सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक प्रमोदवन भनेको के हो?

आध्यात्मिक प्रमोदवन भनेको के हो?

आध्यात्मिक प्रमोदवन भनेको के हो?

गुस्ताभो ब्राजिलको सानो शहरमा हुर्केका थिए। a बाल्यकालदेखि नै तिनलाई असल मानिसहरू मृत्युपछि स्वर्गमा जान्छन्‌ भनी सिकाइएको थियो। विश्‍वासी मानिसहरूले कुनै दिन पार्थिव प्रमोदवनमा सिद्ध जीवनको आनन्द उठाउन सकून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य छ भनेर तिनलाई थाहै थिएन। (प्रकाश २१:३, ४) अनि तिनलाई थाह नभएको अर्को कुरा पनि थियो। तिनी अहिल्यै आध्यात्मिक प्रमोदवनमा बस्नसक्छन्‌ भन्‍ने कुरा तिनलाई थाह थिएन।

के तपाईंले कहिल्यै आध्यात्मिक प्रमोदवनबारे सुन्‍नुभएको छ। आध्यात्मिक प्रमोदवन भनेको के हो र यसको भाग हुन के गर्नुपर्छ, के तपाईंलाई थाह छ? साँच्चै आनन्दित हुन चाहने जो कसैले प्रमोदवनबारे थाह पाउनुपर्छ।

आध्यात्मिक मोदवन पत्ता लगाउने

आजको समयमा पनि मानिस प्रमोदवनमा बस्नसक्छ भन्‍नु काल्पनिक कुरा जस्तो लाग्नसक्छ। यो संसार प्रमोदवन त पक्कै होइन। पुरातन हिब्रू राजाले वर्णन गरेको अवस्था आज अनुभव गर्ने मानिसहरू थुप्रै छन्‌: “अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिए।” (उपदेशक ४:१) असंख्य मानिसहरू भ्रष्ट राजनीति, धार्मिक र आर्थिक प्रणालीको कारण दुःख भोग्छन्‌ र तिनीहरूलाई “सान्त्वना दिने” कोही छैन। अरू थुप्रै चाहिं खर्चहरू बेहोर्न, छोराछोरीको पालनपोषण गर्न र जीवन धान्‍न अन्य धेरै संघर्ष गर्छन्‌। तिनीहरूले पनि आफ्नो बोझ अलिकति भए पनि हलुका गर्न सान्त्वना दिने व्यक्‍तिको स्वागत गर्नेछन्‌। तिनीहरू सबैको जीवनमा प्रमोदवनको एक छिटोसम्मको पनि छनक देखिंदैन।

त्यसोभए, आध्यात्मिक प्रमोदवन भनेको के हो त? “प्याराडाइज” भन्‍ने अंग्रेजी शब्द युनानी, फारसी र हिब्रू शब्दसित सम्बन्धित छ र यी सबैले आनन्दसित आराम गर्नका लागि बनाइएका स्फूर्तिदायी पार्क वा बगैंचालाई बुझाउँछन्‌। पृथ्वी कुनै दिन साँच्चैको प्रमोदवनमा परिणत हुनेछ भनी बाइबल प्रतिज्ञा गर्छ र सिद्ध मानवजातिको निम्ति त्यो बगैंचारूपी घर हुनेछ। (भजन ३७:१०, ११) यस कुरालाई मनमा राख्दा, आध्यात्मिक प्रमोदवन भनेको एउटा वातावरण रहेछ जहाँ हाम्रो मन शान्त अनि आनन्दित हुनुका साथै सहमानव र परमेश्‍वरसँग शान्तिको आनन्द उठाउनसक्ने रहेछौं भन्‍ने बुझिन्छ। गुस्ताभोले पत्ता लगाएझैं आज त्यस्तो प्रमोदवन साँच्चै छ र यसले समेट्‌न थालेका मानिसहरू दिन प्रतिदिन बढ्‌दैछन्‌।

