सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कानुनी संस्थानभन्दा परिचालक निकाय कसरी फरक छ

कानुनी संस्थानभन्दा परिचालक निकाय कसरी फरक छ

कानुनी संस्थानभन्दा परिचालक निकाय कसरी फरक छ

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी, पेन्सल्भेनियाको वार्षिक सभा जनवरी १८८५ देखि हुँदै आएको छ। उन्‍नाइसौं शताब्दीको अन्ततिर अभिषिक्‍त मसीहीहरूलाई जम्मा गर्ने काम भइरहेको बेला यस संस्थानका डाइरेक्टर तथा अफिसरहरू सबैसित स्वर्गीय आशा थियो। वास्तवमा, सधैं यसै हुँदै आएको छ।

तर एउटा अपवाद थियो। सन्‌ १९४० मा सोसाइटीका तात्कालिक कानुनी सल्लाहकार र पार्थिव आशा भएको “अरू भेड़ा” वर्गमा पर्ने हेडन सि. कभिङटन सोसाइटीका अध्यक्ष छानिएका थिए। (यूहन्‍ना १०:१६) तिनले सन्‌ १९४२ देखि १९४५ सम्म सोसाइटीको उपाध्यक्षको रूपमा सेवा गरे। त्यतिखेर यहोवाको इच्छा पेन्सल्भेनिया संस्थानका सम्पूर्ण डाइरेक्टर तथा अफिसरहरू अभिषिक्‍त मसीहीहरू नै हुनुपर्छ जस्तो बुझिएकोले भाइ कभिङटनले डाइरेक्टर पदबाट राजिनामा दिए। बोर्ड अफ डाइरेक्टरमा हेडन सि. कभिङटनको ठाउँमा लिमन ए. स्वीङगल अनि उपाध्यक्षमा फेड्रिक डब्लू. फ्रान्ज छानिए।

यहोवाका दासहरूले किन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाका सम्पूर्ण डाइरेक्टर तथा अफिसरहरू अभिषिक्‍त मसीहीहरू नै हुनुपर्छ भन्‍ने विश्‍वास गरे? किनकि, त्यतिखेर पेन्सल्भेनिया संस्थानका बोर्ड अफ डाइरेक्टर तथा अफिसरहरूको यहोवाका साक्षीहरूको आत्मा-अभिषिक्‍त पुरुषहरू मात्र मिलेर बनेको परिचालक निकायसित निकटतम सम्बन्ध थियो।

ऐतिहासिक वार्षिक सभा

अक्टोबर २, १९४४ का दिन पिट्‌सबर्गमा सम्पन्‍न वार्षिक सभामा पेन्सल्भेनिया संस्थानका सदस्यहरूले बडापत्र संशोधनका लागि छ बुँदे प्रस्तावना पारित गरे। बडापत्रमा सोसाइटीको कामका लागि जत्ति चन्दा दिइन्छ, त्यहीं अनुपातमा भोट हाल्ने अधिकार पनि दिइने कुरा उल्लेख गरिएको थियो, तर तेस्रो संशोधनले यो प्रबन्ध खारेज गऱ्‍यो। उक्‍त वार्षिक सभाको रिपोर्टमा यस्तो लेखिएको थियो: “सोसाइटीको सदस्यता ५०० जनासम्म मात्र सीमित गरिनेछ . . . छानिएको प्रत्येक व्यक्‍ति सोसाइटीको पूर्ण-समय सेवक अथवा यहोवाका साक्षीहरूको कम्पनीको [मण्डलीको] अर्ध-समय सेवक हुनैपर्छ र प्रभुको जस्तो आत्मा प्रकट गर्नैपर्छ।”

त्यसपछि, राज्यसम्बन्धी कामकुरालाई बढाउन जतिसुकै चन्दा दिएका होऊन्‌, यहोवामा पूर्णतया समर्पित व्यक्‍तिहरूले सोसाइटीका डाइरेक्टरहरू छनौट गर्न भोट दिन सक्ने भए। यो यशैया ६०:१७ मा अगमवाणी गरिएको प्रगतिशील संशोधनमा आधारित थियो। त्यहाँ हामी यसो लेखिएको पाउँछौं: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुङ्‌गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई [“निरीक्षकहरूलाई,” NW] मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई [“नाइकेहरूलाई,” NW] न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” यहाँ “निरीक्षक” र “नाइके” भनेर उल्लेख गरेर यस अगमवाणीले यहोवाका मानिसहरूबीच संगठनात्मक प्रक्रियामा हुने उन्‍नतिलाई संकेत गऱ्‍यो।

