“निरीक्षक तथा सेवकाई सेवकहरू ईश्वरतान्त्रिक तरिकामा नियुक्त हुन्छन्”
“निरीक्षक तथा सेवकाई सेवकहरू ईश्वरतान्त्रिक तरिकामा नियुक्त हुन्छन्”
“तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको[ले] . . . होशियारी हुनुहोस्।”–प्रेरित २०:२८.
१, २. यशैया ६०:२० कसरी पूरा भइरहेको छ?
यस अन्तको समयमा केही उल्लेखनीय कुरा हुनेछ भनेर यहोवाले धेरै अघि अगमवाणी गर्नुभएको थियो। अगमवक्ता यशैयामार्फत यसो भनिएको थियो: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”—यशैया ६०:२२.
२ के आज यो भविष्यवाणी पूरा भइरहेको छ भन्ने कुनै प्रमाण छ? पक्कै छ! सन् १८७० को दशकमा स.रा.अ.-को पेन्सल्भेनियास्थित एलेगेनीमा यहोवाका जनहरूको एउटा मण्डली स्थापित भएको थियो। यस्तो सानो सुरुआतबाट अहिले विश्वभरि दसौं हजार मण्डलीहरू बढेका अनि फस्टाएका छन्। लाखौं राज्य उद्घोषकहरू अर्थात् एउटा सामर्थी जाति पृथ्वीभरि २३५ मुलुकका ९१,००० भन्दा धेरै मण्डलीसित संगति गरिरहेका छन्। निस्सन्देह, निकट भविष्यमा “महा संकष्ट” सुरु हुनुअगावै यहोवाले आफ्ना साँचो उपासकहरू जम्मा गर्ने कामलाई चाँडै पूरा गर्दै हुनुहुन्छ भनेर यसले पुष्टि दिन्छ।—मत्ती २४:२१; प्रकाश ७:९-१४.
३. “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो?
३ आफ्नो जीवन व्यक्तिगत तवरमा यहोवालाई समर्पण गरिसकेपछि र येशूको निर्देशनबमोजिम यी लाखौं व्यक्तिहरूले “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिए। (मत्ती २८:१९) ‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ यी समर्पित व्यक्तिहरूले यहोवालाई आफ्नो स्वर्गमा हुनुहुने पिता र जीवनदाताको रूपमा स्वीकार्नु अनि उहाँको सार्वभौमिकताको अधीनमा बस्नु हो। ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ यिनीहरूले येशू ख्रीष्टलाई आफ्नो उद्धारक, नेता तथा राजाको रूपमा ग्रहण गर्नु हो। यिनीहरू परमेश्वरको पवित्र आत्मा वा सक्रिय शक्तिद्वारा आफ्नो जीवन निर्देशित छ भनेर पनि स्वीकार्छन्। यसले, यिनीहरूले “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिएका छन् भनेर संकेत गर्छ।
४. मसीही सेवकहरू कसरी नियुक्त हुन्छन्?
४ बप्तिस्मा लिंदा नयाँ चेलाहरू यहोवा परमेश्वरको सेवकको रूपमा नियुक्त हुन्छन्। यिनीहरूलाई कसले नियुक्त गर्छ? सैद्धान्तिक तवरमा २ कोरिन्थी ३:५ मा लिपिबद्ध यी शब्दहरू यिनीहरूमाथि लागू हुन्छन्: “[सेवकहरूको रूपमा] हाम्रो योग्यता परमेश्वरबाट आउँछ।” (नयाँ संशोधित संस्करण) यहोवा परमेश्वरबाटै नियुक्त हुन पाउनुभन्दा ठूलो सम्मान अरू के होला र! बप्तिस्मापछि परमेश्वरको पवित्र आत्माको डोऱ्याइलाई पछ्याउञ्जेल र उहाँको वचन प्रयोगमा ल्याउञ्जेल ‘सुसमाचारको’ सेवकको रूपमा यिनीहरू आध्यात्मिकतामा अघि बढी रहनेछन्।—मत्ती २४:१४; प्रेरित ९:३१.