गुस्ताभोले आफू १२ वर्षको हुँदा रोमन क्याथोलिकका पादरी हुने निर्णय गरेका थिए। आफ्नो आमाबाबुको अनुमति पाएपछि तिनी धार्मिक पाठशालामा भर्ना भए। त्यहाँ तिनी संगीत, नाटक तथा राजनीतिमा संलग्न भए र जवानहरूलाई आकर्षित गर्न चर्चद्वारा नै ती कुराहरूको प्रवर्धन गरिएको थियो। पादरीले आफूलाई मानिसहरूको सेवामा समर्पित गर्नुपर्छ र विवाह गर्नु हुँदैन भन्‍ने कुरा तिनलाई थाह थियो। यद्यपि, गुस्ताभोले चिनेका कोही कोही पादरी र विद्यार्थी अनैतिक कार्यमा लागिरहेका थिए। त्यस्तो वातावरणमा गुस्ताभो पनि चाँडै मतवाला भए। स्पष्टतः तिनले आध्यात्मिक प्रमोदवन पाएका थिएनन्‌।

एक दिन गुस्ताभोले पार्थिव प्रमोदवनबारे बताइएको बाइबल पर्चा पढे। यसले तिनलाई आफ्नो जीवनको उद्देश्‍यबारे विचार गर्न बाध्य गरायो। तिनी भन्छन्‌: “मैले बाइबल नियमित तवरमा पढ्‌न थालें तर बुझ्नै सकिनँ। परमेश्‍वरको नाउँ छ भनेर समेत मैले थाह पाउन सकिनँ।” तिनले त्यस धर्मसम्बन्धी स्कूल छाडे र बाइबलका कुरा बुझ्न यहोवाका साक्षीहरूसित सम्पर्क राखे। त्यसपछि, तिनले चाँडचाँडो प्रगति गरे र यहोवाको सेवामा आफ्नो जीवन समर्पित गरे। गुस्ताभोले आध्यात्मिक प्रमोदवनबारे सिकिरहेका थिए।

परमेश्‍वरको नाउँको निम्ति मानिसहरू

परमेश्‍वरको नाउँ यहोवा, बाइबलका विद्यार्थीहरूको निम्ति चासोको कुरा मात्र होइन रहेछ भनेर गुस्ताभोले थाह पाए। (प्रस्थान ६:३) उहाँको नाउँसित परिचित हुनु साँचो उपासनाको अभिन्‍न भाग हो। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) मसीही धर्म अँगाल्ने अन्यजातिहरूबारे कुरा गर्दै चेला याकूबले यसो भने: “परमेश्‍वरले . . . उहाँको नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनालाई कृपादृष्टि गर्नुभयो।” (प्रेरित १५:१४) प्रथम शताब्दीमा “उहाँको नाउँको निम्ति अन्यजाति” भनेको मसीही मण्डली थियो। के आज पनि परमेश्‍वरको नाउँको निम्ति चुनिएका मानिसहरू छन्‌? अवश्‍य छन्‌ र गुस्ताभोले ती मानिसहरू यहोवाका साक्षीहरू रहेछन्‌ भनेर बुझे।

यहोवाका साक्षीहरू २३५ वटा देश तथा इलाकाहरूमा सक्रिय छन्‌। तिनीहरू ६० लाख भन्दा बढी छन्‌ र अरू ८० लाख जति जिज्ञासु मानिसहरू तिनीहरूको सभाहरूमा उपस्थित भएका छन्‌। सार्वजनिक सेवकाईको निम्ति व्यापक रूपमा चिनिने परमेश्‍वरका यी सेवकहरू येशूका शब्दहरू पूरा गर्छन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) तर किन गुस्ताभोले यहोवाका साक्षीहरूसित संगत गरेपछि मात्र आध्यात्मिक प्रमोदवन पाएको महसुस गरे। तिनी भन्छन्‌: “मैले संसार र विशेष गरी धार्मिक पाठशालामा देखेको कुरा र यहोवाका साक्षीहरूबीच देखेको कुरा तुलना गरें। सबैभन्दा ठूलो भिन्‍नता, साक्षीहरूबीचको प्रेम थियो।”