संगठनलाई ईश्‍वरतान्त्रिक प्रबन्धअनुरूप सञ्चालन गर्ने महत्त्वपूर्ण कदम दानिएल ८:१४ मा उल्लेख गरिएको “दुइ हजार तीन सय साँझ र बिहान[को]” अन्तमा चालियो। त्यतिखेर “पवित्रस्थान विजय भएर नि[स्किएको] [“त्यसको सही अवस्थामा ल्याइएको,” NW]” थियो।

तथापि, १९४४ को ऐतिहासिक वार्षिक सभापछि एउटा महत्त्वपूर्ण प्रश्‍न त बाँकी नै थियो। त्यतिखेर परिचालक निकायको पेन्सल्भेनिया संस्थानका सात सदस्यहरूसित निकटम सम्बन्ध भएकोले के यसको अर्थ परिचालक निकाय सधैंभरि सात अभिषिक्‍त मसीहीहरू मात्र मिलेर बन्‍ने थियो? यसको अलावा, डाइरेक्टरहरू संस्थानका सदस्यहरूद्वारा चुनिने भएकाले के प्रत्येक वर्ष वार्षिक सभामा संस्थानका सदस्यहरूले परिचालक निकायका सदस्यहरू पनि छान्‍ने थिए? वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाका डाइरेक्टर तथा अफिसरहरू र परिचालक निकायका सदस्यहरू के एउटै व्यक्‍तिहरू हुन्‌ अथवा तिनीहरू फरक फरक हुन्‌?

अर्को अविस्मरणीय वार्षिक सभा

यी प्रश्‍नहरूको जवाफ अक्टोबर १, १९७१ मा सम्पन्‍न वार्षिक सभामा दिइयो। त्यतिखेर एक जना वक्‍ताले “विश्‍वासी र बुद्धिमान दास” मिलेर बनेको परिचालक निकाय वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीभन्दा सयौं वर्षअघिदेखि नै थियो भने। (मत्ती २४:४५-४७) पेन्सल्भेनिया संस्थान अस्तित्वमा आउनुभन्दा १८ शताब्दीअघि पेन्तिकोस सा.यु. ३३ मा नै परिचालक निकाय गठन गरिएको थियो। सुरुमा परिचालक निकायमा ७ जना होइनन्‌ १२ जना प्रेरितहरू थिए। स्पष्ट छ, यो संख्या पछि बढाइयो किनकि “यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूले]” नेतृत्व लिइरहेका थिए।—प्रेरित १५:२.

सन्‌ १९७१ मा त्यही वक्‍ताले वाच टावर सोसाइटीका सदस्यहरूले भोट दिएर अभिषिक्‍त परिचालक निकायका सदस्यलाई छान्‍न सक्दैनन्‌ भनेर बताए। किन? तिनले भने, “किनभने ‘दास’ वर्ग मिलेर बनेको परिचालक निकाय कुनै पनि मानिसद्वारा नियुक्‍त भएका होइनन्‌। यो नियुक्‍ति त . . . साँचो मसीही मण्डलीका शिर तथा ‘विश्‍वासी र बुद्धिमान्‌ दास’ वर्गका प्रभु र मालिक, येशू ख्रीष्टले गर्नुभएको हो।” स्पष्ट छ, परिचालक निकायका सदस्यहरूलाई कुनै पनि कानुनी संस्थानको सदस्यले भोट दिएर जिम्मेवारी सुम्पन नसक्ने रहेछ।

