सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खतरनाक संसारमा सुरक्षाको खोजी

खतरनाक संसारमा सुरक्षाको खोजी

खतरनाक संसारमा सुरक्षाको खोजी

विस्फोटक पदार्थ बिछ्याइएको जमिनमा हिंड्‌नु खतरनाक हुन्छ। तर विस्फोटक पदार्थहरू कहाँ कहाँ बिछ्याइएको छ भनेर देखाउने नक्सा छ भने बेस हो नि, होइन र? साथै मानि लिनुहोस्‌, तपाईंले विभिन्‍न प्रकारका विस्फोटक पदार्थहरू पत्ता लगाउनसक्ने प्रशिक्षण लिनुभएको छ। स्पष्टतः त्यस्तो ज्ञानले तपाईंलाई अंगभंग हुने वा ज्यानै गुमाउने खतरादेखि धेरै हदसम्म जोगाउनसक्छ।

बाइबललाई जमिनमनि बिछ्याइएको विस्फोटक पदार्थ कहाँ कहाँ छन्‌ भनेर पत्ता लगाउने ज्ञान र त्यससम्बन्धी प्रशिक्षणसँग तुलना गर्न सकिन्छ। जीवनमा आइपर्ने समस्या तथा खतराहरूबाट बच्न अनि त्यसको सामना गर्न बाइबलमा अतुलनीय बुद्धि छ।

हितोपदेश २:१०, ११ मा पाइने यस आश्‍वासनदायी प्रतिज्ञालाई विचार गर्नुहोस्‌: “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ।” यहाँ उल्लेख गरिएको बुद्धि र विवेकको स्रोत मानवीय नभई ईश्‍वरीय हो। “जसले [ईश्‍वरीय बुद्धि] सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।” (हितोपदेश १:३३) बाइबलले हाम्रो सुरक्षा बढाउनुका साथै थुप्रै समस्याबाट हामीलाई कसरी बच्न मदत गर्छ, आउनुहोस्‌, हामी हेरौं।

घातक दुर्घटनाहरूबाट बच्ने

विश्‍व स्वास्थ्य संघद्वारा (डब्ल्यु एच ओ) हालै प्रकाशित तथ्यांकअनुसार सवारी दुर्घटनाको कारण विश्‍वभरि वार्षिक मृत्युदर लगभग ११,७१,००० पुगेको छ। झन्डै ४ करोड मानिस घाइते हुन्छन्‌ अनि ८० लाखभन्दा बढी मानिस लामो समयसम्म अशक्‍त हुन्छन्‌।

सवारीसाधन चलाउँदा पूर्णतया खतरामुक्‍त हुनु असम्भव भए तापनि सवारी नियमहरू पालन गर्दा हामी व्यक्‍तिगत तवरमा सुरक्षित हुनसक्छौं। सवारी नियमहरू बनाउने र लागू गर्ने सरकारी अधिकारीहरूबारे बाइबल यसो भन्छ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌।” (रोमी १३:१) यो सल्लाह पालन गर्ने सवारी चालक घातक नतिजा निम्त्याउने दुर्घटनामा पर्नदेखि धेरै हदसम्म जोगिन्छ।

सुरक्षित ढंगमा सवारी चलाउने अर्को उत्प्रेरणा जीवनप्रति आदर हो। यहोवा परमेश्‍वरबारे बाइबल यसो भन्छ: “जीवनको मूल तपाईंसँग छ।” (भजन ३६:९) त्यसैले, जीवन ईश्‍वरीय वरदान हो। फलस्वरूप, कसैबाट यो वरदान छिन्‍ने वा आफ्नै अनि अरूको जीवनप्रति अनादार देखाउने हामीसँग कुनै अधिकार छैन।—उत्पत्ति ९:५, ६.

मानव जीवनप्रति आदर देखाउनुमा सम्भव भएसम्म आफ्नो सवारीसाधन र घरलाई सुरक्षित राख्नु जस्ता कुराहरू स्वतः समावेश हुन्छन्‌। पुरातन इस्राएलमा जीवनको हर पक्षमा सुरक्षालाई निकै प्राथमिकता दिइन्थ्यो। उदाहरणका लागि, घर बनाउँदा पारिवारिक गतिविधि अत्यधिक हुने छतमा बार लगाउनुपर्ने कुरा परमेश्‍वरले दिनुभएको व्यवस्थामा बताइएको थियो। “नयाँ घरको छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही . . . लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन।” (व्यवस्था २२:८) यो सुरक्षात्मक नियम पालन नगरेको कारण कोही छतबाट लड्यो भने परमेश्‍वरले घरधनीलाई नै दोषी ठहऱ्‍याउनुहुन्थ्यो। निस्सन्देह, यस व्यवस्थाले समेटेको मायालु सिद्धान्त व्यवहारमा उतार्दा काम गर्ने ठाउँमा वा मनोरञ्जन गर्दासमेत दुर्घटना हुने खतरा कम हुन्छ।