अरूले पनि साक्षीहरूबारे त्यस्तै टिप्पणी गरेका छन्‌। ब्राजिलकी एक युवती मिरियम यसो भन्छिन्‌: “मलाई, मेरो परिवारसँग समेत कसरी खुसी भएर बस्ने थाह थिएन। मैले पहिलो चोटि कसैले प्रेमलाई व्यवहारमा उतारेर देखाएको देखें भने त्यो यहोवाका साक्षीहरूमाझ हो।” क्रिस्टियन नाउँ गरेका मानिस यसो भन्छन्‌: “म कहिलेकाहीं प्रेतविद्यामा लाग्ने गर्थें तर मेरो निम्ति धर्म महत्त्वपूर्ण थिएन। सामाजिक प्रतिष्ठा र इन्जिनियरको रूपमा मेरो काम नै मेरो निम्ति महत्त्वपूर्ण थियो। तैपनि, मेरी श्रीमतीले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्दा मैले तिनमा भिन्‍नता पाएँ। तिनलाई भेट्‌न आउने मसीही स्त्रीको आनन्द र जोस देखेर पनि म प्रभावित भएँ।” मानिसहरू किन यहोवाका साक्षीहरूबारे त्यसो भन्छन्‌?

आध्यात्मिक मोदवन भनेको के हो ?

यहोवाका साक्षीहरू भिन्‍न हुनुको एउटा कारण तिनीहरूले गर्ने बाइबल ज्ञानको मूल्यांकन हो। बाइबल सत्य हो र यो परमेश्‍वरको वचन हो भनेर तिनीहरू विश्‍वास गर्छन्‌। तसर्थ, तिनीहरू आफ्नो धर्मको आधारभूत कुरा थाह पाएर मात्र सन्तुष्ट हुँदैनन्‌। तिनीहरूको नियमित अध्ययन र बाइबल पढाइका कार्यक्रम हुन्छन्‌। यहोवाका साक्षीहरूसित मानिसहरूले जति बढी संगत गर्छन्‌ त्यति नै बढी परमेश्‍वर अनि बाइबलमा बताइएको उहाँको इच्छा सिक्छन्‌।

त्यस्तो ज्ञानले यहोवाका साक्षीहरूलाई अन्धविश्‍वास तथा हानिकारक विचार जस्ता मानिसहरूका आनन्द हरण गर्ने कुराहरूबाट टाढा राख्छ। येशूले यसो भन्‍नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” र यहोवाका साक्षीहरूले यो भनाइ सत्य हो भन्‍ने प्रमाण पाएका छन्‌। (यूहन्‍ना ८:३२) एक समय प्रेतविद्यामा लागेका फर्नान्डो भन्छन्‌: “अनन्त जीवनबारे थाह पाउनु साह्रै आनन्दको कुरा थियो। मलाई, म आफै या मेरा आमाबाबु मर्नुहुन्छ भन्‍ने अति डर थियो।” सत्यले फर्नान्डोलाई भूतप्रेतको संसार र मृत्युपछिको जीवनको डरबाट मुक्‍त गऱ्‍यो।

बाइबलमा परमेश्‍वरको ज्ञान र प्रमोदवनबीच नजिकको सम्बन्ध छ। अगमवक्‍ता यशैयाले यसो भने: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.

