के तपाईंले सत्यलाई आफ्नो बनाउनुभएको छ?
के तपाईंले सत्यलाई आफ्नो बनाउनुभएको छ?
“तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”–रोमी १२:२.
१, २. आज साँचो मसीही हुनु किन सजिलो छैन?
यस आखिरी दिन अर्थात् “डरलाग्दो समयमा” साँचो मसीही हुनु सजिलो छैन। (२ तिमोथी ३:१) तथ्य कुरा के हो भने, ख्रीष्टको उदाहरण पछ्याउन संसारमाथि विजय हासिल गर्नुपर्छ। (१ यूहन्ना ५:४) मसीही मार्गबारे येशूले भन्नुभएको कुरा सम्झनुहोस्, “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” उहाँले यसो पनि भन्नुभयो: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।”—मत्ती ७:१३, १४; लूका ९:२३.
२ जीवनतर्फ डोऱ्याउने साँघुरो बाटो भेट्टाएपछि मसीहीको निम्ति अर्को चुनौती यही बाटोमा लागिरहनु हो। यो किन चुनौती हो? हाम्रो समर्पण र बप्तिस्माको कारण हामी शैतानका धूर्त युक्तिहरूको तारो हुन्छौं। (एफिसी ६:११) त्यसले हाम्रा कमीकमजोरीहरू पत्ता लगाउँछ अनि त्यसको नाजायज फाइदा उठाएर हाम्रो आध्यात्मिकतालाई भ्रष्ट पार्ने प्रयास गर्छ। त्यसले येशूको विश्वासलाई त भंग गर्ने प्रयास गऱ्यो भने हामीलाई झन् के छोड्ला र?—मत्ती ४:१-११.
शैतानका धूर्त चालहरू
३. शैतानले हव्वाको मनमा कसरी शंका उत्पन्न गरायो?
३ शैतानले चलाउने एउटा चाल हाम्रो मनमा शंका उत्पन्न गरेर हो। त्यसले हाम्रो आध्यात्मिक हातहतियारमा कमीकमजोरीहरू खोज्छ। सुरुमा त्यसले हव्वासित यही चाल चलेर यस्तो प्रश्न गऱ्यो: “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्नुभएको छ?” (उत्पत्ति ३:१) अर्को शब्दमा भन्ने हो भने, शैतानले यसो भनिरहेको थियो, ‘के परमेश्वरले त्यो फल नखानू भनेर निषेध गर्नुभएको होला र? त्यस्तो असल कुरा पनि उहाँले तिमीबाट वञ्चित गर्नुहोला र? तिमीले त्यो फल खाएकै दिनमा तिम्रो आँखा खोल्नेछ र परमेश्वर जस्तै हुनुका साथै असल र खराब छुट्याउनसक्ने हुनेछौ भनी परमेश्वरलाई थाह छ!’ यसरी शैतानले हव्वाको हृदयमा शंकाको बीउ रोप्यो र त्यसलाई अंकुराउन दियो।—उत्पत्ति ३:५.
४. आज कसै कसैलाई कस्ता शंकाहरूले असर गर्नसक्छ?
४ शैतानले यो चाल आज कसरी चलाउँछ? हामीले आफ्नो बाइबल पढाइ, व्यक्तिगत अध्ययन, प्रार्थना, हाम्रो मसीही सेवकाई र सभाहरूलाई बेवास्ता गऱ्यौं भने अरूले उत्पन्न गरेका शंकाहरूले हामीलाई फन्दामा पार्नसक्छन्। उदाहरणका लागि: “येशूले सिकाउनु भएअनुसार सत्य यही हो भनेर कसरी थाह पाउनसक्छौं?” “हामीले अहिले २१ औं शताब्दीमा पाइला टेकिसक्यौं, के यही नै आखिरी दिन हो त?” “आरमागेडोन नजिकै छ वा कहिले हो कहिले?” त्यस्ता शंकाहरू हाम्रो मनमा उत्पन्न भयो भने ती समाधान गर्न हामी के गर्नसक्छौं?