ईश्वरतन्त्रअनुसार नियुक्ति—प्रजातन्त्रअनुसार होइन
५. के मसीही निरीक्षकहरू र सेवकाई सेवकहरू प्रजातान्त्रिक तरिकामा चुनिन्छन्? व्याख्या गर्नुहोस्।
५ सक्रिय सेवकहरूको बढ्दो संख्याको आध्यात्मिक आवश्यकता पूरा गर्न सुयोग्य प्राचीनहरूको परिपक्व निरीक्षण र सेवकाई सेवकहरूको निपुण समर्थन जरुरी छ। (फिलिप्पी १:१) यी आध्यात्मिक पुरुषहरू कसरी नियुक्त हुन्छन्? मसीहीजगत्मा प्रयोग गर्नेजस्तो तरिकाअनुसार त होइन। उदाहरणका लागि, मसीही निरीक्षकहरू प्रजातान्त्रिक तरिकामा चुनिंदैनन्। भनाइको मतलब, मण्डलीको अधिकांश भोट जसको नाउँमा पऱ्यो त्यही व्यक्ति चुनिंदैनन्। बरु, यी नियुक्तिहरू ईश्वरतान्त्रिक तरिकामा हुन्छन्। यसको अर्थ के हो?
६. (क) साँचो ईश्वरतन्त्र के हो? (ख) निरीक्षक तथा सेवकाई सेवकहरूको नियुक्ति किन ईश्वरतान्त्रिक नियुक्ति हो?
६ सरल शब्दमा भनौं भने, साँचो ईश्वरतन्त्र भनेको परमेश्वरको शासन हो। यहोवाका साक्षीहरू स्वेच्छाले उहाँको शासनको अधीनमा बस्छन् र ईश्वरीय इच्छा पूरा गर्न एकअर्कालाई सहयोग गर्छन्। (भजन १४३:१०; मत्ती ६:९, १०) मसीही निरीक्षकहरू अथवा प्राचीनहरू र सेवकाई सेवकहरूको नियुक्ति ईश्वरतान्त्रिक हो किनभने यस्ता जिम्मेवार पुरुषहरूलाई पवित्र धर्मशास्त्रमा उल्लेख गरिएअनुसार परमेश्वरको प्रबन्धअनुरूप सिफारिस तथा नियुक्त गरिन्छ। अनि आफ्नो दृश्य संगठन कसरी सञ्चालित हुने हो, त्यो निर्णय गर्ने अधिकार अवश्य “सबैका माथि . . . सर्वोच्च” यहोवामा निहित छ।—१ इतिहास २९:११; भजन ९७:९.
७. यहोवाका साक्षीहरूको संगठन कसरी चल्छ?
७ मसीहीजगत्का थुप्रै धर्महरू विपरीत यहोवाका साक्षीहरू कस्तो प्रकारको आध्यात्मिक परिपाटी परिचालन गर्ने हो, त्यो आफै निर्णय गर्दैनन्। यी निष्कपट मसीहीहरू यहोवाको स्तरअनुसार गर्ने अथक प्रयास गर्छन्। यिनीहरूका निरीक्षकहरू चर्चका केही मण्डली, श्रेणी वा दर्जाद्वारा सञ्चालित विधिअनुसार सेवा गर्न खटिएका होइनन्। यी नियुक्तिहरूमा सांसारिक तत्त्वहरूले हस्तक्षेप गर्न खोजेमा यहोवाका जनहरू त्यससित सम्झौता गर्न इन्कार गर्छन्। “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ” भन्ने प्रथम शताब्दीका प्रेरितहरूले जस्तै यिनीहरू दृढतासाथ आफ्नो अडान कायम गर्छन्। (प्रेरित ५:२९) यसरी, साक्षीहरू हर कुरामा परमेश्वरको अधीनमा बस्छन्। (हिब्रू १२:९; याकूब ४:७) ईश्वरतान्त्रिक प्रणालीअनुसार चल्दा ईश्वरीय अनुमोदन प्राप्त हुन्छ।
८. प्रजातान्त्रिक प्रक्रिया र ईश्वरतान्त्रिक प्रक्रियाबीच के भिन्नता छ?