निस्सन्देह, यशैयाले भविष्यवाणी गरेका शान्ति, ज्ञानले मात्र ल्याउन सक्दैन। आफूले सिकेको कुरा व्यवहारमा पनि उतार्नुपर्छ। फर्नान्डोले यस्तो टिप्पणी गरे: “व्यक्‍तिविशेषले आत्माको फल खेती गर्दा आध्यात्मिक प्रमोदवनको लागि योगदान पुऱ्‍याइरहेका हुन्छन्‌।” फर्नान्डोले प्रेरित पावलका शब्दहरूलाई संकेत गर्दै थिए। तिनले मसीहीले खेती गर्नुपर्ने असल गुणहरूलाई “आत्माको फल” भने। तिनले ती, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम हुन्‌” भने।—गलाती ५:२२, २३.

ती गुणहरू खेती गर्न प्रयास गर्ने मानिसहरूको समुदायसँग संगत गर्दा प्रमोदवनमा भएजस्तै हुनुको कारण के तपाईंले बुझ्नुभयो? अगमवक्‍ता सपन्याहले भविष्यवाणी गरेका आध्यात्मिक प्रमोदवन त्यस्तै मानिसहरूबीच हुने थियो। तिनले यसो भने: “[तिनीहरूले] अधर्म गर्नेछैनन्‌, नता झूट बोल्नेछन्‌, न तिनीहरूका मुखमा छल हुनेछ, किनकि तिनीहरू चरनमा हुनेछन्‌ र विश्राम गर्नेछन्‌, र कसैले तिनीहरूलाई तर्साउनेछैन।”—सपन्याह ३:१३.

प्रेमको महत्त्वपूर्ण भूमिका

तपाईंले याद गर्नुभयो होला, पावलले आत्माको फलमध्ये सबैभन्दा पहिला प्रेमलाई राखे। यस गुणबारे बाइबलमा धेरै चोटि बताइएको छ। येशूले पनि यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) हो, यहोवाका साक्षीहरू सिद्ध छैनन्‌। येशूका प्रेरितहरूमाझ भएझैं तिनीहरूबीच पनि कहिलेकाहीं व्यक्‍तिगत समस्याहरू हुन्छन्‌। तर तिनीहरू एकअर्कालाई साँच्चै प्रेम गर्छन्‌ र यो गुण खेती गर्न पवित्र आत्माको मदतको निम्ति प्रार्थना गर्छन्‌।

फलस्वरूप, तिनीहरूको संगति अनुपम छ। तिनीहरूमाझ कुनै जातीय वा राष्ट्रिय विभाजन छैन। वास्तवमा भन्‍ने हो भने, २० औं शताब्दीको अन्ततिर जातीय नरसंहार मच्चिरहेको बेला थुप्रै साक्षीले आफ्नो ज्यानको बाजी लगाएर एकअर्कालाई बचाएका थिए। “सबै कुलको र मानिसको, र भाषा भाषाहरूको” भए तापनि तिनीहरूबीच एकता छ जुन तपाईंले अनुभव गर्नु नभएसम्म बुझ्न गाह्रो हुनसक्छ।—प्रकाश ७:९.

परमेश्‍वरको इच्छा गर्नेहरूमाझ प्रमोदवन

आध्यात्मिक प्रमोदवनमा लोभ, अनैतिकता र स्वार्थको निम्ति कुनै स्थान छैन। मसीहीहरूलाई यसो भनिएको छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) हामीले स्वच्छ नैतिक जीवन बिताउँदा र अन्य तरिकाहरूमा पनि परमेश्‍वरको इच्छाअनुसार गर्दा आध्यात्मिक प्रमोदवन निर्माण गर्नुका साथै आफ्नै आनन्दमा पनि योगदान पुऱ्‍याइरहेका हुन्छौं। कार्लाले यो कुरा सत्य रहेछ भनेर बुझिन्‌। तिनी भन्छिन्‌: “मेरो बुबाले मलाई आफ्नै खुट्टामा उभिन सिकाउनुभयो। विश्‍वविद्यालयको शिक्षाको कारण मैले सुरक्षित अनुभव गरे तापनि मलाई सुरक्षाको कमी महसुस हुन्थ्यो। त्यो कमी पारिवारिक एकता र परमेश्‍वरको ज्ञानले मात्र पूरा गर्नसक्थ्यो।”