घातक दुर्व्यसन विरुद्ध लड्‌ने

डब्ल्यु एच ओ -का अनुसार संसारमा अहिले एक अरबभन्दा बढी मानिसले चुरोट सेवन गर्छन्‌ र वर्षेनी झन्डै चालीस लाख धूम्रपानको कारण मर्छन्‌। आगामी २० देखि ३० वर्षमा यसरी मर्नेहरूको संख्या बढेर लगभग एक करोड पुग्ने अनुमान गरिएको छ। धूम्रपानको अलावा “मनोरञ्जनात्मक” लागू पदार्थ सेवन गर्ने लाखौं अम्मलीहरूले आफ्नो स्वास्थ्य बिगार्नुका साथै जीवनलाई क्षति गर्छन्‌।

परमेश्‍वरको वचनले धूम्रपान र लागू पदार्थको दुर्व्यसनबारे तोकेरै बताएको त छैन तर यससम्बन्धी सिद्धान्तहरूले हामीलाई यस्ता कुलतहरूबाट बचाउनसक्छ। उदाहरणका लागि, २ कोरिन्थी ७:१ यस्तो सल्लाह दिन्छ: “सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।” चुरोट तथा अन्य लागू पदार्थमा हुने हानिकारक तत्त्वहरूले शरीरलाई हानि गर्छ भन्‍ने कुरामा कुनै शंका छैन। यसबाहेक, परमेश्‍वर हाम्रो शरीर शुद्ध अनि स्वच्छ अर्थात्‌ “पवित्र” भएको चाहनुहुन्छ। (रोमी १२:१) यी सिद्धान्तहरू लागू गर्दा जीवनका खतराहरू निकै कम हुनेछ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

खतरनाक बानीहरूमाथि विजयी हुने

थुप्रै मानिस खाने र पिउने सन्दर्भमा अचाक्ली गर्छन्‌। अचाक्ली खाने बानीले गर्दा मधुमेह, क्यान्सर र मुटुसम्बन्धी रोग लाग्नसक्छ। मद्यपान दुर्व्यसनको कारण थप समस्या हुन्छन्‌ जस्तै, मतवालापन, कलेजोको रोग (सिरोसिस), भताभुंग परिवार र सवारी दुर्घटनाहरू आदि। अर्कोतर्फ, अत्यन्तै कम खाना खानु पनि हानिकारक छ किनभने जीवनलाई नै खतरामा पार्ने एनोरक्सीया नर्भोसा जस्ता रोग लाग्नसक्छ।

बाइबल चिकित्सासम्बन्धी पाठ्यपुस्तक नभए तापनि खाने र पिउने बानीमा संयमी हुनुपर्छ भनी यसले स्पष्ट सल्लाह दिन्छ। “सुन्‌, हे मेरो छोरो, सुन्‌ र बुद्धिमानी बन्‌, तेरो मन ठीक बाटोतिर लगा। मतवाला अथवा घिचुवाहरूको संगत नगर्‌। किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ।” (हितोपदेश २३:१९-२१) यद्यपि, बाइबलले खानु र पिउनु आनन्ददायी हुनुपर्छ भनेर पनि बताउँछ। “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१३.

“शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ” भनी पुष्टि दिंदै बाइबलले शारीरिक व्यायामप्रति पनि सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहन दिन्छ। तर बाइबल यसो पनि भन्छ: “[ईश्‍वरीय] भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) तपाईं प्रश्‍न गर्नु होला, ‘ईश्‍वरीय भक्‍ति अहिले पनि कसरी उपयोगी हुनसक्छ?’ थुप्रै तरिकामा उपयोगी हुनसक्छ। ईश्‍वरीय भक्‍ति हाम्रो जीवनको महत्त्वपूर्ण आध्यात्मिक पक्ष हुनुका साथै यसले प्रेम, आनन्द, शान्ति, आत्म-संयमजस्ता उपयोगी गुणहरूको विकास गर्छ र सकारात्मक मनोवृत्ति तथा सुस्वास्थ्य कायम राख्न योगदान पुऱ्‍याउँछ।—गलाती ५:२२, २३.

