सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धका चोटहरू निको पार्ने

युद्धका चोटहरू निको पार्ने

युद्धका चोटहरू निको पार्ने

अब्राहाम २० वर्षसम्म छापामार सेनामा थिए। a तर तिनले युद्धमा भाग लिन छोडेका छन्‌ र पछि कहिल्यै भाग लिने छैनन्‌। वास्तवमा, तिनका पहिलेका कोही कोही शत्रुहरू अहिले सबैभन्दा घनिष्ठ मित्र भएका छन्‌। कुन कुराले गर्दा तिनले यस्तो परिवर्तन गरे? बाइबलले। यसले अब्राहामलाई आशा र अन्तरदृष्टि प्रदान गऱ्‍यो अनि तिनले मानव गतिविधिहरूबारे परमेश्‍वरको दृष्टिकोण बुझ्न मदत पाए। बाइबल पढेपछि तिनको युद्ध गर्ने चाहना हरायो र तिनमा भएको दुःख, वेदना, घृणा र तीतोपना हराउन थाल्यो। बाइबलमा हृदयको निम्ति प्रभावकारी औषधी भएको तिनले भेट्टाए।

बाइबलले कुनै मानिसको भावनात्मक चोटहरू कसरी निको पार्न मदत गर्छ र? अब्राहामले भोगिसकेका कुराहरू त परिवर्तन गर्न सक्दैन। तैपनि, परमेश्‍वरको वचन पढेर मनन गर्दा तिनको सोचाइ सृष्टिकर्ताको सोचाइअनुरूप भयो। अब तिनीसँग भविष्यको लागि आशा छ र तिनका प्राथमिकताहरू परिवर्तन भएका छन्‌। परमेश्‍वरका निम्ति महत्त्वपूर्ण कुराहरू तिनका निम्ति पनि महत्त्वपूर्ण भएका छन्‌। त्यसपछि, तिनको हृदयका चोटहरू निको हुन थाले। यसरी अब्राहामले आफ्नो जीवनमा परिवर्तन गर्ने मदत पाए।

गृहयुद्धमा मुछिएको

अब्राहामको जन्म अफ्रिकामा सन्‌ १९३० को दशकमा भएको थियो। दोस्रो विश्‍वयुद्धपछि तिनको देशमा शक्‍तिशाली राष्ट्रले अधिकार गर्न थाल्यो तर अब्राहामका देशबासी स्वतन्त्रता चाहन्थे। सन्‌ १९६१ मा अब्राहाम शक्‍तिशाली छिमेकी विरुद्ध छापामार युद्ध गर्ने स्वतन्त्रता आन्दोलनमा भर्ती भए।

अब्राहाम भन्छन्‌, “उनीहरू हाम्रो शत्रु थिए। उनीहरू हामीलाई मार्न चाहन्थे, त्यसैले हामी पनि उनीहरूलाई मार्न अघि बढ्यौं।”

अब्राहामको जीवन सधैं खतरामा हुन्थ्यो त्यसैले सशस्त्र संघर्षमा भाग लिएको २० वर्षपछि सन्‌ १९८२ मा तिनी युरोप भागे। त्यतिबेलासम्म तिनी ४० वर्ष नाघिसकेका थिए र तिनीसँग आफ्नो जीवनपद्धतिबारे गौर गर्न समय थियो। तिनले देखेका सबै सपनाहरू के भए? भविष्यको लागि कस्तो आशा थियो? अब्राहामले केही यहोवाका साक्षीहरूलाई भेटे र तिनीहरूका सभाहरू धाउन थाले। केही वर्षअघि अफ्रिकामै छँदा एक साक्षीले दिएको पर्चा पढेको तिनलाई याद थियो। त्यस पर्चामा पृथ्वीमा आउनै लागेको प्रमोदवन र मानिसजातिमाथि शासन गर्ने स्वर्गीय राज्यबारे बताइएको थियो। के त्यो साँच्चै साँचो हुनसक्छ?

अब्राहाम भन्छन्‌: “मैले युद्धमा बिताएका ती सबै वर्षहरू बेकारमा गए भनेर मैले बाइबलबाट सिकें। सबैलाई निष्पक्ष व्यवहार गर्ने एउटै मात्र सरकार परमेश्‍वरको राज्य रहेछ।”