५, ६. हाम्रो मनमा शंका उपशंकाहरू उब्ज्यो भने के गर्नुपर्छ?
५ याकूबले यस्तो व्यावहारिक सल्लाह लेखे: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस्, र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्वाससाथ मागोस्। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ। किनकि त्यस मानिसले यस्तो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। दोहोरो मन भएको मानिस उसको सबै चाल-चलनमा चञ्चल हुन्छ।”—याकूब १:५-८.
६ त्यसोभए, हामीले के गर्नुपर्छ? हामीले प्रार्थना गरेर ‘परमेश्वरसित’ विश्वास र समझ ‘मागिरहनुपर्छ’ अनि कुनै प्रश्न वा शंका हटाउन अझ बढी व्यक्तिगत अध्ययन गर्ने प्रयास गर्नुपर्छ। यहोवाले हामीलाई सहयोग चाहिएको बेला सधैं मदत दिनुहुनेछ भनी ढुक्क हुँदै विश्वासमा बलिया भएकाहरूसँग पनि हामी मदत माग्नसक्छौं। याकूबले यसो पनि भने: “परमेश्वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” हो, अध्ययन र प्रार्थनामार्फत यहोवासँग घनिष्ठ हुँदै जाँदा हाम्रा शंका उपशंकाहरू कम हुँदै जानेछन्।—याकूब ४:७, ८.
७, ८. येशूले सिकाउनुभएको उपासनाशैली चिन्ने आधारभूत तरिका के हो र कसले मात्र ती पूरा गरिरहेको छन्?
७ उदाहरणका लागि, यस प्रश्नलाई विचार गर्नुहोस्: येशूले सिकाउनुभएको उपासनाशैली अनुसार नै हामीले गरिरहेका छौं भनेर कसरी थाह पाउनसक्छौं? यस प्रश्नको जवाफ पाउन कुन कुन कुरा विचार गर्नुपर्छ? साँचो मसीहीहरूबीच प्रेम हुनुपर्छ भनेर बाइबल बताउँछ। (यूहन्ना १३:३४, ३५) तिनीहरूले यहोवा परमेश्वरको नाउँ पवित्र पार्नुपर्छ। (यशैया १२:४, ५; मत्ती ६:९) अनि तिनीहरूले त्यस नाउँबारे अरूलाई पनि बताउनुपर्छ।—प्रस्थान ३:१५; यूहन्ना १७:२६.
८ साँचो उपासनाको अर्को चिनारी परमेश्वरको वचन बाइबलप्रति आदर देखाउनु हो। परमेश्वरको व्यक्तित्व र उहाँका उद्देश्यहरू बताउने यो अनुपम पुस्तक हो। (यूहन्ना १७:१७; २ तिमोथी ३:१६, १७) यसबाहेक, साँचो मसीहीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउन मानिसजातिको एउटै मात्र आशा परमेश्वरको राज्य हो भनेर उद्घोषणा गर्छन्। (मर्कूस १३:१०; प्रकाश २१:१-४) तिनीहरू यस संसारको भ्रष्ट राजनीति तथा विकृत जीवनशैलीबाट अलग बस्छन्। (यूहन्ना १५:१९; याकूब १:२७; ४:४) यी आवश्यकताहरू आज कसले साँच्चै पूरा गरिरहेका छन्? तथ्यहरू केलाएर हेर्दा एउटै मात्र स्पष्ट जवाफ पाउँछौं—यहोवाका साक्षीहरूले।
शंका उपशंकाहरू उब्जिरह्यो भने नि ?
९, १०. शंका उपशंकाहरू उब्जिरह्यो भने हामी के गर्नसक्छौं?
९ हाम्रो मनमा थुप्रै शंका उपशंका उब्जिरहेका छन् भने नि? हामीले के गर्नुपर्छ? बुद्धिमान् राजा सुलेमान यस्तो जवाफ दिन्छन्: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझशक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़-धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।”—हितोपदेश २:१-५.