८ महान् ईश्वरतन्त्र यहोवाका सेवकहरूको हैसियतमा हामी प्रजातान्त्रिक र ईश्वरतान्त्रिक प्रक्रियाहरूबीचको भिन्नतालाई राम्ररी ध्यान दिन्छौं। प्रजातान्त्रिक प्रक्रियाअनुसार समान उम्मेदवारहरू हुन्छन् र तिनीहरूले अक्सर पदको लागि चुनाउ प्रचारप्रसार गर्ने र अन्ततः उम्मेदवारहरूमध्ये एक जनाले अत्यधिक मत ल्याइ विजयी हुनुपर्ने हुन्छ। तर ईश्वरतान्त्रिक नियुक्तिमा यस्तो प्रक्रिया हुँदैन। यस्ता नियुक्तिहरू मानिसबाट हुने होइनन् न त यी कुनै कानुनी संस्थानहरूद्वारा नै हुन्छन्। येशू र यहोवाले आफूलाई “अन्यजातिहरूको प्रेरित” नियुक्त गर्नुभएको हो भन्ने कुरातर्फ संकेत गर्दै पावलले गलातीका मण्डलीलाई तिनको नियुक्ति “नता मानिसहरूका, न कुनै मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मरेकाबाट बिउँताउनु हुने परमेश्वर पिताबाट” भएको हो भनेर बताए।—रोमी ११:१३; गलाती १:१.
पवित्र आत्माद्वारा नियुक्ति
९. नियुक्त मसीही निरीक्षकहरूबारे प्रेरित २०:२८ ले के भन्छ?
९ पावलले एफिससका निरीक्षकहरूलाई तिनीहरू परमेश्वरको पवित्र आत्माद्वारा नियुक्ति भएका हुन् भनी सम्झना गराए। तिनले यसो भने: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।” (प्रेरित २०:२८) परमेश्वरको बगालको गोठालोको जिम्मेवारी पूरा गर्न यी मसीही निरीक्षकहरूलाई निरन्तर पवित्र आत्माको डोऱ्याइ चाहिन्थ्यो। नियुक्त पुरुषले ईश्वरीय स्तरबमोजिम कार्यभार सम्हालेनन् भने, पछि तिनलाई तिनको ओहदाबाट हटाउन पवित्र आत्मा परिचालन हुने थियो।
१०. ईश्वरतान्त्रिक नियुक्तिमा पवित्र आत्माले कसरी महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ?
१० पवित्र आत्माले कसरी महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ? सबैभन्दा पहिले त, आध्यात्मिक निरीक्षकमा हुनुपर्ने योग्यताहरू पवित्र आत्माद्वारै प्रेरित भएर रेकर्ड गरिएका हुन्। तिमोथी र तीतसलाई लेखेको आफ्नो पत्रमा पावलले निरीक्षक तथा सेवकाई सेवकहरूले पूरा गर्नुपर्ने स्तरहरूबारे लेखे। तिनले जम्माजम्मी १६ वटा भिन्नाभिन्नै आवश्यकताहरूबारे उल्लेख गरे। उदाहरणका लागि, निरीक्षकहरू निर्दोष, परहेजी, व्यवस्थित, सुशील, अतिथि सत्कार गर्ने, सिकाउनमा सिपालु र परिवारको उदाहरणीय शिर हुनुपर्थ्यो। तिनीहरू जथाभावी मद्य नपिउने व्यक्ति हुनुपर्थ्यो भने तिनीहरू पैसाको लोभी पनि हुनुहुन्नथ्यो र आत्मसंयमी हुनुपर्थ्यो। सेवकाई सेवक नियुक्त हुन प्रयत्न गरिरहेका पुरुषहरूका लागि पनि यस्तै उच्च स्तर तोकिएको थियो।—१ तिमोथी ३:१-१०, १२, १३; तीतस १:५-९.
