सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको संगठनसँगसँगै अघि बढ्‌नुहोस्‌

यहोवाको संगठनसँगसँगै अघि बढ्‌नुहोस्‌

यहोवाको संगठनसँगसँगै अघि बढ्‌नुहोस्‌

“अब शान्तिका परमेश्‍वर, जसले . . . असल कुरामा उहाँका इच्छाबमोजिम गर्नालाई येशू ख्रीष्टद्वारा तिमीहरूलाई सिद्ध पारून्‌।”–हिब्रू १३:२०, २१.

१. विश्‍वको जनसंख्या कति छ र कुन कुन धर्ममा कति कति जना छन्‌?

 सन्‌ १९९९ मा पृथ्वीको जनसंख्या छ अरब पुग्यो! द वर्ल्ड आलमन्याक-ले संकेत गरेअनुसार तीमध्ये १,१६,५०,००,००० मुसलमान, १,०३,००,००,००० रोमन क्याथोलिक, ७६,२०,००,००० हिन्दू, ३५,४०,००,००० जना बौद्धमार्गी, ३१,६०,००,००० प्रोटेस्टेन्ट र २१,४०,००,००० अर्थोडक्स छन्‌।

२. आज व्याप्त धार्मिक अवस्थाबारे के भन्‍न सकिन्छ?

आज व्याप्त धार्मिक विभाजन र गोलमाललाई विचार गर्दा के यी लाखौं व्यक्‍तिहरूले परमेश्‍वरको इच्छाबमोजिम गरिरहेका हुनसक्छन्‌? अहँ सक्दैनन्‌, “किनकि . . . परमेश्‍वर गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी १४:३३) अर्कोतिर यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय भ्रातृत्वबारे चाहिं के भन्‍न सकिन्छ? (२ पत्रुस २:१७) होसियारीसाथ गरिएको जाँचपड्‌तालले ‘शान्तिका परमेश्‍वरले तिनीहरूलाई असल कुरामा उहाँको इच्छाबमोजिम गर्नलाई सिद्ध पार्नुहुन्छ’ भनेर प्रमाणित भएको छ।—हिब्रू १३:२०, २१.

३. सा.यु. ३३ पेन्तिकोसमा यरूशलेममा के भयो र किन?

निस्सन्देह, यहोवाका साक्षीहरूसित संगत गर्नेहरूको संख्याले तिनीहरूले ईश्‍वरीय अनुमोदनको आनन्द उठाइरहेका छन्‌ भनेर निर्धारण गर्दैन न त संख्यामै यहोवा ध्यान दिनुहुन्छ। उहाँले इस्राएललाई छान्‍नुको कारण तिनीहरू “संख्यामा अरू जातिहरूभन्दा धेरै भएकोले” होइन। तिनीहरू वास्तवमा “सबै जातिहरूभन्दा कम” थिए। (व्यवस्था ७:७) तर इस्राएल वफादार नभएकोले सा.यु. ३३, पेन्तिकोसमा यहोवाले आफ्नो अनुग्रह र आशिष्‌ येशू ख्रीष्टका अनुयायीहरू मिलेर बनेको नयाँ मण्डलीमाथि बर्साउनुभयो। तिनीहरू यहोवाको पवित्र आत्माद्वारा अभिषिक्‍त भए र परमेश्‍वर अनि ख्रीष्टबारे सत्य कुरा जोसका साथ अरूलाई घोषणा गर्दै हिंडे।—प्रेरित २:४१, ४२.

निरन्तर अघि बढ्‌छ

४. प्रारम्भिक मसीही मण्डली निरन्तर अघि बढिरहेको थियो भनेर तपाईं किन भन्‍न सक्नुहुन्छ?

