युद्धका चोटहरू
युद्धका चोटहरू
दोस्रो विश्वयुद्धमा लडेका एक भूतपूर्व सेनाले यस्तो टिप्पणी गरे: “युद्धमा कसैको पनि विजय हुँदैन, हार मात्र हुन्छ।” तिनीसित धेरै मानिस सहमत हुनेछन्। युद्धले भयंकर नोक्सानी गराउँछ, विजयीहरूलगायत पराजय भएकाहरूले समेत ठूलो मूल्य चुकाउनुपर्छ। सशस्त्र युद्धको अन्तपछि पनि लाखौं मानिसले दर्दनाक युद्धका चोटहरू सहिरहनुपर्छ।
कस्ता चोटहरू? युद्धले जनसंख्या स्वाहा पार्नसक्छ अनि यसले गर्दा थुप्रै अनाथ र विधवा हुन्छन्। युद्धबाट बचेका थुप्रैले गम्भीर शारीरिक चोटका साथै मानसिक चोट पनि सहनुपर्छ। लाखौं घरबारविहीन वा शरणार्थी हुन विवश हुन्छन्। त्यस्ता भिडन्तहरूबाट बचेका मानिसहरूको हृदयमा बसिरहने घृणा र शोकका भावनाहरू के तपाईं कल्पना गर्न सक्नुहुन्छ?
निको नभएका घाउहरू
युद्धविराम, गोली हानाहान बन्द र सेनाहरू घर फर्केका धेरै समयपछि पनि युद्धले गर्दा मानिसको हृदयमा लागेको घाउ चस्किरहन्छ। त्यसपछिका पुस्तामा एकअर्को समूहप्रति तीव्र घृणाले जरो गाड्नसक्छ। यसरी एउटा युद्धको चोट अर्को युद्धको निम्ति जड हुनसक्छ।
उदाहरणका लागि, सन् १९१९ मा औपचारिक रूपमा प्रथम विश्वयुद्धको अन्त गर्न हस्ताक्षर गरिएको भर्साइल्येसको सन्धिमा जर्मनीले एउटा सन्धिमा सही गर्नुपरेको थियो र जर्मनीका नागरिकहरूले त्यो क्रूर र प्रतिशोधपूर्ण भएको भन्ठाने। दी इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार सोही सन्धिकै कारण “जर्मनहरूमाझ क्रोध अनि बदलाको भावना उत्पन्न भयो।” केही वर्षपछि “त्यस शान्ति सन्धिप्रतिको आक्रोस नै हिटलरको निम्ति शक्ति हासिल गर्ने कारण” बन्यो र यो दोस्रो विश्वयुद्ध सुरु हुनुको एउटा मुख्य कारण थियो।
दोस्रो विश्वयुद्ध पोल्याण्डबाट सुरु भयो र बाल्कनलगायत अन्य क्षेत्रमा फैलियो। सन् १९४० को दशकमा विभिन्न जातीय समूहहरूले एकअर्कामाथि गरेको अत्याचारले सन् १९९० को दशकमा बाल्कन क्षेत्रमा युद्धको निम्ति बाटो तयार गऱ्यो। जर्मन खबर पत्रिका डे जाइट-ले यस्तो टिप्पणी गऱ्यो: “घृणा र बदलाको दुष्चक्र हाम्रो वर्तमान समयसम्मै फैलिएको छ।”
मानिसहरू साँच्चै शान्तिसित बस्ने हो भने पहिले युद्धका चोटहरू निको पार्नुपर्छ। यो कसरी गर्न सकिन्छ? घृणा र शोकलाई हटाउन के गर्न सकिन्छ? युद्धका चोटहरू कसले निको पार्नसक्छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: Fatmir Boshnjaku
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
U.S. Coast Guard photo; UN PHOTO 158297/J. Isaac