सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले आफ्नो समर्पणअनुरूप जीवन बिताइरहनुभएको छ?

के तपाईंले आफ्नो समर्पणअनुरूप जीवन बिताइरहनुभएको छ?

के तपाईंले आफ्नो समर्पणअनुरूप जीवन बिताइरहनुभएको छ?

“जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।”–कलस्सी ३:२३.

१. खेलजगत्‌मा कस्तो प्रकारको प्रतिबद्धता पाइन्छ?

 खेलाडीहरू उत्कृष्ट खेल प्रदर्शन गर्न कसरी सक्षम हुन्छन्‌? टेनिस, फुटबल, बास्केटबल, बेसबल, दौड, गल्फ वा अन्य कुनै पनि खेलमा शीर्षस्थान ओगट्‌न सफल हुनसक्नुको एउटै कारण खेलाडीहरूको अटल लगाउ हो। तिनीहरूले आफ्नो शरीर अनि मनलाई पूर्णतया प्रशिक्षण दिन्छन्‌ ताकि तिनीहरू आफूले रोजेको खेलमा सकेसम्म निपुण हुन सकून्‌। शारीरिक र मानसिक स्थिति राम्रो अवस्थामा राख्नुलाई प्राथमिकता दिइन्छ। बाइबलअनुसार के समर्पण शब्दको अर्थ यस्तै प्रकारको प्रतिबद्धता मात्र हो र?

२. बाइबलमा “समर्पण” शब्दको अर्थ के हो? व्याख्या गर्नुहोस्‌।

तथापि, बाइबलको भाषामा “समर्पण” शब्दको अर्थ के हो? “समर्पण” हिब्रू क्रियापदबाट अनुवाद गरिएको हो र यसको अर्थ, “अलग हुनु; अलग्गिनु; पन्छिनु” हो। a पुरातन इस्राएलमा प्रधान पूजाहारी हारूनको फेटा अर्थात्‌ “पवित्र मुकुट[मा]” निखुर सुनको पातामा हिब्रू लिपिमा “परमप्रभुको निम्ति पवित्र” भनी कुँदिएको थियो। पवित्रस्थानलाई अपवित्र बनाउने कुनै पनि कुराबाट टाढा रहनुपर्छ भनी यसले प्रधान पूजाहारीलाई सम्झाउँथ्यो “किनभने परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई चोख्याएको छ।”—प्रस्थान २९:६; ३९:३०; लेवी २१:१२.

३. समर्पणले हाम्रो आचरणमा कस्तो प्रभाव पार्नुपर्छ?

यस प्रसंगबाट हामी समर्पणको गहिरो अर्थ छ भनी बुझ्नसक्छौं। यसले स्वेच्छाले परमेश्‍वरको सेवकको हैसियतमा आफूलाई चिनाउने अर्थ बुझाउँछ र यसको लागि स्वच्छ आचरण हुनु आवश्‍यक छ। त्यसकारण, प्रेरित पत्रुसले यहोवाले भन्‍नुभएको निम्न कुरा किन उद्धृत गरे हामी बुझ्नसक्छौं: “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” (१ पत्रुस १:१५, १६) समर्पित मसीहीहरूको हैसियतमा आफ्नो समर्पणअनुरूप अन्तसम्मै विश्‍वासी रहेर जीवन बिताउनु एउटा गम्भीर जिम्मेवारी हो। तर मसीही समर्पणमा अरू के के समावेश छ?—लेवी १९:२; मत्ती २४:१३.

४. हामीले समर्पण गर्नुअघि के-कस्ता कदम चाल्यौं र यसलाई केसित तुलना गर्न सकिन्छ?

हामीले यहोवा परमेश्‍वर, उहाँका उद्देश्‍य र येशू ख्रीष्ट अनि ती उद्देश्‍यहरूमा येशूको भूमिकाबारे सही ज्ञान प्राप्त गरेपछि आफ्नो सारा मन, प्राण, बुद्धि र शक्‍तिले परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिगत निर्णय गऱ्‍यौं। (मर्कूस ८:३४; १२:३०; यूहन्‍ना १७:३) यसलाई व्यक्‍तिगत वाचा, परमेश्‍वरप्रति अटल समर्पण पनि भन्‍न सकिन्छ। क्षणभरको भावनात्मक आवेगमा आएर हामीले समर्पण गरेका होइनौं। यो तर्कशक्‍ति प्रयोग गर्दै प्रार्थनापूर्वक विचार गरेर गरिएको निर्णय थियो। अतः यो कुनै क्षणिक निर्णय थिएन। हामी खेत खन्‍न सुरु त गर्ने तर असाध्यै गाह्रो भयो वा कटनी गर्ने समय कहिले हो कहिले वा निश्‍चित छैन भनेर बीचैमा काम छोड्‌ने व्यक्‍ति जस्तो हुन सक्दैनौ। सुखदुःख जस्तो सुकै अवस्थामा पनि ईश्‍वरतान्त्रिक जिम्मेवारीहरूसित सम्बन्धित कार्यहरूमा ‘आफ्नो हात हलोमा लगाएका’ केही व्यक्‍तिहरूको उदाहरण विचार गर्नुहोस्‌।—लूका ९:६२; रोमी १२:१, २.

