सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृत सागरका पाण्डुलिपिहरूबारे तथ्य कुरा के हो?

मृत सागरका पाण्डुलिपिहरूबारे तथ्य कुरा के हो?

मृत सागरका पाण्डुलिपिहरूबारे तथ्य कुरा के हो?

पचास वर्षभन्दाअघि एक जना बेडुइन गोठालोले गुफाभित्र ढुंगा हान्दा, २० औं शताब्दीको सबैभन्दा बृहत्‌ पुरातात्त्विक खोज पत्ता लागेको थियो। आफूले हानेको ढुंगा माटोको भाँडोमा लागेर भाँडो फुटेको आवाज बेडुइनले सुने। खोजतलास गर्दा तिनले पछि मृत सागर पाण्डुलिपि भनेर चिनिने पाण्डुलिपिहरूको पहिलो मुठा भेट्टाए।

यी पाण्डुलिपिहरू विद्वद्‌वर्ग तथा सञ्चारजगत्‌मा ध्यानाकर्षक तथा विवादको केन्द्र भए। एकातिर आम नागरिक अलमल्लमा परे भने अर्कोतिर गलत जानकारीहरू फैलन थाले। मसीही तथा यहूदीहरूको धर्मलाई धरासायी पार्नसक्ने तथ्यहरू प्रकट हुने डरले गर्दा हतार हतार यी पाण्डुलिपिहरू बेपत्ता पारिए भन्‍ने हल्ला सर्वत्र फैलियो। तर यी पाण्डुलिपिहरूको सही महत्त्व के हो? के अहिले ५० वर्षपछि उक्‍त पाण्डुलिपिसित सम्बन्धित तथ्य पत्ता लगाउन सकिएला?

मृत सागरका पाण्डुलिपिहरू वास्तवमा के हुन्‌?

मृत सागरका पाण्डुलिपिहरू पुरातन यहूदी हस्तलिपि हुन्‌। यी पाण्डुलिपिहरू प्रायजसो हिब्रूमा लेखिएका थिए भने कुनै कुनै अंश अरामीमा र केही युनानीमा थिए। यी पाण्डुलिपि तथा टुक्राहरूमध्ये धेरैजसो २,००० वर्षभन्दा पनि पुराना, झन्डै येशू जन्मनुअघिका हुन्‌। बेडुइनहरूबाट प्राप्त प्रथम पाण्डुलिपिहरू सातवटा लामा हस्तलिपिहरू थिए र यी पाण्डुलिपिहरू कुनै धेरै त कुनै कम जीर्ण भइसकेका थिए। थुप्रै गुफामा छानबिन गर्दा अन्य हजारौं पाण्डुलिपि तथा टुक्राहरू पनि भेट्टिए। मृत सागरको कुमरान नजिकै सन्‌ १९४७ र १९५६ बीच जम्मा ११ वटा गुफाहरूबाट पाण्डुलिपिहरू भेटिएका थिए।

जम्मै पाण्डुलिपि तथा टुक्राहरूलाई जोडजाड गरेर मिलाउँदा कुल ८०० वटा हस्तिलिपिहरू जम्मा भए। लगभग एक चौथाइ अर्थात्‌ २०० भन्दा अलि बढी हस्तलिपिहरू हिब्रू बाइबलका प्रतिलिपि रहेछन्‌। थप हस्तलिपिहरू बाइबलमा नभएका एपोक्राइफा र स्युडेपिग्राफाजस्ता पुरातन यहूदी लेखोटहरू थिए। a

शास्त्रज्ञहरूलाई एकदमै कौतूहल गराएका केही पाण्डुलिपिहरू पहिले नै अस्तित्वमा थिए भन्‍ने कुरा थाहै थिएन। यिनमा यहूदी व्यवस्थासित सम्बन्धित विषयहरूका व्याख्या, कुमरानमा बस्ने समूहका लागि तयार पारिएको विशेष सामाजिक नियम, उपासनासित सम्बन्धित कविता र प्रार्थना, बाइबलको भविष्यवाणीको पूर्ति तथा अन्तिम दिनबारे व्यक्‍त गरिएका धारणहरू थिए। पत्ता लागेका पाण्डुलिपिहरूमा अनुपम बाइबल टिप्पणीहरू पनि थिए र तीमध्ये प्रायजसोलाई बाइबलका पदहरूसम्बन्धी आधुनिक टिप्पणीहरूका पुरातन अग्रणी मान्‍न सकिन्छ।

मृत सागर पाण्डुलिपिहरू कसले लेखेका थिए?