अब्राहामले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिएको केही वर्षपछि रबर्ट नाउँ गरेको अफ्रिकाको अर्का एक जना मानिस भागेर अब्राहाम बसिरहेको युरोपेली शहरमै आइपुगे। रबर्ट र अब्राहामले एउटै युद्धमा भाग लिएका थिए तर दुई विपक्षी समूहबाट। रबर्ट अक्सर जीवनको साँचो उद्देश्‍यबारे सोच्ने गर्थे। तिनी धार्मिक आस्था भएका व्यक्‍ति थिए र बाइबलका केही भाग पढ्‌दा तिनले परमेश्‍वरको नाउँ यहोवा हो भनी थाह पाएका थिए। अब्राहामका मण्डलीका साक्षीहरूले रबर्टलाई बाइबल अझ राम्ररी बुझ्न अध्ययन गर्ने प्रस्ताव राख्दा तिनले खुसीसाथ स्वीकारे।

रबर्ट भन्छन्‌, “सुरुदेखि नै म साक्षीहरूले, यहोवा अनि येशू दुई भिन्‍न व्यक्‍तिहरू हुनुहुन्छ भनी स्वीकार्दै उहाँहरूको नाउँ चलाएको देखेर प्रभावित भएको थिएँ। त्यो कुरा मैले बाइबलमा सिकेअनुरूप थियो। साक्षीहरूको पहिरन पनि भद्र हुन्छ र जुनसुकै राष्ट्रका मानिसहरूसित पनि तिनीहरू मायालु व्यवहार गर्छन्‌। ती कुराहरूले ममा गहिरो छाप पाऱ्‍यो।”

शत्रुहरू मित्र हुन्छन्‌

पहिलेका शत्रुहरू रबर्ट र अब्राहाम अहिले घनिष्ठ मित्र भएका छन्‌। तिनीहरू यहोवाका साक्षीहरूको एउटै मण्डलीमा पूर्ण-समय सुसमाचारकको रूपमा सेवा गर्दैछन्‌। अब्राहाम यसो भन्छन्‌, “छिमेकी मुलुकका र त्यसमाथि अक्सर एउटै धर्म मान्‍ने मानिसहरूले पनि एकअर्कालाई घृणा गर्न कसरी सम्भव हुन्छ र, भनेर म युद्धको बेला सोच्ने गर्थें। रबर्ट र म एउटै चर्चका सदस्य थियौं तर हामी एकअर्कासित युद्ध गर्दै थियौं। अहिले हामी दुवै यहोवाका साक्षी भएका छौं र हाम्रो विश्‍वासले हामीलाई एकतामा बाँधेको छ।”

रबर्ट यसो भन्छन्‌: “भिन्‍नता त्यही नै हो। अहिले हामी आफ्नो धर्मको कारण साँचो भ्रातृत्वमा बाँधिएका छौं। हामी कहिल्यै युद्धमा भाग लिने छैनौं।” यी पहिलाका दुश्‍मनहरूको हृदयमा बाइबलले ठूलो प्रभाव पारेको छ। घृणा र तीतोपनाको स्थान बिस्तारै विश्‍वास र मित्रताले लियो।

अब्राहाम र रबर्ट लडिरहेकै समयतिर अन्य दुई जवान दुई छिमेकी राष्ट्रको युद्धमा विपक्षी समूहबाट लड्‌दैथे। बाइबलले तिनीहरूको हृदयको निम्ति पनि चाँडै प्रभावकारी औषधीको काम गऱ्‍यो। कसरी?

मार र शहीद होऊ

धार्मिक आस्था राख्ने परिवारमा हुर्केका गेब्रियललाई तिनको मातृभूमि पवित्र युद्धमा मुछिएको छ भनेर सिकाइएको थियो। तसर्थ, १९ वर्षको उमेरमा तिनी सेनामा भर्ती भए र आफूलाई युद्धस्थलमै पठाइदिन आग्रह गरे। तेह्र महिनासम्म तिनी युद्धको मुखमै थिए र कति चोटि त शत्रुहरूबाट साढे एक किलोमिटर जति मात्र टाढा हुन्थे। तिनी भन्छन्‌, “विशेष गरी मलाई एउटा घटना याद छ। हाम्रो दल प्रमुखले त्यस रात शत्रुहरूले आक्रमण गर्नेछन्‌ भनी हामीलाई बताए। हामी यति जोसिएका थियौं कि हामीले रातभर तोपहरू प्रहार गऱ्‍यौं।” छिमेकी मुलुकका मानिसहरूलाई तिनी आफ्नो शत्रुको रूपमा लिन्थे र तिनीहरू मृत्युको योग्य छन्‌ भन्ठान्थे। “म सकेसम्म धेरैलाई मार्न चाहन्थें। अनि मेरा अन्य थुप्रै मित्रहरूजस्तै शहीद हुन चाहन्थें।”

तथापि, समयको अन्तरालमा गेब्रियल निराश हुन थाले। तिनी पहाडतिर भागे र लुक्दैछिप्दै सीमा पार गरेर तटस्थ देशमा पुगे अनि त्यहाँबाट युरोप गए। तिनले परमेश्‍वरलाई बारम्बार जीवनमा किन यति धेरै कठिनाइहरू भएको या समस्याहरू कतै परमेश्‍वरले दिनुभएको सजाय त होइन भनेर सोध्ने गर्थे। तिनी यहोवाका साक्षीहरूको सम्पर्कमा आए र तिनीहरूले तिनलाई जीवनमा अहिले यति धेरै समस्याहरू हुनाको कारण बाइबलबाट बताइदिए।—मत्ती २४:३-१४; २ तिमोथी ३:१-५.

