परमेश्वरको वचन पालन गर्नेहरू आनन्दित हुन्छन्
परमेश्वरको वचन पालन गर्नेहरू आनन्दित हुन्छन्
यहोवाका साक्षीहरूको “परमेश्वरको वचन पालन गर्ने होओ” जिल्ला अधिवेशन भर्खर भर्खर सुरु हुँदा एक जना वक्ताले यसो भनेका थिए: “थप राज्य गतिविधिको निम्ति हामीलाई तयार पार्न यहोवाले यस अधिवेशनको प्रबन्ध गर्नुभएको हो भनेर हामीलाई पक्का विश्वास छ।” तिनले अझै यसो भने: “हामी आनन्दित पारिवारिक जीवनबारे सिक्न, यहोवाको संगठनसित नजिक रहिरहन, राज्य सेवकाईको निम्ति हाम्रो जोस कायम राख्न र सजग रहन नबिर्सन हामी तयार भएका छौं।”
गत मे २००० को अन्ततिरदेखि परमेश्वरको वचन पालन गर्ने लाखौं व्यक्तिहरू र तिनका मित्रहरू विश्वभरि हजारौं स्थानहरूमा बाइबलको अत्यावश्यक शिक्षा हासिल गर्न जम्मा भए। उक्त तीन दिने अधिवेशनमा तिनीहरूले के सिके?
पहिलो दिन—यहोवाका उपकारहरू नबिर्सने
सुरुको भाषणमा सभापतिले श्रोताहरूलाई अधिवेशनमा एकताबद्ध भएर उपासना गर्दा प्राप्त हुने आशिष् महसुस गर्न आग्रह गरे। सम्पूर्ण श्रोतालाई तिनीहरूको विश्वास बढ्ने अनि यहोवासितको व्यक्तिगत सम्बन्ध बलियो हुने आश्वासन दिइयो।
आनन्दित हुन हामीलाई के आवश्यक पर्छ “आनन्दित परमेश्वर[लाई]” थाह छ। (१ तिमोथी १:११, NW) त्यसकारण, “परमेश्वरको इच्छा पालन गरेर आनन्दित हुनुहोस्” शीर्षकको भाषणले परमेश्वरको वचन बाइबलमा सर्वोत्तम जीवन बिताउने तरिका बताइएको छ भन्ने कुरामा जोड दियो। (यूहन्ना १३:१७) धेरै पुराना यहोवाका साक्षीहरूले अन्तरवार्तामा भिन्नाभिन्नै परिस्थितिमा पनि परमेश्वरको इच्छा गरिरहँदा त्यसले हाम्रो जीवनलाई कसरी अझ अर्थपूर्ण बनाउँछ, त्यो बताए। त्यसपछि, “यहोवाको भलाइको कारण हर्षित हुनुहोस्” शीर्षकको भाषणमा “परमेश्वरको देखासिकी गर्ने” मसीहीहरू आफ्नो जीवनमा “सबै भलाइ” गर्न चाहन्छन् भनेर जोड दिइयो। (एफिसी ५:१, ९) यसो गर्ने एउटा उत्कृष्ट तरिका सुसमाचार प्रचार गर्नु र चेला बनाउनु हो।—भजन १४५:७.