अनैतिकताका दर्दनाक नतिजाहरू

आज धेरैले कुनै पनि प्रकारका नैतिक बन्देजको पर्वाह गर्दैनन्‌। यसको एउटा नतिजा एड्‌सको महामारी हो। डब्ल्यु एच ओ-का अनुसार एड्‌सको महामारी सुरु भएदेखि एक करोड ६० लाखभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ र अहिले एड्‌सको एच आइ भी जीवाणुबाट झन्डै तीन करोड ४० लाख मानिसहरू संक्रमित छन्‌। धेरैजसोलाई छाडा यौन गतिविधि, लागू पदार्थ दुर्व्यसनीहरूले प्रयोग गरेका संक्रमित सुई वा संक्रमित रगत लिएको कारण रोग लागेको हो।

अनैतिक गतिविधिका अन्य परिणामहरू लुतो, धातुमेह, हेपाटाइटिस बी र सी तथा भिरिंगी हुन्‌। बाइबल समयमा त्यस्ता चिकित्सा शब्दावलीहरू प्रयोग नगरिए तापनि कुनै कुनै यौनजन्य रोगले आक्रमण गर्ने अंगहरूबारे भने थाह थियो। उदाहरणका लागि, व्यभिचारको घातक नतिजाबारे हितोपदेश ७:२३ मा ‘वाणले त्यसको कलेजो नै छेड्‌छ’ भनी वर्णन गरिएको छ। भिरिंगी र हेपाटाइटिसले सामान्यतया कलेजोलाई बिगार्छ। हो, मसीहीहरू ‘रगत र व्यभिचारबाट अलग रहनु’ भन्‍ने बाइबलको सल्लाह साँच्चै सामयिक र मायालु छ!—प्रेरित १५:२८, २९.

रुपियाँपैसाको प्रेमको पासो

रातारात धनी हुने प्रयासमा थुप्रै मानिसले आफ्नो पैसा लगानी गरेर ठूलो खतरा मोल्छन्‌। दुःखको कुरा, त्यस्तो खतरा उठाउँदा अक्सर आर्थिक नोक्सानी हुन्छ वा पूरै पैसा डुब्छ। तथापि, परमेश्‍वरका सेवकहरूलाई बाइबल यसो भन्छ: “त्यसले परिश्रम गरोस, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।” (एफिसी ४:२८) हो, कडा परिश्रम गर्ने मानिस सधैं धनी नहोला। यद्यपि, ऊसित मनोशान्ति, आत्म-सम्मान तथा सायद राम्रा कामहरूको निम्ति अनुदान दिन पैसासमेत हुन्छ।

बाइबल यस्तो चेताउनी दिन्छ: ‘धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्नेहरूको . . . हृदय दुःखले छेंड़ेका हुन्छन्‌।’ (१ तिमोथी ६:९, १०) “धनी हुने इच्छा गर्ने[हरू]” धनी हुन्छन्‌ पनि भन्‍नुमा कुनै आपत्ति छैन। तर तिनीहरूले कस्तो मोल चुकाउनुपर्छ? यसले तिनीहरूको स्वास्थ्य, परिवार, आध्यात्मिकता र निद्रासमेत गोलमाल भइरहेको हुन्छ भन्‍नु सही होइन र?—उपदेशक ५:१२.

“मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन” भन्‍ने कुरा बुद्धिमान्‌ मानिसले बुझेको हुन्छ। (लूका १२:१५) पैसा र केही चीजबीजहरू सबैजसो समाजका आवश्‍यकता हुन्‌। वास्तवमा, बाइबलले “रुपियाँपैसा एउटा आश्रय” हो भन्छ तर बाइबलले यसो पनि भन्छ, “बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्छ।” (उपदेशक ७:१२, नयाँ संशोधित संस्करण) पैसाले होइन तर सही ज्ञान र बुद्धिले हामीलाई सबै परिस्थितिमा विशेष गरी, जीवनलाई प्रभावित गर्ने कामकुराहरूमा मदत गर्छ।—हितोपदेश ४:५-९.

जब बुद्धिले मात्र हामीलाई बचाउनेछ

अब छिट्टै परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुहुने “महा संकष्ट[बाट]” साँचो बुद्धिले ‘मानिसको प्राण’ अतुलनीय ढंगमा जोगाउनेछ। (मत्ती २४:२१) बाइबलको भनाइअनुसार त्यतिबेला मानिसहरूले आफ्नो पैसा “अशुद्ध थोकजस्तो” सडकमा फालिरहेका हुनेछन्‌। किन? किनभने सुन र चाँदीले “परमप्रभुको क्रोधको दिनमा” जीवन बचाउन सक्दैन भनेर मानिसहरूले तीतो अनुभव गर्नेछन्‌। (इजकिएल ७:१९) अर्कोतर्फ, आफ्नो जीवनमा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिंदै चतुर भएर ‘स्वर्गमा धन-सम्पत्ति थुपार्ने’ “ठूलो भीड[ले]” आफ्नो लगानीबाट फाइदा उठाउनेछ र पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गर्नेछ।—प्रकाश ७:९, १४; २१:३, ४; मत्ती ६:१९, २०.