तिनीहरूले आफ्नो समर्पणलाई त्यागेनन्‌

५. परमेश्‍वरको समर्पित सेवकको हैसियतमा यर्मिया कसरी उल्लेखनीय उदाहरण भए?

यरूशलेममा यर्मियाको भविष्यसूचक सेवकाई ४० वर्षभन्दा (सा.यु.पू. ६४७-६०७) लामो समयको थियो र यो कुनै चानचुने कार्यभार थिएन। तिनलाई आफ्ना सीमितताहरूबारे राम्ररी थाह थियो। (यर्मिया १:२-६) दिनहुँ जसो यहूदाका हठी मानिसहरूको सामना गरिरहन तिनलाई साहस र धीरज चाहिन्थ्यो। (यर्मिया १८:१८; ३८:४-६) तथापि, यर्मियाले यहोवा परमेश्‍वरमाथि भरोसा राखे र उहाँले तिनलाई बल दिनुभयो र तिनी परमेश्‍वरको साँचो समर्पित सेवक साबित भए।—यर्मिया १:१८, १९.

६. प्रेरित यूहन्‍नाले हाम्रोनिम्ति कस्तो नमुना बसाले?

अनि विश्‍वासी प्रेरित यूहन्‍नाबारे के भन्‍न सकिन्छ नि? तिनलाई “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षी” दिएकाले बूढेसकालमा उजाड पत्मोस टापुमा निर्वासित गरिएको थियो। (प्रकाश १:९) तिनले धैर्य धारण गरे र लगभग ६० वर्षसम्म समर्पित मसीहीको हैसियतमा जीवन बिताए। रोमी सेनाहरूको हातमा यरूशलेमको विनाशपछि पनि तिनी जीवित थिए। तिनले सुसमाचारको एउटा पुस्तक, तीनवटा प्रेरित पत्र र आरमागेडोनको युद्धको पूर्व झलक देखेको प्रकाशको पुस्तक लेख्ने सुअवसर पाए। आफ्नो जीवनकालमा आरमागेडोन आउने होइन रहेछ भनी थाह पाएपछि के तिनले मसीही जीवन त्यागे? के तिनी भावशून्य भए? अहँ, तोकिएको “समय नजीकै” भए तापनि आफूले देखेका दर्शनहरू पछि मात्र पूरा हुनेछ भनी थाह भएकोले तिनी मृत्युसम्मै विश्‍वासी रहे।—प्रकाश १:३; दानियल १२:४.

समर्पणका आधुनिक उदाहरण

७. एक जना भाइले मसीही समर्पणको कस्तो राम्रो उदाहरण बसाले?

आधुनिक समयमा पनि हजारौं विश्‍वासी मसीहीहरू आरमागेडोन हेर्न जीवित नरहने भए तापनि तिनीहरूले जोसका साथ आफ्नो समर्पणअनुरूप जीवन बिताएका छन्‌। त्यस्तो एक जना व्यक्‍ति बेलाइतका अर्नेस्ट इ. बीभर हुन्‌। तिनी दोस्रो विश्‍वयुद्धको सुरुतिर सन्‌ १९३९ मा यहोवाका साक्षी भए र तिनले तस्बिर छाप्ने आफ्नो राम्ररी चलिरहेको व्यापार छोडेर पूर्ण-समय सेवकाईमा संलग्न भए। मसीही तटस्थता कायम राखेको कारण तिनी दुई वर्षको लागि जेल जानुपऱ्‍यो। तिनको परिवारले तिनको साथ छोडेन र सन्‌ १९५० मा तिनको तीनै जना छोराछोरी मिसनरी प्रशिक्षणको निम्ति न्यु योर्कस्थित वाच टावर बाइबल स्कूल अफ गिलियडमा गए। भाइ बीभर प्रचार कार्यमा यति जोसिला थिए कि तिनका मित्रहरूले तिनलाई आरमागेडोन अर्नी भनी बोलाउने गर्थे। तिनी मृत्युसम्मै वफादार भएर आफ्नो समर्पणअनुरूप जीवन बिताए र सन्‌ १९८६ मा मृत्यु होउञ्जेलसम्म पनि तिनले परमेश्‍वरको युद्ध, आरमागेडोनबारे उद्‌घोषणा गरिरहे। तिनले आफ्नो समर्पणलाई परमेश्‍वरसँग कुनै सीमित समयको लागि मात्र गरेको सर्तनामा ठानेनन्‌! b१ कोरिन्थी १५:५८.