“अदृश्यलाई देखेझैं गरी स्थिर रहिरहनुहोस्” शीर्षक भएको छलफलले हामीलाई बलियो विश्वासले अदृश्य परमेश्वरलाई “देख्न” कसरी मदत गर्छ, त्यसबारे व्याख्या गऱ्यो। आध्यात्मिक व्यक्तिहरू परमेश्वरका गुणहरूलगायत हामी के विचार गर्छौं त्योसमेत जान्नसक्ने उहाँको क्षमताप्रति कति सजग छन्, त्यो पनि वक्ताले वर्णन गरे। (हितोपदेश ५:२१) अन्तरवार्ता दिनेहरूले बलियो विश्वास विकास गर्न र आफ्नो जीवनमा आध्यात्मिक कुरालाई पहिलो स्थान दिन के कस्ता कदम चाले, त्यो बताए।
“अद्भुत कार्यहरू गर्नुहुने यहोवाको प्रशंसा गर्नुहोस्” शीर्षकको मुख्य भाषणपछि बिहानको कार्यक्रम सिद्धियो। यसले श्रोताहरूलाई हामी यहोवाबारे जति धेरै सिक्छौं उहाँ अद्भुत कार्यहरू गर्नुहुने परमेश्वर हुनुहुन्छ भनी प्रशंसा गर्ने कारणहरू पनि उति नै पाउँछौं भनेर मूल्यांकन गर्न मदत गऱ्यो। वक्ताले यसो भने:
“परमेश्वरका उदेकलाग्दा सृष्टिका साथै अहिले हाम्रोलागि गर्नुभएका सबै अद्भुत कार्यहरू विचार गर्दा मूल्यांकनले ओतप्रोत भएको हाम्रो हृदय उहाँको महिमा गर्न उत्प्रेरित हुन्छ। बितेका समयमा मानिसजातिको खातिर गर्नुभएका चमत्कारपूर्ण कामहरूमाथि मनन गर्दा हामी उहाँको प्रशंसा गर्न चाहन्छौं। साथै, यहोवाले भविष्यमा गर्नुहुने राम्रा कार्यहरूको प्रतिज्ञाबारे विचार गर्दा हामी आफ्नो मूल्यांकन जाहेर गर्ने तरिकाहरू खोज्न थाल्नेछौं।”“भलाइ गर्नमा हरेस नखानुहोस्” शीर्षकको भाषणद्वारा अपराह्नको कार्यक्रम सुरु गरियो र यसले सम्पूर्ण श्रोताहरूलाई यस संसारको दबाउले वर्तमान रीतिरिवाजको अन्त नजिकै भएको कुरा पक्का गराउँछ भनी स्मरण गरायो। (२ तिमोथी ३:१) तथापि, हरेस नखाई हामीले आफू “आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका हौं” भन्ने प्रमाण दिनसक्छौं।—हिब्रू १०:३९.
पारिवारिक जीवनबारे बाइबलबाट कस्तो सल्लाह दिइयो? “परमेश्वरको वचनप्रति आज्ञाकारी हुनुहोस्” भन्ने गोष्ठीको “विवाह जोडी रोज्ने सन्दर्भमा” भाषणबाट सुरु भयो। विवाहयोग्य जोडी खोज्नु मानिसहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णयहरूमध्ये एक हो। यसकारण, मसीहीहरू परिपक्व नहोउञ्जेल पर्खन्छन् र “प्रभुमा मात्र” विवाह गर्छन्। (१ कोरिन्थी ७:३९) गोष्ठीको अर्को भागमा यहोवा सम्पूर्ण मसीही परिवारहरू आध्यात्मिक तवरमा बलियो समूह होस् भन्ने इच्छा गर्नुहुन्छ भनेर छलफल गरिनुका साथै यसका लागि व्यावहारिक सुझाउहरू पनि दिइयो। कार्यक्रमको अन्तिम भागमा आमाबाबु आफैले परमेश्वरलाई प्रेम गरेका छन् भने छोराछोरीलाई पनि परमेश्वरलाई माया गर्न सिकाउन सकिन्छ भनेर सम्झाइएको थियो।
“हल्ला र निन्दाचर्चाबाट होसियार रहनुहोस्” भन्ने भाषणमा प्रस्तुत गरिएका बुँदाहरूले आश्चर्यलाग्दा घटनाहरू हुन्छन् तर सनसनीपूर्ण रिपोर्टहरू प्राप्त हुँदा धोखा खाने होइन तर बुद्धिमान् हुनुपर्छ भनेर बुझ्न मदत गऱ्यो। मसीहीहरू आफूले जानेको सत्य अर्थात् परमेश्वरको सुसमाचार बताउनमा नै सन्तुष्ट छन्। यसपछि दिइएको भाषण, “ ‘शरीरमा एक किसिमको छेस्को’ विरुद्ध संघर्ष” थुप्रैले सान्त्वनादायी तथा प्रोत्साहनदायी पाए। हामीले सामना गर्नुपर्ने थुप्रै परीक्षाको बावजूद यहोवाले हामीलाई उहाँको पवित्र आत्मा, वचन तथा हाम्रो भ्रातृत्वद्वारा शक्तिशाली तुल्याउनुहुन्छ भनेर बुझ्न उक्त भाषणले मदत गऱ्यो। यस सन्दर्भमा प्रेरित पावलको व्यक्तिगत अनुभवबाट निकै प्रोत्साहन पाइयो।—२ कोरिन्थी १२:७-१०; फिलिप्पी ४:११, १३.
