यहोवाका पुनर्स्थापित जनहरू संसारभरि उहाँको प्रशंसा गर्छन्
यहोवाका पुनर्स्थापित जनहरू संसारभरि उहाँको प्रशंसा गर्छन्
“मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा . . . गर्नेछन्।”–सपन्याह ३:९.
१. यहूदा र अन्य राष्ट्रहरूमाथि विनाशको सन्देश किन पूरा भए?
यहोवाले सपन्याहलाई न्यायको कस्तो जोडदार सन्देश सुनाउन प्रेरित गर्नुभयो! यहूदा र त्यसको राजधानी यरूशलेमका नेता तथा मानिसहरूले सामूहिक तवरमा यहोवाको इच्छाअनुसार नगरेकाले ती विनाशका शब्दहरू यहूदा र यरूशलेममाथि पूरा भए। पलिश्ती, मोआब र अम्मोनजस्ता छेउछाउका राष्ट्रहरूले पनि परमेश्वरको क्रोध भोग्ने थिए। किन? तिनीहरूले शताब्दीयौंदेखि यहोवाका जनहरूलाई दिएको क्रूर सतावटको कारण। यही कारणले अश्शूरी विश्वशक्ति पनि फेरि कहिल्यै नबसालिने गरी विनाश हुने थियो।
२. सपन्याह ३:८ ले कसलाई सम्बोधन गरेको हुनुपर्छ?
२ तथापि, पुरातन यहूदामा सही मनोवृत्ति भएका केही मानिसहरू थिए। यिनीहरू दुष्टहरूले ईश्वरीय न्याय भोगेको हेर्ने इच्छा गर्थे र सम्भवतः यी शब्दहरूद्वारा सम्बोधन गरिएका मानिसहरू तिनीहरू नै हुनसक्थे: “परमप्रभु भन्नुहुन्छ, ‘यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।’ ”—सपन्याह ३:८.
कसका लागि “शुद्ध भाषा”?
३. सपन्याह कस्तो आशलाग्दो सन्देश घोषणा गर्न प्रेरित भए?
३ हो, यहोवाले गर्नुहुने विनाशको सन्देश सपन्याहले घोषणा गरे। तर सपन्याह अगमवक्ता आशाको अद्भुत सन्देश अर्थात् यहोवाप्रति निरन्तर विश्वासी भइरहनेहरूका लागि एकदमै सान्त्वनादायी सन्देश घोषणा गर्न पनि प्रेरित भएका थिए। सपन्याह ३:९ अनुसार यहोवा परमेश्वरले यस्तो घोषणा गर्नुभयो: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।”
४, ५. (क) अधर्मीहरूलाई के हुनेछ? (ख) यसबाट कसले लाभ उठाउनेछ र किन?
४ तर कसै कसैलाई शुद्ध भाषा दिइने थिएन। तिनीहरूबारे उल्लेख गर्दै भविष्यवाणी अझ यसो भन्छ: “घमण्डले फूलेकाहरूलाई म . . . तिमीहरूका बीचबाट निकाल्नेछु।” (सपन्याह ३:११) अतः परमेश्वरको व्यवस्थाको अवहेलना गर्ने र अधर्म गर्ने घमण्डीहरू हटाइने थिए। अनि यसबाट फाइदा उठाउनेहरू चाहिं को हुने थिए? सपन्याह ३:१२, १३ यसो भन्छ: “[म यहोवा] तेरो बीचमा एउटा दीन र नम्र जातिलाई . . . छोड़िराख्नेछु, र तिनीहरूले परमप्रभुको नाउँमा विश्वास गर्नेछन्। इस्राएलका बाँकी रहेकाहरूले अधर्म गर्नेछैनन्, नता झूट बोल्नेछन्, न तिनीहरूका मुखमा छल हुनेछ, किनकि तिनीहरू चरनमा हुनेछन् र विश्राम गर्नेछन्, र कसैले तिनीहरूलाई तर्साउनेछैन।”
५ पुरातन इस्राएलका विश्वासी शेष जनले लाभ उठाउने थियो। किन? किनभने तिनीहरूले यी शब्दहरूअनुरूप गरे: “हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:३.
