हुन योग्य भए। गत वर्ष, सन्‌ २००० सेवा वर्षको दौडान अल्बेनियामा बप्तिस्मा लिने ३६६ व्यक्‍तिहरूमध्ये गाज्मेन्ड पनि एक थिए। एउटा अखबारले तिनीबारे प्रकाशित लेखमा यसो भन्यो: “तिनको जीवनमा उद्देश्‍य छ, यसकारण तिनी र तिनको परिवार, तिनीहरूको जीवनको सबैभन्दा आनन्दमय क्षणहरू बिताइरहेका छन्‌। अब तिनको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा कति पैसा कमाउन सकिन्छ भन्‍ने नभई अरू मानिसलाई कत्तिको मदत दिन सकिन्छ भन्‍ने भएको छ।”

१६ त्यस्तै गरी, गुआमको एउटा तेल कम्पनीमा काम गर्ने भर्खरै बप्तिस्मा प्राप्त बहिनीले आकर्षक प्रस्ताव पाइन्‌। कम्पनीको विभिन्‍न ओहदामा वर्षौंदेखि मेहनत गर्दै आएकी यस बहिनीले कम्पनीको इतिहासमै पहिलो महिला उपाध्यक्ष बन्‍ने मौका पाइन्‌। तथापि, तिनले आफ्नो जीवन यहोवालाई समर्पण गरिसकेकी थिइन्‌। त्यसैले, यसबारे आफ्नो पतिसँग छलफल गरेपछि यस नयाँ बहिनीले त्यो प्रस्ताव अस्वीकार गरिन्‌ र त्यसको सट्टा आंशिक जागिरको निम्ति प्रबन्ध मिलाइन्‌। किनकि तिनी पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामी हुन उन्‍नति गर्न चाहन्थिन्‌। यहोवाप्रतिको प्रेमले तिनलाई यस संसारबाट आर्थिक लाभ उठाउन होइन तर अग्रगामीको रूपमा सेवा गर्न उत्प्रेरित गऱ्‍यो। वास्तवमा, त्यस्तो प्रेमले विश्‍वभरि ८,०५,२०५ लाई सन्‌ २००० सेवा वर्षको दौडान अग्रगामी सेवकाईको विभिन्‍न पक्षमा सेवा गर्न उत्प्रेरित गऱ्‍यो। यी अग्रगामीहरूले प्रेम र विश्‍वासको उत्कृष्ट अभिव्यक्‍ति प्रकट गरे!

येशूलाई प्रेम गर्न उत्प्रेरित

१७. हामी येशूमा प्रेमको कस्तो सर्वोत्कृष्ट उदाहरण पाउँछौं?

१७ प्रेमद्वारा उत्प्रेरित हुने व्यक्‍तिहरूमध्ये सर्वोत्कृष्ट उदाहरण येशू हुनुहुन्छ। मानवको रूपमा आउनुअघि पनि उहाँले आफ्नो पिता र मानिसजातिलाई प्रेम गर्नुहुन्थ्यो। बुद्धिको मूर्तरूपको रूपमा उहाँले यसो भन्‍नुभयो: “त्यस बेला म उहाँको [यहोवाको] छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें। उहाँले बनाइसक्नुभएपछि पृथ्वीमा खेल्दै, मेरो आनन्द चाहिं मानव-जातिमा थियो।” (हितोपदेश ८:३०, ३१) प्रेमले गर्दा येशू आफ्नो स्वर्गीय बासस्थान छोडेर यस पृथ्वीमा निस्साहय शिशुको रूपमा जन्म लिन उत्प्रेरित हुनुभयो। उहाँले सोझा तथा नम्रहरूसित धीरजी भई दयालु व्यवहार गर्नुभयो र यहोवाका शत्रुहरूको हातबाट कष्ट भोग्नुभयो। अन्ततः उहाँ सबै मानिसजातिको निम्ति शूलीमा मर्नुभयो। (यूहन्‍ना ३:३५; १४:३०, ३१; १५:१२, १३; फिलिप्पी २:५-११) असल मनसायको कस्तो राम्रो उदाहरण!

१८. (क) हामी कसरी येशूप्रति प्रेम खेती गर्छौं? (ख) येशूलाई प्रेम गर्छौं भनेर हामी कसरी देखाउँछौ?

१८ असल हृदय भएकाहरूले सुसमाचारको पुस्तकमा येशूको जीवनी पढ्‌दा अनि उहाँको विश्‍वासी मार्गका कारण आफूले कत्ति आशिष्‌ पाइरहेका छौं भनेर मनन गर्दा, तिनीहरूमा उहाँप्रति गहिरो प्रेम विकास हुन्छ। आज हामी पत्रुसले भनेका मानिसहरूजस्तै छौं। तिनले यसो भने: “[येशूलाई] तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ।” (१ पत्रुस १:८) उहाँमाथि विश्‍वास गरेर उहाँको आत्मत्यागी जीवनको अनुकरण गर्दा हामीले प्रेम देखाइरहेका हुनेछौं। (१ कोरिन्थी ११:१; १ थिस्सलोनिकी १:६; १ पत्रुस २:२१-२५) अप्रिल १९, २००० का दिन येशूको मृत्युको वार्षिक स्मरणार्थ उत्सवको निम्ति भेला भएका १,४८,७२,०८६ जनालाई येशूलाई हामीले प्रेम गर्नुपर्ने कारणहरू सम्झाइयो। कत्ति ठूलो संख्या! येशूको बलिदानमार्फत पाइने उद्धारमा त्यति धेरै मानिसहरूको चासो रहेछ भनेर जान्‍न पाउनु कत्ति प्रोत्साहनजनक कुरा हो! साँच्चै, यहोवा र येशूले हामीप्रति देखाउनुभएको प्रेम र हाम्रो उहाँहरूप्रतिको प्रेमले हामीलाई उन्‍नति गराउँछ।

१९. अर्को लेखमा प्रेमसम्बन्धी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

१९ हामीले यहोवालाई आफ्नो सारा प्राण, बुद्धि र शक्‍तिले प्रेम गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो। तर उहाँले, हामीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ पनि भन्‍नुभयो। (मर्कूस १२:२९-३१) यसमा के के समावेश छ? अनि छिमेकीप्रतिको प्रेमले हामीलाई कसरी राम्रो सन्तुलन अनि मनसाय कायम राख्न मदत गर्छ? यी प्रश्‍नहरू अर्को लेखमा छलफल गरिनेछन्‌।

के तपाईंले सम्झनुभएको छ?

• प्रेम किन अत्यावश्‍यक गुण हो?

• हामी कसरी यहोवालाई प्रेम गर्न सिक्नसक्छौं?

• यहोवालाई प्रेम गर्छौं भनेर हाम्रो आचारणले कसरी देखाउँछ?

• हामी कसरी येशूप्रति प्रेम प्रदर्शित गर्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १०, ११-मा भएका चित्रहरू]

धीरजी भई उद्धारको निम्ति पर्खन प्रेमले हामीलाई मदत गर्छ

[पृष्ठ १२-मा भएको चित्र]

येशूको महान्‌ बलिदानले हामीलाई उहाँलाई प्रेम गर्न उत्प्रेरित गर्छ