“यहोवाको संगठनसँगसँगै अघि बढ्ने” भाषणपछि पहिलो दिनको कार्यक्रम अन्त भयो। उक्त भाषणमा परमेश्वरको संगठन विशेष गरी अघि बढेका हिब्रू ३:१४) जवाफ स्पष्ट थियो। त्यसपछि तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! शीर्षकको नयाँ पुस्तिका विमोचन गरियो। यो पुस्तिका शैक्षिक योग्यता वा पढ्ने क्षमता कम भएका व्यक्तिविशेषलाई यहोवाबारे सिकाउन शक्तिशाली औजार साबित हुनेछ।
तीन क्षेत्रहरू विचार गरिए। ती हुन्: (१) यहोवाबाट पाइने आध्यात्मिक ज्योति झन् झन् चहकिलो हुँदै जानु, (२) परमेश्वरले हामीलाई सुम्पनुभएको सेवकाई र (३) संगठनात्मक प्रक्रियामा भएका सामयिक छाँटकाँटहरू। त्यसपछि वक्ताले विश्वस्त हुँदै यसो भने: “हामी भावी प्रत्याशाहरूबारे उत्साहित छौं।” तिनले सोधे: “हाम्रो सुरुको विश्वासलाई अन्तसम्मै थामिराख्न के हामीसित पर्याप्त कारण छैन र?” (दोस्रो दिन—परमेश्वरका उदेकलाग्दा कार्यहरूबारे घोषणा गरिरहनुहोस्
दैनिक पद छलफल गरिसकेपछि अधिवेशनको दोस्रो दिनको कार्यक्रम “परमेश्वरको वचनका सेवकहरू” गोष्ठी भाषणबाट सुरु भयो। पहिलो भागले हाम्रो विश्वव्यापी प्रचारकार्यले हाल पाएको सफलतामाथि ध्यानकेन्द्रित गऱ्यो। तथापि, हामीले लगनशील भई गरिरहेको यस कार्यलाई राज्य सन्देश सुन्न इन्कार गर्ने थुपै मानिसले चुनौती दिएका छन्। भावशून्यता वा विरोध जस्ता चुनौतीहरूको सामना गर्न आफ्नो मन तथा हृदयलाई बलियो पारेर सेवकाईमा आफ्नो आनन्द कायमै राख्न के के गरे, त्यसबारे थुप्रै पुराना प्रकाशकहरूले बताए। मानिसहरू जतासुकै होऊन् यहोवाका साक्षीहरू औपचारिक तथा अनौपचारिक दुवै तरिकामा तिनीहरूलाई भेट्ने प्रयास गर्छन् भनेर दोस्रो भागले अधिवेशनमा उपस्थित श्रोताहरूलाई स्मरण गरायो। अनि अन्तिम भागले सम्पूर्ण मसीहीले आफ्नो व्यक्तिगत सेवकाई विस्तार गर्नसक्ने विस्तृत तरिकाहरू व्याख्या गऱ्यो। अप्ठेरो र आफैलाई इन्कार गर्नु परे तापनि हामीले परमेश्वरको राज्यलाई प्राथमिकता दिनुपर्छ भनेर वक्ताले जोड दिए।—मत्ती ६:१९-२१.
भौतिक चीजबीजको अतृप्त लालसाले भरिएको भक्तिहीन संसारमा हामी बाँचिरहेको हुनाले “आत्म-सन्तुष्टता सहितको ईश्वरीय भक्ति विकास गर्नुहोस्” विषयको भाषण एकदमै समसामयिक साबित भयो। वक्ताले १ तिमोथी ६:६-१०, १८, १९ लाई आधार मान्दै केही टिप्पणी गरे। त्यसपछि तिनले ईश्वरीय भक्तिले मसीहीहरूलाई गलत अनि दुःखदायी मार्गतर्फ धकल्न सक्ने पैसाको लोभबाट कसरी जोगाउँछ त्यसबारे बताए। हाम्रो आर्थिक अवस्था जस्तोसुकै होस्, हाम्रो आनन्द यहोवासितको सम्बन्ध हो र हाम्रो आध्यात्मिक सुस्वास्थ्यमा भर पर्छ भनेर तिनले जोड दिए। “हाम्रो कारण परमेश्वर शर्माउनु नपरोस्” शीर्षकको भाषणमा प्रस्तुत गरिएका बुँदाहरूले थुप्रैलाई प्रभाव पारेको थियो। यहोवाले आफ्ना विश्वासी साक्षीहरूलाई कहिल्यै बिर्सनुहुन्न भनेर जोड दिइएको थियो। “हिज, आज, . . . सधैंभरि एकसमान” हुनुहुने येशू ख्रीष्टको अद्वितीय उदाहरणले थुप्रैलाई धैर्यतासाथ निरन्तर जीवनको दौड दगुरिरहन मदत गर्नेछ।—हिब्रू १३:८.
