सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको न्यायको दिन नजिकै छ!

यहोवाको न्यायको दिन नजिकै छ!

यहोवाको न्यायको दिन नजिकै छ!

“परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ।”–सपन्याह १:१४.

१. परमेश्‍वरले सपन्याहमार्फत के चेताउनी दिनुभयो?

 यहोवा परमेश्‍वरले दुष्टहरू विरुद्ध कदम चाल्नै लाग्नुभएको छ। सुन्‍नुहोस्‌! उहाँको चेताउनी यसप्रकार छ: “मानिस . . . लाई म ध्वंस पार्नेछु। . . . म पृथ्वीतलबाट मानिस जातिलाई नष्ट पार्नेछु।” (सपन्याह १:३) सार्वभौम प्रभु यहोवाले यी शब्दहरू आफ्नो अगमवक्‍ता सपन्याहद्वारा बोल्नुभयो र सायद तिनी वफादार राजा हिजकियाहका खनाति थिए। असल राजा योशियाहको समयमा गरिएको त्यो घोषणा यहूदामा बसोबास गरिरहेका दुष्टहरूका लागि राम्रो सन्देश थिएन।

२. योशियाहको कार्यले यहोवाको न्यायको दिनलाई किन पर सार्न सकेन?

सपन्याहले भविष्यवाणी गर्दा जवान योशियाहले यहूदाबाट अशुद्ध उपासना हटाउन अझ सजग हुनुपर्ने महत्त्व बुझेको हुनुपर्छ। तर यहूदाबाट अशुद्ध उपासना हटाउने राजाको कार्यले त्यहाँबाट सबै दुष्टता हटाउन सकेन वा “निर्दोष रगतले यरूशलेमलाई पूरा” भिजाउने तिनका बाजे मनश्‍शेको पाप मेटाउन सकेन। (२ राजा २४:३, ४; २ इतिहास ३४:३) त्यसकारण, यहोवाको न्यायको दिन पक्कै आउने थियो।

३. “परमप्रभुको रीसको दिनमा” बाँच्नु सम्भव छ भनेर हामी कसरी पक्का हुनसक्छौं?

यद्यपि, त्यो डरलाग्दो दिनबाट बच्नेहरू पनि हुने थिए। त्यसकारण, परमेश्‍वरका अगमवक्‍ताले यस्तो आग्रह गरे: “सजायको आज्ञा आउन अघिनै र भूस जस्तै दिन बितेर जान अघिनै, परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” (सपन्याह २:२, ३) यहोवाको न्यायको दिनमा बच्ने आशालाई मनमा राख्दै सपन्याहको पुस्तकलाई केलाएर हेरौं। सा.यु.पू. ६४८ भन्दाअघि लेखिएको परमेश्‍वरको “अगमवाणीको वचन[को]” यस भागमा हामी सबैले सम्पूर्ण हृदयले ध्यान दिनुपर्छ।—२ पत्रुस १:१९.

यहोवा हात पसार्नुहुन्छ

४, ५. यहूदाका दुष्टहरूमाथि सपन्याह १:१-३ कसरी पूरा भयो?

सपन्याहकहाँ आएको “परमप्रभुको यो वचन” माथि उद्धृत चेताउनीबाट सुरु हुन्छ। परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ: “ ‘पृथ्वीतलबाट म सबै थोक ध्वंस पार्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ। ‘मानिस र पशु दुवैलाई म ध्वंस पार्नेछु। आकाशका चराहरू, समुद्रका माछाहरूलाई म ध्वंस पार्नेछु, र दुष्टहरूका साथसाथै ठोकर दिने सबै कुराहरूलाई म ध्वंस पार्नेछु, र म पृथ्वीतलबाट मानिस जातिलाई नष्ट पार्नेछु’ भनी परमप्रभु भन्‍नुहुन्छ।”—सपन्याह १:१-३.

हो, यहोवाले यहूदाबाट घोर दुष्टता नामेट पार्न लाग्नुभएको थियो। परमेश्‍वरले ‘पृथ्वीतलबाट सबै थोक ध्वंस पार्न’ कसलाई प्रयोग गर्नुहुने थियो? सपन्याहले सा.यु.पू. ६५९ मा सुरु भएको राजा योशियाहको शासनको प्रारम्भतिरै भविष्यवाणी गर्न थालेको देखिएकोले ती भविष्यसूचक वचन सा.यु.पू. ६०७ मा बेबिलोनीहरूको हातबाट यहूदा र त्यसको राजधानी, यरूशलेमको विनाश हुँदा पूरा भएको थियो। त्यतिबेला यहूदाका दुष्टहरूलाई “ध्वंस” पारिएको थियो।

६-८. सपन्याह १:४-६ मा के भनिएको थियो र पुरातन यहूदामा उक्‍त भविष्यवाणी कसरी पूरा भयो?

