सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो खाँचो जहाँ छ, त्यहाँ सेवा गर्दै

मेरो खाँचो जहाँ छ, त्यहाँ सेवा गर्दै

जीवनी

मेरो खाँचो जहाँ छ, त्यहाँ सेवा गर्दै

जेम्स बि. बेरीको वृत्तान्तमा आधारित

सन्‌ १९३९ को कुरा हो। महामन्दीको कारण संयुक्‍त राज्यमा जीवन धान्‍न असाध्यै गाह्रो भइरहेको थियो र युरोपमा पनि युद्धको बादल मडारिरहेको थियो। मेरो भाइ बेनेट र म कामको खोजीमा हाम्रो घर मिसिसीपीबाट ह्‍युस्टन टेक्सस गएका थियौं।

एक दिन गर्मी महिनाको अन्ततिर रेडियोमा एउटा अस्पष्ट आवाजमा प्रभावकारी घोषणा सुन्यौं: हिटलरको सेना पोल्याण्डभित्र छिऱ्‍यो। “आरमागेडोन सुरु भयो!” भनी मेरो भाइ करायो। तुरुन्तै हामीले आफ्नो जागिर छोड्यौं। नजिकैको राज्यभवनमा गयौं र हाम्रो पहिलो सभामा उपस्थित भयौं। किन राज्यभवन नै? यसबारे म तपाईंहरूलाई सुरुदेखि नै बताउनेछु।

मेरो जन्म सन्‌ १९१५ मा हेब्रेन, मिसिसीपीमा भएको थियो। हाम्रो घर ग्रामीण इलाकामा थियो। त्यतिबेला बाइबल स्टुडेन्ट्‌सको रूपमा चिनिने यहोवाका साक्षीहरू हाम्रो इलाकामा वर्षको एक चोटि जस्तो आउँथे र कुनै एक जना व्यक्‍तिको घरमा भाषण दिन प्रबन्ध मिलाइएको हुन्थ्यो। फलस्वरूप, मेरो मुमाबुबासँग थुप्रै बाइबल साहित्यहरू थिए। बेनेट र मलाई ती पुस्तकहरूले सिकाउने कुरामा विश्‍वास लाग्न थाल्यो। जस्तै: नरकमा तड्‌पाइँदैन, आत्मा मर्छ र धर्मीहरू सधैंभरि पृथ्वीमा बाँच्नेछन्‌। तैपनि, हामीले अझ धेरै सिक्नु बाँकी नै थियो। मेरो स्कूलको पढाइ सिद्धिएको केही समयपछि भाइ र म कामको खोजीमा टेक्ससतिर लाग्यौं।

हामीले त्यहाँ बल्लतल्ल यहोवाका साक्षीहरू राज्यभवनमा भेट्यौं र तिनीहरूले हामीलाई अग्रगामी हो भनेर सोधे। अग्रगामी भनेको यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक हो भनेर हामीलाई थाहै थिएन। त्यसपछि हामीलाई प्रचार गर्ने हो कि भनेर सोधे। हामीले जवाफ दियौं, “अवश्‍य!” तिनीहरूमध्ये कसैले हामीलाई कसरी प्रचार गर्ने सिकाइदिन्छन्‌ होला भन्ठानेका थियौं। तर त्यसो नगरी हाम्रो हातमा प्रचार गर्नुपर्ने इलाकाको नक्सा थम्याएर भने, “त्यहाँ काम गर्नुहोस्‌!” पहिलो कुरा त हामी दुवैलाई प्रचार कसरी गर्ने भनेर थाहै थिएन साथै हामी लाजमा पनि पर्न चाहँदैन थियौं। त्यसैले, हामीले इलाका नक्सा फिर्ता गर्न हुलाकमा खसालेर मिसिसीपी फर्क्यौं!