प्रथम शताब्दीमा मसीही मण्डली नयाँ नयाँ इलाकामा गएर चेला बनाउँदै र परमेश्‍वर तथा उहाँको उद्देश्‍यबारे थप समझ प्राप्त गर्दै निरन्तर अघि बढिरहेको थियो। प्रारम्भिक मसीहीहरू ईश्‍वरप्रेरित पत्रहरूमार्फत दिइएको आध्यात्मिक ज्योतिसँगसँगै हिंडे। प्रेरितहरू तथा अरूको भेटबाट उत्साहित भएर तिनीहरूले आफ्नो सेवकाई पूरा गरे। यी सबै मसीही युनानी धर्मशास्त्रमा राम्ररी लिपिबद्ध गरिएका छन्‌।—प्रेरित १०:२१, २२; १३:४६, ४७; २ तिमोथी १:१३; ४:५; हिब्रू ६:१-३; २ पत्रुस ३:१७, १८.

५. आज परमेश्‍वरको संगठन किन प्रगतिशील छ र हामी त्यस संगठनसँगसँगै किन हिंड्‌नुपर्छ?

प्रारम्भिक मसीहीहरूको जस्तै यहोवाका आधुनिक साक्षीहरूको सुरुआत पनि मुठीभर मानिसहरूबाट भयो। (जकरिया ४:८-१०) परमेश्‍वरको आत्मा उहाँको संगठनमाथि छ भन्‍ने कुरा १९ औं शताब्दीको अन्तदेखि नै प्रस्ट भएको छ। हामीले मानिसको शक्‍तिमाथि होइन तर पवित्र आत्माको निर्देशनमाथि भर गरेको हुनाले धर्मशास्त्र र परमेश्‍वरको इच्छाबारे झन्‌ झन्‌ धेरै कुराहरू बुझ्न सकेका छौं। (जकरिया ४:६) अहिले हामी “आखिरी दिनमा” भएकोले यहोवाको प्रगतिशील संगठनसँगसँगै हिंड्‌नु अत्यावश्‍यक छ। (२ तिमोथी ३:१-५) यसो गर्दा हामीले आफ्नो आशा कायमै राख्नसक्छौं र यस रीतिरिवाजको विनाश हुनुअघि परमेश्‍वरको स्थापित राज्यबारे लगातार बताइरहन सक्नेछौं।—मत्ती २४:३-१४.

६, ७. यहोवाको संगठन अघि बढेको कुन तीनवटा क्षेत्रबारे हामी विचार गर्नेछौं?

हामीसित १९२०, ३० र ४० को दशकदेखि यहोवाको संगठनसित संगत गर्न थालेका व्यक्‍तिहरू छन्‌। ती सुरुका वर्षहरूमा हामीमध्ये कसले पो संगठनमा यति धेरै वृद्धि हुनुका साथै अहिले यो अवस्थामा पुगिएला भनेर कल्पना गरेका थियौं होला र? हाम्रो आधुनिक समयको इतिहासमा भएका उल्लेखनीय घटनाहरूलाई विचार गर्नुहोस्‌! यहोवाले आफ्ना ईश्‍वरतान्त्रिक ढंगमा व्यवस्थित मानिसहरूमार्फत सम्पन्‍न गर्नुभएका कुराहरू विचार गर्नु साँच्चै आध्यात्मिक तवरमा इनामदायी साबित भएको छ।

पुरातन समयका दाऊद यहोवाका अचम्मका कामहरू विचार गर्दा अत्यन्तै प्रभावित भएका थिए। तिनले भने, “तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भजन ४०:५) अहिले हाम्रो समयमा यहोवाले गर्नुभएका थुप्रै महान्‌ तथा प्रशंसनीय कार्यहरू बताउन नसकेकोले हामी पनि त्यस्तै सीमितता महसुस गर्छौं। तथापि आउनुहोस्‌, यहोवाको संगठन अघि बढेको तीनवटा क्षेत्रबारे विचार गरौं। (१) प्रगतिशील आध्यात्मिक ज्योति, (२) उन्‍नत तथा विस्तृत सेवकाई र (३) संगठनात्मक प्रक्रियाहरूमा भएका सामयिक संशोधनहरू।

आध्यात्मिक ज्योतिको लागि कृतज्ञ

८. हितोपदेश ४:१८ अनुरूप आध्यात्मिक ज्योतिले हामीलाई राज्यबारे के कुरा बुझ्न मदत गरेको छ?