१० के यो उदेकलाग्दो विचार होइन र? हामी परमेश्वरको बुद्धिमा साँचो मनले ध्यान दिन तयार छौं भने हामीले ‘परमेश्वरको ज्ञान प्राप्त गर्नेछौं।’ हो, हामी उहाँले भन्नुभएका कुराहरू प्राप्त र कदर गर्न इच्छुक छौं भने हामी यस ब्रह्माण्डको सार्वभौम परमेश्वरको ज्ञान हासिल गर्नसक्छौं। यसको अर्थ प्रार्थनामा र व्यक्तिगत अध्ययनमार्फत यहोवालाई पुकार्नु हो। उहाँको वचनमा भएको गाडधनले हामीलाई शंकाहरू समाधान गर्न र सत्यको ज्योति चिन्न मदत गर्नेछ।
११. एलीशाको चाकरलाई शंकाले कस्तो प्रभाव पाऱ्यो?
११ डराउने र शंका गर्ने परमेश्वरको सेवकलाई प्रार्थनाले कसरी मदत गऱ्यो भन्ने स्पष्ट उदाहरण हामी २ राजा ६:११-१८ मा पाउँछौं। एलीशाका चाकरसित आध्यात्मिक समझको कमी थियो। अरामी सेनाले घेरा लगाइसकेको हुँदा परमेश्वरको अगमवक्तालाई मदत गर्न स्वर्गीय जनहरू छन् भनेर यो चाकरले बुझ्नै सकेन। त्रसित हुँदै उक्त चाकर यसो भनेर करायो: “हाय, मेरा प्रभु, अब हामी के गरौं?” एलीशाले कस्तो जवाफ दिए? “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” तर त्यस चाकर कसरी विश्वस्त हुनसक्थ्यो? तिनले स्वर्गीय जनहरू देख्न सक्दैनथ्यो।
१२. (क) चाकरको शंका कसरी समाधान गरियो? (ख) हाम्रो मनमा उब्जेका शंकाहरू पनि कसरी समाधान गर्नसक्छौं?
१२ “तब एलीशाले यसो भनेर प्रार्थना चढ़ाए, ‘हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।’ तब परमप्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाको वरिपरिको डाँड़ामा अग्निमय घोड़ा र रथहरू भरिएको देख्यो।” त्यतिबेला, यहोवाले चाकरको आँखा खोलिदिनुभयो र उसले एलीशालाई सुरक्षा दिइरहेका स्वर्गीय सेना देख्नसक्यो। तथापि, हामीले आज पनि त्यस्तै प्रकारको ईश्वरीय मदतको आशा गर्न सक्दैनौं। स्मरण रहोस्, अगमवक्ताको त्यस चाकरसँग आफ्नो विश्वास बलियो बनाउन सम्पूर्ण बाइबल थिएन। हामीसँग बाइबल छ। हामीले यसको सदुपयोग गऱ्यौं भने हाम्रो विश्वास पनि सुदृढ हुनसक्छ। उदाहरणका लागि, यहोवा आफ्नो स्वर्गीय बासस्थानमा हुनुभएको केही विवरणहरूबारे गौर गर्नसक्छौं। ती पढ्दा यहोवाको स्वर्गीय संगठन छ र यसले उहाँका सेवकहरूको विश्वव्यापी शैक्षिक कार्यमा सघाइरहेको छ भन्ने कुरामा कुनै शंका उब्जिनेछैन।—यशैया ६:१-४; इजकिएल १:४-२८; दानियल ७:९, १०; प्रकाश ४:१-११; १४:६, ७.
शैतानका युक्तिहरूदेखि होसियार रहनुहोस् !
१३. हामीले दह्रोसित पक्रिराखेको सत्यलाई शैतानले कस्ता माध्यमद्वारा कमजोर बनाउने प्रयास गर्छ?