८, ९. (क) फ्रान्कोको शासनकालमा थुप्रै जवानहरूले कस्तो राम्रो नमुना बसाले? (ख) कस्ता प्रश्‍नहरू सोध्नु उचित छ?

कहिल्यै नसेलाएको जोसको अर्को उदाहरण स्पेनमा पाउँछौं। फ्रान्कोको शासनकालमा (१९३९-७५) सयौं समर्पित जवान साक्षीहरूले मसीही तटस्थताको निम्ति अडान लिए। तिनीहरूमध्ये थुप्रैले दस वा त्योभन्दा बढी वर्ष सैन्य जेलमा बिताए। कासुस मार्टेन नाउँ गरेका साक्षीले त जेलमा जम्माजम्मी २२ वर्ष बिताए। उत्तर अफ्रिकाको सैन्य जेलमा छँदा तिनलाई असाध्यै पिटियो। यो कुनै सजिलो परिस्थिति थिएन तरैपनि तिनी सम्झौता गर्न राजी भएनन्‌।

यी थुप्रै जवानहरू कहिले मुक्‍त हुने हो भनेर पत्तै थिएन किनभने तिनीहरूमाथि एकपछि अर्को गर्दै थुप्रै सजाय सुनाइएको थियो। तैपनि, तिनीहरूले आफ्नो निष्ठा कायम राखे र कैदमा छँदा पनि सेवकाईको निम्ति आफ्नो जोस ढलपल हुन दिएनन्‌। सन्‌ १९७३ मा बल्ल परिस्थिति परिवर्तन भएपछि तिनीहरू जेलबाट मुक्‍त भए र त्यतिबेलासम्म तिनीहरू ३० वर्ष नाघिसकेका थिए। त्यसपछि तिनीहरू तुरुन्तै पूर्ण-समय सेवकाईमा लागे, कोही विशेष अग्रगामी भए त कोही परिभ्रमण निरीक्षक भए। जेलमा तिनीहरूले आफ्नो समर्पणअनुरूप जीवन बिताए र आफ्नो रिहाइपछि पनि अधिकांशले त्यसै गरिरहेका छन्‌। c आज हामी नि? के हामी पनि यी वफादार जनहरूजस्तै आफ्नो समर्पणप्रति वफादार छौं?—हिब्रू १०:३२-३४; १३:३.

हाम्रो समर्पणप्रति सही दृष्टिकोण

१०. (क) हामीले आफ्नो समर्पणप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) हामीले यहोवालाई चढाउने सेवाप्रति उहाँ कस्तो दृष्टिकोण राख्नुहुन्छ?

१० परमेश्‍वरको इच्छा गर्ने आफ्नो समर्पणप्रति हामी कस्तो दृष्टिकोण राख्छौं? के यसले हाम्रो जीवनमा प्रथम स्थान ओगटेको छ? हाम्रो परिस्थिति जस्तोसुकै होस्‌ अर्थात्‌ हामी चाहे जवान हौं या वृद्ध, विवाहित हौं या अविवाहित, स्वस्थ हौं या बिरामी जे भए पनि परिस्थितिअनुसार आफ्नो समर्पणअनुरूप हामीले जीवन बिताउने प्रयास गर्नुपर्छ। कसैलाई आफ्नो परिस्थितिले पूर्ण-समय सेवकको रूपमा वाच टावर सोसाइटीको शाखा कार्यालयमा स्वयम्‌सेवकको रूपमा, मिसनरीको रूपमा वा परिभ्रमण सेवकको रूपमा सेवा गर्न देला। अर्कोतर्फ, कोही कोही आमाबाबुचाहिं परिवारको भौतिक तथा आध्यात्मिक आवश्‍यकताको हेरचाह गर्न पूर्णतया व्यस्त हुनसक्छन्‌। पूर्ण-समय सेवकले बिताएको धेरै घण्टाको तुलनामा हरेक महिना केही घण्टा मात्र दिनसक्ने व्यक्‍तिहरूको सेवालाई के यहोवाले कम महत्त्वपूर्ण ठान्‍नुहुन्छ? पटक्कै त्यस्तो ठान्‍नुहुन्‍न। हामीसित नभएको कुरा परमेश्‍वरले कहिल्यै माग गर्नुहुन्‍न। प्रेरित पावलले यो सिद्धान्त उल्लेख गरे: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।”—२ कोरिन्थी ८:१२.