बाइबलबाट गेब्रियलले जत्ति बढी सिक्दै गए त्यत्ति नै यसमा सत्यता छ भनेर विश्‍वस्त भए। “हामी पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नसक्छौं भनेर सिकें। अनि चाखलाग्दो कुरा के छ भने, म बाल्यकालमा त्यही कुराको चाहना गर्थें।” बाइबलले गेब्रियललाई सान्त्वना दियो र त्यतिबेलासम्म चिन्तित तिनको हृदयलाई शान्त पाऱ्‍यो। तिनको सबैभन्दा गहिरो भावनात्मक चोटहरू निको हुन थाले। त्यसैले, तिनले आफ्नो पहिलेको शत्रु डानियललाई भेट्‌दा अलिकति पनि घृणा महसुस गरेनन्‌। तर डानियल के कारणले गर्दा युरोप आए?

“तपाईं साँच्चै हुनुहुन्छ भने, बिन्ती छ, मलाई मदत गर्नुहोस्‌ !”

डानियल क्याथोलिक धर्ममा हुर्केका थिए र तिनलाई १८ वर्षको उमेरमा सैन्य सेवाको निम्ति बोलाइयो। तिनलाई गेब्रियल लडिरहेको युद्धमै लड्‌न पठाइयो तर तिनी विपक्षमा थिए। युद्धस्थल नजिकै डानियल ट्यांकमा गइरहेको बेला त्यसमा विस्फोटक पदार्थ प्रहार गरियो। तिनका साथीहरू मरे र तिनी पनि नराम्रो चोट लाग्यो र कैदीको रूपमा लगिए। तिनले महिनौंसम्म अस्पताल र शिविरमा बिताए अनि त्यसपछि तिनलाई एउटा तटस्थ देशमा निर्वासित गरियो। एक्लो अनि असहाय भएको कारण तिनले आत्महत्या गर्ने विचार गरे। डानियलले परमेश्‍वरलाई यस्तो प्रार्थना गरे: “तपाईं साँच्चै हुनुहुन्छ भने, बिन्ती छ, मलाई मदत गर्नुहोस्‌!” त्यसको भोलिपल्ट नै यहोवाका साक्षीहरू तिनको ढोकामा आइपुगे र तिनको थुप्रै प्रश्‍नको जवाफ दिए। अन्ततः तिनी शरणार्थीको रूपमा युरोप गए। त्यहाँ पनि डानियलले साक्षीहरूसँग संगत गर्नुका साथै बाइबल अध्ययन गर्न थाले। आफूले सिकेका कुराहरूले तिनलाई आफ्नो चिन्ता र तितोपनाका भावनाहरू हटाउन मदत गरेको छ।

अहिले गेब्रियल र दानियल असल मित्र भएका छन्‌। तिनीहरू यहोवाका बप्तिस्मा प्राप्त साक्षीहरूको हैसियतमा आध्यात्मिक भ्रातृत्वमा एकताबद्ध भएका छन्‌। गेब्रियल भन्छन्‌, “यहोवाप्रतिको प्रेम र बाइबलको ज्ञानको कारण मैले कामकुराहरू उहाँको नजरले हेर्न मदत पाएको छु। डानियल अब मेरो दुश्‍मन होइनन्‌। केही वर्षअघि भए म उनलाई मार्न तम्सन्थें। तर बाइबलले मलाई ठीक विपरीत कुरा सिकाएको छ। अर्थात्‌ तिनको निम्ति मर्न पनि तयार छु।”

“मैले विभिन्‍न धर्म तथा राष्ट्रका मानिसहरूले एकअर्कालाई मारिरहेको देखेको छु। अनि एउटै धर्मका मानिसहरूले पनि एकअर्कालाई विपक्षी समूहको भएका कारण मारिरहेका थिए। यी कुराहरू देख्दा मलाई परमेश्‍वर नै दोषी हुनुहुन्छ जस्तो लाग्थ्यो। तर यी सबैको दोषी शैतान रहेछ भनेर मैले अहिले थाह पाएको छु। गेब्रियल र म अहिले सँगी विश्‍वासीहरू हौं। हामी कहिल्यै युद्धमा भाग लिने छैनौं!”