पुरातन लेखोटहरूको मिति पत्ता लगाउने थुप्रै तरिकाले यी पाण्डुलिपिहरू सा.यु.पू. तेस्रोदेखि सा.यु. प्रथम शताब्दीभित्र नक्कल उतारिएका वा रचिएका हुन्‌ भन्‍ने संकेत दिन्छ। केही शास्त्रज्ञहरूले यी पाण्डुलिपिहरू यरूशलेमका यहूदीहरूले नै सा.यु. ७० मा मन्दिर नाश हुनुअघि ती गुफाहरूमा लुकाएका हुन्‌ भन्‍ने धारणा अघि सारेका छन्‌। तथापि, यी पाण्डुलिपिहरूको जाँचपडताल गर्ने अधिकांश शास्त्रज्ञहरूले यी पाण्डुलिपिहरूमा लेखिएका कुराहरू नै उक्‍त धारणासित मेल नखाएको पाए। थुप्रै पाण्डुलिपिमा यरूशलेमका धार्मिक नेताहरूका विचारधारा तथा रीति विपरीत कुरा लेखिएका छन्‌। यी पाण्डुलिपिहरूले, परमेश्‍वरले पूजाहारीहरू र यरूशलेमको मन्दिरको सेवालाई तिरस्कार गर्नुभएको विश्‍वास गर्ने समूहबारे प्रकट गर्नुका साथै त्यस समूहले उजाडस्थानमा गर्ने गरेको उपासनालाई उहाँले मन्दिरमा गरिने सेवाको विकल्पको रूपमा लिनुभयो भन्‍ने कुरा प्रकट गर्दछ। यी कुरा विचार गर्दा यरूशलेमको मन्दिरका अख्तियारवालाहरूले यस्ता पाण्डुलिपिहरू जम्मा गरेर लुकाएका हुनसक्छन्‌ जस्तो देखिंदैन।

कुमरानमा प्रतिलिपकहरूको समूह हुनुपर्ने बलियो सम्भावना देखिए तापनि, प्रायजसो पाण्डुलिपिहरू अन्तै जम्मा गरिएर विश्‍वासीहरूद्वारा त्यहाँ ल्याइएका हुनसक्छन्‌। एक अर्थमा भन्‍ने हो भने, मृत सागरका पाण्डुलिपिहरूलाई पुस्तकालयको बृहत्‌ संकलन मान्‍न सकिन्छ। कुनै पनि संग्रहालयमा जस्तै यी संकलनहरूमा पनि विभिन्‍न थरीका विचारधाराहरू समावेश हुनसक्छन्‌ र सबैले आफ्ना पाठकका धार्मिक दृष्टिकोण प्रतिबिम्बित गर्नैपर्छ भन्‍ने छैन। तथापि, थुप्रै प्रतिमा देखिएका यी पदहरूले उक्‍त समूहको असाधारण चासो र विश्‍वासलाई प्रतिबिम्बित गरेको हुनुपर्छ।

के कुमरानवासी एसिनीहरू हुन्‌ ?

यी पाण्डुलिपिहरू कुमारानको पुस्तकालयका थिए भने त्यहाँका बासिन्दाहरू को थिए? सन्‌ १९४७ मा हिब्रू युनिभर्सिटीबाट तीनवटा पाण्डुलिपि प्राप्त गर्ने प्राध्यापक एलाजार सुकेनिक यी पाण्डुलिपि एसिनी समुदायका थिए भन्‍ने धारणा अघि सार्ने पहिलो व्यक्‍ति थिए।

एसिनीहरू जोसेफस, एलेक्सजान्ड्रियाका फिलो र प्लाइनी दी एल्डर जस्ता प्रथम शताब्दीका लेखकहरूले उल्लेख गरेका यहूदी समूह थिए। एसिनीहरूको उत्थान वास्तवमा कहाँ भएको हो, त्यो अनुमानकै विषय भएको छ तर तिनीहरू सा.यु.पू. दोस्रो शताब्दीमा मक्काबीहरूको विद्रोह पश्‍चात्‌ उठेको गोलमालपछि देखा परेका थिए जस्तो देखिन्छन्‌। b जोसेफसले तिनीहरूको धार्मिक विचारधारा फरिसी र सदुकीहरूको भन्दा कसरी भिन्‍न थियो भनेर वर्णन गर्दा त्यस समय तिनीहरू अस्तित्वमा थिए भनी रिपोर्ट गरेका थिए। प्लाइनीले एसिनी समूह मृत सागर छेउ, यरीहो र एनगदीबीच बस्थे भनेर उल्लेख गरेका थिए।