११. मण्डलीमा जिम्मेवारी पाउन अघि सर्ने पुरुषहरूले पूरा गर्नैपर्ने केही योग्यता के के हुन्?
११ यी योग्यताहरूको पुनरावलोकनले यहोवाको उपासनामा नेतृत्व लिनेहरूको मसीही आचरण उदाहरणीय हुनैपर्छ भनेर देखाउँछ। मण्डलीमा जिम्मेवारीहरू प्राप्त गर्न अघि सर्ने पुरुषहरूले तिनीहरूमाथि पवित्र आत्माले काम गर्दैछ भन्ने प्रमाण दिनैपर्छ। (२ तिमोथी १:१४) परमेश्वरको आत्माले यी पुरुषहरूमा “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम[जस्ता]” आत्माको फल फलाइरहेको प्रमाण देखिनैपर्छ। (गलाती ५:२२, २३) यी फलहरू सँगीविश्वासी र अरूसितको व्यवहारमा प्रकट भएको हुनुपर्छ। हो, कसै कसैले यी फलहरूमध्ये केही फल प्रशस्त मात्रामा देखाएका हुनसक्छन् भने अरू कतिपयले चाहिं निरीक्षक हुन चाहिने अन्य योग्यताहरूलाई सर्वोत्तम तरिकामा पूरा गरिरहेका हुनसक्छन्। तर जे होस्, निरीक्षक अथवा सेवकाई सेवकमा नियुक्ति पाउने आशा गरिरहेका सबैले आफ्नो सम्पूर्ण जीवनशैलीद्वारा परमेश्वरको वचनले मागेको आवश्यकता पूरा गरिरहेका आध्यात्मिक पुरुषहरू हुन् भनेर देखाएको हुनुपर्छ।
१२. कसलाई पवित्र आत्माले नियुक्त गरेको हो भन्न सकिन्छ?
१२ पावलले अरूलाई आफ्नो अनुकरण गर भनेर निसंकोच आग्रह गर्नसके किनभने तिनी आफैले पनि ‘हामीलाई उहाँको पाइलामा टेकेर हिंड्नलाई एक उदाहरण दिनुहुने’ येशू ख्रीष्टको अनुकरण गरिरहेका थिए। (१ पत्रुस २:२१; १ कोरिन्थी ११:१) यसप्रकार, निरीक्षक वा सेवकाई सेवक नियुक्त भएको बेला धर्मशास्त्रीय आवश्यकताहरू पूरा गर्नसक्नेहरूलाई पवित्र आत्माले नियुक्त गरेको हो भन्न सकिन्छ।
१३. मण्डलीमा सेवा गर्न पुरुषहरूको सिफारिस गर्ने व्यक्तिहरूलाई पवित्र आत्माले कसरी मदत गर्नसक्छ?
