सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं साँच्चै आनन्दित हुन सक्नुहुन्छ?

के तपाईं साँच्चै आनन्दित हुन सक्नुहुन्छ?

के तपाईं साँच्चै आनन्दित हुन सक्नुहुन्छ?

जर्ज सबैलाई मुस्कानसहित अभिवादन गर्थे। तिनको निम्ति जीवन भनेको आनन्द उठाउने एउटा अनमोल वरदान थियो। बुढ्यौलीको कारण निकै गाह्रो हुँदासमेत प्रसन्‍नता जाहेर गर्नु अनि आशावादी हुनु तिनको व्यक्‍तित्वको परिचय थियो। आफ्नो मृत्युको दिनसम्मै जर्ज आनन्दित व्यक्‍तिको रूपमा चिनिए। के तपाईं जर्जजस्तै आनन्दित हुनुहुन्छ? के तपाईं प्रत्येक दिनलाई वरदानको रूपमा लिनुहुन्छ? वा नयाँ दिनको सम्झनाले तपाईं उदास वा त्रसितसमेत हुनुहुन्छ? के तपाईंले कुनै कारणले गर्दा आनन्द गुमाइरहनुभएको छ?

आनन्दलाई तुलनात्मक रूपमा स्थायी रहने सुखद स्थिति भनी परिभाषित गरिएको छ। यसमा सन्तुष्टिदेखि अति हर्षजस्ता भावनाहरू समावेश छन्‌ र यस्तो सुखद स्थिति कायम रहिरहोस्‌ भन्‍ने प्राकृतिक इच्छा हुन्छ। के त्यस्तो आनन्द साँच्चै छ र?

आजको समाजले मानिस धनी भयो भने मात्र आनन्दित हुनसक्छ भन्‍ने विचारलाई टेवा दिन्छ। धनी हुने धुनमा लाखौंले जीवनमा निकै दौडधूप गर्छन्‌। अनि यसको निम्ति थुप्रैले व्यक्‍तिगत सम्बन्ध तथा जीवनका अन्य महत्त्वपूर्ण कुराहरू त्याग्छन्‌। कमिलाको गुँडमा कमिलाहरू सलबलाएजस्तै तिनीहरू सधैं दौडधूप गरिरहेका हुन्छन्‌ र तिनीहरूसँग आफूले गरिरहेका कामकुराबारे विचार गर्ने वा अरूको निम्ति सोच्ने फुर्सतै हुँदैन। त्यसकारण, लस एन्जलस टाइम्स-को रिपोर्टले बताएझैं “निराशाबाट पीडित मानिसहरूको संख्या बढ्‌दो छ र त्यसमध्ये पनि जवानहरूको संख्या झनै बढिरहेको छ। . . . निराशा विरुद्धका औषधीहरू सबैभन्दा धेरै बिक्री हुन्छन्‌।” लाखौंले अवैध लागू पदार्थ सेवन गर्छन्‌ वा रक्सीको नशामा डुबेर आफ्नो समस्या कम गर्न खोज्छन्‌। कोहीचाहिं निराश हुँदा विचारै नगरी आँखाले देखेजति सबथोक किन्‍ने गर्छन्‌। एउटा सर्वेक्षणअनुसार “महिलाहरू निराश हुँदा औषधीको रूपमा धेरै बजार जाने गर्छन्‌” भनी बेलायती अखबार द गार्डियन बताउँछ। “निराश हुँदा महिलाहरू पुरुषहरूभन्दा तीन गुणा बढी बजार जाने सम्भावना हुन्छ।”

तथापि, साँचो आनन्द पसल, रक्सीको बोतल, औषधी, सुई वा बैंकको खातामा पाइँदैन। आनन्द कतै पनि बेच्न राखिएको छैन तर निश्‍शुल्क पाइन्छ। हामी त्यस्तो अनमोल वरदान कहाँ पाउनसक्छौं? यसबारे हामी यसपछिको लेखमा छलफल गर्नेछौं।