सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌

यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌

यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌

“परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”–सपन्याह २:३.

१. सपन्याहले भविष्यवाणी गर्न थाल्दा यहूदाको आध्यात्मिक अवस्था कस्तो थियो?

 यहूदाको इतिहासको निर्णायक घडीमा सपन्याहले आफ्नो भविष्यसूचक कार्य थाले। त्यस राष्ट्रको आध्यात्मिक अवस्था एकदमै खस्किसकेको थियो। यहोवामाथि भरोसा गर्नुको साटो त्यहाँका मानिसहरूले मूर्तिपूजक पूजाहारी तथा ज्योतिषीहरूको मुख ताकिरहेका थिए। बाल उपासना र यससित सम्बन्धित प्रजनन रीतिथिति व्याप्त थियो। राजकुमार, कुल घरानियाँ अनि न्यायकर्ताजस्ता सबै निजामती नेताहरूले आफूले सुरक्षा दिनुपर्ने मानिसहरूलाई नै दमन गरिरहेका थिए। (सपन्याह १:९; ३:३) त्यसकारण, यहोवाले यहूदा र यरूशलेमको विनाश गर्न ‘आफ्नो हात पसार्नु’ कुनै अचम्मलाग्दो कुरा होइन!—सपन्याह १:४.

२. यहूदामा भएका परमेश्‍वरका विश्‍वासी सेवकहरूका लागि कस्तो आशा थियो?

परिस्थिति एकदमै नाजुक भए तापनि आशै मार्नुपर्ने खालको अवस्था भने थिएन। आमोनको छोरा योशियाह राजगद्दीमा थिए। सानै भए तापनि योशियाह यहोवालाई गहिरो प्रेम गर्थे। नयाँ राजाले यहूदामा शुद्ध उपासना पुनर्स्थापना गरेको खण्डमा परमेश्‍वरको सेवा गर्न नछोड्‌ने अल्प संख्यक जनहरूका लागि कत्ति ठूलो ढाडस हुने थियो! अरू व्यक्‍तिहरू पनि तिनीहरूलाई साथ दिन र यहोवाको क्रोधको दिनबाट बच्न उत्प्रेरित हुनसक्थे।

बचाउका लागि आवश्‍यक तत्त्वहरू

३, ४. व्यक्‍तिविशेषले ‘यहोवाको रिसको दिनमा’ बच्न कुन तीन आवश्‍यकताहरू पूरा गर्नैपर्छ?

के यहोवाको रिसको दिनमा कोही कोही बच्ने थिए? सपन्याह २:२, ३ मा बताइएका तीनवटा आवश्‍यकता पूरा गरेको खण्डमा अवश्‍य बच्ने थिए। यी पदहरू पढ्‌दा हामी पनि यी आवश्‍यकताहरूमाथि विशेष ध्यान देऔं। सपन्याहले लेखे: “सजायको आज्ञा आउन अघिनै र भूस जस्तै दिन बितेर जान अघिनै, परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”

तसर्थ, बच्नको लागि व्यक्‍तिविशेषले (१) यहोवाको खोजी गर्नुपर्छ, (२) धार्मिकता खोज्नुपर्छ अनि (३) नम्रता खोज्नुपर्छ। यी आवश्‍यकताहरू आज हाम्रोलागि उत्कट चासोको विषय हुनुपर्ने हो। किन? किनभने सा.यु.पू. सातौं शताब्दीमा यहूदा र यरूशलेमको लेखा लिइएझैं मसीहीजगत्‌का राष्ट्रहरू र भनौं भने, सबै दुष्टहरूको आउँदै गरेको “महा संकष्टमा” यहोवा परमेश्‍वरसित मुठभेड हुनेछ। (मत्ती २४:२१) त्यतिबेला शरण लिन चाहने सबैले अहिल्यै निर्णायक कदम चाल्नुपर्छ। कसरी? ढिलो हुनु अगावै यहोवाको खोजी गरेर, धार्मिकता खोजेर अनि नम्रता खोजेर!