प्रगतिशील ज्योतिको सम्बन्धमा हितोपदेश ४:१८ सत्य साबित भएको छ। त्यहाँ यसो भनिएको छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ चहकिलो हुँदैजान्छ।” हामीले अनुभव गर्न पाएको प्रगतिशील आध्यात्मिक ज्योतिका लागि हामी कति धन्यवादी छौं! सन्‌ १९१९ मा ओहायोस्थित सिडार प्वाइन्टमा आयोजित अधिवेशनमा परमेश्‍वरको राज्यमाथि प्रकाश पारियो। यहोवाले आफ्नो नाउँ पवित्र गर्न र सार्वभौमिकता उच्च पार्न यही राज्यलाई चलाउनुभयो। वास्तवमा, आध्यात्मिक ज्योतिले हामीलाई बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म यहोवाले आफ्नो पुत्रले शासन गर्ने राज्यद्वारा आफ्नो नाउँ पवित्र तुल्याउने उद्देश्‍य राख्नुभएको छ भन्‍ने कुरा बुझ्न मदत गरेको छ। यसैमा धार्मिकताका सबै प्रेमीहरूको महान्‌ आशा आधारित छ।—मत्ती १२:१८, २१.

९, १०. सन्‌ १९२० को दशकमा राज्य र दुई विपक्षी संगठनबारे के सिकियो र यो कसरी मदतकारी साबित भएको छ?

सन्‌ १९२२ मा सिडार प्वाइन्टमा आयोजित अधिवेशनमा मुख्य वक्‍ता, जे. एफ. रदरफोर्डले उपस्थित सबैलाई “राजा तथा उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌!” भनी आग्रह गर्नु एकदमै उचित थियो। मार्च १, १९२५ को द वाच टावर-मा “बर्थ अफ द नेसन्स” शीर्षक भएको लेखले भाइहरूलाई सन्‌ १९१४ मा स्थापना भएको परमेश्‍वरको राज्यसित सम्बन्धित भविष्यवाणीतर्फ ध्यानाकर्षण गऱ्‍यो। दुई विपक्षी संगठन अर्थात्‌ यहोवा र शैतानको संगठन छन्‌ भनेर १९२० को दशकमा प्रस्ट भयो। यिनीहरूबीच झगडा भइरहेको छ र हामी परमेश्‍वरको संगठनसँगसँगै हिंड्यौं भने मात्र हामी विजयी पक्षमा हुनेछौं।

१० यस्तो आध्यात्मिक ज्योतिले हामीलाई कसरी मदत गरेको छ? परमेश्‍वरको राज्य र राजा येशू ख्रीष्ट यस संसारको भाग नभएकोले हामी पनि यस संसारको भाग हुनसक्दैनौं। यस संसारबाट अलग रहेर हामी सत्यको पक्षमा छौं भनेर प्रमाणित गर्छौं। (यूहन्‍ना १७:१६; १८:३७) यस दुष्ट रीतिरिवाजका जटिल समस्याहरूलाई विचार गर्दा हामी शैतानको संगठनको भाग नभएकोमा कत्ति कृतज्ञ हुनसक्छौं! अनि यहोवाको संगठनभित्र आध्यात्मिक सुरक्षा पाउनु कस्तो विशेष अनुग्रहको कुरा हो!

११. सन्‌ १९३१ मा परमेश्‍वरका जनहरूले कुन धर्मशास्त्रीय नाउँ ग्रहण गरे?

११ सन्‌ १९३१ मा कोलम्बस, ओहायोमा सम्पन्‍न अधिवेशनमा यशैया ४३:१०-१२ को सुहाउँदो प्रयोग गरियो। बाइबल स्टुडेन्ट्‌सले यहोवाका साक्षीहरू भन्‍ने विशिष्ट नाउँ अँगाले। अरूले पनि उद्धार पाऊन्‌ भन्‍ने हेतुले अरूलाई परमेश्‍वरबारे बताउन पाउनु हामी सबैको निम्ति कस्तो ठूलो सुअवसरको कुरा हो!—भजन ८३:१८; रोमी १०:१३.

१२. सन्‌ १९३५ मा ठूलो भीडको सम्बन्धमा कस्तो आध्यात्मिक ज्योति प्रस्तुत गरियो?