११. हाम्रो उद्धार कुन कुरामा निर्भर छ?

११ कुरा जे सुकै होस्‌, हाम्रो उद्धार हामीले गर्ने कुरामा होइन तर हाम्रो प्रभु, ख्रीष्ट येशूमार्फत यहोवाको अनुग्रहमा निर्भर छ। पावलले यस विषयमा स्पष्टसित यसरी वर्णन गरे: “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌। उहाँको अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन्‌।” तथापि, हाम्रो काम यहोवाका प्रतिज्ञाहरूमा सक्रिय विश्‍वासको प्रमाण हो।—रोमी ३:२३, २४; याकूब २:१७, १८, २४.

१२. हामीले किन अरूसित तुलना गर्नु हुँदैन?

१२ हामीले परमेश्‍वरको सेवामा कति घण्टा बितायौं, कतिवटा बाइबल साहित्य वितरण गऱ्‍यौं वा कतिवटा बाइबल अध्ययन सञ्चालन गरिरहेका छौं भनेर अरूसित तुलना गर्नु आवश्‍यक छैन। (गलाती ६:३, ४) मसीही सेवकाईमा हाम्रो उपलब्धि जस्तोसुकै भए तापनि हामी सबैले येशूका यी विनम्र सल्लाह कहिल्यै बिर्सनुहुँदैन: “जब तिमीहरूलाई अह्राएका सबै काम गरिसकेका हुन्छौ तब ‘हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं,’ भनी भन।” (लूका १७:१०) आखिरमा हामीलाई “अह्राएका सबै काम” गरिसकेका छौं भनेर कति चोटि पो भन्‍नसक्छौं र? त्यसैले प्रश्‍न उठ्‌छ, हामीले परमेश्‍वरप्रति चढाउने सेवाको गुणस्तर कस्तो हुनुपर्छ?—२ कोरिन्थी १०:१७, १८.

प्रत्येक दिनलाई मूल्यवान्‌ बनाउने

१३. आफ्नो समर्पणअनुरूप काम गर्दा हामीले कस्तो मनोवृत्ति राख्नु खाँचो छ?

१३ पत्नी, पति, छोराछोरी, आमाबाबु र चाकरहरूलाई सल्लाह दिइसकेपछि पावलले यस्तो लेखे: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर। यो जानेर कि प्रभुबाट तिमीहरूले अधिकारको क्षतिपूर्ति पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ।” (कलस्सी ३:२३, २४) हामीले यहोवाको सेवा गरेर मानिसहरूको प्रशंसा खोजिरहेका होइनौं। येशू ख्रीष्टको उदाहरण अनुकरण गर्दै हामी परमेश्‍वरको सेवा गर्ने प्रयास गर्दैछौं। उहाँले आफ्नो सेवकाई छोटो समयको लागि भए तापनि अविलम्ब भावसहित गर्नुभयो।—१ पत्रुस २:२१.

१४. आखिरी दिनको सन्दर्भमा पत्रुसले कस्तो चेताउनी दिए?

१४ प्रेरित पत्रुसले पनि अविलम्बी भाव देखाए। आफ्नो दोस्रो पत्रमा तिनले आखिरी दिनमा गिल्ला गर्ने, धर्मत्यागी र शंका गर्नेहरू हुनेछन्‌ अनि तिनीहरूले आफ्नै इच्छाअनुसार ख्रीष्टको आगमनबारे प्रश्‍न उठाउनेछन्‌ भनेर चेताउनी दिए। तथापि, पत्रुसले यसो भने: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिनीहरूतर्फ धीरज देखाउनुभएको छ। तर प्रभुको दिन चोर जस्तैगरी आउनेछ।” हो, यहोवाको दिन अवश्‍य आउनेछ। अतः परमेश्‍वरका प्रतिज्ञाहरूमा हाम्रो विश्‍वास कत्तिको पक्का र दृढ छ भन्‍ने कुरामा हामीले दिनहुँ ध्यान दिनुपर्छ।—२ पत्रुस ३:३, ४, ९, १०.