६. सपन्याहको भविष्यवाणीको पहिलो पूर्ति हुँदा के भयो?
६ सा.यु.पू. ६०७ मा अविश्वासी यहूदालाई बाबेल विश्वशक्तिको कैदी हुन दिनुभएर परमेश्वरले दण्ड दिनुहुँदा सपन्याहको भविष्यवाणीको प्रारम्भिक पूर्ति भएको थियो। यर्मियालगायत अरू केही बचे भने अन्य कतिपय चाहिं दासत्वको बेलामा समेत यहोवाप्रति विश्वासी भइरहे। सा.यु.पू. ५३९ मा मादी र फारसीहरूका राजा कोरेसले बाबेललाई परास्त गरे। यसको दुई वर्षजतिपछि कोरेसले जारी गरेको आदेशले गर्दा शेष यहूदीहरू आफ्नो जन्मभूमि फर्कन पाए। त्यसको केही समयपछि यरूशलेमको मन्दिर पुनर्निर्माण भयो अनि मानिसहरूलाई व्यवस्था सिकाउन पूजाहारीवर्ग पुनः नियुक्त भए। (मलाकी २:७) यसरी यहोवाले वफादार रहुञ्जेल शेषजनको फलिफाप गराउनुभयो।
७, ८. सपन्याह ३:१४-१७ का भविष्यसूचक शब्दहरू कोमाथि लागू हुन्छ? तपाईंलाई किन यस्तो लाग्छ?
७ उक्त पुनर्स्थापनाबाट लाभ उठाउने जनबारे सपन्याहले यस्तो भविष्यवाणी गरे: “हे सियोनकी छोरी, गा। हे इस्राएल जयजयकार गर्। हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्। तेरो विरुद्धमा भएको न्याय परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरो शत्रुहरूलाई निकालिदिनुभएको छ। इस्राएलका महाराजा, अर्थात् परमप्रभु तेरो बीचमा हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन। त्यस दिन यरूशलेमलाई यसो भनिनेछ, ‘तँ नडरा, हे सियोन। तेरा हातहरू ढीला हुन नपाऊन्। परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ। आफ्ना प्रेममा उहाँले तँलाई फेरि नयाँ तुल्याउनुहुन्छ। पर्वको दिनमा झैं तेरो कारण उहाँ गीत गाएर रमाउनुहुनेछ।’ ”—सपन्याह ३:१४-१७.
८ यी भविष्यसूचक शब्दहरूले बेबिलोनी दासत्वबाट मुक्त गराएर आफ्ना पुर्खाहरूको भूमिमा ल्याइएको शेष जनहरूलाई संकेत गरे। सपन्याह ३:१८-२० मा उक्त कुरा यसरी स्पष्ट पारिएको छ: “ ‘तिमीहरूबाट विपद म [यहोवा] हटाउनेछु, र तिमीहरूले त्यसको कारण निन्दा सहनुपर्नेछैन। हेर्, तँलाई दुःख दिने सबैसँग म त्यस बेला उचित व्यवहार गर्नेछु। लङ्गड़ालाई म बचाउनेछु, र धपाइएकाहरूलाई म जम्मा गर्नेछु। तिनीहरूको शर्म चाहिं सारा पृथ्वीभरि म प्रशंसा र कीर्तिमा परिवर्त्तन गरिदिनेछु। त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु, र त्यही बेला म तिमीहरूलाई जम्मा गर्नेछु। जब म तिमीहरूको सुदिन तिमीहरूकै नजरको सामने फर्काएर ल्याउनेछु तब पृथ्वीका सारा जातिहरूमध्ये म तिमीहरूको कीर्ति र प्रशंसा फिजाउनेछु,’ परमप्रभु भन्नुहुन्छ।”
९. यहूदाको सम्बन्धमा यहोवाले कसरी आफ्नो नाउँ उच्च पार्नुभयो?