“परमेश्‍वरको वचन जीवित र प्रबल” छ

अब्राहाम, रबर्ट, गेब्रियल र डानियलले किन त्यस्तो आमूल परिवर्तन गरे? तिनीहरू कसरी आफूभित्र भएको गहिरो घृणा र शोकका भावना हटाउन सफल भए?

यिनीहरू सबैले बाइबलको सत्य कुरा पढे, मनन गरे र सिके। “परमेश्‍वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) बाइबलका लेखक मानिसजातिको सृष्टिकर्ता हुनुहुन्छ र सुन्‍न तथा सिक्न इच्छुक हृदयलाई कसरी प्रभाव पार्न सकिन्छ भनी उहाँलाई थाह छ। “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” बाइबलको निर्देशन पालन गर्न थालेपछि पाठकले नयाँ मूल्यमान्यता तथा स्तरहरू आर्जन गर्छन्‌। तिनले यहोवाको दृष्टिकोण बुझ्न थाल्छन्‌। यस प्रक्रियाले प्रशस्त मात्रामा लाभ पुऱ्‍याउँछ र यसमा युद्धका चोटहरू निको हुने पनि समावेश छ।—२ तिमोथी ३:१६.

परमेश्‍वरको वचनले कुनै पनि राष्ट्र, समूह वा जात अर्कोभन्दा श्रेष्ठ छ भनेर बताउँदैन। “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” यो कुरा स्वीकार्ने पाठकले बिस्तारै कुनै जात वा राष्ट्रप्रति भएको घृणाका भावनाहरूमाथि विजय हासिल गर्न मदत पाउनेछ।—प्रेरित १०:३४, ३५.

परमेश्‍वरले चाँडै वर्तमान मानव सरकारको ठाउँमा मसीही राज्य स्थापना गर्नुहुनेछ भनेर बाइबलका भविष्यवाणीहरूले बताउँछन्‌। परमेश्‍वरले आफ्नो यस सरकारमार्फत “पृथ्वीको अन्तसम्मै . . . युद्धहरू” रोक्नुहुनेछ। युद्धहरूको प्रवर्धन गर्ने र मानिसहरूलाई लड्‌न उक्साउने संस्थाहरू हटाइनेछन्‌। युद्धका सिकार भएकाहरूको पुनरुत्थान हुनेछन्‌ र तिनीहरूलाई प्रमोदवनमा बस्ने मौका दिइनेछ। दमन वा आक्रमणको चपेटामा परेर कोही पनि भाग्नुपर्ने छैन।—भजन ४६:९; दानियल २:४४; प्रेरित २४:१५.

त्यस संसारमा बस्ने मानिसहरूबारे बाइबल यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, . . . हुनेछैन, . . . तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌।” निको हुन नसक्ने त्यस्तो कुनै क्षति वा चोट बाँकी छैन। त्यस्तो आशामा विश्‍वास राख्दा बिस्तारै मानिसको हृदयबाट शोक र दुःख हट्‌छ।—यशैया ६५:२१-२३.

बाइबल निश्‍चय पनि हृदयको निम्ति प्रभावकारी औषधी हो। यसको शिक्षाले अहिल्यै युद्धका चोटहरू निको पार्दैछ। पहिलेका शत्रुहरू अन्तरराष्ट्रिय भ्रातृत्वमा बाँधिदैछन्‌। यो निको हुने प्रक्रिया परमेश्‍वरको नयाँ संसारमा मानिसको हृदयबाट घृणा, तीतोपना, शोक र दुःख नहटुञ्जेल चलिरहनेछ। सृष्टिकर्ताले “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌” भनेर प्रतिज्ञा गर्नुभएको छ।—यशैया ६५:१७.

[फुटनोट]

a यस लेखमा केही नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मैले युद्धमा बिताएका ती सबै वर्षहरू बेकारमा गए भनेर मैले बाइबलबाट सिकें”

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

पहिले आपसमा दुश्‍मनी भएकाहरूको हृदयमा बाइबलले सकारात्मक प्रभाव पार्नसक्छ

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

घृणा र तीतोपनाको स्थान बिस्तारै विश्‍वास र मित्रताले लियो

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलको निर्देशन पालन गर्न थालेपछि पाठकले नयाँ मूल्यमान्यता तथा स्तरहरू आर्जन गर्छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

पहिलेका शत्रुहरू अहिले अन्तरराष्ट्रिय भ्रातृत्वमा बाँधिएका छन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Refugee camp: UN PHOTO 186811/J. Isaac