झूटा उपासकहरू विरुद्ध परमेश्‍वरले गर्नुहुने कार्यको भविष्यवाणी गर्दै सपन्याह १:४-६ यसो भन्छ: “म यहूदा र यरूशलेमका सारा बासिन्दाहरूमाथि मेरो हात पसार्नेछु, र यस ठाउँबाट बाल देवताका बचेकाहरूलाई र कमारीमको नाउँ त्यसका पूजाहारीहरूसमेत म नष्ट पार्नेछु। घरका कौसीहरूमाथि आकाशका नक्षत्रहरूलाई दण्डवत्‌ गर्ने जत्ति सबैलाई र परमप्रभुको सेवा गरेको भनेर शपथ खाएर पूज्ने तर मल्कामको शपथ खानेहरूलाई, औ परमप्रभुको पछि लाग्न छोड़ेर फर्की जानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने नता उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट गर्नेछु।”

यहोवाले यहूदा र यरूशलेमका मानिसहरू विरुद्ध आफ्नो हात पसार्नुभयो। उहाँले कनानीहरूको प्रजनन देव बालका उपासकहरूलाई खत्तम पार्ने दृढ निर्णय गर्नुभएको थियो। विभिन्‍न स्थानीय देवताहरूलाई पनि बाल भनिन्थ्यो किनभने त्यसका उपासकहरू ती देवहरूको खास खास स्थानमा शक्‍ति हुन्छ भन्‍ने विश्‍वास गर्थे। उदाहरणका लागि, मोआबी र मिद्यानीहरूले पनि पोरको बाल-देवतालाई पुज्थे। (गन्ती २५:१, ३, ६) बाल पूजाहारीहरू र तिनीहरूसित सरसंगत गरेर परमेश्‍वरको व्यवस्था भंग गर्ने यहूदाभरिका विश्‍वासघाती लेवी पूजाहारीहरूलाई यहोवाले खत्तम पार्नुहुने थियो।—प्रस्थान २०:२, ३.

‘पराई देवताहरूसामु घोप्टो पर्ने’ अर्थात्‌ ज्योतिषविद्यामा लाग्ने र सूर्यको उपासना गर्नेहरूलाई पनि परमेश्‍वरले खतम पार्नुहुने थियो। (२ राजा २३:११; यर्मिया १९:१३; ३२:२९) साँचो उपासनालाई झूटो धर्मसित छ्यासमिस गरेर ‘यहोवाको सेवा गरेको भनेर शपथ खाएर पूज्ने तर मल्कामको शपथ खानेहरूमाथि’ पनि ईश्‍वरीय क्रोध खन्याइने थियो। मल्काम अम्मोनीहरूको प्रमुख देव, मोलेककै अर्को नाउँ हुनसक्छ। मोलेकको उपासना गर्दा बच्चाहरूको बलि चढाइन्थ्यो।—१ राजा ११:५; यर्मिया ३२:३५.

मसीहीजगत्‌को अन्त नजिकै छ !

९. (क) मसीहीजगत्‌ केको दोषी छ? (ख) यहूदाका अविश्‍वासी मानिसहरूजस्तो नभई हामी के गर्न कटिबद्ध हुनुपर्छ?

यी सबले हामीलाई झूटो उपासना र ज्योतिषविद्यामा चुर्लुम्मै डुबेको मसीहीजगत्‌को स्मरण गराउँछ। अनि पादरीवर्गद्वारा समर्थित युद्धहरूको वेदीमा करोडौं मानिसहरूको बलि चढाउनु पनि अत्यन्तै निन्दनीय कुरा हो! हामी यहूदाका धोकेबाज मानिसहरूजस्तो कहिल्यै नहोऔं, जो ‘यहोवाको पछि लाग्न छोडेर फर्के’ अनि भावशून्य भए। तिनीहरूले यहोवा वा उहाँको डोऱ्‍याइ खोज्न छाडे। त्यसो नभई, हामी परमेश्‍वरप्रति सधैं निष्ठावान्‌ रहिरहौं।