१५. हामीले आफ्नो जीवनको प्रत्येक दिनलाई कसरी हेर्नुपर्छ?

१५ आफ्नो समर्पणअनुरूप जीवन बिताउनु भनेको हामीले सोचेर सम्झेर गर्नुपर्ने कार्य हो अर्थात्‌ हामीले हरेक दिन यहोवाको प्रशंसा गर्नुपर्छ। हरेक दिनको अन्तमा हामीले दिनभरि कुनै न कुनै तरिकामा परमेश्‍वरको नाउँ पवित्र गर्न र राज्यको सुसमाचार उद्‌घोषणा गर्न कसरी योगदान पुऱ्‍यायौं त्यसबारे विचार गर्नसक्छौं। सायद, हाम्रो स्वच्छ आचरण, प्रोत्साहनजनक वार्तालाप वा परिवार तथा मित्रहरूप्रति मायालु चासो देखाएर यसो गऱ्‍यौं होला। के हामीले अरूलाई आफ्नो मसीही आशाबारे बताउन उपलब्ध सुअवसरहरूको फाइदा उठायौं? परमेश्‍वरको प्रतिज्ञाबारे गम्भीरतासाथ विचार गर्न के हामीले कसैलाई मदत गर्न सक्यौं? प्रत्येक दिन आध्यात्मिक अर्थमा महत्त्वपूर्ण सकारात्मक कुरा गरौं, प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, जति जम्मा गरे पनि नभरिने एकदमै ठूलो आध्यात्मिक बैंक खाता खोलौं।—मत्ती ६:२०; १ पत्रुस २:१२; ३:१५; याकूब ३:१३.

आफ्नो दृष्टि स्वच्छ राख्नुहोस्‌

१६. शैतानले कुन कुन तरिकामा परमेश्‍वरप्रतिको हाम्रो समर्पणलाई कमजोर बनाउने प्रयास गर्छ?

१६ अहिलेको संसारमा मसीहीहरूलाई झन्‌ झनै गाह्रो भइरहेको छ। शैतान तथा त्यसका कार्यकर्ताहरूले असल र खराब, शुद्ध र अशुद्ध, नैतिक र अनैतिक, सैद्धान्तिक र असैद्धान्तिकबीचको भिन्‍नतालाई धमिलो बनाउने प्रयास गर्छन्‌। (रोमी १:२४-२८; १६:१७-१९) हामीले टिभी वा इन्टरनेटमा हेर्ने कुराहरूद्वारा हाम्रो मन अनि हृदय प्रदूषित बनाउन शैतान सफल भएको छ। त्यस्ता कुराहरूले हाम्रो आध्यात्मिक दृष्टि धमिलो वा अस्पष्ट बनाउनसक्छ र यसले गर्दा हामीले त्यसका धूर्त चालहरू चिन्‍न नसक्ने हुनसक्छौं। हामीले आध्यात्मिक मूल्यमान्यताहरूमा सम्झौता गऱ्‍यौं, भने समर्पणअनुरूप जीवन बिताउने हाम्रो कटिबद्धता कमजोर हुनसक्छ र “हलोमा” हामीले दह्रोसित पक्रिराखेको पकड खुकुलो हुनसक्छ।—लूका ९:६२; फिलिप्पी ४:८.

१७. पावलको सल्लाहले हामीलाई परमेश्‍वरसँगको सम्बन्ध कायम राख्न कसरी मदत गर्नसक्छ?

१७ त्यसैकारण पावलले थिस्सलोनिकीको मण्डलीलाई लेखेका यी शब्दहरू अत्यन्तै सामयिक छन्‌: “परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन।” (१ थिस्सलोनिकी ४:३-५) परमेश्‍वरप्रति आफ्नो समर्पणलाई बेवास्ता गरेको कारण अनैतिकतामा फसेकाहरू मसीही मण्डलीबाट बहिष्कृत भएका छन्‌। तिनीहरूले परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई कमजोर हुन दिए र तिनीहरूको जीवनमा उहाँ महत्त्वपूर्ण हुन छोड्यो। यद्यपि, पावलले यस्तो लेखे: “परमेश्‍वरले हामीलाई अशुद्ध हुनालाई होइन, तर पवित्र हुनालाई बोलाउनुभयो। यसकारण जसले इन्कार गर्छ, त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्छ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।”—१ थिस्सलोनिकी ४:७, ८.

