चश्मा बनाउने मानिसले रोपेको सत्यको बीउ
चश्मा बनाउने मानिसले रोपेको सत्यको बीउ
युक्रेन, लेभेफमा बसोबास गर्ने चश्मा बनाउने मानिसको प्रयास झन्डै २,००० किलोमिटर टाढा, केही देश पर इजरायलको हाइफामा यहोवाका साक्षीहरूको रूसी भाषाको मण्डली स्थापना हुनुसित के सम्बन्ध? यस अनुभवले उपदेशक ११:६ मा पाइने बाइबलको भनाइलाई सही प्रमाणित गर्छ: “बिहान समयमानै बिउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़, किनभने अहिले छरेको अथवा भरै छरेको कुन चाहिं सफल हुन्छ, . . . भनी तँ जान्दैनस्।”
यो कथा सन् १९९० को हो। यहूदी पृष्ठभूमि भएका जवान एला लेभेफमा बस्थिन्। एला र तिनको परिवार इजरायलमा बसाइँ सर्ने तयारी गर्दै थिए। तिनीहरू बसाइँ सर्नुभन्दा केही समयअघि एला माथि उल्लिखित चश्मा बनाउने मानिसकहाँ गएकी थिइन् र त्यो मानिस यहोवाका एक साक्षी थिए। त्यतिबेला यहोवाका साक्षीहरूको काम युक्रेनमा प्रतिबन्धित थियो। यद्यपि, त्यस चश्मा बनाउने मानिस
एलालाई बाइबल आधारित आफ्नो विश्वासबारे बताउन अग्रसर भए। तिनले परमेश्वरको व्यक्तिगत नाउँ छ भन्दा एला छक्क परिन्। त्यसले गर्दा एलाको चासो जाग्यो र फलस्वरूप राम्रो बाइबल छलफल भयो।एलालाई त्यस छलफल असाध्यै रमाइलो लागेको कारण अर्को हप्ता र त्यसपछि पनि अझै छलफल गर्न आग्रह गरिन्। तिनको चासो बढ्दै थियो तर एउटा समस्या थियो। तिनको परिवार इजरायल जाने समय धेरै टाढा थिएन। एलाले अझ धेरै कुरा सिक्न बाँकी नै थियो! जानुअघि बाँकी रहेको समयको फाइदा उठाउँदै तिनले जाने बेला नभएसम्म दिनहुँ बाइबल अध्ययन गर्न आग्रह गरिन्। एलाले इजरायल पुग्ने बित्तिकै अध्ययन सुरु नगरे तापनि तिनको हृदयमा सत्यको बीउ गडिसकेको थियो। वर्षको अन्तसम्ममा तिनले चासो लिएर बाइबल अध्ययन गर्न थालिसकेकी थिइन्।
खाडी क्षेत्रमा युद्ध सुरु भयो र इजरायलमा इराकले क्षेप्यास्त्र आक्रमण गर्न थाल्यो। यही नै कुराकानीको विषय हुन थाल्यो। एलाले एक दिन बजारमा रूसी भाषा बोल्ने नयाँ आप्रवासी परिवारको कुराकानी सुनिन्। एला बाइबल सिकिरहेकी भए तापनि एलाले त्यस परिवारलाई बाइबलको शान्तिमय नयाँ संसारको आशाबारे बताइन्। फलस्वरूप, बज्यै, गेलेना; आमा, नाताशा; छोरा, शाषा (एरिल) र छोरी, एलेना सबै एलाको बाइबल अध्ययनमा बस्न थाले।
थुप्रै परीक्षाको बावजूद बप्तिस्मा लिने निष्कर्षमा पुग्ने पहिलो व्यक्ति शाषा थिए। कक्षामा सधैं प्रथम हुने विद्यार्थी भए तापनि तिनलाई स्कूलबाट निकालियो किनभने मसीही अन्तस्करणको कारण तिनले सैन्य प्रशिक्षणमा भाग लिएनन्। (यशैया २:२-४) शाषाको मुद्दा इजरायलको उच्च अदालतसम्म पुग्यो र अदालतले शाषालाई स्कूलमा पुनः भर्ना लिने आदेश दियो। यस मुद्दाको देशभरि प्रचारप्रसार भयो। फलस्वरूप, थुप्रै इजरायलीलाई यहोवाका साक्षीहरूको विश्वासबारे थाह भयो। a
स्कूलको पढाइ सिद्धिएपछि शाषा यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक भए। अहिले तिनी विशेष अग्रगामी र मण्डलीको प्राचीनको हैसियतमा सेवारत छन्। तिनकी बहिनी एलेना पनि पूर्ण-समय सेवक भएकी छिन्। तिनीहरूकी आमा र बज्यै दुवै बप्तिस्मा प्राप्त साक्षी हुन्। त्यस चश्मा बनाउने मानिसले रोपेको बीउले अझै फल फलाउँदै छ!