१२ सन्‌ १९३० को दशकअघि परमेश्‍वरका थुप्रै जनहरू आफ्नो भावी जीवनको आशाबारे अलि अन्योलमा थिए। कसै कसैले स्वर्गीय जीवनको विषयमा सोचे तापनि प्रमोदवनबारे बाइबलको शिक्षाबाट मोहित भएका थिए। सन्‌ १९३५ मा वाशिङटन डि. सी.-मा आयोजित अधिवेशनमा प्रकाश अध्याय ७ मा उल्लिखित ठूलो भीड पार्थिव आशा भएको ठूलो भीड हो भनेर थाह पाउनु निकै रोमाञ्चकारी थियो। त्यसबेलादेखि ठूलो भीड जम्मा गर्ने काम जोडतोडले भइरहेको छ। ठूलो भीड को रहेछ भनेर बुझ्न पाएकोमा के हामी खुसी छैनौं? सबै कुल, जाति र भाषा भाषाको ठूलो भीड जम्मा भइरहेको देख्दा त्यसले हामीलाई फूर्तिसाथ यहोवाको संगठनसँगसँगै हिंड्‌न उत्प्रेरित गर्छ।

१३. सन्‌ १९४१ मा सेन्ट लुइसमा आयोजित अधिवेशनमा कुन ठूलो विवाद प्रकाश पारियो?

१३ मानव समाजले चासो लिनुपर्ने ठूलो विवाद सन्‌ १९४१ मा सेन्ट लुइस, मिसोरीमा आयोजित अधिवेशनमा प्रकाश पारियो। त्यो विश्‍वव्यापी प्रभुत्व अर्थात्‌ सार्वभौमिकता थियो। यो विवाद चाँडै सुल्झाउनुपर्छ र त्यसको लागि महा र भयानक दिन चाँडै आउन लागेको छ! सन्‌ १९४१ मा निष्ठासम्बन्धी विवादमा पनि ध्यानाकर्षण गरियो त्यसबाट हामी परमेश्‍वरको सार्वभौमिकताको सन्दर्भमा कहाँ छौं भनेर प्रमाणित गर्नसक्नेछौं।

१४. सन्‌ १९५० को अन्तरराष्ट्रिय अधिवेशनमा यशैया ३२:१, २ मा उल्लिखित राजकुमारहरूबारे के सिकियो?

१४ सन्‌ १९५० मा न्यु योर्क शहरमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा भजन ४५:१६ को राजकुमार को हुन्‌ भनेर स्पष्ट पारियो। भाइ फेड्रिक फ्रान्जले पृथ्वीका ती नयाँ राजकुमारहरू हामीमाझै छन्‌ भनी बताउँदा त्यो क्षण निकै रोमाञ्चक भएको थियो। अधिवेशनमा र त्यसपछि थुप्रै आध्यात्मिक ज्योतिहरू चम्किए। (भजन ९७:११) हाम्रो बाटो “झन्‌ चहकिलो हुँदै” गएकोमा हामी एकदमै कृतज्ञ छौं!

हाम्रो सेवकाईमा अघि बढ्‌ने

१५, १६. (क) सन्‌ १९२० र १९३० को दशकमा हामी हाम्रो सेवकाईमा कसरी अघि बढ्यौं? (ख) हालैका दशकहरूमा मसीही सेवकाईलाई कुन प्रकाशनहरूले गति दिएको छ?

१५ संगठन अघि बढिरहेको दोस्रो तरिका, हाम्रो प्रमुख कार्य अर्थात्‌ राज्य प्रचारकार्य र चेला बनाउनेसित सम्बन्धित छ। (मत्ती २८:१९, २०; मर्कूस १३:१०) यो कार्य सम्पन्‍न गर्न संगठनले हामीलाई सेवकाई विस्तार गर्दै लैजानुको महत्त्व बताएको छ। सन्‌ १९२२ मा सबै मसीहीलाई प्रचार कार्यमा भाग लिन आह्वान गरिएको थियो। आफ्नो ज्योति चम्काएर सत्यको साक्षी दिने कार्यमा भाग लिनु प्रत्येकमै निर्भर थियो। (मत्ती ५:१४-१६) सन्‌ १९२७ मा क्षेत्र सेवकाईको निम्ति एक दिन अर्थात्‌ आइतबार छुट्‌याउने प्रबन्ध मिलाइयो। सन्‌ १९४० को फेब्रुअरी महिनादेखि साक्षीहरूलाई व्यापारिक इलाकाहरूमा द वाचटावरकन्सोलेसन (अहिले ब्यूँझनुहोस्‌!) प्रस्तुत गर्दै हिंडेको देख्नु सामान्य हुन थाल्यो।