बाइबल सत्यलाई आफ्नो बनाउने

घर फर्केपछि झन्डै एक वर्षसम्म हामीले साक्षीहरूको प्रकाशन पढ्यौं। घरमा बिजुली बत्ती थिएन, त्यसैकारण राती आगो नजिकै बसेर पढ्‌ने गर्थ्यौं। ती दिनहरूमा परिभ्रमण निरीक्षकहरू यहोवाका साक्षीहरूको मण्डली र साना समूहहरूमा आएर तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो पार्न मदत गर्थे। ती सेवकहरूमध्ये टेड क्लाइन हाम्रो मण्डलीमा आए अनि बेनेट र मसँग घरघरको प्रचारकार्यमा आउनुभयो। अक्सर उहाँले हामी दुवैलाई सँगै लैजानुहुन्थ्यो। उहाँले अग्रगामी कामबारे सबै जानकारी दिनुभयो।

उहाँको साथमा केही समय बिताएपछि हामीले साँच्चै परमेश्‍वरको सेवामा अझ बढी गर्नेबारे विचार गर्न थाल्यौं। त्यसैले, अप्रिल १८, १९४० मा भाइ क्लाइनले बेनेट, हाम्री बहिनी भेल्भा र मलाई बप्तिस्मा दिनुभयो। मुमाबुबा पनि हाम्रो बप्तिस्माको बेला उपस्थित हुनुहुन्थ्यो र उहाँहरू हाम्रो निर्णयमा खुसी हुनुहुन्थ्यो। झन्डै दुई वर्षपछि उहाँहरूले पनि बप्तिस्मा लिनुभयो। उहाँहरू दुवै जना आफ्नो मृत्युसम्मै विश्‍वासी रहनुभयो। बुबाको मृत्यु १९५६ मा र मुमाको १९७५ मा भयो।

भाइ क्लाइनले अग्रगामी गर्न चाहन्छौ कि भनेर सोध्नुहुँदा मैले मन त लाग्छ तर आफूसँग पैसा, लुगाफाटा केही छैन भनें। तर उहाँले भन्‍नुभयो, “ठीकै छ, म बन्दोबस्त मिलाइदिन्छु।” अनि उहाँले मिलाउनु पनि भयो। पहिला उहाँले अग्रगामी गर्न मेरो आवेदन फाराम पठाउनुभयो। त्यसपछि उहाँले मलाई झन्डै ३०० किलोमिटर टाढा न्यु ओर्लियन्स लैजानुभयो र राज्यभवनमाथिको तलामा राम्रा कोठाहरू देखाउनुभयो। ती कोठा अग्रगामीहरूको निम्ति थिए। म चाँडै त्यहाँ सरें र अग्रगामीको हैसियतमा काम गर्न थालें। न्यु ओर्लियन्सका साक्षीहरूले अग्रगामीहरूलाई लुगाफाटा, पैसा र खानेकुरा दिएर मदत गरे। दिउँसो भाइहरूले खाना ल्याएर ढोका बाहिर वा फ्रिजमा समेत हालिदिन्थे। हामी बसेको नजिकै होटेल चलाइरहेका भाइले चाहिं राती होटेल बन्द गर्नुअघि उब्रेका ताजा खानेकुरा जस्तै, मासु, पाउरोटी, चिली कर्न कार्ने र केक लिन सधैंजसो बोलाउँथे।

हूलदंगाको सामना गर्दै

केही समयपछि मलाई ज्याकसन, मिसिसीपीमा अग्रगामी गर्न खटाइयो। मेरो जवान अग्रगामी मित्र र मैले केही हुलदंगाको सामना गर्नुपऱ्‍यो र यसो हेर्दा नियम लागू गराउने स्थानीय अधिकारीहरू नै तिनीहरूको पक्षमा थिए! हाम्रो अर्को कार्यक्षेत्र कोलम्बस, मिसिसीपीमा पनि त्यस्तै भयो। हामीले सबै जात र राष्ट्रका मानिसहरूलाई प्रचार गर्ने भएकोले कोही कोही गोरा व्यक्‍तिहरूले हामीलाई घृणा गर्थे। थुप्रैले हामीमाथि देशद्रोहको आरोप लगाए। अत्यन्तै राष्ट्रभक्‍त संगठन, अमेरिकन लिजनका अध्यक्षले पनि हामीप्रति त्यस्तो दृष्टिकोण राख्थे। तिनले धेरै चोटि आक्रोशित हूललाई हामी विरुद्ध उक्साए।