५. आज ‘यहोवालाई खोज्नुमा’ के समावेश छ?

तपाईं भन्‍नुहोला: ‘म परमेश्‍वरको समर्पित, बप्तिस्माप्राप्त सेवक, यहोवाको साक्षी हुँ। के मैले ती आवश्‍यकताहरू पूरा गरिसकिनँ र?’ तर यहोवालाई आफ्नो जीवन समर्पण गरेर मात्र पुग्दैन। इस्राएल, समर्पित राष्ट्र थियो तर सपन्याहको समयमा यहूदाका मानिसहरूले त्यो समर्पणअनुसार जीवन बिताइरहेका थिएनन्‌। त्यसैले, पछि गएर त्यो राष्ट्र तिरस्कृत भयो। आज ‘यहोवाको खोजी’ गर्नु भनेको उहाँको पार्थिव संगठनसित संगत गरेर उहाँसित व्यक्‍तिगत न्यानो सम्बन्ध विकास गर्नु हो। अनि यसको अर्थ, परमेश्‍वरको दृष्टिकोण बुझ्नु अनि उहाँका भावनाहरू ध्यान दिनु हो। हामीले यहोवाको वचन होसियारीसाथ अध्ययन गरेर, त्यसमा मनन गरेर अनि त्यसका सल्लाहहरू लागू गरेर उहाँलाई खोजिरहेका हुन्छौं। खुरन्धार प्रार्थना गरेर यहोवाको निर्देशन खोज्दा र उहाँको पवित्र आत्माको डोऱ्‍याइअनुसार चल्दा उहाँसितको हाम्रो सम्बन्ध झन्‌ झन्‌ गहिरो हुँदै जान्छ र ‘आफ्नो सम्पूर्ण शक्‍तिले’ उहाँको सेवा गर्न हामी उत्प्रेरित हुन्छौं।—व्यवस्था ६:५; गलाती ५:२२-२५; फिलिप्पी ४:६, ७; प्रकाश ४:११.

६. हामी कसरी ‘धार्मिकता खोज्नसक्छौं’ र यस संसारमा यसो गर्नु कसरी सम्भव छ?

सपन्याह २:३ मा बताइएको दोस्रो आवश्‍यकता ‘उहाँको धार्मिकता खोज्नु’ हो। हामीमध्ये थुप्रैले मसीही बप्तिस्माको लागि योग्य हुन थुप्रै महत्त्वपूर्ण परिवर्तन गऱ्‍यौं तर हामीले आफ्नो जीवनभरि यहोवाको धार्मिक स्तरहरू पालन गरिरहनुपर्छ। यस सन्दर्भमा राम्रो सुरुआत गरेका कतिपय मसीहीहरू यस संसारबाट दूषित भएका छन्‌। धार्मिकता खोज्नु सजिलो छैन किनकि हामी यौन अनैतिकता, झूट अनि अन्य पापी कार्यहरूलाई सामान्य ठान्‍ने मानिसहरूबीच बाँचिरहेका छौं। तापनि, यहोवालाई खुसी तुल्याउने प्रबल इच्छा छ भने हामी संसारको अनुमोदन पाउन यस संसारसित घुलमिल हुने प्रयास गर्दैनौं। यहूदाले आफ्नो अधर्मी छिमेकीहरूको अनुकरण गर्दा परमेश्‍वरको अनुग्रह नै गुमायो। त्यसकारण, संसारको नक्कल गर्न खोज्नुको साटो ‘परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ व्यक्‍तित्व’ विकास गर्दै हामी “परमेश्‍वरका देखा-सिकी गर्नेहरू” होऔं।—एफिसी ४:२४; ५:१.

७. ‘हामी कसरी ‘नम्रता खोज्नसक्छौं’?