अर्कोतिर, एलाले आध्यात्मिक प्रगति गरिरहिन् र चाँडै घरघरको प्रचारकार्यमा भाग लिन थालिन्। एलाले प्रचार गरेको पहिलो घरमै भर्खरै युक्रेनबाट आएका फेयिनालाई भेटिन्। फेयिना अत्यन्तै निराश भएकी थिइन्। एलाले अलिपछि के कुरा थाह पाइन् भने, फेयिनाको घरमा ढकढक्याउनुभन्दा एकछिनअघि मात्र ती उदास स्त्रीले परमेश्वरलाई यसो भनेर प्रार्थना गरेकी रहिछन्: “तपाईं को हुनुहुन्छ मैले चिनेकी छैन तर तपाईंले मेरो यो प्रार्थना सुन्नुभयो भने कृपया मलाई मदत गर्नुहोस्।” उनी र एलाबीच एकदमै उत्साहवर्धक छलफल भयो। फेयिनाले थुप्रै प्रश्न सोधिन् र ती प्रश्नका जवाफहरू ध्यान दिएर सुनिन्। समय बित्दै जाँदा यहोवाका साक्षीहरूले बाइबलबाट सत्य सिकाउँछन् भनेर उनी विश्वस्त भइन्। मण्डली र प्रचारकार्यमा बढी समय बिताउन तिनले आफ्नो विश्वविद्यालयको अध्ययन कार्यक्रममा काँटछाँट गरिन्। मे १९९४ मा फेयिनाले बप्तिस्मा लिइन्। तिनले अग्रगामी सेवा गर्न
थालिन् र आफ्नो पेट पाल्नको निम्ति कम्प्युटर क्षेत्रमा आशिंक जागिर खाइन्।नोभेम्बर १९९४ मा प्रचारकार्यमा भाग लिंदै गर्दा एलाले अकस्मात् अत्यन्तै कमजोर महसुस गरिन्। तिनी अस्पतालमा परीक्षण गराउन गइन् र पेटको अल्सर भएको पत्ता लाग्यो। साँझसम्ममा एलाको हेमोग्लोबिन कम भएर ७.२ पुगिसकेको थियो। अस्पताल सम्पर्क समितिका अध्यक्ष (एच एल सी) र एलाका मण्डलीका प्राचीनले चिकित्सकहरूलाई रगत आवश्यक नपर्ने विभिन्न उपचारविधिहरूबारे जानकारी दिए। b रगतविना सफलतासाथ शल्यक्रिया गरियो र एला पूर्णतया निको भइन्।—प्रेरित १५:२८, २९.
एलाको उपचार गर्ने चिकित्सक कार्ल, स्त्री रोग विशेषज्ञ पनि असाध्यै प्रभावित भए। तिनी जर्मनमा जन्मेका यहूदी थिए। तिनका आमाबाबुलाई नाजी यातना शिविरमा सताइएको थियो र तिनीहरूको त्यतिबेला यहोवाका साक्षीहरूसित चिनजान भएको थियो। कार्लले थुप्रै प्रश्न सोधे। आफ्नो चिकित्सा अध्ययनमा अत्यन्तै व्यस्त भए तापनि कार्लले नियमित बाइबल अध्ययनको निम्ति समय निकाले। अर्को वर्षसम्ममा तिनले साप्ताहिक मसीही सभाहरू धाउन थाले।
चश्मा बनाउने व्यक्तिले रोपेको बीउको नतिजा कस्तो भएको छ? शाषा र तिनको परिवारलाई के भयो, त्यो त हामीले देखिहाल्यौं। एलाचाहिं विशेष अग्रगामीको रूपमा सेवा गर्दैछिन्। भर्खरै स्कूलको पढाइ सिध्याएकी तिनकी छोरी आइनाले पनि छिट्टै अग्रगामी सेवा थाल्दैछिन्। फेयिना पनि विशेष अग्रगामीको हैसियतमा सेवा गर्दैछिन्। एलाको डाक्टर कार्लले चाहिं अहिले बप्तिस्मा लिइसके र सेवकाई सेवक भएका छन् अनि आफ्ना बिरामी र अरू मानिसहरूलाई बाइबल सत्यको निवारण शक्तिबारे बताउँदैछन्।
हाइफा हिब्रू मण्डलीमा रूसी आप्रवासीहरूको सानो समूहमा अहिले १२० राज्य प्रकाशकहरू भएको जोसिलो रूसी मण्डली भएको छ। त्यहाँ भएको वृद्धि केही हदसम्म लेभेफका उक्त चश्मा बनाउने मानिसले सत्यको बीउ छर्ने मौकाको सदुपयोग गरेको कारणले गर्दा हो!
[फुटनोटहरू]
a थप जानकारीको निम्ति ब्यूँझनुहोस्! नोभेम्बर ८, १९९४ को अंग्रेजी अंक पृष्ठ १२-१५ हेर्नुहोस्।
b एच एल सी -ले विश्वभरि यहोवाका साक्षीहरूको प्रतिनिधित्व गर्छ। यसले अस्पताल र बिरामीहरूबीच कुराकानी गर्न मदत गर्छ। त्यसले हाल उपलब्ध चिकित्सा अनुसन्धानको आधारमा वैकल्पिक उपचारविधिबारे पनि जानकारी प्रदान गर्छ।
[पृष्ठ २९-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
युक्रेन
इजरायल
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ ३०-मा भएका चित्रहरू]
एला र तिनकी छोरी आइना
[पृष्ठ ३१-मा भएको चित्र]
हाइफामा रूसी भाषा बोल्ने साक्षीहरूको आनन्दित टोली। बायाँदेखि दायाँ: शाषा, एलेना, नाताशा, गेलिना, फेयिना, एला, आइना र कार्ल