९ परमेश्वरका जनहरूको वरपरका शत्रु राष्ट्रहरू कत्ति स्तब्ध भए होलान्, कल्पना गर्नुहोस् त! यहूदाका बासिन्दाहरूलाई पराक्रमी बाबेलले दासत्वमा लगेको थियो र तिनीहरू फर्कने कुनै आशै थिएन। यसको अलावा, तिनीहरूको भूमि उजाड थियो। तथापि, परमेश्वरको शक्तिले गर्दा ७० वर्षपछि तिनीहरू आफ्नो जन्मभूमिमा पुनर्स्थापित भए तर शत्रु राष्ट्रहरूको भने पतन हुन थाल्यो। आफ्ना वफादार जनहरूलाई फर्काउनुभएर यहोवाले आफ्नो नाउँ एकदमै उच्च पार्नुभयो! उहाँले “पृथ्वीका सारा जातिहरूमध्ये” तिनीहरूको “कीर्ति र प्रशंसा फिजाउ[नु]” भयो। यस पुनर्स्थापनाले यहोवा र उहाँको नाउँ वहन गर्नेहरूको एकदमै प्रशंसा भयो!
यहोवाको उपासना उच्च पारियो
१०, ११. सपन्याहले गरेको पुनर्स्थापनासम्बन्धी भविष्यवाणीको प्रमुख पूर्ति कहिले हुने थियो र हामी यो कसरी थाह पाउँनसक्छौं?
१० सामान्य युग प्रथम शताब्दीमा येशू ख्रीष्टले साँचो उपासनाका लागि इस्राएलका शेषजनलाई जम्मा गर्नुहुँदा अर्को पुनर्स्थापना भयो। पुनर्स्थापनाको प्रमुख पूर्ति भविष्यमा पनि हुने भएकोले त्यो पछि हुने कुराको पूर्वझलक थियो। मीकाको भविष्यवाणीले यसो भनेको थियो: “पछिल्ला दिनमा परमप्रभुको भवनको डाँड़ाचाहिं पहाड़हरूमा सर्वोच्च बनाइने छ, र त्यो सबै पहाड़हरूभन्दा उच्च पारिनेछ। औ अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्।”—मीका ४:१.
११ यो कहिले हुने थियो? भविष्यवाणीअनुसार “पछिल्ला दिनमा” अर्थात् यो “आखिरी दिनमा हुने थियो।” (२ तिमोथी ३:१) यो वर्तमान दुष्ट रीतिरिवाजको अन्त नहुँदै अर्थात् राष्ट्रहरूले झूटा देवहरूको उपासना गरिरहेकै बेला उक्त कुरा हुने थियो। मीका ४:५ यसो भन्छ: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंड़छन्।” अनि साँचो उपासकहरू नि? मीकाको भविष्यवाणीले यस्तो जवाफ दिन्छ: “तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड़नेछौं।”
१२. यस आखिरी दिनमा साँचो उपासना कसरी उच्च पारिएको छ?
१२ तसर्थ, यस आखिरी दिनमा ‘यहोवाको भवनको डाँड़ाचाहिं पहाड़हरूमा सर्वोच्च बनाइएको छ।’ यहोवाको उच्च साँचो उपासना नडग्मगाउने गरी पुनर्स्थापित भएको छ र सबै धर्महरूभन्दा उच्च पारिएको छ। मीकाको भविष्यवाणीले भनेझैं, “अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्।” अनि साँचो धर्म पालन गर्नेहरू ‘सदा सर्वदै यहोवा [तिनीहरूका] परमेश्वरको नाउँमा हिंड्नेछन्।’
१३, १४. संसार कहिलेदेखि “पछिल्ला दिनमा” प्रवेश गऱ्यो र साँचो उपासनाको सम्बन्धमा त्यसबेलादेखि के हुँदै आएको छ?
१३ बाइबल भविष्यवाणीको पूर्तिअनुसार सन् १९१४ देखिका घटनाहरूले “पछिल्ला दिन” अर्थात् आखिरी दिन सुरु भयो भनी प्रमाणित गर्छ। (मर्कूस १३:४-१०) यहोवाले स्वर्गीय आशा भएका विश्वासी शेष अभिषिक्त जनहरूलाई साँचो उपासनामा फेरि बटुल्नुभएर एकताबद्ध गराउनुभयो भन्ने कुराको इतिहास साक्षी छ। यसपछि, पृथ्वीमा अनन्त जीवन पाउने आशा राखेका “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” जम्मा भइरहेको छ।—प्रकाश ७:९.