सपन्याह २:३ मा उल्लेख गरिएको तेस्रो बुँदाअनुसार यदि हामी यहोवाको रिसको दिनमा शरण चाहन्छौं भने ‘नम्रता खोज्नैपर्छ।’ हरेक दिन हामीले सरसंगत गर्ने पुरुष, स्त्री तथा जवानहरू सबै नम्र हुँदैनन्‌। तिनीहरूको दृष्टिकोणमा नम्र स्वभावको हुनु भनेको कमजोरी हो। कसैको अधीनमा बस्नुभनेको एकदमै लाछी ठानिन्छ। तिनीहरू अचाक्ली माग गर्ने, स्वार्थी अनि आफ्नो व्यक्‍तिगत “अधिकार” र रुचि हर हालतमा पूरा गरेरै छाड्‌न जिद्दी गर्ने गर्छन्‌। हामीमा पनि त्यस्तै दृष्टिकोण देखिन थाल्यो भने कस्तो दुःखलाग्दो कुरा हुनेछ! यो ‘नम्रता खोज्ने’ समय हो। कसरी? परमेश्‍वरको अधीनमा रहेर, उहाँको अनुशासन नम्रतासाथ स्वीकारेर अनि उहाँको इच्छामुताबिक चलेर।

किन “सायद” शरण पाउँछौ कि ?

८. सपन्याह २:३ मा प्रयोग गरिएको “सायद” शब्दले केलाई संकेत गर्छ?

सपन्याह २:३ मा भनिएको कुरालाई ध्यान दिनुहोस्‌: “परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” ‘पृथ्वीका दीन जनहरूलाई’ सम्बोधन गर्दा किन “सायद” शब्द प्रयोग गरियो? किनकि, ती नम्र जनहरूले सकारात्मक कदम चालिसकेका थिए तरै पनि ढुक्क हुने कुनै ठाउँ थिएन। तिनीहरूले आफ्नो सम्पूर्ण जीवन विश्‍वासी भई बिताइसकेका थिएनन्‌। हुनसक्छ, तिनीहरूमध्ये कति जना पापमा फस्ने थिए। हाम्रो सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। येशूले यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) हो, हामीले यहोवाको नजरमा असल काम गरिरह्‍यौं भने मात्र उहाँको क्रोधको दिनमा बच्न सक्नेछौं। के तपाईंले यसो गर्ने दृढ संकल्प गर्नुभएको छ?

९. जवान राजा योशियाहले के-कस्ता धार्मिक कदम चाले?

सपन्याहको कुराले राजा योशियाहलाई ‘यहोवाको खोजी गर्न’ उत्प्रेरित गऱ्‍यो जस्तो देखिन्छ। धर्मशास्त्र यसो भन्छ: “तिनको शासनको आठौं वर्षमा तिनी बालकै छँदा [अर्थात्‌ लगभग १६ वर्ष जतिको हुँदा] योशियाहले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरू गरे।” (२ इतिहास ३४:३) योशियाहले ‘धार्मिकता खोजिरहे’ किनकि हामी यस्तो लेखिएको पाउँछौं: “बाह्रौं वर्षमा योशियाह [२० वर्षको जति हुँदा] यहूदा र यरूशलेममा डाँड़ाका पूजा-थानहरू र अशेरा-देवी र खोपेर बनाएका र धातुका मूर्तिहरू हटाउन शुरू गरे। बाल देवताका वेदीहरू तिनले भत्काउनलाए।” (२ इतिहास ३४:३, ४) यहूदाबाट मूर्तिपूजा र अन्य झूटा धार्मिक प्रचलनहरू हटाएर योशियाहले यहोवालाई प्रसन्‍न तुल्याउने काम गरे। यसप्रकार तिनले ‘नम्रता खोजे’। त्यो देखेर अरू नम्र जनहरू कत्ति रमाए होलान्‌!

१०. सा.यु.पू. ६०७ मा यहूदामा के भयो तर को को जोगाइए?