कोलम्बसमा पहिलो चोटि हामीलाई आक्रमण गर्दा हामी सडकमा पत्रिका वितरण गरिरहेका थियौं। तिनीहरूले हामीलाई लखेट्‌दै पसलको सिसामा लाग्ने गरी घचेटे। के भइरहेको छ भनी हेर्न भीड जम्मा भयो। चाँडै प्रहरी आइपुगे र हामीलाई अदालतमा लगियो। हामीलाई पछ्याउँदै अदालत आइपुगेका हूलले सबै अधिकारीहरूको अघि हामी तिनीहरूले तोकेको दिनभित्र शहर छोडेर गयौं भने केही नगर्ने तर त्यस दिनपछि गएको खण्डमा चाहिं मार्ने धम्की दिए! केही समयको निम्ति शहर छोडेर जानु नै बेस हुनेछ भनेर हामीले विचार गऱ्‍यौं। तर केही हप्तापछि हामी फेरि फर्क्यौं र प्रचार गर्न थाल्यौं।

त्यसको केही समय नबित्दै आठ जना मानिसको समूह हामी भएको ठाउँमा आएर हामीलाई जबरजस्ती दुइटा गाडीमा कोचे। तिनीहरूले हामीलाई जंगलमा लगे अनि सबै लुगा खोलिदिए र मेरो पेटीले हामी सबैलाई ३०/३० पटक कोर्रा लगाए! तिनीहरूसँग बन्दुक र डोरीसमेत थियो। त्यो देखेर हामीलाई निकै डर लागेको थियो। तिनीहरूले हामीलाई डोरीले बाँधेर नदीमा फालिदेलान्‌ जस्तो लागेको थियो। तिनीहरूले हाम्रा साहित्यहरू च्यातचुत पारेर चारैतिर छरिदिए र फोनोग्राफ पनि रूखमा हानेर चकनाचूर पारिदिए।

हामीलाई कोर्रा लगाइसकेपछि लुगा लगाएर सरासर हिंड्‌नू, पछाडि नफर्कनू भन्‍ने आदेश दिए। हिंड्‌दै गर्दा पछाडि फर्क्यौं भने तिनीहरूले हामीलाई साँच्चै गोली हानेर मार्नेछन्‌ र तिनीहरूचाहिं फरार हुनेछन्‌ भन्ठानेका थियौं! तर केही मिनेटपछि तिनीहरू गाडीमा आफ्नो बाटो लागेको आवाज सुन्यौं।

त्यस्तै अर्को एक पटक, क्रोधित हूलले हामीलाई लखेट्यो र हामीले आफ्नो लुगा घाँटीमा बाँधेर पौडी खेल्दै खोला तरेर भाग्नुपरेको थियो। त्यसको केही समयपछि हामी देशद्रोहको आरोपमा पक्राउ पऱ्‍यौं। हामी जेलमा तीन हप्ता बसिसकेपछि मात्र हाम्रो मुद्दा सुरु भयो। यस मुद्दाबारे कोलम्बसमा निकै प्रचारप्रसार भएको थियो। यस मुद्दा हेर्नको निम्ति नजिकैको कलेजका विद्यार्थीहरूलाई चाँडै छुट्टिसमेत दिइएको थियो। मुद्दाको दिन अदालत खचाखच भरिएर बस्ने ठाउँ थिएन, थुप्रै मानिस उभिरहेका थिए! सरकारी गवाही दिनेहरूमा दुई जना प्रचारक, नगरपिता र प्रहरी थिए।

जि. सी. क्लार्क नाउँ गरेका साक्षी वकिल र तिनका सहयोगी हाम्रो पक्षमा बोल्न पठाइएको थियो। ठोस प्रमाण नभएको कारण हामी विरुद्धको देशद्रोहको अभियोग यहीं टुंग्याउन तिनीहरूले आग्रह गरे। भाइ क्लार्कसँग काम गरिरहेका वकिल यहोवाको साक्षी नभए तापनि तिनले हाम्रो पक्षमा प्रभावशाली वकालत गरिदिए। एक चोटि तिनले न्यायाधीशलाई यसो भने: “मानिसहरू यहोवाका साक्षीहरूलाई बौलाहा भन्छन्‌। बौलाहा रे? थोमस एडिसन पनि बौलाहा थिए!” त्यसपछि तिनले बिजुली बत्तीतिर देखाउँदै भने, “तर त्यो चिमलाई हेर्नुहोस्‌!” चिम आविष्कार गर्ने एडिसनलाई थुप्रैले बौलाहा भने होलान्‌ तर तिनको आविष्कारलाई कसैले नकार्न सक्दैन।