१३ निरीक्षकहरू सिफारिस गर्ने र नियुक्त गर्ने सम्बन्धमा पवित्र आत्माले कसरी काम गर्छ, त्यो संकेत गर्ने अर्को तथ्य पनि छ। येशूले यसो भन्नुभयो, ‘स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ।’ (लूका ११:१३) त्यसकारण, मण्डलीमा जिम्मेवारी वहन गर्नसक्ने पुरुषहरूलाई सिफारिस गर्न प्राचीनहरू स्थानीय मण्डलीमा भेला हुँदा मार्ग निर्देशनको लागि यहोवा परमेश्वरसित पवित्र आत्मा माग्छन्। यिनीहरू परमेश्वरको प्रेरित वचनमा उल्लिखित कुराहरूलाई आधार मान्दै सिफारिस गर्छन् र नियुक्ति पाउन उक्त व्यक्तिले गरे नगरेको धर्मशास्त्रीय आवश्यकताहरू पूरा गरेको छ कि छैन बुझ्न पवित्र आत्माले यिनीहरूलाई मदत गर्छ। सिफारिस गर्नेहरू, व्यक्तिको बाह्य रूपरंग, शैक्षिक उपलब्धि वा स्वाभाविक क्षमताहरूद्वारा प्रभावित हुनुहुँदैन। उक्त व्यक्ति आध्यात्मिक व्यक्ति हुन् कि होइनन्, मण्डलीका सदस्यहरू तिनीकहाँ आध्यात्मिक सरसल्लाहका लागि नहिचकिचाई जान सक्छन् कि सक्दैनन् त्यसमा तिनीहरूले मुख्यतः ध्यान दिनैपर्छ।
१४. प्रेरित ६:१-३ बाट हामी के सिक्न सक्छौं?
१४ प्राचीनहरूको निकायले परिभ्रमण निरीक्षकसित मिलेर भाइहरूलाई प्राचीन वा सेवकाई सेवकको रूपमा सेवा गर्न सिफारिस गर्ने भए तापनि यी नियुक्तिहरू वास्तवमा प्रथम शताब्दीमा गरेजस्तै गरिन्छन्। एक पटक, एउटा अत्यन्तै महत्त्वपूर्ण कामका लागि आध्यात्मिक तवरमा सुयोग्य पुरुषहरूको आवश्यकता पर्दा परिचालक निकायले यस्तो निर्देशन दियो: “तिमीहरूमध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका, र नाउँ चलेका सात जना मानिस छान, जसलाई हामी यी काममा नियुक्त गरौं।” (प्रेरित ६:१-३) परिस्थितिसित प्रत्यक्ष तवरमा सम्बन्धित पुरुषहरूले सिफारिस गरे तापनि नियुक्तिचाहिं यरूशलेममा भएका जिम्मेवार पुरुषहरूले नै गरे। आज पनि त्यसै गरिन्छ।
१५. पुरुषहरूलाई नियुक्त गर्ने सम्बन्धमा परिचालक निकाय कसरी विथोलित छ?
१५ यहोवाका साक्षीहरूको परिचालक निकायले शाखा समितिका सम्पूर्ण सदस्यलाई सीधै नियुक्त गर्छ। यस्तो गहन जिम्मेवारी कसले वहन गर्नसक्ला भनेर निर्णय गर्दा परिचालक निकायले येशूका यी शब्दहरू मनमा राख्छ: “धेरै पाउने जुनसुकैबाट पनि धेरै लिइनेछ, औ धेरै सुम्पिएको जुनसुकैसँगबाट मानिसहरूले धेरै माग्नेछन्।” (लूका १२:४८) शाखा समितिका सदस्यहरू छान्नुको अलावा परिचालक निकायले बेथेल प्राचीन तथा परिभ्रमण निरीक्षकहरू पनि नियुक्त गर्छ। तथापि, यसले आफूले गर्नुपर्ने केही नियुक्तिहरू जिम्मेवार भाइहरूलाई पनि गर्न लगाउनसक्छन्। यसको पनि धर्मशास्त्रीय आधार छ।
‘मैले तिमीलाई अह्राएबमोजिम नियुक्त गर्नू’
१६. पावलले किन तीतसलाई क्रेटमा छोडे र यसले आज हुने ईश्वरतान्त्रिक नियुक्तिबारे के संकेत गर्छ?