१० योशियाहको शासनकालमा थुप्रै यहूदी यहोवातिर फर्के। तथापि, योशियाह राजाको मृत्युपछि तिनीहरूमध्ये धेरैजसो पहिलेकै मार्गमा अर्थात्‌ परमेश्‍वरले पूर्णतया तिरस्कार गर्नुहुने कामकुरामा लागे। फलतः यहोवाले फैसला गर्नुभएअनुसार सा.यु.पू. ६०७ मा बेबिलोनीहरूले यहूदामाथि चढाइ गरेर राजधानी शहर यरूशलेमलाई खतम पारे। यद्यपि, सबै विनाश भएनन्‌। “परमप्रभुको क्रोधको दिन” अगमवक्‍ता यर्मिया, कूशी एबेदमेलेक, योनादाबका शाखासन्तान अनि परमेश्‍वरप्रति वफादार रहने अन्य व्यक्‍तिहरू बचाइए।—यर्मिया ३५:१८, १९; ३९:११, १२, १५-१८.

परमेश्‍वरका शत्रुहरू हो, पर्ख तिमीहरूलाई !

११. आज परमेश्‍वरप्रति वफादार हुनु किन चुनौतीको कुरा हो तर परमेश्‍वरका जनहरूका शत्रुहरूले के विचार गर्नु बेस हुनेछ?

११ यस दुष्ट रीतिरिवाजमाथि परमेश्‍वरको रिसको दिन आउने समय पर्खंदै गर्दा हामी “अनेक किसिमका परीक्षाहरूमा” पर्छौं। (याकूब १:२) धार्मिक स्वतन्त्रताको मोल गर्छौं भनेर दाबी गर्ने थुप्रै मुलुकमा षड्यन्त्रकारी पादरीवर्गले अख्तियारवालाहरूलाई उक्साएर परमेश्‍वरका जनहरूलाई कठोर सतावट दिएका छन्‌। फटाहाहरू यहोवाका साक्षीहरूलाई “खतरनाक गूट” भन्दै बदनाम गर्छन्‌। तिनीहरूको काम परमेश्‍वरले देखिरहनुभएको छ, तिनीहरू उम्कन पाउनेछैनन्‌। पुरातन समयमा परमेश्‍वरका जनहरूका शत्रु, पलिश्‍तीहरूले भोगेका कुरा तिनीहरूले विचार गर्नु बुद्धिमानी हुनेछ। भविष्यवाणी यसो भन्छ: “गाजा चाहिं निर्जन र अश्‍कलोन उजाड़ हुनेछ। मध्य दिनमा तिनीहरूले अश्‍दोदलाई धपाउनेछन्‌ र एक्रोन चाहिं उखेलिनेछ।” गाजा, अश्‍कलोन, अश्‍दोद र एक्रोनजस्ता पलिश्‍तीका शहरहरू सर्वनाश हुने थिए।—सपन्याह २:४-७.

१२. पलिश्‍ती, मोआब र अम्मोनलाई के भयो?

१२ भविष्यवाणी अझैं यसो भन्छ: “मोआबको हेला र अम्मोनका सन्तानहरूको अपवाद मैले सुनेको छु, जसद्वारा तिनीहरूले मेरो प्रजालाई हप्काएर अहंकारसाथ उनीहरूको सीमानासम्म आइलागेका छन्‌।” (सपन्याह २:८) हो, मिश्र र इथियोपियाले बेबिलोनीहरूको आक्रमणका कारण दुःख पाए। तर अब्राहामको भतिजा लूतका सन्तानबाट बनिएका राष्ट्रहरू, मोआब र अम्मोनलाई परमेश्‍वरले कस्तो न्याय गर्नुभयो? यहोवाले यस्तो भविष्यवाणी गर्नुभयो: “निश्‍चय मोआब सदोमजस्तै र अम्मोनका सन्तानहरू गमोराजस्तै . . . हुनेछन्‌।” सदोम र गमोराको विनाशबाट बचेका आफ्ना पुर्खाहरू अर्थात्‌ लूतकी दुइटी छोरीहरू बचेजस्तै घमण्डी मोआब र अम्मोन, परमेश्‍वरको क्रोधबाट बच्ने थिएनन्‌। (सपन्याह २:९-१२; उत्पत्ति १९:१६, २३-२६, ३६-३८) आज पलिश्‍ती र त्यसका शहरहरू कहाँ छन्‌? पहिलेका घमण्डी मोआब र अम्मोनलाई के भयो? तपाईं जतिसुकै खोज्नुहोस्‌, तिनीहरूको नामोनिसान पाउनु हुनेछैन।

१३. निनवेमा पुरातत्त्वविद्‌हरूले के भेट्टाए?