मृत सागर पाण्डुलिपिका प्राध्यापक, जेम्स भानडरकामले “कुमरानमा बस्ने एसिनीहरू बृहत्‌ एसिनीहरूको सानो समूह हो” भन्‍ने धारणा अघि सारेका छन्‌। जोसेफसअनुसार त्यतिखेर करिब चार हजारजति एसिनीहरू थिए। सम्पूर्ण विवरण एक एक गरी नमिले तापनि, कुमरानबाट प्राप्त मुठाहरूको विवरणलाई विचार गर्दा उक्‍त विवरण त्यस समयमा देखा परेका कुनै पनि यहूदी समूहसित भन्दा पनि एसिनीहरूसित नै बढी मेल खाएको देखिन्छ।

मसीहीधर्मको सुरुआत नै कुमरानमा भएको थियो भन्‍ने दाबी कसै कसैको छ। तथापि, कुमरान समूह र प्रारम्भिक मसीहीहरूबीच थुप्रै धार्मिक विचारधारा फरक फरक भएको बताउन सकिन्छ। कुमरान लेखोटले विश्राम नियम र विधिवत्‌ शुद्धताको पालनामाथि अत्यन्तै जोड दिएको पाइन्छ। (मत्ती १५:१-२०; लूका ६:१-११) एसिनीहरू समाजबाट अलग बस्नुको कारण, भविष्य र अमर आत्मामाथिको तिनीहरूको विश्‍वास, ब्रह्‍मचारी बस्न दिइने जोड र स्वर्गदूतहरूसित मिलेर उपासना गर्नेजस्ता रहस्यमयी विचारधाराबारे पनि यस्तै भन्‍न सकिन्छ। यसले तिनीहरू येशूको शिक्षा र प्रारम्भिक मसीहीहरूभन्दा कति भिन्‍न थिए भन्‍ने कुरा देखाउँछ।—मत्ती ५:१४-१६; यूहन्‍ना ११:२३, २४; कलस्सी २:१८; १ तिमोथी ४:१-३.

पाण्डुलिपि बेपत्ता पारिएका छैनन्‌, लुकाइएका छैनन्‌

मृत सागर पाण्डुलिपि भेट्टाइ सकेपछिका वर्षहरूमा सुरुमा भेट्टिएका कुराहरू विश्‍वभरिका शास्त्रज्ञहरूले सजिलै पाउन सकून्‌ भनेर विभिन्‍न प्रकाशनहरू छापिएका थिए। तर गुफा नम्बर ४ भनेर चिनिने गुफामा पाइएका हजारौं टुक्राहरूले भने धेरै समस्या उब्जायो। यी टुक्राहरूमा पूर्वी जेरूशलेमस्थित (त्यतिखेर जोर्डेनको भूभाग) पेलेस्टाइन आर्कियोलोजिकल म्युजियमका शास्त्रज्ञहरूको सानो अन्तरराष्ट्रिय टोलीले काम गरिरहेका थिए। यस टोलीमा कुनै यहूदी वा इज्रेली विद्वान्‌लाई समावेश गरिएको थिएन।

यो टोलीले आफ्नो अनुसन्धानको आधिकारिक परिणाम प्रकाशित नगरेसम्म अरूलाई यी पाण्डुलिपिहरू हेर्न नदिने नीति बनाएका थिए। टोलीमा काम गर्ने शास्त्रज्ञहरूको संख्या पनि तोकिएको थियो। टोली सदस्यको मृत्यु भएमा तिनको ठाउँमा एक जना मात्र नयाँ शास्त्रज्ञ नियुक्‍त हुनसक्थ्यो। गर्नुपर्ने कामको चापले ठूलो टोलीको आवश्‍यकतालाई औंल्याइरहेको थियो र कहिलेकाहीं त पुरातन हिब्रू र अरामी भाषामा दक्ष व्यक्‍तिहरूको टड्‌कारो आवश्‍यकता परिरहेको हुन्थ्यो। यसबारे जेम्स भानडरकामले यसो भने: “विशेषज्ञहरू जतिसुकै दक्ष भए तापनि यी दसौं हजार टुक्राहरू आठ जनाले मात्र भ्याउनसक्ने थिएनन्‌।”