१३ हाम्रो आध्यात्मिकता र हामीले दह्रोसित पक्रिराखेको सत्यलाई कमजोर बनाउने शैतानका अन्य युक्तिहरू के हुन्? तीमध्ये एउटा, अनैतिकता हो र यो विभिन्न प्रकारको हुन्छ। आजको यौन लिप्त संसारमा प्रेम सम्बन्ध (अवफादारीको आधुनिक संज्ञा) वा एक रातको सम्बन्ध (अरूप्रति कुनै चासो नराखी गरिने व्यभिचार) इत्यादि गतिविधि हर हालतमा रमाइलो गर्न चाहने अति विलासी पुस्ताको दिनचर्या भएको छ। चलचित्र, टिभी र भिडियोहरूले यस्तै प्रकारको जीवनशैलीलाई टेवा दिन्छ। सञ्चार माध्यम र विशेष गरी इन्टरनेटमा अश्लील कुराहरू छ्यासछ्यास्ती छन्। कौतूहल मानिसहरूका लागि जानकारीको कुनै अभाव छैन।—१ थिस्सलोनिकी ४:३-५; याकूब १:१३-१५.
१४. कोही कोही मसीही किन शैतानका युक्तिहरूको सिकार भएका छन्?
१४ कोही कोही मसीही आफ्नो कौतूहलको सिकार भएका छन् र अलिअलि वा पूरै अश्लीलताले भरिएका चित्रहरू हेरेर तिनीहरूले आफ्नो मन अनि हृदय भ्रष्ट बनाएका छन्। तिनीहरू शैतानको यो लोभलाग्दो पासोमा परेका छन्। त्यसो गर्दा अक्सर तिनीहरूको विश्वासको जहाज डुबेको छ। त्यस्ता मानिसहरू “खराबीमा बालकहरू” हुन सकेनन्। तिनीहरू “समझमा मानिस” भएका छैनन्। (१ कोरिन्थी १४:२०) परमेश्वरको वचनको सिद्धान्त तथा स्तरहरू पालन नगरेको कारण हजारौंले वर्षेनी ठूलो मोल चुकाउनु परेको छ। तिनीहरूले “परमेश्वरका सारा हात-हतियार” धारण गर्न र त्यसको जतन गर्न बेवास्ता गरेका छन्।—एफिसी ६:१०-१३; कलस्सी ३:५-१०; १ तिमोथी १:१८, १९.
आफूसँग भएको कुराको कदर गर्नुहोस्
१५. कसै कसैलाई आफ्नो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्न किन गाह्रो हुनसक्छ?
१५ येशूले यसो भन्नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३२) अधिकांश साक्षीहरूले आफ्नो पुरानो जीवनशैली र धार्मिक सरसंगति त्याग्नुपरेको छ। त्यसरी तिनीहरू सत्यले दिने स्वतन्त्रताको अझ बढी मूल्यांकन गर्न सक्षम हुनसक्छन्। अर्कोतर्फ, सच्चाइमा भएका आमाबाबुले हुर्काएका छोराछोरीलाई आफ्नो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्न गाह्रो हुनसक्छ। तिनीहरू कहिल्यै पनि झूटा धर्म वा मोजमस्ती, लागू पदार्थ र अनैतिकतालाई जोड दिने संसारको भाग भएका छैनन्। फलस्वरूप, तिनीहरू हाम्रो आध्यात्मिक प्रमोदवन र शैतानको भ्रष्ट संसारबीच ठूलो भिन्नता देख्न सक्दैनन्। तिनीहरू आफूले के के गुमाइरहेको छ भनी हेर्न ती कुराहरूप्रति प्रलोभित हुँदै संसारको विष चाख्न पनि लालायित हुनसक्छन्!—१ यूहन्ना २:१५-१७; प्रकाश १८:१-५.
१६. (क) हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नसक्छौं? (ख) हामीलाई के कुरा सिकाइनुका साथै के गर्न प्रोत्साहन दिइएको छ?