१३ सपन्याहको समयमा अश्‍शूरी साम्राज्य आफ्नो शक्‍तिको चुलीमा पुगेको थियो। पुरातत्त्वविद अस्टेन लेयार्डले अश्‍शूरी राजधानी, निनवेमा पत्ता लगाएको राजदरबारको एउटा खण्डबारे यसप्रकार लेखे: “छतलाई . . . चारकुने कोठाहरूमा छुट्याएर त्यसमा फूल वा जनावरहरूको चित्र कोरिएका थिए। कुनै कुनै कोठाको भित्रपट्टि हस्तिहाड र प्रत्येक कोठाको वरिपरि भव्य बुट्टेदार किनारा थिए। दलिन र कोठाका छेउहरूमा सुन तथा चाँदीको जलप थिए; त्यहाँ अत्यन्तै दुर्लभ काठहरू प्रयोग गरिएका थिए र त्यसमध्ये देवदार काठ स्पष्टै चिनिन्थ्यो।” यद्यपि, सपन्याहको भविष्यवाणीअनुसार अश्‍शूर नाश हुनेथियो र यसको राजधानी, निनवे शहर “उजाड” हुनेथियो।—सपन्याह २:१३.

१४. निनवेमाथि कसरी सपन्याहको भविष्यवाणी पूरा भयो?

१४ सपन्याहले उक्‍त भविष्यवाणी गरेको १५ वर्ष नबित्दै प्रतापी निनवे शहर तहसनहस भयो र त्यहाँको राजदरबार पनि भताभुंग भयो। हो, त्यो घमण्डी शहर तहसनहस भयो। त्यसको विनाश कुन हदसम्म हुने थियो, त्यसबारे यी शब्दहरूमा जीवन्त वर्णन गरिएको थियो: “लाटोकोसेरोहरू झ्यालहरूमा र कागहरू संगारहरूमा कराउनेछ, र त्यसका भत्केका खामाहरूमा गिद्ध र दुम्सी बास बस्नेछ।” (सपन्याह २:१४, १५) निनवेका भीमकाय भवनहरू लाटोकोसेरा र कागहरूका गुँडमा परिणत हुने थिए। शहरका सडकहरूमा किनबेचको कल्याङमल्याङ, योद्धाहरूको आवाज अनि पूजाहारीहरूको भजन सुनिने थिएन। अति व्यस्त सडकहरूमा चराको आवाज वा बतासको उराठलाग्दो आवाज मात्र सुनिने थियो। परमेश्‍वरका सारा शत्रुहरूको अन्त पनि यसरी नै होस्‌!

१५. पलिश्‍ती, मोआब, अम्मोन र अश्‍शूरले भोगेका सजायबाट हामी कस्तो पाठ सिक्न सकिन्छ?

१५ पलिश्‍ती, मोआब, अम्मोन र अश्‍शूरले भोगेका सजायबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यही कि, हामी यहोवाका सेवकहरू शत्रुहरूसित डराउनुपर्ने कुनै कारण छैन। आफ्ना जनहरूको विरुद्धमा मानिसहरूले जे गरिरहेका छन्‌, त्यो परमेश्‍वरले देखिरहनुभएको छ। यहोवाले विगतमा आफ्ना शत्रुहरू विरुद्ध कदम चाल्नुभएझैं सारा पृथ्वीको उहाँले न्याय गर्नुहुनेछ। यद्यपि, यसबाट बच्नेहरू अर्थात्‌ ‘हरेक जातिबाटको एउटा ठूलो भीड’ हुनेछ। (प्रकाश ७:९) तपाईंले यहोवाको खोजी गर्नुभयो, धार्मिकता खोज्नुभयो अनि नम्रता खोज्नुभयो भने, त्यो भीडमा तपाईं पनि सामेल हुन सक्नुहुनेछ।

अहंकारी कुकर्मीहरूलाई धिक्कार !