सन्‌ १९६७ मा भएको छ दिने युद्धले गर्दा पूर्वी जेरूशलेम र त्यसका पाण्डुलिपिहरू इज्रेलीहरूको अधिकारमा पऱ्‍यो तैपनि पाण्डुलिपि अनुसन्धान टोलीको नीतिमा कुनै परिवर्तन गरिएन। गुफा ४ का पाण्डुलिपिहरू प्रकाशित हुन वर्षौं अनि दशकौं गर्दै ढिलो हुँदै जाँदा निकै शास्त्रज्ञहरूको विरोध सुनिन थाल्यो। सन्‌ १९७७ मा अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक गेजा भर्मेशले यसलाई २० औं शताब्दीको सबैभन्दा ठूलो शैक्षिक काण्ड भने। मसीहीधर्मलाई तहसनहस गर्नसक्ने पाण्डुलिपिका जानकारीलाई क्याथोलिक चर्चले जानाजानी लुकाइरहेको थियो भन्‍ने हल्ला फैलिन थाल्यो।

सन्‌ १९८० को दशकमा यो टोलीमा शास्त्रज्ञहरूको संख्या बढाएर २० पुऱ्‍याइयो। त्यसपछि, १९९० मा जेरूशलेमस्थित हिब्रू युनिभर्सिटीका नवनियुक्‍त मुख्य सम्पादक इमानुएल टोभको निर्देशनमा यस टोलीको शास्त्रज्ञ संख्या बढाएर ५० पुऱ्‍याइयो। बाँकी रहेका पाण्डुलिपिहरूको सम्पूर्ण टिप्पणीहरू छाप्ने निश्‍चित समयतालिका विशेषज्ञहरूद्वारा तोकियो।

फलतः १९९१ मा अप्रत्याशित घटना भयो। सर्वप्रथम, अ प्रिलिमिनरी एडिसन अफ दी अन्पब्लिश्‍ड डेड सी स्क्रोल्स प्रकाशित गरियो। यो किताब, टोलीको अनुक्रमणिकाको प्रतिलिपिअनुसार कम्प्युटरको मदतद्वारा जम्मा गरिएको संकलन थियो। त्यसपछि, क्यालिफोर्नियाको सान मेरिनोस्थित हन्टिङटन पुस्तकालयले आफूसित भएका पाण्डुलिपिहरूको सम्पूर्ण तस्बिर कुनै पनि शास्त्रज्ञलाई उपलब्ध गराउनसक्ने जानकारी दियो। त्यसको केही समयपछि अ फेसिमिली एडिसन अफ द डेड सी स्क्रोल्स नामक प्रकाशनले गर्दा पहिले प्रकाशित नभएका पाण्डुलिपिहरूको तस्बिर सजिलै उपलब्ध भयो।

अतः अहिले मृत सागरका सम्पूर्ण पाण्डुलिपि जाँचपड्‌तालका लागि उपलब्ध भइसकेका छन्‌। यी पाण्डुलिपिहरूलाई बेपत्ता पार्न खोजिएको छैन, कुनै पाण्डुलिपि लुकाइएका छैनन्‌ भनेर अनुसन्धानले पुष्टि गरेको छ। पाण्डुलिपिहरूको अन्तिम आधिकारिक संस्करण प्रकाशित भइरहेको हुँदा अब पूर्ण विश्‍लेषण सुरु गर्न सकिने भएको छ। पाण्डुलिपिका विद्वान्‌को नयाँ पुस्ता पनि अहिले तयार छन्‌। तर बाइबल विद्यार्थीहरूलाई यस अनुसन्धानले के फाइदा पुऱ्‍याउँछ?

[फुटनोटहरू]

a एपोक्राइफा (शाब्दिक अर्थमा, “अस्पष्ट”) र स्युडेपिग्राफा (शाब्दिक अर्थमा, “शंकास्पद लेखोटहरू”) दुवै सा.यु.पू. तेस्रोदेखि सा.यु. पहिलो शताब्दीका यहूदी लेखोटहरू हुन्‌। एपोक्राइफालाई रोमन क्याथोलिक चर्चले प्रेरित बाइबलको भागको रूपमा लियो तर यी पुस्तकहरूलाई यहूदी र प्रोटेस्टेन्टहरूले स्वीकारेनन्‌। स्युडेपिग्राफा बाइबलका केही लोकप्रिय पात्रहरूबारे लेखिएका विस्तृत बाइबल कथाहरू हुन्‌।

b प्रहरीधरहरा, नोभेम्बर १५, १९९८ पृष्ठ २१-४ को “मक्काबीहरू को थिए?” लेख हेर्नुहोस्‌।

[पृष्ठ ३-मा भएको चित्र]

यी गुफाहरू मृत सागर नजिकै पुरातन पाण्डुलिपिहरू पाइएका गुफाहरूमध्ये हुन्‌

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Scroll fragment: Pages 3, 4, and 6: Courtesy of Israel Antiquities Authority

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Courtesy of Shrine of the Book, Israel Museum, Jerusalem