बयान सुनेपछि मुद्दाको अध्यक्षता गरिरेहका जिल्ला अदालतका न्यायाधीशले अभियोक्‍तालाई यसो भने: “तपाईंहरूसँग देशद्रोहको विरुद्ध अलिकति पनि प्रमाण छैन र उहाँहरूले जे गरिरहनुभएको छ, त्यो उहाँहरूको अधिकार हो। ठोस प्रमाण नभई उहाँहरूलाई यहाँ अदालतमा ल्याउनु आवश्‍यक छैन अनि सरकारको र मेरो समय अनि पैसाको बरबादी नगर्नूहोस्‌!” यसरी हाम्रो विजय भयो!

तर पछि न्यायाधीशले हामीलाई तिनको कक्षमा बोलाए। शहरै तिनको यस निर्णयको विरुद्धमा छ भनी तिनलाई थाह थियो। त्यसैले, तिनले हामीलाई यस्तो चेताउनी दिए: “मैले जे भने त्यो कानुनअनुसार थियो तर तपाईंहरू दुवैको निम्ति मेरो व्यक्‍तिगत सुझाउ यही छ: यहाँबाट गइहाल्नुहोस्‌ नत्र तपाईंहरूको ज्यान जाला!” तिनले सही कुरा भन्दैछन्‌ भनेर हामीलाई थाह थियो र हामी शहर छोडेर गयौं।

त्यहाँबाट म क्लार्क्सभील, टेनेसीमा विशेष अग्रगामीको रूपमा सेवा गरिरहेको बेनेट र भेल्भाकहाँ गएँ। केही महिनापछि हामीलाई पेरिस, केन्टकीमा खटाइयो। डेढ वर्षपछि हामी मण्डली स्थापना गर्ने तरखरमा लागेको बेला बेनेट र मैले एकदमै विशेष निमन्त्रणा पायौं।

मिसनरी सेवा

वाचटावर बाइबल स्कूल अफ गिलियडको दोस्रो कक्षामा भाग लिन निमन्त्रणा पाउँदा हामीले यस्तो सोच्यौं, ‘उहाँहरूबाट गल्ती भयो होला! उहाँहरूले मिसिसीपीका दुई जना केटालाई त्यो स्कूलमा भाग लिन किन बोलाउनुहुन्थ्यो होला र?’ उहाँहरूले शिक्षित मानिसहरूलाई बोलाउनुहुन्छ होला जस्तो हामीलाई लागेको थियो तर जेहोस्‌ हामी गयौं। कक्षामा १०० जना विद्यार्थीहरू थिए र त्यो पाँच महिने कक्षा थियो। दीक्षान्त समारोह जनवरी ३१, १९४४ मा थियो र हामी विदेशी भूमिमा जान उत्सुक थियौं। तर ती दिनहरूमा राहदानी र भिसा लिन धेरै समय लाग्थ्यो। त्यसैले विद्यार्थीहरूलाई केही समय संयुक्‍त राज्यमा नै खटाइन्थ्यो। आलाबामा र जर्जियामा केही समय अग्रगामीको हैसियतमा सेवा गरेपछि हामीले बल्ल बार्बाडोस, वेस्ट इन्डिज जाने कार्यभार पायौं।

दोस्रो विश्‍वयुद्ध अझै अन्त भइसकेको थिएन र बार्बाडोसलगायत अन्य थुप्रै ठाउँमा यहोवाका साक्षीहरूको काम र साहित्य प्रतिबन्धित थियो। त्यहाँ भन्सार अधिकृतहरूले हाम्रो झोला खोलेर जाँच्दा हामीले लुकाएर राखेका साहित्यहरू पनि भेट्टाए। हामीले मनमनै सोच्यौं, ‘ला, अबचाहिं बर्बादै हुने भो।’ तर एक जना अधिकारीले हामीलाई यसो पो भने, “के गर्ने सामान त जाँच्नै पऱ्‍यो। यी केही साहित्यहरू बार्बाडोसमा प्रतिबन्धित छन्‌।” तैपनि तिनले हामीलाई सबै साहित्य लैजान दिए! पछि, हामीले सरकारी अधिकारीहरूलाई साक्षी दिंदा हाम्रा साहित्यहरू प्रतिबन्धित हुनुको कारण बुझ्न सकिएको छैन भने। केही महिनापछि प्रतिबन्ध हटाइयो।