१६ दुःखकष्ट कस्तो हुन्छ भनेर थाह पाउन के हामीले आफ्नो औंला पोलेरै हेर्नुपर्छ र? के हामी अरूको नकारात्मक अनुभवहरूबाट सिक्न सक्दैनौं र? हामीले कतै केही गुमाइरहेका छौं कि भनेर हेर्न यस संसारको ‘हिलोमा’ लडीबडी गर्नैपर्छ र? (२ पत्रुस २:२०-२२) पहिला शैतानको संसारको भाग भएका प्रथम शताब्दीका मसीहीहरूलाई पत्रुसले यसरी सम्झाए: “अन्यजातिहरूको इच्छाअनुसार काम गर्ने, लुच्च्याइँ, अभिलाषा, मतवालीपन, मोज-मजा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा चल्ने, जो बितेका समयमा भयो, सो प्रशस्त होला।” पतित जीवन कस्तो हुन्छ भनेर थाह पाउन संसारको “ज्यादै उपद्रव” हामीले अनुभव गर्नु पर्दैन। (१ पत्रुस ४:३, ४) त्यसको विपरीत, बाइबल शिक्षाको केन्द्र अर्थात् हाम्रा राज्यभवनहरूमा हामीलाई यहोवाको उच्च नैतिक स्तरहरू सिकाइन्छ। अनि हामीसँग सत्य छ र यसलाई आफ्नो बनाएको प्रमाण दिन समझशक्ति प्रयोग गर्न प्रोत्साहन दिइएको छ।—यहोशू १:८; रोमी १२:१, २; २ तिमोथी ३:१४-१७.
हाम्रो नाउँ लेबल मात्र होइन
१७. हामी कसरी यहोवाको प्रभावकारी साक्षी हुनसक्छौं?
१७ हामीले सच्चाइलाई आफ्नो बनायौं भने, हामी हरपल अरूसित यो सच्चाइ बाँड्ने सुअवसरको खोजीमा हुनेछौं। यसको अर्थ, चासो नदेखाउनेहरूलाई जबरजस्ती गर्छौं भनेको होइन। (मत्ती ७:६) बरु, आफू यहोवाको साक्षी भनी अरूको अगाडि चिनाउन लजाउने छैनौं। राम्रो प्रश्न गरेर वा बाइबल साहित्य स्वीकारेर अलिकति मात्र चासो देखाएको खण्डमा पनि हामी आफ्नो आशाबारे अरूलाई बताउन तत्पर हुनेछौं। निस्सन्देह, यसको अर्थ हामी घर, काम, स्कूल, पसल वा मनोरञ्जनका ठाउँहरू अर्थात् जहाँसुकै भए तापनि कुनै न कुनै साहित्य आफूसित राख्नेछौं।—१ पत्रुस ३:१५.
१८. आफूलाई मसीहीको रूपमा चिनाउँदा हाम्रो जीवनमा कस्तो सकारात्मक प्रभाव पर्नसक्छ?
१८ हामीले आफूलाई मसीही भनेर चिनाउँदा शैतानका धूर्त आक्रमणहरू विरुद्ध दृढ भई खडा हुन सक्नेछौं। जन्मदिन अथवा क्रिसमस भोज वा अफिसमा चिट्ठा खोलिंदै छ भने सहकर्मीहरूले अक्सर “उसलाई नभन। ऊ यहोवाको साक्षी हो” भन्नेछन्। यसै कारणले गर्दा मानिसहरू हाम्रो उपस्थितिमा फोहरी ख्यालठट्टा गर्न अप्ठ्यारो मान्नेछन्। अतः आफ्नो मसीही अडानबारे अरूलाई थाह दिंदा प्रेरित पत्रुसले बताएझैं धेरै फाइदा हुनसक्छ: “यदि तिमीहरू भलाइको निम्ति उत्सुक हुन्छौ भनेता तिमीहरूको हानि गर्ने को हुन्छ? तर धर्मको खातिर दुःख भोग्नुपऱ्यो भनेता तिमीहरू धन्यका हौ।”—१ पत्रुस ३:१३, १४.