१६. यहूदाका राजकुमार तथा धार्मिक नेताहरूबारे सपन्याहको भविष्यवाणीले के भन्यो र यी शब्दहरू किन मसीहीजगत्‌लाई ठ्याक्क सुहाउँदो छ?

१६ सपन्याहको भविष्यवाणी फेरि यहूदा र यरूशलेमतर्फ केन्द्रित हुन्छ। सपन्याह ३:१, २ यसो भन्छ: “धिक्कार त्यसलाई, त्यो वागी, अशुद्ध र अत्याचारी शहरलाई! त्यसले कुनै कुरा सुन्दैन, ताड़नालाई ग्रहण गर्दैन, त्यसले परमप्रभुमा भरोसा राख्तैन, आफ्ना परमेश्‍वरको नजीकमा त्यो आउँदैन।” यहोवाले आफ्ना जनहरूलाई दिनुभएको अनुशासन इन्कार गर्नु साह्रै दुःखदायी कुरा हो! साँच्चै, राजकुमार, कुलघराना तथा न्यायकर्ताहरूको निर्दयी व्यवहार एकदमै निन्दनीय थियो। धार्मिक नेताहरूको निर्लज्ज स्वभावको आलोचना गर्दै सपन्याहले निडरता साथ यसो भने: “त्यसका अगमवक्‍ताहरू बेपर्वाही, अविश्‍वासी मानिसहरू हुन्‌। त्यसका पूजाहारीहरूले चाहिं पवित्रस्थानलाई अशुद्ध पारेका छन्‌। तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पारेका छन्‌।” (सपन्याह ३:३, ४) यी शब्दहरू अहिले मसीहीजगत्‌का अगमवक्‍ता तथा पूजाहारीहरूको अवस्थासित एकदमै सुहाउँदो छ! अति अहंकारी भएर तिनीहरूले आफ्नो बाइबल अनुवादबाट ईश्‍वरीय नाउँ हटाएका छन्‌ र उहाँको उपासना गर्ने दाबी गर्दै गलत अर्थ लाग्ने धर्म सिद्धान्तहरू सिकाएका छन्‌।

१७. मानिसहरूले सुने पनि नसुने पनि किन हामीले सुसमाचार घोषणा गरिनैरहनुपर्छ?

१७ पुरातन समयमा आफ्ना जनहरूको ख्याल राख्दै यहोवाले आफूले चाल्न लाग्नुभएको कदमबारे चेताउनी दिनुभयो। उहाँले आफ्ना दासहरू अर्थात्‌ सपन्याह र यर्मियाजस्ता अगमवक्‍ताहरू पठाउनुभएर आफ्ना जनहरूलाई पश्‍चात्ताप गर्ने आग्रह गर्नुभयो। हो, “परमप्रभु . . . अधर्म गर्नुहुन्‍न। उहाँले बिहान बिहानै आफ्नो न्याय प्रकट गर्नुहुन्छ। उहाँ चुक्नुहुन्‍न।” तर मानिसहरूको प्रतिक्रिया? त्यसबारे सपन्याहले यसो भने “अन्यायी मानिसलाई लाज लाग्दैन।” (सपन्याह ३:५) अहिले पनि त्यस्तै चेताउनी सुनाइँदैछ। तपाईं सुसमाचारको प्रकाशक हुनुहुन्छ भने चेताउनी दिने यस कार्यमा भाग लिइरहनुभएको छ होला। त्यसकारण, ढिलासुस्ती नगरी सुसमाचार घोषणा गरिरहनुहोस्‌! मानिसहरूले तपाईंको कुरा सुनून्‌ या नसुनून्‌, विश्‍वासी भएर तपाईं यस कार्यमा लागिरहनुभएको छ भने यहोवाको नजरमा तपाईंको सेवकाई सफल हुनेछ; तपाईंले परमेश्‍वरको काम जोसिलो भई गर्नुभएकोमा शर्माउनु पर्नेछैन।

१८. सपन्याह ३:६ कसरी पूरा हुनेछ?