१६ सन्‌ १९३७ मा मोडेल स्टडी नामक पुस्तिका प्रकाशित गरियो। परमेश्‍वरको वचनमा चासो देखाउने व्यक्‍तिहरूलाई सत्य सिकाउन पुनःभेट गर्नुपर्छ भनेर त्यस पुस्तिकामा जोड दिइएको थियो। त्यसपछिका वर्षहरूमा बाइबल अध्ययन कार्यक्रममा धेरै जोड दिइयो। सेवकाईको यस पक्षलाई अझै जोड दिन सन्‌ १९४६ मा “लेट गड बी ट्रु” र सन्‌ १९६८ मा द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ पुस्तक प्रकाशित गरियो। अहिले हामी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रयोग गर्छौं। यी विषयवस्तु छलफल गरेर चेला बनाउने कार्यमा बलियो जग बसाल्न सकिन्छ।

संगठनात्मक संशोधनहरूसँगसँगै अघि बढ्‌ने

१७. यशैया ६०:१७ अनुरूप यहोवाको संगठन कसरी अघि बढिरहेको छ?

१७ यहोवाको संगठन अघि बढिरहेको छ भनेर बुझ्ने तेस्रो तरिका संगठनात्मक संशोधनहरूसित सम्बन्धित छ। यशैया ६०:१७ अनुसार यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुंगाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” यस भविष्यवाणीअनुरूप राज्य-प्रचार कार्यको राम्रो सुपरिवेक्षण गर्न र बगालको हेरचाह गर्न कदमहरू चालिएका छन्‌।

१८, १९. वर्षौंको दौडान कस्ता संगठनात्मक संशोधनहरू भए?

१८ सन्‌ १९१९ मा क्षेत्र सेवकाईको प्रबन्ध मिलाउनका लागि प्रत्येक मण्डलीमा एउटा सेवा निर्देशक नियुक्‍त गरियो। यसले क्षेत्र सेवकाईमा अझ तीव्रता ल्यायो। प्राचीन र डिकनहरू छान्‍न गरिने चुनाउ १९३२ मा रद्द गरेपछि, प्रजातान्त्रिक ढंगमा मण्डलीका कामकुरा गर्ने चलनको अन्त भयो। सन्‌ १९३८ देखि प्रारम्भिक मसीही मण्डलीमा भएझैं ईश्‍वरतान्त्रिक प्रबन्धअनुसार मण्डलीका सबै सेवकहरू नियुक्‍त हुनुलाई अर्को उल्लेखनीय घटना मान्‍न सकिन्छ। (प्रेरित १४:२३; १ तिमोथी ४:१४) प्रारम्भिक मसीहीहरूको समयमा कोही कोही पुरुष सेवा गर्न नियुक्‍त भएजस्तै १९७२ देखि निरीक्षक तथा सेवकाई सेवकहरू सेवा गर्न नियुक्‍त हुन थालियो। मण्डलीको निरीक्षण गर्ने काम एक जनाले होइन बरु धर्मशास्त्रीय आवश्‍यकताहरू पूरा गर्ने निरीक्षकहरू मिलेर प्राचीनहरूको निकायले गर्नुपर्छ भनी फिलिप्पी १:१ र अन्य शास्त्रपदहरूले संकेत गर्छ।—प्रेरित २०:२८; एफिसी ४:११, १२.