बार्बाडोसको सेवकाईमा हामीले धेरै सफलता पायौं। हामी प्रत्येकले कम्तीमा १५ जनासँग बाइबल अध्ययन सञ्चालन गऱ्‍यौं र प्रायजसो विद्यार्थीहरूले पनि आध्यात्मिक प्रगति गरे। कोही कोही मण्डलीका सभाहरूमा आएको देख्न पाउनु खुसीको कुरा थियो। तथापि, केही समयको निम्ति साहित्यहरू प्रतिबन्धित भएको कारण भाइहरूलाई सभाहरू कसरी सञ्चालन गर्ने भनेर त्यति ज्ञान थिएन। तर हामीले चाँडै केही योग्य भाइहरूलाई प्रशिक्षण दियौं। हामीले हाम्रा थुप्रै विद्यार्थीलाई सेवकाईमा भाग लिन मदत दिने सुअवसर पायौं र मण्डलीमा पनि वृद्धि भएको देख्यौं।

परिवारको लालनपालन

बार्बाडोसमा १८ महिना जति बिताएपछि मेरो शल्यक्रिया गर्नु परेकोले म संयुक्‍त राज्य फर्कनुपऱ्‍यो। त्यहाँ छँदा मैले पत्राचार गरिरहेको डोरोथी नाउँ गरेकी साक्षीसित विवाह गरें। त्यसपछि, मेरी श्रीमती र मैले फ्लोरिडा तल्लाहास्सीमा अग्रगामी गर्न थाल्यौं तर छ महिनापछि हामी ल्युइसभिल, केन्टकीमा सऱ्‍यौं। त्यहाँ एक जना साक्षीले मलाई जागिरको बन्दोबस्त मिलाइदिएका थिए। मेरो भाइ बेनेटले चाहिं धेरै वर्षसम्म बार्बाडोसमै सेवा गरिरहे। पछि तिनले मिसनरी सेवा गरिरहेकी एक बहिनीसँग विवाह गरे र त्यहाँकै टापुहरूमा परिभ्रमण कार्य गरे। पछि, तिनीहरू स्वास्थ्यको कारण संयुक्‍त राज्य फर्कनुपऱ्‍यो। सन्‌ १९९० मा ७३ वर्षको उमेरमा मृत्यु नहोउञ्जेल स्पेनी भाषी मण्डलीहरूमा बेनेटले परिभ्रमण कार्य गरिरहे।

सन्‌ १९५० मा हाम्री जेठी छोरी, ड्यारील जन्मिन्‌। हाम्रो जम्मा पाँच जना छोराछोरी भए। हाम्रो माइलो छोरा डेरेकको अढाइ वर्षको उमेरमा मेरुदण्डको मेनिन्जाइटिसको कारण मृत्यु भयो। तर सन्‌ १९५६ मा लेस्ली र सन्‌ १९५८ मा एभरेट जन्मिए। डोरोथी र मैले छोराछोरीलाई बाइबलको सत्य सिकाउँदै हुर्काउन निकै प्रयत्न गऱ्‍यौं। हामीले सधैं साप्ताहिक बाइबल अध्ययन गर्ने र यसलाई चाखलाग्दो बनाउने प्रयास गर्थ्यौं। ड्यारील, लेस्ली र एभरेट सानै छँदा तिनीहरूले आफै अनुसन्धान गरून्‌ भनेर प्रत्येक हप्ता हामी प्रश्‍नहरू दिन्थ्यौं र तिनीहरूले अर्को हप्ता उत्तर दिनुपर्थ्यो। घरघर प्रचारकार्यको पनि तिनीहरूले अभिनय गर्थे। एक जना दराजभित्र छिर्थ्यो र घरधनी भएको नकल गर्थ्यो। अर्कोचाहिं बाहिर उठेर ढोका ढकढक्याउँथ्यो। एक अर्कालाई अप्ठ्यारोमा पार्न तिनीहरूले हाँसउठ्‌दा प्रश्‍नहरू गर्थे तर यसले तिनीहरूलाई प्रचारकार्यप्रति प्रेम जगाउन मदत गऱ्‍यो। हामीले तिनीहरूलाई आफूसितै नियमित तवरमा प्रचारकार्यमा पनि लैजान्थ्यौं।