१०. सपन्याह १:७ को भविष्यसूचक अर्थलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

१० यसपछि अगमवक्‍ताले भनेका शब्दहरू यहूदाका कुकर्मीहरू र हाम्रो समयका दुष्टहरू दुवैमा लागू हुन्छ। सपन्याह १:७ यसो भन्छ: “परमप्रभु परमेश्‍वरको सामने चूप लाग। किनभने परमप्रभुको दिन नजीकै छ। परमप्रभुले बलिदान तयार पार्नुभएको छ, र उहाँले आफ्ना पाहुनाहरूलाई पवित्र पार्नुभएको छ।” स्पष्टतः यी “पाहुनाहरू” यहूदाका शत्रु कल्दीहरू थिए। अनि “बलिदान” चाहिं राजधानी शहरसहितको यहूदा थियो। त्यसकारण, सपन्याहले यरूशलेमको विनाश गर्ने परमेश्‍वरको उद्देश्‍य घोषणा गरे र यस भविष्यवाणीले मसीहीजगत्‌को विनाशलाई पनि संकेत गर्छ। वास्तवमा, आज परमेश्‍वरको न्याय गर्ने दिन एकदमै नजिक भएकोले सम्पूर्ण संसार ‘सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवासामु चूप लाग्नुपर्छ’ र उहाँले येशूका अभिषिक्‍त अनुयायी, “सानो बगाल” र तिनीहरूका सहचर “अरू भेड़ा[मार्फत]” भन्‍नुहुने कुरा सुन्‍नुपर्छ। (लूका १२:३२; यूहन्‍ना १०:१६) कुरा नसुनेर परमेश्‍वरको राज्य विरुद्ध खडा हुनेहरू सबैलाई विनाशले ढुकेर बसिरहेको छ।—भजन २;१, २.

हाहाकारको दिन चाँडै आउँदैछ !

११. सपन्याह १:८-११ को सार के हो?

११ यहोवाको दिनबारे सपन्याह १:८-११ यसो भन्छ: “परमप्रभुको त्यस बलिदानको दिनमा—‘म भारादारहरू, राजाका छोराहरू र विदेशी पहिरन लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु। त्यस दिन संगार नाङ्‌नेहरूलाई र आफ्ना मालिकहरूका घरमा मारपीट र छल गर्नेहरू सबैलाई म सजाय दिनेछु।’ परमप्रभु भन्‍नुहुन्छ, ‘त्यस दिन माछा ढोकाबाट रूवाबासीको, दोस्रो टोलबाट हाहाकारको र डाँड़ाहरूबाट भयानक आवाज हुनेछ। हे मोर्तारका बासिन्दा हो, विलौना गर, किनकि कनानका सबै व्यापारीहरूको नाश भयो। चाँदीले लादिएका जत्ति सबै नष्ट भएका छन्‌।’ ”

१२. कसै कसैले कसरी “विदेशी पहिरन” लगाइरहेका छन्‌?

१२ योशियाह राजापछि यहोआहाज, यहोयाकीम र यहोयाकीन राजा हुने थिए। त्यसपछि सिदकियाहको शासन सुरु हुने थियो र यरूशलेमको विनाश पनि त्यसै बेला हुने थियो। यस्तो विपत्ति सामुन्‍ने आइपर्दासमेत कसै कसैले “विदेशी पहिरन” लगाइरहेर छिमेकी राष्ट्रहरूको अनुमोदन खोजे होलान्‌। त्यसै गरी, आज थुप्रैले विभिन्‍न तरिकामा आफू यहोवाको संगठनको भाग नभएको छनक दिइरहेका छन्‌। तिनीहरू प्रस्टै शैतानको संगठनको भाग देखिएकाले त्यस्ताहरूलाई दण्ड दिइनेछ।

१३. सपन्याहको भविष्यवाणीअनुसार बेबिलोनीहरूले यरूशलेममा आक्रमण गर्दा के हुने थियो?