१८ परमेश्‍वरको न्याय भनेको मसीहीजगत्‌को बर्बादी मात्र होइन। यहोवाले सारा मानिसजातिमाथि विनाश ल्याउनुहुनेछ: “मैले अन्यजातिहरूलाई नाश पारेको छु, तिनीहरूका गढ़हरू उजाड़ भएका छन्‌। तिनीहरूका सड़कहरू बर्बाद पारिदिएको छु।” (सपन्याह ३:६) यो वचन एकदमै भरोसायोग्य भएकोले विनाश भइसके जस्तो गरी यहोवा बोल्नुहुन्छ। पलिश्‍ती, मोआब र अम्मोनका शहरहरूको हालत कस्तो भयो? अनि अश्‍शूरी राजधानी निनवेको नि? ती राष्ट्रहरूको विनाश आज हाम्रोलागि चेताउनी भएको छ। परमेश्‍वरको ठट्टा हुनेछैन।

यहोवाको खोजी गरिरहनुहोस्‌

१९. हामीले कस्ता सोचनीय प्रश्‍नहरू सोध्नसक्छौं?

१९ सपन्याहको समयमा “सबै काम अझ बेसी भ्रष्ट ग[र्ने]” दुष्टहरूमाथि परमेश्‍वरको क्रोध दन्केको थियो। (सपन्याह ३:७) आज हाम्रो समयमा पनि त्यस्तै हुनेछ। के तपाईंले यहोवाको क्रोधको दिन नजिकै छ भन्‍ने प्रमाण पाउनुभयो? के तपाईं दिनहुँ उहाँको वचन पढेर ‘यहोवालाई खोजिरहनुभएको’ छ? के तपाईं परमेश्‍वरका स्तरहरूअनुसार स्वच्छ नैतिक जीवन बिताएर ‘धार्मिकता खोज्दैहुनुहुन्छ’? अनि के तपाईंले परमेश्‍वर र मुक्‍तिको लागि उहाँले गर्नुभएका प्रबन्धहरूप्रति नम्र अनि आज्ञाकारी भएर ‘नम्रता खोजिरहनुभएको’ छ?

२०. सपन्याहको भविष्यवाणीको यो श्रृंखलाबद्ध लेखको अन्तिम लेखमा हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

२० हामीले विश्‍वासी भएर यहोवा, धार्मिकता र नम्रता खोजिरह्‍यौं भने अहिले हो, विश्‍वासको परीक्षा भइरहने यो “आखिरी दिनमा[समेत]” थुप्रै आशिष्‌ अनुभव गर्ने आशा गर्नसक्छौं। (२ तिमोथी ३:१-५; हितोपदेश १०:२२) तर हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌नसक्छ, यहोवाको सेवा गर्ने वर्तमान सेवकहरूको रूपमा हामीले कुन कुन तरिकामा आशिष्‌ पाइरहेका छौं र द्रुत गतिले नजिक आइरहेको यहोवाको क्रोधको दिनमा शरण पाउनेहरूका लागि सपन्याहको भविष्यवाणीले कस्ता भावी आशिष्‌हरू साँचेर राखेका छन्‌?

तपाईं के भन्‍नुहुन्छ?

• मानिसहरूले कसरी ‘यहोवालाई खोज्नसक्छन्‌’?

• ‘धार्मिकता खोज्नुमा’ के के समावेश छ?

• हामी कसरी ‘नम्रता खोज्नसक्छौं’?

• किन हामीले यहोवा, धार्मिकता अनि नम्रताको खोजी गरिरहनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

के तपाईंले बाइबल अध्ययन र व्यग्र प्रार्थनामार्फत यहोवालाई खोजिरहनुभएको छ?

[पृष्ठ २१-मा भएको चित्र]

निरन्तर यहोवालाई खोजिरहेकोले ठूलो भीड उहाँको क्रोधको दिनमा बच्नेछ