बिहानको कार्यक्रमको अन्तमा बप्तिस्मा भाषण थियो र यो यहोवाका साक्षीहरूको ठूलठूला जमघटहरूको विशेषता नै हो। नयाँ समर्पित व्यक्तिहरूले येशूको पदचिह्नमा हिंड्दै बप्तिस्मा लिएको हेर्न पाउनु कत्रो आनन्द! (मत्ती ३:१३-१७) यो कदम चाल्ने सबैले परमेश्वरको वचन पालन गर्ने व्यक्तिको हैसियतमा थुप्रै कुरा प्राप्त गरिसकेका छन्। यसबाहेक, बप्तिस्मा लिएपछि तिनीहरू सुसमाचारका सेवकहरू नियुक्त हुन्छन् र यहोवाको नाउँ पवित्र गर्ने काममा भाग लिन पाएकोमा निकै आनन्दित हुन्छन्।—हितोपदेश २७:११.
“ ‘खराब र असल छुट्याउनालाई’ परिपक्वता चाहिन्छ” भाषणमा सुस्पष्ट चेताउनी दिइयो। सही र गलतसम्बन्धी सांसारिक स्तर अत्यन्तै अपर्याप्त छ। त्यसकारण, हामीले यहोवाको स्तरमा भर पर्नु आवश्यक छ। (रोमी १२:२) सबैलाई परमेश्वरका तौरतरिकाहरूको सही ज्ञान लिन र परिपक्वतातर्फ बढ्न प्रोत्साहित गरियो। त्यसपछि, आफ्नो ज्ञानेन्द्रियको अभ्यास गरेर हामी “खराब र असल छुट्याउन” सक्ने हुनेछौं।—हिब्रू ५:११-१४.
त्यसपछिको समय “आध्यात्मिकता विकास गर्न कडा मेहनत गर्नुहोस्” गोष्ठी भाषणको थियो। साँचो मसीहीहरूले आध्यात्मिकता विकास गर्ने र कायम राख्ने महत्त्व बुझेका छन्। यसमा पढ्न, अध्ययन गर्न र मनन गर्न अथक प्रयास गर्नु समावेश छ। (मत्ती ७:१३,१४; लूका १३:२४) आध्यात्मिक व्यक्तिहरू “सारा प्रार्थना र अन्तरबिन्ती[मा]” पनि लाग्छन्। (एफिसी ६:१८) हाम्रा प्रार्थनाहरूले हाम्रो विश्वास, समर्पण, आध्यात्मिक स्तरको गहिराइ प्रकट गर्नुका साथै हामी के कुरालाई “बढ्ता महत्त्वपूर्ण कुरा” ठान्छौं, त्यो पनि प्रकट गर्छ भनेर हामीले बुझ्यौं। (फिलिप्पी १:१०, NW) आज्ञाकारी बालकले दयालु पितासित राम्रो सम्बन्धको आनन्द उठाएजस्तै यहोवासित न्यानो तथा मायालु सम्बन्ध विकास गर्ने आवश्यकतामाथि पनि जोड दिइयो। हामीसित साँचो धर्म छ—बस् त्यति मात्र होइन। हामी ‘परमेश्वरलाई देखेझैं’ गरी आफ्नो विश्वासलाई बलियो तुल्याउन पनि चाहन्छौं।—हिब्रू ११:६, २७.