भाषणलाई अगाडि बढाउँदै वक्‍ताले यो अर्थपूर्ण कुरा भने: “सोसाइटीको बोर्ड अफ डाइरेक्टरको अध्यक्ष, उपाध्यक्ष, कोशाध्यक्ष र सह-कोशाध्यक्ष जस्ता पदहरू परिचालक निकायको हुँदैन। यसको त सभापति मात्र हुन्छ।” थुप्रै वर्षसम्म पेन्सल्भेनिया संस्थानका अध्यक्ष नै परिचालक निकायका मुख्य सदस्य पनि हुन्थे। तर उप्रान्त त्यसो हुने थिएन। अनुभव वा क्षमता समान नभए तापनि परिचालक निकायका सदस्यहरूको जिम्मेवारी बराबर हुने थियो। वक्‍ताले अझै यसो भने: “परिचालक निकायका कुनै पनि सदस्य सभापति हुनसक्छ तर ऊ . . . सोसाइटीका . . . अध्यक्ष नै हुनुपर्छ भन्‍ने छैन। . . . परिचालक निकायको सभापतित्व पालैसित हस्तान्तरण गरिनेछ।”

सन्‌ १९७१ को उक्‍त अविस्मरणीय वार्षिक सभामा परिचालक निकायका आत्मा-अभिषिक्‍त सदस्यहरू र पेन्सल्भेनिया संस्थानका सदस्यहरूबीचको भिन्‍नता प्रस्ट पारिएको थियो। तैपनि, परिचालक निकायका सदस्यहरूले नै सोसाइटीका डाइरेक्टर र अफिसरहरूको रूपमा सेवा गरिरहे। तर अहिले आएर यो प्रश्‍न खडा भएको छ: वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाका सदस्यहरू परिचालक निकायका सदस्यहरू नै हुनुपर्छ भन्‍ने के कुनै धर्मशास्त्रीय कारण छ?

यसको जवाफ हो, छैन। यहोवाका साक्षीहरूले प्रयोग गरेको कानुनी संस्था पेन्सल्भेनिया संस्थान मात्र होइन। अरू संस्थानहरू पनि छन्‌। एउटा त, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेड हो। यसले संयुक्‍त राज्यमा हाम्रो काम सुचारुरूपले अघि बढाउन मदत गर्छ। यस संस्थानका डाइरेक्टर तथा अफिसरहरू मुख्यतया “अरू भेड़ा” भए तापनि यस संस्थानमाथि यहोवाको आशिष्‌ प्रस्टै देखिएको छ। बेलाइतमा इन्टरनेसनल बाइबल स्टुडेन्ट्‌स असोसिएशन प्रयोग गरिन्छ। अन्य मुलुकहरूमा अन्य कानुनी संस्थानहरू प्रयोग भइरहेका छन्‌। यी सम्पूर्ण संस्थानहरू एकअर्कालाई सहयोग गर्छन्‌ र पृथ्वीभरि सुसमाचार प्रचार गर्ने भूमिका निर्वाह गर्छन्‌। यी संस्थानहरू जहाँसुकै होऊन्‌ अथवा डाइरेक्टर वा अफिसरको रूपमा जोसुकैले सेवा गरून्‌, यी संस्थानहरू ईश्‍वरतान्त्रिक तरिकामा डोरिएका छन्‌ र परिचालक निकायले तिनीहरूको प्रयोग गरेका छन्‌। अतः यस्ता संस्थानहरूले राज्यसम्बन्धी कामकुरालाई अघि बढाउने निर्दिष्ट कार्यभार पाएका हुन्छन्‌।

कानुनी संस्थानहरू हुनु हाम्रोनिम्ति लाभकारी छ। यसमार्फत हामी परमेश्‍वरको व्यवस्थाले माग गरेबमोजिम स्थानीय तथा राष्ट्रिय नियमअनुसार चलिरहेका हुन्छौं। (यर्मिया ३२:११; रोमी १३:१) बाइबल, पुस्तक, पत्रिका, पुस्तिका र अन्य सामग्रीहरू छापेर राज्य सन्देश फैलाउने हाम्रो कामलाई कानुनी संस्थानहरूले सुगम तुल्याउँछ। यस्ता संस्थानहरूले जायजेथा, उद्धार कार्य, अधिवेशनका लागि भवनहरू भाडामा लिने जस्ता कामहरू सम्हाल्नुपर्दा कानुनी साधनको रूपमा काम गर्छन्‌। यस्ता कानुनी संस्थानहरूले पुऱ्‍याएको मदतका लागि हामी धन्यवादी छौं।