१६ पावलले आफ्ना सहकर्मी तीतसलाई यसो भने: “मैले तिमीलाई क्रेटमा छोड़ें, कि तिमीले त्यहाँ चाहिंदो कुराहरूको सुधार गर्नू, र मैले तिमीलाई अह्राएबमोजिम हरेक शहरमा धर्म-गुरुहरू नियुक्त ग[र्नू]।” (तीतस १:५) यसरी नियुक्ति गर्ने सन्दर्भमा तीतसले योग्य पुरुषहरूमा हेर्नुपर्ने योग्यताहरूबारे पावलले त्यसपछि लेखे। यसप्रकार आज परिचालक निकायले प्राचीन वा सेवकाई सेवक नियुक्त गर्न शाखा कार्यालयका योग्य भाइहरूलाई आफ्नो प्रतिनिधिको रूपमा खटाउँछ। परिचालक निकायको प्रतिनिधि भएर काम गर्नेहरूले यस्ता नियुक्तिहरू गर्दा धर्मशास्त्रमा उल्लिखित निर्देशन राम्ररी बुझेका अनि ती पालन गरेका छन् कि छैनन् विचार पुऱ्याइएको हुन्छ। यसरी परिचालक निकायकै निर्देशनमा विश्वभरि यहोवाका साक्षीहरूको मण्डलीमा सेवा गर्न सुयोग्य पुरुषहरू नियुक्त हुन्छन्।
१७. शाखा कार्यालयले निरीक्षक तथा सेवकाई सेवकहरूको नियुक्तिको सिफारिस पत्रलाई कसरी सम्हाल्छ?
१७ निरीक्षक तथा सेवकाई सेवकहरूको सिफारिस पत्र वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका शाखा कार्यालयमा पेस गरेपछि अनुभवी पुरुषहरू निर्देशनका लागि परमेश्वरको आत्मामा भर पर्छन्। कुनै मानिसमाथि झट्टै हात राख्न र तिनीहरूको पापमा सहभागी हुन हुँदैहुन्न भनेर यिनीहरूले बुझेको हुँदा यी पुरुषहरू जवाफदेही महसुस गर्छन्।—१ तिमोथी ५:२२.
१८, १९. (क) केही खास नियुक्ति पत्रहरू कसरी पठाइन्छन्? (ख) सिफारिस तथा नियुक्त गर्ने सम्पूर्ण प्रक्रिया कसरी पूरा गरिन्छन्?
१८ कुनै कुनै नियुक्ति, कानुनी संस्थानको आधिकारिक छाप लगाइएको पत्रमार्फत पनि पठाइनसक्छ। मण्डलीमा एकै पटक एकभन्दा बढी भाइहरूलाई नियुक्त गर्नुपर्दा यस्ता पत्रहरू पठाइन्छन्।
१९ यहोवा परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्ट अनि आफ्नो दृश्य पार्थिव माध्यम, “विश्वासी र बुद्धिमान दास” र त्यसको परिचालक निकायमार्फत ईश्वरतान्त्रिक नियुक्ति गर्नुहुन्छ। (मत्ती २४:४५-४७) यस्ता नियुक्ति तथा सिफारिसको सम्पूर्ण प्रक्रिया पवित्र आत्माद्वारा निर्देशित हुन्छन्। पवित्र आत्माद्वारा प्रेरित परमेश्वरको वचनमा योग्यताहरू प्रस्ट पारिएकोले अनि व्यक्तिविशेषको नियुक्तिले आत्माको फल फलाएको प्रमाण दिने भएकोले त्यसो भन्न सकिन्छ। त्यसकारण, सबै नियुक्ति पवित्र आत्माद्वारा गरिएको हो भनेर मानिलिनुपर्छ। प्रथम शताब्दीमा निरीक्षक तथा सेवकाई सेवकहरू ईश्वरतान्त्रिक तरिकामा जसरी नियुक्त हुन्थे, आज पनि त्यसरी नै नियुक्त हुन्छन्।
यहोवाको निर्देशनका लागि कृतज्ञ
२०. हाम्रो भावना पनि भजन १३३:१ मा लिपिबद्ध दाऊदको भावना जस्तै किन छ?