हो, आध्यात्मिक प्रमोदवनको आनन्द उठाउँदैमा शारीरिक समस्याहरू हट्‌दैनन्‌। मसीहीहरू बिरामी हुन्छन्‌। तिनीहरू बसोबास गर्ने राष्ट्र गृहयुद्धमा मुछिएला। थुप्रैले गरिबीको जीवन बिताउनुपर्ला। तैपनि, आध्यात्मिक प्रमोदवनको अत्यावश्‍यक भाग अर्थात्‌ परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध छ भने हामीले उहाँको मदतको आशा गर्नसक्छौं। साँच्चै, उहाँले हामीलाई ‘आफ्नो भारी उहाँमा राख्न’ आमन्त्रित गर्नुहुन्छ र उहाँले कठिन परिस्थितिमा समेत उल्लेखनीय ढंगमा मदत गर्नुभएको घटनाहरूबारे थुप्रैले बताउनसक्छन्‌। (भजन ५५:२२; ८६:१६, १७) आफ्ना उपासकहरू “घोर अन्धकारमा” हिंड्‌नु परेको बेलामा समेत तिनीहरूलाई साथ दिने प्रतिज्ञा उहाँले गर्नुभएको छ। (भजन २३:४) हामीलाई मदत गर्ने परमेश्‍वरको तत्परताप्रतिको भरोसाले हामीलाई ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्ति’ जोगाइराख्न मदत गर्छ र त्यो आध्यात्मिक प्रमोदवनको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ।—फिलिप्पी ४:७.

आध्यात्मिक मोदवनको लागि योगदान पुऱ्‍याउने

अधिकांश मानिसहरू पार्क वा बगैंचामा घुम्न जान मन पराउँछन्‌। तिनीहरू त्यहाँ डुल्न वा बेन्चमा बसेर वरपरको वातावरणको आनन्द लिन रुचाउँछन्‌। त्यसै गरी, थुप्रै मानिस यहोवाका साक्षीहरूसित संगत गर्न रुचाउँछन्‌। तिनीहरूसँगको संगति स्फूर्तिदायी र शान्तिमय पाउँछन्‌। यदि हामी सुन्दर बगैंचा प्रमोदवनजस्तो भइरहोस्‌ भन्‍ने चाहन्छौं भने त्यसको देखभाल पनि गरिरहनुपर्छ। त्यसै गरी, आजको गोलमालपूर्ण प्रमोदवन विपरीत संसारमा आध्यात्मिक प्रमोदवन हुनसक्नुको एक मात्र कारण यहोवाका साक्षीहरूले त्यस्तो प्रमोदवनको देखभाल गरेकाले र परमेश्‍वरले तिनीहरूको प्रयासमा आशिष्‌ दिनुभएकोले हो। त्यसोभए, यस प्रमोदवनको लागि कसरी अर्थपूर्ण योगदान पुऱ्‍याउन सकिन्छ त?

पहिलो कदममा, तपाईंले यहोवाका साक्षीहरूसित संगत गर्नुपर्छ, तिनीहरूसँग बाइबल अध्ययन गर्नुपर्छ अनि आध्यात्मिक प्रमोदवनको आधार अर्थात्‌ बाइबलको ज्ञान हासिल गर्नुपर्छ। कार्लाले यस्तो टिप्पणी गरिन्‌: “आध्यात्मिक भोजनविना आध्यात्मिक प्रमोदवन हुँदैन।” यसमा नियमित तवरमा परमेश्‍वरको वचन पढ्‌ने र पढेको कुरा मनन गर्ने कुरा समावेश छ। तपाईंले प्राप्त गर्नुभएको ज्ञानले तपाईंलाई परमेश्‍वरतिर खिंच्नेछ र तपाईंले उहाँलाई प्रेम गर्न थाल्नुहुनेछ। तपाईंले उहाँसँग प्रार्थनाद्वारा कुरा गर्न पनि सिक्नुहुनेछ र उहाँको इच्छाअनुसार गर्दै जानुहुँदा उहाँको डोऱ्‍याइ र उहाँको आत्मा माग्नुहुनेछ। येशूले हामीलाई प्रार्थना गरिरहन आग्रह गर्नुभयो। (लूका ११:९-१३) प्रेरित पावलले यसो भने: “निरन्तर प्रार्थना गरिरहो।” (१ थिस्सलोनिकी ५:१७) यहोवाले तपाईंको प्रार्थना सुन्‍नुहुनेछ भनी निर्धक्क भई प्रार्थना गर्ने सुअवसर आध्यात्मिक प्रमोदवनको एउटा महत्त्वपूर्ण भाग हो।