१३ यहूदाको लेखा लिने “त्यस दिन,” यहोवाले आफ्ना शत्रुहरूमाथि न्याय गर्नुहुने, दुष्टताको अन्त गर्नुहुने र आफ्नो श्रेष्ठता प्रमाणित गर्नुहुने दिनसित मिल्दोजुल्दो छ। बेबिलोनीहरूले यरूशलेमलाई आक्रमण गर्दा माछा ढोकाबाट चित्कार सुनिने थियो। यो ढोका, माछा बजार नजिकै भएकोले त्यस्तो नामाकरण गरिएको हुनसक्छ। (नहेम्याह १३:१६) बाबेलका बथानहरू दोस्रो टोलबाट छिर्ने थिए अनि “डाँडाहरूबाट” आएको “भयानक आवाज” यरूशलेमतिर लम्किरहेका कल्दीहरूको हुनसक्छ। मोर्तार अर्थात्‌ माथिल्लो टाइरोपिन बेंसीका बासिन्दाहरूको “हाहाकार” सुनिने थियो। तिनीहरूले किन हाहाकार गर्ने थिए? किनभने “चाँदीले लादिएका” सबैको व्यापारिक बेचबिखन बन्द हुने थियो।

१४. उहाँका उपासकहरू हौं भनी दाबी गर्नेहरूको परमेश्‍वरले गर्नुहुने छानबिन कति विस्तृत हुने थियो?

१४ यहोवाका उपासक हौं भनी दाबी गर्नेहरूको उहाँले कुन हदसम्म छानबिन गर्नुहुने थियो? भविष्यवाणी अझै यसो भन्छ: “त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, औ ढुक्क भएर बसी आफ्ना हृदयमा ‘परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ’ भन्‍ने मानिसहरूलाई पनि म सजाय दिनेछु। तिनीहरूका धन–सम्पत्ति लुटिनेछ र तिनीहरूका घर उजाड़ हुनेछन्‌। तिनीहरूले घर बनाए तापनि तिनमा बस्न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाए तापनि त्यसको मद्य खान पाउनेछैनन्‌।”—सपन्याह १:१२, १३.

१५. (क) यरूशलेमका धर्मत्यागी पूजाहारीहरूलाई के हुने थियो? (ख) वर्तमान समयका झूटा उपासकहरूलाई के हुन्छ?

१५ यरूशलेमका धर्मत्यागी पूजाहारीहरूले यहोवाको उपासनालाई झूटो धर्मसित छ्यासमिस पारेका थिए। तिनीहरूले सुरक्षित महसुस गरे तापनि परमेश्‍वरले तिनीहरूलाई बत्ती बालेर खोज्नुहुने थियो र जतिसुकै आध्यात्मिक अँध्यारो किन नहोस्‌, तिनीहरू लुक्न सक्ने थिएनन्‌। ईश्‍वरीय सजायदेखि कोही पनि उम्कन पाउने थिएनन्‌। ती स्वार्थी धर्मत्यागीहरू रक्सीको भाँडोको पींधमा जम्मा हुने लेदोजस्तै थिए। तिनीहरू ईश्‍वरीय हस्तक्षेपको घोषणा सुन्‍न चाहँदैनथे तर परमेश्‍वरले तिनीहरूमाथि ल्याउनुहुने न्यायदण्डबाट तिनीहरू कुनै रीतिले उम्कने थिएनन्‌। वर्तमान समयमा मसीहीजगत्‌का सदस्यहरूलगायत झूटो धर्म मान्‍नेहरू र यहोवाको उपासनाबाट तर्किने धर्मत्यागीहरू कोही पनि उम्कन पाउने छैनन्‌। यो “आखिरी दिन” हो भनी मानिलिन अस्वीकार गर्दै तिनीहरू मनमनै “परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ” भन्छन्‌। तिनीहरूको सोचाइ एकदमै गलत छ!—२ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४, १०.

१६. यहूदाको ईश्‍वरीय न्याय हुँदा के हुने थियो र यो जानकारीले हामीलाई कसरी असर गर्नुपर्ने हो?

१६ बेबिलोनीहरूले धनसम्पत्ति लुट्‌नेछन्‌, घर उजाड पार्नेछन्‌ अनि तिनीहरूको दाखबारीको फल लैजानेछन्‌ भनी यहूदाका धर्मत्यागीहरूलाई चेताउनी दिइएको थियो। यहूदाको ईश्‍वरीय न्याय हुँदा भौतिक कुराहरूको कुनै महत्त्व हुने थिएन। यस वर्तमान रीतिरिवाजमाथि यहोवाको न्यायको दिन आउँदा पनि त्यस्तै हुनेछ। त्यसकारण, हामी यहोवाको सेवालाई प्राथमिकता दिएर आध्यात्मिक मनोवृत्ति कायम राखौं अनि ‘स्वर्गमा धन-सम्पत्ति’ थुपारौं!—मत्ती ६:१९-२१, ३३.