१४ यहोवाको नाउँ वहन गर्नेहरू प्रथम विश्वयुद्धदेखि अहिले हाम्रो समयसम्मै उहाँको निर्देशनमा जोडतोडका साथ अघि बढिरहेका छन्। प्रथम विश्वयुद्धपछि केही हजार मात्र भएको यहोवाका उपासकहरूको संख्या बढेर अहिले लगभग ६० लाख पुगेको छ र तिनीहरू २३५ मुलुकका ९१,००० जति मण्डलीमा छन्। वर्षेनी यी राज्य उद्घोषकहरूले जनसमक्ष परमेश्वरको प्रशंसा गर्न एक अरबभन्दा बढी घण्टा बिताइरहेका छन्। येशूका यी भविष्यसूचक शब्दहरू पूरा गर्नेहरू यहोवाका साक्षीहरू नै हुन् भनेर स्पष्ट छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
१५. अहिले सपन्याह २:३ कसरी पूरा भइरहेको छ?
१५ सपन्याह ३:१७ यसो भन्छ: “परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ।” शक्तिशाली परमेश्वरको रूपमा यहोवा ‘तिनीहरूको बीचमा हुनुभएकोले नै’ यस आखिरी दिनमा उहाँका सेवकहरूको आध्यात्मिक समृद्धि भइरहेको हो। सा.यु.पू. ५३७ मा यहूदाको पुनर्स्थापना हुँदा र अहिले पनि यो त्यतिकै सत्य साबित भएको छ। यसरी, “हे पृथ्वीका दीन जन हो, . . . परमप्रभुको खोजी गर” भन्ने सपन्याह २:३ कसरी हाम्रो समयमा पूरा भइरहेको छ, त्यो हामी बुझ्नसक्छौं। सा.यु.पू. ५३७ मा “पृथ्वीका दीन जन” भनेर सम्बोधन गरिएको समूहमा बेबिलोनको दासत्वबाट फर्केका सबै शेष यहूदीहरू पर्थे। अहिले विश्वव्यापी राज्य प्रचारकार्यलाई स्वीकार्दै “परमप्रभुको भवनको डाँडामा” ओइरिरहेका पृथ्वीभरिका नम्र व्यक्तिहरू यसमा पर्छन्।
साँचो उपासना फस्टाउँछ
१६. आधुनिक समयमा यहोवाका सेवकहरूको समृद्धि देखेर हाम्रा शत्रुहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्नसक्छन्?
१६ सा.यु.पू. ५३७ पछि परमेश्वरका सेवकहरू आफ्नो मातृभूमिमा फर्केर साँचो उपासना पुनर्स्थापित भएको देख्दा वरपरका राष्ट्रहरू छक्क परे। तर त्यो पुनर्स्थापना तुलनात्मक रूपमा सानो थियो। वर्तमान समयमा यहोवाका सेवकहरूको उल्लेखनीय वृद्धि, फलिफाप अनि प्रगति देखेर कसै कसैले र विशेष गरी परमेश्वरका जनहरूका शत्रुहरूले अहिले के सोच्दै होलान्, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? सायद, यी शत्रुहरूमध्ये कतिपयले येशूकहाँ मानिसहरू ओइरिरहेको देख्ने फरिसीहरूले जस्तै महसुस गरिरहेका होलान्। तिनीहरूले यसो भनेका थिए: “हेर, . . . संसारै त्यसको पछि लागिसक्यो!”—यूहन्ना १२:१९.
१७. एक जना लेखकले यहोवाका साक्षीहरूबारे के भने र तिनीहरूले कस्तो किसिमको वृद्धि महसुस गरेका छौं?