“तपाईंको प्रगति प्रकट गर्नुहोस्” भाषणमा आध्यात्मिक उन्नतिबारे अझै छलफल गरियो। यस्तो प्रगति गर्नुपर्ने तीनवटा क्षेत्र छलफल गरिए: (१) ज्ञान, समझ तथा बुद्धिमा बढ्नु, (२) परमेश्वरको आत्माको फल खेती गर्नु र (३) पारिवारिक सदस्यको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु।
दिनको अन्तिम भाषण “परमेश्वरको प्रगतिशील ज्योतिसँगसँगै हिंड्ने”-मा नयाँ पुस्तक, आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड-को पहिलो खण्ड विमोचन गरिंदा अधिवेशनमा उपस्थित श्रोताहरू रमाए। बाइबल पुस्तक यशैयाको एक एक अध्याय गर्दै छलफल गरिएका दुई खण्डे पुस्तकमध्ये यो पहिलो खण्ड थियो। वक्ताले भने, “यशैयाको पुस्तकमा आज हाम्रोनिम्ति सन्देश छ। हो, यशैयाका थुप्रै भविष्यवाणी यशैयाको दिनमा नै पूरा भए। . . . तथापि, यशैयाका थुप्रै भविष्यवाणी आज पनि पूरा भइरहेका छन् भने अरू कतिचाहिं परमेश्वरको नयाँ संसारमा पूरा हुनेछन्।
तेस्रो दिन—यहोवाको वचन पालन गर्ने हुनुहोस्
अधिवेशनको अन्तिम दिन दैनिक पदको छलफलबाट सुरु भयो। त्यसपछि, “परमेश्वरको इच्छाअनुसार गर्नेहरूलाई सपन्याहको अर्थपूर्ण भविष्यवाणी” गोष्ठी भाषण दिइयो। पथभ्रष्ट यहूदाको समयमा गर्नुभएजस्तै यहोवाले अहिले उहाँको चेताउनी सुन्न इनकार गर्नेहरूमाथि विपत्ति ल्याउनुहुनेछ भनेर यो तीन खण्डे गोष्ठी भाषणले प्रस्ट्यायो। परमेश्वर विरुद्ध पाप गरेकोले तिनीहरू असहाय अन्धाजस्तै भौंतारिनेछन् र छुटकारा पाउनेछैनन्। तथापि, साँचो मसीहीहरू विश्वासी भई परमेश्वरको खोजी गर्छन् र तिनीहरू परमेश्वरको रिसको दिनमा जोगिनेछन्। यसबाहेक, तिनीहरूले अहिले पनि थुप्रै आशिष्को आनन्द उठाइरहेका छन्। तिनीहरूले बाइबल सच्चाइको “शुद्ध भाषा” बोल्ने ठूलो सपन्याह ३:९) वक्ताले भने: “शुद्ध भाषा बोल्नु भनेको सच्चाइलाई विश्वास गर्नु अनि अरूलाई सिकाउनु मात्र होइन तर हाम्रो जीवन यहोवाको नियम र सिद्धान्तअनुरूप बिताउनु पनि हो।”
मौका पाएका छन्। (अधिवेशनमा आएका श्रोताहरू “हाम्रो दिनको लागि चेताउनीमूलक उदाहरण” नाटक उत्सुकतासाथ पर्खिरहेका थिए। नाटकीय भेषभूषासहितको यो नाटकमा, प्रतिज्ञा गरिएको देशको सिमानामा हजारौं इस्राएलीहरूले कसरी यहोवालाई बिर्से अनि मूर्तिपूजक आइमाईहरूको बहकाउमा परेर व्यभिचार तथा मूर्तिपूजामा फसे र आफ्नो ज्यान गुमाए भनेर देखाइएको थियो। प्रमुख पात्रहरूमध्ये एक, यामीन, सुरुमा मोआबी आइमाईको प्रलोभन र यहोवाप्रतिको भक्तिबीच कुनलाई छान्ने भनेर दोधारमा परेका थिए। अधर्मी जिम्रीको गलत तर्क र छली विचारधारालाई विशिष्ट तरिकामा प्रस्तुत गरिएको थियो भने पीनहासको विश्वास र भक्तिलाई पनि त्यसरी नै प्रस्तुत गरिएको थियो। यहोवालाई माया नगर्नेहरूसित घनिष्ठ हुँदा आइपर्ने खतरा जीवन्त तरिकामा प्रस्तुत गरिएको थियो।
नाटकले यसपछिको भाषण, “सुनेर बिर्सनेहरू नहुनुहोस्”-को निम्ति राम्रो पृष्ठभूमि तयार पारेको थियो। नयाँ संसारको सम्पदा पाउन हामी योग्यका छौं कि छैनौं पक्का गर्न यहोवाले हाम्रो आज्ञाकारीता जाँच्नुहुन्छ भनेर १ कोरिन्थी १०:१-१० को विश्लेषणले देखायो। शारीरिक इच्छाको वशमा परेर कसै कसैले आध्यात्मिक लक्ष्यलाई अहिले पनि निसासिदिएर नयाँ रीतिरिवाजको बाटो बन्द गरेका छन्। ‘यहोवाको विश्राममा’ पस्ने मौका नगुमाउन सबैलाई प्रोत्साहित गरियो।—हिब्रू ४:१.