१९ सन्‌ १९७५ मा परमेश्‍वरको संगठनको विश्‍वव्यापी गतिविधिको निरीक्षण गर्नका लागि यहोवाका साक्षीहरूको परिचालक निकाय गठन गरियो। स्थानीय इलाकाको निरीक्षण गर्नका लागि शाखा समितिहरू नियुक्‍त गरिए। त्यसबेलादेखि “बढी महत्त्वपूर्ण कुराहरूलाई पक्का गर्न” वाच टावर सोसाइटीको मुख्यालय र शाखा कार्यालयहरूमा सरलीकरण गर्न जोड दिइँदै आएको छ। (फिलिप्पी १:९, १०, NW) ख्रीष्टका उपगोठालाहरूले सुसमाचारकको कार्यमा अगुवाइ लिने, मण्डलीमा प्रभावकारी ढंगमा सिकाउने र परमेश्‍वरको बगालको राम्रो हेरचाह गर्ने जिम्मेवारी बोकेका छन्‌।—१ तिमोथी ४:१६; हिब्रू १३:७, १७; १ पत्रुस ५:२, ३.

येशूको सक्रिय नेतृत्व

२०. यहोवाको संगठनसँगसँगै हिंडन येशूले पाउनुभएको अख्तियारसित सम्बन्धित कुन कुरा बुझ्नु आवश्‍यक छ?

२० यहोवाको प्रगतिशील संगठनसँगसँगै हिंड्‌न परमेश्‍वरले येशू ख्रीष्टलाई “मण्डलीका शिर” नियुक्‍त गर्नुभएको छ भनेर हामीले स्वीकार्नुपर्छ। (एफिसी ५:२२, २३) यस सन्दर्भमा यशैया ५५:४ पनि विचारणीय छ: “हेर, मैले [यहोवाले] त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” कसरी नेतृत्व लिनुपर्छ भनी येशू ख्रीष्टलाई पक्कै थाह छ। उहाँ आफ्ना भेडाहरूलाई पनि चिन्‍नुहुन्छ र तिनीहरूको कार्य पनि उहाँलाई थाह छ। वास्तवमा, उहाँले एसिया माइनरका सातवटा मण्डलीको निरीक्षण गरिसक्नुभएपछि उहाँले पाँचपटक “तिम्रो काम . . . मलाई थाह छ” भन्‍नुभयो। (प्रकाश २:२, १९; ३:१, ८, १५) उहाँको पिता यहोवालाई जस्तै येशूलाई पनि हाम्रा आवश्‍यकताहरू थाह छ। नमुना प्रार्थना गर्नुअघि येशूले यसो भन्‍नुभयो: “तिमीहरूलाई कुन कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहन्छ।”—मत्ती ६:८-१३.

२१. मसीही मण्डलीमा येशूको नेतृत्व कसरी प्रकट भएको छ?

२१ येशूको नेतृत्व कसरी प्रकट भएको छ? यो प्रकट हुने एउटा तरिका त मसीही निरीक्षकहरू अर्थात्‌ “पुरुषहरूमध्ये वरदान[मार्फत]” हो। (एफिसी ४:८) प्रकाश १:१६ ले नियुक्‍त निरीक्षकहरू ख्रीष्टको दायाँ हातमा अर्थात्‌ उहाँको नियन्त्रणमा छन्‌ भनेर चित्रण गर्छ। प्राचीनहरूको आशा स्वर्गीय होस्‌ वा पार्थिव, अहिले येशूले प्राचीनहरूको प्रबन्धको नेतृत्व गर्नुहुन्छ। अघिल्लो लेखमा वर्णन गरिएझैं यिनीहरू धर्मशास्त्रीय आवश्‍यकताअनुसार पवित्र आत्माद्वारा नियुक्‍त हुन्छन्‌। (१ तिमोथी ३:१-७; तीतस १:५-९) प्रथम शताब्दीमा यरूशलेममा बूढाप्रधानहरू मिलेर परिचालक निकाय बनेको थियो। उक्‍त निकायले मण्डलीहरू र राज्य-प्रचार गतिविधिको निरीक्षण गर्थ्यो। यहोवाको संगठनमा आज पनि यही कुरा लागू हुन्छ।

सँगसँगै हिंड्‌नुहोस्‌ !

२२. परिचालक निकायले कस्तो मदत दिन्छ?