सन्‌ १९७३ मा हाम्रो कान्छो छोरा एल्टनको जन्म हुँदा डोरोथी झन्डै ५० र म झन्डै ६० वर्ष पुग्न लागेको थिएँ। मण्डलीमा हामीलाई अब्राहाम र सारा भन्‍ने गर्थे! (उत्पत्ति १७:१५-१७) हाम्रा ठूला छोराहरूले एल्टनलाई सेवकाईमा लैजान्थे। भाइबहिनी, आमाबाबु र छोराछोरी सबै मिलेर परिवारको रूपमा अरूलाई बाइबलको सत्य बताइरहेको देख्दा अरू मानिसहरूले राम्रो साक्षी पाउँछन्‌ जस्तो हामीलाई लाग्थ्यो। एल्टनलाई पालैपालो दाइहरूले बोक्थे र उसको हातमा एउटा बाइबल पर्चा थमाइदिन्थे। घरधनीले ढोका खोलेर दाइहरूले बोकिरहेको हिस्सी परेको फुच्चे देख्दा अक्सर सबैले हाम्रो कुरा सुन्‍ने गर्थे। आफ्नो कुरा सिद्धिएपछि दाइहरूले एल्टनलाई दुई चार शब्द भनेर पर्चा प्रस्तुत गर्न सिकाएका थिए। त्यसरी तिनले प्रचार गर्न सुरु गरे।

वर्षौंको दौडान हामीले धेरैलाई पनि यहोवालाई चिन्‍न मदत गर्न सक्यौं। सन्‌ १९७० दशकको अन्ततिर हामी ल्युइसभीलबाट शेल्बीभील केन्टकीको मण्डलीमा सेवा गर्न सऱ्‍यौं। त्यहाँ आवश्‍यकता बढी थियो। त्यहाँ छँदा हामीले मण्डलीमा वृद्धि भएको मात्र देखेनौं तर राज्यभवन निर्माण गर्न जग्गा खोज्न र पछि निर्माण गर्न पनि मदत गऱ्‍यौं। पछि, हामीलाई त्यहाँबाट नजिकै पर्ने अर्को मण्डलीमा सेवा गर्न खटाइयो।

पारिवारिक जीवनका अनिश्‍चितताहरू

मलाई मेरा सबै छोराछोरी यहोवाको मार्गमा हिंडे भन्‍न मन लाग्छ तर त्यस्तो भएन। तिनीहरू हुर्केपछि घर छोडेर गए र हाम्रो चार जना छोराछोरीमध्ये तीन जनाले सत्यको मार्ग त्यागे। तथापि, हाम्रो छोरा एभरेटले मेरो उदाहरण पछ्याएर पूर्ण-समय सेवकाईमा लाग्यो। पछि उसले यहोवाका साक्षीहरूको न्यु योर्कस्थित मुख्यालयमा सेवा गऱ्‍यो र सन्‌ १९८४ मा ७७ औं गिलियड कक्षामा सामेल हुने निमन्त्रणा पायो। स्नातक भएपछि पश्‍चिम अफ्रिकाको सियरा लिओनमा सेवा गर्ने कार्यभार पायो। सन्‌ १९८८ मा तिनले बेल्जियमबाट आएकी अग्रगामी बहिनी मेरीयानसँग विवाह गरे। त्यसबेलादेखि यता तिनीहरूले सँगै मिसनरीको रूपमा सेवा गर्दै आएका छन्‌।