१७ दीज अल्सो बिलिभ नामक आफ्नो पुस्तकमा सि. एस. ब्राडेनले यसो भने: ‘यहोवाका साक्षीहरूले प्रचारकार्यद्वारा साँच्चै पृथ्वी ढाकिसकेका छन्। परमेश्वरको राज्यको सुसमाचार सुनाउन यहोवाका साक्षीहरूले जस्तो जोस र लगनशीलता अरू कुनै पनि धार्मिक समूहले देखाएको छैन भन्ने कुरा सही हो। सायद यो अभियान झन् झन् प्रबल हुँदै जानेछ।’ तिनको कुरा एकदम सही थियो! झन्डै ५० वर्षअघि तिनले ती शब्दहरू लेख्दा संसारभरि साक्षीहरूको संख्या ३,००,००० जति मात्र थियो। अहिले त्यतिबेलाको भन्दा २० गुणा बढी अर्थात् लगभग ६० लाख साक्षीहरूले सुसमाचार प्रचार गरिरहेको देख्दा तिनले के भन्लान्?
१८. शुद्ध भाषा भनेको के हो र परमेश्वरले कसलाई यो भाषा दिनुभएको छ?
१८ आफ्नो अगमवक्तामार्फत परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।” (सपन्याह ३:९) यस आखिरी दिनमा “एकै हृदयको भएर” यहोवाको नाउँ पुकार्ने र प्रेमको अटुट बन्धनमा बाँधिएर उहाँको सेवा गर्नेहरू यहोवाका साक्षीहरू हुन्। यहोवाले शुद्ध भाषा पनि तिनीहरूलाई नै दिनुभएको छ। यो शुद्ध भाषामा परमेश्वर र उहाँका उद्देश्यहरूसित सम्बन्धित सत्य कुरा बुझ्नु समावेश छ। यहोवाले मात्र आफ्नो पवित्र आत्माद्वारा यस्तो समझ दिनुहुन्छ। (१ कोरिन्थी २:१०) यहोवाले आफ्नो आत्मा कसलाई दिनुभएको छ? उहाँको “आज्ञा मान्नेहरू जत्तिलाई” मात्र। (प्रेरित ५:३२) यहोवाका साक्षीहरू मात्र सबै कुरामा परमेश्वरलाई आफ्नो शासक मान्न तयार छन्। त्यसैकारण तिनीहरूले परमेश्वरको पवित्र आत्मा पाएका छन्, शुद्ध भाषा बोलेका छन्, यहोवा अनि उहाँका उद्देश्यहरूको सत्यता बुझेका छन्। संसारभरि व्यापक तवरमा यहोवाको प्रशंसा गर्न तिनीहरू यही शुद्ध भाषा प्रयोग गर्छन्।
१९. शुद्ध भाषा बोल्नुमा के समावेश छ?
१९ तर शुद्ध भाषा बोल्नुमा सच्चाइलाई अंगाल्नु र अरूलाई त्यसबारे बताउनु मात्र होइन तर आफैले परमेश्वरको व्यवस्था र सिद्धान्तअनुसार चल्नु पनि समावेश छ। स्वर्गीय आशा भएका अभिषिक्त जनहरूले यहोवाको खोजी गर्दै शुद्ध भाषा बोल्ने काममा नेतृत्व लिएका छन्। यी सबले गर्दा के के पूरा भए, विचार गर्नुहोस् त! अभिषिक्त जनहरूको संख्या घटेर ८,७०० भन्दा कम भए तापनि अरू ६० लाख जतिले तिनीहरूको विश्वासको अनुकरण गरेर यहोवाको खोजी गर्दै शुद्ध भाषा बोलिरहेका छन्। यिनीहरू येशूको छुटकाराको बलिदानमाथि विश्वास गर्ने, परमेश्वरको आध्यात्मिक मन्दिरको चोकमा पवित्र सेवा चढाउने र चाँडै यस अधर्मी संसारमाथि आइपर्ने “महा सङ्कष्टबाट” बच्ने सारा राष्ट्रहरूबाट आएको ठूलो भीडको बढ्दो संख्या हुन्।—प्रकाश ७:९, १४, १५.
२०. विश्वासी अभिषिक्त जनहरू र ठूलो भीडसामु कस्तो प्रत्याशा छ?