२२ पृथ्वीमा राज्यसम्बन्धी कामकुरा “विश्‍वासी र बुद्धिमान दासलाई” सुम्पिएको छ जसको प्रतिनिधित्व यहोवाका साक्षीहरूको परिचालक निकायले गर्छ। (मत्ती २४:४५-४७) परिचालक निकायले मुख्यतः आध्यात्मिक शिक्षाको प्रबन्ध गर्ने र मसीही मण्डलीलाई निर्देशन दिने कुरामा चासो राख्छ। (प्रेरित ६:१-६) तथापि, सँगी विश्‍वासीहरू प्राकृतिक प्रकोपको चपेटामा पर्दा परिचालक निकायले एक वा धेरै कानुनी संस्थानहरूलाई उद्धार कार्य तथा घर र राज्यभवनहरू मर्मत वा पुनर्निर्माण गर्न अह्राउनसक्छ। कुनै मसीहीले क्रूर व्यवहार वा सतावट भोग्नुपरेको छ भने तिनीहरूलाई प्रोत्साहन र आध्यात्मिक तवरमा बलियो पार्न कदमहरू चालिन्छन्‌। साथै, “समय र बेसमयमा” राज्य प्रचारकार्य अघि बढाइरहन हर प्रयास गरिन्छ।—२ तिमोथी ४:१, २.

२३, २४. आफ्ना जनहरूमाथि जस्तोसुकै परिस्थिति आइपरे तापनि यहोवाले निरन्तर के प्रबन्ध गरिरहनुहुन्छ र हामीले कस्तो निश्‍चय गर्नुपर्छ?

२३ आफ्ना जनहरूमाथि जस्तोसुकै परिस्थिति आइपरोस्‌ यहोवाले तिनीहरूलाई निरन्तर आध्यात्मिक आहार तथा आवश्‍यक निर्देशन दिइरहनुहुन्छ। ईश्‍वरतान्त्रिक संगठनमा थप प्रगति र संशोधन गर्नुपर्दा त्यसका लागि तयार हुन पनि परमेश्‍वरले जिम्मेवार भाइहरूलाई विवेक र अन्तर्दृष्टि दिनुहुन्छ। (व्यवस्था ३४:९; एफिसी १:१६, १७) चेला बनाउन हामीलाई दिइएको आदेश र विश्‍वभरि सेवकाई पूरा गर्न हामीलाई चाहिने सब थोकको प्रबन्ध यहोवाले पक्का गर्नुहुन्छ।—२ तिमोथी ४:५.

२४ यहोवाले आफ्ना विश्‍वासी जनहरूलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँले तिनीहरूलाई आउँदै गरेको “महासङ्‌कष्ट[बाट]” जोगाउनुहुनेछ भनेर हामी ढुक्क छौं। (प्रकाश ७:९-१४; भजन ९४:१४; २ पत्रुस २:९) सुरुमा हामीसित जस्तो विश्‍वास थियो त्यसलाई अन्तसम्मै थामिराख्ने हर कारण हामीसित छ। (हिब्रू ३:१४) त्यसकारण आउनुहोस्‌, यहोवाको संगठनसँगसँगै अघि बढिरहने निश्‍चय गरौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ ?

• यहोवाको संगठन अघि बढिरहेको छ भनेर हामी किन भन्‍न सक्छौं?

• परमेश्‍वरका जनहरूले प्रगतिशील आध्यात्मिक ज्योतिको आनन्द उठाउँछन्‌ भन्‍ने के प्रमाण छ?

• मसीही सेवकाईमा के कस्ता प्रगति भएका छन्‌?

• यहोवाका साक्षीहरूको संगठनात्मक प्रक्रियामा के कस्ता सामयिक संशोधन भएका छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएका चित्रहरू]

दाऊदले जस्तै हामीले पनि यहोवाका सम्पूर्ण अद्‌भुत कुराहरू सम्झन सक्दैनौं

[पृष्ठ १५-मा भएका चित्रहरू]

संगठनात्मक संरचनामा भएको सामयिक संशोधनहरूबाट परमेश्‍वरको बगालले फाइदा उठाएको छ