बुबाको नाताले आफ्ना तीन जना छोराछोरीले अहिले पनि सन्तोषजनक र भविष्यमा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने सुन्दर आशाको जीवनको मार्ग त्यग्दा असाध्यै चित्त दुख्यो। कहिलेकाहीं आफैलाई नै दोषी ठहऱ्‍याउँथे। तर यहोवाले प्रेम, दयालु अनुशासन दिनुका साथै कहिल्यै गल्ती नगर्नु भए तापनि उहाँका कोही कोही आत्मिक छोराहरू वा स्वर्गदूतहरूले पनि उहाँको सेवा गर्न छोडेको कुरा सम्झँदा सान्त्वना पाउँछु। (व्यवस्था ३२:४; यूहन्‍ना ८:४४; प्रकाश १२:४, ९) आमाबाबुले आफ्ना छोराछोरीलाई यहोवाको मार्गमा हिंडाउन जत्ति नै प्रयास गरे तापनि कोही कोहीले सत्य स्वीकार्न इन्कार गर्नेछन्‌ भनेर मैले बुझेको छु।

हुरी बतासले रूखलाई लछारपछार पारेझैं हामीले पनि विभिन्‍न कठिनाइ र समस्याहरूको बेला काँटछाँट गर्नुपर्ने हुन्छ। वर्षौंको दौडान मैले के महसुस गरेको छु भने, नियमित बाइबल अध्ययन र सधैं सभामा उपस्थित हुँदा काँटछाँट गर्न बल अनि आध्यात्मिक तवरमा जीवित रहन मदत मिल्छ। बूढो हुँदै जाँदा र विगतमा आफूले गरेका गल्तीहरू देख्दा म तीतो क्षणलाई बिर्सेर सुखद क्षणहरू सम्झने कोसिस गर्छु। आखिरमा हामी विश्‍वासी रहिरह्‍यौं भने त्यस्ता अनुभवहरूले हाम्रो आध्यात्मिक प्रगतिमा योगदान पुऱ्‍याउँछ। हामीले ती कुराहरूबाट सिक्यौं भने जीवनका नकारात्मक पक्षहरूले सकारात्मक प्रभाव पार्नसक्छ।—याकूब १:२, ३.

अहिले डोरोथी र मसित यहोवाको सेवामा चाहेजस्तो गर्नसक्ने स्वास्थ्य र बल छैन। तर हाम्रा प्रिय मसीही भाइबहिनीहरूले दिइरहेको सहयोगको निम्ति हामी कृतज्ञ छौं। प्रायः प्रत्येक सभामा हाम्रो उपस्थितिको साह्रै मूल्यांकन गर्छौं भनी भाइबहिनीहरूले व्यक्‍त गर्ने गर्छन्‌। अनि हाम्रो घर र गाडीको मर्मत गर्नसमेत मदत गरेर उनीहरू यथासम्भव सबै तरिकामा हामीलाई सहयोग गर्छन्‌।

कहिलेकाहीं हामी सहायक अग्रगामी सेवामा भाग लिन्छौं अनि हामी जिज्ञासु व्यक्‍तिहरूसित अध्ययन गर्छौं। अफ्रिकामा सेवा गरिरहेको हाम्रो छोराबाट राम्रो समाचार सुन्‍न पाउँदा साह्रै खुसी लाग्छ। अहिले हामी दुई जना मात्र भए तापनि पारिवारिक बाइबल अध्ययन गर्न छोडेका छैनौं। यहोवाको सेवामा त्यति धेरै वर्ष बिताउनु पाएकोमा हामी खुसी छौं। ‘हाम्रो काम र उहाँको नाउँतर्फ देखाएको प्रेम नबिर्सने’ यहोवाको आश्‍वासन हामीसित छ।—हिब्रू ६:१०.

[पृष्ठ २५-मा भएको चित्र]

अप्रिल १८, १९४० मा टेड क्लाइनले भेल्भा, बेनेट र मलाई बप्तिस्मा दिंदा

[पृष्ठ २६-मा भएका चित्रहरू]

सन्‌ १९४० र १९९७ मा मेरी श्रीमती डोरोथीसँग

[पृष्ठ २७मा- भएको चित्र]

बार्बाडोसको बसमा “शान्तिका राजकुमार” विषयक जन भाषणबारे विज्ञापन

[पृष्ठ २७मा- भएको चित्र]

मिसनरी घरअगाडि मेरो भाइ बेनेट