समयको अन्तरालमा आफूले सिकेका कुराको कारण तपाईंको जीवनमा असल परिवर्तनहरू हुनेछन्‌ र अन्ततः तपाईं अरूसित यसबारे कुरा गर्न चाहनुहुनेछ। अनि तपाईंले येशूको निम्न आज्ञा पालन गर्न सक्नुहुनेछ: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१६) अरूसँग यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको ज्ञान बाँड्‌दा र उहाँहरूले मानवजातिप्रति देखाउनुभएको अगाध प्रेमको प्रशंसा गर्न पाउँदा भरपूर आनन्द मिल्नेछ।

पूरै पृथ्वी प्रमोदवनमा परिणत हुने समय आउँदैछ। त्यहाँ प्रदूषण हुनेछैन बरु विश्‍वासी मानिसजातिको निम्ति उपयुक्‍त प्रकारका घरहरू हुनेछन्‌। यस “आखिरी दिनमा” आध्यात्मिक प्रमोदवन हुनु परमेश्‍वरको शक्‍तिको प्रमाण हो र उहाँले भविष्यमा गर्न सक्नुहुने कुराको पूर्वझलक हो।—२ तिमोथी ३:१.

अहिले पनि आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेकाहरूले यशैया ४९:१० मा उल्लिखित आध्यात्मिक भविष्यवाणीको अनुभव गर्छन्‌: “तिनीहरू भोकाउनेछैनन्‌, तिर्खाउनेछैनन्‌, घामको तापले तिनीहरूलाई पोल्नेछैन, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ। पानीको धारानेर उहाँले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।” जुजे नामका व्यक्‍ति यस कथनका प्रमाण हुन्‌। तिनले संगीतकार बनेर नाम कमाउने सपना बोकेका थिए तर मसीही मण्डलीसँगसँगै परमेश्‍वरको सेवा गर्दा बढी आनन्द पाए। तिनी भन्छन्‌: “म अहिले अर्थपूर्ण जीवनको आनन्द उठाइरहेको छु। मसीही भ्रातृत्वबीच म सुरक्षित महसुस गर्छु र मायालु पिता यहोवामा भरोसा गर्न सकिन्छ भनेर मलाई थाह छ।” जुजेलगायत तिनीजस्तो अन्य लाखौंले अनुभव गरिरहेको आनन्द भजन ६४:१० मा राम्ररी वर्णन गरिएको छ: “धर्मात्माहरूचाहिं परमप्रभुमा आनन्दित हुनेछन्‌, र उहाँमाथिनै भरोसा गर्नेछन्‌।” आध्यात्मिक प्रमोदवनको कस्तो राम्रो वर्णन!

[फुटनोट]

a यस लेखमा उल्लेख गरिएका व्यक्‍तिहरू वास्तविक हुन्‌ तर तिनीहरूको नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १०-मा भएको चित्र]

आध्यात्मिक प्रमोदवनबाट आनन्द उठाउने मात्र होइन यसलाई विस्तार गर्न हामीले मदत पनि गर्नुपर्छ!