यहोवाका साक्षीहरू हो—पूरा निश्चयताका साथ अघि बढ्नुहोस्!
यहोवाका साक्षीहरू हो—पूरा निश्चयताका साथ अघि बढ्नुहोस्!
वार्षिक सभाको रिपोर्ट
शंका अनि उपशंकाको यस जमानामा यहोवाका साक्षीहरू पूरा निश्चयी भएका मसीहीहरूको रूपमा चिनिन्छन्। यहोवाका साक्षीहरूको जर्सी सिटी, न्यु जर्सी, सम्मेलन भवनमा अक्टोबर ७, २००० का दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सलभेनियाको वार्षिक सभामा यो कुरा स्पष्ट पारिएको थियो। a
यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य र यस सभाका सभापति जोन इ. बारले सभा सुरु गर्दै यसो भने: “पृथ्वीका अरबौं मानिसहरूमध्ये अहिले परमेश्वरका प्रिय पुत्र ख्रीष्ट येशू, स्वर्गको सिंहासनमा बिराजमान हुनुहुन्छ र शत्रुहरूबीच राज्य गर्दै हुनुहुन्छ भनेर हामीलाई मात्र थाह छ र हामी मात्र त्यो विश्वास गर्छौं।” यसरी पूरा निश्चयी हुनसक्ने प्रमाण विश्वभरिका छवटा रोमाञ्चकारी रिपोर्टले प्रस्तुत गरेको थियो।
हाइटीमा बाइबल सच्चाइद्वारा प्रेतवादमाथि विजय
हाइटीमा प्रेतवाद निकै प्रचलित छ। शाखा समीतिका संयोजक जन नर्मनले भने, “अक्सर मानिसहरू आफ्नो सुरक्षाको निम्ति तन्त्रमन्त्रमा विश्वास गर्छन्।” दुर्घटनामा आफ्नो खुट्टा गुमाउनुपर्दा एक जना झाँक्रीलाई त्यस्तो तन्त्रमन्त्रमाथि शंका लाग्न थालेछ। ‘आत्माहरूले मलाई जोगाउने भए मलाई किन यस्तो भयो त?’ तिनी अचम्ममा परे। यहोवाका साक्षीहरूले अरू व्यक्तिहरूलाई जस्तै यस व्यक्तिलाई पनि सच्चाइ सिकाए र प्रेतवादको पन्जाबाट मुक्त गराए। अप्रिल १९, २००० मा ख्रीष्टको मृत्युको स्मरणार्थमा भएको उपस्थिति संख्या यस मुलुकका कुल प्रकाशकहरूको संख्याभन्दा चार गुणा बढी भएकोले हाइटीमा निकै उन्नति हुने सम्भावना देखिन्छ।
कोरियाको विस्तृत इलाकामा जोस
कोरियामा यहोवाका ४० प्रतिशत जति साक्षीहरू पूर्ण-समय सेवकाईमा लागेका छन्। शाखा समीतिका संयोजक मिल्टन ह्यामिल्टनले भने, “उद्घोषकहरूको यो विशाल सेनाले गर्दा ४७० लाख मानिसहरू भएको हाम्रो इलाकालाई हर महिना एक चोटि ढाक्न सकिएको छ।” सांकेतिक भाषाका मण्डलीहरूको उल्लेखनीय वृद्धि भइरहेका छन्। एउटा सांकेतिक भाषी क्षेत्रमा ८०० बाइबल अध्ययनहरू भइरहेका छन्। औसतमा यो संख्या एक प्रकाशक बराबर एक अध्ययन हुन्छ। दुःखको कुरा जवान भाइहरू अझै पनि आफ्नो तटस्थताको कारण थुनामा पर्छन्। यी विश्वासी मसीही भाइहरूलाई झ्यालखानाका अख्तियारवालाहरूले
राम्रो व्यवहार गरेका छन् र यिनीहरूलाई अक्सर भरोसा गर्न सकिने व्यक्तिहरूलाई दिइने कामहरू दिइन्छ।मेक्सिकोको बढ्दो आवश्यकता पूरा गर्दै
गत अगस्त २००० मा मेक्सिकोका ५,३३,६६५ राज्य उद्घोषकहरूको शिखर संख्याले क्षेत्र सेवकाई रिपोर्ट दियो। यो संख्याभन्दा तीन गुणा बढी मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित भएका थिए। शाखा समीतिका संयोजक रबर्ट ट्रेसीले यसो भने: “यस वर्ष २४० वटा थप राज्यभवन निर्माण गर्ने हाम्रो योजना छ।” तिनी अझै भन्छन्, “तैपनि, हामीलाई अझ धेरै भवन चाहिएका छन्।”
मेक्सिकोमा यहोवाका जवान साक्षीहरू उदाहरणीय छन्। एक जना जवान व्यक्तिको सम्बन्धमा क्याथोलिक पादरीले यसो भने: “मेरो चर्चमा आउनेहरूमध्ये एक जना मात्र यिनी जस्तो भएको भए कति राम्रो हुन्थ्यो। यी मानिसहरूको उत्कट इच्छा तथा बाइबलको बुद्धिमानी प्रयोगका कारण म यिनीहरूको सम्मान गर्छु। आफ्नो ज्यानको बाजी लगाउनुपरे तापनि यिनीहरूले परमेश्वरको पक्ष छोडेका छैनन्।”