१९. हामी आखिरी दिनको पनि अन्तमा छौं भनेर कसरी थाह पाउनसक्छौं?
१९ सत्यलाई आफ्नो बनाउँदा हुने अर्को फाइदा हामी साँच्चै नै यस रीतिरिवाजको आखिरी दिनमा छौं भनेर विश्वस्त हुनु हो। बाइबलका थुप्रै भविष्यवाणी हाम्रो समयमा चरमोत्कर्षमा पुगिसकेको छ भनेर हामीले थाह पाउनेछौं। a “आखिरी दिनमा डरलाग्दो समय आउनेछ” भन्ने पावलको चेताउनीको पुष्टि गत शताब्दीको डरलाग्दा घटनाहरूले दिन्छ। (२ तिमोथी ३:१-५; मर्कूस १३:३-३७) बीसौं शताब्दीको सन्दर्भमा हालैको एउटा अखबारको लेखको शीर्षक यस्तो थियो, “यो बर्बरताको युगको रूपमा चिनिनेछ।” उक्त लेखमा यसो पनि भनिएको थियो: “सबैभन्दा घातक शताब्दीको पछिल्लो भागमा सन् १९९९ सबैभन्दा घातक वर्ष साबित भयो।”
२०. अहिले कस्तो कदम चाल्ने समय हो?
२० अहिले अल्याङटल्याङ गर्ने समय होइन। सबै जातिहरूलाई साक्षी दिन सबैभन्दा महान् शैक्षिक कार्य सम्पन्न भइरहेको छ र यो पृथ्वीमै आजसम्म भएको सबैभन्दा ठूलो कार्यमा यहोवाको आशिष् स्पष्ट देख्छौं। (मत्ती २४:१४) सत्यलाई आफ्नो बनाउनुहोस् र अरूलाई बताउनुहोस्। तपाईंले अहिले गर्नुहुने काममै तपाईंको अनन्त भविष्य निर्भर छ। पछि हटेर सुस्त हुँदा हामीले यहोवाको आशिष् पाउने छैनौं। (लूका ९:६२) बरु, अहिले ‘स्थिर र अटल भई सधैं प्रभुको काममा प्रशस्त हुँदै जाने’ समय हो ‘किनकि हामीहरू जान्दछौ, कि हाम्रो परिश्रम प्रभुमा व्यर्थ हुँदैन।’—१ कोरिन्थी १५:५८.
[फुटनोट]
a जनवरी १५, २००० प्रहरीधरहरा-को पृष्ठ १२-१४ हेर्नुहोस्। हामी १९१४ देखि आखिरी दिनमा बाँचिरहेका छौं भनेर अनुच्छेद १३-१८ ले छ वटा सशक्त कारणहरू दिन्छन्।
के तपाईंले सम्झनुभएको छ?
• हामी कसरी शंकाहरू समाधान गर्नसक्छौं?
• एलीशाको चाकरको उदाहरणबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
• कस्ता अनैतिक प्रलोभनहरूबाट हामी हरबखत होसियार हुनुपर्छ?
• हामीले आफूलाई यहोवाका साक्षीहरू हौं भनी किन स्पष्टसित चिनाउनुपर्छ?
[प्रश्नहरू]
[पृष्ठ १०-मा भएका चित्रहरू]
नियमित बाइबल अध्ययन र प्रार्थनाले हामीलाई शंकाहरू समाधान गर्न मदत गर्नसक्छ
[पृष्ठ ११-मा भएको चित्र]
एउटा दर्शनद्वारा एलीशाको चाकरको शंका समाधान गरियो
[पृष्ठ १२-मा भएको चित्र]
बेनिनको जस्तो यस्तै राज्यभवनमा हामी यहोवाको उच्च नैतिक स्तरबारे सिक्छौं