२० यस ठूलो भीडले परमेश्वरको धार्मिक नयाँ संसारमा प्रवेश पाउनेछ। (२ पत्रुस ३:१३) येशू ख्रीष्ट अनि पुनरुत्थान भएर स्वर्गीय जीवन पाउने १,४४,००० अभिषिक्त जनहरूले येशूसँगसँगै राजा तथा पूजाहारीको रूपमा सेवा गर्नेछन् र उहाँहरू मिलेर पृथ्वीको नयाँ सरकार बन्नेछ। (रोमी ८:१६, १७; प्रकाश ७:४; २०:६) महा संकष्टबाट बचेका मानिसहरूले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछन् र परमेश्वरले दिनुभएको शुद्ध भाषा निरन्तर बोल्नेछन्। सैद्धान्तिक तवरमा तिनीहरूमाथि यी शब्दहरू लागू हुन्छन्: “तेरा सबै छोरा–छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा–छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। धार्मिकतामा तँ स्थिर हुनेछस्।”—यशैया ५४:१३, १४.
इतिहासकै बृहत् शैक्षिक कार्य
२१, २२. (क) प्रेरित २४:१५ अनुसार कसलाई शुद्ध भाषा सिकाउनु आवश्यक पर्नेछ? (ख) येशू ख्रीष्टले राज्य गर्नुहुँदा कुन अतुलनीय शैक्षिक कार्यक्रम सम्पन्न हुनेछ?
२१ नयाँ संसारमा शुद्ध भाषा सिक्ने मौका दिइने एउटा ठूलो समूहबारे प्रेरित २४:१५ मा यसो भनिएको छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” विगतमा अरबौं मानिसहरू यहोवाबारे सही ज्ञान लिन नपाउँदै मरेका थिए। उहाँले व्यवस्थित ढंगमा तिनीहरूलाई बिउँताउनुहुनेछ। अनि पुनरुत्थान हुने यी मानिसहरूलाई पनि शुद्ध भाषा सिकाउनु पर्नेछ।
२२ त्यो महान् शिक्षण कार्यमा भाग लिन पाउनु कस्तो सुअवसरको कुरा हुनेछ! यो मानव इतिहासकै बृहत् शैक्षिक कार्य हुनेछ। यी सबै, राज्य शक्ति हासिल गर्नुभएको येशू ख्रीष्टको उत्तम शासनअन्तर्गत हुनेछन्। फलतः अन्तमा मानिसजातिले यशैया ११:९ मा बताइएको यो भविष्यवाणी पूरा भएको देख्नेछ: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”
२३. हामी यहोवाका विशेषाधिकारप्राप्त जनहरू हौं भनेर तपाईं कसरी भन्नसक्नुहुन्छ?
२३ यस आखिरी दिनमा, परमेश्वरको ज्ञानले सारा पृथ्वी भरिने त्यो रोमाञ्चकारी समयको लागि तयारी गर्न पाउनु साह्रै ठूलो सुअवसर हो! अनि परमेश्वरका जनहरू भएर सपन्याह ३:२० का भविष्यसूचक शब्दहरूको महान् पूर्ति अहिल्यै अनुभव गर्न पाउनु कत्रो विशेषाधिकार! त्यहाँ हामी यहोवाको यो आश्वासन पाउँछौं: “पृथ्वीका सारा जातिहरूमध्ये म तिमीहरूको कीर्ति र प्रशंसा फिजाउनेछु।”
तपाईं के भन्नुहुन्छ?
• पुनर्स्थापनासम्बन्धी सपन्याहको भविष्यवाणीको कस्ता पूर्तिहरू भएका छन्?
• यस आखिरी दिनमा साँचो उपासनाको कसरी फलिफाप भएको छ?
• नयाँ संसारमा कस्तो बृहत् शैक्षिक कार्य हुनेछ?
[प्रश्नहरू]
[पृष्ठ २५-मा भएको चित्र]
शुद्ध उपासना पुनर्स्थापित गर्न यहोवाका जनहरू आफ्नो मातृभूमि फर्के। के तपाईंलाई आज यसको अर्थ थाह छ?
[पृष्ठ २६-मा भएका चित्रहरू]
“शुद्ध भाषा” बोलेर यहोवाका साक्षीहरूले मानिसहरूलाई बाइबलको सान्त्वनादायी सन्देश सुनाइरहेका छन्