सियेरा लियोनको अस्थिर अवस्थामा समग्रता
अप्रिल १९९१ देखि सियेरा लियोनमा युद्ध चर्केदेखि यता हजारौं मानिसहरू मारिएका छन्, घाइते वा अपांग भएका छन्। “युद्ध तथा कठिन अवस्थाले मानिसहरूमाथि गहिरो असर पारेको छ” शाखा समीतिका संयोजक बिल कावनले रिपोर्ट गरे। “पहिले पहिले हाम्रो सन्देशप्रति भावशून्यता व्यक्त गर्ने मानिसहरूले अहिले निकै चासो लिएर सुन्न थालेका छन्। निम्तो नपाए तापनि मानिसहरू हाम्रो राज्यभवनमा पहिलो पटक आउनु अचम्मको कुरा होइन। भाइहरूलाई अक्सर बाटोमै रोकेर बाइबल अध्ययन गर्न आग्रह गरिएको छ।” अस्थिरताका बावजूद सियेरा लियोनमा राज्य-प्रचार कार्यले लगातार फल फलाइरहेको छ।
दक्षिण अफ्रिकामा बृहत् निर्माण कार्य
हाल दक्षिण अफ्रिकाको निरीक्षणमा रहेको इलाकामा हजारौं राज्यभवन आवश्यक परेका छन्। सयौं भवन त निर्माण भइसकेका छन्। “पहिले पहिलेजस्तो सानो झुपडी वा रूखमुनि भेला हुनुको साटो अहिले भाइहरू उपयुक्त आसनहरूसहितको उचित ठाउँहरूमा भेला हुन सकिरहेका छन्” भनी शाखा समीतिका सदस्य जन किकटले उल्लेख गरे। “यी राज्यभवनहरूमध्ये प्रायजसो साधारण भए तापनि वरपरका घरहरूको तुलनामा अत्यन्तै राम्रा देखिन्छन्। कतै कतै त राज्यभवन बनाइसकेको वर्षदिनभित्रै मण्डलीको संख्या दुई गुणाभन्दा बढी भएको पाइयो।”
युक्रेनमा साक्षीहरूको नयाँ पुस्ता
सन् २००० सेवा वर्षमा यस मुलुकमा प्रकाशकहरूको संख्या १,१२,७२० पुगेर नयाँ शिखर संख्या कायम भयो। यीमध्ये ५०,००० भन्दा बढीले त गत पाँच वर्षभित्र बाइबल सच्चाइ सिकेका थिए। “साँच्चै, यहोवाले आफ्नो नाउँ उद्घोषणा गर्न लगाउन नयाँ अनि युवा पुस्तालाई उठाउनुभएको छ!” शाखा समीतिका संयोजक जन डिडरले भने। तिनी अझै यसो भन्छन्, “गत दुई वर्षमा हामीले पाँच करोड पत्रिकाहरू प्रस्तुत गऱ्यौं र यो हाम्रो मुलुकको जनसंख्या बराबर छ। प्रत्येक महिना हामी जिज्ञासु व्यक्तिहरूबाट थप जानकारीका लागि पठाइएका औसतन एक हजार जति चिठी पाउँछौं।”
कार्यक्रमका अन्य रोमाञ्चकारी पक्षहरू
परिचालक निकायका सदस्य दानियल सिडलिकले एकाग्रचित्त गराउने भाषण दिएका थिए। यस पत्रिकाको “कानुनी संस्थानबाट परिचालक निकाय कसरी फरक छ” शीर्षकको लेख त्यही जानकारीमूलक प्रस्तुतिमा आधारित छ।
परिचालक निकायका थिओडर जारासले “निरीक्षकहरू तथा सेवकाई सेवकहरू ईश्वरतान्त्रिक तरिकामा नियुक्त हुन्छन्” शीर्षकको विचारणीय भाषण प्रस्तुत गरे। यस पत्रिकामा भएका लेखहरूमध्ये एउटा यही भाषणमा आधारित छ।
परिचालक निकायका सदस्य, डेभिड स्प्लेनको सन् २००१ का लागि वार्षिक पदमा आधारित रोमाञ्चकारी भाषण पनि यस वार्षिक सभामा समावेश थियो। तिनको भाषण प्रेरित पावलका यी शब्दहरूमा आधारित थिए: “परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका होओ।” (कलस्सी ४:१२) विश्वासी हुँदै परमेश्वरको राज्यको सुसमाचार पृथ्वीभरि प्रचार गर्दा विश्वभरिका यहोवाका साक्षीहरू ती शब्दहरूअनुरूप गर्न कटिबद्ध छन्।—मत्ती २४:१४.
[फुटनोट]
a उक्त कार्यक्रम टेलिफोनद्वारा अन्य स्थानहरूमा पनि सुन्न सकिने भएकाले उपस्थिति संख्या जम्मा १३,०८२ थियो।