हामी यस्तो सुरक्षित भविष्य कसरी हासिल गर्नसक्छौं? येशू यस्तो उत्तर दिनुहुन्छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) लाखौंले परमेश्‍वरको वचन, बाइबलमा यो ज्ञान भेट्टाएका छन्‌। त्यस्ता मानिसहरूले उज्ज्वल भविष्यको आशा पाउनुका साथै अहिले पनि केही मात्रामा शान्ति अनि सुरक्षा अनुभव गरिरहेका छन्‌। यो, भजनरचयिताले अभिव्यक्‍त गरेझैं हो: “शान्तिमा म पल्टूँला र निदाउँला; किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।”—भजन ४:८.

के तपाईं आफ्नो स्वास्थ्य अनि जीवनको खतरा कम गर्न बाइबलले जत्तिको जानकरी अन्य कुनै स्रोतबाट पाउन सक्नुहोला र? बाइबलको जस्तो अख्तियार अन्य कुनै किताबको छैन र आजको खतराले भरिएको संसारमा अन्य कुनै पनि किताबले साँचो सुरक्षा पाउन मदत गर्न सक्दैन। यसबारे अझ बढी जाँच गरे कसो होला?

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

बाइबलको मदतले सुस्वास्थ्य र सुरक्षा

जीवनका वास्तविकताबाट भाग्न जेन a नाउँ गरेकी एउटी युवतीलाई गाँजा, सुर्ती, कोकेन, आम्फिटामाइन्स, एल एस डि र अन्य लागू पदार्थहरू सेवन गर्ने बानी परिसकेको थियो। तिनले रक्सी पनि अचाक्ली पिउँथिन्‌। जेनले बताएअनुसार तिनको श्रीमान्‌को हालत पनि राम्रो थिएन। तिनीहरूको भविष्य अन्धकार देखिन्थ्यो। त्यसै बेलातिर जेनको यहोवाका साक्षीहरूसित भेट भयो। तिनले मसीही सभाहरू धाउन थालिन्‌। अनि प्रहरीधरहरा र यसको सहपत्रिका ब्यूँझनुहोस्‌! पढ्‌न थालिन्‌ अनि आफूले पढेको कुरा श्रीमान्‌लाई पनि बताउँथिन्‌। तिनीहरू दुवैले साक्षीहरूसित बाइबल अध्ययन सुरु गरे। यहोवाका उच्च स्तरहरूप्रति मूल्यांकन बढ्‌दै गएपछि तिनीहरूले ती सबै दुर्व्यसन त्यागे। नतिजा? “हाम्रो नयाँ जीवनले धेरै आनन्द ल्याएको छ” भनी जेनले केही वर्षपछि लेखिन्‌। “शुद्ध हुन उत्प्रेरित गर्ने उहाँको वचनको शक्‍तिको निम्ति र अहिले बिताइरहेको दुर्व्यसनमुक्‍त अनि स्वस्थ जीवनको निम्ति म यहोवाप्रति असाध्यै कृतज्ञ छु।”

जागिरमा इमानदार हुनुको महत्त्व कर्टको अनुभवबाट स्पष्ट हुन्छ। तिनको काम कम्प्युटरको देखरेख गर्नु थियो। नयाँ कम्प्युटरहरू चाहिएको कारण कर्टको मालिकले तिनलाई राम्रो भाउमा ती किन्‍ने जिम्मा सुम्पे। कर्टले सामान उपलब्ध गराउने एउटा राम्रो कम्पनी भेट्टाए र भाउ पनि मिलाइयो। तथापि, त्यो सामान दिने कम्पनीको कर्मचारीले लिखित कोटेसनमा गल्ती गरेछन्‌ र यसले गर्दा भाउ त झन्डै ४०,००० (अमेरिकी) डलरले कम भयो। गल्ती देखेपछि कर्टले कम्पनीलाई फोन गरे र त्यहाँको प्रबन्धकले आफ्नो २५ वर्ष लामो कार्यकालमा त्यस्तो इमानदारी कहिल्यै नदेखेको कुरा बताए। कर्टले आफ्नो अन्तस्करणलाई बाइबलले प्रभावित गरेको कुरा बताए। यसको फलस्वरूप प्रबन्धकले व्यापारमा इमानदार हुनेबारे छलफल गरिएको ब्यूँझनुहोस्‌!-को ३०० प्रति मगाएर आफ्ना सहकर्मीहरूलाई दिने निधो गरे। अनि इमानदार भएकोले कर्टको चाहिं बढुवा भयो।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

“म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।”—यशैया ४८:१७