जन भाषणको विषय थियो, “परमेश्वरका अद्भुत कार्यहरूलाई किन ध्यान दिनुपर्छ।” यहोवाका “अद्भुत कार्यहरू[ले]” हामी वरपरको भौतिक सृष्टिमा प्रकट भएको उहाँको बुद्धि तथा शक्ति प्रकट गर्छ। (अय्यूब ३७:१४) यहोवाले सोध्नुभएका केही प्रश्नहरू शक्तिशाली सृष्टिकर्ता कति शक्तिमान् हुनुहुन्छ भनेर अय्यूबलाई बुझाउन पर्याप्त थियो। आफ्ना विश्वासी सेवकहरूका लागि यहोवाले भविष्यमा पनि “अद्भुत कार्यहरू” गर्नुहुनेछ। वक्ताले यसो भन्दै भाषण टुंग्याए: “यहोवाका अद्भुत कामहरूमा ध्यान दिनुपर्ने हामीसित प्रशस्त कारण छ। जस्तै, उहाँले विगतमा के गर्नुभयो, अहिले के गरिरहनुभएको छ अनि उहाँले निकट भविष्यमा के गर्ने प्रतिज्ञा गर्नुभएको छ।”
उक्त हप्ताको प्रहरीधरहरा-को अध्ययन लेखको सारांशपछि अधिवेशनको अन्तिम भाषण प्रस्तुत गरियो। “परमेश्वरको वचन पालकको हैसियतमा प्राप्त सुअवसरहरूको उच्च कदर गर्नुहोस्” शीर्षकको उत्साहवर्धक भाषणमा परमेश्वरको वचन पालन गर्न पाउनु ठूलो सम्मान हो भनेर जोड दिइएको थियो। (याकूब १:२२) श्रोताहरूलाई हामीले परमेश्वरको वचन पालन गर्न पाएको विशेषाधिकार अनुपम छ र जति हामी वचन पालन गर्छौं, त्यति नै हाम्रो कदर पनि बढ्नेछ भनेर स्मरण गराइयो। सम्पूर्ण श्रोताहरू परमेश्वरको वचन पालन गर्ने आफ्नो इच्छालाई सकेसम्म बढाउन यस जिल्ला अधिवेशनमा प्रस्तुत लाभदायी कुराहरूबाट प्रोत्साहित भए। यस्तो अथाह आनन्द महसुस गर्ने एक मात्र सम्भव तरिका यो मात्रै हो!
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! a
शुक्रबार दिउँसो तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! शीर्षकको नयाँ पुस्तिका विमोचन गरिएको थियो। विश्वका थुप्रै ठाउँहरूमा बाइबलको सरल शिक्षा अत्यावश्यक भएकोले यो पुस्तिका त्यही आवश्यकता पूरा गर्न प्रयोग गरिनेछ। सीमित शैक्षिक तथा पढाइ भएका मानिसहरूका लागि यो पुस्तिका ठूलो आशिष् साबित हुनेछ।
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड
आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड-को दुई खण्डे पुस्तकमा पहिलो खण्ड पाउँदा अधिवेशनमा उपस्थित भएकाहरू रोमाञ्चित भएका थिए। हाम्रो समयमा यशैयाको भविष्यवाणीको व्यावहारिक महत्त्वबारे यस प्रकाशनले जोड दिएको छ।
[फुटनोट]
a हाल यो पुस्तिका भारतमा उपलब्ध छैन