“परमप्रभुको भयानक दिन नजीकै छ”

१७. सपन्याह १:१४-१६ अनुसार यहोवाको न्यायको दिन कति नजिक छ?

१७ यहोवाको न्यायको दिन कति नजिक छ? सपन्याह १:१४-१६ अनुसार परमेश्‍वर यस्तो आश्‍वासन दिनुहुन्छ: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ। परमप्रभुको दिन नमीठो हुनेछ। त्यो दिन वीर पुरुष पनि ठूलो सोरले रूनेछ। त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्‍तको दिन, बादल र घोर अन्धकारको दिन। किल्लाहरू र अल्गा अल्गा गढ़ी भएका शहरहरूका विरुद्धमा तुरही बजाउँदै चढ़ाइ गर्ने दिन।”

१८. यहोवाको न्यायको दिन आउन निकै समय बाँकी नै छ भन्‍ने निष्कर्षमा हामी किन पुग्नु हुँदैन?

१८ यहूदाका पापी पूजाहारी, राजकुमार र सर्वसाधारणलाई यहोवाको ‘भयानक दिन नजीकै थियो’ भनेर सम्झाइएको थियो। यहूदाको विनाश गर्न ‘यहोवाको भयानक दिन चाँडै आउँदै थियो।’ त्यसरी नै, हाम्रो समयमा पनि दुष्टहरूमाथि यहोवाको न्यायदण्ड आउने दिन एकदमै टाढा छ भनी कसैले नसम्झोस्‌। बरु, परमेश्‍वरले यहूदाको तुरुन्तै न्याय गर्नुभएझैं उहाँले न्यायको दिन ‘चाँडै’ ल्याउनुहुनेछ। (प्रकाश १६:१४, १६) यहोवाले आफ्ना साक्षीहरूमार्फत दिनुभएको चेताउनी सुन्‍न इन्कार गर्नेहरू र साँचो उपासनालाई अँगाल्न नचाहनेहरूका लागि त्यो समय एकदमै भयानक हुनेछ!

१९, २०. (क) यहूदा र यरूशलेममाथि परमेश्‍वरले खन्याउनुहुने क्रोधका केही पक्षहरू के हुन्‌? (ख) परमेश्‍वरले यस रीतिरिवाज पूरै नाश गर्नुहुन्‍न तर छानेर नाश गर्नुहुन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा कस्ता प्रश्‍न उठ्‌छन्‌?

१९ यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध खन्याइँदा त्यो “संकष्ट र क्रोधको दिन” हुने थियो। बेबिलोनी आक्रमणकारीहरूले यहूदाका बासिन्दाहरूमाथि निकै दुःखकष्ट ल्याउनुका साथै तिनीहरूलाई मृत्यु र विनाशको मानसिक वेदना दिएका थिए। त्यो “बर्बादी र उजाडको दिन” अन्धकार र बादलको दिन हुने थियो। लाक्षणिक अर्थमा मात्र नभई वास्तवमै यसो हुने थियो किनकि जताततै धूँवा र रक्‍तपात हुने थियो। यो ‘तुरही बजाउने’ दिन हुने थियो तर ती सब चेताउनीहरू बेकार हुने थिए।

२० बेबिलोनका भित्ता भत्काउने यन्त्रहरूले ‘अल्गा अल्गा गढी भएका शहरहरू’ गर्ल्यामगुर्लुम ढाल्दा यरूशलेमका पहरादारहरूले टुलुटुलु हेर्नुबाहेक केही गर्नसकेका थिएनन्‌। परमेश्‍वरले छानेर गर्नुहुने विनाशमा चाँडै प्रयोग गर्नुहुने स्वर्गीय हातहतियारसामु वर्तमान दुष्ट रीतिरिवाजका गढीहरू पनि कुनै कामका हुने छैनन्‌। के त्यसबाट तपाईंले जोगिने आशा गर्नुभएको छ? ‘उहाँलाई प्रेम गर्ने सबैलाई जोगाउनुहुने तर सबै दुष्टहरूलाई नाश गर्नुहुने’ यहोवाको पक्षमा के तपाईंले बलियो अडान लिनुभएको छ?—भजन १४५:२०.

२१, २२. आज हाम्रो समयमा सपन्याह १:१७, १८ कसरी पूरा हुनेछ?