२० आध्यात्मिक समृद्धि तथा राज्य-प्रचार कार्यमा भइरहेको ईश्वरतान्त्रिक वृद्धिको समयमा निरीक्षक र सेवकाई सेवकहरूको नियुक्तिमा मुख्यतः यहोवाको हात भएकोमा हामी उहाँप्रति धन्यवादी छौं। हामीलाई यहोवाका साक्षीहरूबीच परमेश्वरको धार्मिकताको उच्च स्तर कायम राख्न धर्मशास्त्रीय प्रबन्धले मदत गर्छ। यसबाहेक, यी पुरुषहरूको मसीही मनोवृत्ति र अथक प्रयासले हामीलाई यहोवाका सेवकहरूबीच उदेकलाग्दो शान्ति तथा एकता कायम राख्न ठूलो सघाउ पुऱ्याउँछ। अतः भजनरचयिता दाऊदजस्तै हामी पनि यस्तो उद्गार व्यक्त गर्न उत्प्रेरित हुन्छौं: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!”—भजन १३३:१.
२१. आज यशैया ६०:१७ कसरी पूरा भइरहेको छ?
२१ यहोवाको वचन तथा पवित्र आत्माद्वारा उहाँको निर्देशन पाएकोमा हामी साह्रै कृतज्ञ छौं! अनि यशैया ६०:१७ मा लिपिबद्ध यी शब्दहरू साँच्चै अर्थपूर्ण छन्: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुङ्गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” यहोवाका साक्षीहरूबीच ईश्वरतान्त्रिक प्रक्रिया क्रमशः झन् झन् विस्तृत तवरमा लागू हुँदै गइरहेकोले परमेश्वरको पार्थिव संगठनभरि हामीले माथि उल्लिखित आशिष् महसुस गरिरहेका छौं।
२२. केका लागि हामी कृतज्ञ हुनु उचित छ र हामीले के गर्ने दृढ निश्चय गर्नुपर्छ?
२२ हाम्रोमाझ ईश्वरतान्त्रिक प्रबन्ध भएकोमा हामी अत्यन्तै कृतज्ञ छौं। अनि हामी ईश्वरतान्त्रिक तरिकामा नियुक्त निरीक्षक तथा सेवकाई सेवकहरूले गरेको कठिन तर सन्तोषप्रद कार्यको धेरै धेरै मूल्यांकन गर्छौं। हामीलाई आध्यात्मिक सुसमृद्धि र प्रशस्त आशिष् दिनुहुने हाम्रो पिता यहोवाको हामी हार्दिक प्रशंसा गर्छौं। (हितोपदेश १०:२२) त्यसकारण, यहोवाको संगठनसँगसँगै हिंडिरहने दृढ निश्चय गरौं। अनि खास गरी, यहोवाको महान् तथा पवित्र नाउँको आदर, प्रशंसा र महिमाको निम्ति एकताबद्ध भई सेवा गरिरहौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• निरीक्षक तथा सेवकाई सेवकहरूको नियुक्ति प्रजातान्त्रिक नभई ईश्वरतान्त्रिक हो भनेर हामी कसरी भन्न सक्छौं?
• जिम्मेवार मसीही पुरुषहरू कसरी पवित्र आत्माद्वारा नियुक्त हुन्छन्?
• निरीक्षक तथा सेवकाई सेवकहरूको नियुक्तिमा परिचालक निकाय कसरी विथोलित छ?
• ईश्वरतान्त्रिक नियुक्तिको सम्बन्धमा हामी किन यहोवाप्रति कृतज्ञ हुनुपर्छ?
[प्रश्नहरू]
[पृष्ठ १५-मा भएका चित्रहरू]
प्राचीन तथा सेवकाई सेवकहरूले ईश्वरतान्त्रिक नियुक्तिद्वारा सेवा गर्ने विशेषाधिकार पाएका हुन्छन्