यहोवाको नाउँ अग्रपंक्‍तिमा

सन्‌ १९४४ मा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाको उद्देश्‍यलाई जोड दिन बडापत्रको धारा II संशोधित गरिएको थियो। बडापत्रअनुसार सोसाइटीका उद्देश्‍यहरूमा यो उद्देश्‍य पनि समावेश छ: “सम्पूर्ण जातिलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको नाउँ, वचन र प्रभुत्वको साक्षी दिन परमेश्‍वरको त्यस राज्यको सुसमाचार प्रचार गर्ने, जो ख्रीष्टको हातद्वारा सञ्चालन हुनेछ।”

सन्‌ १९२६ देखि ‘विश्‍वासी दासले’ यहोवाको नाउँलाई अग्रपंक्‍तिमा ल्यायो। विशेष गरी, १९३१ मा बाइबल स्टुडेन्ट्‌सले यहोवाका साक्षी भन्‍ने नाउँ ग्रहण गरेको समय उल्लेखनीय छ। (यशैया ४३:१०-१२) परमेश्‍वरको नाउँमाथि जोड दिने साहित्यहरूमा जेहोभा (१९३४), “लेट योर नेम बि स्याङटिफाइड” (१९६१) र “द नेसन श्‍याल नो द्याट आइ एम जेहोभा”—हाऊ? (१९७१) आदि पर्छन्‌।

यस सन्दर्भमा सन्‌ १९६० मा अंग्रेजीमा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को सम्पूर्ण खण्डको विशेष उल्लेख नगरी रहिन सकिन्‍न। हिब्रू धर्मशास्त्रमा जहाँ जहाँ टेट्राग्रामाटन छ, त्यहीं त्यहीं यहोवाको नाउँ यसमा उल्लेख गरिएको छ। यस अनुवादको मसीही युनानी धर्मशास्त्रमा त्यस्ता २३७ ठाउँहरूमा ईश्‍वरीय नाउँ समावेश गरिएको छ। त्यहाँ होसियारीसाथ विश्‍लेषण गर्दा यहोवाको नाउँ उल्लेख गर्नु अत्यावश्‍यक पाइयो। थुप्रै तरिकामा यहोवाले “दास” तथा यसको परिचालक निकायलाई छापाखाना र कानुनी संस्थानहरू प्रयोग गर्नुभएर पृथ्वीभरि आफ्नो नाउँ चिनाउन अनुमति दिनुभएकोमा हामी उहाँप्रति एकदमै धन्यवादी छौं!

परमेश्‍वरको वचन वितरणमा जोड

यहोवाका जनहरूले लाखौंको संख्यामा बाइबल तथा बाइबल आधारित प्रकाशनहरू छापेर तथा वितरण गरेर निरन्तर उहाँको नाउँको साक्षी दिनुका साथै उहाँको वचनलाई समर्थन गरिरहेका छन्‌। सन्‌ १९०० दशकको सुरुतिर बेन्जामिन विल्सनको मसीही युनानी धर्मशास्त्रको युनानी-अंग्रेजी अन्तरपंक्‍तीय द इम्फाटिक डाइग्लोट-को सर्वाधिकार सुरक्षित वाच टावर सोसाइटीको भयो। सोसाइटीले किङ जेम्स भर्सन-को बाइबल स्टुडेन्ट्‌स संस्करण प्रकाशित गऱ्‍यो जसमा ५०० पृष्ठको परिशिष्ट थियो। सन्‌ १९४२ मा मार्जिनल रेफरेन्ससहितको किङ जेम्स भर्सन प्रकाशित गरियो। त्यसपछि, १९४४ मा सोसाइटीले सन्‌ १९०१ को अमेरिकन स्टाण्डर्ड भर्सन छाप्यो। यस संस्करणमा ईश्‍वरीय नाउँ प्रयोग गरिएको छ। सोसाइटीले १९७२ मा प्रकाशित गरेको स्टिफन टि. ब्राइङटनको द बाइबल इन लिभिङ इग्लिस-को मुख्य विशेषता यहोवाको नाउँको प्रयोग हुनु पनि थियो।