२१ सपन्याह १:१७, १८ मा एकदमै भयानक न्यायको दिनबारे भविष्यवाणी गरिएको थियो! यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “म मानिसहरूमाथि संकष्ट ल्याउनेछु, तिनीहरू अन्धा मानिसहरू जस्तै हिंड़नेछन्‌, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌! तिनीहरूका रगत धूलोसरि र तिनीहरूका मासु गोबरसरि फ्याँकिनेछन्‌। परमप्रभुको क्रोधको दिनमा नता तिनीहरूका चाँदीले न तिनीहरूका सुनले तिनीहरूलाई बचाउनसक्नेछ। तर उहाँको डाहको आगोले सारा देश भस्म पारिनेछ, किनकि उहाँले खतम पार्नुहुनेछ, पृथ्वीका सारा बासिन्दाहरूलाई डरलाग्दोगरी खतम पार्नुहुनेछ।”

२२ सपन्याहको समयमा जस्तै उहाँको चेताउनी सुन्‍न इन्कार गर्ने “पृथ्वीका सारा बासिन्दाहरू[माथि]” यहोवाले अब चाँडै विनाश ल्याउनुहुनेछ। परमेश्‍वर विरुद्ध पाप गरेको हुँदा तिनीहरू अन्धाहरूजस्तै छामछाम छुमछुम गर्दै हिंड्‌नेछन्‌ अनि कतैबाट तिनीहरूको छुटकारा हुनेछैन। यहोवाको न्यायको दिनमा “तिनीहरूका रगत धूलोसरि” खन्याइने छन्‌ र त्यसको कुनै मोल हुनेछैन। तिनीहरूको साँच्चै अपमानजनक अन्त हुनेछ किनभने परमेश्‍वरले पृथ्वीका दुष्ट जनहरूको शरीर र सबै अवशेष “गोबरसरि” फ्याँक्नुहुनेछ।

२३. “परमप्रभुको क्रोधको दिनमा” दुष्टहरू नबच्ने भए तापनि सपन्याहको भविष्यवाणीले कस्तो आशा दिन्छ?

२३ परमेश्‍वर र उहाँका जन विरुद्ध लड्‌नेहरूलाई कसैले बचाउन सक्दैन। यहूदाका पापीहरूलाई सुन, चाँदी केहीले पनि बचाउन नसकेझैं “परमप्रभुको क्रोधको दिनमा” मसीहीजगत्‌ र यस रीतिरिवाजलाई कुनै पनि धनसम्पत्ति र घूसले जोगाउन सक्नेछैन। त्यस निर्णायक समयमा दुष्टहरूलाई नामेट पार्नुहुँदा परमेश्‍वरको जोसको आगोले “सारा देश भस्म पा[र्नेछ]।” परमेश्‍वरको भविष्यसूचक वचनमाथि हाम्रो पूर्ण विश्‍वास भएकोले अहिले हामी “अन्तको समय[मा]” छौं भनेर विश्‍वस्त छौं। (दानिएल १२:४) यहोवाको न्यायको दिन नजिकै छ र चाँडै उहाँले आफ्ना शत्रुहरूलाई न्यायदण्ड दिनुहुनेछ। यद्यपि, सपन्याहको भविष्यवाणीले छुटकाराको आशा पनि दिन्छ। त्यसोभए, यहोवाको क्रोधको दिनमा शरण पाउन हामीले के गर्नु आवश्‍यक छ?

तपाईं के भन्‍नुहुन्छ?

• यहूदा र यरूशलेममाथि सपन्याहको भविष्यवाणी कसरी पूरा भयो?

• हाम्रो समयको मसीहीजगत्‌ र दुष्टहरूका लागि के साँचेर राखिएको छ?

• हामीले किन यहोवाको न्यायको दिन धेरै टाढा छ भन्‍ने सोचाइ राख्नु हुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

यहोवाको न्यायको दिन नजिकै छ भनेर सपन्याहले नडराईकन घोषणा गरे

[स्रोत]

From the Self-Pronouncing Edition of the Holy Bible, containing the King James and the Revised versions

[पृष्ठ १५-मा भएको चित्र]

सा.यु.पू. ६०७ मा बेबिलोनीहरूमार्फत यहूदा र यरूशलेममाथि यहोवाको दिन आएको थियो

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाले दुष्टहरूलाई नाश गर्नुहुँदा के तपाईंले शरण पाउने आशा गर्नुभएको छ?