तपाईंले कस्तो अठोट गर्नुभएको छ ?

१८. हाम्रो अठोट कस्तो हुनुपर्छ?

१८ यहोवा परमेश्‍वरप्रति आफ्नो समर्पणको गम्भीरतालाई मूल्यवान्‌ ठान्छौं भने हामीले के गर्ने अठोट गर्नुपर्छ? आचरण र सेवकाईमा सफा अन्तस्करण राख्ने हाम्रो दृढ संकल्प हुनुपर्छ। पत्रुसले यस्तो आग्रह गरे: “असल विवेक राख, र जुन कुरामा तिमीहरूका विरुद्धमा खराबी बोलिन्छ, ख्रीष्टमा भएको तिमीहरूको जीवनको असल चाल-चलनलाई निन्दा गर्नेहरू त्यसैमा शर्माउन परोस्‌।” (१ पत्रुस ३:१६) हाम्रो मसीही आचरणको कारण हामीले दुर्व्यवहार सहनुपर्ला वा भोग्नुपर्ला तर ख्रीष्टले पनि परमेश्‍वरप्रति विश्‍वास र वफादारीको कारण दुःख भोग्नुभएको थियो। त्यसकारण, पत्रुसले भने, “जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी तिमीहरूले पनि त्यही मनसायको हतियार लेओ, किनभने जसले शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ।”—१ पत्रुस ४:१.

१९. हामीबारे के भनिएको हामी चाहन्छौं?

१९ निस्सन्देह, आफ्नो समर्पणअनुरूप जीवन बिताउने दृढ अठोटले हामीलाई आध्यात्मिक, नैतिक र शारीरिक तवरमा बिरामी शैतानको संसारका पासोहरूबाट जोगाउनेछ। तर त्यति मात्र होइन, हामीले परमेश्‍वरको अनुमोदन पाएका छौं भनेर हामी विश्‍वस्त हुनसक्ने छौं जुन शैतान तथा त्यसका कार्यकर्ताहरूले दिनसक्ने कुनै पनि कुराभन्दा सर्वोत्तम छ। अतः हामीले सुरुमा सत्यबारे सुन्दा जस्तो प्रेम देखाएका थियौं, त्यो अहिले सेलाइसक्यो भनेर कहिल्यै भन्‍न नपरोस्‌। बरु, प्रथम शताब्दीका थिआटायराका मण्डलीकाहरूलाई भनेजस्तै हामीबारे पनि यसो भनियोस्‌: “तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, सेवा र धीरज, मलाई थाह छ, तिम्रा पछाड़िका काम अघाड़िका भन्दा बढ़ता छन्‌।” (प्रकाश २:४, १८, १९) हो, आफ्नो समर्पणको सन्दर्भमा हामी मनतातो नहोऔं तर अन्तसम्मै ‘आत्मामा जोसिलो होऔं’ र अन्त नजिकै छ।—रोमी १२:११; प्रकाश ३:१५, १६.

[फुटनोटहरू]

a अप्रिल १५, १९८७ प्रहरीधरहरा अंग्रेजी अंकको पृष्ठ ३१ हेर्नुहोस्‌।

b मार्च १५, १९८०, अंग्रेजी अंकको प्रहरीधरहरा पृष्ठ ८-११ मा अर्नेस्ट बीभरको जीवनी हेर्नुहोस्‌।

c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित १९७८ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ १५६-८, २०१-१८ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ ?

• समर्पणमा के समावेश छ?

• परमेश्‍वरका पुरातन तथा आधुनिक समर्पित सेवकहरूको कस्ता उदाहरणहरू अनुकरण गर्न योग्यका छन्‌?

• परमेश्‍वरप्रतिको हाम्रो सेवाबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

• परमेश्‍वरप्रति आफ्नो समर्पणको सन्दर्भमा हाम्रो कस्तो अठोट हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

क्रूर व्यवहारको बावजूद यर्मिया विश्‍वासी रहे

[पृष्ठ १६-मा भएको चित्र]

अर्नेस्ट बीभरले आफ्ना छोराछोरीको निम्ति जोसिलो मसीहीको रूपमा राम्रो नमुमा बसाले

[पृष्ठ १७-मा भएको चित्र]

स्पेनी जेलमा हजारौं जवान साक्षीहरूले आफ्नो निष्ठा कायम राखे

[पृष्ठ १८-मा भएका चित्रहरू]

आध्यात्मिक अर्थमा हामी प्रत्येकले हरेक दिन केही न केही सकारात्मक कुरा गरौं