यहोवाका साक्षीहरूले प्रयोग गरेका कानुनी संस्थानहरूले यी सबै बाइबल अनुवादहरू छाप्न र वितरण गर्न मदत गरेका छन्‌। तर सबैभन्दा उल्लेखनीय कुरा त वाच टावर सोसाइटी र न्यु वर्ल्ड बाइबल ट्रान्सलेसन कमिटिमा समावेश यहोवाका अभिषिक्‍त साक्षीहरूको समूहबीचको घनिष्ठ सहयोग भएको छ। सम्पूर्ण रूपमा वा आंशिक रूपमा अहिलेसम्ममा यस अनुवादको १०,६४,००,००० प्रति ३८ भाषामा छापिइसकेकोमा हामी रमाउँछौं। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनिया साँच्चै बाइबल सोसाइटी भएको छ!

‘विश्‍वासी दास’ ‘आफ्नो मालिकको सारा सम्पत्तिमाथि नियुक्‍त भएको छ। यसमा न्यु योर्क स्टेट, स.रा.अ.-स्थित मुख्यालयका भवनहरूलगायत विश्‍वभरि सञ्चालित ११० शाखा कार्यालयहरू समावेश छन्‌। तिनीहरूलाई सुम्पिएको चीजलाई तिनीहरू कसरी प्रयोग गर्छन्‌, त्यसको लेखा दिनुपर्नेछ भनेर दास वर्गका सदस्यहरूलाई थाह छ। (मत्ती २५:१४-३०) यद्यपि, “अरू भेड़ा[बाट]” योग्य निरीक्षकहरूलाई कानुनी तथा प्रशासकीय जिम्मेवारीहरू वहन गर्न दिनदेखि यसले ‘दास वर्गलाई’ रोक्दैन। वास्तवमा, यसो गर्दा परिचालक निकायका सदस्यहरूले “प्रार्थना र प्रचारको काममा” अझ बढी समय बिताउन पाउँछन्‌।—प्रेरित ६:४.

यस संसारको अवस्थाले अनुमति दिएसम्म “विश्‍वासी र बुद्धिमान दास[को]” प्रतिनिधित्व गर्ने परिचालक निकायले कानुनी संस्थानहरूको प्रयोग गरिनै रहनेछ। यी संस्थानहरू हुँदा काम सजिलो हुन्छ तर यी नभई नहुने चाहिं होइनन्‌। सरकारी आदेशले गर्दा कानुनी संस्था बन्द भयो भने पनि प्रचार कार्य लगातार भई नै रहनेछ। अहिले प्रतिबन्ध लगाइएका मुलुकहरूमा कुनै कानुनी संस्थानको प्रयोग नगरिए तापनि राज्य सन्देशको घोषणा भइरहेकै छ, चेलाहरू बनिरहेकै छन्‌ र ईश्‍वरतान्त्रिक उन्‍नति निरन्तर भइरहेकै छ। यहोवाका साक्षीहरू रोप्छन्‌ र पानी हाल्छन्‌ तर ‘बढाइरहने परमेश्‍वर नै हुनुभएकोले’ यसो भएको हो।—१ कोरिन्थी ३:६, ७.

भविष्यको कुरा गर्ने हो भने, आफ्ना मानिसहरूको आध्यात्मिक तथा भौतिक आवश्‍यकताहरूको यहोवा ख्याल गर्नुहुन्छ भनेर हामी पक्का छौं। राज्य-प्रचारको काम पूरा गर्न उहाँ र उहाँको पुत्र येशू ख्रीष्टले आवश्‍यक स्वर्गीय निर्देशन तथा समर्थन निरन्तर दिइ नै रहनुहुनेछ। हो, परमेश्‍वरको सेवकको हैसियतले हामी जतिसुकै काम गरौं, त्यो ‘न त बलले, न शक्‍तिले, तर यहोवाको आत्माले’ भइरहेको हुन्छ। (जकरिया ४:६) त्यसकारण, यहोवाले दिनुहुने बल पाएर हामी यस अन्तको समयमा उहाँले दिनुभएको काम पूरा गर्न सक्नेछौं भन्‍ने बुझेर हामी ईश्‍वरीय मदतका लागि प्रार्थना गर्छौं!